हो रहेछ, कुर्न पनि जान्नुपर्दो रहेछ । सोचेजस्तो हुने पनि रहेछ, नहुने पनि । मेल र बेमेलको यात्रा रहेछ जिन्दगी भनेको । थाहा पाउने काम र समयले बताउने धेरै रहेछ । मात्र थाहा पाउन सक्ने र नसक्ने कुरा हो । बाँच्ने जीवन नै हो । जे भए पनि जहाँ पुगे पनि आफैँले । त्यही बनाउँदो रहेछ समय र सन्दर्भले । उकालीओराली मात्र हुन् जीवनयात्राका ।

राणाशासनका दिन पढ्दा खुसी हुने कोही नहोलान् । शासन थियो डर लाग्दो । शासक थिए अँध्यारा । रहर, आवेग र उर्दीमा चल्ने । परिवार वंशमै सीमित । जन्मैले, जातैले शासन र सुविधा पाउने । सम्पन्नमा जन्म । असी जना त नोकरचाकर मात्र । बाउ कर्णेल, दाजुहरू मेजर र कप्तान । डायमन्ड भने लप्टन ।

भएर पनि भए विरोधमा उत्रने त्यही वंशका । होलान् धेरै-धेरै यस मामलामा अरू पनि । समाज र साहित्यको संसारले चिन्ने भनेको डायमन्ड शमशेर नै हो प्रजातन्त्रका लागि लड्ने, जेल जाने, यातना सहने र ज्यान सजाय नै पाउने । बाजे पाल्पाका गभर्नर बाउ सेनाका कर्णेल ।

डायमन्ड शमशेर राणा

डायमन्ड शमशेर राणा भएर राणा शासनका विरुद्ध कमर कसेर लाग्नुभो, लेख्नुभो । सिर्जना संसारमा अग्रपङ्क्तिमा देखिने ऐतिहासिक उपन्यासकार बन्नुभो र पर्याय बन्नुभो ‘वसन्ती’ र ‘सेतोबाघ’को ।

कालोकालो वर्ण, ठूलो निधार, आँखामा पावरको चस्मा, सर्टमाथि हुने टाइ, लामो कोट, कोटको माथिल्लो बगलीमा देखिने सेतो रुमाल, हातमा लठ्ठी । देख्ने जतिले चिन्थे खानदानी परिवारको मान्छे भनेर । सरल व्यक्तित्व, शालीन व्यवहार । भेटेपछि नजिकको बन्न र बनाउनसक्ने । कहिल्यै नदेखिने बाउसाब व्यवहार । नाम अङ्ग्रेजीमा भए पनि हीरा नै हो नेपालीमा । हुनसम्मको बहुमूल्य वस्तु । सबैका लागि र सधैँका लागि काम लाग्ने । डायमन्ड शमशेरजस्तै । नामजस्तै जीवन । जीवनजस्तै लेखन ।

आउन त आए पाँच थान उपन्यास उहाँको । प्रतिबद्ध, सत्प्रयास, अनिता, धनको धब्बा र गृहप्रवेश उपन्यासकै रूपमा । भए पनि ‘सेतोबाघ नै बन्यो डायमन्ड शमशेरलाई चिनाउने र चिन्ने । पर्याय नै भए एकअर्काका । नाम मात्रको बनेको ‘वसन्ती’ लाई चर्चामा ल्याउने । व्यापक बनाउने पनि सेतोबाघले नै ।

प्रस्ट भन्नुभएको थियो बासाठीको मधुपर्कमा – ‘यो आर्थिक कारणले गर्दा भएको हो । मैले कुनै किताब लेखेको थाहा पाउनासाथ प्रकाशकहरू पैसा दिन आइहाल्छन् । आफूलाई खाँचो हुने भएकाले हतार-हतार लेखेर सिध्याइदिन्छु अनि कहाँबाट राम्रो हुन्छ त ? सेतो बाघ लेख्दा त जेलको जेलै भएकाले धेरैपटक सुधार गरेर छ वर्ष लगाइयो । अहिले तीन-चार महिनामा लेखेपछि के हुन्छ त ?’

श्रीओम श्रेष्ठ ‘रोदन’

राणाको वैभव बिर्सनुभयो । राणाकै विरोध गर्नुभयो । राणाशासनविरुद्धको पहिलो आन्दोलनमा अगुवाइ गर्नुभयो । असनबाट कमलाक्षी निस्कने क्रमा । पक्राउ पर्नुभयो । धन्य प्रजातन्त्र आइहाल्यो र छुट्नुभो । ज्यान नै रहने थिएन नत्र । राणा शासन त अन्त भो । फरक केही भएन । सिंहदरवारको शक्ति राजदरवार सर्‍यो । त्यसको पनि विरोधमा उत्रनुभयो । पक्राउ परेर छ वर्ष कोचिनुभयो नखु जेलमा तेइस सालसम्म ।

नखु जेलले जन्मायो ‘सेतो बाघ’ लाई । बाहिर निस्केपछि छाप्नलाई पुग्नुभो साझा प्रकाशन । कुरो मिल्यो । पाण्डुलिपि नै किन्यो साझाले । राखिदियो नाम ‘सेतो बाघ’ त्यहीँको पन्त हाकिमले । ‘दूरबिनभित्रको नेपाल’ नाम थियो पहिले ‘सेतो बाघ’को । अञ्चलाधीसकहाँबाट स्वीकृति लिन झमेला भो । आँट्न सकेन छाप्न साझाले । फिर्ता गर्‍यो पाण्डुलिपि तर फिर्ता गर्न सक्नुभएन लिइसकेको रोयल्टी । दालभातमा पचिसकेको थियो त्यो ।

दश वर्षपछि रत्न पुस्तकले आँटेर छाप्यो । हाताहातको बिक्रीले मजाले नाफा कमायो । साझाले पहिले किनिसकेको भए पनि फेरि स्वीकृति माग्यो रोयल्टी दिने गरी । कृति एउटै प्रकाशन दुई ठाउँबाट । कृति एउटै लेखकस्व दुई ठाउँबाट । दुई वटा कीर्तिमान् कायम गर्‍यो यहीँबाट ‘सेतो बाघ’ले ।

बाघैजस्तो बनायो ‘सेतो बाघ’ले डायमन्ड शमशेरलाई । कृतिचर्चाले देशको सीमा नाघ्यो त्यसपछि । भारत, अमेरिका र फ्रान्स पुग्यो । जर्मनी, जापान र कोरिया पनि पुग्यो । त्यहीँ-त्यहीँको भाषामा अनुवाद भए,  छापिए । हेर्दाहेर्दै डायमन्ड शमशेर अन्ताराष्ट्रिय लेखक बन्नुभो ।

अर्को कीर्तिमान् कायम गर्‍यो फेरि धेरै भाषामा छापिनेको । लेखकस्व पाउनेमा पनि कीर्तिमान् नै कायम भो । देशबाट र विदेशबाट धेरै पाउनेमा । वर्षको तीन-चार लाख खुरुखुरु आउँथ्यो त्यस बेला । सपनामा पनि नदेख्ने बेला थियो नेपाली लेखकले । सत्य सिद्ध भो डायमन्डका लागि । कृतिकै भरमा सगौरव बाँच्ने नेपाली लेखक । गौरव देशकै हो,  नेपाली साहित्यको, लेखकको । कहाँ बन्न सकेको छ र संस्कार हामीकहाँ ?

मैले यति पाएँ उति पाएँ भनेर हल्ला सुख लिने धेरै छन् अहिले । पाएरै जीवन चलाउने एकै हुनुभयो त्यस बेला । नोबेल पुरस्कारका लागि जाने पहिलो नेपाली कृति पनि ‘सेतो बाघ’ नै बन्यो सन् सातमा । सिनेमा पनि ‘सेतो बाघ’ कै बन्यो । पच्चीस वर्षदेखि ओझेल परिरहेको ‘वसन्ती’ लाई चर्चित बनाउने काम पनि ‘सेतो बाघ’ ले नै गर्‍यो । बेलायत, फ्रान्स, जर्मन, पोर्चुगल,थाइल्यान्ड र भारत घुमाउने काम पनि ‘सेतो बाघ’ ले नै गर्‍यो ।

कीर्तिमान् नै कीर्तिमान्‌को कृति बन्यो ‘सेतो बाघ’ । उपन्यास विधालाई नै उठाउने पनि ‘सेतो बाघ’ । परिचय, प्रतिष्ठा, पैसा दिलाउने पनि ‘सेतो बाघ’ । विदेश घुमाउने, सम्मान दिलाउने पनि ‘सेतो बाघ ’ नै ।

उपलब्धि नै उपलब्धि कमाउने ‘सेतो बाघ’लाई सम्झदा नखु जेल र जेलरलाई पनि बिर्सनु हुँदैन । जेलबाट निस्कँदा छोडिदिनुभएको रहेछ त्यहीँ नै ।

‘जेलमा लेखिएका पुस्तक निकै चर्चित भएका छन् । कतै तपाईँको पुस्तकको पनि चर्चा हुन्छ कि ? ’ लैजानुस् भनेर दिने जेलरको गुन सानो गुन होइन ।

पाल्पाको तानसेनमा जन्मनुभएको थियो असार छब्बीस गते उन्नाईस सय पचहत्तरको । बाँच्नुभो भौतिक रूपमा त्रियानब्बे वर्ष । सकुन्जेल सधैँको फुर्तिलो बन्नुभो । ‘सेतो बाघ’जस्तै । हीराजस्तै ।

ललितपुरको ज्वागलमा थियो छोरीको घर । त्यहीँ बस्नुहुन्थ्यो र बिसाउनुभयो आफूलाई फागुन बीस गते सत्सठ्ठी सालमा । राजनीति गरेर, जेल भोगेर, त्याग गरेर, उपन्यास लेखेर जीवनभरि चर्चा पाउनुभयो । मृत्युमा भने राजनीतिज्ञकै कारण ओझेल पर्नुभयो । त्यही दिन भएको थियो मृत्यु कृष्णप्रसाद भट्टराईको पनि ।

‘वसन्ती’ को व्यथा पनि कमको छैन । राणाको क्रूर शासन चलिरहेको थियो त्यति बेला ।  किताब छाप्न सजिलो थिएन कसैलाई पनि । राणाकै विरोधमा राणाकै किताब कसरी छापिन्थ्यो र ? आँट पनि हदैसम्मको हो डायमन्डको । लेखिसकेको त तीन सालमा नै थियो । स्वीकृति पाउने कुरै भएन । उल्टै हरि शमशेरले बोलाएरै भनेका थिए –‘अहिले चेतना नभएर पो दुई-चार जनाले सलाम गर्छन् । चेतना भयो भने तँलाई भुत्राले टेर्छन् ?’

 

त्यत्रो आँटले लेखेको किताब राखिछोड्ने कुरै भएन । नामैले हीरा मान्छे । किन चुप लागेर बस्नुहुन्थ्यो र ? थरले राणाभन्दा बढी लेखक राणा बन्नुभएको थियो । ‘वसन्ती’ बाहिर नल्याउनन्जेल बस्न सक्नुभएन चुप लागेर । पीडा नै भयो प्रसवको । निहुँ बनाउनुभयो बनारस जाने । डाक्टरको कागज बनाउनुभयो घाँटीको अप्रेसनको । स्वीकृति पाउनुभयो उपचार गर्न जाने । वनारस पुगेर छाप्नुभयो ‘वसन्ती’ ।

दुःखैदुःखले जन्माएको भए पनि ‘वसन्ती’ ले कुनै बहार ल्याउन सकेन । न पाठक,  न पैसा, न चर्चा नै । पच्चीस वर्षमा दश-बाह्रवटा बिकेकोलाई  के भन्नु ? औचित्य साबित गर्नै सकेन ‘वसन्ती’ले । परिणाम नदिएको ‘वसन्ती’ ले हुन सम्मको निराश बनायो डायमन्डलाई ।

सोच्न पनि सकिरहेको थिएनन् अब के गर्ने भनेर । रत्नप्रसाद आइपुगे रत्न पुस्तकबाट दोस्रो संस्करण छाप्ने भन्दै । निराश बनाएको उपन्यास छाप्छु भनेर आउँदा खुसीले सीमा नाघेको थियो । नकिनेको चिठ्ठा परेजस्तै लाग्यो उहाँलाई ।

चार रुपियाँ मोल राखेर निकाल्यो ‘वसन्ती’ फेरि । पच्चीस सालतिरको कुरा होला । फेरि पनि चलहल गर्न सकेन‘वसन्ती’ले । पहिलेजस्तै यथास्थानमा । गुन्न थाल्यो फेरि डायमन्ड नबिकेर थन्किएको उपन्यासलाई किन निकालेको होला ?

झुक्किएर नै छापेका रहेछन् रत्नप्रसाद । ‘वसन्ती’ नै हो तर अर्कै ‘वसन्ती’ ठानेर । नेपाल विद्यापीठले सञ्चालन गरेको एसएलसीसरहको मान्यता पाउने परीक्षा थियो । त्यही परीक्षाको पाठ्यक्रममा रहेछ ‘वसन्ती’ कवितासङ्ग्रह तर महाकवि देवकोटाको । नाफा गर्न खोज्दो पार्नु पार्‍यो घाटा रत्न पुस्तकलाई । भन्दै पनि हिँडेछन् रत्नप्रसादले,  डायमन्डको ‘वसन्ती’ ले डुबाउनु डुबायो मलाई । बाहिर निकालेछन् पेटीमा ‘वसन्ती’ लाई र बेचेछन् आधा मूल्यमा । नबिक्ने किताबको लहरमा ।

दुःखभित्र नै हुन्छ सुखको ज्योति भनेजस्तै भयो पछि गएर । ‘सेतो बाघ’ बाहिर आएपछि आफूमात्र गर्जेन । गुप्त बसिरहेको ‘वसन्ती’लाई पनि बाहिर ल्याइदियो । जुरुक्कै उचालेर सबैका आँखामा पारिदियो । पाठक पनि विवेकले होइन हल्लाले बढ्छ भन्ने सिद्ध गराइदियो । त्यही प्रमाणित गरिदियो ‘वसन्ती’ले । चासो हुन थालेपछि चर्चा हुन थाल्यो । बिक्न थाल्यो भटाभट । बनारसको विश्वविद्यालयको पाठ्यक्रममा नै पर्‍यो । बङ्गालको विश्वविद्यालयले पनि पत्यायो ‘वसन्ती’लाई । चलचित्र बन्यो नेपालीमा । हल्ला भएपछि नै कानहरू पनि ठाडा हुँदा रहेछन् । राम्रोलाई राम्रो बनाउन पनि चाहिने रहेछ हल्ला नै ।

बत्तीमुनिको अँध्यारो भनेजस्तै बन्नुपर्‍यो डायमन्ड शमशेर । न मूल्याङ्कन न सम्मान नै । न पुरस्कारले न पाठ्यक्रमले । नामले हीरा भए पनि विदेशमा चम्कियो देशमा देखिएन । भनौँ,  चम्केको देखेनन् देख्नुपर्नेहरूले । देशबाहिर पुग्यो, सात समुद्रपारि पनि पुग्यो । आफैँ बसेको धर्तीमा भने खोजखबर नै भएन । प्रतिभा पुरस्कार दिएको थियो एकपटक । तीस जनाको हुलमा सरकारले । न पुरस्कार न मूल्याङ्कन कीर्तिमानी साहित्यकारको । साठीको दशकसम्मको सन्दर्भ हो यो ।

नचाहेको पक्कै होइन होला । भए पनि असन्तुष्टि कहिल्यै देखाउनुभएन । गुनासो पनि सुनिएन कहिल्यै । सधैँ देखिनुहुन्थ्यो हँसिलो मुहारमा । व्यक्तित्व वरिष्ठको भए पनि हात मिलाएर स्वागत गर्नुहुन्थ्यो । सोखिन हुनुहुन्थ्यो खानपिनमा । पिनमा अझ बढी ।

ज्वागलमा बस्ने उहाँ झम्सिखेलमा म । पैदलमा पनि पन्ध्र मिनेट । साथी भन्नुहुन्थ्यो मलाई । निकटतम छिमेकी हुनुहुन्थ्यो डा. केदार कर्माचार्य । बुढ्यौलीका मित्र । भेट हुने दिनका दिन र छिनका छिन पनि । अलिअलि हिँड्ने र धेरै गफिने । पिउने सँगसँगै । निकट भएँ दुवै जनासँग । अनौठा लाग्ने अनुभवहरू सुनेँ कतिकति । कुरा गर्नुहुन्थ्यो दुवै जना म सँगसँगै हुँदा र नहुँदा पनि । एकअर्काका रमाइला कुरा,  चित्त नबुझेका पनि कुरा ।

नजिकै हुनुहुन्छ आउनुस् न कहिलेकहीँ साँझमा साथी । फोन गरेर गर्नुहुन्थ्यो । पुग्थेँ कहिलेकहीँ । कतिपटक डा.कर्माचार्यसहित तीन जना र कतिपटक हामी मात्र । विशेष केही हुन्थेन । हल्का स्न्याक्स र एक दुई पेग । त्यसपछिको रमाइलो हुन्थ्यो संस्मरण सुन्न ।

प्रमुख अतिथि बनाएर धेरै कार्यक्रम गर्‍यौँ । साँझका कार्यक्रम, काठमाडौँबाहिर तर नजिकैका । एकपटक भने जम्माजम्मी पाँच जनामा पनि प्रमुखअतिथि बनायौँ विमोचनको । बैसठ्ठीत्रिसठ्ठीको आन्दोलन उत्कर्षमा थियो । कर्फ्यु खोलेपछि साँझ डा. केदार कर्माचार्यको घरमा । कृष्णचन्द्रसिंह प्रधानलाई लिएर शशी भण्डारी र म पुग्यौँ । विचलन उपन्यास शशी भण्डारीको । प्रकाशक सारांश नेपाल र म अध्यक्ष त्यसको । विदेश जाँदै थिएँ केही महिनाका लागि चार दिनपछि । जसरी पनि गरौँ भन्ने नै थियो । आन्दोलन र कर्फ्युले एकपटक स्थगित भइसकेको थियो । डायमन्ड शमशेर प्रमुख अतिथि, कृष्णचन्द्र दाइ वक्ता, शशी दाइ लेखक, म आयोजक र डा.केदार व्यवस्थापक । खानपिनले निकै अबेर बनाएको थियो वैशाख एघारको रात । रमाइलो लाग्छ अहिले पनि सम्झिँदा ।

त्याग र समर्पणमा पनि अग्रणी र आदर्श नै हुनुहुन्थ्यो । आठ सालदेखि सैँतीस सालसम्म सभापति बन्नुभयो नेपाली काङ्ग्रेस ललितपुरको । चौध सालको सत्याग्रहमा पक्राउ पर्नुभयो । सत्र सालको पक्राउले छ वर्ष कोचिनुभयो नखु जेलमा । सर्वस्वहरण, कोर्टमार्सल, मृत्युदण्डसम्म तोकिएको मान्छे । सँगै राजनीति गरेका सँगै जेल परेकाहरू नपुगेको ठाउँ नै भएन प्रजातन्त्रपछि, बहुदलपछि ।

कहीँ पुग्नुभएन डायमन्ड । उपन्यासकारको उपन्यासकार मात्रै । खोज्नु पनि भएन सरकारी पद । दिँदा पनि स्विकार्नुभएन सायद । मन्त्रीको पनि कुरा आएको । मान्नुभएन पटक्कै । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा सबैले लिएको राजनीतिक पीडितको नाममा दिएको पचास हजार पनि लिन मान्नुभएन ।

विपी प्रधानमन्त्री हुँदा बिर्ता उन्मूलन घोषणा भयो । उपप्रधानमन्त्री सुवर्ण शमशेरले बाह्र हजार बिघा सरकारलाई बुझाउने प्रस्ताव गरे । समर्थनमा डायमन्ड शमशेरले पनि एक हजार बिघाको प्रस्ताव गर्नुभयो । जसको जोत उसको पोत भन्ने आदर्शअनुसार रौतहत, परगन्ना मिठुवाको पैँतालीस बिघा जमिन मोहीको नाममा पास गरिदिनुभयो ।

राजनीति भनेको पेसा होइन, लाभको लागि होइन भन्ने आदर्श कायम गर्न सक्ने डायमन्ड शमशेरजस्ता नेता कति पो होलान् खै ?

सुखसयल त्यागेर जनताका लागि होमिने नेता भन्नेहरू कति पो होलान् देशमा ?

साहित्यमा पनि डायमन्ड शमशेर जसरी बाँच्ने कति पो होलान् ?