कमल ढकालजीले प्रखर कवि भूपिन पनि आउँदैछन् भन्ने जानकारी गराएपछि मात्र म ‘भूपिन’ नामसँग परिचित भएको थिएँ । २०७५ को मंसिर पहिलो साता युवराज नयाँघरे, नयनराज पाण्डे, अश्विनी कोइराला, कमलजी तथा भूपिन सहितको टोली रुकुम भ्रमणमा निस्कँदै थियो ।
अरुका कृतिहरुसँग पूर्व परिचित भैसके पनि भूपिनका कृतिसँग परिचित हुने मौका नजुरेकोले भूपिनप्रतिको शंका र कौतुहलता-मिश्रित काउछोले मेरो मानसपटल चिलाइरहेको थियो । टोली भैरहवा आइपुगेपछि परिचय आदानप्रदान भयो र सोही क्रममा भूपिनको जन्मस्थल बाग्लुङ भएको थाहा हुँदा उनीसँग निकटताको साइनो गाँसियो । नयनराज पाण्डे सल्यानी हुनुको नाताले जमाएको हार्दिक आसन नजिकै छिमेकी साहित्यकारको नाताले भूपिन पनि अटेसमटेस भैसकेका थिए । उसो त युवराज, अश्विनी र कमलका कृतिहरु यसअघि नै उधिनिरहेको थिएँ र सो क्रममा उनीहरु मेरो दिलको बेग्लै सिँहासनमा बिराजमान भैसकेका थिए ।
दाङ पुगेपश्चात् चिया खाने क्रममा जब भूपिनको पर्स नै गायब भइदियो, त्यहाँ एउटा मनोरञ्जक खैलाबैला मच्चियो । सर्वस्व गुमेजसरी भूपिन आफै असिनपसिन थिए र सो आद्रताले मित्रहरुलाई पनि लछप्पै भिँजाइदिएका थिए । पछि पर्ससँगै उनको कविशील मन पनि उनकै खल्तीमा सुरक्षित फेला परेपछि यिनी ठूलै कवि हुनुपर्छ भनी अनुमान गर्न पुगेको थिएँ ।
रुकुम यात्राको क्रममा भूपिन लगायत अरु साहित्यकारहरुले आफ्नो सर्जकताको थप प्रमाणहरु पनि ठाउँठाउँ पेश गरेका थिए, तर जाँच्ने समय र प्रविधिको पावण्यताले गर्दा सबै मामलाहरु दिलभित्रै पेन्डिङ थिए । त्यो भ्रमण योजना कमल र मेरो नितान्त व्यक्तिगत लहडले बुनिएको थियो । संस्थागत छाता ओढाउन खोज्दा पनि विभिन्न कोणबाट च्यातिन पुगेको हुँदा परिस्थितिजन्य घामपानी त्यही प्वालबाट छिरी श्रष्टाहरुको साहित्यिक शिर पोलिरहेको छनक पनि बेलाबखत पाइन्थ्यो ।
जसोतसो भ्रमण कार्यक्रम समापन हुँदा पाहुनाहरुले यो भ्रमण निकै फलोत्पादक रहेको टिप्पणी गरिदिएपछि मेरो मुटुमा सन्तोषको कोपिला टुसाएको थियो ।
०००
विदाइको क्रममा भूपिनले मलाई सुप्लाको हवाइजहाज उपहार दिँदै पाइलटको सिटमा बसाइदिए । परेन फसाद ? अब कसरी उडाउनू ? कहाँ कहाँ पुग्नु ? अन्यौलतको भूमरीमा घुम्दै गर्दा भाग्यवश् समयको हुरी मच्चिँदै आयो र हवाइजहाज भनिएको सुप्लालाई मसँगै आकाशमा भुर्र उडाइदियो । हावाको बेजोड तोडले भयले निस्सास्सिइरहेको बखत आकाशको परपरसम्म हेर्न खोजेँ । बेसारे धुलोधुँवाले स्पष्ट देख्नै गाह्रो भैदियोः
‘नेताहरुको अनुहार हेर्छु बेसारे देख्छु
न्यायालयको गजुर हेर्छु बेसारे देख्छु
यो देशमा डुबिरहेको घाम बेसारे
उदाइरहेको जून बेसारे
जहाँ स्वस्थता बहिष्कृत र
बेसार स्वीकृत छ ।‘ (सुप्लाको हवाइजहाज/बेसार । पृष्ठ सं. ३०)

जता हेर्‍यो बेसारे देखिन थालेपछि मैले आँखा मिचिरहेँ । अलिकति आँखा खुल्दै गएपछि देखेँ कि ‘ट्रक ड्राइभर’ पनि ट्रकसँगै उडाइएर अतल गहिराइको आकाशमै आइपुगेको ! गतिलै आडभरोसा पाइएकोले फुरुङ्ग परेँ म । हेर्दै गएँ वरिपरि ‘पागल’ पनि छन्, ‘बुद्ध’ पनि छन् । लाटाबुङ्गा पनि छन् र ‘बुद्धिबङ्गारा’ पनि छन् । अनिकाल छ, ‘खडेरी’ छ र सयौँ हातहरुले फोहर तुल्याइएका ‘नोटहरु’ पनि उडिरहेका छन् । स्वदेशी छन् र परदेशी पनि छन् । सम्मान पनि छ, ‘लज्जा’ पनि छ । ‘स्वर्ग’ पनि छ र नर्क पनि छ । ‘नानीहरु’ छन्, ‘आमाहरु’ पनि छन् । सर्वसम्पन्न ‘गाउँ’हरु पनि छन् र गाउँलाई घेरेर बसेको नाङ्गो ‘देश’ पनि छ । मेरो देशमा जे जे छन्, यो चमत्कारिक उडानको आकाशमा सबथोक छन् । यति देखेपछि कालो आकाशमा बतासिनुको भय मबाट तत्कालै गायब भैहाल्यो । म जता मन लाग्यो उतै स्वच्छन्द तैरिन के आँटेको थिएँ, ट्राफिक दाइ नै त्यहीँ आइपुग्यो सिटी फुक्दै । म असमन्जसमा परेको थिएँ, सुप्लाले हावामा अनौठो स्वार्स्वार आवाज निकाल्योः
‘यसरी पुगिन्न कैलेइ
हाम्रो सपनाको द्यौरालीमा
आ, अब त चिट त तिनीहर्लाई दिम्
जो बेहोस देशलाई डिक्कीमा राखेर
सवारी चलाइरहेछन् ।
देशसँग उनीहर्ले चर्को भाडा असुलेका छन् !’ (सुप्लाको हवाइजहाज/ट्राफिक दाइ । पृष्ठ सं. २५)

मैले ट्राफिकको रेड लाइटको अर्थ खोज्दै थिएँ । लज्जाको पराकाष्टा नाघेको म.नोदी झुलुक्क झुल्कियो र यो सुप्ला पनि मेरै हो भनेजसरी मलाई लखेट्न थाल्यो । सुप्लाले फरक्क फर्केर धारे हात लगाइहाल्योः

‘ए मेरो हिमालको पानीले प्यास मेट्ने भरते
ए मेरो पाखुरीको रगतले युद्ध जित्ने भरते
ए मेरो बुद्धको नाम बेचर रोटी खाने भरते
भन, निधारमा टाँसेर आफ्नो उत्तेजित लिङ्ग
कुमारी देशको बैँस हरण गर्न
किन यसरी निस्कियौ इण्डिया गेटबाट ?’ (सुप्लाको हवाइजहाज/लज्जा । पृष्ठ सं. २१)

आफ्नो अन्नदाता मनोदीको तुच्छ सुप्लोले गरेको तिक्ष्ण अवहेलना सहन नसकी राष्ट्रप्रेमी ‘पुजारीहरु’ सुप्लाको हवाइजहाज घेर्न आइपुगे । उनीहरुलाई पनि बाँकि राखेन सुप्लोलेः

‘एउटा युद्ध त अझै लड्न बाँकी रहेछ
पुजारीहरु विरुद्ध
जबसम्म रहिरहनेछन् यिनै पुजारीहरु
सामन्तको स्तुति यसरी नै रहनेछ
चीरहरणको धम्की यसरी नै आइरहनेछ
मन्दिरको भेटी यसरी नै गायब भैरहनेछ ।‘(सुप्लाको हवाइजहाज/पुजारी । पृष्ठ सं. २०)

ती पुजारीहरुले भौतिक युद्ध जित्न सम्भव नठानी सुप्लालाई भुइँमा गिराउन मन्त्र जप्दै टुनामुना र शब्दवाण प्रहार गर्न के थालेका थिए सुप्लो जङ्गियोः

‘हान जथाभावी कोर्रा शब्दको हाडमा
शब्दलाई अपराध स्वीकार्न बाध्य पार
तर शब्दले असत्य बक्न इन्कार गर्नेछ
ए जल्लाद,
तिमी मरेर जानेछौ एक अर्थहिन जीवन
तर शब्द जिवित रहनेछ ।‘(सुप्लाको हवाइजहाज/कोर्रा । पृष्ठ सं. ३५)

हार खाएर बेसारे पुजारीहरु फर्कँदै के थिए सुप्लोले पछाडिबाट धारे हात लगाइहाल्यो :

‘बुद्धिबङ्गारो आएकै वर्ष
उसले पड्कायो मुख्यमन्त्री
त्यसपछि चपाउन थाल्यो उसले
जहाजका पङ्खा
नदीका गिट्टीबालुवा
र जङ्गलका काठ ।‘(सुप्लाको हवाइजहाज/बुद्धि बङ्गारा । पृष्ठ सं. ३९)

म कल्पनातित हावामा कावा खाँदै गएँ । सुप्लाको हवाइजहाजभित्र यस्ता जादुमय अर्थलेपन गरिएका वस्तु, देश, काल र परिस्थितिहरुको रोमाञ्चक शब्दचित्रण त कति कति ! जहाँ विरोध मात्रै होइन, सम्मान पनि छ । घृणा मात्र होइन, मायाको अथाह सागर पनि छ । दुःख छ र सुख पनि छ । जीवन र जगतको दर्शन छ । चेतावनी छ र कामलाग्दो सुझाव पनि छ जस्तो किः

‘साह्रै कठीन हुन्छ भुल्न
तर कतिपय सम्झनाहरु
भुलिदिँदा नै ठीक हुन्छ ।‘(सुप्लाको हवाइजहाज/विस्मरण । पृष्ठ सं. ७१)

जब सुप्लोको नभयात्राको आनन्द लुट्दै भुइँमा ल्याण्ड हुन खोज्छु, बीउ कविताहरुको वर्षा हुन्छ । सामाजिक बेथितिको कटु तथा मार्मिक प्रहार गर्दै सुप्लाको हवाइजहाज त चरा पो बन्न खोज्छः

‘अब चरा बन्ने रहर छ
एउटा पिँजडा बनाऊ
त्यसभित्र राख र तिम्रो कोठामा झुण्डाऊ
मानिस भएर म त्यहाँ प्रवेश गर्न सकिनँ !’ (सुप्लाको हवाइजहाज/बीउ कविताहरु । पृष्ठ सं. ११५)

म बल्लतल्ल गाउँमा ल्याण्ड गर्छु । ममताकी खानी आमा, सम्पन्नताको खानी गाउँ र सबथोक सम्पन्न हुँदाहुँदै पनि विपन्न हुन पुगेको देश मलाई स्वागत गर्न आइपुग्छन् । उनीहरु यसरी दुःख पोख्छन्

‘संसद भवन र सत्ता बिरामी छ
अविश्वासको सलहले खाएर ।
हो म तिमीजस्तै बिरामी छु
कसले निको पार्छ मलाई ?
जबकि स्वयम् औषधिहरु बिरामी छन् ।‘(सुप्लाको हवाइजहाज/देश । पृष्ठ सं. १५)

मर्माहत हुन्छु म । के जवाफ दिऊँ यिनीहरुलाई म ?

‘यो दुनियाँमा रगत र मृगौलाझैँ
आफ्नै आयुको हाँगो काटेर
आयु दिनसक्ने कुनै विधि भएन’ (सुप्लाको हवाइजहाज/आमाः दुई । पृष्ठ सं. ४५)

दिनलाई कुनै जवाफ बाँकी थिएन मसँग ! उफ् !

०००

सुप्लाको हवाइजहाजको कलात्मक बनावटले नै राम्रैसँग पत्यार लगाइदियो कि भूपि शेरचन नै यो युगमा भूपिन खडकाको कवि हृदय लिएर अवतरित भएका रहेछन् । भूपिका सबै गुण बोकेर पनि आफ्ना स्वतन्त्र गुणहरुको आधिक्यता पनि उति नै छ यिनमा । कविता समय चेतमा सतर्क छ, समाजका सबै अवयव र जीवन जगतको व्याख्या, विश्लेषण एवम् व्यङ्ग्य गर्नमा माहिर छ । पथविचलित हुनेलाई खबर्दारी गर्न सक्षम छ । आगत कालमा पनि समाज र संस्कृतिलाई परिभाषित गर्नसक्ने कविताहरु ताजा र पूर्ण लागिरहने छन् । विविध विम्व, रस, अलङ्कारलेपित शब्दहरुमा जति डुबुल्की मार्‍यो, त्यति त्यति नै रहस्यमय बन्दै जान्छन् । कतै अपूर्ण रहेको महसुस हुँदा क्षतिपूर्ति दिलाउने हजार वर्षको निद्रा, चौबीस रिल, शब्दहरुको नेपथ्य, मैदारो पनि बजारमा ल्याएका छन् उनले । तर मलाई लाग्छ ‘सुप्लाको हवाइजहाज’ एक्लै भूपिनलाई चिनाउन पर्याप्त छ । पाठकलाई प्रभावित तुल्याउन एकसे एक कविताहरु अब्बल छन् । एउटै कविताको समीक्षाले पुस्तक भरिन सक्छ ।

अपितु कतै उनी अलि बढी नै बहकिएका छन् । कतै आस्तिक बन्छन्, कतै नास्तिक बन्छन् । कल्पनाको आकाशमा तैरनको लागि सुप्लो हुँदाहुँदै पनि जमिनमा टिठलाग्दो गरी घिस्रिएका पनि छन् । कतै शब्दसँग नराम्रैसँग जिस्किएका छन् । तर सुप्लाको हवाइजहाजलाई सुझबुझपूर्ण हिसाबले गरिएको सजावटमा यी कुराहरु ओझेलमा पर्दछन् ।

म अहिले बन्दाबन्दीमा कोठाभित्र थुनिएको छु । बाहिर निस्किएर मित्रजन, माता, बालसखा र देशको मुहार चियाउन छट्पटी पैदा भएको छ । पैदल यात्रा पनि निषेध भएको यस घडीमा गाडीमोटर र प्लेन कहाँ पाउनु । उपाय सोच्छुः भूपिनको सुप्लाको हवाइजहाज चढेर देशदेशावर घुम्ने । म फेरि सुप्लामा चढ्छु र लिपुलेक पुग्छु, भोकले छटपटिइरहेको पहाड सुन्दरीका जाँघ र वक्षस्थलसम्म पुग्छु, कोरोना लगायतका प्राणघातक रोगब्याधीको मुखमा पस्नै आँटेका पहाड र तराइका मलिला फाँट एवम् घना वस्तीहरुमा पुग्छु । मन्दिरबाट अस्पत्तालमा र चौकीहरुबाट घरआँगनमा सुरक्षार्थ बसाइ सरेका भगवानहरुसम्म पनि पुग्छु । भूपिनको हवाइजहाजका मनचिन्ते प्रविधिहरु देखेर म चकित छु जहाँ पनि सहजै र तत्काल पुग्न सकिने ! यो कोरोनाको भयावह अवस्थामा पनि ७२ सालपूर्व लेखिएको यो पङ्ति उत्तिकै सान्दर्भिक छ ।

‘र यो चिसो हिमालय पर्वतमा
सुतौँ सम्पूर्ण वस्त्र उतारेर
आऊ
अब एउटा नग्न युद्धको तयारी गरौँ
यो सुनौलो भूगोलमा जुनसुकै बेला
छिर्नसक्छ दुस्मन समय
निर्माणको ढोकामा गजबार लगाऔँ
सिर्जनाको मधुसमा ताल्चा मारौँ
होसियार बनौँ
र त्यसमा मिसाइल दागौँ ।‘ (सुप्लाको हवाइजहाज/हल्ट । पृष्ठ सं. ६४)