साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

म छाया लेखक अर्थात् घोस्ट राइटर; आपत्ति किन ?

म छक्क पर्छु । ए बाबा ! कम्तीमा मैले त ‘म छाया लेखक हुँ’ भनेको छु । यहाँ छाया लेखक नभनी लुसुलुसु लेखेर खुसुखुसु पैसा लिने गरेको उदाहरण कति छ कति ! अनि लुकी-लुकी घोस्ट राइटिङ गरिएको त्यस पुस्तकलाई हाँसी-हाँसी प्रकाशन गर्ने गरिएको पनि मैले देखेको छु ।

सबैले सुन्नुभएको होला, तैपनि एकपटक फेरि दोहोर्‍याएँ –

एक जना अनुभवी इन्जिनियरले घर बनाएछन् । घरमा आफूले पालेका दुई बिराला छिराउन दुईओटा प्वाल बनाउन लगाएछन् । एउटा प्वाल सानो बिरालो छिर्ने र अर्को ठुलो बिरालो छिर्ने ।

त्यही बेला एक जना सामान्य डकर्मीले आएर इन्जिनियरसँग भनेछ, “ए हजुर, ठुलो बिरालो छिरेपछि सानो पनि त्यही प्वालबाट छिरिहाल्छ नि ।”

इन्जिनियरले जबाफ दिएछन्, “ए हो त नि, ठुलो बिरालो छिर्ने मात्र प्वाल बनाऊ ।”

नेपालका केही विद्वान् र जान्नेसुन्ने मानिएकाहरू यस्तै लाग्छन् मलाई । आफूलाई जान्नेसुन्ने बनाउन उनीहरूले इन्जिनियरले दुईओटा प्वाल बनाउन लगाएजस्तै बौद्धिक काम गर्ने गरेका मैले देखेको छु ।

niti book inside post

हालै एक अनलाइनमा एक जना महाशयले घोस्ट राइटिङलाई प्रेत लेखक, छाया लेखक, खेताला लेखक, के-के हो के-के लेख्नुभयो । ती महाशयले केही कुरा राम्रोसँग अध्ययन नगरेझैँ लाग्यो । जस्तै –

संसारका लागि घोस्ट राइटिङ भनेको के हो ? यो कहिलेदेखि सुरु भयो ? कस्ता-कस्ता मान्छे घोस्ट राइटिङको संसारमा लागेका छन् ? घोस्ट राइटिङ किन गरिन्छ ?

मैले उहाँलाई एकपटक सबै कुरा बुझेर मात्रै लेख्न अनुरोध गरेँ ।

विमला हुमागाईँ

विदेशतिर घोस्टलाई ‘गोस्ट’ बनाएर ‘गोस्ट राइटिङ’ भन्ने गर्छन् तर हाम्रोमा एच साइलेन्ट नहुने भएकाले मैले ‘घोस्ट राइटिङ’ भन्छु । उनीहरूकोमा एच साइलेन्ट हुन्छ । उनीहरूको नियम मानेर हाम्रोमा भएको ‘घ’लाई मैले मार्न चाहिनँ ।

चेतनाको स्तर फराकिलो पार्न नामको अगाडि ‘डाक्टर’ लेख्नु पर्दैन । अनि अगाडि डाक्टर लेखेका आर्टिकलहरू सबै वाउ हुँदैनन् । डाक्टरहरूका कतिपय त बिचरा आर्टिकल पनि मैले देखेको छु ।

हामीलाई थाहा छ, स्कुल नदेखेका मान्छेहरू पनि संसारमा धेरै ज्ञानी छन् । उनीहरूलाई नै आधार बनाएर पिएचडी गर्नेहरू धेरै छन् । अगाडि ‘डा.’ लेखेपछि ठुलो हुने र बडाले जे गर्‍यो त्यही सर्वसम्मत हुन्छ भनेर उनीहरूका पछाडि स्याडिस्ट भएर कमेन्ट गर्न पछि लाग्नेहरूको समाज देखेर पनि म छक्क पर्छु ।

हामी किन यस्तो भयौँ ? जसले खराब लेख्यो, त्यही वाह-वाह हुने । अनि जसले सही-सत्य लेख्यो, त्यो सत्य नलाग्ने ? हाम्रो चेतनाको स्तर नै यस्तो भएको कि स्याडिस्ट कल्चरमा हामी हामफालेको ? म बडो सोचमग्न हुन्छु ।

जर्ज बर्नाड शाहको पुस्तक घोस्ट राइटिङ भएको छ । अमेरिकका थुप्रै राष्ट्रपति, स्टिभ जब्स, विल गेट्स, टोनी ब्लेयर, गोर्डन ब्राउन्ड या विकसित देशका प्रायः महापुरुषहरूका पुस्तक घोस्ट राइटिङ हुने गरेको जानकारी पनि म गराउँछु । केही वर्षअगाडि ‘नोबल शान्ति पुरस्कार’ प्राप्त गर्ने मलालाको पुस्तक पनि घोस्ट राइटिङ नै हो ।

यसरी घोस्ट राइटिङ हुँदा के त्यहाँको समाज खत्तम भयो ? के त्यहाँका घोस्ट राइटरलाई नेपालमा जस्तै गालीगलौज गरिन्छ ? कि उसलाई धन्यवाद दिइन्छ ?

त्यहाँ त किताब मात्र नभई गीत, भाषण, एकेडेमिक राइटिङ, फिक्सन र ननफिक्सन अनेक लेखिन्छ । हजारौँहजार पुस्तक प्रख्यात प्रकाशकहरूले घोस्ट राइटिङद्वारा नै गराउँछन् ।

लेखेर बाँच्न सकिन्छ । आफ्नो लेखन चल्न छाड्यो भने पनि सिप भएपछि लेखक गरिब हुँदैन भन्ने आधारमा विकसित मुलुकहरूमा घोस्ट राइटिङ उर्वर हुँदै छ । केही छुद्रे-मसिनेहरूले गाली गरेर ती लेखकलाई केही फरक पर्दैन किनभने उनीहरूको पेसा नै त्यही हुन्छ । उनीहरू आनन्दसँग एसी-गाडीमा चढेर समुद्रतिर सयर गर्न जान्छन् । वर्षको एक वा दुई किताब घोस्ट राइटिङ गरेर उनीहरू आफ्नो र परिवारको पेट मजाले पाल्छन् । लेखन एक व्यवसाय बनेको छ ।

हाम्रो नेपालमा बल्लतल्ल चल्न थालेको यो लेखन पृथ्वीनारायण शाहको दिव्योपदेशबाट सुरु भएको मानिन्छ । लेख्न सक्ने प्रोफेसनलले गर्ने त हो घोस्ट राइटिङ । लेख्न नजान्ने आएर लेखेर यो काम गर्ने नै होइन अनि किन लेख्ने भन्नेले नै यसको विरोध गरेको होला ?

म छक्क पर्छु । ए बाबा ! कम्तीमा मैले त ‘म छाया लेखक हुँ’ भनेको छु । यहाँ छाया लेखक नभनी लुसुलुसु लेखेर खुसुखुसु पैसा लिने गरेको उदाहरण कति छ कति ! अनि लुकी-लुकी घोस्ट राइटिङ गरिएको त्यस पुस्तकलाई हाँसी-हाँसी प्रकाशन गर्ने गरिएको पनि मैले देखेको छु ।

मैले खुलेआम ‘म घोस्ट राइटर हु, म छाया लेखक हु’ भन्दा किन अन्यथा लिने होला ? लेखन भनेको एउटा सिप हो । टेक्निकल विषय हो । नत्र सबै लेखक भइहाल्थे नि ।

एक जना डाक्टरले १५ वर्षको अनुभवको आधारमा नाडी समातेको र यसो हेरेको भरमा महिनामै तीन-चार लाख कमाउँछ । इन्जिनियरले पनि १५ वर्ष आफ्नो क्षेत्रमा लगायो भने लगभग यति नै रकम कमाउँछ । अनि के लेखकले चाहिँ आफ्नो अनुभव १५ वर्षको छ भने पनि आफ्नो लेखन सकिएपछि हात बाँधेर फ्री बस्नुपर्ने ! उसको सिप अरूमा लगाएर मर्न लागेको मान्छेको या विभिन्न पेसा, व्यवसाय, क्षेत्र, वर्ग, लिङ्ग, धर्म आदिका कथा समाजमा आउन नहुने ! किन यति बढी लेखकहरू नै आँत्तिएर प्रेत, खेताला, भट्किएको आत्माजस्ता शब्दहरू प्रयोग गरेका होलान्, म छक्कै पर्छु ।

बेलायतमा २ सय ६५ वर्षअगाडि सुरु भएको लेखन र विकसित देशमा मजाले चलिसकेको यो लेखनको यहाँ विरोध नै गर्नुपर्ने किन हो, म छक्क पर्छु । मैले गर्दा कुनै मान्छेको पुस्तक आउँछ भने म त गर्व गर्छु । जसरी एक जना डाक्टरले बिमारी जाँचेकोमा गर्व गर्छ । एक जना ड्राइभरले निश्चित ठाउँमा यात्रुहरू ओरालेपछि गर्व गर्छ । त्यसैले हामीले यस्ता लेखकको माध्यमद्वारा कम्तीमा अरू कसैको इतिहास त मरेन भनेर गर्व गर्नुपर्छ । त्यसैले हो, आफूलाई ‘म छाया लेखक हुँ, म घोस्ट राइटर हुँ’ भनेर आफैँमा गर्व गर्छु ।

लेखकले आफ्नो मात्रै कथा लेख्नुपर्छ भन्ने नियम संसारमा कतै पनि छैन । संसारमा स्टार राइटर नै पछि गएर घोस्ट राइटर हुने हुन् । त्यो पनि थोरै पैसामा होइन, उनीहरू लाखौँलाख लिएर लेख्छन् । यसरी लेख्न सहयोग गर्ने संस्थाहरू एकै देशमा हजारौँ छन् । नेपालमा पनि यस्ता खालका संस्था खुल्छन् भने त्यसलाई सम्मान गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

लेखनमा लाग्नेलाई लेखाउने यस्ता संस्थाका कारण कम्तीमा एक जना लेखक लेखेर बाँच्न सक्ने अवस्था हुन्छ । मालिक र दास भन्ने त्यहाँ हुँदैन । एक-दुई थोत्रा उदाहरण जहाँ पनि हुन्छन् । नराम्रो जहाँ पनि हुन्छ र राम्रो पनि हुन्छ । राम्रो बढी भएकै कारण संसार चलेको छ । गहिरिएर हेर्ने र नकारात्मक भएर हेर्ने हो भने त हरेक काम दास र हरेक काम मालिक हो ।

आशा, विश्वास र रहस्य पृथ्वीको सबैभन्दा ठुलो पुँजी हो । यही कारणले आज संसार चलेको छ । म मेरो कलमप्रति आशा राख्छु । अचम्म-अचम्मका रहस्यलाग्दा मान्छेहरूको कथा लेख्न पाएर म खुसी भएको छु । तीन दशकको उमेरमा नआएको ज्ञान मैले ६०, ७० र ८० वर्षका मान्छेहरूको कथा लेख्न पाएर, उनीहरूको जीवनको रहस्य थाहा पाएर तथा आशा र विश्वास थाहा पाएर कतिपय पुस्तकले आफैँलाई रूपान्तरण भएको अनुभूति गरेको छु ।

अनि त्यस इतिहासले संसारका लागि नभएर उनीहरूका छोरानातिलाई ग्लुकोजको काम गरेको देखेर म खुसी छु । खुसी बाँडे खुसी बढ्छ भन्ने सिद्धान्त आफैँमा लागु भएकोमा म दङ्गदास छु ।

केही मान्छेले ‘ह्या.. तपाईँ प्रेत लेखक’, ‘ह्या.. तपाईँ खेताला लेखक’, ‘ह्या.. तपाईँ दास..’ भनिरहँदा मलाई केही फरक पर्दैन । यस्ता कुरातर्फ मलाई कुनै मतलब छैन । म त मग्न भएर मान्छेको कथा सुन्दै लेख्दै गरिरहेको छु । मैले मान्छेको कथा लेखेर उनीहरूको इतिहास मर्न नदिई उनीहरू र उनीहरूको पुस्तालाई मात्रै नभई मानवसमुदायका लागि नै गुन लगाएको छु भन्ने ठान्छु । आत्मा भट्किएको देख्नेहरूले दुःखी घोस्ट राइटर भेट्नुभयो होला । म मेरो काममा गर्व गर्छु । लेख्न आएकै कारण मलाई लेख्न लगाएका हुन् । नत्र म पनि अरूले झैँ कतै चक-डस्टर घोटेर अरूले लेखेका कुरा पढाएर बर्सौँवर्ष बस्थेँ होला । अनुमानका भरमा कहिलेकाहीँ बकबक लेखेर ‘मैले क्या लेखेँ’ भन्थेँ होला । मलाई त्यता जानु छैन ।

आत्मकथा, जीवनी, संस्मरण सम्पादन, सम्पादक वा सहयोगी भनेर मैले नाम राखेकै छु । अझ मैले त लेखेको पुस्तकमा छाया लेखक भनेरै लेखेको पनि छु । त्यसरी नलेखेको भए पो पिर पर्थ्यो मलाई । मलाई त अहिले मैले दस जनाको किताब लेखिरहँदा के लाग्न थालेको छ भने खासमा लेख्ने भावना भए पुग्छ भनेको कुरा सही रहेछ । मैले पुस्तकमा लेखेका कुनै व्यक्तिको पनि हामीले कल्पना नगरेको फिक्सनभन्दा फराकिलो जीवन छ । अनि कल्पनै गर्न नसकिने त्यो कथाको असली मालिक त सोही व्यक्ति नै हुन्छ नि । त्यसैले लेखकमा जसको पुस्तक लेखेको हो उसैको नाम दिने चलन पश्चिममा चलेको रहेछ ।

भन्ने नै हो भने एउटा कथामा दस जनाको अनुभव हुन्छ । अनि दस जनाको अनुभव-अनुभूति एक जनाले लेखेर ऊ लेखक हुने हो । न ती दस जनालाई लेखकले चिनाउँछ र न उनीहरूले नै थाहा पाउँछन् । योभन्दा त बरु एक जनाको पुस्तकमा उसको नाम लेखेर आफूले पैसा लिएर लेख्नु धेरै राम्रो कुरा भन्छु म । कसैले पैसा नलिई ज्ञान आर्जनका लागि पनि घोस्ट राइटिङ गरेका छन् भने अझ विशेष धन्यवाद भन्छु म त ।

कथाभन्दा मान्छेको आफूभित्र भएको पीडा व्यथा बनेर बस्दैन । उसलाई हल्का हुन्छ । उसको कथा पनि यो समाजमा आउँछ र नयाँ कुरा थाहा हुन्छ । पढ्ने र लेख्ने मान्छेको वृद्धि हुन्छ भने त त्यसले अन्ततः समाज र साहित्यलाई नै फाइदा पुगेको म ठान्छु । नाम नहुँदैमा त्यो घोस्ट राइटिङ भइहाल्ने भनी हाल्नुपर्ने र त्यो दास हुने पनि होइन । वेद, बाइबल, कुरान, त्रिपिटक, गीताजस्ता महान् ग्रन्थ कसले लेखेको हो ? को छ त्यहाँ लेखक ? अनि हाम्रो पूर्वीय दर्शनले उहिल्यै त्यसलाई ‘व्यास लेखन’ भन्थ्यो । ब्रिटिसहरू बाठा भए र भारतमा राज गरेको समयमा यहाँको ‘व्यास संस्कृति’ लगे र घोस्ट राइटिङ बनाए । हामी धेरै बाठा भएर त्यही घोस्ट राइटिङलाई गाली गर्दै लेख्दै बसेका छौँ । यस्तो लेखनले ‘पृथ्वीमा आउने सुन्दर मान्छेले आफ्नो कथा लेखाउँछ भने लेख्ने त त्यही लेखक हो र उसको इतिहास जीवित हुन्छ, ठीकै छ’ नभनेर ‘ए, उम्, अँ, तँलाई पख्’ भनेर बसेका छौँ ।

म त भन्छु हरेक मान्छेले आफ्नो पुर्खाका लागि पुस्तक लेख्नुपर्छ । ज्ञान, सिप र अनौठो कथा आफूले लेख्न नआउने र आफूलाई समय नहुने भन्दैमा छाड्नु हुँदैन । लेखाउनुपर्छ । यसले लेखन संस्कृतिको विकासमा टेवा पुग्छ । पठन संस्कृतिको विकास गर्छ । नयाँ मान्छेहरू बजारमा पठन र लेखन संस्कृतिका लागि आउँदा देशलाई घाटा हुँदैन । राष्ट्र फूलबारी हो भने त्यहाँ विभिन्न फूलबारीका फूलका कथा आउँछन् । यसले समृद्ध देश बनाउँछ । घटनाहरू थाहा हुन्छ । सकारात्मक ढङ्गले हेर्न सकेमा सबै राम्रो हुन्छ । नकारात्मक ढङ्गले हेरेरमा सबै नराम्रो हुन्छ । त्यसैले नै कवि दुर्गालालले लेख्नुभयो –

फूलको आँखामा फूलै संसार,
काँडाको आँखामा काँडै संसार ।

यसैलाई आनी छोइङले गाउनुभयो र न्यु बज्राचार्यले सङ्गीत भर्नुभयो र हाम्रो मुखमा झुन्डिन सफल भयो । अब यसमा अभिनय गर्‍यो भने कसैले ‘गीतमा पनि घोस्ट राइटिङ भएछ, ए आनीले गाउने अनि यो मुख हल्लाउने’ भनेर नभन्नुहोला । आँप खानुहोला, तर कुन रुखको नभन्नुहोला ।

प्रतिक्रिया
Loading...