अतीतका पानाबाट
मानिसको जीवनमा अनेक घुम्ती र मोडहरू आउँछन् जान्छन् । मेरा जीवनमा पनि कति-कति अनकन्टार घुम्ती, मोड र उकाली ओरालीहरू आए । मैले कहिल्यै जीवनलाई सुख, सुविधा, ऐयासी र चमक धमकको सपनामा सजाउने दुःशाहस गरिन । मेरा कल्पना र सोचहरू त्यतातिर कहिल्यै गएनन् । म जन्मँदै मेरा बाबा आमाले मुग्लानको बाटो तय गर्नुभयो । त्यसैले होला मैले पनि मेरा अनकटार जीवनमा सधैँ अनिश्चितताका बाटहरू तय गर्नुपरेको छ । जुन मैले कहिल्यै कल्पनै गरेको थिइनँ । त्यसैमध्येको एउटा बाटो मेरो जुवा घरको जागिर पनि हो ।
म कञ्चनपुर जिल्लाको पुनर्वास भन्ने ठाउँमा हुर्केको हो । त्यहाँ मलाई देखेपछि चौराहामा तास खेल्दै गरेका धेरै मानिसहरूले ऊ ल सर्वज्ञ आयो भनेपछि तासै छोडेर हिँडेको कुरा त्यहाका गाउँले दाइ भाइहरूले सुनाउँथे । यो कुरा ५० सालतिरको हो म धनगढीमा त्यसताका बिएमा पढदै थिएँ । रङ्गे हट्टाकट्टा जवान थिए । उनी घ गाउँको चौराहको पसलमा तास खेल्दै रहेछन् । उनलाई कसले म आएको कुरा गरेछ आफूले जितेको खालै छोडेर बारी-बारी भागेछन् । भोलिपल्ट बिहान चौराहमा त्यही कुरा गर्दै अरू साथीहरूले हाँसो गर्दै थिए । अर्को दिनको कुरा हाम्रो गाउँका एक जना दाइ गाविस अध्यक्ष हुनुहुन्थ्यो उहाँले चौराहाको चौतारामा मजासँग तास खेली रहनुभएको रहेछ । म टुप्लुक्क पुगेँ र टक्क अडिएँ । किनभने त्यो ठाउँ चौबाटाको चौतारामा तास खेलिएको थियो । बिलकुल अनुशासनभन्दा बाहिरको कुरो । नेपाली उखानमा भनिन्छ नि ‘…..लाई भन्दा देख्नेलाई लाज’ भनेजस्तो मलाई लाग्यो र म अडिएको हो । अन्यथा पसलको भित्र लुकेर खेल्नेको अगाडि म कहिल्यै जान्थिनँ पनि ।
कुरा चौतारामा खेलिएको तासको अरूले तास फाले तर उहाँले हातमा लिइरहनुभयो । अर्को दिन म धनगढी पुगेपछि ‘गाविस अध्यक्षद्वरा तास उद्घाटन’ भनेर मैले समाचार निकालेँ त्यो पत्रिका छ्यापछ्यापती गाउँमा बाँडी दिए । पछि उहाँले भन्नुभएछ “यो सर्वज्ञ को काम हो ठिकै छ ।” त्यसपछि त्यहाँ कसैले पनि दसैँ र तिहारबाहेक तास खेलेको मैले थाहा पाइन । नियतिको कुरा तर मैले नै पछि गएर तास खेलाउने जागिर खानुपऱ्यो । कैलाली क्याम्पसबाट मेरो बिएको पढाइ सकिनासाथ मैले गाउँ छोडेँ । देशभित्र दन्केको युद्धको आगोको लपेटाबाट मुक्ति पाउन गाउँबाट युवा पलायन भएझैँ म पनि जुवाघरको जागिरे हुन राजधानी पुगेँ ।
मेरो मानसपटलमा जुवा भनेपछि दसैँतिहारमा गाउँघरमा खेलिने जुवा र गाउँघरको चोक तथा चौरमा खेलिने ट्वान्टिनाइन, रमी, काटपत्ती, जुटपत्ती, दहरमारा, पप्लु, कौडा आदी होलान् भन्ने गहिरो छाप थियो तर जुवाघरको मेरो जागिरे जीवनले जुवा, जीवन र रक्सीको अर्कै खाले रेखाचित्र कोर्न मलाई बाध्य बनायो ।
नेपाल गरिब छ, सम्पूर्ण नेपाली गरिब छन्, नेपाली वीर हुन्, पराक्रमी तथा मेहनती पनि त्यसैले नेपाली सोखी हुँदैनन् भन्ने मेरो मन र मस्तिष्कमा परेको छापमा कुठाराघात भयो ।
त्यहाँभित्र बस्दा लाग्थ्यो हाम्रो देशभित्र अर्के संसार छ जो एलिटको मात्रै चित्र कोर्छ । लामा र पट्यारलाग्दा दिनहरूपछि जुवाघरको जीवनमा फर्की हेर्दा मेरो दिमागमा जाँड, जुवा र जीवनरूपी रेखाचित्रका यात्रा यस्ता कोरिन पुगेछन् ।
यो घटना 2007 january 4 को हो । मलाई राम्रोसँग याद छ । कतिपय कुराहरू त म सधैँ टिप्ने गर्छु । बिहान ४.४५ बजे बिस्तराबाट उठेपछि हरेक दिन बिहान काममा जानुभन्दा अगाडि म नुहाउने गर्थेँ । किनभने बिहानै नुहाएपछि निद्राको कुनै कसर बाँकी छ भने पनि बिहानको स्वच्छ पानीले त्यसै त्यसै धोइदिन्छ, पखालिदिन्छ र गायात्री जप गरेर भगवान् तथा पितृलाई सम्झेपछि त्यो दिन राम्रोसँग बित्छ भन्ने मलाई लाग्थ्यो । त्यो हाम्रो मेरो यो नित्य कर्म पनि हो । त्यो सकेर म ५.१० मा अफिसको गाडीमा अफिसतिर लागेँ ।
सधैँझैँ विभिन्न किसिमका जुवाडेहरू कुनै अघिल्लो दिनदेखि खेलिरहेका हुन्थे भने कुनै बिहानै अफिस जानुभन्दा अगाडि घरबाट आफ्ना परिवारलाई बिहानै अफिसमा धेरै काम गर्नु छ भनी ढाँटेर निस्केका कामचोर कर्मचारी नै बढी हुन्थे । कोही जुवाडे भने बिहानै अफिसको डिउटी समयमा आइपुग्ने गरी जुवाघरमा बिहानै खेल्न आउने गरी सधैँ जुवामा धाउने खालका हुन्छन् तर एउटा कुरा चाहिँ के भने एउटा जुवाडे पुरानो भएपछि उसले कोही न कोही नयाँ जुवाडे जन्माउने गर्छ । फकाएर फुलाएर लोभ देखाएर जुवाघरमा ल्याई छोड्छ, फसाई छोड्छ र आफ्नो पैसा सकिएपछि नयाँ जुवाडेको पैसा र सोर्समा खेल्ने गर्छ ।
२००७ जनवरी ४ तारिख बिहीबारका दिन बिहानै धुमबाराईका २५-२६ वर्षका एक जना युवक क्यासिनोमा आएका रहेछन् । उनले ब्याङ्ग्लोरबाट भरखरै इन्जिनियरिङ्ग सकेर आएका रहेछन् । उनीसँगै आउने उनका अर्का साथी नेपाल बैङ्कका इन्जिनियर हुन भन्दै थिए । नेपाल बैङ्कका इन्जिनियरले काँधमा कालो झोला भिरेर निकै चाख गरी-गरी बाक्राको टेवलमा ठुलो बेट राख्दै खेलिरहेका थिए । म भने तिनैलाई नियाल्दै थिएँ ।
त्यो बाक्रा एकको टेबलबाट ती झोला भिर्ने इन्जिनियरले निकै हारेपछि दुई हातले टाउको समाउँदै जुरुक्क उठे । उनी बडो टेन्सनमा थिए । बिहानैको चिसो मौसममा पनि निधारमा पसिना आएजस्तै गरी पसिना पुछेजस्तो पनि गर्दै थिए । उनले लामो सास लिए । फेरि खुइय… सुस्केरा हाले । एकैछिनअगाडि दुवै हात माथि ठडाएर ले..ले….तीर…तीर…भन्दै चिच्याउँदै थिए । कहिले छेर भालु छेर भन्दै नाच्ने पनि गर्थे ।
यो जुवाघरमा जुवाडेको छिनछिनमा उन्माद, कुण्ठा, दुःख तथा दर्दको महसुस सजिलोसँग गर्न सकिन्छ । जुवा हारेपछि मानिसहरू रिसाउँछन्, रुन्छन् र त्यसै-त्यसै निहुँ खोजेर झगडा पनि गर्छन् । त्यो सबै कुराहरू त्यहाँ काम गर्ने मजदुरले सजिलै पचाउँछन् । धेरै जसो जुवाडेहरू सामान्य मानिसहरूजस्तै गरी जुवा खेल्दा भने सम्पूर्ण इन्द्रियलाई एकत्रित गरी जुवाकै टेवलमा ध्यान दिन्छन् । जुवा जित्नकै लागि आउने जुवाडेहरू खालमा जित्ने टेक्निक मात्र सोचिरहन्छन् ।
म झन्डै १ वर्षअगाडि क्यालिफोर्नियाको सान्तारोजा भन्ने सहरको ग्रेटन रिसर्ट क्यासिनोमा २०-२५ दिन जति ट्रेनिङ लिएको थिएँ । त्यहाँको मेन मान्छेले आएर उनले भने, “यहाँ प्रायःजसो ७०% मानिसहरू रमाइलो गर्न क्यासिनोमा आउँछन् भने १०% मानिसहरू सिरियस भएर जुवा जित्नका लागि खेल्छन् तर त्यसमा केही मान्छेहरू जुवाका एडिक्ट भइसकेका र हुन लागेका पनि आउँछन् । हामीले विशेष निगरानी गर्ने भनेको सिरियस भएर जुवा खेल्ने, जुवामा एडिक्ट हुन लागेकाहरू र भइसकेकाहरूसँग हो । किनभने हाम्रो समाजमा जुवाका एडिक्ट जन्मने सङ्ख्या बढ्यो भने पनि भोलि क्यासिनोको लागि खतरा हुन सक्छ ।” यसरी यहाँका क्यासिनोहरूले बेला-बेला रिसर्च गरिरहने रहेछन् र सम्पूर्ण एङ्गलबाट रिसर्च गरेर डाटाबेसहरू तयार गर्ने रहेछन् ।
कुरा आयो तिनै कालो झोला भिर्ने इन्जिनियरको, त्यसपछि उनी किट्टीको टेवलमा काँधमा कालो ब्याग र दुवै हातमा सय र हजारका चिप्स बोकेर दगुर्दै किट्टीको टेबलमा गए । लाग्थ्यो उनको त्यहाँ प्लेन छुट्दै छ । आज किट्टीको त्यो टेबल माइनसमा गएको थियो । जब रुलेट, किट्टी कुनै पनि टेवल माइनसमा जान्छ त्यसबेला भने कुनै-कुनै हाकिमहरूले मलाई अन्तिम अस्त्र बनाएर डिल गर्न लगाउँथे । नभन्दै मलाई किट्टीको टेबलमा डिल गर्न बोलाइयो । किनभने म त्यहाँ डिलर थिएँ । नभन्दै मैले किट्टी खेलाउन थालेपछि भकाभक क्यासिनोले जित्न थाल्यो । वास्तवमा क्यासिनोले हार्दै गर्दा गर्ने भनेको पनि डिलर चेन्ज, कार्ड चेन्ज र गोटी चेन्ज मात्रै हो । धेरैजसो क्यासिनोले डिलरकै लकलाई विश्वास मान्छ र चेन्ज गर्छ । पहिला-पहिला जित्नेहरू पनि त्यहाँ हार्दै गए र ती नेपाल बैङ्कका इन्जिनियरले पनि हार्न थाले । पहिला माइनसमा गएको टेबल प्लस भयो ।
त्यसपछि कालो झोला भिर्ने इन्जिनियर हतार-हतार उठेर रुलेटको टेवलमा पुगे । हाम्रो किट्टीको टेबल करिव १ घण्टामा बन्द भयो । मैले डिल गर्ने हो भने त्यहाँ कसैले नखेल्ने भए । त्यसपछि रुलेट एकमा गएर ती कालो ब्याग बोक्ने नेपाल बैङ्कका इन्जिनियर खेल्न थाले । म उनैलाई नियाल्दै रुलेटको खाली टेबलको कुर्चीमा बसेका उनीसँगै आएका ती नवआगन्तुक भरखरै ब्याङ्ग्लोरबाट इन्जिनियरिङ गरेका जुवाघरका नवआगन्तुकसँग कुरा गर्न थाले । उनको मामाघर तनहुँ ढोरका सिग्देल परिवार रहेछन् । मेरो पनि पुरानो घर तथा जन्मस्थल तनहुँ नै भएकाले उनले मलाई खुलेरै कुरा गरेँ । उनलाई मैले खाने कुरा पनि बारका साथीलाई भनेर अर्डर गरिदिएँ । किनकि २००६ देखि यसरी नै मानिसहरूसँग कुरा गर्दै दैनिकी लेख्ने गर्थेँ । त्यसैको आधारमा मैले अहिले पनि जुवाका पुस्तक लेख्दै छु । उनी भन्दै थिए, “आजकाल खाली समयमा हाम्रा टोलका ४-५ जना दाइहरूसँग म पनि क्यासिनोमा रमाइलो हेर्न पनि पाइने र पैसा नतिरीकन मजासँग खान पनि पाइने भएकाले फाल्टु समय कटाउन क्यासिनो जाने गर्छु । यसरी नै काठमाडौँका प्रायः सबैजसो क्यासिनोमा म गएको छु । म विदेश पढ्न जाने प्रोसेस पनि गर्दै छु ।” उनी गर्वसँग छाती फुलाएर मलाई भन्दै थिए । यसरी नै मै भन्ने मान्छे बिस्तारै-बिस्तारै कुलतमा फस्दै जान्छ ।
मेरो ध्यान तिनै कालो व्यागमा पैसा बोकेर जुवा खेल्दै गरेका नेपाल बैङ्कका इन्जिनीयरतिर थियो । उनी दुवै हात टाउकामा राखेर कुम रुलेटको टेवलमा अड्याउँदै ठिङ्ग भइरहे… जस्तो लाग्यो । उनी जडवत् भए …चल्ने चटपटाउने केही गरेनन् । उनका साथीहरू पनि बिस्तारै-बिस्तारै सबै जना मलिन अनुहार लगाएर उनीनिरै साक्खै भएर उभिन थाले । मनजिकै, मसँगै कुरा गरिरहेका मेरा गाउँले भान्जा पनि उनको नजिकै पुगिसकेका थिए । सबैले एकपटक कालो ब्याग भिरेका जुवाडेसगँ बोल्ने प्रयास गरेर घचघच्याए, बोल्न खोजे तर ती जुवाडे इन्जिनियर भने हल न चल भएर आँखाभरि आँसुले भरिएको आँखा र भारी मन लिई टोलाइ मात्र रहे । त्यति ठुलो क्यासिनोको म्युजिक गीत चमकधमक सजिसजाउ हलमा ती ५ प्राणी भने स्तब्ध लास कुरेर बसेका मलामीझैँ थकाइ, प्यास र दिक्दारीले टोलाइरहेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।