धुम्रपान र मद्यपान स्वास्थ्य, परिवार, टोल छिमेक र भविष्यका लागि हानिकारक छ ।
जँड्याहाका लागि के दिन के रात ? के गाउँ के सहर ? के बार के भट्टी ? के सस्तो के महँगो ? के खुसी के दुःखी ? के समाज के परिवार ? के भविष्य के वर्तमान ? के गीत के सङ्गीत ? भनिरहँदा कोही उठ्यो र सरासर स्टेजमा गएर माइक खोस्यो ।
रामकुमारी झाँक्रीको शैलीमा त्यस व्यक्तिले भन्यो, “बोल्न पाइन्छ ?” पछाडि हल्ला गरेर बसिरहेका ऋषि धमलाजस्ता देखिने एक झुन्डले भन्यो, “पाइन्छ ! पाइन्छ ! तपाईँ बोल्नुस् ।” अग्रपङ्क्तिमा रहेको नारायणकाजीको हुलियामा बसेको मान्छेले स्टेजमा चढेको मान्छेलाई औँला तेर्स्याएर भन्यो, “तपाईँ चुप लाग्नु्स् ।” स्टेज वरपर युटुबका कर्मचारीले स्टेजतर्फ क्यामेरा तेर्स्याएर बसे । स्टेजमा उक्लेको मान्छे बोल्न थाल्यो । त्यही बेला योगेश भट्टराईजस्तै देखिने मान्छेले कसैलाई पुक्क लात्ताले हानेर स्टेजपछाडि भाग्यो । लात्ता खाने मान्छेले चर्को स्वरमा भन्यो, “तँलाई बैगुनी केटो !”
माहोल शान्त भयो । स्टेजमा भएको मान्छे दर्शकदीर्घामा भइरहेको रमितालाई आफ्नै शैलीमा हेरिरहेको थियो । उसको शैली कस्तो थियो ?
त्यो त्यही कार्यक्रममा उपस्थित प्रमुख अथिति शेरबहादुर देउवा, विशेष अथिति झलनाथ खनाल, अथितिगणमा रहेका प्रचण्ड, केपी ओली, माधवकुमार नेपाल र आयोजक कमल थापा र राजेन्द्र लिङ्देनलाई बाहेक अन्य कसैलाई थाहा थिएन । ए ! कार्यक्रम सञ्चालक प्रदीप गिरीलाई पनि उसको शैली थाहा थियो ।
दर्शकहरू को को थिए त्यसै अनुमान लगाउन सक्ने अवस्था थिएन । स्टेजबाट हेर्दा भने योगेश भट्टराई र भरतमणि पौडेल हल्ला गरिरहेका थिए । रवि लामिछाने चुप लागेर बसेका थिए । मुकुन्द घिमिरे, “बिहेको कोट किन्न जानु छ । ढिलो भयो यार !” भनेर भुतभुताइरहेका थिए । भाग्य न्यौपाने नोकिया मोबाइलबाट भिडियो लिने सुरमा थिए ।
चलचित्रका मान्छे महानायकको विवादमा तल्लीन थिए । सङ्गीतकर्मी भाइरल गीत कसलाई लेख्न र गाउन लाउने भन्ने विषयमा चर्को छलफल गर्दै थिए । रङ्गकर्मी सुनिल पोखरेल भने सबैको हाउभाउ हेरिरहेका थिए ।
कवि र लेखकलाई भने त्यस कार्यक्रममा निम्तो दिइएको भने थिएन । ‘पत्रकार आउँदा हाम्रो समाचारमा हामीलाई तपाईँ र ज्यू भन्नुपर्ने अन्यथा आफू नआउने’ खबर केपी ओलीले गुरुप्रसाद भट्टराई र महेश बस्नेतलाई कमल थापाको घरमै भन्न पठाएका थिए । राजेन्द्र लिङ्देनले भने गोकुल बाँस्कोटालाई ७० पटक फोन गर्दा पनि नउठाएको दुःख व्यक्त गरेका थिए । कृष्ण्बहादुर महराले भने कार्यक्रममा घाम नलाग्ने भएपछि निम्तो अस्वीकार गरेका थिए ।
स्टेजमा चढेको मान्छे के बोल्न लागेको थियो यता बाबुराम भट्टराइको नाति च्याँ गरेर रोयो । म सक्दिनँ फकाउन भन्दै बाबुरामले हिसिलालाई नाति जिम्मा लगाए । दुई हातका पन्जा फैलाउँदै पम्फा भुसालले बाबुरामको नाति लिन खोजिन् तर नाति मानेन । बाबुरामको नातिछेवैमा भएकी रेणु दाहालसँग जान खोज्दै थियो तर रेणु दाहालले उसलाई समाइनन् ।
पुण्य गौतमले पछाडिबाट भने, “तपाईँ बोल्नुस् न यार । भोक लागिसक्यो । यसरी मान्छेलाई अलमल्याएर हुन्छ ? तपाईँ बोल्नुपर्छ कि पर्दैन ? होइन भने हामी जान्छौँ । के को टाउको दुखाइ ?”
मोहन सङ्ग्राम, विनोद काफ्लेहरू पनि पछाडि बसेर, “हो हो अब तपाईँ बोल्नुस् । हाम्रो कमरेडलाई नुहाउन ढिलो भइसक्यो ।” भन्दै थिए । गगन थापाले कागजको डल्लो स्टेजतिर फ्यालेको शेरबहादुर देउवाले देखे । शेरबहादुर देउवाले देखे भने गगन थापा विश्वप्रकाशको पछाडि लुक्न भनेर गए । शेरबहादुर देउवाले गगनको हात समाउँदै भने, “तपाईँ बर्ता कागजको डल्लो नफ्याक्नुस् । अहिले कागज सकियो भने कहाँबाट ल्याउने ?”
ऋषि धमलाले सबैलाई थर्काए । बाबुराम भट्टराइको नाति सुतेको थियो । हल्ला भएन । सिके राउत र विप्लव हात समाउँदै ढोकाबाट पसे । फेरि तोडफोड हुने हो कि भन्ने डर सबैलाई थियो तर केपी ओलीले ती दुवैलाई च्याप्प हात समाएर आफ्नो कुर्सीअगाडिको भुईँमा बस्न लगाए । सिके राउत र विप्लवलाई पनि खादा लगाइदिनुपर्छ भनेर एक थरी मान्छे कराउन थाले । राजेन्द्र लिङ्देन र कमल थापा टुँडिखेलपारिको खादा पसलमा खादा किन्नका लागि दौडिए । राजेन्द्र लिङ्देन एकैछिनमा खादा लिएर आइपुगे तर कमल थापालाई २०० सेकेन्डजति ढिलो भयो । उनी बाटामा “पोहोर साल खुसी फाट्यो” भन्ने गीतमा मुन्त्रमुग्ध भएर बसेका रहेछन् ।
“अब मेरो कुरा सुन्नुस्” भन्नै लागेको बेला दुर्गा प्रसाईँ फुत्त ढोकाबाट मार्सी बियरको कार्टुन बोकेर पसे । उनलाई कसैले वास्ता गरेन । रवीन्द्र मिश्रले ‘एक बोतल चाखूँ न’ भन्नेसम्मको हल्ला निस्किएको थियो । दुर्गा प्रसाईँले ‘केन्द्रीय सदस्य बनाउने मलाई ?’ भनेपछि रवीन्द्र मिश्र पनि चुप लागेका थिए ।
“जँड्याहाको भक्ति” स्टेजबाट चर्को स्वरमा आवाज आयो । मान्छे मौन भए । उनी बोल्न थाले – हामीलाई देशको प्रेम हुँदैन ? के दिन के रात ? के गाउँ के सहर ? के बार के भट्टी ? के सस्तो के महँगो ? के खुसी के दुःखी ? के समाज के परिवार ? के भविष्य के वर्तमान ? के गीत के सङ्गीत ? जँड्याहाको जीवन यतिमात्र हो ? गलत । गलत हुन् यी कुरा । सबैकुरा गलत हुन् ।
महोदय, यस प्रेक्षालयमा पाल्नुभएका समस्त जनहरूले सुन्दिनुहोला ।
नामको मात्र जाँड होइन । यहाँ हामीमात्र जँड्याहा छैनौँ । यहाँ त सबै जँड्याहा छन् । तपाईँका मन्त्रीमण्डलबाट जाँडले सकिएका कति छन् ? हातमा अटाउँछन् ? मन्त्रीले ड्युटी फ्री ल्याउन जति पनि फ्री छ । हामी सर्वसाधारण्लाई किन छैन ?
मात्नु सामान्य कुरा हो ? मात्ने हिम्मत जो पायो त्यहीसँग हुन्छ ? मात्नेलाई पनि इज्जत दिनुपर्छ ।
पुण्य गौतम बिचमा बोल्छन् – “मात्नेलाई इज्जत होइन, रक्सी दिने हो ।”
उनी बोलेको भिडियो भाग्य न्यौपानेले खिच्छन् ।
शिशिर भण्डारी रिसाउँदै भन्छन्, “मेरो खिच्ने पालो अब ।”
स्टेजमा उक्लेको मान्छे फेरि बोल्न सुरु गर्छ । उनी बोल्दा नबोल्दै उपेन्द्र यादव आइपुग्छन् । उपेन्द्र यादव केही नबोली बस्छन् ।
“त्यसै जँड्याहा भन्न पाइन्छ ?”, स्टेजको मान्छे बोल्छ । मुकुन्द घिमिरे तलबाट कराउँछन्, “यी रक्सीका कुरा बच्चाले गर्ने हो । मजस्तो महान् दार्शनिकलाई बोलाएर त्यही नालीमा सुत्ने कुरा गरेर दर्शन सिद्धान्तको बेइज्जत गरियो । यसरी बेइज्जत गरेर मेरो समय वागमतीमा नै बगाइएको छ । मेरी इन्दिरालाई मैले फरिया र मेरा लागि कोट किन्नुपर्ने छ । म हिँडेँ ।”
मुकुन्द घिमिरेको हात समाउँदै रमेश प्रसाईँ भन्छन्, “मेरो दाजु यसो भन्न कहाँ पाइन्छ ? समस्त जनताले स्विकारेको रक्सीलाई तपाईँले पनि साथ दिनुपर्छ नि ! दाजु । बरु म कार्टुन नै किन्दिन्छु ।”
त्यसो त रक्सीले घरबार बिगारेको छ । त्यसो त रक्सीको नशामा नै करोडौँको डिल भएको छ । आमा समूहले पेलेको रक्सी कारोबार बुवा समूहबाट उकासिएको छ तर आजकाल छोरी समूह पनि बुबा समूहभित्र प्रवेश गरेको समाचार हामीले घर घरमा र रेस्टुरेन्ट हाताभित्र देख्दै आएका छौँ ।
स्टेजबाट ऊ बोल्छ, “आज म तपाईँहरूलाई कथा सुनाउँछु ।” त्यत्तिकैमा राजेन्द्र महतो बोल्छन्, “के हो ? कथा के हो ? महाधिवेशनमा तपाईँ कथा भन्ने ? हाम्रो नगरिकताको विधेयकको कुरा गर्नुस् ।”
राजेन्द्र महतोलाई मतलब नगरी ऊ कथा भन्छ, “एक दिन घरमा बाउ आमा छोराछोरी बसेर रक्सी खाएछन् । मुखमा नै रक्सी नहालेकी आमालाई बाउ र छोराछोरी मिलेर रक्सी चखाएछन् । त्यही बेला आमाले भनिछन्, ‘छ्या कति टर्रो’ मौका पर्खेका बाउले भनेछन्, ‘देख्यौ हामीलाई सधैँ खाँदा कति गाह्रो हुँदो रहेछ’ वातावारण मौन भएछ ।
एकदिन होस्टलमा फर्सीमा झोल हालेको झोकमा छोरो घर फर्कियो कसो-कसो गरेर छोरालाई फेरि होस्टल पुऱ्याएछन् । ढिलो पुगेकाले सबैले मेसमा खाना खाइसकेका थिए । बुढाबुढीको झगडा पर्दै रहेछ । पहिला झगडा सुन्छु अनि भात खान्छु भनेर केटो बसेछ ।
बुढी भन्दिरहिछन्, “कहिल्यै कमाएनौ नि !” बुढा भन्दा रहेछन्, “एकचोटि १८०० कमाएथेँ केरे ।”
भएको के रहेछ भने, होस्टल सञ्चालन गरेर बसेका बुढाबुढीको बिहे भएको ३८ वर्ष भएको रहेछ । बिहे गरेको दिनबाट बुढीले घर सम्हाल्दै आएकी रहिछन् । बुढीले कमाइहाल्छे भनेर बुढा खासै काम नगर्ने रहेछन् । यत्तिकैमा उनीहरूको झगडा पर्ने रहेछ ।
केटालाई अचम्म लागेछ । यिनले १८०० चाहिँ के काम गरेर कमाएछन् भन्ने विषयमा । खुलदुलीले सीमा नाघेपछि सोधेछ, “आन्टी ३८ वर्षमा अङ्कलले १८०० चाहिँ कसरी कमाउनुभयो ?” आन्टीले जवाफ दिइछन्, “बाटाको बैठकमा भत्ता दिएका हुन । के कमाउँथे नि, पसिना बगाएर त ।” स्टेजबाट उसले यति भनेपछि केपी ओलीले जुरुक्क उठेर भने, “यो कथा होइन । यो त सत्य कथा हो । यो बानेश्वरमा भएको पोखरा ब्वाइज होस्टलको सत्य कथा हो ।”
जँड्याहा धेरै नै संवेदनशील हुन्छ । उनीहरूलाई देशको चिन्ता छ तर कुन बेला चिन्ताले उडान भर्छ भन्ने चाहिँ ठम्याउन सकिने अवस्था छैन ।
“अदालतमा झुटको सहारा लिइन्छ र मुद्दा जितिन्छ । भट्टीमा साँचो कुरा बोलिन्छ र मजाक बनिन्छ ।” यति भन्दै चोलेन्द्र शमशेर कार्यक्रमस्थलबाट बाहिरिए । उनीसँगै प्रेम आले किन निस्किए भन्ने कुरा भने पत्तो लाग्न सकेको थिएन ।
“सभापति नै नराखिएको कार्यक्रममा किन बस्ने ?” भन्दै शेरबहादुर देउवा बम्किए । प्रचण्ड र माधवकुमार नेपालले उनलाई थामे । उनीहरूको चर्तिकला हेरिरहेका केपी ओली मुस्कुराए ।
स्टेजमा ऊ बोल्यो, “जँड्याहालाई गाह्रो छ” भन्दै ऊ बोल्यो । भेला भएका सबैले कसरी गाह्रो छ ? भन्दै प्रतिप्रश्न गर्न लागे । उसले भन्यो-
रक्सी लागेको छ, थाहा छ । आफू हल्लिन्न भनेर बसिएको छ तर सारा जमातले हल्लिएको देख्दै छ । गाह्रो छ नि ! यसरी बाँच्न । न नगद न उधारो । गाह्रो छ नि ! पिउन । रक्सी पिएर न कार्यलय जानु न सुत्नु । गाह्रो छ नि ! जीवन चलाउन ।
परिवार भन्यो, जिम्मेवारी भन्यो । खाएको बेला बिल गेट्सलाई पनि काममा राख्छु भन्ने हिम्मत आउँछ तर रक्सीले छाडेपछि बिल गेट्सको स्पेलिङ पनि आउँदैन । गाह्रो छ नि ! जिम्मेवारी लिन । कुन साथीको जन्मदिन ? कसको बिहे ? कसको ब्रेक अप ? कसको लभ ? सबैको मन बुझाइदिनुपर्ने । गाह्रो छ नि ! मन बुझाउन ।
श्रीमतीको कचकचको बिचमा एक प्याक पनि गाह्रो छ । यहाँ सबैलाई गाह्रो छ । पिएको भोलिपल्ट खान्न भन्न सजिलो छ तर टाउको दुख्न छाडेपछि के बहाना बनाएर खानुहोला भन्न झनै गाह्रो छ ।
उसले यति भनेपछि हलमा ताली बज्यो । ऊ फुत्त ओर्लियो । सबैले उसलाई बधाई दिए । तीनकुनेबाट लाइभ हेरिरहेका कृष्णबहादुर महराले फोन नै गरेर बधाई दिए । यसरी बधाई खाएकामा आफूलाई दङ्ग पाइरहेको थियो । दुर्गा प्रसाईँले उसलाई माफिया ह्विस्कीको कार्टुन नै थमाए । सबै भेला भएको हल बिस्तारै रित्तिँदै गयो । अन्तिममा “जँड्याहाको मन्तव्य सकियो ?” भन्दै पारस आइपुगे । सभा समाप्ति ।
धुम्रपान र मद्यपान स्वास्थ्य, परिवार, टोल छिमेक र भविष्यका लागि हानिकारक छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।