आदरणीय अश्विन कोइरालाज्यू,

सादर प्रणाम ।

साहित्य एवं भाषाको अनुरागले विभिन्न स्थानमा कोसो टाढा बस्नेहरूमा पनि सुमधुर सम्बन्ध स्थापित गर्दो रहेछ । भौतिक रूपमा केहिले नभेटेको न देखेको मान्छेसँग पनि यसले अपरिचितबाट परिचित बनाइदिँदो रहेछ । सायद यही साहित्यको सामर्थ्य हो होला! एकै भाषीलाई एउटै हारमा सिउने कार्य साहित्य एवं सर्जकले गर्दछ । यही बोध मलाई साहित्यपोस्टमा जोडिएर भएको छ । म नेपालमा जन्मिएको नेपाली त हैन । म भारतमा जन्मिएको नेपालीभाषी भारतीय हुँ । पुर्ख्यौलीको रगतको नाता नेपाल हुनाले पनि हामी नेपाली भाषीलाई भावनात्मक रूपले नेपालसँग मायाँ बसाउँछ। मातृभाषा नेपाली भएकाले नेपाली भएको बोध लाग्छ । विदेशको कुनै पनि कुनामा बसे पनि भाषाले आफ्नो पहिचान दिलाउँछ । आफ्नो पहिचान नै आफू भएको प्रमाण हुनु हो । मातृभाषाको कुनै पनि जाति एवं समुदायलाई पहिचानको मापदण्डमा भिन्न स्थान दिन सक्षम हुन्छ । मातृभाषाको संवर्द्धन एवं विकासका लागि भाषीप्रेमी एवं सङ्घसंस्थाहरू निरन्तर रूपमा प्रयासरत हुँदै आएका छन् । यसमा साहित्यिक कार्यले भाषालाई विकासशील पार्दछ ।

हर्कबहादुर लामगादे ‘रोहित’ (मणिपुर)

नेपाली भाषीको सन्दर्भमा दृष्टि हाल्दा, नेपाली भाषीहरू नेपाल देशमा मात्र नभएर विश्वको कुना-कुनामा जागिर एवं व्यवसायको नाताले बसेका छन् । उहाँ बसेर पनि नेपाली भाषा एवं संस्कृतिको पालना गरिराखेका हुन्छन् । साहित्यको सृजना गर्दछन् । यो अत्यन्त खुसी एवं गौरवको कुरा हो ।

अङ्ग्रेजी भाषा विश्वको अग्रणी भाषा हो । विश्वमा धेरै बोलिने, लेखिने, पढिने भाषा यही हो । अङ्ग्रेजी भाषामा पढ्नु, लेख्नु वा बोल्नुमा सबैले गर्व महसुस गर्दछन् । यो कटुसत्य हो । सबैले स्वीकार गरे हुन्छ। नेपाली जाति प्रायः पहाडी क्षेत्रमा बसोबास गर्दछन् । आफ्नो क्षेत्रमा व्यवसाय अनि जागिरको अभावले गर्दा विदेश जान बाध्य हुन्छन् । यो क्रम वर्तमान समयमा पनि चलिरहेको छ । ठूलो सङ्ख्यामा भारतमा नेपालीहरू कामका लागि आउँदछन् । झन्डै दुई करोड नेपाली भाषी त भारतमा मूल नागरिक नै छन् । असम, सिक्किम, दार्जीलिङ, मणिपुर, उत्तराखण्ड र अन्य राज्यहरूमा नेपाली भाषा बोल्ने प्रशस्तै मात्रमा छन् । नेपाल लगायत यी क्षेत्रका नेपाली भाषीहरू जब भारतका विभिन्न सहरमा जागिरका लागि प्रस्थान गर्दछन् तब नेपाली भाषीको स्थिति कस्तो हुन्छ? यसमा म मेरो व्यक्तिगत अनुभव साझा गर्न चाहन्छु ।

म दिल्ली पसेको पन्ध्र वर्ष हुन लाग्यो । हिन्दी भाषीसँग बोल्न लागेको यति नै समय हुँदै छ । साथै नेपाली भाषा कम बोलेको पनि तर नेपाली बोल्न बिर्सिएको छैन । प्राय सबैले प्रदेशमा बसे पनि एकचोटि बोलेको मातृभाषा बिर्सिन सक्दैनन् । स्थानीय भाषाको लय या शब्दको प्रयोग हुनु स्वाभाविक हो तर के उनीहरूका आउने पिँढी/बच्चाहरूले पनि नेपाली बोल्लान्? यसमा चै शङ्का उत्पन्न हुन्छ ।

दिल्ली पस्नुअघि मेरो पनि यही धारणा थियो- सहर पसेपछि मातृभाषा बिर्सिइन्छ अनि नानीहरूले त केही जान्दैनन् । म दिल्ली आउनुअघि नै मेरी भान्जी दिदी दिल्लीमा हुनुहुन्थ्यो । भान्जाभान्जी यहीँ हुर्के । जब चाडबाडमा गाउँ जान्थे, नेपाली बोल्नु त परै जाओस् बुझ्न पनि गाह्रो हुन्थ्यो उनीहरूलाई । हामी पनि हिन्दी बोल्थ्यौँ उनीहरूसँग । रमाइलो लाग्थ्यो । यस्तो मेरो दिदीको परिवारमा मात्र होइन सहर जाने प्रायः परिवारको यही हाल हुन्थ्यो । खासगरी फौजी परिवारको । नानीहरूलाई गाउँ लिएर आउँदा पनि आपसमा हिन्दी बोल्ने गर्छन् । यो सब देखेर मलाई पनि लाग्यो सहर पसेपछि नेपाली भाषा चैँ सबैले भुल्दा रहेछन्।

म दिल्ली आउने भएँ । केहिलेकाहीँ सोचाइ आउँथ्यो मेरो पनि विवाह उपरान्त दिल्ली नै बसेँ भने मेरा सन्तानले पनि नेपाली बोल्न जान्दैनन् होला !

म दिल्ली आएँ । हिन्दीभाषीको मध्य बसेँ । दिनरात हिन्दी बोलेँ । फोनमा घरतिर कुरा हुँदा मात्र नेपाली बोल्ने गर्थेँ । पहिले गाउँमा हुँदा मैले विचार गरेको थिएँ मान्छे सहरबाट छुट्टी घर आएर नेपाली बोल्दा जानी-जानी हिन्दीका शब्द प्रयोग गर्थेँ । गाउँमा हिन्दी अनि अङ्ग्रेजी बढी जान्दा शिक्षित या फर्वड मान्थे । अहिले पनि मान्छन् तर मैले भुलेर पनि सहर आएपछि यो ढोँग गरिनँ । दिल्लीमा हुँदा बेलामौका दिदीकोमा जान्थेँ । दिदीको घरमा सबै हिन्दी बोल्दा रहेछन् । अहिले पनि बोल्छन् प्रायः । मैले भान्जाभान्जीसँग कहिले हिन्दी बोलिनँ । उनीहरूले हिन्दीमा बोल्दा म जबाफ नेपालीमै दिन्थेँ। दिदीहरूको नेपाली साथी, छिमेकीहरूको भेट हुँदा हिन्दी नै बोल्दा रहेछन् । नेपालाबाट आएका नेपालीहरू दिल्लीमा धेरै छन् । सबैको यही हाल छ । दुःख पनि लाग्यो मातृभाषाको अनादर गरेको देखेर । कतिले दिल्ली बस्नका लागि थरसम्म फेरेको छन् । मेरी दिदीले त फेर्नुभएको छ । कुनै-कुनै घरमा पतिपत्नी नेपाली बोल्ने तर बजार जाँदा हिन्दी । कारण, सरम लाग्छ किनकि सबैले थाहा पाउँछन् कि यो नेपाली हो । नेपालीले इमानदारी अनि बहादुरीको सम्मान पाउनुबाहेक किचनमा र गार्डको काम गर्ने उपाधि पाएका छन् । त्यही सानो काम गर्ने नेपाली मलाई पनि सोच्छन् भन्ने सोचबाट बाच्न हिन्दी बोल्ने गर्दछन् । यो ढोँगले नेपाली भाषाको अनादर चैँ पक्कै भएको छ ।

मेरो विवाह भयो । परिवारसँग यहीँ दिल्ली बस्न लागेँ । पहिलो नानी छोरा भयो । पिर थियो यसले हिन्दी मात्र बोल्छ होला भनी । मलाई यो हुन दिने मन थिएन । मैले घरबाहिर हिन्दी बोले पनि घरभित्र हिन्दीलाई कहिले पस्न दिइनँ । परिवारसँग बजार जाँदा, घुम्न जाँदा नेपाली मै बोलेँ । नानीसँग नेपालीमै बोलेँ, नेपालीमै खोलेँ । जति नानी ठूलो हुँदै गयो नेपाली राम्रो बोल्न लाग्यो । अहिले हाम्रो भन्दा राम्रो नेपाली बोल्छ । हिन्दी त बाहिर खेल्न जाँदा सिकिहाल्यो । अङ्ग्रेजी त स्कुलले सिकाइहाल्छ । नानीले पनि घरभित्र हिन्दी कहिले पसाएन । श्रीमती नेपालकी हुनाले पनि अझ शुद्ध नेपाली वातावरण हुन सहयोग पुग्यो ।

एक दिन श्रीमतीबाट एकास्सि हिन्दी शब्द ‘खीरा’ (नेपालीमा काक्रो) भनेर निस्कियो । त्यो दिनदेखि मैले उनीलाई दिल्लीवाली, हिन्दीवाली भनेर धेरै मैनासम्म जिस्काएँ । अहिले गल्तीले पनि हिन्दी शब्द निकाल्दिनन् । बजार जाँदा मम बेच्ने प्रायः नेपाली हुन्छन् । नेपालीको अनुहारको बनावट भिन्नै हुन्छ । देखिसक्दा चिनिहालिन्छ । कुनै-कुनै चैँ भारतीयजस्ता पनि हुन्छन् । मम बेच्नसँग केहिल्यै हिन्दीमा बोल्दिनँ । नेपालीमै सुरु गर्छु बोल्न । मैले नेपाली बोल्दा पनि धेरै नेपालीहरू जवाफ हिन्दीमै दिन्छन् तब मनमा चस्स लाग्छ ।

म कहिलेकाहीँ मेरो छोरालाई घरमा हिन्दी बोल्न लगाउँछु उसको प्रतिक्रिया बुझ्न । ऊ हामीसँग हिन्दी बोल्न सर्माउँछ । तब चित्त प्रसन्न हुन्छ । मातृभाषा, नेपालीकै कुरा गरौँ- नेपाली भाषाको विकास अनि संवर्द्धन ठूला-ठूला पुस्तक, अखबार, स्कुलमा पाठ्यक्रम, सङ्घसंस्थाहरूबाट अनेकौँ कार्यक्रमले मात्र हुँदैन । दैनिक वार्तालापमा नेपाली भाषालाई सम्मान गरेर यसको अधिक उपयोग गर्नु पनि यसको विकास अनि उन्नति गर्नु हो । जहाँ मातृभाषालाई मायाँ र सम्मान गरिँदैन त्यहाँ साहित्यको पहाड बनाएर पनि के लाभ ? साहित्यको योगदानलाई उपेक्षित गरेको हैन । साहित्यको महत्त्व धेरै ठूलो छ भाषा उन्नतिका लागि तर पनि सानो कारकले पनि ठूलो परिणाम दिन्छ भन्ने भिन्न मत ।

नेपाली भाषी विभिन्न देशमा बस्छन् । कतिले स्थानीय नागरिक लिएर त्यहीँका बासिन्दा भएका छन् । संवैधानिक रूपमा उनीहरूलाई नेपाली भन्न नसकिएला तर उनीहरूले नेपाली भाषालाई सधैँ जीवन्त राखे भने त सधैँ नेपाली हुन्छन् । उसले बोलेका, लेखेका रचनाहरू नेपाली साहित्यको भण्डारमा समावेश हुनेछन् । नेपाली साहित्य नेपाल देशको नभएर नेपाली भाषी बोल्नेहरूको साहित्यिक पुँजी हो । नेपाली साहित्यको विकासका लागि नेपाली भाषाको उन्नयन गर्न आवश्यक छ भने नेपाली भाषाको विकासका लागि पनि साहित्यको उन्नयन गर्न उति नै आवश्यक छ र नेपाली साहित्यको विकासका लागि धेरै सङ्घसंस्थाहरू अघि सेरका छन् । जसमध्ये मलाई प्रभाव पारेको साहित्यपोस्ट हो । एउटा प्रयत्नशील, डिजिटल प्लेटफर्ममा बनाइएको संस्था जसको प्रयासले दुनियाँभरमा छरिएका नेपाली भाषीलाई एक छत्रमा राखेर नेपाली भाषा एवं साहित्यको विकासमा नयाँ इतिहास कोर्दै छ ।

साहित्यपोस्टसँग रहेको सानो अनुभव प्रधानसम्पादक, हजुरसमक्ष राख्न मन लाग्यो । मैले कविता लेख्न प्रयास गरेको विद्यार्थी जीवनकालबाट हो तर दिल्ली प्रवेश गरेपछि यसमा ब्रेक लाग्यो । शून्य भइसकेको थिएँ । कोरोनाकालले जहाँ दुनियाँलाई पिरालेको छ त्यहाँ साहित्यको विकास भएको छ भन्न अप्ठ्यारो नमाने हुन्छ होला! वर्तमान समयमा डिजिटल प्लेटफर्मको परिवेशले सूचनाक्रान्ति ल्याएको छ । यही डिजिटल प्लेफर्मको सहारामा कोरोनाकालको समय सामाजिक सञ्जालमा अनि विभिन्न एपको माध्यबाट साहित्य रचनाको भेल आयो । यही भेलको गतिले मलाई पनि तानेर लग्यो । मेरो शून्य मनमा पुनः लेखनको मूल फुटायो । सुरुआती कोरोना कालमा साहित्यपोस्टमा छापिएका रचना सामजिक सञ्जालमा पढेँ । यसको वेबसाइट खोलर हेरेँ । रचना पठाउनका लागि इमेल आइडी दिएको रहेछ । मैले भर्खरै एउटा कथालेखन प्रतियोगितामा लेखेको कथा थियो । मैले प्रकाशित हुन्छ कि भनेर इमेल गरिदिएँ । कथाको नाम थियो ‘मालती साइँली’। मैले नेपालीमा औपचारिकतासँग नपढेको हुनाले हिज्जे अनि भाषामा निकै गल्ती हुन्थ्यो । त्यही पनि भारतको नेपाली । नेपालको स्तरीय भाषा र भारतीय नेपाली भाषामा तुलना गर्दा आकाश र जमिनको फरक देखिन्छ । त्यहीमाथि मैले प्रयास गरेको पहिलो कथा थियो ‘मालती साइँली’ । प्रकाशित हुन्छ भनेर मैले आशा पनि गरेको थिइनँ । चार दिनपश्चात् मेरो कथा साहित्यपोस्टमा प्रकाशित भएको देखेँ । धेरै खुसी लाग्यो । सबै सामाजिक सञ्जालमा साझा गरेँ । सबैले प्रोत्साहित गरे । लेख्ने ऊर्जा दुई गुणा भयो । हिज्जे र भाषा परामार्जित गरेर प्रकाशित गरिदिनुभएकेा रहेछ । आफ्ना गल्तीहरू बुझेँ । म साहित्यपोस्टको नियमित पाठक भएँ । कथा, निबन्ध, भाषा ज्ञानका कुराहरू, कविता, संस्मरण इत्यादि पढ्न लागेँ । आफूले लेखेका रचना प्रकाषित गर्न दिन लागेँ । साहित्यपोस्टले प्रकाशित गरेर मेरो मनोबल बढाउँदै गयो । मेरो लेखनकला विकास हुँदै गयो । कथा, कविता, संस्मरण, निबन्ध, खबर मिलाएर दशभन्दा बढी रचनाहरू प्रकाशित भए । यस क्रमले मेरो व्यक्तिगत साहित्यिक लाभ धेरै भयो ।

पछिल्लो समयमा मैले विद्यार्थी जीवन अनि कोरोनाकालमा लेखिएका कविताको सङ्ग्रह निकालेँ । यसको प्रचारप्रसार एवं सङ्ग्रहका कविता छाप्ने जिम्मा साहित्यपोस्टले लिएर मेरो उत्साह र प्रयासलाई बढोत्तरी गराएको छ।  यो पुस्तक प्रकाशित गर्ने यात्रामा साहित्यपोस्टको परोक्षरूपमा योगदान रहेको छ । अहिले पनि हजुर र हजुरको टिमले मेरो प्रयासलाई महत्त्व एवं सुझाउ दिँदै आउनुभएको छ । अझ मेरा लागि सम्मानको विषय थियो पुस्तक लोकार्पण कार्यक्रममा विशिष्ट अतिथिका रूपमा निम्त्याउँदा हजुरले सहर्ष स्विरकारिदिनुभयो । यो प्रेम र आदरका लागि म सधैँ कृतार्थ रहनेछु । मलाई आशा मात्र नभएर विश्वास छ कि आउने दिनमा पनि मलगायत अरू धेरै नवपिँढीलाई साहित्यको बाटामा प्रकाश देखाइदिने काम साहित्यपोस्टले गर्नेछ ।

यो पत्रको साथमा महोदयलाई मेरो ‘मन बल्झिन्छ’ कवितासङ्ग्रह पुस्तक अर्पण गर्दै छु । स्वीकार गरिदिनुहोला ।

हजुरको सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै सुदूर नयाँ दिल्लीबाट साहित्यपोस्टका सबै सदस्यहरूलाई मेरो न्यानो मायाँ एवं सम्झना।

भवदीय,
हर्कबहादुर लामगादे ‘रोहित’
चारहजारे, मणिपुर
हाल नयाँ दिल्ली ।