जन्म र मृत्यु जीवनका दुई अहम् घटना हुन् । प्रस्तुत सन्दर्भमा म मेरो मृत्यु र मृत्युपछिका सम्बन्धमा केही धारणा व्यक्त गर्दै छु । जन्मको सम्बन्धमा त मैले कुनै धारणा व्यक्त गर्ने कुरै भएन । म नियोजित रूपमा नभई आकस्मिक रूपमा प्रकट भएको हुँ । यति मात्र कि मलाई जन्मने अवसर दिई मेरा मातापिताले लगाएको गुन म जीवनपर्यन्त बिर्सने छैन । अहिले मेरा मातापिता दुवै स्वर्गलोकका बासिन्दा भएका छन् । नमरी स्वर्ग देखिन्न भनेझैँ स्वर्गलोकका बारेमा मलाई केही थाहा छैन । मेरा पिताजी साह्रै मेहनती र आमा भद्र र शालीन हुनुभएकाले स्वर्गमा पनि सुव्यवस्थित रूपमा नै बस्नुभएको होला । अँ, मरेपछि म पनि स्वर्ग नै जाने हो । सम्भवतः स्वर्गमा मेरा दिवङ्गत धेरै आफन्त र मित्रहरूसँग भेट हुन्छ होला । केही तथाकथित मित्रहरूसँग भने भेट हुने सम्भावना न्यून छ । किनकि मरेका जति सबै स्वर्ग जा नेभए बेग्लै कुरा, होइन भने उनीहरू अर्कै लोकमा हुनेछन् । दूरसंवादको प्रबन्धन रहेछ भने उनीहरूसँग पनि कुरा गर्नुपर्ला । मृत्यु जीवनको महत्त्वपूर्ण घटना हो । जो मेरो जीवनमा पनि घटित हुन्छ नै । तसर्थ आफ्नो मृत्युका बारेमा निश्चित धारणा बनाउन खोज्दै छु ।
पहिलो कुरा म चाहन्छु, मेरो आकस्मिक मृत्युहोस् – अनयासेन मरणम् । हिँड्दाहिँड्दै, बेल्दाबोल्दै अझ कुनै master piece को सिर्जना गर्दगर्दै मेरो मृत्यु होस् । मलाई यो पनि कबुल छ कि म रमाइलो साँझपछि निद्रादेवीको शरणमा परूँ र निद्रादेवीले मलाई चिरनिद्राको वरदान दिऊन् । मेरो मृत्युमा कोहीकसैले आँसु नखसालून् किनकि बाँचुन्जेल नियतवश वा जानाजान कसैलाई रुवाइन भने मरेपछि त कसैलाई रुवाउने कुरै भएन । त्यसैले मलाई माया गर्नेहरूले एक थोपा पनि आँसुको दुरुपयोग नगर्नु होला । आफ्नै पिरव्यथामा खर्चनु होला । तपाईँको आँसुले मलाई द्रवित बनाउन सक्छ र म गन्तव्यको सट्टा प्रस्थित स्थानका बारेमा सोच्न सक्छु । हो, जीवनमा जति रुनु म रोएँ, चित्त दुखेर रोएँ, आफू दुःखित हुँदा पनि रोएँ, अरू दुःखित देख्दा पनि रोएँ । रुँदा-रुँदा आँखामा पानी सकिएछ क्यारे, आँखा पनि धमिलो देख्छु । Add tears को नियमित प्रयोग गर्नुपर्ने भएको छ। मेरो मृत्यु निश्चित मान्छेलाई मात्र थाहा होस् । मेरो मृत्यु खबर नबनोस् । बेखबर जिन्दगी बाँचेको मान्छे मृत्युपछि खबर बन्न चाहन्न पत्रकारहरूलाई सुइँको पनि नदिनू । मेरो मृत्युलाई उनीहरूले खबर बनाई बेच्न सक्छन् । उनीहरूले सहानुभूतिस्वरूप मेरा दुर्गुणहरू लुकाएर मेरो गुणगान गर्न सक्छन् । हाम्रो समाजमा मरेपछि अतिरञ्जित गर्ने चलन छ । केही नपाए मलाई नामोद समाजसेवी भनिदिन सक्छन् । मेरो मृत्युबाट समाजमा अपूरणीय क्षति भएको भन्न सक्छन् जब कि मेरो मृत्यु र एउटा सडकको कुकुरको मृत्युमा कुनै तात्त्विक फरक पर्ने छैन । वस्तुतः जिन्दगीभर ऊ र म सडकको घनत्व मात्र बन्यौँ । उसले त कमसेकम रातभर भुकेर विनापारिश्रमिक सहरको रक्षा गर्यो । मैले त मौका पर्दा पारिश्रमिक लिएर काम ठगेँ । हाकिम रिझाएर अफिसमा हाजिर गरी पार्टीकार्यालय र पार्टीको सभासमारोहतर्फ कुलेलाम ठोकेँ ।
लेख्दै गएँ भने मैले जीवनमा गरेका अनेक कर्तुतहरू लेख्न सक्छु तर म उधारो रक्सी खाएर पैसा नतिरेको, साथीभाइको सापटी फिर्ता नगरेको, युवावस्थामा केटी जिस्क्याएको, श्रीमतीलाई सौता ल्याउन खोजेको आदि अनेकौँ कुराहरू लेख्दिनँ । यस्ता कुरा लेखेँ भने मेरो स्वच्छ छवि प्रदूषित हुन सक्छ र यो पनि लेख्दिनँ कि राम्री आइमाई देख्दा मेरो मनमा विकार भाव उब्जन्थ्यो । भूतकालको प्रयोग किन गरेँ भने आजकल विकार भाव उत्पादनमा भारी गिरावट आएको छ । जीवनमा मृत्युभन्दा ठुलो घटना अरू कुनै हुन सक्दैन जुन घटना मेरो जीवनमा निश्चित छ । कालक्रमको हिसाबमा केही विलम्ब वा आसन्न पनि हुन सक्छ । त्यसैले आफ्नो मृत्युका बारेमा निश्चित धारणा बनाउन खोज्दै छु ।
हिन्दू धर्मले मलाई मृत्यु चिन्तन गर्न सिकाएको छ । अन्य धर्मीहरूको कट्टरता र हिन्दू धर्मप्रतिको आक्रामकताले ममा हिन्दू हुँ भन्ने भाव उद्बोधन भएको छ । एकताका म पनि साम्यवादीजस्तै धर्मलाई आनावश्यक ठान्न थालिसकेको थिएँ तर आजकल लाग्छ, धर्मले मानव समुदायमा ऐक्यभाव वृद्धि गर्छ । धर्म त्यति बेला समस्या बन्छ जब अन्य धर्मप्रति असहिष्णु बन्छ जस्तो कि मुस्लिम कट्टरवाद विश्व शान्तिमा बाधक बन्दै छ । कट्टरपन्थीहरूकै कारण मुस्लिम धर्मका राम्रा कुरा ओझेल पर्दै छन् । क्रिस्चियनहरूले पनि गरीबी, अशिक्षा र प्रलोभनलाई धर्म विस्तारको आधार बनाएका छन् । हाम्रो देश पनि त्यसको सिकार बनेको छ । हिन्दूहरूमा मात्र सर्वधर्म समभाव पाइन्छ । म मेरै धर्ममा मर्न चाहन्छु । तपाईँलाई थाहा नै छ, हरेक धर्ममा मृत्यु संस्कार विधि छन् ।
म कोलाहलपूर्ण ज़िन्दगी जिउँदा-जिउँदा आजित भएको छु । म एकान्तमा शान्त मृत्यु चाहन्छु । मलाई भेट्न चाहनेहरूलाई म जिउँदै छँदा भेट्न अनुरोध छ । म मानिसहरूबाट आजित भैसकेको छु । कमसेकम मलाई मरेपछि कुनै उत्सवमा जस्तो भेला भई मेरो परमात्मामा लीन हुने कार्यमा व्यवधान नगर्नुहोस् । मलाई महासमाधिलीन हुन सहयोग पुर्याउनुहोस् । म चाहन्छु, म महासमाधिमा समाधिस्थ हुँदाको क्षण सन्नाटामय होस् । नदीको जलप्रवाहको सङ्गीतमय आवाजबाहेक अरू केही सुन्न नपरोस् ।
समवेदना र शोकसभा पनि मलाई रुचिकर छैन । मरेको म हुन्छु, त्यो बुझे पनि तपाईँ परिवारप्रति समवेदना प्रकट गर्ने भुल गर्न सक्नुहुन्छ । म व्यथा र वेदनामा बाँचिरहेको छु तसर्थ साँच्चै तपाईँ मप्रति संवेदनशील हनुहुन्छ भने म जिउँदै छँदा समवेदना होइन, सहानुभूति व्यक्त गर्नुहोस् । मलाई आत्माको चिरशान्तिको कामना पटक्कै मन पर्दैन । यसो भनेर के भन्न खोजिएको हो ? मैले आजसम्म बुझेको छैन । तपाईँजस्ता मेरा शुभचिन्तकले म मरेपछि होइन म जिउँदै छँदा म अशान्त हुनाको कारण सोध्नुपर्थ्यो ।
म चाहन्छु म मरेपछि मेरो आत्मा उन्मुक्त र स्वतन्त्र होस् । मलाई विश्वभ्रमण गर्ने इच्छा छ । सशरीर मेरो त्यो चाहना सोम शर्माको सातु बन्यो । भारतको केही भूभाग घुमेको छु र तीमध्ये पनि कति नेपालकै मिचिएका भूभाग र कति भारतीय परे यकिन गर्न सकेको छैन ।
म पञ्चायत, प्रजातन्त्र र गणतन्त्रले थिलथिलो बनाएको जीर्ण शरीर तपाईँहरूलाई बुझाएपछि स्वर्ग जानुपूर्व केही वर्ष विश्व भ्रमणमा निस्कन्छु । म अर्थात् आत्मा । विश्वका यस्तो कुनै स्थान हुनेछैन जहाँ म नपुगेको होस् र यस्तो कुनै दृश्य हुनेछैन जुन मैले अवलोकन नगरेको होस् । कुनै पार्टीको चुनावी र्यालीझैँ मलामीको लावालस्कर मलाई मन पर्दैन । बेरोजगारीका कारण हुन सक्छ, मलामीको लावालस्कर बढेको देखिन्छ । जुवातास खेल्न प्रतिबन्ध लगाएपछि बेरोजगारहरूलाई दिन काट्न पनि कठिन छ । आम नेपालीसँग केही छ भने – फुर्सद । मेरो मलामीको सङ्ख्या त्यति मात्र भए पुग्छ जुन सङ्ख्याले स्मसानमा मेरो मृत्यु संस्कार सम्पन्न गर्न सकून् ।
जहाँसम्म मृत्युपछि मेरा शारीरिक अवयव दानको कुरा छ, तपाईँ चाहनुहुन्छ भने सिङ्गो शरीर दान गर्न मेरो मञ्जुरी छ तर धरोधर्म मेरा शरीरका कुनै पनि अवयव पुनःप्रयोग लायक छैनन् । यदि छन् भने म सरकारलाई समर्पित गर्दछु । सरकारलाई समर्पण गर्नुको कारण के हो भने जिउधन सरकारको भन्ने पुरानो विचारबाट म प्रभावित छु । विद्यार्थी जीवनदेखि नै म कुनै एक पार्टीको कार्यकर्ता बनेँ र अहिले पनि मेरो त्यो हैसियत कायम छ । चुनाव र आन्दोलनका बेला पार्टीले मलाई कहिल्यै बिर्सेको छैन तर मृत्युपछि भने म राजनीतिबाट सन्न्यास लिनेछु । साधारण सदस्यतासमेत परित्याग गर्नेछु । लौहपुरुष गणेशमान र सन्त नेता किसुनजी जीवनकाल मै पार्टीबाट अलगिए । त्यस अर्थमा मेरो निर्णयलाई विशेष निर्णय मान्न अनुरोध छ । मेरो लासमा
पार्टीको झन्डा ओढाउनुको कुनै औचित्य हुनेछैन किनकि म स्वतन्त्र भैसकेको हुनेछु । अर्को कुरा स्वर्गबाट तत्काल धर्मराजले बोलाए भने मैले तुरुन्त स्वर्ग प्रस्थान गर्नुपर्नेछ, स्वर्गमा दलीय वा निर्दलीय कस्तो व्यवस्था छ त्यो मलाई ज्ञात छैन । धर्मशास्त्रमा पढेअनुसार स्वर्गमा राजतन्त्र छ र इन्द्र नाम गरेका राजा हजारौँ वर्षदेखि शासन गर्दै छन् । म कुनै दल विशेषको झन्डा ओढेर पुग्दा राजकाज अपराधको अभियोगमा सयौँ वर्ष जेलमा पर्न सक्छु । स्वर्गलोक र मर्त्यमण्डलको काल गणनाको अन्तर तपाईँलाई अवगत नै छ । म शान्त र मौन रूपमा प्रस्थान गर्न चाहन्छु । त्यति बेला केवल नारायणीको सङ्गीतमय ध्वनि मात्र मैले श्रवण गर्न पाऊँ । म हल्ला गर्दै संसारमा आएँ भने मौनतामा जान चाहन्छु । मृत्यु भनेको नै महामौनता हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।