रातमा पैसा । दिनमा पैसा । सबै चिजमा पैसैपैसा ।

मायामा पैसा । ममता किन्न सक्ने पनि पैसा । भावना छिन्न सक्ने पैसा । पैसा नै सबथोक भयो आज ।

बाबुले सन्तान बिर्सिए पैसाकै लागि, सन्तानले पैसा देखे आमाबाबुमाथि । पैसाको अगाडि भावनाको के काम ? पैसाकै अगाडी नैतिकता भयो बेकाम ।

नराम्रोलाई राम्रो देखाउने पैसा । अनर्थलाई अर्थ दिने पैसा । के हो पैसा ? के रैछ पैसा ? ?

जीवनयापनलाई सजिलो बनाउन चलनचल्तीमा आएको भए पनि आज पैसाले जीवनयापन जटिल बन्दै गएको छ । मानिसले पैसा बनाएको भए पनि आज पैसाले मानिस बनाउन थालेको छ । मानिस पैसाको सामुन्ने निरिह हुन थालेको छ । पैसा हरेक मानिसको कमजोरी भएको छ । पैसा मानिसको सबैभन्दा ठूलो आविष्कार हो । संसारमा भएका ठूलाठूला परिवर्तन र आविष्कारहरु पैसाकै कारण सम्भव भएका हुन् । पैसा मानिसको पहिचानसँग जोडिएको छ । यत्रतत्र सर्वत्र व्याप्त छ पैसा तर पनि यसलाई प्राप्त गर्न त्यति सजिलो भने छैन । यो चलायमान छ । एकै ठाउँमा सङ्गालेर राख्न पनि गाह्रो छ । पैसा सबैलाई प्यारो छ, तर कसैले यसलाई आफ्नो बनाउन सक्दैन ।

दिलीप अधिकारी

संसारको जुनसुकै कुनाको मानिस किन नहोस्, पैसा चाहिन्छ । बिनापैसा मानिस बाँच्न सक्दैन । पैसा नै सामाजिक वर्गीकरणको कारण बनेको छ । मानिसको सामर्थ्य पैसासँग जोडिएको छ । खल्तीमा टन्न पैसा भए आँट आउँछ । हरेक प्रतिस्पर्धाको पछाडि पैसा नै मुख्य कारण भएको छ ।

पढाइमा प्रतिस्पर्धा छ । सर्वोत्कृष्ट अङ्क ल्याउन सके राम्रो विषय पढ्न पाउँथे, भविष्यमा राम्रो नोकरी गर्थेँ र टन्न पैसा कमाउँथे । पैसा अमूल्य भइकन पनि यसको मूल्य निर्धारण भएको हुन्छ, सामर्थ्यको आधारमा । राज्यको हैसियतको आधारमा ।

पैसाकै अनेक नाम छन्, कतै डलर कतै पाउन्ड कतै रुपियाँ । अङ्क उही भए पनि महत्त्व फरक छ । धेरै पैसा भएका सम्पन्न मुलुकहरूले साना र विकासोन्मुख देशहरूमा थिचोमिचो गर्ने त्यही सम्पन्नताकै आधारमा निर्धारित भएको छ ।

पैसा कति चाहिन्छ ? त्यो मानिसमा भर पर्ने कुरा हो। मानिस कति पैसा कमाउँदा सन्तुष्ट हुन्छ, उति नै पैसा चाहिन्छ । तर पैसा भन्ने कुरा जति कमाए पनि कमाइरहने इच्छा हुन्छ । साधारण जीवन बाँच्न पुग्ने पैसा भए हुनुपर्ने, तर हुँदैन । किनकि आजकल त पैसाले पाप पखाल्न सकिन्छ, इश्वर पनि किन्न सकिन्छ ।

हरेक खुसी पैसासँग जोडिएको छ । हरेक दुखको कारण पैसा बनेको छ । पैसा भएपछि जे पनि गर्न सक्छु भन्ने घमण्ड मानिसमा बढेको छ । पैसाकै पछि दौडिँदा क्षणिक सुख मिल्छ, आत्मसन्तुष्टि मिल्दैन भन्ने कुरा नै भुलेको छ । कमाएको पैसाको स्रोतको मतलब नगरी आफ्नो धर्म, संस्कृति, मानवता, इज्जत, मानप्रतिष्ठा ख्याल नै नगरी पैसा सङ्कलन गर्ने, आफू धनी र सबैको मान्ने हुने, सबैलाई किन्न सक्छु भन्ने महत्वकांक्षा बढ्दो छ । भुलिदिन्छ मानिसले नराम्रो कामको परिणाम नराम्रै हुन्छ । पाप धुरीबाट कराउँछ भन्ने कुरा । क्षणिक खुसीको लागि जे पनि गर्न तत्पर रहन्छ मानिस ।

मानिसले पैसा कमाउने धुनमा आफ्नो जीवन बाँच्न भुलेका छन् । भौतिक जीवन नै ठूलो हो भन्ने होडबाजी बढेको छ ।  मानिसले पैसालाई मरिहत्ते गरेको देख्दा लाग्छ, ऊ अमर छ । मेरो मेरो भन्दै लडिरहेको छ । कति आत्माहरूलाई रुवाइरहेको छ । सबैले भौतिक जीवन छाड्नुपर्छ भन्ने कटु सत्यलाई भुलेको छ । आवश्यकताभन्दा बढी पैसा थुपार्दा थप तनाव र बोझ महसुस गर्नुपरेको कुरा भुल्दछ । जति धनी भयो उति लोभी बन्दैछ । लिनमात्र तम्सिएको छ मानिस, कसैलाई दिन्नै जानेकै छैन। सामाजिक कार्य र पैसा एकअर्कोका परिपुरक हुन् भन्ने नै भुलेको छ ।

संसारमा हुने हरेक राम्रा नराम्रा कामहरूको पछाडि पैसा नै मुख्य कारण हुन्छ | कोही खान नपाएर मरिराछन्, पैसा छैन । कोही खाना धेरै भएर फालिराछन्, पैसा धेरै छ केही फरक पर्दैन । संसारमा कोही धेरै सम्पन्न हुन्छन्, जति खर्च गरे पनि उनीहरूसँग भएको पैसा घट्दैन । कसैलाई भने एकछाक टार्न पनि धौधौ छ ।

सबैले पैसा कमाउन जान्दैनन्, जान्नेले अरुलाई सिकाउँदैन पनि । पैसाले कहिल्यै अपजस नपाएजस्तै जस पनि कहिल्यै पाउँदैन । त्यसैले यो फोहोर भए पनि, च्यातिए पनि, मैलिए पनि पवित्र छ ।

मानिसले आफूलाई पनि यस्तै पैसा जस्तै पवित्र बनाउने हो भने आफैँलाई पैसासँग अलग्याएर आत्मसम्मान र स्वाभिमानलाई साक्षी राखी कर्म गर्न सक्नुपर्दछ । अनि बल्ल पैसाले पनि सम्मान गर्छ । हामी के चाहान्छौँ, हामीलाई नै थाहा छैन । अक्षर चिन्न थालेदेखि बाबुआमाले सपना देखाउँछन् – धेरै पढ्नु, ठूलो मानिस बन्नु, टन्न पैसा कमाउनु, सुखी हुनु । त्यही सुख पाउनलाई सारा जिन्दगी दुख गरेर पैसा कमायो । उमेर ढल्केपछि शरीरले नै साथ छाडिदिन्छ ।

जसरी मृत्य सत्य हो, पैसा असत्य हो । मृत्य एकपल्ट आउँछ, तर पैसाले पटक पटक धोका दिन सक्दछ । पैसालाई पहिचानसँग अलल्याउन सकेमात्र खुसी मिल्दछ । आउनुहोस्, आजैबाट पैसाले मानिस बनाउने खेललाई जरैबाट उखेल्न हातमा हात मिलाई अघि बढौँ ।