समय एक अचुक ओखती । यही ओखतीले मलाई बचाइरहेछ । मनमा लागेका विदीर्ण घाउचोटलाई समयले नै मलमपट्टी गर्छ । समयको अनन्त प्रवाहमा पीडाहरुको आयु क्षणिक छ । चोटहरु अल्पकालीन समयका विम्बमात्र हुन् । ती विम्बहरुको आयु दीर्घकालीन हुँदैहुन्न । मनको घाउ निको पार्ने ओखती समय नै भएकोले समयको गुण–गरिमा लेखी साध्यै छैन । जस्तासुकै पीडा, वेदना र सन्तापका चोटले मुटु क्षतविक्षत पारेपनि समयका मृदुल करले मलमपट्टी गर्नेगर्छ । फेरि मनमा एउटा उज्यालो रेखा कोरिदिन्छ यसले । तमसोमा ज्योर्तिगमय जस्तो निराशा र उद्विग्नतामा जलेको आँतले शितल शान्तिदायिनी उपचार भेट्छ; यो उपचार समयकै हातबाट सम्पन्न हुन्छ ।
पतझड शिशिरका उजाड वनपाखामा समय बसन्त बनेर आइदिन्छ र छाउँछ मनोरम पालुवाको हरियाली । प्रकृति उजाड बन्दाको क्षणलाई मात्र उपचार गर्दैन समय ? समय मन उजाड बन्दाको क्षणलाई पनि सुखद भाव भरेर परिपूरण गर्दछ । समय मनका विषाद भावलाई मेट्न हातमा कुची बोकेर आउँछ । निराशाको कहालीलाग्दो निशाग्निमा जलिरहेको मुटुलाई रोशनीको मलम दलेर शितल बनाइदिन्छ ।
दिनदिनका विसंगत घटनाहरुबाट म जति विचलित बन्छु । आखिर विचलित बन्नु पर्ने कारणै रहेनछ । विचलित मनलाई स्वचालित समाधानमा लैजाने चिजै समय रहेछ । मान्छेको कुनै यस्तो समस्या छैन, जो समयले उपचार गर्न नसकोस् । हरेक समस्याहरु, हरेक चुनौती र तगाराहरुलाई समयको एक निश्चित क्षणले पन्छाइदिन्छ । जीवनका जटिल र चुनौतीपूर्ण क्षणमा खाँचो रहन्छ सिर्फ प्रतिक्षाको । म समस्याको औडाहले अन्फनाइरहेको बेला समयले नै गरिदिन्छ समाधान । समस्या निराकरणको प्रयत्नपनि समयले गराउँछ, प्रयत्न पछिको प्रतिक्षा पनि समयले घटाउँछ ।
जीवनका हरपलमा समय समस्याका लहरहरुपनि घटित गराउँछ, समाधानका श्रृङ्खला पनि घटित गराउँछ । अर्थात् आमाको गर्भबाट धर्तीमा जन्म लिनु अगाडि नै बच्चाको आहाराको पुनित बन्दोवस्त मिलाउँछ समय ।
जीवनको अन्तरगर्भमा समयमै खेल चलिरहेछ । यो खेलको तमासे साक्षी भएर रहनसक्ता एकपछि अर्काे रहस्यका जादूहरु खुल्दछन् । आखिर समय भन्दा कोहीपनि शक्तिशाली हुन सक्तो रहेनछ । सबैभन्दा शक्तिशाली चिज समय नै रहेछ । समयको अगाडि हिटलरले घुँडा टेकेको छ, मुसोलिनीले माटो चाटेको छ, इदि अमिनले आफ्नो इहलिला समाप्त पारेको छ । तैमुर, चङ्गेज र नादिर शाहहरु चेत बाबा काँसी भएका छन् । लादेन र गद्दाफी इतिहासको कालो गर्तमा भास्सिएका छन् । हिजोको विजयलाई आज पराजयमा रुपान्तरण गरिदिन सक्छ समय । हिजोको पराजयलाई आज विजयमा रुपान्तरणपनि गरिदिन सक्छ समय । समय सामु विजयको झङ्कारपनि बेकार छ, समय सामु पराजयको चित्कारपनि बेकार छ । समय सममा बग्ने गर्छ । न यो यता बढी ढल्किन्छ, न यो ऊता बढी ढल्किन्छ । अहिले यता ढल्के जस्तो देखिएपनि अलिवेरमा उतातिर ढल्किन्छ । अहिले उतातिर ढल्किए जस्तो देखिएपनि क्षणभरमा यतातिर ढल्किदिन्छ । समत्वमा यात्रा गर्छ समय । समत्वमा समय हिँडेन भने जगत्ले एक भारी असन्तुलन व्यहोर्नुपर्छ । सबैचिज र पदार्थलाई समयले सन्तुलित गर्छ । किन आकाश छुने ट्वीन टावरमा सिर छिमोल्ने पात्रहरु खडा गर्छ समय । किन आणविक भट्टीहरुमा सुनामी सागरको छल्को पसाइदिन्छु समय । एक सन्तुलनको लागि होइन र ?
उत्थानको आगो सल्काउने कामपनि समयकै हातबाट सम्पन्न हुन्छ । पतनको खाल्डोमा खँदार्ने कामपनि समयकै हातबाट सम्पन्न हुन्छ । समयको खेललाई बुझ्ने ती विराट आत्माहरुले मात्र जीवन र जगत्को सत्यलाई अनुभूत गर्न सके । त्यही समय वसन्तमा मुजुरा पल्लवित गराउँछ, त्यही समय शिशिरमा त्यसलाई पहेंलो पत्कर बनाएर रुखबाट गिराउँछ । क्लियोपेट्राको छालाको चमकलाई संसारभर विख्यात बनाउनेपनि समय हो । त्यही क्लियोपेट्रालाई कंकालमा रुपान्तरण गर्नेपनि समय हो । भीमसेनलाई बाघ दरवारको मालिक बनाउनेपनि समय हो, उनको मासुलाई गिद्धलाई लुछाउनेपनि समय हो ।
समय कसैको मुठ्ठीलाई कैद नहुने चिज हो । जसले यसलाई आफ्नो मुठ्ठीमा कैद गर्ने धृष्टता गरे, तिनीहरु एकपछि अर्काे मैनको पुतली बनेर इतिहासको पटाङ्गिनीबाट नामेट भए । समय भन्दा आफू शक्तिशाली हुन चेष्टा गर्ने व्यक्तिहरु कसरी इतिहासको गर्भमा धुलिसात भए ? त्यसका अनेकौँ दृष्टान्त छन् हामीसित । कसरी धर्तीका भर्भराउँदा अग्नि–फिलुङ्गाहरु खरानीको धुलो बनेर उडे मानव इतिहास त्यसको साक्ष्य छ ।
सिकन्दर महोदयका अथाह सुनका सिक्काले एक सेकेण्ड समयपनि खरिद गर्न सकेन । उसले आखिरी घडीमा आमासित भेट्न चाहेको थियो । ऊ विश्वविजय अभियानबाट घर फर्किँदा फर्किदै बाटैमा विरामी परेको थियो । ऊ घरबाट केवल चौवीस घण्टाको दूरीमा थियो । उसले वैद्य हकिमीहरुलाई आधीराज्य नै दिन्छु, चौवीस घण्टा जियाइदिनुस् भनी पुकारा गरेको थियो । तर, उसको याचना बेकार बन्यो । उसलाई चौवीस घण्टा त के अरु एकघण्टा बचाउँन पनि असमर्थ रहे उसका चिकित्सा–कर्मी । समयले कुनै वादशाहलाई सुन्दोरहेनछ भन्ने कुरा सिकन्दरको जीवनमा भेटिन्छ । आखिर आमालाई भेट्न नपाई उनी बाटामै मरे । उनले विजय हासिल गरेको आधा धर्तीको कुनै काम भएन ।
नादिर शाह होस् कि नेपोलियन होस्, समयको अनन्त प्रवाहमा उनीहरुको ओज र शान, शक्ति र वैभव पानीको फोका सिवाय ठूलो कुरा हुँदैभएन । अग्रम्य शूरता र वीरता देखाएका यी वलवान पुरुषहरु समयको हातमा कठपुतली तुल्य बनेर माटोमा विलाए ।
नादिर शाहको इतिहास पढ्दा यो मान्छेपनि कोहीबाट मारिएला र ? यस्तो प्रतीति हुन्छ तरपनि उसको आखिरमा साँच्चै निरीहरुपले अवसान भएकोछ ।
इरानको खुरसानामा एक गरिव भेडीपाला परिवारमा जन्मेको नादिर सुरुमा सानो लुटेरा डाकूदलको झुण्ड बनाउँछ । समय–क्रममा त्यसको ताकत बढाउँदै राज्यसत्तालाई चुनौती दिने अवस्थामा पुग्छ र एकदिन इरानको राजा बन्छ । उसको खुवाब अझै बढ्दै जान्छ । आसपासका भौगोलिक इकाइहरु जित्दै जित्दै विशाल भारत जित्ने मनसुवा राख्छ ।
इरानदेखि सुरु भएको विजय यात्रा दिल्लीसम्म आइपुग्छ । तत्कालीन समयमा दिल्लीमा मुगल सम्राट शाह रंगिलाले शासन गरेका थिए । उसलाई हारावारा खेलाएर हजारौँ मान्छेको रगतको खोलो बगाइदिन्छ । हजारौं नारीहरुलाई खुलेआम बलात्कार गराउँछ । इरान फर्किँदा त्यो समयको सत्तरी करोड भन्दा बढी रुपैयाँ पैसा÷सुनाचाँदी गाडाका गाडा लादेर लान सफल हुन्छ । सुनको पंक्षी कहलिएको भारतको श्रीसम्पत्तिमात्र लुट्दैन । तीसहजार नारी र वीसहजार केटाकेटीलाई दास बनाएर लान्छ । यत्रो शक्ति देखाएर गएको नादिर इरान पुगेपछि अर्काे झुण्डमार्फत् निरीह तवरले मारिन्छ । शक्ति र वैभवको आयुको एक निश्चित सीमा विन्दु हुँदोरहेछ । त्यो सीमा विन्दुमा पुगेपछि कोहीपनि अजेय बनिरहन सक्तो रहेनछ । समयले उत्थान गराउँछ । समयले नै पतन गराउँछ । समयले उज्यालो छर्छ । समयले नै रात पार्छ । समयले विज उमार्छ । समयले नै रुखलाई बूढो बनाएर ढाल्दछ । समय–सत्ता भन्दा माथि कोही पनि विराजमान छैन ।
नेपोलियनको उदय हेर्दा यस्तो वीर पुरुषको अस्तपनि होला र ? जस्तो लाग्छ । सेनाको सामान्य लप्टन पदमा भर्ती भएको मान्छे आफ्नो शूरताको शूरो ठड्याँउदै जान्छ । वीरताको विगुल गुन्जाउँदै जान्छ । चातुर्यताका चिङ्गारी फुक्तै जान्छ । आफ्नो अकल्पनीय साहस, युद्ध–कौशल र पराक्रमले सेनाको सर्वोच्च सेनापति पदमात्र पाउँदैन । आफूलाई फ्रान्सको सम्राट घोषणा गर्दछ ।
पोपले सम्राटको पगरी लाइदिने वेलामा पनि उसको हातबाट श्रीपेच लिएर भन्यो– म कसैको हातबाट यो श्रीपेच लाउने छुइनँ । मेरो आफ्नो बुता र पौरखले आर्जन गरेको हुँ यो पद । कसैको निगाहा, बक्सिस र अनुकम्पाले होइन । त्यसैले आफ्नो पौरखले रचेको, आर्जन गरेको चिज भएकोले म यो चिज आफ्नै हातले पहिरिन्छु ।
आफैँले श्रीपेच लायो । युरोपका धेरै भूभाग जितिसक्तापनि विशाल राज्यको साम्राट बन्ने भोक थामिएन । फलस्वरुप रुसलाई जित्नको लागि साढे पाँच लाख सेना लिएर मस्को पुग्यो । बाठा रुसीहरुले घर घरमा आगो झोसेर भागे । आगलागीमा अन्नपात सबै जल्यो । श्रीसम्पत्ति सबै खरानी बन्यो । जाडो र हिमपातको सिजनपनि सुरु भयो । सेनाहरु जाडो र भोकले मर्न थाले । जाडो सिजन छलेर फ्रान्स फर्किने बेलासम्म उसित एकलाख सेना बाँकी थिए । अरु सबै मरिसकेमा थिए ।
फ्रान्स आएपछि पराजित भएका युरोपका सबै देशले संगठितरुपमा हमला बोले र नेपोलियनलाई सर्मनाक ढंगले हराए । पराजित भएरपनि धर दिएनन् । सेन्ट हेलेनाको टापुमा कैदी बनाएर थुने । त्यही नै उसको दुःखद निधन भयो ।
साडियाना जित्दा, मिश्र र माल्टा जित्दा, अष्ट्रियालाई आफ्नो अधिनमा लिदाँ जुन सैन्य चातुरी प्रयोग गरेको थियो । रुस आक्रमणमा त्यही चातुर्य महंगो सावित भयो । आजको चतुर मान्छे भोलिको समयमा पनि चतुर हुन्छ भन्ने मान्यता समयले नै उल्ट्याइदियो ।
जीवनको एउटा कालखण्डमा आएको अनुकूलता सर्वकाल कायम रहन्छ भन्ने सोच्नु नै मान्छेको ठूलो मूर्खता हो । यही मूर्खताले धेरे वीर पूरुषको स्वर्णताजले आखिरीको वखतमा धुलो चाटेको इतिहास छ ।
समयको धड्कन एकनाश रहदैन । समयको चाल र वेग एकनाश रहँदैन । समयको गति एकनाश रहँदैन । समयसितै मान्छेको गतिपनि एकनाश रहँदैन । मान्छेको चाल र वेगपनि एउटै हुँदैन । सारा सुखद वैभवपनि समयले ल्याउँछ । पीडा, सन्ताप र दुःखकी झरीपनि समयले बर्साउँछ । विमारपनि समयसितै छ । ओखतीपनि समयसितै छ ।
समय–सत्य बुझेका आत्माहरु मृत्युमा पनि हड्बडाँउदैनन् अरे । न सुकारत मर्ने वेलामा डराए । न बुद्ध मृत्यु–घुम्टीले छोपिँदा विलौना बोले । न मंसुर मृत्युदेखि मुर्मुरिए । न कृष्ण व्याधाको वाण लाग्दा कराए । न इशु क्रुसमा टाँगिदा औत्तालिए । बरु यी आत्माहरुले मृत्युलाई समयको एक ख्याल ख्याल खेल सम्झे । मृत्युलाई समयको तजबिजी सम्झे । उनीहरुले बुझेका थिए, सबैभन्दा शक्तिशाली चिज त समय–सत्ता हो । जे गर्नुछ, समय–सत्ताले गर्छ, जे हुनुछ समय–सत्ताबाट हुन्छ ।
समय–सत्ताको अगाडि झिनामसिना मानिसको सत्ता पानी फोका बराबर हुन् । जसलाई हल्का वायु तंरगले पनि प्याट्ट फुटाइदिन सक्छ । समय–सत्ता अगाडि सबै निरीह निरुपाय छन् ।
मान्छेलाई घाउचोट लगाउँछ भने समयले नै लगाउँछ । समयले लगाएका घाउचोटमा मलमपनि समयले नै दल्छ । समयले नै ढाल्छ मान्छेलाई मृत्युशैयामा । त्यो शैयाबाट बौराउने काम पनि समयले नै गर्छ । समय भन्दा ठूलो वैद्य यो जगत् अरु कोही छैन । समय भन्दा ठूलो ओखती अरु केही छैन । समय भन्दा बलवान सत्ता अरु कसैको छैन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।