थारु समुदायको मौलिक पर्व हो ‘अटवारी’ । पारिवारिक सम्बन्ध बनाइराख्ने यो पर्वको मुख्य विशेषता हो । पश्चिम नेपालका थारु समुदायले विशेषगरी यो पर्व मनाउँछन् । थारु पुरुषले व्रत बस्ने पर्वको रूपमा पनि यो चिनिन्छ । थारु महिलाले कृष्णजन्माष्टमी (अष्टिम्की) मा व्रत बस्छन् । पुरुषहरू अटवारीमा । स्वेच्छाले पुरुषले अष्टिम्कीमा र महिलाले अटवारीमा पनि व्रत बस्छन् । पश्चिम नेपालका थारुको वर्ष दिनमा व्रत बस्ने पर्व यिनै दुइटा हुन् । वर्षभरि अनेकौँ पर्व आउने गरेपनि अन्य पर्वमा थारु समुदायका सदस्यहरू व्रत बस्दैनन् । थारु महिलाले अष्टिम्कीमा कृष्ण भगवान्को व्रत बस्छन् तर थारु पुरुषहरू अटवारीमा सूर्य देवता र पाँच पाण्डवमध्येका कुन्तीका महिला पुत्र भीम (भेवाँ) को व्रत बस्छन् ।
थारु समुदायको देवथानमा अरू देवतासरह पाण्डवको उच्च स्थान छ । महाभारतकालीन प्रसङ्ग यसमा जोडिन्छ । महाभारत युद्धका प्रमुख निर्देशक भगवान् कृष्ण थिए । पात्रहरू अनेक भए पनि कृष्णकै निर्देशनमा महाभारत युद्ध भएको थियो । धर्म र अधर्मको लडाइँमा ‘धर्म र सत्य’कै जित हुनुपर्छ भन्ने मूल उद्देश्यसाथ भगवान् कृष्ण मानव अवतारमा पृथ्वीमा अवतरित भए । पाण्डव र कौरवबीच घमासान युद्ध भयो । पाण्डव धर्म र सत्यको पक्षमा थिए । कौरवहरू अधर्म र असत्यको । कौरवको नेतृत्व हस्तिनापुरका राजा धृतराष्ट्रले गरेका थिए । धृतराष्ट्र-गान्धारीका दुर्योधनसहित सय जना छोरा थिए । पाण्डव पक्षको नेतृत्व युधिष्ठिरले गरेका थिए तर कृष्णको निर्देशनमा सबै काम हुन्थे । कुन्तीका छ जना छोरा कर्ण, युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव थिए तर जेठा छोरा कर्ण कौरवको पक्षमा युद्ध लडे । सूर्यपुत्र कर्णलाई कुन्तीले जन्मँदै नदीमा बगाइदिएकी थिइन् । दुर्वासा ऋषिले सिकाएको मन्त्रलाई परीक्षणका लागि जप गरेपछि सूर्यदेव प्रकट भए । सूर्यदेवले कुन्तीलाई पुत्रका रूपमा ‘कर्ण’ उपहार दिए तर कुन्ती त्यति बेला अविवाहित भएकीले समाजको डरले कर्णलाई नदीमा बगाइदिइन् । नदीमा बच्चा रोएको फेला पारेपछि एक सूत दम्पतीले कर्णलाई हुर्काए । कणर्ले भगवान् परशुरामसँग धनुर्विद्या सिके । ब्राह्मण भनेर धनुर्विद्या सिकेका कणर्ले पछि सूतपुत्र भएको परशुरामले थाहा पाएपछि उनलाई श्राप दिए । अन्तिम लडाइँमा धनुर्विद्याले काम नगर्ने उनको श्राप थियो । उसो त नकुल र सहदेव कुन्तीपुत्र थिएनन् । पाण्डुका कान्छी श्रीमती माद्रीबाट दुई सन्तान जन्मेका थिए तर पाँच भाइको मायाँ प्रेम अत्यन्त गाढा थियो । पाँचै जना कुन्तीपुत्रको नामले परिचित भए । भगवान् कृष्णको लीलासँग महाभारत जोडिएकाले महाभारतका प्रमुख पात्र पाण्डवहरू देवताका रूपमा पुजिन्छन् । उसो त छ जना भाइ कुनै न कुनै देवताका पुत्र थिए । कुन्ती र माद्रीले उपहारका रूपमा पुत्र प्राप्त गरेका थिए ।
पाण्डव जन्म
हस्तिनापुरका राजा पाण्डु दुवै पत्नी (कुन्ती र माद्री) सहित सिकार गर्न जङ्गल गएका थिए । उनले मृगको जोडीलाई मैथुनरत देखे । वाणले ती दुवै मृगलाई घायल गरिदिए । मर्दै गर्दा मृगले पाण्डुलाई श्राप दिए, “राजन् ! तिमी धेरै क्रूर पुरुष रहेछौ । मलाई मैथुनको समय वाण हानेर ठूलो गल्ती गर्न पुग्यो । जब तिमी कसैसँग मैथुनरत हुनेछौ, त्यति बेला तिम्रो मृत्यु हुनेछ ।” श्राप सुनेर राजा पाण्डु दुःखी भए । उनका दुई रानी थिए तर सन्तान थिएनन् । उनले दुवै रानीसँग भने, “हे देवीहरू ! अब म आफ्नो सबै वासनाहरू त्यागेर वनमा एक्लै बस्छु, तिमीहरू हस्तिनापुर फर्केर जाऊ ।” उनको कुरा सुनेर दुवै रानी दुःखी भए र भने, “हे नाथ ! हामी तपाईँविना एक क्षण जीवित रहन सक्दैनौँ । आफूसँगै हामीलाई पनि वनमै बस्ने कृपा गरिदिनुहोस् । राजा पाण्डुले दुवै रानीलाई आफूसँगै वनमा बस्ने अनुमति दिए ।
राजा पाण्डु गल्तीबाट दुःखी थिए । चिन्तामा डुबेका थिए । त्यही समय पाण्डुले अमावस्याको दिन ऋषिमुनिहरूलाई ब्रह्माको दर्शनका लागि जाँदै गरेको देखे । आफूलाई पनि साथ लैजान पाण्डुले ऋषिसँग आग्रह गरे । एक ऋषिले भने, “राजन् ! निःसन्तान पुरुषलाई ब्रह्मलोक जाने अधिकारी हुँदैन । अतः हामी तिमीलाई लैजान असमर्थ छौँ ।” ऋषिको कुरा सुनेर पाण्डुले पत्नी कुन्तीसँग भने, “हे कुन्ती ! मैले जन्म लिनु व्यर्थ छ । सन्तानहीन व्यक्तिले पितृऋण, ऋषिऋण, देवऋण, मनुष्य ऋणबाट मुक्ति पाउन सक्दैन । के तिमीले पुत्रप्राप्तिमा मलाई सहयोग गर्न सक्छौ ?” राजाको कुरा सुनेर कुन्तीले भनिन्, “हे आर्यपुत्र ! दुर्वासा ऋषिले मलाई यस्तो मन्त्र सिकाउनुभएको छ, जसबाट म कुनै पनि देवतालाई बोलाएर मनोवाञ्छित (मनमा चिताएको) वस्तु प्राप्त गर्न सक्छु । तपाईँ आज्ञा गर्नुहोस्, म कुन देवतालाई बोलाऊँ ।”
कुन्तीको कुरापछि पाण्डुले देवता धर्मराजलाई आमन्त्रित गर्न भने । दुर्वासा ऋषिको मन्त्र पढेपछि धर्मराज देवता प्रकट भए । धर्मराजले कुन्तीलाई छोरा उपहार दिए । उनको नाम युधिष्ठिर राखियो । फेरि अर्को पुत्रका लागि कुन्तीले वायुदेवलाई आमन्त्रित गरिन् । वायुदेव प्रकट भएर पुत्र उपहार दिए । उनको नाम भीम राखियो । अर्को आमन्त्रणमा इन्द्र देवता प्रकट भए । उनले दिएको पुत्रको नाम अर्जुन राखे । सोही मन्त्र कुन्तीले आफ्नो सौतेली बहिनी माद्रीलाई सिकाइन् । माद्रीले पनि त्यही मन्त्र जप गरिन् । माद्रीले अश्वनीकुमार देवतालाई स्मरण गरिन् । देवताले दुई पुत्र दिए । नाम नकुल र सहदेव राखे ।
बकासुर वध
बकासुर एक दानव थियो । दुर्योधनको लाहघरको षड्यन्त्रबाट बाँच्न सफल भई भागेर ब्राह्मण भेष धारण गरेका पाण्डवहरू अज्ञातवासमा थिए । अज्ञातवास भएकै बेला पाँच पाण्डव आमा कुन्तीसहित घुम्दैफिर्दै चक्रनगरी गाउँमा पुगे । जहाँ बकासुर राक्षसको आतङ्क थियो । हरेक दिन पालैपालो गाउँवासीले दानव बकासुरलाई गुफामा गएर भोजन (खाना) पुर्याउँथे । भोजनसँगै गाउँको एक सदस्यलाई उसले मारेर खान्थ्यो । गाउँको एक घरमा पाँच पाण्डव केही दिनका लागि शरण लिएका थिए । खाना पुर्याउने पालो त्यही घरको आयो । घरमा श्रीमान्, श्रीमती, एक छोरी र एक छोरा थिए । घरका सदस्यबीच दानवलाई खाना पुर्याउनेबारे छलफल चल्यो । कुन्तीले सल्लाह दिइन् । मसँग पाँच जना छोरा (पुत्र) छन् । कुनै एकलाई राक्षसले मारेर खायो भने पनि चार जना बाँकी रहन्छन् तर तिमीहरूको त एउटा छोरा र एउटी छोरीमात्र छन् । त्यसैले खाना लिएर राक्षसकहाँ मेरो कुनै एक पुत्रलाई जान देऊ । उनको कुरालाई घरका सदस्यले मान्न तयार भएनन् । पाहुनालाई कसरी राक्षसको आहार बनाउने ? पाप काम हुन्छ भने तर कुन्तीको सल्लाहपछि घरका सदस्य तयार भए । कुन्तीले गाउँको समस्याबारे आफ्ना पुत्रहरूलाई बताइन् । पाँचै पुत्रबीच राक्षसकहाँ खाना लिएर को जाने, छलफल चल्यो । कुन्तीले भीमलाई राक्षस बकासुर कहाँ खाना पुर्याउन जान भनिन् । भीम वयल गाडामा खाना राखेर जङ्गलमा रहेको राक्षसको गुफामा पुगे । राक्षसका लागि लगेका सबै खाना भीम आफैँले खाए । चाल पाएपछि राक्षस गुफाबाट बाहिर निस्क्यो । भीमलाई खाना खाएको देखेर राक्षस क्रुद्ध बन्यो । भीममाथि आक्रमण गर्यो । भीम बलवान् थिए । दुवैबीच घमासान युद्ध भयो । अन्तिममा भीमले राक्षस बकासुरको वध गरे । चक्रनगरका गाउँवासी खुसी भए । राक्षसको आतङ्कबाट सदाका लागि मुक्त भए । अब गाउँका कुनै सदस्यले ज्यान गुमाउनु नपर्ने भयो । खुसीले गाउँमा भोजभतेर चल्यो । भीमले गाउँवासीको रक्षा गरे ।
अटवारीको प्रसङ्ग
भेवाँ (भीम) सहित पाँच पाण्डव जहाँ शरण लिएर बसेका थिए, त्यो चक्रनगर थारु गाउँ थियो । गाउँका सदस्यलाई दानवको चङ्गुलबाट जोगाएकै कारण थारुहरूले भीमलाई देवताको रूपमा स्विकारे । पाँच पाण्डवलाई देवथानमा स्थान दिएको किंवदन्ती छ । आज थारु गाउँका सबै देवथान (मर्वा) मा पाँच पाण्डवको स्थान सुरक्षित छ । जुनसुकै पूजामा पुजिन्छन् । थारु मन्त्रमा शिव, पार्वती, ब्रह्मा, विष्णुसँगै पाँच पाण्डवको प्रसङ्ग छ । राक्षसबाट थारु चेली तथा गाउँवासीलाई रक्षा गरेकै सम्झनामा थारु पुरुष अटवारीमा भीमको व्रत बस्छन् । पूजा गर्छन् । राक्षस बकासुरको वधपछि गाउँवासी गाउँमा खुसीयाली र भोजभतेर गरी रमाए । व्रतपछि थारु व्रतालुले आफ्ना विवाहित चेलीबेटीलाई उपहारका रूपमा मीठा परिकार पुर्याउँछन् । यसरी पुर्याइने मीठा परिकारलाई ‘अग्रासन’ भनिन्छ । यसवर्ष भदौ २७ गते थारु समुदायले अटवारी पर्व मनाउँदै छन् । अटवारी पर्व हरेक वर्ष कुसे औँसीपछिको पहिलो आइतबार मनाइन्छ । अटवारी पर्व मनाउनेबारे थारु समुदायमा अनेक किंवदन्ती छन् । तथापि भेवाँसँग जोडिएको यो किंवदन्ती बढी तर्कपूर्ण छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।