पार नपाइसक्नुको विषय हो ईश्वर । पूर्वीय दर्शन र चिन्तनले भनेझैँ अगम्य अगोचर छ ईश्वर । कृति अमूर्त र व्यापक शब्द छ यो । ईश्वरको अस्तित्व र अनस्तित्वका बारेमा धेरै बहस भए । धेरैको टाउको खायो ईश्वरको अस्तित्व र अनस्तित्वले, अनि ईश्वरसम्बन्धी चिन्तनले । आज ईश्वरको अनुभूतिलाई भित्रैदेखि गम्न मन लाग्यो – के हो ईश्वरत्व ? अहिले मलाई ईश्वरका बारेमा कलम चलाउन पनि अरिङ्गालको गोलामा ढुङ्गा हान्नुजस्तो भइरहेको छ ।
मलाई ईश्वरले सधैँ लखेटिरह्यो । ईश्वरले अरिङ्गाल बनेर मेरो टाउको खाएको धेरै भयो । नित्सेले त ईश्वररूपी अरिङ्गालले टोकेको सहन नसकेर भनिदियो– ईश्वर मर्‍यो । मलाई लाग्छ– ईश्वर मरिसक्यो भन्ने नित्से सबैभन्दा आस्तिक र ईश्वरवादी हो, किनकि ईश्वरको अस्तित्व भएकाले नै मर्‍यो । ईश्वर नभएको भए त मर्ने कुरै हुँदैनथ्यो ।
प्रिय मित्रहरू ! म ईश्वरको मृत्युमा मलामी जान सक्दिनँ । ईश्वरको मृत्युमा कात्रो किन्न सक्दिनँ र ईश्वरका मुखमा दागबत्ती दिन सक्दिनँ । यो अदृश्य सत्ताको अस्तित्व र अनस्तित्वप्रति मान्छे किन दिमाग खियाइरहेछ ? म भन्न सक्दिनँ । मसँग ईश्वर छैन भन्ने प्रमाण पनि छैन र छ भन्ने प्रमाण पनि छैन । छैन भनूँ नभएको तत्त्वले किन खान्छ टाउको ? छ भनूँ, देख्न देखाउन सकिँदैन । तथापि छैटौँ इन्द्रिय ईश्वरीय अस्तित्वमा हस्ताक्षर गर्छ ।
ईश्वर ! अर्थात् गड ! संसारका हरेक मानिसले उच्चारण गर्ने नाम ! एउटा महान् नास्तिक पनि जब कुनै धर्मसङ्कटमा आइपर्छ वा ठूलो प्राप्तिमा उन्मुक्त हुन्छ अनि भन्छ– ओ माइ गड ! माइ गड अर्थात् मेरो ईश्वर ! आपतविपत वा अन्य कुनै प्राप्ति र अप्राप्तिका स्थितिमा मान्छेले पुकार्ने पहिलो नाम हो ईश्वर ! अनि ईश्वरप्रतिको मान्छेका तर्कवितर्क किन ? म चिन्तनको गर्तमा पौडिरहेको छु र खोजिरहेको छु– ईश्वरको अस्तित्व ।
ईश्वर मलाई साथै हिँडेजस्तो लाग्छ आफूसित । यति बेला म देवकोटाको कविता सम्झिरहेछु– ईश्वर हिँड्दछ साथ । माथिबाट ओइरो हालेझैँ मस्तिष्कमा प्रश्नहरूको ओइरो छ ।
– मसँग हिँडिरहने ईश्वर किन प्रत्यक्षीकरण छैन ?
– ईश्वर किन देखिँदैन ?
– ईश्वर किन केही बोल्दैन ?
– उसकै स्तुति, ध्यान र चिन्तनमा पनि किन दर्शन दिँदैन ऊ ?
– ईश्वरसँग किन डर लाग्छ ?
– मन्दिरभित्र पसेर दिसापिसाब गर्ने आँट किन गर्न सक्दैन मान्छे ?
यस्ता अनगिन्ती प्रश्नहरूका पहाड छन् र ती दुर्भेद्य पहाडजस्तै लाग्छ मलाई ईश्वर पनि !
मेरा एकजना मित्र छन् । उनले एक दिन मलाई भने–साथी ! तपाईंको घरको छतको ठूलो मन्दिरभित्र पस्दा के तपाईं त्यहाँ ईश्वर पाउनु हुन्छ ? मनको आस्थालाई मूर्तीकरण नगरे हुँदैनथ्यो ?
मैले तत्काल उनको प्रश्नको उत्तर टार्न भनिदिएँ– होइन, मेरी आमा आस्तिक प्रकृतिकी हुनुहुन्छ र श्रीमती पनि आस्तिक प्रकृतिकी छे, त्यही भएर बनाएको !
भन्न त भनिदिएँ एक छिनलाई, तर मभित्र उनको प्रश्न आँधी बनेर नै रह्यो । उनी भन्दै थिए– ईश्वर त आस्थाको एउटा प्रतीक मात्र हो । कलाकारले कुँदेको एउटा शिवलिङ्ग अगाडि राख्नुहोस् । त्यो शिवलिङ्ग आखिर लिङ्ग नै त हो । तपाईं त्यसमा लिङ्गत्वको आभास र अश्लीलताको कल्पनासम्म गर्न सक्नु हुन्न र त्यहाँ तपाईंको आस्था पूर्ण सात्विक वृत्तिका रूपमा देखिन्छ ।
मलाई उनका कुराले रन्थन्यायो । म पनि शतप्रतिशत आस्तिक र शतप्रतिशत नास्तिक त कहाँ थिएँ र ? मलाई ईश्वरको अदृश्य अगोचर सत्ताप्रतिको अनौठो नादान आस्थाको अतीतको एउटा पूर्वस्मृतिले चिमोट्यो । एकपटकको एउटा घटना स्मृतिबिम्बमा ताजै छ अझै पनि ।
म एघार बार वर्षको थिएँ । घरबाट तेरचौध किलोमिटर टाढाको एउटा संस्कृत पाठशालामा पढ्थेँ म । त्यतिबेलाको मजस्तो बचरोका लागि चारघण्टाभन्दा बढी नै हिँड्नु पर्थ्यो । त्यसमध्ये डेढघण्टाभन्दा बढी त पूरै जङ्गलको बाटो छिचोल्नु पर्थ्यो ।
एक दिन घरबाट अबेला हिँडेछु । सानो फुच्चे मजस्ताले घडी बाँध्ने जमाना थिएन त्यो । जङ्गल सुरु भएपछि गोधूलीमा पुगेको सूर्य किन रोकिन्थ्यो र मेरा लागि ! रोकिएन । सूर्य अस्ताचलतिर लम्कँदै थियो र म लम्किँदै थिएँ घनघोर जङ्गलका बीचमा एक्लो बालक ! अहिले पनि मलाई सम्झना ताजै छ– मैले हजार पटक आफूलाई डरहरूबाट प्रतिरक्षा गरेको थिएँ ईश्वरको नामले । झ्याउँकिरीको झ्याउँझ्याउँसमेत छिप्पिन लाग्दा पार गरेको थिएँ जङ्गल र बसेको थिएँ बास !
त्यति बेला एउटा मिठो र आदर्श संस्कृति रहेको बेला थियो बास बस्नु । आजभोलिजस्तो ‘लज’ संस्कृतिले प्रवेश नपाएको बेला थियो त्यो । बास बस्नु र बास दिनु पनि एउटा गौरवजस्तै हुन्थ्यो त्यतिबेला । कुनै सानो हीनताको अंश पनि हुँदैनथ्यो र बास दिने र बास माग्नेले पनि सहजताको अनुभूति गर्थे । बास दिनेले भन्थ्यो– ‘साँझका पाहुना देउता हुन् ।’
हो, त्यस दिन म बास बसेको थिएँ देउताका रूपमा र त्यस घरका अधबैँसेजस्ता लाग्ने व्यक्तिले भनेको स्मृतिबिम्ब नोस्टाल्जिक बनेर आउँछ–‘बाबु आऊ बस । तिमी त हाम्रा लागि ईश्वर हौ ।’
त्यति बेला ‘तिमी हाम्रा लागि ईश्वर हौ’ भन्ने वाक्यको अर्थ बुझ्ने ह्याउ थिएन मसँग । म पनि स्वयम् एघार बार वर्षको बालक न थिएँ । त्यो बालक पनि आजको जस्तो उत्तरआधुनिक बालक कहाँ हो र ? आजभन्दा चालीस वर्ष अगाडिको सीधासादा, राजसी–तामसी कुनै गुण नभएको सत्वगुणी साँच्चै ईश्वरजस्तै ।
बास बसेको त्यस प्रसङ्गसँगै अहिले सम्झन्छु– हिजो र आजको संस्कृतिमा देखिएको कायापलट । हिजोआजजस्तो अनुदार संस्कृति थिएन त्यतिबेला । आज बास माग्न जाने हो भने सग्लो फर्कन मुस्किल छ र बास दिने हो भने पनि सग्लो रहन मुस्किल छ ।
म ईश्वको अस्तित्व–अनस्त्विबारे आत्मालापीय विमर्शमा थिएँ र ईश्वरले डोर्‍याएछ– आफ्नै अतीततिर !
मैले आडम्बरी आस्तिकभन्दा आडम्बर नभएको नास्तिकलाई बढी आस्तिक देख्न थालेको छु । अमूर्त तर मूर्त, अगोचर तर गोचर, अदृश्य तर सर्वशक्तिमान् ! कस्तो अनौठो छ ईश्वर ! म ईश्वरलाई गहिरो रूपमा सोच्न पुग्छु । यस ब्रह्माण्डमा दार्शनिकहरूको टाउको खाएको छ ईश्वरले, तर ईश्वरलाई मैले देखेँ, मैले साक्षात्कार गरेँ, मैले भेटेँ, ईश्वरको रूपाकृति यस्तो रहेछ भनेर कोही आएको छैन अहिलेसम्म तर पनि ईश्वरको डर छ मान्छेलाई ।
म यतिबेला नित्सेका अगाडि छु । ऊ भन्छ– ईश्वर मरिसक्यो अर्थात् द डेथ अफ द गड । नित्से साँचो बोल्दै छ कि झुठो, मलाई थाहा छैन तर स्वयम् नित्से पनि ईश्वरको मृत्युमा मलामी गएको मैले थाहा पाएको छैन ।
वेद, त्रिपिटक, कुरान र बाइबलहरूको पनि एउटै स्वर भेटेँ– ईश्वरको अगम्यता र अगोचरता । हाम्रो पूर्वीय दर्शनकै ‘नेतिनेति’ सँग जोडिन आउँदा रहेछन् ती पनि ।
मभित्र एउटा कल्पना आउँछ– म आफू विपश्यनाको ध्यानमुद्रामा बसेको । बाहिर निर्विकार ध्यानमग्न त्यहाँ बसेका मानिसहरूसँग र मैभित्र पनि कति विकारहरू रहेछन् भन्ने कुरा थाहा पाउँछु ध्यान शिविरमा बस्दा । अरू सोच्ने फुर्सद नहुने त्यतिबेला अनेकौँ विकारका पहाडहरू खनिँदा रहेछन्, त्यस क्षणमा र विकार मात्र सोच्दोरहेछ खोली दिमागले । सुनेथेँ कतै– ‘खाली दिमाग सैतानका घर ।’ मस्तिष्कमा सैतानलाई बास दिन कसलाई मन लाग्छ र !
म निर्विकार हुन रुचाउँछु र ईश्वरको अनस्तित्वभित्र अस्तित्वका लागि मान्छेहरूको ताँती देख्छु । ईश्वरका अनेकौँ आस्तित्विक विम्बहरू आउँछन् मेरा अगाडि ।
मलाई कसैले सबैभन्दा बढी प्रेम, माया, स्नेह आदि कोबाट पाइस् भनेर सोध्यो भने ‘ईश्वरबाट’ भन्ने साहस बोकेर हिँड्न मन लागिरहेछ, यतिखेर । ईश्वर र धर्मका कुरा गर्दै जाँदा एक दिन एकजना साथीले ठट्टैठट्टामा भने – ‘ए यार ! तिमी मद्यमांसका पारखी; कुनै आस्तिकी धर्मकर्म पनि पालना गर्दैनौ, अनि कसरी तिमी आस्तिक ? त्यतिबेला मैले यत्ति मात्र भनेँ – सतहीमा पौडी खेलेर आनन्द लिन सकिँदैन; त्यसका लागि गहिराइमा पुग्नुपर्छ ।
ईश्वर एउटा मिठो अनुभूति हो । प्रेम, स्नेह र करुणाको अजस्र स्रोत पनि ! ईश्वरको प्रेममा म निस्वार्थताको सुगन्ध पाउँछु । आमाबाबु, लोग्नेस्वास्नी, छोराछोरी, दाजुभाइ आदि सबैसबैको प्रेमको अन्तस्तलमा लुकेको हुन्छ– कुनै दृश्यअदृश्य स्वार्थ तर ईश्वरमा न नदेखिने स्वार्थ, न देखिने परार्थ; त्यसैले ईश्वरको प्रेममा अमूर्त र घनीभूत निस्वार्थता । एउटा बेग्लै विश्वासको दियो बल्छ यहाँनेर । आस्थाको फूल उम्रन्छ यहीँनेर ।
मन कल्पनालोकमा विचरण गर्छ कहिलेकाहीँ र आकशपाताल चहार्छ । एकछिन भौतिक संसारबाट निरपेक्ष हुन्छ मन । झल्याँस्स हुन्छ मन, सपना देखेर ब्युँझेजस्तो । मानौँ ईश्वरको प्रार्थनामा लीन थियो मन ।
ईश्वर त साथी बनेर हिँडिरहेको रहेछ आफैँसित । आत्मीय अनुभूतिमा पाइँदोरहेछ ईश्वर । प्रेमको आत्मीय गहिराइजस्तो रहेछ ईश्वर । त्यही भएर साँचो प्रेमलाई ईश्वरसँग तुलना गरेका होलान् प्रेमका पारखीहरूले । मलाई लाग्छ– ईश्वर त एउटा मीठो अनुभूति रहेछ । मलाई ईश्वरको मूर्तताभन्दा अमूर्तता मीठो लाग्छ । दुःखमा, सुखमा, वेदनामा, चिन्तामा, चिन्तनमा र सबैसबै संवेदित क्षणहरूमा पुकारिने अमूर्त नाम रहेछ ईश्वर । पूरै ऐकान्तिक क्षणहरूको अन्तरङ्ग साथी र आत्मीय मित्र रहेछ ईश्वर ।
ईश्वरको सम्झनामा आफूलाई एकैछिन हराउन सके मन विरेचित हुँदोरहेछ, मन हल्का हुँदोरहेछ । विरेचित भएको मन केही हल्का त भयो तर मस्तिष्कमा रिँगिरहेको थियो, अमूर्त ईश्वरबिम्ब ।
– ईश्वर भन्नेबित्तिकै आउने मानसबिम्ब एउटा पूर्ण सात्विक वृत्ति ।
– सत्व, रज र तम त्रिगुणमध्ये सत्वगुणको मात्र विद्यमानता
देवकोटाको उही दृष्टिकोण अगाडि आउँछ – आफैँभित्र छ ईश्वर ! कहिलेकाहीँ विरोधाभास देख्छु म । मान्छेभित्र ईश्वर भए किन मान्छेले आसुरीवृत्ति र पाशविक वृत्ति प्रदर्शन गरेर नीचता देखाउँछ ?
आफैँभित्रको कल्पना बोल्छ । आफैँभित्रको अनुभूतिले भन्छ– निर्विकार बालकमा देखिँदोरहेछ ईश्वर । भर्खरका शिशुको मुस्कानमा हाँस्दोरहेछ ईश्वर ! उसका निर्दोष आँखाहरूमा देखिँदोरहेछ ईश्वर । शिशुका तोतेबोलीमा गुनगुनाउँदो रहेछ ईश्वरीय गीत । शिशुका हाउभाउ र दिव्य चमत्कारहरूमा देखिँदा रहेछन् ईश्वरीय चमत्कारहरू ! मीठो लाग्छ ईश्वरले छोएको शिशुको मृदुता । रमाइलो लाग्छ– ईश्वरको स्पर्श पाएको निष्कपट बालहृदयको गहिराइ ।
लोकजीवनमा उखानजस्तै बनिसकेको एउटा भनाइ आउँछ मनमा– बालकको मुखमा ईश्वर बसेको हुन्छ, त्यसैले बालकले भनेको पुग्छ ।
कैयौँ वर्षको अनुभवले खारिएको अनुभूति बोलेको हुनुपर्छ यो ।
सत्र अठार वर्ष अगाडि कतै पढेको सम्झना छ – कुनचाहिँ हो देशमा अदालतमा साक्षी राख्न सकेसम्म बालबालिका खोजिन्छ रे ! कति गहिरो कुरा ! विकाररहितता नै ईश्वर हो भन्ने प्रमाण ! निष्कपटता र निष्कलङ्कता नै ईश्वर हो भन्ने एउटा दसी !
षड्यन्त्रका जाल बुन्दैनन् शिशुहरू । कुनै रागद्वेष र छलकपटका पर्खाल लगाउँदैनन् शिशुहरू ! सङ्लो मन, पवित्र हृदय, कल्मष नभएको मस्तिष्क । एउटा सिङ्गो ब्रह्माण्डका यावत् सद्वृत्ति देखिन्छन् बालकमा । सत्यताको अनुपम विम्ब बालक ! अनि कहाँ जानु अर्को ईश्वर खोज्न ?

म ईश्वर हुन सक्दिनँ, अर्थात् शिशु हुन सक्दिनँ । समयले नेटो कटाएर शिशुत्वबाट पर हुत्याएको मलाई आफ्नो शिशुत्व लाग्छ एउटा नोस्टाल्जिया मात्र । शिशुत्वको बिदाइसँगै गुमाइँदोरहेछ आफूभित्रको ईश्वरत्व अर्थात् देवत्व पनि । शिशुत्वका लक्षणहरू विस्थापित हुँदैहुँदै गएर किशोरत्वमा प्रवेश गरेपछि धूमिलधूमिल देखिन थाल्दोरहेछ आकाश । इन्द्रियहरूमा उम्रन थाल्दारहेछन् स्वार्थका बिउ । ईर्ष्या, शत्रुता र अहंका नग्न प्रदूषणहरूले पूरै प्रदूषित बनाउँदा रहेछन् मनलाई । दृष्टिदोष र दोषदृष्टि आफ्नै अगाडि नाच्न थाल्दारहेछन् निर्धक्क । यौवनको सङ्घारमै टेक्न आइपुग्दो रहेछ दानवीवृत्ति । विलोप हुँदोरहेछ देवत्व । प्रौढत्वमा पुग्दा त हाँगा हाल्दोरहेछ, विस्तार हुँदो रहेछ, फैलिँदोरहेछ र झ्याङ्गिँदोरहेछ आसुरीवृत्ति । शिशुत्वसँगै बिलाएको देवत्व/ईश्वरत्व अब त शिशुलाई बेवारिस छाडेर पोइल गएकी आमाजस्तै हुँदोरहेछ ।

म ब्युँझिएँ झल्याँस्स । पलाउन थाले कल्पनाका हाँगाहरू । म बालक हुन सकिनँ अर्थात् ईश्वर हुन सकिनँ ।

एउटा यथार्थ – त्यसपछि आसुरी वृत्तिका पिङहरूमा मच्चिइँदोरहेछ मजाले । आहा ! त्यो चचहुई ! कति प्रिय लागिरहँदोरहेछ नब्युँझँदासम्म ।
अर्को यथार्थ – पूर्वले हामीलाई सतर्क गराएका काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य सबैसबै जागृत हुँदारहेछन् ।
अझ अर्को यथार्थ – यौवनले सिकाइरहँदोरहेछ, यौवनले भनाइरहँदोरहेछ – उन्मादको सारेगम, अहङ्कारको पधनिसा, लोभको सुरताल, क्रोधको सङ्गीत र भ्रमका बाँसुरीहरूको विपर्यास ध्वनि अर्थात् प्याराडक्स धून !
मदमत्त भइँदोरहेछ नशा लाग्दोरहेछ मस्त र अरूलाई मान्छे देख्ने र गन्ने स्थितिमा भइँदोरहेनछ । दशओटै इन्द्रिय र तिनको नियन्ता मन पनि सक्रियताको तीव्र घोडादौडमा हुँदा रहेछन् यतिबेला । आहा ! यो जत्तिको चरम आनन्द के नै होला र ?

मभित्रको छैठौँ इन्द्रियले यौवन र प्रौढत्वका उन्मादहरूलाई पछ्याइरह्यो, पढिरह्यो, पढिरह्यो । अहिले मेरो छैठौँ इन्द्रिय यौवन र प्रौढत्वका उन्मादहरूको पाठ पढिरहेछ, शून्य र ऐकान्तिक स्थितिमा छ ऊ ।

अलिकति नेटो काट्न लागेछ सूर्यले । पश्चिमतिर अलिकति रक्तिम हुनथालेछ जिन्दगीको आकाश । प्रचण्ड ताप सेलाएछ सूर्यको । वाष्पीकरण भएर जानथालेछ ऊष्णता । इन्द्रियहरू शिथिलताको फेटा गुथेर बाँचिरहेछन् रङ्गहीन र गन्धहीन अस्तित्व । टेलिभिजनका पर्दातिर धूमिल आँखाहरू तानिँदा रहेछन् । यस्तै दिनहरूमा चियाउँदो रहेछ, वृद्धत्वको एउटा लाइसेन्स । धमिला दृश्यहरूभित्र कष्टको अनुभूति गर्दा रहेछन् आँखाहरूले । आदि शङ्कराचार्य प्रत्येक दिनबिहानै आएर भट्याउँछन् – अङ्गम् गलितम् पलितम् मुण्डम् । शरीर गलित भएको र कपाल फुल्न थालेको सूचना दिने शङ्कराचार्यभित्रको देवत्व उनको एकतीस वर्षको जवानीमा पनि बसाइँ सरेको थिएन । एकतीस वर्षको जवानीमै देवत्वका साथ परमधाम भएका थिए उनी ।

अचेतनमै झल्याँस्स हुन्छु म । आगतको यस सम्झनाले पनि ल्याइदिँदो रहेछ सानो सुनामी । कति कमजोर हुँदो रहेछ मन ।
वृद्धत्वको सम्झनामा पनि एउटा अरुचिकर सत्य । यही सत्यभित्र लुकेर बस्दोरहेछ ईश्वर ! नदीले जतिजति धेरैधेरै पानी बगाउँछ, त्यतित्यति पानीसँगै बग्दा रहेछन् कल्मषहरू र मान्छे हुँदो रहेछ विकाररहित । विकाररहित भएपछि आशीर्वादका लागि उठाइँदा रहेछन् वरद हातहरू । त्यसैले त आशीर्वचन दिने देवत्वको श्रेणीमा पुगेका हुँदा रहेछन् सहस्र पूर्णचन्द्र दर्शन गरेर युग भोगेकाहरू । उनीहरूमा नै हुँदोरहेछ ईश्वरको बास ।

म देख्छु, विकारहरू पखालेर पवित्र हृदय बाँचेका वृद्धवृद्धाहरू ! यौवन र प्रौढावस्थाका विकारहरू सेलाएर मनको नदीमा, ती त हुँदारहेछन् शुद्धबुद्ध । तिनै वृद्धवृद्धाका चाउरएिका गालामा फुल्दोरहेछ ईश्वरको गुलाफ । तिनका धूमिल आँखाहरूले देख्दारहेछन् ईश्वरीय रूप । तिनका धमिला कानहरूले सुन्द रहेछन् ईश्वरीय सङ्गीत । तिनका थोतेबोलीमा बोल्दो रहेछ ईश्वरीय वाणी । तिनका कलेटी परेका ओठहरूमा हाँस्दो रहेछ ईश्वरको हाँसो । तिनका लगलग कामेका हातखुट्टाहरूमा हुँदो रहेछ ईश्वरीय साक्षात्कार । तिनका गहिरा र लामा अनुभूतिहरूमा अनुभूत हुँदोरहेछ ईश्वरीय संवेदना ।
वृद्धवृद्धाका अन्तष्करणमा ईश्वरीय उपस्थिति पाउन अन्य प्रमाणहरू खोजिरहनु पर्दैन रहेछ । तिनीहरूका अन्तष्करणमा, अन्तश्चेतनामा, ढुकढुकीमा, दृष्टिमा, बोलीमा, हाँसोमा, आँसुमा, वेदनामा, पीडामा, भोगाइमा, अनुभूतिमा आफू बनेर प्रवेश गरे पुग्दोरहेछ । त्यहाँ आफूलाई खोजे र आफूलाई पाए पुग्दो रहेछ; बस्, ईश्वरप्राप्ति !

अबोध शिशुका मुस्कानमा उदाएको ईश्वर उन्मादी यौवन र अहङ्कारी प्रौढत्वमा प्रायः कता बास बस्छ थाहा पाउँदिनँ म । पुनः वृद्धवृद्धाका कलेटी परेका ओठ र उदास अनुहारहरूमा गुलाफ भएर खुल्दो रहेछ ईश्वर; गुराँस भएर मुस्कुराउँदो रहेछ ईश्वर ।
निमिलित लोचन बुद्धबिम्ब आउँछ अगाडि ध्यानमुद्रामा । हातहरू आफैँ जोडिन्छन् प्रार्थना मुद्रामा । मनले पढ्छन् वेदका ऋचाहरू । ऋचाहरूका मन्दनिनादमा ओठहरू चलेझैँ लाग्छ आफैँलाई सुस्तसुस्तः
‘हे ईश्वर ! आजसम्म कसैले नदिएको निस्वार्थ प्रेम, स्नेह, प्रेरणा र विश्वास पाएँ तिमीबाटै । पवित्र सम्बन्धको मीठो अनुभूति दिलायौ तिमीले नै । मेरा प्रत्येक असफलतामा आत्मबल बनेर उभियौ तिमी नै । यति कुरा जान्दाजान्दै पनि हे ईश्वर ! तिमीप्रति बाह्य आडम्बरका रङ्गीचङ्गी आवरण भिर्न सकिनँ मैले । हृदयमा विद्यमान छ तिमीप्रतिको अदृश्य आस्था र श्रद्धा । जब म भीडहरूका बीचमा पनि एक्लो हुन्छु, अनि आउँछु तिम्रै शरणमा र तिम्रा अगाडि कमजोर हुन्छु । तिम्रा अगाडि घुँडा टेक्छु, प्रार्थना गर्छु अनि पोखिन्छु तिमीसितै । हे ईश्वर ! मनभित्रका सारा पीडा र वेदना बिसाउन मन लागिरहेछ तिमीसँग । सारा जगत्का नियन्ता तिमीबाहेक कहाँ बिसाऊँ यो मन ? कहाँ पोखूँ यो हृदय ? यो विकराल संसारमा कहाँ छ हृदय खोलेर हाँस्ने ठाउँ ? कहाँ छ रित्तिएर रुने ठाउँ ? तिमी मेरो आस्थाबिम्ब ! सायद जो कोही पनि आफ्नो आत्मीय र आस्थाविम्बका अगाडि कमजोर बन्छन् र रोइदिन्छन् । यस्ता क्षणहरूमा हे ईश्वर ! तिम्रै सामीप्यमा रोइदिएँ, पखालेँ मनलाई पनि तिम्रै अगाडि । कति एक्लै रोइरहूँ ईश्वर ? !
कहिलेकाहीँ त मेरा मनमन्दिरमा आस्था बनेर बसेका तिमीसँगै रुन मन लाग्दोरहेछ ।
त्यसैले, तिम्रा अगाडि रोइदिएँ ईश्वर म पनि ! जसरी बाबुआमाका अगाडि सन्ततिहरू रोएर पोखिन्छन् र आफूलाई पखाल्छन् ।
हे ईश्वर ! म पनि तिम्रा अगाडि पोखिएँ भने, तिम्रा सामू मैले आफूलाई पखालेँ भने कहिल्यै पनि तिमीले मेरा शिरबाट वरदानको हात नझिक्नू ! तिमीमा समर्पित छ यो प्रार्थना ।

मेरो यो प्रार्थना ईश्वरले सुन्यो वा सुनेन । यस प्रार्थनाबाट ईश्वर खुसी भयो वा भएन; त्यो पनि थाहा छैन मलाई ! तर मन विरेचित भएर हल्का बनेको छु म ।
ईश्वर छ छैनको बहसको कठघरमा उभिएर जति बहस गरे पनि ईश्वर एउटा विम्ब हो, अमूर्तविम्ब ।
प्रिय पाठक ! ईश्वरीय अस्तित्वको बहसको बाँकी मुद्दा तपाईंहरूका अगाडि, बाँकी फैसला तपाईंहरूबाट !