आजकाल मेरो फेसबुकको ग्रुप च्याटमा एउटा कुरा भाइरल छ । “उमेर ढल्केर डाँडाको उकालो चढ्दै छ । एक्लै मरिएला जस्तो ।” मेरा अविवाहित साथीहरू गुनासो गर्छन् । मलाई यो चिन्ताले – हँसाउने गर्छ । म आफ्ना प्यारा साथीहरूको जोडी खोजिदिने प्रयास गर्दैमा हैरान छु । एक समय कम्मर कसेर लागेको थिएँ । आजकाल कम्मर दुख्न थालेकाले लाग्न कम भएको मात्र हो । उनीहरूको खोज्दाखोज्दै आफ्नो बिहे भएर छोरी जवान हुन लागिसकी उनीहरूको अझै सुरसार छैन ।
एउटा साथीलाई बुढीको मिल्ने साथी फेसबुकमा देखाको ऊ भन्न लाग्यो –“आफूचैँ त्यस्ती राम्री बिहे गर्ने मलाई यस्तो भिडाउन खोज्ने ? ” रे! एक छिन त मनमा आनन्द पनि आयो तर फेरि झोक पनि चल्यो । कति दुःख गरेर खोजेको थिएँ । केटो त्यस्तो भन्छ । त्यस्ताले आफैँ खोजेर बिहे गर्नु नि ! बिहे खोज्न सक्दैन । लखरलखर एक्लै हिँड्छ । मुखैमा जबाफ आएको थियो उसैले फेरि भन्यो, “बरु त्यो केटीको फोटोछेउकी केटीसँग कुरा चला न ।”
ल केटाको प्रगति छ भनेर कुरा चलाउन लागेँ तर अर्को फसाद आइलाग्यो । साली नानीको गाली खान पऱ्यो –“त्यस्तो जेपिटी केटोसँग मेरो कुरा चलाउने रे भिनाजुले !”
बस् अवाक् भएँ र चित्त बुझाएँ ।
उसको भएन भनेर अर्को एक साथीलाई जोडी मिलाउँदै थिएँ । केटी राम्री नै थिई । अर्काकी छोरी के नराम्री भन्ने । फेसबुकमा कुरा गर्दै थिए उनीहरू । अर्को दिन साथीले नाक खुम्चायो । भन्दै थियो –“मेरै उमेरको भयो यार । केटी त ५ र ६ वर्ष सानो पो चाहिन्छ । पछिसम्म मजा आउँछ ।” उसको अर्तीउपदेश सुनेर म खिन्न भएँ ।
साथीलाई कोही बच्चा लाग्छ, कोही अग्ली, कोही मोटी, कोही डल्ली, कसैको उमेर बढी, कोही नराम्री, कसैको गालामा डन्डीफोर । के-के हो के-के ?
नियतमै शङ्का गर्न पर्ने पो भयो त केटाको । उसलाई केटा देखाउनुपर्ने ।
अर्को दिन फेसबुकबाट केटीले मेसेज पठाई । ऊ त बिहे गर्न तयार रैछे । पछि बिहेलाई केटीबाट तर्किएर भाग्न पर्ने भयो ।
आफ्नो घरमा यस्तै कुरा हुने भएकाले होला हरेकका अभिभावकहरू सधैँ जोडी मिलाउने खेल खेलिरहेका हुन्छन् जस्तो लाग्छ । कान्छा काकाका जेठो छोरो अमेरिकाबाट नेपाल आएको छ । बाबाआमालाई छोरो फुत्केला कि भन्ने डर छ । छोराको उमेरले बिहे गर्ने उमेरको डाँडा काट्न लागिसक्यो । कान्छा ससुराको छोरो जोगी बनेर हिँड्ला कि भन्ने पीर छ । जेठो काकाको छोरो दुइटा बच्चाको माऊसँग सल्केको छ रे । कन्याको भरपुर आवश्यकता छ । एक हैन धेरै ।
भाइलाई तेरो कोही छ भनेर सोधेँ । उसले नाक खुम्च्यायो; आफ्नै त बल्ल बल्ल भयो । अर्काको कसरी खोज्ने ?
म पनि एकपटक त सफल भएकै हो । अरू १९ चोटिको असफलता नगन्ने हो भने मेरो सफतला ठ्याक्कै १०० प्रतिशत छ ।
प्रस्ताव पनि नआउने होइन । एक-दुई केटीले मुखै फोरेर केटा खोजिदिनुपऱ्यो पनि नभनेका होइनन् । घरतर्फ, ससुरालीतर्फ कोही न कोही केटाकेटीहरू भरेभोलि भएकै हुन्छन् । उमेर पुगेर विवाह गर्न योग्य कोही न कोही हुन्छन् नै तर केटालाई केटी पाइँदैन केटीलाई केटा पाइँदैन । भएकाको चाँडै हुन्छ नहुनेको अरूले खोजिदिएको कहिले के चित्त बुझ्दैन कहिले के ?
लाग्थ्यो कन्याहरूको खडेरी छ । केटा पाउन गाह्रो छ । केटी त फालाफाल । तिमीहरूलाई भनेको जस्तो केटी खोजिदिन्छु । साथीहरूको अघि फुइँ लगाउने गर्थे । सोच्थेँ केटीहरूको जनसङ्ख्या केटाभन्दा बढी छ । आजभन्दा २० र ३० वर्ष पहिले छोरी भयो भनेर गर्भपतन गराउने चलन धेरै थियो । गर्भपतन गराउने चलन र उपकरण भर्खरै भित्रिएका थिए । सर्वसाधारणका पहुँचमा थिए । आजकाल लाग्छ त्यसले पनि छोरीहरूको सङ्ख्या घटाउन सकेको रहेनछ । फेरि छोरीहरूमा शरीरको प्रतिरोधात्मक क्षमता बढी हुन्छ । रोग लाग्ने र मृत्यु हुने सम्भावना छोराहरूको तुलनामा कम हुन्छ । वाइ क्रोमोजोमले हस्तक्षेप नगरेसम्म हरेक मान्छे छोरी नै हुन्छ ।
तर किन अविवाहित कन्या पाउन गाह्रो छ त ?
म र मेरो सासू ममीले मिलेर एक टोली बनाएका छौँ । जोडी खोजिदने । हुन त उहाँका टोलीहरू अरू पनि छन् तर मेरो चाहिँ उहाँसँग मात्र छ । हाम्रो बेला-बेलामा गहन छलफल भइरहन्छ । एक जनालाई मुर्गी बनाएर जग्गेमा बसाउन लागेका थियौँ । केटी खोज्ने उहाँ । केटा खोज्ने म । केटी त जग्गे छोडेर आफ्नो खसमसँग बाटो लागिछ । केटीका बाउआमा टीकाटालाका कुरा सम्झँदै दुःखी हुँदै थिए – “बेकारमा केटालाई सिक्री दिएको । फोकटमा गयो । भाग्नु थियो भने पहिलै भाग्नु नि” रे !
सिक्री पाएकोमा लाउनु कि बेच्नु भयो केटालाई । पछि उही सिक्री भिरेर ऊ टमटम जन्त हिँड्दै थियो । त्यही भाग्ने केटीकी बहिनी बिहे गरेछ । आजकाल लाग्छ दुई साढु भाइ कसरी कुरा गर्दा हुन् ?
मेरा साथीहरूको जागिर राम्रो छ । एक जना अमेरिकामा डाक्टरी पढ्दै छ अर्को नेपालको प्रशिद्ध कम्पनीमा काम गर्दै छ । कुनै कमी छैन केटाहरूमा । केटी खोजेको बर्सौँ भइसक्यो तर हातमा लाग्यो त्यही १०० प्रतिशत मात्र छ ।
एउटालाई केटी खोजिदिन फोटो पठाऊ भनेँ । पाएको फोटो सासू ममीलाई पठाएँ ।
“कस्तो बुढो देखिएको फोटो । अलि जवान देखिएको फोटो छैन?” भन्दै ममीले अर्को फोटो माग्नुभयो । साथीलाई यही कुरा प्रस्ट बताएँ । ऊ त उल्टो मलाई सम्झाउन लाग्यो । “अब बुढो त भइयो हौ । जे छ त्यही देखाको छ फोटाले ” रे ! मायाँ पनि लाग्यो ।
सुरुमा त सजिलै भयो उसलाई केटी खोज्न । दुइटा उसको गोत्र मिल्ने परेछन् । अर्कीको चाहिँ आमातर्फको गोत्र मिल्ने रहेछ । अर्कीको चाहिँ हजुरआमातर्फको परेछ । अभागीले भूतलाई मालिक बनाउँछ भन्थे । ग्रहमा सबैको भार बोक्न परेपछि कहिले बिहे होला र खै बिचराको ? अर्की पनि थिई मिल्ने ऊ चाहिँ उसैको अफिसमा काम गर्दी रहिछ । “भो सँगै काम गर्नेसँग के बिहे गर्नु ?” ऊ चिन्तित हुँदै भन्दै थियो । अर्को दिन को रहिछ भनेर खोज्न पनि गएछ । निकै बेरपछि घर फर्कने बेलामा केटी भेट्टाएछ । केटी त उसैका अघि आफ्नो ब्वाइफ्रेन्डसँग मोटरसाइकल चढेर “गएँ है दाइ” भन्दै जाँदै थिई रे ।
“भो अब म बिहे गर्दिनँ ।” ऊ सुनाउँदै थियो ।
अब भएन त भएन । हरेस खाएर बैठक कोठाको कुर्सीमा बसेको थिएँ, बुबा छेउमै फोनमा कुरा गर्दै हुनहुन्थ्यो । “केटी २५ र २६ कि हो । काइदा छे । पढाइ पनि डाक्टरी सकाएर काम गर्दै हो । अमेरिका जाने रहर छ रे । उतै जानका लागि पढेर बसेकी छ रे ।”
“केटा छ कि ?” उताबाट प्रश्न आयो ।
“भएको भए बा आमाले केटा खोज्दै हिँड्नुपर्थ्यो र ?” बुबा जबाफ दिँदै हुनहुन्थ्यो ।
के खोज्छस् लमी ? कुमारी ?
मेरा आँखा टाठा भए । बुबाले कहिले फोन राख्नुहोला र कुरा गरौँला भनेको फोन त राख्दै राख्नु भएन । कुरा त के-के हो के-के, सुहागरातसम्मै पुग्न लाग्यो । केटी त मैलै खोजेजस्तो तर जोडी चाहिँ फोनमै अर्कैसँग पक्का होला जस्तो । एक दिन लाग्यो बुबालाई फोन राख्न । उताको कुरा बिगारेर बल्ल-बल्ल बुबालाई मेरो साथीसँग जोडाइदिने कुरा मिलाएँ । अनेक गरेपछि केटालाई फोन गरेँ । केटीका बारेमा बताएँ ।
अर्को दिनपछि त केटो बेपत्ता । न फोन उठाउनु छ । न फोन गर्नु छ । उसलाई खोज्दै घरसम्म पनि पुगेँ । ऊ हरायो । लामो समय हरायो । भेटेपछि ऊ मलाई गाली गर्दै थियो । “त्यसको त पढ्दा नै पाँचवटा केटा रहेछ यार ।”
“के भो त ?” म भन्दै थिएँ – “उमेरमा सबैले सामान बोकेरै हिँड्छन् ।”
“साँच्चै मैले केटी नपाउने नै हो त ?” ऊ खिन्न हुँदै थियो । बिचरा !
प्रयासको अविच्छिन्न यात्रा कायम थियो । सहयोग पाइन्छ कि भनेर ममीलाई हार गुहार गरेँ, सोधेँ –“एक नेवार केटा छ बिहे गर्न ।”
“मसँग पनि एक नेवार केटा छ ।” ममीले पनि ठाडो उत्तर फर्काउनुभयो । अब केटा र केटाको भिडाउन त मिलेन । बाटामा त्यति धेरै केटीहरू भेटिन्छन् । कुनै किन समाउन सक्दैनन् केटाहरू । अचम्म लाग्छ । १० जनालाई प्रस्ताव राखेँ । एक जनाले कसो हुन्छ नभन्ली ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।