नेपाली साहित्यमा तीसको दशकमा देखिएका महिला लेखिकाहरूमा कविता, कथा, उपन्यास आदि विधामा समर्पित लेखिकाहरूमध्ये एउटा नाम हो शुभ श्रेष्ठ । उहाँको लेखन विशेष गरी कविता विधामा मात्र सीमित थियो । यद्यपि यात्रा संस्मरण पनि लेखेको पाइन्छ । जीवनको उत्तरार्द्धमा उहाँले ऐतिहासिक पात्र राजराजेश्वरीको विषयमा उपन्यास पनि लेख्नुभएको थियो तर त्यो प्रकाशन भएको थाहा भएन । आफ्ना सहयात्रीहरूमध्ये धेरैले नेपाली साहित्य लेखनमा विशिष्ट स्थान पाइसक्दा पनि उहाँ भने केही साहित्यिक रचना र केही साहित्यिक कृतिमै सीमित हुने महिला लेखिकामा पर्नुभयो । यसरी तीसको दशकदेखि नै साहित्यलेखनमा लागेको भए तापनि उहाँलाई पछिल्लो पुस्ताले त प्रायः चिन्दैनन् तर पनि आफ्ना समकालीन साहित्यिक दौँतरीहरूबीच भने राम्रै परिचित हुनुहुन्छ ।
पाल्पाको तानसेनस्थित भवगती टोलमा पिता मुक्तिप्रसाद श्रेष्ठ र माता लक्ष्मीकुमारी श्रेष्ठको कोखबाट वि.सं. २००६ साल कार्तिक २० गते जन्मनुभएको थियो शुभलक्ष्मी श्रेष्ठ । साहित्यिक नाम शुभ श्रेष्ठले परिचित सन् १९६६ सालमा जनता विद्यालय स्कुल, तानसेनबाट एसएलसी प्रवेशिका परीक्षा उत्तीर्णपश्चात् बिए र बिएड समेत गरेपछि सन् १९९५ सालमा मात्र त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा एमए स्नातकोत्तर गर्नुभयो । लामो समयपछि गरेको स्नातकोत्तर अध्ययनले उहाँलाई नेपाली भाषा साहित्यको क्षेत्रमा लाग्न अरू हौसला बढेको थियो ।
वि.सं. २०३१ सालश्रावण १ गतेदेखि पाल्पा बहुमुखी क्याम्पस, पाल्पामा अस्थायी स्टोरकिपर पदमा सेवा प्रवेश गर्नुभएको शुभ श्रेष्ठले २०३६ साल आषाढ मसान्तसम्म त्यही क्याम्पसमा काम गर्नुभयो र २०३६ साल श्रावण १ गतेदेखि कामु हेड असिस्टेन्ट पदमा कार्यरत भएपछि २०३७ साल कार्तिक १३ गतेदेखि हेड असिस्टेन्ट पदमा स्थायी हुनुभयो । २०४० साल चैत्र १३ गतेदेखि सामुदायिक चिकित्सा सहायक क्याम्पस, तानसेनबाट त्रिभुवन विश्वविद्यालयअन्तर्गतको कीर्तिपुरस्थित आर्थिक विकास तथाा प्रशासन अनुसन्धान केन्द्र (Centre for Economic Development and Administration (CEDA) मा सरुवा भएर आउनुभयो । अन्ततः यसै केन्द्रमा उनन्तीस वर्षसम्मको अटुट सेवा गरेपछि २०६९ साल कार्तिक २० गतेका दिनदेखि उप–प्रशासक पदबाट अनिवार्य अवकाश हुनुभयो । शुभ श्रेष्ठले दश वर्ष तानसेन र त्यसपछि उनन्तीस वर्ष त्रिविअन्तर्गतको आर्थिक विकास तथा प्रशासन, अनुसन्धान केन्द्र (सेडा)मा काम गर्नुभयो । लेखिका शुभ श्रेष्ठसँग मेरो पहिलो भेट पोखरामा वि.सं. २०४० सालमा पोखरामा भएको थियो । साहित्य लेखनमा लागेको झन्डै सात वर्षपछि मात्र साहित्यकारहरूसँग मेरो चिनजान र सम्पर्क बढ्न थाल्यो ।
२०३६ सालको ऐतिहासक सडक कविता क्रान्तिमा भाग लिएपछि वरिष्ठ र युवा साहित्यकारहरूसँग मेरो पनि सम्बन्ध बढ्ने क्रम सुरु भयो । भवानी घिमिरेले नेतृत्व गर्नुभएको सडक कविता क्रान्तिमा नाम सुनेका तर आफूले नदेखेका साहित्यकारहरू मोहन कोइराला, हरिभक्त कटुवालजस्ता वरिष्ठ कवि लेखक र युवा कविहरूमा अशेष मल्ल, विनोद अश्रुमाली, मिनबहादुर बिष्ट, कणाद महर्षि, लव गाउँले, गोविन्द गिरी प्रेरणा, गगन विरही, कुन्दनकुमार पन्त आदि लगायत धेरैसँग चिनजान हुने अवसर प्राप्त भयो । नेपालमा भएका विभिन्न साहित्यिक आन्दोलनहरूको विशेष महत्त्व रहेको छ । देशमा जनमतसङ्ग्रह घोषित भएपछि बहुदलप्रति नैतिक समर्थन जनाउँदै आयोजना गरिएको यस सडक कविता क्रान्तिले देशमा बहुदलीय शासन व्यवस्था स्थापनाका निम्ति महत्त्वपूर्ण योगदान दिएको थियो । बहुदलको समर्थन जनाउँदै देशैभर सडकमा कवितावाचन गरेको यो नै पहिलो कार्यक्रम थियो ।
वि.सं. २०४० साल पुष ३० गते कविशिरोमणि लेखनाथ पौड्यालको प्रथम शतवार्षिकीको कार्यक्रम पोखरामा आयोजना हुने भयो । पोखराकै युवा कवि एवम् रङ्गकर्मीहरूले स्थापना गरेको पोखरेली युवा सांस्कृतिक परिवारले त्यो कार्यक्रमको आयोजना गरेको थियो । काठमाडौँबाट उक्त कार्यक्रममा भाग लिन जानेहरूमा म पनि थिएँ । त्यो मेरो प्रथम साहित्यिक भ्रमण एवम् सहभागिता थियो । यद्यपि वि.सं. २०३८ सालमा सौरभका सम्पादक प्रदीप कोइराला र मैले पोखरा भ्रमण गरिसकेका थियौँ । त्यो हाम्रो यात्रा मनकामना, गोरखा र पोखरासम्मको थियो । त्यस बखत अहिलेको जस्तो मनकामना मन्दिरसम्म जाने केवलकार बनेको थिएन । मजुवा खैरेनीदेखि हिँडेर मनकामना मन्दिरसम्म जानुपर्दथ्यो ।
पोखरामा भएको उक्त लेखनाथ शतवार्षिकी कार्यक्रममा देशका विभिन्न जिल्लाबाट पनि साहित्यकारहरू पोखरा आउनुभएको थियो । त्यसमध्ये भैरहवाबाट बनमाली निराकार र पाल्पाको तानसेनबाट शुभ श्रेष्ठ हुनुहुन्थ्यो । कार्यक्रमको दौरान बनमाली र शुभ श्रेष्ठ लगायत अन्य पोखरेली साहित्यकारहरू सरूभक्त, तीर्थ श्रेष्ठ, विश्व शाक्य, उषा शेरचन (अहिले भट्टचन), विजय वजिमय, विनोद गौचनसँग पनि मैले चिनजान गर्ने अवसर पाएँ । तीमध्ये डम्म परेको मोटो शरीर, गोरो र हँसिलो अनुहार अनि मसिनो स्वरमा कुराकानी गर्ने शुभ श्रेष्ठको शालीन व्यक्तित्वबाट म निकै प्रभावित भएँ । तीन दिनको कार्यक्रममा उहाँसँग मेरो जेजति भलाकुसारी भयो अहिले ती सबै सम्झनामा छैनन् तर पनि पहिलो भेटमै उहाँको शालीनता र सरल व्यवहार भने अहिले पनि सम्झिरहेको छु ।
संयोगवश म पनि उहाँ सरुवा भएर आएकै सेडामा वि.सं. २०३० सालदेखि नै कार्यरत थिएँ । यो केन्द्र अनुसन्धान तथा तालिमका निम्ति देश तथा विदेशमा समेत सेडाको नामबाट चिरपरिचित र ख्यातिप्राप्तसमेत थियो । वि.सं. २०४१ सालतिर यस केन्द्रको नाममा अनुसन्धान शब्द पनि थपिएपछि यो आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्रको रूपमा रह्यो । त्रिभुवन विश्वविद्यालयका चारवटा अनुसन्धान केन्द्रमध्ये नेपालमा यो नै पहिलो अनुसन्धान तथा तालिम केन्द्र थियो । यही केन्द्रमा रहेर मैले पनि शुभ श्रेष्ठसँग उनन्तीस वर्षसम्म काम गरेँ । त्यस अवधिमा उहाँसँगै मैले पनि साहित्यलेखनमा आफूलाई निरन्तरता दिइरहेँ । बोलीचाली, लेखन र व्यवहारमा समेत अत्यन्त सरल र शालीनताकी धनी शुभ श्रेष्ठ जसलाई मैले नामले भन्दा पनि सधैँ दिदी शब्दले सम्बोधन गरिरहेँ । अन्त्यसम्ममा पनि हाम्रो यो हार्दिक सम्बन्ध यथावत् रहिरह्यो । यो लेखमा उहाँका बारे मेरो केही संस्मरणलाई शब्दमा उतार्ने कोसिस गरेको छु ।
कार्यालयमा म प्रशासन फाँटमा कार्यरत थिएँ । २०४० साल चैतको कुनै एक दिन सामुदायिक चिकित्सा सहायक क्याम्पस, तानेसनबाट एउटा पत्र आयो । त्यो पत्र सरुवाको थियो र सरुवा भएर सेडामा आउने कर्मचारीको नाम थियो शुभलक्ष्मी श्रेष्ठ । पत्र पढेपछि मलाई पोखरामा भेट भएको शुभ श्रेष्ठको सम्झना भयो तर उहाँ कहाँ काम गर्नुहुन्छ भन्ने मलाई थाहा थिएन । कतै मैले भेटेको शुभ श्रेष्ठ यिनै हुन् कि भन्ने मनमा लाग्यो ।
त्यसको केही दिनपछि कार्यालयमा म भऱ्याङ उक्लेर माथि जाँदै थिएँ एक जना महिला प्रशासन फाँट कता हो भन्दै उभिएको देखेँ । उहाँ रिसेप्सनमा सोधेर तल झर्नुभएको रहेछ । सेडाको भवन अनौठो प्रकारको छ । बाहिरबाट हेर्दा भवन भूमिगतजस्तो देखिन्छ । माथिबाट तल ओर्लिएपछि पनि भूमिगतकै आभास हुन्छ तर वास्तवमा भवन भूमिगत होइन कि त्यसको बनावट नै त्यस्तै थियो । खण्ड-खण्ड परेको तरेली भूभागलाई जस्ताको त्यस्तै राखेर त्यही तरेली पाखामा भवन निर्माण गरेको हुनाले भूमिगतजस्तो देखिएको मात्र हो । अस्ट्रियन आर्किटेक कार्ल प्रुस्च (Carl Pruscha) ले सेडा भवनको डिजाइन गरेका थिए सन् १९७० मा बनेको यो भवन नेपालमा भएका अत्याधुनिक भवनमध्ये यो पनि चर्चित भवन हो ।
प्रथमपटक त्यस भवनभित्र छिरेपछि बाहिर निस्कने बाटो खोज्दैमा हराइन्छ । भुलभुलैयाको अनुभव गर्छन् र छक्क पर्छन् हरेक नवआगन्तुक । काठमाडौँको बौद्धस्थित तारागाउँ रिसोर्टको पनि कार्ल प्रुस्चले सन् १९७१ मा डिजाइन गरेका थिए । सेडाको भवन र तारागाउँ रिसोर्ट भवनको आर्किटेक डिजाइन अत्यन्त आधुनिक थिए । आर्किटेक कार्ल प्रुस्चले सेडाको भवन डिजाइन गरेर आर्किटेकमा आफ्नो पिएचडी पूर्ण गरेका थिए । उनी विश्वका दश विशिष्ट आर्किटेकमध्येमा पर्दछन् । सेडाको भवनका बारेमा एकपटक नेपालस्थित रसियन दूतावासबाट प्रकाशित हुने सोभियत भूमिमा पनि विस्तृत विवरण प्रकाशन भएको थियो ।
मैले शुभ श्रेष्ठलाई देखेपछि नचिन्ने कुरै भएन । उहाँलाई मैले नमस्कार गरेँ र पोखरामा हाम्रो भेट भएको कुरा सम्झाएँ । त्यसपछि उहाँले आफू पाल्पाबाट सेडामा सरुवा भएर आएको कुरा सुनाउनुभयो । त्यसपछि मैले उहाँले ल्याउनुभएको सरुवाको बोधार्थ पत्र र पहिले नै सेडामा प्राप्त पत्रसहित उहाँलाई कार्यकारिणी निर्देशक प्रा.डा. गोविन्दराम अग्रवालको कोठामा लगेँ । यस प्रकार शुभ श्रेष्ठले त्यही दिन अर्थात् २०४१ साल चैत्र १३ गतेदेखि सेडाको कर्मचारी भएर लाइब्रेरी तथा डकुमेन्टेसन शाखामा काम गर्न थाल्नुभयो । सेडामा अनुसन्धान र तालीमका कार्यक्रमहरू सञ्चालन हुनेहुँदा लाइब्रेरीको विशेष महत्त्व थियो । लाइब्रेरीमा सहायक लाइब्रेरियन विष्णुलाल शाक्य प्रमुख हुनुहुन्थ्यो । काठमाडौँ लगनटोलका शाक्य निकै मिलनसार, सहयोगी र सरल हुनुहुन्थ्यो ।
शुभ श्रेष्ठ सेडामा हेड असिस्टेन्ट पदमा सरुवा भएर आएपछि हामी तीन जना हेड असिस्टेन्ट भयौँ – लक्ष्मी सिंह र म दुवै सँगसँगै हेड असिस्टेन्ट भएका थियौँ । शुभ श्रेष्ठ तानसेनबाट सेडामा सरुवा भएर आउनुको मुख्य कारण थियो कि उहाँको सबै दाजुभाइ दिदीबहिनीहरू तानसेन छोडेर काठमाडौँमा नै बसोबास गरेका थिए । फोटोपत्रकार विजय उदय पाल्पालीलाई उहाँ भाइ हो भन्नुहुन्थ्यो । उहाँको दाजु रामप्रसाद श्रेष्ठ राष्ट्रिय योजना आयोगमा उपसचिव हुनुहुन्थ्यो । उहाँ सेडाका कार्यकारिणी निर्देशक प्रा.डा. गोविन्दराम अग्रवालसँग भेट्न बेला-बेलामा आउनुहुन्थ्यो । सायद शुभ श्रेष्ठलाई सेडामा सरुवा गर्नमा दाजु रामप्रसाद श्रेष्ठले नै पहल गर्नुभएको थियो । हुन त पाल्पाका राजेन्द्रप्रसाद श्रेष्ठ पनि सेडामा कार्यरत नुहुन्थ्यो । उहाँ शुभ श्रेष्ठलाई दिदी भन्नुहुन्थ्यो ।
अभिव्यक्तिका सम्पादक नगेन्द्रराज शर्मा पहिलेदेखि नै सेडामा हुनुहुन्थ्यो । शुभ दिदी आएपछि हामी तीन जना साहित्यकार भयौँ । नगेन्द्रराज शर्मा, शुभ श्रेष्ठ अनि म । त्यसपछि उहाँका रचनाहरू पनि अभिव्यक्तिमा प्रकाशन हुन थाले । अभिव्यक्ति प्रकाशित भएपछि शर्माज्यू त्यसलाई निःशुल्क वितरण गर्नुहुन्थ्यो । सुरुको अवस्थामा अभिव्यक्तिजस्तो पत्रिकामा हाम्रो रचना प्रकाशित हुनु हाम्रा निम्ति ठूलो प्रेरणाको स्रोत थियो ।
काठमाडौँ आएपछि शुभ दिदीले पाल्पामा एउटा राष्ट्रियस्तरको साहित्यिक कार्यक्रम आयोजना गर्ने विचार गर्नुभयो । त्यसैको सिलसिलामा २०४१ साल वैशाखको एक दिन शुभ दिदी र म तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्य कवि भूपी शेरचनसँग भेट गर्न गयौँ । संयोगवश उहाँ आफ्नै कार्यकक्षमा भेटिनुभयो । हामी दुवै उहाँसँग परिचित थिएनौँ । केवल उहाँको नाम मात्र सुनेका र उहाँका कविताहरू पढेका थियौँ । उहाँको अनुमति लिएर कोठामा प्रवेश गऱ्यौँ । अपरिचित हामीलाई देखेपछि उहाँले बस्नू भन्नुभयो । हामीले आआफ्नो नाम बतायौँ । त्यसपछि शुभ दिदीले पाल्पामा साहित्यिक कार्यक्रम गर्ने बारेमा जानकारी गराउनुभयो र उक्त कार्यक्रममा प्रमुख अतिथि भइदिन भूपीलाई अनुरोध पनि गर्नुभयो । भूपी शेरचनले अत्यन्त हार्दिकताका साथ शुभ दिदीको प्रस्तावलाई स्वीकार गर्नु मात्र भएन कि प्रज्ञा-प्रतिष्ठानको तर्फबाट आफूले गर्न सक्ने सहयोगको वचन पनि दिनुभयो । त्यो दिन उहाँसँगको थोरै छलफलपछि हामी फर्कियौँ । भूपीले गर्नुभएको समर्थनमा शुभ दिदी अत्यन्त खुसी र उत्साहित हुनुभयो र मलाई भन्नुभयो गिरी, अब हाम्रो कार्यक्रम सफल हुन्छ । म यसबारे बनमाली निराकार र तानसेनका साथीहरूलाई जानकारी गराउँछु र तयारी गर्नसमेत भन्छु ।
कथाकार भागीरथी श्रेष्ठसँग शुभ दिदीले नै मेरो परिचय गराइदिनुभएको थियो । भागीरथी श्रेष्ठ तिनताक काठमाडौँको टेकुस्थित नेशल ट्रेडिङ लिमिटेडमा कार्यरत हुनुहुन्थ्यो । उहाँ नेपाली साहित्यको कथा विधामा ख्यातिप्राप्त लेखिका हुनुहुन्छ । भागीरथी श्रेष्ठले गद्यलेखनमा आफूलाई समर्पित गर्नुभयो र अहिले पनि निरन्तरता दिइरहनुभएको छ ।
अन्ततः २०४१ साल जेठ २० गते शनिवारका दिन पाल्पामा आयोजित राष्ट्रिय काविता गोष्ठी कार्यक्रमा प्राज्ञ भूपी शेरचनको प्रमुख आतिथ्यमा अत्यन्त भव्यताका साथ सम्पन्न भयो । काठमाडौँबाट उक्त गोष्ठीमा जाने साहित्यकारहरूमा तुलसी दिवस, नगेन्द्रराज शर्मा, यज्ञनिधि दाहाल, अशेष मल्ल, विश्वविमोहन श्रेष्ठ, सनत रेग्मी (नेपालगञ्ज), भागीरथी श्रेष्ठ, अनिता तुलाधर, राधेश्याम लेकाली, दिनेश अधिकारी, लब गाउँले, गोविन्द गिरी प्रेरणा, रमेश तुफान र म दिव्य गिरी लगायत अन्य धेरै साहित्यकारहरूको उपस्थिति थियो । मसँग भएको उक्त कार्यक्रममा उपस्थित साहित्यकारहरूको सामूहिक फोटोमा कुल अन्ठाउन्न जनाको उपिस्थिति छ तर सबैको नाम थाहा नभएको र फोटोमा देखिएको अनुहारलाई स्पष्ट रूपमा चिन्न नसक्दा यहाँ सबैको नाम उल्लेख गर्न सकिनँ । मुख्य आकर्षण र प्रमुख अतिथि पनि प्राज्ञ भूपी शेरचन हुनुभएको सो गोष्ठीमा सहभागी र श्रोताहरूको निकै बाक्लो उपस्थिति थियो । तानसेन बजार नै भूपीमय भएको । भूपीको कविता सुन्न लालायित श्रोताहरू यति धेरै थिए कि कार्यक्रमस्थलभित्र उभिने ठाउँसम्म पनि थिएन । सभाहलमा नअटाएपछि बाहिरै बसेर पनि कार्यक्रम सुन्नेहरूको भीड देख्दा आश्चर्य लाग्थ्यो । कार्यक्रम निकै भव्यताका साथ सम्पन्न भएको र आफूले आँटेको काम सफल भएपछि शुभ दिदी निकै प्रफुल्ल हुनुहुन्थ्यो । उहाँ पछिसम्म पनि तानेसनमा आयोजित उक्त कार्यक्रमबारे कहिलेकाहीँ चर्चा गर्नुहुन्थ्यो । तानसेनमा आयोजना भएको उक्त साहित्यिक कार्यक्रमपछि त्यति ठूलो साहित्यिक कार्यक्रम तानसेनमा फेरि भयो कि भएन म अनभिज्ञ नै छु ।
त्यसको पाँच वर्षपछि भूपी शेरचन सिकिस्त बिरामी भएर टेकु अस्पतालमा भर्ना गरिएको खबर पाएपछि शुभ दिदी र म उहाँलाई हेर्न गयौँ । त्यो वि.सं. २०४६ साल मङ्सिरतिरको कुनै दिन थियो । त्यस्तो नाजुक अवस्थामा पनि उहाँ हामीलाई देखेर खुसी हुनुभयो । उहाँलाई श्वासप्रश्वासको निकै कठिनाइ भैरहेको थियो । उहाँले आफ्नो टुक्का शैलीमै भन्नुभयो– ‘देखिहाल्नु भो, अरूले एक दिनमा फेरेको सास म एक छिनमा फेरिरहेछु ।’ उहाँलाई अक्सिजन दिइरहे पनि उहाँ छिटोछिटो सास फेरिरहनुभएको थियो । उहाँले सास फेर्दाको अवस्था आरनमा चलेको खलाँतीजस्तै थियो । त्यसतो अवस्थामा उहाँसँग धेरै बोल्नु ठीक थिएन । हामी उहाँको शीघ्र स्वास्थलाभको कामना गरी फर्कियौँ । त्यो नै उहाँसँगको हाम्रो अन्तिम भेट थियो । उहाँलाई उपचारकै निम्ति ब्याङ्कक पनि लगियो तर ब्याङ्ककको उपचारले पनि उहाँको स्वास्थमा सुधार हुन सकेन । अन्ततः त्यही वर्षको पुष महिनामा उहाँले यस संसारबाट बिदा लिनुभयो ।
साहित्यलेखनमा शुभ दिदीको अत्यन्त अभिरुचि भए पनि उहाँको लेखनगति भने सुस्त नै थियो । उहाँ रचना प्रकाशन गर्नतर्फ पनि त्यति मरिमेटेर लाग्नु हुन्नथ्यो । काठमाडौँमा हुने साहित्यिक कार्यक्रममा पनि उहाँको उपस्थिति ज्यादै न्यून हुन्थ्यो । कहिलेकाहीँ साहित्यिक पत्रपत्रिकामा उहाँका कविताहरू फाट्टफुट्ट छापिन्थे । प्रायः कविता लेखेपछि मलाई दिएर भाषिक शुद्धता गरिदिनू भन्नुहुन्थ्यो । उहाँले कवितासङ्ग्रह प्रकाशन गर्ने इच्छा गरेर सङ्ग्रहमा राख्नका निम्ति कविता छनोट गरिदिन मलाई पाण्डुलिपि दिनुभयो । सर्वप्रथम वि.सं. २०४३ सालमा उहाँको प्रथम कवितासङ्ग्रह ‘मेरो छानामाथिको नीलो आकाश’ प्रकाशित भयो । त्यसको विमोचन कार्य टेकुस्थित एउटा रेस्टुराँमा भएको थियो । चर्चित साहित्यकार पुष्पलता आचार्यसँग मेरो पहिलोपटक त्यही कार्यक्रममा परिचय भएको थियो । त्यसको एघार वर्षपछि अर्थात् वि.सं. २०५४ सालमा शुभ दिदीले दोस्रो कवितासङ्ग्रह ‘बन्द मनको पिञ्जडाभित्र’ प्रकाशित गर्नुभयो । अनि पाँच वर्षपछि २०५९ सालमा अस्मिताको खोजी नामको उपन्यास प्रकाशित गर्नुभयो । यसको अतिरिक्त उहाँले हरिद्वारको एउटा यात्रा संस्मरण पनि प्रकाशित गर्नुभयो ।
शुभ दिदी सेवाबाट अवकास भएपछि उहाँसँगको नियमित भेट छुट्ने नै भयो । पछिल्लो समयमा उहाँ राजराजेश्वरीका बारेमा ऐतिहासिक उपन्यास लेख्दै हुनुहुन्थो । त्यो लेखन उहाँ सेडामा कार्यरत रहँदा नै सुरु गर्नुभएको थियो तर आँखाका कारण त्यो लेखाइले धेरै समय लियो । सेवाबाट अवकास भएपछि मैले एकदिन उहाँसँग टेलिफोनमा कुरा गर्दा उहाँले उपन्यास लेखी सिध्याएको तर टाइप गराउन नसकेको कुरा भन्नुभयो अनि मैले उपन्यासको टाइपङ् गर्न एक जना भाइसँग उहाँको भेट गराइदिएँ । धेरैपछि मैले उपन्यास टाइपिङबारे सोधनी गर्दा ‘टाइपिङको काम सकिएको र अब भूमिका लेखाउन बाँकी छ, कसलाई लेखाउने भन्ने विचार गर्दै छु’ भन्नुहुन्थ्यो । त्यसपछि उहाँसँग मेरो पनि सम्पर्क भएन । म आफैँ श्रीमतीको उपचारमा झन्डै ६ महिना घर र अस्पताल गर्दैमा बित्यो । त्यसपछि कोरोना महामारीका कारण सम्पर्क लगभग टुटेकै अवस्थामा रह्यो ।
शुभ दिदी दुईवटा साहित्यिक संस्था– महिला साहित्यकारहरूको संस्था गुञ्जनमा सदस्य र डिल्लीरमण रेग्मी ट्रस्टको सदस्य हुनुहुन्थ्यो । हुन त उहाँ आफ्नो जन्मक्षेत्र तानसेनमा पाल्पा साहित्यिक संस्थामा पनि हुनुहुन्थ्यो ।
राजनीतिक विचारधारमा उहाँ वामपन्थी विचारको हुनुहुन्थ्यो । वि.सं. २०५९ सालमा उहाँ सेडा कर्मचारी एकाइ समितिको अध्यक्ष पनि हुनुभएको थियो ।
जागिरमा उहाँको दुईपटक मात्र पदोन्नति भयो । वि.सं. २०४७ साल कार्तिक १ गते उहाँ सहायक प्रशासक र वि.सं. २०६५ साल चैत्र ३ गते उपप्रशासक हुनुभयो । लामो समयसम्म कार्यरत रहेर पनि बेलैमा पदोन्नति नहुनुको कारण थियो कर्मचारीका निम्ति नियमति विज्ञापन नहुनु । जब त्रिविमा महेशकुमार उपाध्याय उपकुलपति नियुक्त भएपछि विडम्बना नै भन्नुपर्छ कि उहाँले त्रिभुवन विश्वविद्यालय सेवा आयोग नै खारेज गरिदिनुभयो र त्यसको ठाउँमा छनोट समिति गठन गर्नुभयो । त्यो सरासर गैरकानुनी र नियमविपरीत थियो । पञ्चायतको बेला थियो, जसले जे गरे पनि हुन्थ्यो । छनोट समितिले कर्मचारीको पदोन्नतितर्फ कुनै वास्ता नै गरेन र केवल शिक्षकहरूको भर्ना, नियुक्ति र पदोन्नतितिर मात्र ध्यान केन्द्रित गऱ्यो । फलस्वरूप वरिष्ठ कर्मचारीहरू पनि एउटै पदमा बर्सौँवर्षसम्म रहन बाध्य हुनुपऱ्यो । छनोट समितिले आफ्ना मान्छेहरूका निम्ति मात्र योग्यता कायम गरेर विज्ञापन गर्दथ्यो । त्यो स्वेच्छाचारी प्रवृत्तिले योग्य मानिसहरूले त्रिवि सेवामा प्रवेश पाउन सकेनन् । कर्मचारीको पदोन्नतिका निम्ति समय समयमा विज्ञापन नहुँदाको क्षति शुभ दिदीले पनि बेहोर्नुपरेको थियो । स्नातक भएर पनि असिस्टेन्टकै पदमा लामो समयसम्म झुन्डिरहनुपरेको थियो ।
जब २०४६ सालको राजनीतिक परिवर्तन आयो तब त्रिविका सम्पूर्ण कर्मचारीहरूले आफूलाई परेको अन्यायको विरुद्ध आवाज उठाए । फलस्वरूप एक वर्ष अस्थायी सेवा गरिसकेका कर्मचारी र दश वर्षसम्म एउटै पदमा कार्यरत कर्मचारीहरूको एक तह माथिल्लो पदमा स्वतः पदोन्नति हुने भयो । हामी सेडामा कार्यरत तीन जना हेड असिस्टेन्टहरू लक्ष्मी सिंह, शुभलक्ष्मी श्रेष्ठ र म स्वयम् दिव्य गिरी, जो १७ वर्षदेखि एउटै पदमा कार्यरत थियौँ, स्वतः एक तह पदोन्नति पाएर २०४७ साल कार्तिक १ गतेदेखि सहायक प्रशासक भयौँ । हाम्रा निम्ति यो त्यति खुसीको कुरा थिएन किनकि हामीभन्दा सात वर्ष कनिष्ठ कर्मचारी पनि हामीसरह नै पदोन्नति भएका थिए । कम्तीमा पनि दुईपटक पदोन्नति हुनुपर्ने हामीहरू एउटै पदोन्नतिमा चित्त बुझाउन बाध्य भयौँ । त्यसपछि २०६३ सालको राजनीतिक उथलपुल भएपछि फेरि एकपटक हाम्रो स्वतः पदोन्नति भयो र २०६५ साल चैत्र १३ गतेदेखि उपप्रशासक भयौँ । यो हामीहरू दीर्घसेवा कर्मीका निम्ति त्यति न्यायोचित थिएन । राजनीतिक सङ्गठनमा आबद्ध भएर कर्मचारी सङ्गठगनमा लागेकाहरू कर्मचारी कम र बढी राजनीतिक कार्यकर्ता भएपछि उनीहरूको भने प्रत्येक पाँच-पाँच वर्षमा पदोन्नति भएर प्रशासनको उच्च तहमा पुगे । हामीभन्दा दश वर्ष असिस्टेन्टमा प्रवेश गरेको व्यक्ति राजनीतिक कार्यकर्ता भएकै भरमा प्रत्येक पाँच वर्षमा पदोन्नति लिएर प्रशासक हुँदा पनि हामी भने केवल दुई पदोन्नतिमा चित्त बुझाएर बस्नुपरेको यो सत्य यहाँ मैले उल्लेख गरेको हुँ किनकि पीडित हुनेमा शुभ दिदी पनि एक हो । एमए पास व्यक्ति अयोग्य तर छिमेकी देशबाट प्रमाणपत्र किनेर ल्याउने व्यक्ति योग्य हुने परिपाटिले त्रि.वि. आक्रान्त छ अहिले पनि । आफैँले काम गरेको संस्थाको विकृतिविरुद्ध यस प्रकारको धारणा व्यक्त गर्न बाध्य हुनुपर्दो रहेछ ।
यसैबीच नेपालमा पनि कोरोना महामारी फैलिएपछि २०७६ साल चैत्र ११ गतेदेखि लकडाउन भयो । सबैले घरबन्दी भएर बस्नुपऱ्यो । शुभ दिदीसँग फोनमा पनि सम्पर्क गर्दा मधुमेहका कारण आँखाको दृश्यशक्ति एकदम कमजोर भएकाले बाहिर निस्कन मुस्किल भएको कुरा सुनाउनुहुन्थ्यो । मधुमेहकै कारणले दिनानुदिन उहाँ शारिरीक रूपमा अस्वस्थ हुँदै जानुभयो । उहाँसँग सम्पर्क पनि सहज थिएन । घरमा फोन उठ्थेन । उहाँको मोबाइल पनि प्रायः लाग्दैनथ्यो ।
तानेसनको सम्पन्न नेवार परिवारमा जन्मिएर पनि शुभ दिदीको जीवन सुखमय हुन सकेन । जीवनको झन्डै आधा शताब्दी पार गर्न लागेपछि उहाँ वैवाहिक जीवनमा प्रवेश गर्नुभयो । त्रिचन्द्र क्याम्पसको इतिहासका अवकाशप्राप्त प्राध्यापक देवीलाल श्रेष्ठसँग वि.सं. २०५०/५१ सालतिर उहाँको विवाह भयो त्यो पनि तेस्रो पत्नीका रूपमा । देवीलाल श्रेष्ठको पहिलो पत्नीबाट एक छोरा र छोरीहरू थिए । देवीलाल श्रेष्ठ सहिद गङ्गालाल श्रेष्ठको परिवारसँग सम्बन्धित हुनुहुन्थ्यो । शुभ श्रेष्ठसँग विवाह गर्दाको समयमा उहाँ डम्म परेको शरीर, ठूलो निधार, ठूलाठूला आँखा र निकै हृष्टपुष्ट हुनुहुन्थ्यो तर विधिको विधान त्यस्तै रहेछ र २०५७ साल फाल्गुन २ गते उहाँको असामयिक निधन भयो । विवाह गरेको ५/६ वर्ष पछि नै शुभ दिदी पुनः एकल जीवनमा फर्किन बाध्य हुनुभयो । विडम्बना नै भनूँ– जीवनमा पाएको एउटा सहारा पनि गुमाउनुपरेपछि शुभ दिदीमा निकै निराशा देखिन्थ्यो । मुखले नभने पनि त्यो पीडा उहाँको अनुहारले बताउँथ्यो ।
जीवनमा एक्लो हुनुपर्दाको पीडाले उहाँलाई निकै विक्षिप्त पारेको थियो । बिस्तारै उहाँमा निराशा बढ्दै गयो तर पनि जीवनलाई जसरीतसरी भए पनि गतिशील बनाउनै पर्थ्यो । एकल जीवन उहाँका निम्ति अरू पीडादायक र चुनौतीपूर्ण हुँदै गयो । पतिको निधनपछि शुभ दिदीले दुःखका दिनहरूको सामना गर्नुपऱ्यो । सौतेनी मामला थियो, घरपरिवारबाट तिरस्कारभन्दा अरू केही थिएन । उहाँ बेला-बेलामा मसँग आफ्ना पीडा व्यक्त गर्नुहुन्थ्यो । आफूले परिवारलाई सहयोग गर्दागर्दै पनि त्यसअनुरूपको व्यवहार नपाएकोमा गुनासो गर्नुहुन्थ्यो । एकातिर मधुमेहको रोगी र वृद्धावस्थातिर ढल्किँदै गएको शरीर अर्कातर्फ बुढेसकालमा पाएको सहारा पनि छुटेपछि उहाँमा निराशा बढ्दै जानु स्वाभाविकै थियो । उहाँको कुरा गराइ र दुःख पोखाइबाट सहजै अनुमान गर्न सकिन्थ्यो कि उहाँ आफैँभित्रको मानसिक द्वन्द्वबाट गुज्रिरहनुभएको छ भनेर ।
पढाइमा पनि उहाँको रुचि निकै थियो । पछिल्लो समयमा उहाँले कार्यालयबाट वि.सं. २०४९ साल श्रावण १४ गतेदेखि दुई वर्षको अध्ययन बिदाको सुविधा लिएर कीर्तिपुरस्थित नेपाली विभागबाट नेपाली विषयमा एमएको पढाइ पूरा गर्नुभयो । कीर्तिपुरमा एमए पढाइकै क्रममा उहाँ आफ्नै सहपाठी एउटा ठगको फेला पर्नुभएछ । जसले उहाँलाई अनेक सपना र लोभ देखाएर फकाएछ अनि अन्त्यमा ठगेर छोडिदिएछ । यो कुरा शुभ दिदीले आफैँभित्र गोप्य राखे पनि उहाँका निकट महिला मित्रलाई त्यसबारे थाहा नहुने कुनै भएन । अब ठग, फटाहा र धोकेबाज विद्यार्थीले आफैँसँग पढ्ने एउटी नारीलाई ठगेको प्रमाण त पेस गर्न सकिन्न । ठगसँग कसको के लाग्छ ? ठगेको प्रमाण सायदै हुन्छ ।
काठमाडौँमै घर बनाएर बस्ने सपना थियो उहाँमा पनि । त्यसैले विवाहभन्दा धेरै पहिले काठमाडौँको बाँसवारी, हात्तीगौँडातिर एक टुक्रा घडेरी किनेको कुरा भन्नुभएको थियो तर विवाहपश्चात् उहाँलाई घरको आवश्यकता परेन । काठमाडौँको नरदेवीमा पतिको घर छँदै थियो । पछि उहाँले त्यो जग्गा बेचेर पैसा बैङ्कमा मुद्दती खातामा राखेको र पछिल्लो समयमा केही दिन उहाँ वृद्धाश्रममा पनि बस्नुभएको कुरा सुन्नमा आएको थियो ।
शुभ दिदीको संस्मरण लेख्दालेख्दै केही कुरा सन्दर्भभन्दा बाहिरको पनि लेख्न बाध्य हुनुपरेको छ । यसको खास कारण हो शुभ दिदी र म एउटै कार्यालयमा २९ वर्षसम्म सँगै काम गरेर बसियो । कार्यालयको कामप्रति सधैँ इमानदार र कर्तव्यनिष्ठ भएर लागियो । कामचोर कर्मचारी कहिले भइएन । शुभ दिदीले झन्डै नौ जना कार्यकारिणी निर्देशकको कार्यकाल इमान्दारितापूर्वक बिताउनुभयो भने मैले बाह्रभन्दा बढी कार्यकारिणी निर्देशकसँग काम गरेँ । अहिले खुसी लाग्छ कि सबै हाकिमहरूसँग हामी दुवैको सौहार्द र सुमधुर सम्बन्ध थियो । आफ्नो कामबाट सन्तुष्ट नै पारिएको थियो । यद्यपि कामचोर प्रवृत्तिका कर्मचारी पनि नभएका होइनन् तर तिनीहरू हाकिमको चाकडीकै भरमा साखिलो बन्थे ।
पुस्तैनी रोग मधुमेहले शुभ दिदीलाई जीवनभर सताइरह्यो । मधुमेहको कारण आँखामा असर गर्दै गयो । पढ्न लेख्नमा कठिनाइ हुँदै गयो । साहित्य सिर्जनामा चाहेर पनि लाग्न सक्नु भएन । पति देवीलालको निधनपछि उहाँ एकपटक निकै बिरामी हुनुभयो । चाबहिलस्थित मेडिकेयर अस्पतालमा उपचाररत रहँदा हामी कार्यालयका केही साथी उहाँलाई हेर्न गएका थियौँ । अस्पतालमा उहाँको हेरविचार गर्न उहाँकी भाउजू अर्थात् रामप्रसाद श्रेष्ठकी पत्नी हुनुहुन्थ्यो । रामप्रसाद श्रेष्ठको पनि मधुमेहकै कारण केही वर्ष पहिले निधन भैसकेको थियो । दाजुभाइ र दिदीबहिनीहरू समेतको ठूलो परिवार भएर पनि उहाँले एक्लो जीवन व्यतीत गरिरहनुपरेको थियो । त्यसमा पनि बिरामी भएपछि अझ बढी दुःख पाउनु झन् कष्टपूर्ण थियो ।
अस्पतालबाट फर्किएपछि उहाँको शरीर पहिलेको भन्दा अझ कमजोर देखिन्थ्यो । मोटोघाटो शरीर मधुमेहले गालेर पातलो भैसकेको थियो । आँखाको दृश्यशक्ति कमजोर भएपछि चाहेको काम गर्न पनि कठिनाइ थियो । जागिरका बाँकी केही वर्ष जसोतसो बिताउनु नै थियो । वि.सं. २०६३ सालको राजनीतिक उथलपुथलपश्चात् कार्यालयमा पनि खासै काम थिएन । अनुसन्धान र तालिम कार्यक्रम एक किसिमले थिएन भने पनि हुन्थ्यो । कार्यालयमा पनि शिक्षक र कर्मचारीहरू धमाधम अवकास हुँदै गएका थिए । शिक्षक कर्मचारीको सङ्ख्या पनि दिनानुदिन घट्दै गएको थियो । कार्यालयमा पहिले-पहिलेजस्तो चहलपहल र रौनक छँदै थिएन । कार्यालयमा उपस्थित हुनुभनेको केवल हाजिरी जनाउनुजस्तो मात्र थियो ।
व्यक्तिगत आचरणको कुरा गर्ने हो भने शुभ दिदी निकै मिलनसार र मृदुभाषी हुनुहुन्थ्यो । कार्यालयको आफ्नो जिम्मेवारीप्रति बफादार र इमानदार हुनुका साथै कर्तव्यनिष्ठ पनि । यति हुँदाहुँदै पनि सेवाकालको अन्तिम कालखण्डमा शुभ दिदीले कार्यालयमा त्यति सहजताका साथ काम गर्न पाउनु भएन । सेडाको लाइब्रेरी प्रमुख इन्दिरा दली (चापागाईँ) सेवाबाट अनिवार्य अवकाश भएपछि शाखाप्रमुखको कार्यभार उहाँको जिम्मेवारीमा आयो । लाइब्रेरीमा अन्य दुई जना सहायक कर्मचारी थिए । एक जना करार सेवामा धेरै वर्षदेखि कार्यरत हुनुहुन्थ्यो तर स्थायी हुन नसकेको असन्तुष्टिका कारण कार्यालयमा त्यति मन लगाएर काम नगर्ने र अर्को माओवादी बनेर जागिर खान आएको कर्मचारी पनि मनलागी गरेर हिँड्थ्यो । शाखामा नै बस्दैनथ्यो । हाजिर गरेर हिँडिहाल्थ्यो । आफूभन्दा माथिल्लो तहका कर्मचारीको पदीय मर्यादाको पालना गर्नुपर्छ भन्ने कुराको ज्ञान उसमा शून्य थियो । यतिसम्म कि ऊ माओवादीको धाक लगाएर शुभ दिदीलाई हप्काउँथ्यो । शाखाको कुनै पनि काम गर्दैनथ्यो । अलि-अलि बहुलापन पनि देखाउँथ्यो । कोही-कोही भन्ने पनि गर्थे— यो त खुस्केट हो । हुँदा-हुँदा एकदिन यतिसम्म गरेछ कि हुर्किसकेको आरुको बोटलाई हँसियाले फेदैसम्म काटिदिएछ । शुभ दिदी उसको त्यस्तो हर्कतबाट हैरान हुनुहुन्थ्यो तर हाकिम उसको विरुद्धको कुरै सुन्दैनथे । कार्यालयका हाकिम पनि माओवादी थिए । साँच्चै भन्नुपर्दा शुभ दिदी कार्यालयमा कोहीबाट पीडित हुनुभयो भने त्यही सिल्ली कर्मचारीबाट हुनुभयो । अन्ततः वि.सं. २०६९ साल कार्तिक २० गतेदेखि उहाँ त्रिवि सेवाबाट अनिवार्य अवकाश हुनुभयो ।
उहाँ सेवाबाट अवकाशप्राप्त भएपछि नितान्त एक्लो र निराश जीवन बिताउन बाध्य हुनुभयो । साथीभाइ र आफन्तहरूको सम्पर्क घट्दै जानु र रोगले च्याप्दै जानु कष्टमय हुने नै भयो । जीवन कसैको पनि स्थायी छैन र हुँदैन पनि । यो संसारमा आएपछि एक दिन सबैले जानु नै पर्दछ । यो सांसारिक नियमबाट साहित्यकार शुभ श्रेष्ठ पनि अछुतो रहन पाउनुभएन । अन्ततः २०७७ साल भाद्र ४ गते बिहीवारका दिन एकहत्तर वर्षको उमेरमा उहाँले पनि यस संसारबाट सदाका निम्ति बिदा लिनुभएको खबर साहित्यकार बनमाली निराकारले सामाजिक सञ्जालमा प्रेषित गरेपछि मैले थाहा पाएँ । एउटै कार्यालयमा जीवनको झन्डै तीन दशक उहाँसँग मैले बिताएको थिएँ । उहाँको अवसानको खबर थाहा पाएपछि दुःख लाग्नु स्वाभाविकै थियो अनि श्रद्धाञ्जलिका दुई चार शब्दहरू सामाजिक सञ्जालमा लेखिदिएँ ।
यही २०७८ साल भाद्र ४ गतेका दिन शुभ दिदीको प्रथम पुण्यतिथिको अवसरमा उहाँको अमरात्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।