परिचय

चितवन समुद्र सतहदेखि १४४ मि. उचाइमा अवस्थित छ । क्षेत्रफलको हिसाबले २२३८.३९ वर्ग किमी भूभाग ओगटेको छ । पूर्वमा पर्सा र मकवानपुर, उत्तरमा धादिङ र गोरखा, पश्चिममा तनहुँ र नवलपरासी जिल्ला तथा दक्षिणमा भारतको उत्तर प्रदेश र बिहारसम्म यसको सिमाना फैलिएको छ । यो जिल्ला बहुसंस्कृति, धर्म, भाषा र विविध जातजातिले भरिपूर्ण छ । २०१३ सालमा राप्ती दूनले जग्गा वितरण गरेर बस्ती विस्तार गरेसँगै चितवनले तीव्र गतिमा भौतिक विकासको फड्को मारिरहेको छ । देशकै केन्द्रभागमा रहेको साथै यातायातको सुगमता र अधिकांश उर्वर भूमि भएकाले यहाँ बन्द-व्यापार, उद्योग-धन्दा, रोजगारी, शिक्षा, स्वास्थ्य जस्ता कुराहरूको अनुकूलता छ । नेपालका सबै जिल्लाहरूका साथै विदेशका विभिन्न मुलुकहरूका मानिसहरू बसाइँसराइ गरी यहाँ आएको हुनाले चितवन अठहत्तरौँ जिल्लाको उपनामले पनि परिचित छ । बाहिरी जिल्लाबाट बसाइँसराइ गर्नेहरूको सङ्ख्या दिनानुदिन बढ्दो छ । सन् २०११ को जनगणनाअनुसार चितवनको कूल जनसङ्ख्या ५,७९,९४८ रहेको छ तर हाल यो सङ्ख्यामा गुणात्मक वृद्धि भैसकेको छ ।

समृद्ध चितवन-

चितवनका आदिवासी जाति थारू र चेपाङ हुन् । नेपालका १०२ ओटा जातजातिहरूमध्ये ६१ ओटा त जनजातिहरू मात्र रहेका छन् । परापूर्वकालदेखि नै उनीहरूको मौलिक भाषा, संस्कृति, धार्मिक परम्परा, संस्कारको आफ्नै पहिचान रहेको छ । विकास क्रममा ती सबै क्षेत्रबाट चितवनमा बसाइँसराइ हुनुको कारण उनीहरू आउँदा आआफ्ना भाषा, साहित्य, संस्कृति, कला र रीतिरिवाज र वेशभूषा समेत साथैमा लिएर आएका छन् । यसैकारण बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक दृष्टिकोणबाट समृद्ध बन्ने अवसर चितवनले प्राप्त गरेको छ ।

रामहरि श्रेष्ठ

साहित्य, कला र संस्कृतिको महत्त्व –

कुनै पनि देशको संस्कृति, कला र साहित्यले नै त्यस देशको सभ्यता र समृद्धिको मापन गरेको हुन्छ । यसैको महत्त्वका कारण नै पर्यटकहरूले त्यस देश वा स्थानलाई आफ्नो गन्तव्य बनाएका हुन्छन् । त्यसपछि मात्र अन्य कुराहरू अवलोकन गर्नमा रुचि राख्दछन् । साहित्य कला र संस्कृतिको समृद्धिले आर्थिक उन्नतिमा समेत प्रभाव पारिरहेको हुन्छ । एकपटकको राम्रो सिर्जनाले हजारौँ वर्षसम्म महत्त्व बोकिरहेको हुन्छ । पेरिसको लुभ्र चित्र सङ्ग्रहालय, तिब्बतको पोताला दरबार र भक्तपुरको पाँचतले मन्दिर लगायत धेरै देशका कलाकृतिहरू विश्वप्रसिद्ध बन्न पुगेका छन् ।

साहित्य, कला र संस्कृतिको अवस्था-

शिक्षा र चेतनाको विकाससँगै चितवनमा हाल करिब तीन दर्जन साहित्यिक संस्थाहरू अस्तित्वमा देखिएका छन् । अझै थपिँदै जाने छन् । यी सबैले नयाँ पिँढीलाई कुनै न कुनै नयाँ चेतना र प्रेरणा प्रदान गरिरहेका छन् । साहित्यलाई समृद्ध तुल्याउन धेरथोर ती साहित्यिक संस्थाहरूको योगदान रहेको छ । यसैगरी कला सिर्जना क्षेत्रमा १० वर्षभन्दा अघिदेखि क्रियाशील कलाकारहरूमात्र ५ दर्जनको आसपासमा रहेका छन् । समाज विकासको क्रममा चितवनका कलाको महत्त्वपूर्ण भूमिका रहेको छ । देशभित्र र विदेशमा समेत चितवनको पहिचान फैलाउने कार्य कलाकारहरूले गरेका छन् । यसपछिका नयाँ कलाकारहरूको जन्म पनि सयौँको सङ्ख्यामा बढिरहेको पाइन्छ । ललितकलाको छुट्टै शैक्षिक संस्थाको आवश्यकता समेत महसुस हुन थालेको छ । कुनै पनि पार्टी, संस्था, प्रतिष्ठान र व्यक्तिको पहिचान गराउन तथा तीनका महत्त्वलाई प्रकाश पार्न र नयाँ चेतना प्रदान गर्न गराउन कला अनिवार्य आवश्यकता बन्न पुगेको छ । यसैगरी सबै क्षेत्रका मानिसहरूको तीव्र आगमनसँगै संस्कृति, रितिरिवाज, परम्परा, भाषा र वेशभूषाको पहिचानले चितवनलाई समृद्ध तुल्याएको छ ।

संरक्षणको आवश्यकता-

मानवजातिले स्वतःस्फूर्त रूपमा जति सकिन्छ त्यस मात्रामा आआफ्ना भाषा, संस्कृति र परम्परालाई हजारौँ वर्षदेखि पछ्याउँदै र समृद्ध तुल्याउँदै आइरहेका छन् तर यसको संवर्द्धन र प्रवर्द्धनमा राज्यको दायित्व के कति हुनुपर्ने हो र कति मात्रामा भएको छ त्यसबारे सोच्न जरुरी छ ।

साहित्य, संस्कृति र कला समाजको ऐना हो । यी तीन कुराको अभावमा भएका भौतिक विकासहरू सारहीन मानिन्छन् । यी तीन कुराको भूमिकाले नै उन्नत समाजको रूपान्तरण भई देश, समाज र व्यक्ति अगाडि बढिरहेको हुन्छ । आर्थिक, सामाजिक र राजनीतिमा समेत यसको उच्च प्रभाव परेको हुन्छ तर स्थानीय सरकार वा प्रदेश सरकार वा केन्द्र सरकार यी सबैको ध्यान भोटको राजनीतिमा बाटोघाटो र अन्य भौतिक विकास निर्माणतर्फ मात्र गएको देखिन्छ तर यहाँको साहित्य, संस्कृति र कलाको उत्थान र संरक्षणतर्फ हालसम्म कुनै पनि राजनीतिक क्षेत्रको ध्यानाकर्षण हुन सकेको देखिन्न । जुन कुराको विकासले मात्र चितवनको दीर्घकालीन असल पहिचान बन्न सक्दछ । यसतर्फ पटक्कै नसोचेर चितवनको वन्यजन्तु अवलोकन गर्न पर्यटक भित्राउने कुरामा मात्र सीमित भइरहेका त छैनौँ ?

यहाँ साहित्यिक संस्थाहरू जुन उद्देश्यकासाथ स्थापना भएका थिए ती कतिपय आफ्नै बलबुतामा अगाडि बढिरहेका छन् । कुनै जेनतेन बामे सरिरहेका छन् । संवर्द्धन र प्रवर्द्धनको अभावमा भाषा, साहित्य, संस्कृति र कलाप्रेमीहरू सहाराविहीन अवस्थामा छन् । प्रतिभाहरू पलायन भइरहेका छन् वा निष्क्रिय बसिरहेका छन् । साहित्य कला र संस्कृतिकर्मीहरूको संरक्षण तथा संवर्द्धन र प्रवर्द्धनमा सर्वप्रथमतः स्थानीय सरकारले नै चासो राख्न आवश्यक देखिन्छ । साथै प्रदेश र केन्द्र सरकारले पनि उत्तिकै महत्त्व दिन जरुरी छ ।

भाषा, साहित्य, कला र संस्कृतिकर्मीहरू के चाहन्छन् ?

चितवनको भाषा, साहित्य, कला र संस्कृतिको विकासका लागि निम्नलिखित कुराहरूमा विशेष ध्यान दिन आवश्यक छ ।

(१) नेपालका हरेक भाषा र संस्कृतिको अध्ययन अनुसन्धानका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्दछ ।

(२) हरेक भाषाभाषी र जातजातिहरूले आफ्ना विशेष पर्वहरूमा सांस्कृतिक कार्यक्रमहरू प्रदर्शन गर्न पाइने उपयुक्त स्थानमा प्रविधियुक्त बहुउद्देश्य भवनको आवश्यकता छ ।

(३) स्थानीय, राष्ट्रिय तथा अन्ताराष्ट्रिय स्तरका कुनै पनि विधाका लेखक, कवि, साहित्यकार तथा कलाकारहरूबाट गरिने कुनै पनि विधाका कार्यक्रमहरू निःशुल्क गर्नका लागि उपयुक्त भवनको आवश्यकता छ ।

(४) राष्ट्रिय तथा अन्ताराष्ट्रियस्तरका लतिलकला, साहित्य, अभिनय क्षेत्रका कलाकर्मी तथा संस्कृतिकर्मीहरुको पोर्टेट चित्र तथा मूर्ति चित्रहरू स्थायी रूपमा सजाएर राख्न उपयुक्त भवनको निर्माण गरिनुपर्दछ ।

(५) स्थानीय, राष्ट्रिय तथा अन्ताराष्ट्रिय चित्रकला प्रदर्शनीका लागि उपयुक्त हलको आवश्यक छ ।

माथि उल्लिखित आधारभूत कुराहरू पूरा गर्न सके चितवनले वन्यजन्तु अवलोकन गर्ने थलोको रूपमा मात्र नभएर भावी दिनमा साहित्यिक सहर, कलाको सहर र विविध संस्कृतिको सहरको उपमा पनि प्राप्त गर्न सम्भव छ ।

उपसंहार-

चितवनलाई पर्यटकीय सहर बनाउन वन्यजन्तु अवलोकन एउटा प्रमुख माध्यम त हो तर पूर्ण भने होइन । चितवनलाई विशिष्ट पर्यटकीय सहर बनाउन सकिने पर्याप्त सम्भावनाहरू छन् । पर्यटकहरूको सदाबहार र बाक्लो उपस्थिति गराउन दीर्घकालीन सोचका साथ अझ महत्त्वपूर्ण कार्यहरू सम्पन्न गर्नुपर्ने देखिन्छ । यसमा विशेषतः भाषा, साहित्य, कला र संस्कृति समेतको विकासमा जोड दिन आवश्यक छ ।