अन्न-वस्त्रको गरिबीभन्दा मनको गरिवी विकराल चर्को हुँदो रहेछ । विगत केही दिनदेखि त्यस खालका विसङ्गत दृश्यहरू देखिरहेछु । देश कोरोनाकहरमा छ । गाउँ र सहर लकडाउनमा बन्दी बनेका छन् । बस्ती-बस्तीमा भोकको आगो सल्किँदै छ । गरिबका चुलाहरू नियमित धुवाँउन छाडेका छन् । श्रम गरेर बिहानबेलुकी छाक जुटाउने परिवारलाई मुखमा माड लाउन धौ-धौ पर्दै छ । स्थानीय सरकारले बेला-बेलामा दालचामल बाँड्न थालेको छ । यसले गरिब र विपन्न वर्गलाई थोरै राहत पुर्याएको छ तर विपन्न वर्गलाई आएको राहत आफ्नो भागमा पार्न हुनेखाने वर्गका मान्छे पनि चलमलाएको दृश्यले नमिठो ऐँठन गर्दछ । विपन्नहरूको राहत लिने लाइनमा सम्पन्न वर्गका मानिस पनि लामबद्ध भएको दृश्यले मन विसङ्गतिमा खस्तछ ।
घरमा भौतिक पदार्थको लदावदी भएर के गर्नु ? मान्छे मनले कङ्गाल भएपछि । खाना, नाना, छानामा समजुक्त भएर के गर्नु ? मान्छेको मनोदशा नै गरिब भएपछि । एक जना मान्छे घरको तेस्रो तला ढलानको तरखरमा छ । फुइँ लाई हिड्ँछ-घरको फिनसिङ सकिँदा सवा करोड खर्च पुग्ने भयो । ऊ पनि एक बोरा चामल माग्न राहतको लाइनमा छ । अर्की एक साफेदपोस सुन्दरी महिला घाँटीमा तीन तोलाको सुनको सिक्री झुन्ड्याएर राहत माग्ने लाइनमा उभिएकी छिन् । हातमा महँगो आइफोन बोक्ने युवा पनि राहतकै लाइनमा छ । घरको ढोक्साभरि धान हुने मानिस पनि राहत माग्ने लाइनमै छन् ।
आवश्यकताले भन्दा पनि मागेर खानुको मजाले यस्ता कथित हुनेखानेहरू गरिबको लाइन मिच्न आएका छन् । धनको गरिबीले होइन मनको गरिबीले कङ्गाल बनेका मनुवाहरू राहतका लाइनमा उभिन पुगेका छन् । घरमा एकपेट खाने र एक आङ लाउने व्यवस्था भएका मान्छेहरूले विपन्नहरूको लाइन कब्जा गरिदिएपछि भोको भोकै पर्ने, नाङ्गो नाङ्गै रहने अनि त्यसको ठाउँमा अघाएकाहरू नै झन् अघाउन पाउने व्यवस्था सिर्जना हुँदै छ ।
शेखचिल्लीले माग्ने भिखारी पिटेको कथा भर्खरै पढ्दै थिए । एउटा दोबाटोमा अन्धो भिखारी अगाडि नाङ्लो फिँजाएर घोक्रो सुकाई-सुकाई भिक माग्दै छ ।
“अल्लाहको नाममा दस रुपैयाँ दिनुस् हजुर !! तपाईँको कल्याण हुनेछ !………….” त्यस ठाउँमा शेखचिल्ली आइपुग्छ । भिखारी छ हट्टाकट्टा जवान । कपालमा लामा-लामा जटा छन् । दारी जुँगा पनि लट्टे बाबाजीको जस्तो लामा-लामा छन् । बिलकुल आँखा नदेख्ने भिखारी छ । मान्छेले उसको नेत्रहीन अवस्था देखेर नाङ्लोमा दस, बिस, पचास, सयका नोटहरू खसाइदिएका छन् । नाङ्लोभरि पैसा थुप्रिएको छ । शेखचिल्लीले नाङ्लाको पैसा कब्जा गर्ने सोच बनाउँछ । भिखारीलाई दिनलाई एक रुपैयाँ निकाल्छ । भिखारी एक रुपैयाँ समात्न दुइटै हात मास्तिर उठाउँछ । त्यही मौकामा नाङ्लाका पैसा अर्को हातले गुटमुट्याएर शेखचिल्ली गोजीमा घुसार्छ । वास्तवमा ऊ आँखा नदेख्ने अन्धो भिखारी हुँदैन । मागी खानका लागि अन्धाको अभिनय गरेको हुन्छ । आफ्नो पैसा उसले गुटमुटाएपछि खेद्न थाल्छ । शेखचिल्लीलाई खेतमा समातेर पछार्छ । उनीहरूको बिचमा ठुलो लाप्पा पर्छ । शेखचिल्ली पनि जुध्न के कम । भिखारीको कपाल जगल्ट्याउँछ । उसले नक्कली जटा भिरेको हुन्छ । तान्नेबित्तिकै कपाल पुक्लुक्क फुक्लिन्छ । दारी तान्छ, दारी नै फुक्लिन्छ ।
ऊ वास्तवमा अन्धो पनि थिएन । भिखारी पनि थिएन । त्यो दुवै उसले काम गर्नका दुःखले मागी खान अभिनय गरेको थियो । हामीलाई पनि अहिले एक बलवान् शेखचिल्लीको आवश्यकता छ । विपन्न वर्गका लाइनमा राहत हत्याउन उभिएका नक्कली गरिबहरूको जटा र दारीजुँगा उतार्न यस्तो शेखचिल्ली आइदिए कति काइदा हुने थियो ।
भारतका विभिन्न सहरमा रहेका एक दर्जन करोडपति भिखारीहरूका अन्तःकथा कतै पढेको छु । भरत जैन, सर्वतीयादेवी, मलाना खान उस मासु, लक्ष्मी दास, कृष्णकुमार गिते, सम्भाजी काले, पप्पुकुमार जस्ताका कथाले भयङ्कर करोडपतिहरू पनि कसरी दयनीय भेष धारण गरी भिख माग्न सक्ता रहेछन् भन्ने कुरा देखाउँछ ।
उनन्चालिस वर्षको भरत जैन कम्ती धनी छैन । मुम्बईमा उसका असी-असी लाखका दुई फ्लाट छन् । भिख मागेरै महिनाको पचहत्तर हजार कमाउँछ । ऊसित के छैन सबचिज छ । सब सुविधा छन् । कन्भेन्ट स्कुलमा बच्चा पढाउँछ । करोडको बैङ्क ब्यालेन्स छ । दोकान व्यवसायबाट नियमित आम्दानी आउँछ र पनि ऊ सडकमा भिख माग्छ । यस्तै मलाना खान उस मासुको पनि मुम्बईमा तिसौँ लाखको सम्पत्ति छ । करोडभन्दा बढी बैङ्क ब्यालेन्स राख्ने पप्पुकुमार पटनाको सडकमा भिख माग्छ ।
वर्षको छत्तिस हजार त बिमाको प्रिमियम मात्रै बुझाउँछे सर्वतियादेवी । ऊ पनि पटनामै भिख माग्छे । यस्तै सम्भाजी काले, कृष्णकुमार गिते र लक्ष्मीदासहरू गरिब छैनन् तर पनि उनीहरू करोडपति भिखारीमा गनिन्छन् ।
घरमा खाने, लाउने चिज नभएर भिखारी हुनु एउटा कुरा हो । अपाङ्ग, रोगी र आश्रयविहीन भएर मान्छे भिखारी हुनु एउटा कुरा हो तर स्वास्थ्य सही सलामत छ । हात खुट्टा र शरीरका अन्य अङ्गप्रत्यङ्ग स्वस्थ छन् र पनि मान्छे मगन्ते बनेका अनेकन् दृश्यहरू छन् । काम गर्नभन्दा भिख माग्न सजिलो भएपछि मान्छे मगन्ते हुन्छ । भिख माग्न उसलाई लाज हुँदैन । घिन हुँदैन । ग्लानिबोध र पश्चात्ताप हुँदैन । चित्तमा मगन्ते संस्कारले जरा गाडेपछि धनी पनि माग्ने हुन्छ । करोडपति पनि भिखारी बन्न उत्सुक हुन्छ ।
सम्भाजी काले र भरत जैनकै प्रेतपुत्लाहरू हाम्रा पनि टोलबस्तीमा छ्यापछ्यापती छरिएको दृश्य अन्दजा लगाउँदै छु र म यो निष्कर्षमा पुगेको छु, हाम्रो घर आँगनमा दुई मुठी चामल माग्न आउने मगन्तेहरू, बाटोघाटो सडक र देवालयमा कटौरो तेर्स्याएर भिख माग्नेहरू सबै गरिब छैनन् । सबै घरबारविहीन पनि छैनन् । माग्ने जति सबै गरिब होइनन् । फेरि मान्छेले जे मागोस् त्यो भिखारी नै हो भन्ने मेरो ठहर छ । कुनै मन्दिरको बाहिरी सिँढी र पटाङ्गिनीमा बसेर दुई पैसा माग्ने पनि भिखारी हो । मन्दिरभित्र पसेर भगवान्को मूर्तिसामु कुनै कामना र चाहनाको याचना गर्नु पनि भिखारी नै बन्नु हो ।
बाहिर कहतारो फिँजाएर दुई मुट्ठी चामल र दुई पैसा दाम माग्ने भिखारीभन्दा लाख गुणा ठुला सफदेपोस भिखारीहरू भित्र मूर्तिसामु लम्पसार परिरहेका हुन्छन् । माग्नकै लागि बिहान-बिहान झिसमिसमै घ्याँक्ला पसारिरहेका हुन्छन् । एकचोटि अकबरको दरबारमा रहिम बच्चा पढाउने एउटा मदर्सा माग्न गएका थिए । उनी आफ्नो इच्छाले पनि गएका थिएनन् । गाउँलेहरूले उनलाई राजासित एउटा स्कुल मागिदिनुस् भनेर कर गरे । त्यतिखेर रहिम अकबर राजाको दरबारका नवरत्नमध्ये एक थिए । उनले भनेको कुरा अकबर अस्वीकार गर्दैनथे । त्यो कुरा बुझेरै उनीमार्फत स्कुल निर्माणको माग गर्न लाए ।
रहिम बिहानबिहानै अकबरलाई भेट्न गए । त्यो घडी राजा दरबारभित्र प्रार्थना कक्षमा रहेछन् । ढोकामा पुगेर चियो गरेर हेरे । अकबर त अल्लाहसित आँखा चिम्लेर अरू धनदौलत, समृद्धि र शक्ति मागिरहेका छन् । त्यो देखेर रहिमलाई घृण पैदा भयो । आफैँ यस्तो मगन्ते भेषमा छन् राजा । यिनीसित के मदर्सा खोलिदेऊ भनी माग्नु, यति सम्झेर रहिम केही नमागी फर्केका थिए । रहिमका नजरमा सम्राट् अकबर पनि सबभन्दा ठुलो भिखारी ठहरिएका थिए ।
ऊ बेलाका अकबरको के कुरा हाम्रै देशका राजा महाराजाको कुरा गरूँ । गणतन्त्र आएको दस-बाह्र वर्ष हुँदै छ । लामो समय राजा महाराजाले नै प्रत्यक्ष शास सत्ता चलाए । त्यो समयमा पनि अन्ताराष्ट्रिय जगत्सित हात पसारेरै, कटौरा थापेरै देशको खर्च धान्ने काम गरे । गणतन्त्र कालमा पनि वैदेशिक सहयोगको मुख नताकी वार्षिक बजेट बन्दैन । अरूसित हात नपसारी विकासका योजना परियोजना अगाडि बढ्न सक्तैनन् । नेता र शासक नै भिखारी भएको देशमा जनता मगन्ते हुनु कुनै अस्वाभाविक कुरा होइन ।
पूर्वीय जगत्मा माग्नु सनातन संस्कृतिको एक अनुदान हो । उहिल्यै भष्मासुरले पनि महादेवलाई सिध्याउन महादेवसितै वर मागेको थियो । उसले लामो समय शिवकै तपस्या गर्यो । शिवकै आरधना गर्यो । शिवले खुशी भएर बरदान माग भने । उसले आफूलाई कसैले मार्न नसक्ने वर माग्यो । साथसाथै मैले जसको शिरमा हात राख्छु । ऊ टाउको पड्केर ठहरै मरोस् भन्ने वर माग्यो । शिवले पनि तथास्तु भनिदिए । त्यस्तो वर पाएपछि अब शिवलाई नै मार्न खेदी हिँड्यो । आखिरमा विष्णुले उसलाई अलमल्याएर त्यो झुटो वरदान हो । नभए आफ्नै शिरमा हात राखेर हेर, महादेवको कुरा झुटो हो भनेर विश्वस्त गराए । हो क्यारै भनेर भष्मासुरले वरदान पाएको सही हो होइन जाँच्नका लागि आफ्नै थाप्लामा हात राख्यो । तुरुन्तै टाउको पड्केर परमधाम गएको मिथक छ ।
विष्णुले पनि मगन्ते भेष धारण गरेरै बलिराजालाई पताल भसाएको मिथक पनि छ । एउटा बामपुड्के भिखारी भेषमा सुरुमा केवल तीन पाइला जमिन मागेका छन् तर त्यो माग पुरा हुनेबित्तिकै बलि राजालाई नै उठिबास लाइदिए ।
द्रोणाचार्यले एकलव्यसित गुरुदक्षिणा स्वरुप औँलो मागे । सोझो एकालव्यले गुरुको कुटिल हर्कत बुझ्न सकेन । नाथे एउटा औँलो काटेर दिदाँ के नै बिग्रिन्छ र ? भन्ने ठान्यो । तुरुन्तै बुढी औँलो छेदन गरेर गुरुको हातमा टक्र्यायो तर पछि मात्र बुझ्यो । ऊसित रहेको धनुर्विद्याको प्रवीण कला सधैँका लागि निस्तेज पारिएको रहेछ । परापूर्व कालमा कसैको शक्तिलाई निस्तेज गर्न सुरुमा मगन्ते भेष धारण गरी ऊसितै केही न केही मागिन्थ्यो । कसैको सामर्थ्यलाई छिन्न उसैसित केही याचना गरिन्थ्यो । कसैको जीवन वध गर्न समेत मगन्ते रूप धारण गरी काम फते गरिन्थ्यो । अनि माग्नुको माहात्म्य थोरै सानो छ ?
मतदानमा अब्बल स्थान हासिल गरेर माथि गएका नेतालाई हेरूँ न । अहिले जनताकै टाउकामाथि रजाइँ चलाइआएका नेताहरू हिजो मृदुल मसृण आवाजमा जनतासित भोट मागेरै त्यो ठाउँमा पुगेका छन् । नाथे मागेरै पाइने भोट, दिनेले पनि कुनै कन्जुस्याइँ गरेन । लिनेले पनि सजिलै लियो तर हिजो बिरालो चालमा ङ्याउ ङ्याउ गरी भोट माग्ने नेता अहिले शेर बनेर सकल जनगणको छातीमा नङ्ग्रा गाड्दछ । दाह्रा धस्तछ । जनताकै रगतपसिनामा रजाइँ गर्दछ ।
एक मगन्ते बाहुन-चरीको कथा मलाई थाहा छ । उनी हिउँद लागेपछि पुसदेखि वैशाखसम्म मान्छेका घर-घरमा डुलेर पाती पढ्छन् र चामल बटुल्छन् । चार महिनामा मुरा आठेक चामल जोरजाम गर्छन् । बुझ्दाखेरि उनको घरखेती पनि राम्रै रहेछ । आफूलाई खान पुग्ने धान फल्दो रहेछ । सदैव मागी हिँड्नुको कारण चाहिँ हिउँदभरि मागेका चामलले वर्षभरि खान पुग्दो रहेछ । अनि आफ्नो घरको धान सग्लै बेच्ता रहेछन् । उनका लागि माग्नु त एक व्यवसाय पो भएको छ । पाती पढेर पनि उनले राम्रै कमाइ गरिरहेका छन् ।
अर्की एक मोही मागी हिँड्ने गाउँकी बजूको कथा याद आउँछ । ती बजू अहिले मरेर गै सकिन् तर उनी सदैव मोही मागी हिँड्थिन् । मोही खान त मान्छे गाई पाल्छन् । भैँसी पाल्छन् । घाँस काट्छन् । गोबर सोहर्छन् । ठेकामा मदानी घुमाउँछन् । मोही त्यसै बन्ने चिज होइन । हजार लेठो र हन्डर बेहोरेपछि ठेकामा मोही जुर्दछ तर बजूका बटुकामा सदैव मोही हुन्थ्यो । उनले माथिको कुनै लेठो पनि बेसाइनन् । जति दिन बाँचिन् मोही पिएरै बाँचिन् । जति दिन पिइन् उति दिन मागेरै पिइन् । कुनै दिन मोहीविनाको निस्तो गाँस खाइनन् ।
उनको नामै मोही माग्ने बजू रहेको थियो । आफ्ना छरछिमेक टोलबस्ती ओल्लो गाउँ पल्लो गाउँ कुन घरमा के दुहुनो छ ? कुन घरमा कुन दिन मोही पार्ने पालो पर्छ ? तिनलाई एक एक हेक्का रहन्थ्यो । मोही माग्न चारमाने ढुङ्ग्रो बोकेरै हिँड्थिन् । मोही खाने बानी लगाएपछि मागेरै भए पनि उनले आजीवन मोही पिइन् ।
राजनीतिको अधकल्चो ज्ञान बोकेर हर्दम मागेरै खाई जीविका चलाउने एक ठुटे नेतालाई नजिकबाट चिन्दछु । ठुटे नेता यसर्थ भनेको हुँ उनको जीवनमा कुनै लाभग्राही पदको चिउला कहिल्यै पलाएन । न त उनले टिकट पाए न त उनले चुनाव जिते न त उनी कुनै पदमा पुगेर जनताको सेवा गर्न सक्ने नै भए र पनि राजनीतिको नशा उनको शरीरबाट, मनबाट कहिल्यै उत्रेन । पैतृक रूपमा पनि ठिकै श्रीसम्पत्ति भएकै मान्छे हुनतर आफ्ना इष्टमित्र शुभेच्छुक अनुयायीसित हमेसा मागेरै यिनलाई मिठो खान पुगेको छ । राम्रो लाउन पुगेकै छ । मागेरै पक्की घर उभ्याउन पनि सकेकै छन् । मागेरै यति सम्पन्न जीवन बाँच्न सक्नुलाई मैले भरत जैनका नेपाली संस्करण ठानेको छु । भरत जैन त थोत्रोमोत्रो पहिरनमा मुम्बईका सडकमा लट्टादारी सहित मागी हिँड्छ । यिनी त सुकिलो-मुकिलो सुट परिधानमा आफ्नो काम फत्य गराउँछन् ।
एक दिन एक जना साथीसित गरिवीको विषयमा गहन विमर्श चल्यो । उनले धनको गरिबी, मनको गरिबी र चिन्तनको गरिबीलाई विभिन्न आयामहरूबाट प्रस्ट पार्न खोजे । उनी एक साहित्यकार हुन् । उनले एक साहित्यिक अग्रजकै उदाहरण प्रस्तुत गरे । ती अग्रज राम्रै श्रेणीमा गणना हुने स्रष्टा हुन् । उनी माध्यमिक तहको प्रथम श्रेणी (सहसचिव तह) बाट अवकाश प्राप्त अध्यापक पनि हुन् । उनी मासिक तीस पैँतीस हजार पेन्सन बुझ्छन् । बैङ्कहरूमा उनको राम्रो सेयर हालेका छन् । जसबाट असी नब्बे हजार मासिक बोनस प्राप्त हुन्छ । काठमाडौँमा दुईओटा आलिशान घर हुन् । जसबाट महिनाको ६०/७० हजार भाडा उठ्छ । दुई भाइ छोरा बैङ्कमा अधिकृत छन् । उनीहरू लाखभन्दा बढी नै तलब थाप्छन् तर यी गुरु कतै जाँदा आफ्ना चेलाचपेटासित साहित्यिक मित्रमण्डलीसित गाडी भाडा माग्छन् । उनको घरायसी आर्थिक अवस्था थाहा नहुनेले त सहानुभूतिपूर्वक नै मागेको पैसा दिन्छन् तर उनको वास्तविकता बुझ्नेहरूले उनीप्रति घृणाले हेर्छन् अरे ।
ती साथीले मलाई प्रश्न गरे, अब भन्नुस् यी गुरु धनी हुन् कि गरिब हुन् ? सबैभन्दा डरलाग्दो हुँदो रहेछ चिन्तनको गरिबी । सबैभन्दा भयानक हुँदो रहेछ मानसिकताको गरिबी । घरमा अरबौँको सम्पत्ति भएर पनि मान्छे दरिद्र मानसिकतामा बाँचिरहेको हुन्छ । घरमा धनको समृद्धि परिव्याप्त हुनेबित्तिकै सोचमा समृद्धि आउँदो रहेनछ । चिन्तनमा समृद्धि छाउँदो रहेनछ ।
अर्कासित माग्न र हात पसार्नलाई पनि अलिकति अभाव त देखाउनैपर्छ । घोर दुर्भिक्षमा परेको अलिकति अभिनय त अजमाउनैपर्छ । आफ्नो दीनहीन स्वरूप नदेखाईकन माग्ने बाटो पनि खुल्दैन । घरभरि टन्नमन्न भएर पनि माग्न नहिचकिचाउने मान्छे गरिबी र अभावको अभिनय कलामा निष्णात मात्र होइन; कलाप्रवीण पनि बनेका हुन्छन् । उनका चित्तदशामा एक जण्ड भिखारीपनले आशन जमाएको हुन्छ । जसले हरदम हात पसार्न निर्देश गर्छ । त्यसो हुँदा मान्छे धनको धनी भएर पनि मनको गरिबीमै जीवित रहन विवश हुन्छ ।
भिखारीहरूको मगन्तेपन एक वृत्ति हो । यो सरल समानान्तर रेखामा यात्रा गर्दैन । वृत्तमा वरिपरि घुम्नमा र फन्को मार्नमा यसको विशेष रुचि रहन्छ । त्यसकारण वृत्तमा कैद बनेको मगन्त नारायण त्यसबाट बाहिर अमिरीको सरल रेखामा कहिल्यै कुद्न सक्तैन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।