एकदिन कार्यालयको खाजा समयमा क्यान्टिनमा बसेर खाजा खाने तयारीमा थियौँ । एक जना सहकर्मी मित्र खाजा पर्खिने क्रममा मोबाइल चलाइरहेकी थिइन् । एकैछिनमा ती मित्र चिटचिट  पसिना निकाल्न थालिन्, उठ्दैबस्दै गर्न थालिन् । कतिखेर हातबाट मोबाइल नै झर्न आँटेजस्तो उनका हातहरू काँपिरहेका थिए । मुहारमा एक प्रकारको अजङ्गको डरको हुन्डरी चलिरहेको देखिन्थ्यो । अत्यन्तै हतास मानसिकतामा उनी छटपटिरहेको देख्दा लाग्थ्यो कि उनले ठुलै पाप गरेकी छन् र पापमोचनका लागि के गरूँ र कसो गरूँ भनेर छटपटिरहेकी छन् । निकै बेर यसरी छटपटिएपछि बल्लबल्ल लामो सास तानेर क्यान्टिनभित्र रहेको बेन्चमा बसिन् । गोजिबाट रुमाल निकालेर निधारको पसिना पुछ्दै भनिन्, “ओ माइ गड, बल्ल ढुक्क भयो ।” उनको छटपटीले उनलाई मात्र गरम बनाइरहेको थियो तर टेबलमा राखेको खाजा भने चिसिएर बरफ बनिसकेको थियो । उनको निधारमा पसिना ओभाएपछि हामी सँगै खाजा खान बसेका साथीहरूले एकै स्वरमा सोध्यौँ, “होइन हौ एक्कासि तिमीलाई चाहिँ के भएको र होसहवास नै उड्यो एकैचोटि ? बच्चा बिरामी परे कि कोही केही भए ?”

डा. रेणुका सोलु

“कहाँ बच्चा बिरामी हुनु नि, आज झन्डै बुढोसँग डिभोर्स हुन लागेको, धन्न कुरा मिलाउन भ्याइहालेँ, थ्याङ्क्स गड, जोगायौ आज मलाई….” यस्तै के-के पुकार्दै अझै व्यस्त थिइन् उनी । “होइन के भएको थियो र बुढासँग त्यसरी डिभोर्स नै हुनुपर्ने अनि फेरि डिभोर्सकै खुट्किलामा चढिसकेपछि यति छिटै कसरी मिल्यो त कुरा, के डिभोर्स र मिलन पनि यति छोटो समयमा निर्णय गर्ने विषय हो र? मैले जिज्ञासा पस्किएँ । “साँच्चै अचम्मकै कुरा गर्‍यौ यार! भएको चाहिँ के हो?” अर्की साथीले सवाल उठाई ।

“के हुनु नि, हेर न ! बुढाको साथीले मेरो मेसेन्जरमा नमस्कार भाउजू भनेर मेसेज गर्नुभएछ । सन्चो बिसन्चो सोधखोज सकेर हवस् त बिदा मागेँ है भाउजू , टेक केअर भनेर पठाएको मेसेजमा ‘लभ रियाक्ट’ साइन स्वाट्टै पठाइहालेछु । हे भगवान् के सोच्नुभयो होला उहाँले मलाई एकैचोटि लभ रियाक्ट जाँदा अनि उता मेरो बुढालाई भाउजूले  त यस्तो लभ रियाक्ट पो पठाउनुभयो अचम्म भन्दै  मेसेज गर्नुभयो भने त  फेरि उनले के सोच्ने हुन् । मारिहाल्छन् नि यसरी अर्को लोग्नेमान्छेलाई लभ रियाक्ट पठाउँदा । लोग्नेमान्छेको भर पनि हुँदैन, अरूलाई के असर पर्छ भन्ने  हेक्का नै नराखी आइमाईको गल्ती देखाउन अनि आफू सुपेरियर देखिन हतार गर्छन् । अस्ति पनि यस्तै लभ रियाक्ट गैहालेछ, बुढाले झन्डै मारेका । माफी मागेर छोडिदिएका बल्ल-बल्ल । आज नि धन्न उनको साथीले भन्नुभन्दा अगाडि नै आफैँले क्लियर बनाउन पाएँ र बचेँ । कस्तो चिप्लिन्छ यो औंला पनि भन्दै बुढालाई लेखेको मेसेज हामीलाई देखाइन्, “बूढो हेरन झुक्किएर आज पनि मैले ठूलो गल्ती गरेँ । मैले जानीजानी गरेको होइन, झुक्किएर थिचिएको हो । तिम्रो साथीले तिमीलाई भन्ला भनेर बरु अगाडि नै मैले इन्फर्म गरिहालेको, प्लिज डन्ट ओरी है बूढो …..” । यो मेसेजको रिप्लाई आएको थिएन । थाहा छैन बेलुका अफिस छुटेर घर पुगेपछि कस्तो चल्यो बहस अनि कस्तो बन्यो सम्झौता !

त्यसैगरी एकदिन बच्चाहरूको स्कुलमा शुल्क तिर्न जाँदा स्कुलको प्राङ्गणमा विद्यार्थीहरूको प्रार्थनाको समय भइरहेको रहेछ । प्रार्थना सकिएपछि एक जना छात्र र एक जना छात्रालाई अगाडि बोलाएर कान समातेर उठबस गर्न लगाए । अनुशासन विभाग प्रमुखचाहिँ माइकबाट ठूलो स्वरमा थर्काइरहेका थिए, “तिमीहरूलाई लभ गर्न भनेर पठाएको हो? तिमीहरूका बाआमाले यतिका फि तिरेर ? कमाउन कति गाह्रो छ थाहा छ तिमीहरूलाई? यो उमेर, समय भनेको पढ्ने समय हो लभ गर्ने समय होइन भनेर कति सम्झाउनु ! अबदेखि कसैले पनि लभ गरेको थाहा भयो भने स्कुलबाट सिधै रेस्टिकेट हुन्छ, याद गर सबैले । लभ गरेर जीवन बर्बाद बनाउने होइन कसैले पनि ।”

ती बच्चालाई लाइनमा पठाए र फेरि अर्का दुई जना बच्चा अगाडि बोलाइयो अनि कान समातेर उठबस गर्न लगाइयो । ती नै अनुशासन विभागीय प्रमुख उर्ली-उर्ली उर्दी जारी गर्न थाले, “तिमीहरूलाई झगडा गर्न मात्रै आउँछ है, माया गर्न सिकेनौ जानेनौ तिमीहरूले, एउटै कक्षामा पढ्ने भएपछि त मिलेर माया गरेर पो बस्नुपर्छ, एकअर्कामा प्रेम गर्नुपर्छ । कस्ता रुखा हुन् यी जङ्गली जहिल्यै झगडा गरिरहन्छन् । माया प्रेम नजान्ने, सधैँ झगडा गरिरहने मान्छेभित्र मानवीय गुण हुँदैन, दानवीय प्रवृत्ति हावी हुन्छ । त्यसैले तिमीहरू मानव हुने कि दानव हुने विचार गर ।”

मैले बच्चाको महिनावारी शिक्षण शुल्क तिर्नु थियो, तिरेर फर्किएँ । बाटाभरि पनि सोच्दै आएँ, “होइन यी माया, प्रेम, गर्न हुने या गर्नैपर्ने तर लभ गर्न त के बोल्नै नहुने, के रहेछ रहस्य बुझ्न मन लाग्यो । माया, प्रेम र लभमा के भिन्नता रहेछ भन्ने लागिरह्यो अनि डिक्स्नेरी पल्टाएर हेरेँ, “लभ भन्या प्रेम, माया नै रहेछ ।” शब्दकोश पल्टाएर हेरेँ प्रेमको अर्थ “कुनै विषय वस्तु वा व्यक्तिका स्वभाव एवम् गुणप्रति मनमा उत्पन्न हुने आकर्षण वा आत्मीयता, अनुराग, कृपा, दया, माया” भन्ने हुँदो रहेछ भने मायाको अर्थ, “मोहवश कसैका प्रति हुने हार्दिकतायुक्त अनुराग, प्रेम वा स्नेहको भाव, प्यार, प्रीति, ममता, ममत्व ” हुने रहेछ ।

मैले धेरैबेर सोचेँ ‘लभ’ शब्दलाई किन हाउगुजी देख्छन्!  प्रेम आत्मीयता, स्नेहभाव, ममता र ममत्वका लागि  लभ गर्न सक्दैन त मान्छेले ? कतै लभ शब्द नै यौनमा लगेर घोल्दै त छैनन्? होइन भने प्रेमले संसार जित्छ, प्रेमिल बनाउँछ, मान्छेको मन जित्छ, संसार बदल्छ, प्रेम सन्तानले आमाबाबालाई गर्न सक्छन् एवम् आमाबाबाले सन्तानलाई  प्रेम गर्न सक्छन् । जो कसैले आफ्नो माटालाई, आफ्नो राष्ट्रलाई या जनावर, प्रकृति सबै-सबैलाई प्रेम गर्न सक्छन् । प्रेमले हरेक व्यक्तिमा चमक ल्याउँछ, ऊर्जा थपिन्छ, जीवन सुन्दर बनाउँछ । जो मान्छे प्रेम गलत हो भनिरहेको हुन्छ ऊ स्वयम् पनि प्रेम गरिरहेको हुन्छ । प्रेमविनाको संसार कल्पना गर्न सकिन्छ र? सकिँदैन भने किन लभ अर्थात् प्रेमप्रति यति घृणा! किन वितृष्णा, किन आक्रोश? मैले केही बुझ्न सकेको छैन । नबुझ्दा नबुझ्दै पनि म मेरो वरिपरिका हरेक चिजलाई प्रेम गर्छु । परिवार, आफन्त, मित्र, तिनका मलाई मन छुने हरेक विचार, सन्देश, प्रतिक्रिया एवम् भाव कतै पोस्ट भएका छन् भने मैले गर्ने पहिलो संवोधन भनेकै लभ रियाक्टबाट नै हो । ती विचार र भावले मेरा हृदय छुन्छन् अनि म हृदयतः प्रेमले ती भावलाई सुमसुम्याउन खोज्छु । के अब म अपराधी भएँ?