अन्धकार नै छ अझै पनि । बिहानको चार मात्रै बजेको छ अहिले— तर पनि ‘ठूलोफेदी’ मा वास बसेका सबैजसो यात्रीहरू बाटामा निस्किसकेका छन् । तीर्थालुहरूको लर्को छ बाटाभरि र यही लर्कोमा मिसिएका छौँ— हामी पनि । हात हातमा बलेका झिल्मिले टर्चलाइटहरू जूनकिरी उडेझैँ देखिँदैछन् र यिनै टर्चलाइटको सहारामै उकालिँदै छौँ हामी सबै ।

डिलमास्तिर पुगेपछि बाटैमा राखिएको सूचनाबोर्डले भन्यो— “यहाँभन्दा अगाडि पानीको व्यवस्था छैन । आफूलाई चाहिने पानी यहीँबाट लिएर जानुहोला ।”

हामीले एक/एक बोत्तल पानी मात्र बोकेर हिँडेका थियौँ । सूचनाबोर्डले यति कुरो नभनेको भए हामीले पानीको जतन नगर्न पनि सक्थ्यौँ होला । तर यस बोर्डले राम्रो गर्‍यो । मैले यो सूचनाबोर्डलाई पनि मनमनै धन्यवादै दिएँ । यसैको मर्मलाई आत्मसात् गर्दै सबैले थप एक/एक बोत्तल पानी किन्यौँ, झोलामा राख्यौँ र अघि बढ्दै छौँ ।

बाटो ठाउँठाउँमा तेर्पाएँ छ, ठाउँठाउँमा ठाडो उकालो छ र ठाउँठाउँमा त निक्कै अग्ला खुट्किलासमेत छन्— त्यसैले धीमा गतिमा उचालिँदैछन् हाम्रा पाइलाहरू । ठाउँठाउँमा चौतारा भेटिन्छन् र ती चौतारा पनि पूर्ण रोजगारीमै छन् । तिनको स्थापनाको लक्ष्यअनुरूप नै थकाइ मारेर बसेका यात्रीहरूले भरिएकै छन् । यात्रीका पनि आ-आफ्नै समूह छन् । आ-आफ्नै धूनका गफ चलिरहेकै छन् र यो बाटो पनि तिनैका आवाजले गुन्जायमान बनेको छ ।

भवानी खतिवडा

हामी बेला बेला उभिन्छौँ, उभिएरै थकाइ मार्छौँ र फेरि पाइला सार्छौँ । ‘ठूलोफेदी’ बजारदेखि आधा घण्टाको बाटो छिचोलिसकेका छौँ । यही बिन्दुमा बिरामी परेकी एकजना महिला भेटिइन् बाटैमा । “सास फेर्न गाह्रो होलाजस्तो भयो । टाउको दुख्यो । वाकवाकी लाग्यो” भनिरहेकी छन् उनी । लेक लाग्यो भने जतिसक्दो चाँडो तलतिर ओर्लिनुपर्छ भन्नेसम्म थाहा छ मलाई पनि । त्यसैले बाटैमा लम्पसार परिरहेकी उनलाई तुरून्तै फेदीतिरै ओरालिहाल्ने सल्लाह दिइहाल्छु । उनका सहयात्री उनलाई डोर्‍याउँदै अघि आएकै बाटोतिर फर्किन पनि थालिहाल्छन् । के गर्ने, मरिहाल्ने मन त कसको पो हुन्छ र ?

ती महिलाको हालत देखेपछि मेरो मनमा पनि चिसो पसेको छ— कतै मै पनि पो ! डराएँ, र त्यहाँदेखि उताको कुरो नसोच्न खोजेँ । तर मनले किन मान्थ्यो र ? जे नगर भन्यो, त्यही गर्न खोज्छ । मन न हो— अप्ठेरातिरै दगुर्न ‘मन’ गरिहाल्छ ।

केहीबेर हिँडेपछि लेक लागेर बाटामै ढलेकी अर्की बिरामी भेटिइन् फेरि । उनी ढुङ्गोमाथि टाउको अड्याएर घोप्टो परेकी छिन् र बेला बेलामा ‘ऐय्या आमा’ भनिरहेकी छन् । बेला बेला सुस्केरा हाल्छिन् र धेरैजसो मौन हुन्छिन् । एकजना युवक उनको टाउको सुम्सुम्याउँदै छन् । बुझियो, बिरामीका पति रहेछन् तिनी । “तिमी चिन्ता नगर सानू, जुरेछ भने अर्कोपल्ट आउँला । नजुरे यसैमा चित्त बुझाउँला । तिम्रो स्वास्थ्य बिगारी बिगारी त म लाँदैलान्न नि” भनेर सम्झाउँदै छन् आफ्नी भूमिसात् अर्धाङ्गिनीलाई ।

माया घोलिएको आवाज पोखिएको छ बिरामी श्रीमतीका छेउमा । कानबाट भित्र पसेर हृदयको गहिराइमा उत्रने यी मायालु शब्दहरूले ती बिरामीको मनतन्तुमा कस्तो उपचार गरिरहेका होलान् ? हेर्न मन लाग्छ मलाई पनि । तर मुटु नै चिरफार गर्ने चिकित्सकले त नदेख्ने यस्ता मिहिन् कुराहरू मैले कसरी देखूँली र खै ?

“ट्याक्सी चाहिन्छ भने भन्नोस् है हजुर ! हिँड्न नसक्नेका लागि ट्याक्सीको पनि भरपर्दो व्यवस्था छ ।” एकजना युवक बिरामीका छेउमा आए र ठूलो स्वरमा बोले ।

उनका कुरा सुनेर छक्क परेकी छु म । यो सिँढी छापेको उकालामा ट्याक्सीको व्यवस्था कसरी हुनसक्छ ? म आफैँ अल्मलिएँ र उनैलाई सोधेँ— “खै कहाँ छ ट्याक्सी ?”

उनले आफ्नो जिउतिर औँलो देखाउँदै भने— “यी तपाईंहरूकै अगाडि हाजिर छ ! ट्याक्सी भनेको मै हुँ हजुर ! हिँड्न नसक्ने भक्तजनलाई हामी बोकेरै मन्दिरसम्मै पुर्‍याइदिन्छौँ ।”

यिनले नम्बरसमेत अङ्कित भएको पहेँलो रङको ज्याकेट लगाएका छन् । भरियाको पहिचानका लागि ज्याकेटको व्यवस्था गरिएको कुराको जानकारी पनि उनले नै दिए । देखाए नै, उनले १०१ नम्बरको ज्याकेट लगाएका रहेछन्— अर्थात् उनी रहेछन् यस रूटको ट्याक्सी नं. १०१ । ट्याक्सीको सुविधा पाउने भएपछि बिरामीले पनि टाउको उठाइन् र बोकिएरै भए पनि मन्दिरतिरै जाने मनसुवा व्यक्त गरिन् । ज्यालाको मोलतोल भयो । ट्याक्सी भनिएका भाइले भने— “प्रतिकिलो एक सय रूपैयाँका दरले बोक्ने गरेका छौँ । हामीले यहाँ तोकिएको रेटभन्दा बढी लिनै मिल्दैन । कति किलो हुनुहुन्छ हजुर ?”

उनी सत्तरी किलोकी रहिछन् । दररेटबमोजिम सात हजार तिर्नेगरी ती भरियाले पिठ्युँमा बोके र उकालो लागे । टेलिफिल्म ‘लालपूर्जा’मा हो क्यारे, ‘मह’ले हँस्यौली पाराले देखाएको मानव-ट्याक्सी आज आफ्नै आँखाअगाडि देखेँ । अझ देखेँ मात्र हो र, म त ट्याक्सीसँगै बोलेँ पनि ! दोहोरो बोलचाल— अझ त्यसमा पनि । ठट्टा हो ?

सम्झँदा पनि खूब मजा आइरा’छ ।

जति जति उचाइतिर बढ्दै जाँदै छौँ उति उति नै लेक लागेका र उकालो चढ्न नसकेका बिरामी बढ्दै गएका देखिरहेका छौँ हामी । रोजीरोटीको सवाल भएर पनि होला, यस्ता पहेँला ज्याकेटधारी ट्याक्सी त बाटैभरि पो भेटिन थाले । म देखिरहेकी छु— यी भरियारूपी ट्याक्सी तीर्थालु बिरामी परेको खबर पाउँनासाथ हतारिँदै आइपुग्छन्, आफ्नो पिठ्युँ थाप्छन् र उकालो लागिहाल्छन् । टर्चलाइटको उज्यालोमा मात्र देखिएको भए तापनि मलाई यिनीहरूको तदारूकता र युनिफर्म खूब मन परिरहेको छ । सायद नौलोे विषय भएर पनि होला कि ?

कति बाटो हिँडिसकियो र कति बाटो हिँड्न बाँकी छ भन्ने कुराको कुनै अत्तोपत्तो छैन हामीलाई । तर पनि निरन्तर हिँडी नै रहेका छौँ । आखिर अँध्यारोकै हिँडाइ न हो !

अनकन्टार बाटोमा उकालो मात्रै उक्लिरहेँछु निरन्तर । धर्ती आकाश सबैतिर निस्पट्ट अँध्यारोको साम्राज्य छ । आकाशमा अनगिन्ती तारा चम्किँदै छन् । ती ताराबाहेक अर्थोक केही देखिएको छैन ।

खै कसोकसो गर्दा म त मेरा सहयात्रीहरूसित छुट्टिन पो पुगेँछु । सँगै हिँडेका साथी त कहाँ छन् कहाँ ! म त हूलबाट छुटेको चरीझैँ पो भएँछु । अलिक ठूलै स्वरले बोलाई पनि हेरेँ । तर मैले बोलेको सुन्ने ठाउँमा भए पो बोलून् मेरा साथीहरू । सुनेनन् त होला नि— मैले कुनै जवाफ नै पाइनँ ।

निक्कैबेर पर्खिएँ पनि एउटा चौतारोमा बसेर— तर अहँ, अझै कोही आइपुगेको छैन ।

अनकन्टार बाटोमा उकालो मात्रै उक्लिरहेँछु निरन्तर । धर्ती आकाश सबैतिर निस्पट्ट अँध्यारोको साम्राज्य छ । आकाशमा अनगिन्ती तारा चम्किँदै छन् । ती ताराबाहेक अर्थोक केही देखिएको छैन । म घरीघरी उभिएरै थकाइ पनि मारिरहेकी छु । आफूभन्दा अगाडिका यात्रीले बालेको बत्तीको उज्यालो नियाल्ने प्रयत्न गर्छु । तिनले बालेका बत्ती त आकाशैनजिक चलमलाइरहेझैँ पो देखिन्छन् । टोपी खस्ने उकालो छिचोल्न बाँकी नै रहेछ भन्ने अनुमान लगाउँछु । कसो कसो मन आत्तिन्छ; गोडा गलेगलेझैँ महसुस गर्छु ।

आत्तिएको मनलाई मनैले फकाउँछु र फेरि अघि बढ्छु ।

“ल है ! मान्छे बोक्नु पर्ने भो ! कोही छ ?” मेरै नजिकबाट ठूलो स्वरमा आव्हान गरे एकजना पुरूषले ।

“छ है छ, म आइपुग्नै लागेँ !” डिलैमास्तिरका अर्का पुरूषले जवाफ फर्काए र हतारिँदै आइपुगे— उही पहेँलो ज्याकेटधारी एकजना मानव-ट्याक्सी ।

“लौ न यिनलाई गाह्रो भयो । मन्दिरसम्म पुर्‍याइदिनुस् न है !” उनले एउटी महिलातिर सङ्केत गर्दै बोले । ती युवा भरिया तीस/बत्तीस वर्षे हुँदा हुन् । पातला ज्यानका छन् । उनले ती बिरामी महिलातर्फ सङ्केत गर्दै सोधे— “कति किलो हुनुहुन्छ उहाँ ?”

बोकिने महिलाचाहिँ असी किलोकी रहिछन् । तर पनि तिनले ती महिलालाई नाम्लो लगाएर डोको बोकेझैँ पिठ्युँमा बोके र उकालो लागे ।

ठाडो भर्‍याङजस्ता ढुङ्गे खुट्किलाहरू छन् बाटामा । निक्कै बिकटिलो छ उकालो । मलाई पनि आफ्नै पाइला उचाल्न गाह्रो भइरहेको छ । तर आफ्नो ज्यानभन्दा ठूला मान्छे बोकेर हिँडेका यी ट्याक्सीरूपी भरिया दाजुभाइ देख्दाचाहिँ भित्रैबाट ऊर्जा पलाएको महसुस गर्छु म । सवाल जीविकोपार्जनको हो । सवाल रोजीरोटीको हो । सवाल हात-मुख जोर्नुको हो । त्यसैले त यी भरिया भाइ भोकको ओखती खोज्न रातको निद्रा पनि त्यागेर आफूभन्दा ठूलो भारी बोक्न यसरी बाटामा निस्किएका होलान् नि बरा !

अब भने पूर्वतिरको क्षितिज उज्यालिँदै गएको छ । मिर्मिरे उज्यालोले धर्तीलाई पनि उज्याल्याउँदै लगेको छ । मन्द गतिमा फैलिँदै गएको धमिलो उज्यालोमा मैले अगाडिको बाटो नियालेँ— आकाशसम्मै अग्लिएको भीमकाय पर्वत उभिएको देखियो मेरैअगाडि । अजङ्गका ढुङ्गा बोकेर उभिएको कहालीलाग्दो पर्वत देखेर गोडा फतक्क गले । भनन्न रिँगटा लागेजस्तो भयो । म बाटैको एउटा ढुङ्गोमा बसेँ— थचक्क ।

अनि पछाडि फर्किएर आफैँले पार गरेको बाटो हेरिरहेँ— निक्कैबेरसम्म । यति उचाइ त नापिसकेकी रहेछु नि मैले पनि । हुर्रे ! थाहै नपाए पनि धेरै काम गरिसकेकी रहेछु मैले । पछाडिका मान्छेहरू आँखाले ठम्याउन नसक्ने गहिराइमा हिँडिरहेका देखिन्थे । उँधोतिर फर्किएर हेरिरहँदा उडिरहेको जहाजबाट धर्तीको दृश्य हेरेझैँ लागिरह्यो । म आफैँले शनैः शनैः नापेको उचाइ देख्ता साँच्चै नै उत्साहित भएँ ।

ओहो, कताकता घण्टी बजेजस्तो आवाज पो सुनियो त ! कतै म मन्दिरमै पुग्न लागेकी त होइन ?

यही बेला दुईजना भरिया दाजुभाइ मास्तिरबाट ओर्लिँदै मेरै छेउमा आइपुगेका छन् । म तिनैलाई सोधिरहेकी छु— “यो पाथीभराको घण्टीको आवाज हो ?

“मन्दिरभन्दा आलिक ओर्तिर ‘ठूलोघण्टी’ भन्ने ठाउँ छ । यो त्यहीँको घण्टीको आवाज आ’को पो हो होउ ?”

“मन्दिर पुग्न अब कति समय लाग्ला ?”

“आइपुक्नै लाग्यो आबो ता ! आद्धा घण्टामा त पुग्छा पो होला होउ !”

“तपाईँहरू मन्दिर पुगेर फर्किनुभएको हो ?”

“हो, भारी माथि पुराएर फेरि आर्को भारी खोज्नु पो फार्केको होउ हामी त !”

मीठो लिम्बू शैलीमा यत्ति बोलिराखेर ओरालो लागिहाले ती दाजुभाइ । म निरन्तर उकालिइरहेँ ।

सशस्त्र प्रहरी बलले निर्माण गरेको चौतारो भेटियो । म हिउँले छपक्कै ढाकेका पर्वततिरै हेरेर उभिइरहेँ ।

बाटोको भित्तामा झुन्डाएको रहेछ एउटा घण्टी । साथीहरूले यो घण्टीको आवाज सुनून् र मन्दिर आइपुग्न लागिएछ भनेर खुसी होऊन् भन्ने हेतुले निक्कैबेरसम्म निरन्तर बजाइरहेँ मैले पनि— त्यो ठूलो घण्टी ।

ठूलो घण्टीदेखि उता वनैवनको तेर्पाएँ बाटो रहेछ । बाटोको तल्लोपट्टि फलामे डण्डीको बार र मास्तिरको भित्तामा काँडेतार लगाइएको रहेछ । काँडेतारभरि तीर्थालुले चढाएका धजाहरू बेरिएका छन् । ३७९४ मिटरको यो उचाइमा पनि सल्ला, कटुस, गुराँसका बोटले ढपक्कै ढाकेको घना वनले साथ दिइरहेको छ । साथैमा रहेका भरिया दाइ मलाई पाथीभराकै बारेमा जानकारी दिइरहेका छन्— “पाथीभरालाई लिम्बू भाषामा मुकुमलुङ बोल्छ । ‘मुकुम्’ भनेको शक्तिको स्रोत र ‘लुङ’ भनेको ढुङ्गाको मूर्ति हो । पाथीभरा हामी लिम्बूकी शक्तिकी स्रोत हुन् । हिन्दू र बौद्ध धर्म मान्नेहरूले पनि उत्तिकै श्रद्धा गर्छन्— आदरसाथ दर्शन र पूजा गर्छन् । अन्न भरेको पाथीजस्तै पर्वतमा बस्ने भएकीले यी देवीलाई पाथीभरा भनेको हो । पाथीभराको देवीको उत्पतिको एउटा रमाइलो कथा पनि छ ।”

“कस्तो कथा ? सुनाउनोस् न दाइ !”

“परापूर्वकालमा पाथीभराको थुम्कामा कसैले भेडीगोठ राखेको थ्यो अरे । एकदिन अचानकै पो सप्पै भेडा अलप भएछन् । पाँच दिनसम्म खोज्दा पनि भेडा नभेटिएपछि गोठालो ठूलो चिन्तामा परेछ । अनि त्यै रात माताले त्यो गोठालालाई सपनामा दर्शन दिनुभैछ र भेडाको बलिसहित मेरो पूजा गर्नू भनेर अराइराखेर अल्पिनुभएछ । ती गोठालाले माताले भनेजसरी नै पूजा गरेछन् र भेडाको बलि पनि चढाएछन् हउ । आन्तो, भेडाको बलि पाउनासाथ ती हराएका सयौँ भेडाहरू जस्ताको तस्तै पहिलेकै ठाउँमा पो प्रकट भएछन् फेरि । अनि सप्पैभन्दा ठूलो आसर्जे चैँ के भएछ भने त्यो बलि दिएको भेडाको रगत ता भुइँमा खस्नासाथ बालुवामा पानी हराएझैँ हरायो पो अरे हाउ । पाथीभरा माताले बलि स्वीकार गरेको सम्झेर ती गोठालाले जयजयकार मनाएछन् । अहिले पनि दैनिक सयौँ बलि चढाइन्छ । कैले कैले त दुई तीन सयको हाराहारीमा पनि पो बलि चढाउँछन् त गाँट्ठे ! तर पनि त्याँ रगत त जम्दैन पो हाउ । पाथीभरा माताले बलि स्वीकार गरेकै कारणले यस्तो भएको हो भन्ने मान्नेता पो छ हाउ यतातिर ता ।”

उत्पति-कथा यसरी टुङ्गियो ।

हामी मन्दिरनजिक पनि पुगिसकेका छौँ । मूलद्वारको सामुन्नेमा पनि एउटा विश्रामस्थल देखियो । मन्दिरको मूलद्वारदेखि भित्रसम्म जाने बाटोभरि जस्ताको छानो हालेको सुरूङमार्गजस्तो बनाएको देखियो परैबाट । भरिया दाइले भने- “यो ठाउँमा त छिनछिनमा मौसम परिवर्तन पो भइरहन्छ त ! एकैछिनमा घरी पानी पर्छ; घरी हिउँ पर्छ । त्यै भ’र दर्शनार्थीको सुविधाका लागि यो लामु छानो हालेको नि !”

मन्दिरको मूलद्वार नजिक पुग्नैलाग्दा पश्चिमी क्षितिजमा चम्चमाइरहेका हिमालसित नजर जुध्नपुगे मेरा । यी त सबै नै कुम्भकर्ण हिमशृङ्खलाका चुचुराहरू पो हुन् रे त ! यी चुलीहरू कल्पनातीत सौन्दर्य पस्किएर पाहुनाको स्वागतका लागि हतारिएजस्ता देखिँदैछन् । चाँदीको घोलले भर्खरै नुहाएजस्ता देखिने कुम्भकणर्का चुलीहरूलाई देखेर चकित भएकी छु म । उभिएकी उभियै र हेरेकी हेर्‍यै भएकी छु म । यी हिमशृङ्खलाका सम्मोहक दृश्यले एक पलमै मोहित भइसकेकी र स्वर्गीय आनन्दमा डुबुल्किएकी छु म अहिले । भावशून्यताको स्थितिमा पुगेकी र पूरै लाटिएजस्ती भएकी छु म अहिले ।

खै कसो कसो आफै नै बिनाशीर्षककी हिउँ-कविताजस्तै भएर जमेकी छु म अहिले ।

मेरा सहयात्री भरिया दाइ निक्कै अघि बढिसकेका छन् । म एकोहोरिएको देखेर परैबाट डाकेर भने- “ढिलो नगरीकन आउनोस् । मन्दिरमा जौँ अब । मन्दिरओरिपरि त झन् कति छन् कति हिमाल । मन्दिरको आँगनबाट त झनै हिमालको साक्षात रूप देख्न पाउनुहुन्छ ।”

मेरा आँखा हिमालकै सौन्दर्यमा निमग्न छन् । हृदय अत्यन्त आह्लादित र उत्साहित छ । हिउँको रासमाथि उभिएका पाइला उसैउसै दङदास भएका छन् । चुम्बकमा फलाम तानिएझैँ हिमालका दिव्य चुलीतिरै तानिइरहेको छ— मेरो मन पनि । म हिँड्दैै छु र हिँडी नै रहेकी छु । मन्दिरको मूलद्वारैअगाडि उभ्याइएको नाल्वो सेवा समाजको फलामे बोर्डले भन्यो— “मुकुमलुङमा पाल्नुहुने सम्पूणर्मा स्वागत छ ।” हरियो भुइँमा सेता अक्षरले लेखिएको यो स्वागतबोर्ड पनि यहीँको प्रकृतिसित अन्तर्घुलित भएर मुस्कुराइरहेझैँ लागिरहेको छ ।

मन्दिरको मूलद्वारअगाडि उभिएर श्रद्धानत् भएर हात जोडिरहेकी छु म ।

मन्दिर प्रवेश गर्ने बाटाको दायाँबायाँ हजारौँ घण्टीहरू झुन्ड्याइएका छन् । बाटामा ओहोर दोहोर गर्ने तीर्थालुले यी घण्टी अनवरत रूपमा बजाइरहँदा रहेछन् । घण्टी बजाउँदै अघि बढिरहेकी छु म पनि— आँगनमै स्थापित गणेश र शिवजीका ढुङ्गेमूर्तिहरू हेर्दै । पाथीभरादेवी स्वयंचाहिँ विशालकाय पर्वतको पूर्वपट्टिको थाप्लैमा बसेकी रहिछिन् । दायाँपट्टिचाहिँ सानो घरजस्तो यज्ञस्थल बनाइएको रहेछ । पाथीभराको थुम्काको पूर्व, पश्चिम र उत्तर तीनै दिशाबाट यही थुम्कोतिर फर्किएर हाँसिरहेका छन्— दिव्य दिव्य हिमालहरू ।

यी भरियादाइले नै साथ दिइरहेका छन् मलाई अझै पनि— “ऊ त्यो चैँ विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हो । त्यो कञ्चनजङ्घा- २ र ऊ त्यो चैँ कञ्चनजङ्घा- ३ का चुलीहरू हुन् । त्यो टोपीजस्तै आकारमा बसेको कुम्भकर्ण हिमाल हो । ऊ त्यो काङबाचेन हो । त्यो मकालु हो । ऊ त्यो लोत्से, त्यो नुप्चे र त्यो चैँ डोम हो ।”

यी त यिनै हिमालका सच्चा सन्तान रहेछन् जसले आफ्नो देशका गहनाका रूपमा रहेका हिमालका नाम मुखाग्र पारेर यही विशिष्ट भूगोलको सेवा गरिरहेका रहेछन् ।

पाथीभराको उचाइसँगसँगै उभिएका यी झल्झलाकार हिमशृङ्खलाको सौन्दर्यको यो चित्रलाई संसारका कुनै पनि शब्दले वणर्न गर्न सक्दैनन् भन्ने लागिरहेको छ मलाई अहिले । यी हिमालहरूका नाम उच्चारण गरिरहँदा यी भरिया दाइको अनुहार पनि हिमालझैँ उज्यालिइरहेका छ । कुशल भरिया मात्रै होइन रहेछन् यी देव दाइ— यी त पर्यटकलाई देश चिनाउने असल पथप्रदर्शक र हिमाल चिनाउने प्रवक्ता पनि रहेछन् । देशको ढिकुटी नरित्याईकन पर्यटन प्रवर्द्धनमा खटिएका स्वयंसेवी राजदूत पो रहेछन् यी दाइ त ! यी त यिनै हिमालका सच्चा सन्तान रहेछन् जसले आफ्नो देशका गहनाका रूपमा रहेका हिमालका नाम मुखाग्र पारेर यही विशिष्ट भूगोलको सेवा गरिरहेका रहेछन् ।

तिमीले थाहै नपाईकन तिमीभित्र लगातार हुर्किएको राष्ट्रप्रेमको यो अमरगाथालाई मैले मनैदेखि सलाम गरेँ है देव दाइ ! तिमी त राजदूतभन्दा पनि माथि रहेछौ भूमिपुत्र !

मेरा सहयात्री साथीहरू आइपुग्न बाँकी नै छ । म यतिखेर एक्लै उभिएकी छु । प्रकृतिको वणर्नातीत सौन्दर्यपानमा निमग्न र निःशब्द छु । विश्व वरियताक्रमको तेस्रो र नेपालको दोस्रो अग्लो कञ्चनजङ्घा हिमालको मूल चुली आफ्नो ८५८६ मिटर अग्लो शिर ठड्याउँदै झल्झलाकार भएर झल्किरहेछ— मेरै आँखाअगाडि । कञ्चनजङ्घा (दक्षिण) को ८४७६ मिटर, कञ्चनजङ्घा (मध्य) को ८४७३ मिटर, कञ्चनजङ्घा (पश्चिम) को ८०७७ मिटर र यालुङकाङको ८५०५ मिटर अग्ला शिरहरू पनि सौन्दर्यका सहस्र भुल्का छरेर मेरैसामु मुस्कुराइरहेका छन् । जन्नु हिमालसमेत भनेर चिनिने कुम्भकणर् (७७१०मि.) को चुली पनि उसरी नै झल्किरहेको छ । काङबाचेन (७९०३ मि.) पनि अविराम मुस्कुराइरहेको छ— मैलाई हेरेर । विश्वको चौथो अग्लो ल्होत्से (८५१६ मि) को सम्मोहक रूपले पनि लट्ठ तुल्याइरहेको छ । अझ मूल ल्होत्सेसँगै कुम जोडेर उभिएका ल्होत्से मिडल (८४१३ मि) र ल्होत्से शार (८४०० मि) का चुचुराले त ‘हामीमध्ये को बढी सुन्दर छौं, लौ भन त’ भनूँलाझैँ गरेर मैतिर हेरिरहेका छन् । विश्वको पाँचौँ अग्लो मकालु (८४६३ मि.) को दिव्य चुलीले पनि अपलक आह्लादित तुल्याइरहेको छ मलाई । नुप्चे (७८५५ मि) र डोम (७४४२ मि) का दिव्य चुलीले पनि हृदय लुटिरहेकै छन् । यी पवित्र चुली छोएर बहँदै आएको पवित्र हावाको स्पर्शले मभित्रका कल्मषसमेत बढारिरहेको आभास भइरहेछ । यो रहस्यातीत शान्तिक्षेत्रमा समाधिमग्न भएका हिमालले मभित्रको ‘म’ लाई पनि उज्यालिरहेका छन् । मेरो मनमस्तिष्क समाधिमग्न हुँदै गएको आभास भइरहेको छ । यी भव्य र उत्तुङ्ग हिमालकी छोरी हुनुको गौरवबोधले आज मेरो शिर अग्लिएको छ । म मेरै देशमा अवस्थित संसारकै गौरवका अगाडि उभिएर कृतकृत्य हुँदै नतमस्तक भइरहेकी छु आज ।

हे भगवान्, हरेक स्वाभिमानी नेपालीका जीवनमा अहिले मैले भोगेजस्तै यस्तै गौरवशाली क्षणहरू आइरहून्— सधैँ सधैँ !

मेरो मोबाइलको घण्टी बज्यो— ठीक यही बेला । त्यसकै आवाजले मेरो ध्यान पनि भङ्ग भयो । छोरी आस्थाको फोन रहेछ । समान वेभलेन्थको बलियो सूत्रमा जोडिएका मान्छेहरू जत्ति नै दूरीमा किन नहून्, टेलिप्याथीकै माध्यमबाट एकअर्काको सुख र दुःखको अनुभूति साटासाट गर्न सक्छन् रे भन्ने सुनेकी छु मैले । हो कि झैँ लाग्छ मलाई पनि । मेरो खुसीमा मभन्दा बढी मुस्कुराउने मेरै शरीरकी एउटी अंश हो ऊ । मेरा हरेक खुसी, पीडा र अप्ठेरोमा कुनै न कुनै रूपमा ऊ मसँगसँगै नै हुन्छे सधैँ । हो, अहिले पनि यही अपूर्व सुखानुभूतिको साझेदारी गर्नकै निम्ति अकमात् फोनमार्फत् ऊ जोडिन आइपुगेझैँ लाग्यो । मैले भनेँ— “हेर नानी, म हिमालहरूको अनन्तः प्रकाशको बीचमा छु । पाथीभरा माताको काखमा बसेकी छु । प्राकृतिक सौन्दर्यको रासमाथि उभिएकी छु । संसारको सप्पै स्वच्छता, सुन्दरता, विचित्रता र उच्चतालाई एकाकार गरेर उभिएका हिमालय पर्वतरूपी ईश्वरका सामुन्नेमा छु— म अहिले ।”

यति बोली नसक्तै किन किन भावुक भएँछु म । आस्था पनि मौन भई । यी दिव्य हिमाल देख्न पाएकी भए ऊ झन् कति खुसी हुने थिई होला । उसको हिमाल हेर्ने चाहना मुल्तबीमा थन्किएको छ— त्यो पनि हाम्रै राष्ट्रिय ध्वजावाहकको अकर्मण्यताका कारणले गर्दा । नेपाल वायुसेवा निगम टिकट बेच्छ तर कहिल्यै समयमा उड्दैन । उसको अनुशासनहीनताले गर्दा कति सेवाग्राहीको कति थोक बिग्रन्छ, कुनै मतलब नै राख्दैन, कुनै जिम्मेवारीबोध नै गर्दैन कहिल्यै ।

मनमा यस्तैयस्तै तरङ्ग उठिरहे, हिमाल हेरिरहेँ तरै पनि हृदय भरियो, आँखा रसाए । म निरन्तर बगिरहेँ । थाहै नपाई म ध्यानस्थझैँ बन्न पुगेँछु ।

मैले यो पावनभूमिमै उभिएर स्वर्गीय पिता र सासूआमालाई सम्झेँ । ज्ञात-अज्ञात सबै पितृहरूलाई सम्झेँ र मोक्षप्राप्तिको कामना गरेँ । आफ्नै जन्मदात्री आमालाई सम्झेँ । ८७ वर्षे ससुराबालाई सम्झेँ । सबै आफन्त र इष्टमित्रहरूलाई सम्झेँ । मलाई हिमाल पढाउने, सिकाउने, जीवनको यथार्थसँग साक्षात्कार गराउने र सङ्घर्ष नै जीवन हो भनेर बुझाइदिने सबै गुरुहरूलाई सम्झेँ । हिमालतिर फर्किएर हात जोडेँ र भनेँ— “हे शैलाधिराज, हामी सबै-सबैको कल्याण गर ! तिमी मलाई पनि आफूजस्तै बनाइदेऊ न ! जति अग्लो भए पनि धर्तीमै खडा— कहिल्यै आफ्नो आधार नभुल्ने !”

झन्डै डेढ घण्टापछि मात्र मेरा साथीहरू मन्दिरको प्राङ्गणमा आइपुगे । एकजना दाइलाई ठूलो घण्टीमुन्तिरको उकालोमा निक्कै सकस भएछ । अरू साथीचाहिँ सजिलै गरी उक्लिनुभएछ । अब हामी हामी दर्शन र पूजाको काममा लाग्यौँ । सुरूमा गणेशजीको पूजा गर्‍यौँ । नाग, त्रिशूल, नन्दीलाई वरिपरि राखेर जलधाराले नुहाइरहेका भोलेबाबाप्रति श्रद्धा व्यक्त गर्‍यौँ । आँगनको उत्तरपट्टि निर्दिष्ट गरिएको ठाउँमै त्रिशूल र घण्टी चढायौँ । भैरव, शिवलिङ्ग, कालिकादेवीको पनि दर्शन गर्‍यौँ । वनदेवी, नवग्रह र मूलथानमा पनि शिर निहुरायौँ । हनुमान, नागकन्या, गरूड, कात्यायानी, कालिका, दुर्गा र पाथीभरादेवीको अर्चना गर्‍यौँ । आँगनको बिचभागमा रहेको यज्ञस्थलमा पनि आँखा डुलायौँ ।

र, सबैभन्दा ठूलो कुरो पाथीभरातिरै फर्किएर चम्चमाइरहेका हिमालका सबै दिव्य चुलीहरूको पनि दर्शन गरिरहेका नै छौँ— अझै पनि ।

प्रकृतिसित एकाकार भएर स्वयंलाई बिर्सिनुछ भने हिमालमै पुग्नुपर्ने रहेछ । म अहिले जीवनका सबैथोकलाई बिर्सिएर रित्तिएकी छु । रित्तिनुको आनन्द भोगिरहेकी छु । मेरो मानसभूमिमा नवीकरणीय ऊर्जा प्रवाहित भइरहेको छ— र, त्यसलाई म आँखा चिम्लेरै महसुस गरिरहेकी छु । पाथीभरा मन्दिरका सयौँ घण्टका आवाजसँगै मेरो हृदयमा ओमकारकाे प्रशान्तिधून गुन्जिरहेको छ । आत्मजागरण गराउने तिम्रो यो टाङटाङ र टिङटिङको धून म कानले मात्र होइन, हृदयले पनि सुनिरहेकी छु माता !

छोरी, यो ‘आनन्दभूमिको आँगन’मा बसेर म बेहिसाब आनन्द बटुलिरहेकी छु ।