यतिबेला म केन्द्र र परिधिको बारेमा सोच्दै छु । सोच्ने क्रममा मेरो मनमा चक्रको स्वरूप अवतरित भएको छ । चक्रको स्वरूप चिन्तनले विचार निर्माणमा सहज हुन्छ, होला । चक्रको बारेमा सोच्नासाथ सुदर्शन चक्रको स्मरण भयो । हाम्रा देवीदेवता प्रायः सबै अश्त्रधारी छन् । मेरो जीवनचक्र पनि जेनतेन चलिरहेछ । म सानो छँदा हाम्रो घरमा गोरुगाडा थियो । अझै पनि कतै–कतै गोरुगाडाको चलन छ । गोरुगाडा पनि ढिकी जाँतो जस्तै पुरातन वस्तु बन्दैछ । गाडाको चक्राकार पाङ्ग्रोको केन्द्रमा फलामको धुर राखिएको हुन्छ र त्यसैलाई केन्द्र बनाई परिधिको रूपमा रहेको काठको पाङ्ग्रो घुम्छ र गाडा गुड्छ । त्यस्तो पाङ्ग्रोको विस्थापन विकसित पाङ्ग्रोबाट नै हुँदै आएको छ । यातायात मात्र होइन हरेक क्षेत्रमा चक्रको अनिवार्यता भैसकेको छ । चक्रको यति महत्त्व छ कि चक्रको अभावमा हाम्रो गति र प्रगति अवरुद्ध हुनेछ । चक्रको आविष्कारबाट नै गति र प्रगतिको प्रारम्भ भयो । यति कुरा गरे पछि अब मेरो मनमा केन्द्र र परिधिका सम्बन्धमा सामान्य अवधारणा निर्मित भएको छ ।
चक्र निर्माणका अवयव केन्द्र र परिधि हुन् । केन्द्र र परिधि परिपूरक हुन् तर यी दुई एकापसमा समायोजित हुन सक्दैनन् । चक्रनिर्माण र गतिशीलतामा केन्द्रको अहम् भूमिका भए पनि परिधि बिनाको केन्द्र हुँदैन । केन्द्रले परिधिलाई विचलन हुन नदिई आफ्नो वृत्तमा घुमाउँछ तर घुम्ने चाहिं परिधि नै हो तसर्थ परिधिको विशेषता भनेको नै गतिशीलता हो र केन्द्रको विशेषता स्थिरता । अब म अलि फरक रूपमा प्रस्तुत हुँदै छु । त्यो के भने केन्द्र र परिधि भौतिक मात्र नभई अभौतिक पनि हुन्छ । अभौतिक केन्द्रको परिधि चक्राकार हुँदैन । म अब आफूलाई अभौतिक केन्द्र र परिधि विषयक चिन्तनमा केन्द्रित गर्दैछु । दुनियाँमा यस्तो कुनै व्यक्ति विचार वा वस्तु हुँदैन जसको केन्द्र र परिधि नभएको होस् । आकारमा सूक्ष्म नै भए पनि दुनियाँमा अस्तित्वमा रहेका कुनै पनि व्यक्ति, विचार वा वस्तुको केन्द्र र परिधि हुन्छ । मेरो शरीरको केन्द्र मेरो मस्तिष्क हो । मस्तिष्क कै हालहुकुममा मेरो शरीर क्रियाशील हुन्छ । मैले जीवनमा सुख भोग वा दुःख भोग गर्नुमा मस्तिष्क नै कारण बन्दै आएको छ । मस्तिष्कको संरचना र कार्यप्रणालीका बारेमा म अनभिज्ञ छु । विज्ञानलाई पनि मस्तिष्कका बारेमा अलिअलि मात्र जानकारी छ । विज्ञानको सीमा के हो भने आफूले थाहा नपाएका कुरामा विश्वास गर्दैन तसर्थ विज्ञान भन्नु नै ज्ञात कुरा हुन् तर राम्रो पक्ष के हो भने विज्ञान निरन्तर अज्ञातको यात्रामा अग्रसर छ । प्रकृतिको अनन्त रहस्यका सामु विज्ञान अल्लारे नै छ । मलाई अफसोस यस विषयमा छ कि मैले आफ्नो मस्तिष्कको क्षमताको एक चौथाइ पनि प्रयोग गर्न सकेको छैन । त्यसो हुनुको कारण के हो भने मैले मेरो विगत चिन्तनमा नभई चिन्तामा बिताएँ । यतिबेला पनि मेरो मनमा पिरहरू सलवलाइरहेका छन् ।
संघीयतामा पनि केन्द्र र परिधिका कुरा बारम्बार उठिरहन्छ । वास्तवमा संघीयता भनेको केन्द्रियता विरोधी विचार हो । राजतन्त्रमा राजा राजनीतिको केन्द्रमा थिए र जनता परिधिमा । जनआन्दोलनले राजालाई पनि परिधिमा पुर्यायो । राजनीतिको कुरा गर्दा पार्टी, नेता र कार्यकर्ताको पनि आ-आफ्नै केन्द्र र परिधि हुन्छ ।
राजनीतिमा परिधि केन्द्र हुन चाहन्छ र केन्द्र परिधिलाई यथासंभव रोक्न खोज्छ । प्रतिरोध ज्यादा भए पछि परिधि विद्रोहमा उत्रन्छ । हरेक ठूला वा साना विद्रोहको प्रारम्भ परिधिबाट नै हुन्छ । भौतिक परिधि कहिल्यै पनि केन्द्र बन्दैन तर राजनीतिमा आन्दोलनले, क्रान्तिले वा आवधिक निर्वाचनले केन्द्रलाई परिधि र परिधिलाई केन्द्र बनाउँछ । प्रजातन्त्र सबैभन्दा उत्तम राजनीतिक प्रणाली हुनुको मुख्य कारण नै परिधि केन्द्र हुनसक्ने सम्भावना हो । यस अर्थमा नै राजनीतिलाई संभावनाको खेल मानिएको हुनुपर्छ । संघीयता केन्द्रियता विरोधी प्रणाली हो । आरक्षण, समावेशिकता तथा प्रदेश विभाजन परिधिलाई प्रश्रय दिनकै लागि गरिएका व्यवस्था हुन् । संघीयतामा मूल केन्द्र मातहत प्रदेशको रूपमा सानासाना केन्द्रहरू बनाइन्छ तर जतिसुकै सानो केन्द्र बनाए पनि परिधि बिनाको केन्द्र हुँदैन । त्यसैले प्रदेश भित्रको परिधि पनि केन्द्र बन्न चाहन्छ र संघीय मुलुकमा प्रदेशको संख्या बढी रहन्छ ।
वास्तवमा म आफ्नै सन्दर्भमा केन्द्र र परिधिको कुरा गर्न खोज्दै थिएँ । मैले धेरै समय भूमिकामा खर्च गरें । म केन्द्र हुँ वा परिधि अलमलमा परेको छु । म अलमलमा पर्नुको कारण के हो भने केन्द्र र परिधि दुवैका धेरथोर लक्षण ममा छ । कहिले लाग्छ म केन्द्र हुँ अनि कहिले लाग्छ म फगत परिधि मात्र हुँ । केन्द्र निकटता सूचक हो भने परिधि दुरत्व सूचक । मेरा लागि म आफूभन्दा निकट अरु कोही छैन । म नै मेरो सबैभन्दा ठूलो शुभचिन्तक हुँ । म रामबाबु घिमिरेको फ्यान हुँ । केन्द्रको विशेषता स्थिरता हो । स्थिरताको अभिप्राय गतिशून्यता हो । मेरो वर्तमानतामा पनि कुनै चहलपहल छैन । मेरो जीवन यात्रु हिंड्न छाडेको उकालोको बुढो बटवृक्षझैं भएको छ । दिनहरू एकनास बितिरहेछन् । गते, बार र महिना बित्नुसँग मलाई कुनै मतलव छैन । गते र महिनाको चासो कर्मचारीलाई हुन्छ । समयक्रमबाहेक मेरा लागि सबै कुरा स्थिर छन् । समयक्रमको प्रभाव मेरो आकृतिमा मात्र होइन, शरीरका सबै अवयवमा परेको छ । करीव १५ वर्ष पूर्व मेरो आँखा परीक्षण पश्चात् नेत्र विशेषज्ञले भनेका थिए – तपाईंको आँखाको उमेर तपाईंभन्दा १० वर्ष जेठो छ । त्यतिबेला उनको भनाइबाट म अचम्मित भएको थिएँ । तर बुझ्दै जाँदा थाहा पाएँ कुनै पनि मान्छेको कालक्रमिक उमेर भन्दा उसका शरीरका अवयवका उमेर जेठो कान्छो हुँदो रहेछ । केही वर्षपूर्व समाचार सुनेथेँ भारतका एक प्रदेशका राज्यपाल ८६ वर्षको उमेरमा यौन स्क्यान्डलमा परेका थिए र उनले राज्यपालबाट राजिनामा गर्नु परेको थियो । मेरो आँखा मात्र होइन शरीरका प्रायः सबै अवयव म भन्दा जेठा छन् । त्यसैले मेरो मन रुण र शरीर बुढो भएको छ । यस्तो हुनु भयावह अवस्था हो । तपाईंले थाहा पाउनु नै भयो मेरो जीवन संकटग्रस्त छ । त्यसैले दिक्क लाग्छ र जीवनमा संकटकालको घोषणा गरुँ गरुँ झैं लाग्छ । आशा छ, संकटकाल घोषणा गरेपछि मेरा शरीरका सबै अवयव मेरो मनको कब्जामा हुनेछन् । मेरो स्मृति पनि कमजोर भएको छ । मानौं मलाई पनि हनुमानलाई जस्तै विस्मरणको श्राप परेको छ । अरुले बोध नगराएसम्म मलाई आफ्नो हैसियत बोध हुन्न । विरोधीले हैसियत बोध गराउनु सामान्य प्रचलन हो तर मलाई त मित्रहरूले नै पटक पटक हैसियत बोध गराएका छन् र ती उत्प्रेरक कम र अवशादमूलक बढी छन् ।
म प्रायः आफ्नै बारेमा सोच्छु । मेरो दुनिया म बाट सुरु हुन्छ । अरुका बारेमा सोच्दा पनि म आफैँ केन्द्रमा हुन्छु । म तिनै मान्छेका बारेमा सोच्छु जो-जससँग मेरो सरोकार छ । तपाईंले मलाई आत्मकेन्द्रित ठान्नु भयो होला । म स्वीकार्छु म आत्मकेन्द्रित छु अथवा स्वकेन्द्रित । यसो सोच्दा लाग्छ– कमसेकम म आफ्नै लागि भए पनि केन्द्र हुँ । अस्तित्ववादले व्यक्तिसत्तालाई सर्वोपरि ठानेको छ । हुन पनि म मेरा लागि सर्वश्व हुँ । मेरो महाप्रस्थान पश्चात् दुनियाँका सबै कुरा मेरा लागि निष्प्रयोजन हुनेछन् । मान्छे आफ्नो अस्तित्वप्रति यति सचेत छ कि मृत्यु पछिको अस्तित्वका लागि धर्मोन्मुख हुन्छ । धर्मको परिधि आफूबाट सुरु भई स्वर्गसम्म पुग्छ । हरेक धर्मको आआफ्नै केन्द्र र परिधि हुन्छ अनि हरेक धर्मालम्वी आफ्नो धर्मको परिधि बढाउन प्रयत्नरत हुन्छ । नेपाल धर्मनिरपेक्ष देश हुनुमा क्रिश्चिनिटीको परिधि विस्तारको प्रतिफल भन्ने सुनिन्छ । यो देशलाई धर्मनिरपेक्ष बनाइएकामा धरोधर्म मेरो भागमा सुको दाम पनि परेन । शिरडीका साइबाबा ‘सबका मालिक एक है’ भन्थे । हिन्दू धर्ममा एकेश्वरवादी संप्रदाय पनि छ ।
म आफ्नो व्यक्ति सत्ताप्रति अति नै संवेदनशील छु । हुनत मेरो व्यक्ति सत्ता सामुहिकता सापेक्ष छ । जहाँसम्म सामुहिकता र व्यक्तिवादिताको कुरा छ सामुहिकताबाट सुरक्षण अनुभूत नभएपछि मान्छे झन् बढी व्यक्तिवादी बन्छ । सामुहिकता भित्र व्यक्तिगत सत्ता सुरक्षित हुनुपर्छ किनकि व्यक्ति विशेष भनेको कुनै यन्त्रको पार्टपुर्जा होइन । साम्यवादको कमजोरी के हो भने व्यक्तिसत्तालाई गौंण ठान्छ । उत्तरआधुनिक चिन्तनले व्यक्तिगत स्वतन्त्रतालाई पूर्व सर्त भनेको छ । केन्द्रियताको विरोध, समावेशिकता र परिधिको प्रश्रय संघीयता र उत्तरआधुनिकताका मिल्दाजुल्दा अभिलक्षण हुन् । व्यक्ति सत्ताको अभिप्राय रविन्सन क्रुसो वा अज्ञात हिमाली क्षेत्रमा तपस्यारत ऋषि होइन परन्तु सामुहिकता भित्र व्यक्ति विशेषको अस्तित्व । अब तपाईंलाई भन्नु परोइन म आफैँमा केन्द्र हुँ । जब म केन्द्र हुँ भने सानो वा ठूलो मेरो पनि परिधि छ । मान्छे जति लोकप्रिय बन्दै जान्छ उसको परिधि पनि बिस्तार हुँदै जान्छ । पद प्राप्तिबाट बनेको परिधि पदमुक्त भएपछि स्वतः सङ्कुचित हुन्छ । एकताका मेरो परिधि पनि अलि ठूलै थियो तर विस्तारै संकुचित हुँदै गएको छ ।
म केन्द्र हुँ तर मेरो परिधि संकुचन तीव्र गतिमा भैरहेको छ । यही अनुपातमा मेरो परिधि संकुचन भैरहने हो भने त्यो दिन टाढा छैन जब म केन्द्र नभई फगत परिधि हुने छु । तपाईंलाई थाहा नै छ केन्द्र हुन विशेष आकर्षण, क्षमता वा उपादेयता हुनुपर्छ । मसंग त्यस्तो कुनै क्षमता वा उपयोगिता छैन जसका कारण मान्छेहरु मप्रति आकर्षित होउन् । चक्राकार वस्तुको परिधिले केन्द्रलाई परिक्रमा गरेजस्तो मेरो परिक्रमा गरुन् । पात्र उपयुक्त भए परिक्रमा फलदायी हुन्छ । परिक्रमाबाट सुमेरु पर्वत घुम्नेहरुलाई सजिलै पाखा लगाउन सकिन्छ । वर्तमानमा प्रचलित समानुपातिकको व्यवस्था व्यवहारिक अर्थमा परिक्रमा प्रणाली बनेको छ । एक बूढा नेताले त सारै राम्रो युवतीलाई समानुपातिकमा पारेका छन् । सौन्दर्य आफैँमा केन्द्र हो र दर्शकहरु परिधि हुन् ।
मेरो वर्तमान अवस्था त यति दर्दनाक छ कि परिवारको पनि म केन्द्रमा होइन परिधिमा पुगेको छु । उपादेयताको समाप्ति पश्चात मान्छे स्वतः परिधि बन्दोरहेछ । हुन त परिधि हुनु भनेको गतिशील हुनु हो । म पनि गतिशील छु तर मेरो गतिको म कारक म नभई अरु कोही बनेको छ । म हालखबरबाट प्रभावित त हुन्छु तर आफैँ हालखबर बन्ने सामर्थ्य ममा छैन वा समाप्त भयो । कारण राम्रो वा नराम्रो जे भए पनि एकताका म पनि हालखबरमा थिएँ । केन्द्र हुनुको अर्थका गतिशून्य र परिधि हुनुको अर्थमा प्रतिक्रियाशून्य भएपछि अस्तित्वहीन होइँदो रहेछ । अँ, म परिक्रमाको कुरा गर्दै थिएँ परिक्रमा मान्छेलाई मात्र होइन देवतालाई पनि मन पर्दो हो । तसर्थ नै मान्छेहरु देवमन्दिरको परिक्रमा गर्छन् ।
मेरो कुनै निर्धारित गन्तव्य छैन र थिएन । गन्तव्य मात्र होइन प्रत्याशा पनि केही छैन । जीवनमा एकोहोरो हिँड्दाहिँड्दै यहाँसम्म आइपुगेँ म । मलाई थाहा नभएको होइन गन्तव्य बिनाको यात्राबाट कहीँकतै पुगिन्न । यति बेला मनमा एउटा मार्मिक कथन स्मृत भैरहेछ– एउटा मान्छे बाटोमा जाँदाजाँदै दोबाटोमा पुगेछ । कुन बाटो जाउँ भनी दोमन भएछ । एउटा स्थानीय मानिस देखेपछि उसले सोधे छ– कुन बाटो जानु ठीक होला ? स्थानीयले प्रतिप्रश्न गरेछ– तपाईंलाई कहाँ पुग्नु छ ? उसले भने छ– त्यसो त म कहीँकतै पुग्न हिँडेको होइन । स्थानीयले सल्लाह दिँदै भनेछ– तपाईं जुन बाटो जानु भए पनि ठीकै हुन्छ । हो, म धेरै लामो यात्रा पछि यहाँसम्म आइपुगेको छु तर म जहाँ आइपुगेको छु यो मेरो गन्तव्य होइन । पुग्नुपर्ने अन्तै थियो तर यहाँ यो पाइपुगेँ । यहाँ अर्थात् मेरो वर्तमान । मलाई यस्तो लाग्न थालेको छ – गन्तव्य निर्धारण नहुनाले नै म आफ्नो लागि केन्द्र भए पनि अरुका लागि फगत परिधि बनेको छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।