आफ्नै गाउँ फर्की आएँ … भन्दै गुनगुनाउनमा व्यस्त थिएँ तर फर्किएको म सहर पो हो भन्ने नै भुलेछु । गाउँबाट झोलाभरि आमाको मायाँ ल्याएको थिएँ । घरबाट हिँडेको चारदिने यात्रापछि बल्ल झोला खोतल्न सुरु गरेँ । कोसेलीकै कुरा गर्दा त एउटा झोला पोखराबाट पनि थपिएको छ । साथी पनि आमाकै रूप हुने रहेछ । आमाले जस्तै के-के जाति पोको उनले पनि दिइन् ।
‘तालहरूको सहर घुमेर आइपुगिस् । रमाइलो हुँदा मलाई एक निमेष पनि याद गरिनस् है ?’
‘याद गर्न त पहिले भुल्नुपर्छ । आफ्नै जीवन बिर्सिएर पनि म बाँच्न सकुँला र ?’
नयाँ बजारको मेरो पुरानो कोठामा ल्यान्ड हुनेबित्तिकै रहस्यता मेरो खबर लिन आइपुगेकी छे । उसले सोध्ने प्रश्न र मैले गर्न चाहेका प्रश्न फरक छन् । म उसलाई तिहारमा किन नआएकी भनेर सोध्न चाहन्छु तर मेरो प्रतिप्रश्नमा ऊ विलय भैसकेकी छे ।
आफैँमा रहस्य भएकाले होला जहिले पनि यस्तै गर्छे । रहस्यता मेरी बहिनी मात्र हैन धेरै अल्झन हटाउने डस्टर पनि हो । जसरी कालोपाटीको खरी डस्टरले साफ गर्छ मेरो मनको वह पोख्ने किताब हो ऊ । ब्ल्यान्क बुक विद लट्स अफ स्टोरी इनसाइड ।
कहिलेकाहीँ मनमा अनेक सवाल हुन्छन् तर उत्तर दिनुअगावै छु मन्तर भएर मेरो अल्झनलाई थप रहस्यमय बनाउँछे । कहिले प्रश्न गर्न नपाउँदै उत्तर दिन्छे । मलाई ह्यालोजिनेसन छ भन्न सरम लाग्दैन । किनकि मलाई थाहा छ जुन दिन म सर्माउँछु त्यस दिनदेखि रहस्यताको च्याप्टर क्लोज हुनेछ । मेरो किताबको सबैभन्दा लामो स्टोरी बनाएर अनन्त जिन्दगीसम्म उसलाई मभित्र जोगाएर राख्नेछु । प्राण एक जीवन अनेक । मलाई प्रश्न गर्ने धेरै छन् । मैले प्रश्न गर्ने केवल उही एक छे । ती हार प्रश्नमै छन् ।
‘अनि तिहार नि ?’
‘घरमा लक्ष्मी नभएपछि तिहारको के अर्थ रहन्छ र ? ‘
‘म नभए पनि तेरो निधारले कहिल्यै खाली हुनुपरेन क्यार ।’
‘निधारमा टीका हुनु नहुनुले फरक पर्दैन । फरक त तब पर्थ्यो जब तँ हुन्थिस् ।’
‘म हुँदा के हुन्थ्यो र त्यस्तो ?’
‘तँ हुँदा म यहाँको नियमलाई चुनौती दिन सक्थेँ । पर्व आउँदा तँलाई महिनावारी हुन्थ्यो र पनि हामी बेफिकर भएर टीका लगाउँथ्यौँ । तब बल्ल फरक पर्ने थियो ।’
‘अरूले पनि लगाए होलान् त ?’
‘यो ब्ल्याकहोल हो । यहाँ संस्कार मानसिकताभित्र पसेको छ नउम्कने गरी । त्यसैले मलाई त शङ्कै लाग्छ । टिकटकमा धेरै भिडियो हेरेँ टुलुटुलु बसेका निरीह संस्कारहरूको ।’
‘विद्रोह जानेनन् ? कि जानेरै अनजान भएका ?’
‘उनीहरू सामाजिक सञ्जालमा मात्र हल्ला गर्छन् तर असल जिन्दगीमा सहानुभूतिका पात्र भएर बस्न रुचाउँछन् र यसैमा खुसी देखिन्छन् पनि ।’
‘कहिले बदलिन्छ होला है यो समाज ? धन्न म यो समाजको हिस्सा हैन ।’
यति भनेर ऊ फेरि आफ्नै लोकमा फर्किई । उसलाई यहाँ रत्तिभर बस्न मन लाग्दैन । कोही किन बसोस् ? सधैँ धर्मको भ्रममा बाँच्नुसरि मर्नुभन्दा अस्तित्व कायम नराख्नु बेस हो तर यो कसले बुझ्ने ? कहिले बुझ्ने ?
विज्ञानले यति धेरै फड्को मारेको छ तर फाइदा के ? चेतनाको घडो उही पुरानो धन्सारमा खिया परेको टक सञ्चय गरेर बस्छ भने । नेपाल गरिब हुनुको अर्को कारण यही अन्धविश्वास हो । खोलामा सिक्का मिल्काउँछन् पटमूर्खहरू । हे आस्थाका पुजारी हो पहिले तामाका सिक्का हुन्थे । पहिले खोलाको पानी पिउनुपर्ने थियो । विज्ञानले पनि तामा र पानीको क्यामेस्ट्री बताएको छ तर अहिले त्यो छैन । घर घरमा खानेपानी आउँछ र जुन सिक्का हामी नष्ट गर्दै छौँ त्यो एक रुपियाँको सिक्का बनाउन दुई रुपियाँ खर्च हुने गरेको छ । मैले कतै पढेको थिएँ । यो मानेमा देशको अर्थतन्त्र धरासायी पार्ने खेल हामीबाटै भैरहेको छ । केही दिनअगाडि प्याडको मुल्य लिएर सडक र सञ्जाल तातेको थियो । आखिर केका लागि ? पर बस्न मन छ भने जाऊ छाउमा बस किन चाहियो प्याड ?
‘तँ साँच्चिकै अजबको मान्छे छस् यार मेरो दाइ ।’
‘म कस्तो छु भन्दा पनि यो समाज अँध्यारोबाट उज्यालोतिर कहिले बढ्ने हो भन्ने पिर सधैँ लाग्छ ।’
‘तमसोमा ज्योतिर्गमय’
मेरै कुरालाई संस्कृतमा सुनाएर ऊ भाषाजस्तै भई । आज संस्कृत पनि सत्य पनि उसकै बाटो लागेर अर्कै कुनै लोक पुगेको छ । यहाँ केही धूर्तहरू अलग बाटो देखाएर हामीलाई रोगी बनाइरहेका छन् । शास्त्रअनुसार तय गरिएका एकै बाउका चार सन्तान आज कोही छुत र कोही अछुत कसरी ? यो राजनीति हो किन नबुझेका होलान् । म धन्य छु कि मैले एकैसाथ ब्राह्मण, क्षत्री, वैश्य र शूद्र जीवन बिताउन पाएको छु । मेरो नामको पछाडि आएको थर त पूर्वजको पहिचान मात्र हो ।
राष्ट्रिय गणना सुरु भैसकेको छ र यहाँ सञ्जालमा धर्मको ठाउँमा नास्तिक लेख्नुपर्ने कुराहरू देखिन थालेका छन् । धर्मले विभेद कहिल्यै सिकाएन । कमसेकम मलाई त छैन । हरेक धर्मले प्रेम नै सर्वोपरि हो भनेको छ अनि यस्तो आदर्श सिकाउने धर्म मान्दिनँ कसरी भनूँ ?
‘यो सब उथलपुथल तिहारमा म नआएकी भएर हो ? ‘
‘हैन ती हारमा जित आउने छाँट नदेखेर हो ?’
‘भैगो छोड् यी कुरा । यो अटेरहरूको बस्तीमा यस्ता कुरा अपाच्य छन् । बरु भन् तेरो भ्रमण कस्तो भयो ?’
‘मनले रमाइलो नै मानेँ नत्र घुम्न निस्कँदैमा पीडामुक्त त कहाँ हुने हो र ?’
‘मनलाई फुरुङ्ग पार्ने माध्यम भ्रमण हो भन्छन् नि ?’
‘मनको भिजिटले हो मन फुरुङ्ग हुने । ठाउँ त बस् घरको एक कोठाबाट अर्को कोठा जानु र बेग्लै मुलुक जानु उही हो ।’
मेरो कुरा सकिन नपाउँदै ऊ पनि भिजिटमा निस्किई । ऊ मुलुक फर्किएकी हो वा उसको भ्रमणको भिसा सकिएको हो म बुझ्दिनँ । जुन आमाको गर्भमा ऊ सात महिना बसी । जुन बाउको वीर्यको अवशेष ऊ हो । त्यहाँ ऊ किन पुग्दिन ? के बुबाआमाको छत्रछायामा बस्ने भिसा नलाग्ने हो र उसको ?
‘म पनि तँजस्तै छु । टुलुटुलु रोएको हेरेर बस्न सक्दिनँ ।’
‘तर म बाध्य छु । हेरिरहन्छु । जसरी यहाँ अँध्यारो सहिरहेका छन् जातहरू । लिङ्गहरू ।’
‘एउटा विकल्प दिन्छु मान्छस् ?’
‘तैँले हुकुम गरेको कुरा आजसम्म नमानेको भए भन् ?’
‘यो संसार जस्तो छ त्यस्तै छोडिदे । यसै रहनदे ।’
‘मतलब के भन्दै छेस् प्राण छोडूँ ?’
‘यहीँ रहिस् भने परिवर्तनको कुरा गरिरहन्छस् त्यसैले अर्को विकल्प देख्दिनँ म ।’
‘अनि हिजो मैले जिन्दगी सुन्दर छ । से नो टु सुसाइड भनेर लेखेको पुस्तकको औचित्य रहन्छ र ?’
ऊ फेरि अलप भई । म आफ्नै पुस्तक छातीमा राखेर रुन थालेँ । वास्तवमा हत्या कसको भयो ? आँसु पुछ्दै मलाई पछाडिबाट अँगाल्न आइपुगी ।
‘सधैँ यसरी हुन्न । म जहिले पनि तेरो पीडामा आउन पाइन भने ? के थाहा अबउपरान्त मलाई तेरो समीपमा आउने भिसा नमिल्ने पो हो कि ? अब यसरी अँगालेर तँलाई साथ दिने मान्छे किन खोज्दैनस् ?’
‘अब मजस्तै सोच्ने अर्को मान्छे म कहाँ खोजूँ भन् त तँ आफैँ । जसले धर्मलाई धर्म भनोस् । जसले सत्यलाई अँगालोस् । जसले मेरो विगतको पर्वाह नगरोस् ।’
‘अनि अस्ति कोही त तेरो नजिक आएकी हैन र ?’
‘हो तर संस्कारको टोकरीले गर्दा ऊ ताजा फूल लिन अन्तै गई । भगवान्को पाउमा परेको फूल फेरि अर्को भगवान्लाई चढाउन मिल्दैन अरे । मैले यति बुझेँ, नराम्रो विगतले सहानुभूति मिल्दो रहेछ चाहेको जीवनसाथी हैन ।’
मेरो आँखाबाट आँसु खस्न लाग्दा ऊ सत्यबाट झरिसकेकी छे । पारिजातजस्तै छ उसको कथा । उसलाई फुलेको देख्न मैले रात हुनुपर्छ । ति हार र महिनावारी, मनको दिर र जात अनि सामाजिक सञ्जालमा रँडाको । धर्मलाई अफिम भन्नेहरूले के बुझ्नुभने धर्म अफिम हैन घाम हो । पानी हो बरु संस्कार लेउ हो । यसले अदृश्य रूपमा दुर्घटनाको शृङ्गार गरिरहेको छ । लेउले केही बिगार्दैन भन्ने भ्रममा छन् । लेउमा टेकेर करामत देखाउन सकिन्न त्यसैले साफ गरेर आवश्यक मलजल गर्नुपर्नेमा म यहाँ साफ गर्न तत्पर कोही देख्दिनँ । मिल्थ्यो भने म एउटा भव्य कार्यक्रम आयोजना गरेर भन्ने थिएँ ठिक छ तिमी आस्थामा रहिरहन चाहन्छौ बस तर बिन्ती हामीलाई अँध्यारामा दबाएर राखिएको छ नभनिदेऊ । परिवर्तन सम्भव छ, सुरुवात म आफैँबाट ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।