साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

मूर्ति सेवा होइन, जीव सेवा

Chovar Blues Mobile Size

“ढुङ्गाको जस्तो कस्तो कठोर मन!” भन्ने चलनचल्तीको यो उखानटुक्काले शीला-ढुङ्गाको कठोरतालाई देखाउँछ र हाम्रो उसप्रतिको धारणा पनि व्यक्त गरिरहेको हुन्छ। ढुङ्गालाई हामी भगवानको रुप मान्दै हुर्केका छौँ । “ढुङ्गगा खोज्दा देवता मिल्यो” भन्ने उखान पनि उत्ति नै प्रयोगमा आउने गर्छ । यसले कहिलेकाही ढुङ्गामा भगवान रहेको अर्थात् ढुङ्गाहरुको बीचमा भगवानको भावको गलत अर्थ पनि लाग्ने गरेको छ । आज पनि प्रत्येक अग्ला डाँडाहरुमा हुने कोट तथा मन्दिरहरुमा ढुङ्गाको मूर्ति नै हुने गर्छ र त्यसैलाई पुजिन्छ । भलै अहिले आधुनिक प्रविधि प्रयोग गरेर माटो, सिमेन्ट, रङरोगन गरेर ढुङ्गाजस्तै निर्जीव भगवान बनाइन्छ र हामी घण्टौँसम्म त्यही मूर्तिको दर्शन गर्न व्यस्ततम समय खर्चेर लाइनमा बस्छौँ । त्यही लाइनमा बस्दा कतिका घाँटीका सिक्री, औँलाका औँठीदेखि लिएर लगाएको चप्पल, जुत्तासम्म चोरिने गरेको समाचार त सामान्य नै बनेका छन् । अचेल प्रायः मन्दिरअगाडि बैँकमा पैसा सुरक्षित गर्न राखिने लकरजस्ता बाकस राखिन थालेको छ । लाग्छ, पुज्न जाँदै गरेको ढुङ्गामा भगवानको रुप हुन्थ्यो भने आफ्नै दर्शनको लागि लामो समय खर्चेको भक्तजनलाई ढुङ्गारुपि ती भगवानको अन्तरमनले अवस्य देख्ने थिए र भक्तजनको सामान हराउन उनले दिने थिएनन् । साँच्ची त्यसमा भगवान हुन्थे भने सूर्यले दिने ताप, प्रकाश जस्तै भगवानले भक्तजनको सामान लकरमै नराखी सामान आफैँ सुरक्षित हुने शक्ति दिन्थे । खै किन मलाई ढुङ्गासँग र ढुङ्गालाई भगवान मानेर ढुङ्गाको पूजा गर्ने प्रवृत्तिप्रति एक किसिमको वितृष्णा भाव पलाएको छ ।
ढुङ्गाप्रतिको यो वितृष्णा भाव जगाउन मेरो जीवनमा घटेका पाँच,छ वटा घटनाहरुले पनि सघाएको छ । जस्तो कि, सात कक्षासम्म गाउँको पढाइपछि अध्ययनका लागि सहर झरेसँगै म, दिदी, दाइसँगै सहरमा बस्ने गर्थे । आमा एक्लै गाउँमा बस्नुहुन्थ्यो । लगभग तीन घण्टा हिँडेर हामी प्रायः गाउँ शुक्रबार सधैँ जाने गर्थ्यौं । राक्से र रत्ने भन्ने ठाउँको बीचमा भएको ठूलो ढुङ्गामा सबैले निधार पुर्याएकै हुन्थे, भएको सानो रकम चढाएकै हुन्थे । म पनि त्यही ढुङ्गालाई ढोग्दै आमाको सुस्वास्थ्य र दीर्घ जीवनको कल्पना पोख्थेँ । यो ढुङ्गाप्रति मेरो चासो एकदमै बढदै गएको थियो । उक्त ढुङ्गगाको बारेमा गाउँका हितैषी अमृत दाइसँग सोधेँ । दाइले मैले कल्पना नै नगरेको अनौठो जवाफ दिए । त्यो ढुङ्गाको छेल पारेर एक दिन कुनै महिलाले पिसाब गर्दै गरेको, अर्को दिशाबाट पुरुष उक्त महिलातिरै आउँदै गरेको, पुरुषसँग लाज छोप्न उक्त ढुङ्गामा ती महिलाले ढोगेको र फूलपाती चढाएको नाटक गरेको र ती पुरुषले पनि सोही कार्यको अनुसरण गरेको, त्यो बाटो हिँड्ने सबेले पछि त्यसैलाई भगवानको मूर्ति मानेर पुज्न थालेको भन्ने दाइको सारसँग मन एक तमासले तरंगित बन्यो । केही वर्षपछि त्यसैको तलबाट मोटरबाटो बन्यो । मान्छेह्ररु त्यो पुरानो बाटोसँगै त्यो ढुङ्गा पुज्ने स्थानसम्म जान छाडे । यो देखेपछि अमृत दाइको ढुङ्गा प्रतिको कथन ठीक रहेछ भन्ने लाग्यो । मेरो ढुङ्गा मूर्ति प्रतिको लगाव यो घटनाले धेरै कम गरायो ।
मानिस स्वभावैले स्वार्थी यो मानेमा पनि भएको देखेँ कि भगवानरुपि त्यो ढुङ्गालाई पनि मान्छेहरु सहज तरिकाले पाउँदासम्म दर्शनरुपि त्यो भावना जगाइरहे तर माथि भनिएजस्तै बाटो फरक पर्नासाथ त्यो ढुङ्गाको बीचमा रहेको भगवान् पनि ओझेल परेको देख्दा लाग्थो, ढुङ्गाहरुमा अथवा मूर्तिहरुमा भगवान् हुन्छन् भन्ने भाव मनमा एक किसिमले हराउँदै गएको थियो ।
गाउँ गएको समय थियो । मध्यान्हको चार बजेको थियो । खाजा खाएर आमासँगै गफिँदै थिए । घर पल्तिरको गोविन भाइ हस्याङ्गफस्याङ्ग गर्दै आएर अमृत दाइको गोरु नजिकैको भिरमा लडेको बेलिबिस्तारसँगै हामी त्यतै कुदयौँ । घटना स्थलमा पुग्दा ठूलो ढुङ्गाभरि लतपतिएको रगतसँगै दाइको माले गोरुको मृत रुप देखेँ । त्यही ठाउँमा त्यो दुष्ट ढुङ्गा भन्दा झाडी, वा अन्य कुनै रुखहरु भएको भए गोरु बाँच्न सक्ने थियो । अमृत दाइको बुबाको मुखबाट यो कुरा सुनेपछि पापी ढुंगामा भगवानको कुनै स्वभाव देखिनँ । इतिहासमा अग्रेजहरुसँगको लडाईंमा माथिबाट ढुंगा वर्षाएर तिनीहरुलाई मारेको कहानी सम्झेँ । यी यस्ता धेरै कहानीले मलाई ढुंगाहरुमा कुनै किसिमको भगवानको रुप, भाव हुन्छ भन्ने लाग्दैन ।
हुन त म नास्तिक पनि होइन । भगवान नै मान्दिनँ भन्न खोजेको होइन । म हिन्दुधर्म अनुशरण गर्छु । धर्मभित्र भएका सम्पूर्ण संस्कार पूर्ण रुपले पालना गर्ने कोसिस गर्छु । प्रत्येक सजीव तत्त्वमा आत्मा हुन्छ । भौतिक शरीरसँगै आध्यात्मिक तत्त्व पनि शरीरमा हुन्छ भन्ने कुरामा म सहमत छु । हिन्दुजस्तै अन्य धर्ममा भएका संस्कारहरुको पनि म उच्च सम्मान गर्छु । सबै धर्मको सारतत्त्व आत्माशुद्धि नै हो जस्तो लाग्छ । जब सबै मनुष्यको आत्मशुद्धिले एक तमासले स्थान पाउँछ । क्रमशः माया मोह, लोभ, क्रोध, रिस, बासना, रागजस्ता तत्त्व आफैँ हराएर समाज शान्ति मार्गतर्फ हिँड्न सफल हुन्छ भन्ने मलाई लाग्छ ।
हाम्रा संस्कारमा रहँदै आएका सामान्य कुराहरु जस्तै चौतारा चिनेर वरपिपल लगाउने, सकेसम्म झूटो नबोल्ने, सकेसम्म सबैलाई सेवा भाव ले हेर्न, शाकाहारी भोजनामा बढी ध्यान दिने, चर्पीहरु सकेसम्म घरबाट टाढा राख्ने, चर्पी जाँदा एउटा मात्र कपडा प्रयोग गर्ने, साँझमा सकेसम्म घरपरिवारका सदस्यहरु जम्मा भएर भजनकीर्तन गर्ने, खाना खाँदा सकेसम्म गोडासम्म धुने र कपडा फेरेर खाने जस्ता अति महत्त्वपूर्ण कुराहरु गरे मात्र पनि हाम्रो समाजमा धेरै परिवर्तन आउनेछ ।
यी सारा कुराले हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्य अवस्थामा सन्तुलन राख्ने कुरामा म कत्ति पनि विमति राख्दिनँ ।
यी सबै कुराहरुले हाम्रो आचारणमा शुद्धता अवश्य ल्याउनेछ । भगवान त यस्तो अवस्थामा भेटिएको हुन्छ, जसले बिना स्वार्थ, लोभ, कामवासना, रिस, द्वेष बिना अरुलाई निस्वार्थ सहयोग गरेको हुन्छ । आफैँले हिँड्दा वा कुनै काम गर्दा पनि एक सानो जीवाणुको पनि नास नहोस्, आफ्नो कारणले अरुलाई दुःख नहोस् भन्ने स्वहोसमा जो हिँडेको छ, ऊ आफैँभित्र भगवान पाउँछ जस्तो मलाई लाग्छ । मात्र यो कि, कुनै मूर्तिमा भगवान् छन् भनेर मूर्ति पुज्नु र भगवान खुसी हुन्छन् भनेर अरुको बलि मूर्तिलाई चढाउनु केवल मुर्खता मात्र हो । सकेसम्म भगवान मूर्तिमा खोज्न भन्दा आफूले गरेको सेवाभावमा छ, यसैमा तल्लिन भए निश्वार्थरुपमा सेवा भावमा लाग्दै गरिने प्रत्येक कार्यमा भगवानको रुप पाउन सकिन्छ जस्तो मलाई लाग्छ । भगवानको कल्पना मूर्तिमा होइन, मानव तथा जीव सेवामा खोजौँ। अबको कोरोना पछिको अतासिएको समाजमा मूर्तिपूजाले भन्दा मानवसेवाले अवस्य हामीहरुलाई भगवानसमक्ष पुर्याउनेछ । अवस्य समाज मूर्तिपूजाबाट भन्दा मानव सेवा गरेर भगवानलाई भेटिन्छ भन्नेतर्फ लाग्नेछ । भगवानको कल्पना मूर्तिमा होइन, मानव तथा जीवसेवामा अवश्य खोज्नेछन् भन्ने मलाई लाग्छ ।

प्रतिक्रिया
Loading...