हिजोआज भरमार सभा-समिति भइरहेको देखेर मान्छेका बाह्र अङ्गहरूले पनि एउटा सभा आयोजना गर्ने निर्णय गरेछन् । यसो केही गर्नु पऱ्यो सभा, बाहुनलाई दान, पुरोहितलाई मान दिनुपऱ्यो सभा, कसैलाई ज्ञान दिनुपर्ने खण्डमा पनि हिजोआज पहिला सभा बस्छ अनि मात्रै ज्ञान बाँड्ने कार्य हुन्छ । कही थान बनाउनुपऱ्यो भने पनि सभा बस्छ, कमिटी बन्छ अनि कामचाहिँ दुई-चार वर्षपछि हुन्छ । आखिर प्रजातान्त्रिक देश हो सभा समिति नबसे, जनताको मत नलिए सफलता कहाँ पाइन्छ र? के गर्नु संसारै यस्तै छ संस्कारै यस्तै छ । अरूले भनेझैँ – “यी साउन लाग्यो कि चाडपर्व सुरु भए नेपालीहरूका ।

नीलिमा आचार्य (असम)

बाह्र महिनामा तेह्र ओटा चाड मनाउने गर्छन् नेपालीहरू । तिथि-श्राद्ध त छँदै छन् हिजोआज हाम्रो समाजमा अर्को एउटा नयाँ चाड भित्रिएको छ । यो चाड भित्र्याउने व्यक्ति को हुन् त्योचाहिँ यहाँ किटेर भन्न मिलेन । जे होस् यस चाडको महिमा हाम्रो समजमा धेरै भएको देखिन्छ । त्यो विशेष दिनमा यसो चार जना भेलाभयो मैनबत्ती फू-फू गऱ्यो ताली ठोकेर अङ्ग्रेजीमा मन्त्र फुक्यो भइहाल्यो । चाडपर्वदेखि शिर उचाल्न नपाई अनि बिस्तारै सभा समितितिर लाग्छन् मान्छे । सभा समिति नभई केही कर्म अघि बढ्दैन । कसरी बढ्नु ? गणतन्त्रमा सभा नभई भात छड्किँदैन, जिब्रो पड्किँदैन, कम्मर मर्किँदैन, कान्छीको चुल्ठो समेत लर्किँदैन सभा समितिविना । मान्छेले बग्रेल्ती सभा गरेको देखेर उनीहरूका शरीरका अङ्गहरूले पनि सभा आयोजना गरेछन् । अर्काको सिको सिक्न त मान्छे मात्रै कहाँ हो र ? मान्छेका अङ्ग पनि सिपालु भएका छन् हिजोआज । सोचाइअनुसार काम । निमन्त्रण पत्र छापिए । अति हर्षका साथ हजुरहरूलाई अवगत गराछौँ कि आगामी २५/१०/०२१ को दिन हामीले सभा एउटाको आयोजना गकेका छौँ, त्यसैले हजुरहरूको उपस्थितिको हार्दिक कामना गरियो अस्तु पञ्चनेन्द्रिय टाउकेश्वरको (टाउको) सभापतित्वमा सभा आरम्भ हुन्छ । सभाको उद्देश्य व्याख्या गर्छ नाकेश्वरले (नाक) ।

आदरणीय सभापति महोदय, सभामा उपस्तित सबै अङ्गगण, आजको सभाको मुख्य उदेश्य रहेको छ नयनमणिले अस्ति भर्खरै दिएको अर्जिमाथि छलफल तथा हामी इन्द्रियहरूमा आएको अस्तित्व सङ्कटको कुरा केन्द्रिय समितिलाई अवगत गराउने । नयनमणिको अर्जि पढेपछि टाउकेश्वर छक्क पर्छन् । ब्रह्माको सृष्टि मान्छे, अनि मान्छेको सबभन्दा सुन्दर अङ्ग हो नयन । नयन साक्षी हुन्, नयन दूत हुन्, नयन प्रेमका प्रतीक पनि हुन् । प्रेम गर्नेहरू पनि एकअर्काको नयनरूपी नदीमा पौडिएको देखिन्छन् । उनीहरू न नाक हेरेर टोल्लिन्छन् न त कान, बस् नयनमै नौका खियाउन खप्पिस छन् यी प्रेम पन्थीहरू । यस्ता सुन्दर अङ्ग नयनले किन पदत्यागको अर्जी दिए त्यसको कारण सोधपुछ गर्छन् सभापति । नयनहरू अति विनम्रताका साथ भन्छन्, “हेर्नुस् सभापति महोदय, हामी दुई नयन थाकिसक्यौँ । जति राम्रो हेर्न खोज्यो मान्छेले हामीलाई नराम्रोतिर लैजान्छन् । उनीहरू केही काम बिगार्छन् अनि सोझै हामीलाई दोष लाग्छ, आँखा फुटेका थिए ।” उनीहरूको कामक्रोध, हर्षविषाद आदि हरेक मुद्रामा आँखालाई नै तोकिन्छ । आँखा तर्नु, आँखा उघार्नु, आँखा फुकाल्नु, आँखा मिच्नु, आँखा झिम्काउनु आदि । कोही कसैसँग रिसायो आँखालाई नै बिचमा ल्याउँछन् “लाखेस, आँखा फुटाउछु” भनेर चस्च बिझाउँछन् हामीलाई । कोही कोही त रिसले टोड्का पनि भन्छन् । त्यसैले हामीलाई धेरै दुख लागेको छ र हामीले इन्द्रियको नाम र पदबाट रिजाइन दिन चाहेका । चाहिँदैन हामीलाई नाम र पद । विना पदमै काम गर्ने हो । राम्रो हेर्ने हो , राम्रो हेराउने हो । पद लिएपछि आफ्नो खटनमा चल्न कहाँ पाइन्छ । टाउको बेचेकाहरूको खटनमा चल्नुपर्छ । त्यसैले अब हामी स्वतन्त्र बस्ने हो । हजुर हाम्रो अर्जी स्वीकार गर्नुहोस् । धन्यवाद ।

आँखाका कुरा सुनेपछि दाहिने कानले आफ्नो तर्क तान्छ, ऊ पनि आफ्नो दुखेसो पोख्छ । हामी पनि थाक्यौँ हजुर, हाम्रो त झन् पहिचान नै हराइसक्यो । प्वाल पर्दापर्दै कानै चाल्नोजस्तो भएको छ । हाम्रो जिउभरि मुन्द्रैमुन्द्रा छन् । खोजेर पनि भेट्नु हुन्न हामीलाई । सङ्कटमा छौँ हामी त, घोर सङ्कट परेको छ । धेरै लामो छैन हाम्रो आयु हजुर । त्यसैले हामी दुवैले तीर्थयात्रा गर्न जानुपऱ्यो भनेर सोचेका छौँ । मर्नेअघि कतै केही पुण्य कमाइन्छ कि भनेर । कानको दुखेसो सुनेपछि सभापति केहीक्षण मौन भए ।

एकछिनपछि मौनता भङ्ग गरेर लामो सास फेर्दै भन्छन् , हजुरहरू दुवैका कुरा सुनेपछि मेरो टाउको नै खलबलियो, धुवाँ-धुवाँ देखेँ चारैतिर । पानी दुई घुट्की पिएपछि बल्ल होस् आयो । तपाईँ दुवैका कुरा मैले ध्यानपूर्वक सुनेँ । समस्या जटिल छ । म निश्चय नै केही गर्नेछु, नआत्तिनुहोस् तर दुई-चार दिन समय लाग्छ । मैले आफ्नो टाउको बन्धक दिएको छु, त्यो फिर्ता ल्याएपछि मात्रै काम आरम्भ हुन्छ । अहिले म अर्काको टाउको लिएर हिँडिरहेको छु । रहल कार्य आउँदो सभामा आलोचना गरौँला । चाँडै सभा एउटा आह्वान गर्नुपर्छ । आजलाई धन्यवाद ।