भनिन्छ, अन्यायको विरुद्धमा लेख्नु लेखकको धर्म हो । असाहय र पीडितका बारेमा लेखिनुपर्छ । विभेद र कुसंस्कारका बारेमा लेख्नुपर्छ । हो, लेख्नु पर्छ, लैङ्गिक र वर्गीय समानताको पक्षमा, निरूङ्कशता र एकाधिकार विरुद्धमा, मानवअधिकार र स्वातत्रताका बारेमा, राष्ट्रियता र एकाताका बारेमा ।

तर हाम्रा सबै लेखाइहरु मानवकेन्द्रित हुनजाँदा अन्याय र अत्याचारमा परेको पर्यावरण कसैलाई थाहा भएन । वन्यजन्तुका हकअधिकार खोसिएको कसैलाई पत्तै भएन । हामीले प्रकृतिमाथि एकाधिकार लादेर अतिक्रमण गरेको कसैलाई चासो रहेन । प्रकृति र मानवबीचको समानतालाई बिर्सेको कसैलाई मतलवै भएन ।

फलस्वरुप, हामीले फेर्ने हावा दूषित हुन गयो । पिउने पानी प्रदूषित हुन गयो । माटोको उर्बरा शक्तिमा र जैविक विविधतामा गिरावट आयो । हरितगृह ग्याँसको अत्यधिक उत्सर्जनले जलवायु परिवर्तनको नकारात्मक प्रभाव भोग्न पर्दै छ । समग्रमा प्रकृतिको पारिस्थितिक सन्तुलन नै गुम्ने अवस्थामा छ । यी सबैको परिणाम मानवीय अस्तित्व नै खतरामा पर्नु हो ।

विजय हितान (बेलायत)

त्यसैले हामीले मोती जयन्तीको साथै माटो जयन्ती पनि मनाउनु छ । किनकि माटोको उर्वराशक्तिमा ह्रास आइसक्यो । भानु जयन्तीको साथै भालु जयन्ती पनि मनाउनु छ । किनकि वनका भालुहरु लोपोन्मुख अवस्थामा पुगिसके । पृथ्वीनारायण शाह जयन्ती मात्रै किन ? हामीले पृथ्वीग्रह जयन्ती पनि मनाउनु छ । किनकि सिङ्गो पृथ्वी नै जीवमन्डलीय क्षयबाट गुज्रिरहेको अवस्था छ ।

यसर्थ अब हाम्रा साहित्यिक सिर्जनाहरु मानवेतर जगत्तिर केन्द्रित हुन जरुरी देखिन्छ । यस्ता सिर्जनाको पठनबाट आनन्द लिनु त छँदै छ, साथसाथै पाठकहरु पर्यावरण संमक्षण, संवद्र्धन र सुधारमा सचेत पनि होऊन् । अनि आफ्ना मानवीय क्रियाकलापलाई अन्तत्वगत्वा वातावरणमैत्री पार्न सकून् ।

मानवमानवबीचको द्वन्द्वको कति लेख्नु निबन्ध ! अब त लेखौँ मानव-वन्यजन्तुबीचको द्वन्द्वका निबन्ध । प्लेनमा उडेर, रेलमा गुडेर, होटलमा बसेर दरबार, सङ्ग्रहालय र गिर्जाघर घुमेको लेख्नलाई मात्रै नियात्रा कति खियाउनु हाम्रा कलमका निब ! अब त कलमका निब खियाउनुपर्ने भएको छ हात्तीमा चढेर, जिपमा गुडेर, तम्बुमा बस्दै, स्थानीय अर्गानिक परिकार खाँदै गैँडा, बाघ, भालु, रेड पान्डा देखेको पर्या–पर्यटनका नियात्रा लेख्न । घोडा चढ्ने महाजनको छोराको कथा लेखनमा मात्रै कति रित्याउने हाम्रा कलमहरुको मसी ! अब त साइकलमा चढेर सिसा, प्लास्टिक र कागज सङ्कलन गर्ने कवाडीको कथा लेख्नमा मसीलाई रित्याउनुपरेको छ । बलात्कारीलाई मृत्युदन्ड दिनुपर्छ भन्ने कविताहरुले मात्रै कति भर्ने कागजका पानाहरु ! अब त वन्यजन्तु चोरीशिकारीलाई पनि दन्डसजाय दिइनुपर्छ भन्ने कविताहरुले भरिने बेला आएको छ कागजका पानाहरु । मान्छेका प्रेमकहानीका उपन्यासले मात्रै भरिने होइनन् पुस्तकालयका तखताहरु । अब त भरिन आवश्यक परेका छन् ती तखताहरु प्रकृतिको पीडादायक कहानीका उपन्यासले ।

यसरी यति महत्वपूर्ण विषयमा लेख्नु नै आफ्नो धर्म सम्झेर आज म यो इको कथा ‘ब्लु प्लानेट’ लिएर पाठकसामु आएको छु । यस भित्रका १५ वटा कथाको माध्यमबाट मैले वातावरणीय समस्यालाई उजागर गर्ने प्रयास गरेको छु । समस्यालाई औंलाउने मात्रै नभएर त्यसका निराकरणका उपाय पनि जत्लाउने कोशिस गरेको छु ।

मेरालागि यस भित्रका केहि कथाहरू बिषेश छन् । ब्लु प्लानेट भित्र एउटा ब्लु पल्नेट कथा छ र त्यहि कथा भित्र फेरि एउटा Blue Planet कविता छ । दुइटा कथा ‘गैंडालाई चार बर्ष’ र ‘पर्यावरण सहिद’ वास्तवक घटनामा आधारित कथा हुन् । पहिलो कथाका पात्र प्रख्यात गैंडा संरक्षणकर्मि कमलजंग कुँवर हुनुहुन्छ भने दोस्रो कथा वातावरण अभियन्ता दिलिप महतोलाई समर्पण गर्दै लेखेको हुँ । स्मरण रहोस दिलिप महतोलाई एउटा क्रसर उध्योममा ट्रकले कुल्चेर वि. स. २०६७ मा हत्या गरिएको थियो । अर्को कथा ‘बार्सिकोत्सवमा रेड पान्डा’ भित्र कथाले जे भनेको छ त्यहि कुरा मैले वास्तविक जिवनमा गर्न गैरहेको छु । हाम्रो वैवाहिक बर्षगाँठलाइ पारेर नेपाल अवस्थित रेड पान्डा संरक्षणमा बर्षौं अघि स्थापित ‘रेड पान्डा नेटवोर्क’ भनिने संगठनलाई आर्थिक सहयोग गर्न गरहेको छु । दिलिप महतोको परिवारलाई पनि आर्थिक सहयोग गर्ने सोँच बनाएको छु । यसै पुस्तकको रोयल्टि नै यस आर्थिक कोषको मूल स्रोत हुनेछ ।

कथा मार्फत पर्यावरण संरक्षण अभियानलाई अभिव्यक्त गर्न कति हदसम्म सफल भएँ, वा मेरा कथा कथा जस्ता भए कि भएन त्यो त पाठकले नै मुल्याङ्कन गर्ने कुरा हो । त्यसर्थ यसका पाठकबाट मैले मलाई बधाई र शुभकामना भन्दा पनि मेरा कथा लेखनका कमि कमजोरि औंल्याइदिने खालका प्रातिकृयाका अपेक्षा राखेको छु ।

एक दशकअघिदेखि नै पर्यावरण लेखनलाई आफ्नो अभियान बनाउँदै आएको हुँ । तर नेपाली साहित्यमा इको राइटिङ नौलो भएकाले अध्ययनका स्रोतहरु पाइँदैनन् । त्यसर्थ यस विषयमा लेख्न कहिलेकाहीँ गाह्रो महसुस गर्दै आएको छु । तथापि साहित्यकार डा. गोविन्दराज भट्टराई मेरा प्रेणका स्रोत हुनुहुन्छ । उहाँद्वारा लिखित ’उत्तर आधुनिक विमर्श’ पुस्तकभित्रको ’इकोकृटिसिजम– सिर्जना तथा समालोचनको नवीनतम् क्षेत्र’  अध्याय मेरा हरेक सिर्जनाका स्रोत बन्दै आइरहेका छन् । आजसम्मका मेरा पाँचवटै इको कृतिहरु उहाँकै परामर्शबाट सिर्जित भएका हुन् । यो कथा सङ्ग्रह पनि उहाँकै इको समालोचनात्मक ज्ञानद्वारा माझिएर निस्केको छ । प्रेणदायी यस्ता ब्यक्तिलाई म हृदयदेखि नमन गर्न चाहन्छु ।