लेखन आफैँमा एक स्वतन्त्र विषय हो । लेखकको रुचि र स्वभावअनुसार लेखन सार्वजनिक हुँदै जाने कुरा हो । लेखनलाई प्रभावित पार्ने गरी लेखकीय स्वभावको कुनै खास बनिबनाउ ढाँचा छैन । त्यस कारण उठेर, बसेर, सुतेर, हिँडेर वा ढल्केर लेखेमा राम्रो गरी लेख्न आउँछ, अथवा कुनै खास कुरा खाँदै वा पिउँदै लेख्ने गरेमा सलल लेखन फुर्छ भन्ने पनि केही छैन । जसलाई जे जसरी र जहाँ सजिलो महसुस हुन्छ, त्यहीँ लेख्न बसे भइहाल्छ ।

तर पनि लेख्ने शैली र बानीको कुरा उठ्दा नेपाली वाङ्मयसित परिचित जो कोहीलाई पनि महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्वभावको झल्को आइ नै हाल्छ, उनलाई चिन्ने–जान्नेहरू सहजै भन्ने पनि त गर्छन्– महाकविलाई एक हातमा धुवाँ फालिरहेको चुरोट समाएर घरिघरि लामो सर्को तानिरहने र अर्को हातबाट नदीजस्तै वेगवान् कलम चलाउने लत जो थियो । नेपाली साहित्यमा महाकवि र ‘फूलमार’ चुरोट त झन्डै एकअर्काका पर्यायजस्तै स्थापित छन् । त्यस अघिपछि पनि ‘रामायण’ जस्तो संस्कृत–महाकाव्य नेपाली भाषामा भावानुवाद लेख्न (श्रीगणेश गर्न) का लागि भानुभक्त आचार्यलाई जेलकै बास उपयुक्त ठहर भयो । विपी कोइरालाका लगभग जम्मैजसो साहित्यिक–गैरसाहित्यिक कृतिहरू जेलबसाइँकै उपज हुन् । जेल बसेरै श्यामप्रसाद शर्माले ‘थुनुवाको डायरी’ लेखे । मोदनाथ प्रश्रितले ‘गोलघरको सन्देश’ लेखे । अन्य कतिपयले रिहापछि जेल–संस्मरण लेखेका छन्, जसमा खड्गमान सिंहले लेखेको ‘जेलमा बीस वर्ष’, राधाकृष्ण मैनाली रचित ‘लुटिएका दुई थुँगा फूल’ र दुर्गा घिमिरेको ‘जेलको सम्झना’ उल्लेखनीय मानिन्छन् ।

जयदेव गौतम

भूपी शेरचन, शङ्कर लामिछाने, हरिभक्त कटुवाल प्रभृत्तिका साहित्यकारहरू अत्यधिक मदिरा सेवन गर्न रुचाउँथे । ती सबै त्यही कारणले समेत असमयमै संसार त्याग्न विवश पनि भए । सबै जनाको होइन तर धेरैजसो साहित्यकारको प्रिय खुराकी मदिरा, सुर्ती, चुरोट, चिया, कफी हुने गरेको देखिएको छ । यो खानपीनसम्बन्धी स्वभावजन्य कुरा भयो । प्रसङ्गवश कुरा उठ्छ, आदिकवि भानुभक्त, महाकवि देवकोटा, लेखनाथ पौडेल, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, पारिजात, मदनमणि दीक्षित, वानीरा गिरि, प्रेमा शाह आदिसमेत माथि उल्लिखित एवम् अरू धेरै जना नाम चलेका कलमकारहरूको के कुनै खास लेख्ने बानी अथवा अभ्यास थियो ? उनीहरू घोप्टो सुतेर लेख्थे कि ? ओछ्यानमा बसेर लेख्थे कि ? कुर्सी, मुढा, बेन्च वा भुईँमै पलेँटी कसेर लेख्थे ? भित्तामा अडेसिँदै बसेर लेख्ने बानी थियो कि ? उभिएरै लेख्ने पो गर्थे कि ? अथवा, अरू नै केही खास मुद्रा वा आसन प्रिय थियो होला लेखनका निम्ति ? अझ थप कुरा कोट्याउँदा त माधव घिमिरे, सत्यमोहन जोशी आदिसमेत अनेक महारथी स्रष्टाहरूको लेखन–स्वभाव (राइटिङ ह्याबिट) बारे दुनियाँ अनजान छ ।

नेपाली साहित्य–जगत्‌का एक मूर्धन्य हस्ताक्षर भूपी शेरचनले आफ्नै नामको शीर्षकमा एउटा उम्दा कविता लेखे । उनको बहुचर्चित कवितासङ्ग्रह ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ मा शीर्षक– ‘भूपी’ शेरचन (व्यङ्ग्यात्मक सेल्फ पोट्रेट)– मा प्रकाशित कवितामा उनी लेख्छन्–

केही लेख्छन्

यसो हेर्छन्

चित्त बुझ्दैन

अनि केर्छन्

पुनः लेख्छन्

पुनः हेर्छन्

लामो सास फेर्छन्

कठैबरा, बिचरा

‘भूपी’ शेरचन !

भूपीको यस कवितामा उनको लेखनस्वभावको झलक पाउन सकिन्छ । अर्थात्, उनी एकपटक लेखेर त्यसलाई हतार–हतार प्रकाशनका लागि पठाइहाल्दैन थिए । बरु उनी त एकपटक लेखिसकेपछि त्यो रचनालाई पटक-पटक पढ्ने गर्दथे र पटक-पटक पुनर्लेखन पनि गर्दथे । अनि पछि आफूलाई चित्त बुझेपश्चात् मात्र उनको त्यो रचना, त्यो कविता प्रकाशकसमक्ष पुग्दथ्यो ।

एक अर्को प्रसङ्गमा, चिन्ने–जान्नेहरूका अनुसार, हास्यव्यङ्ग्य साहित्यका महारथी भैरव अर्यालले चिया र चुरोटको निरन्तर साथ पाइरहेको अवस्थामा जति नै बेरसम्म भए पनि लेखिरहन सक्दथे !

यसरी विभिन्न लेखकहरूको लेखनस्वभावबारे अनेक किस्साकहानीहरू सुन्न र पढ्न पाइन्छ, भलै हरेक लेखकको लेखनशैली र सिर्जनाको गुणवत्ता एकअर्काको भन्दा नितान्त फरक हुने गर्दछ ।

सहमति असहमतिका कुरा एकातिर राख्दा, लेखनकलाकी अमेरिकी जानिफकार एरिन ओलिलाले भनेकी छन्, ‘तपाईँलाई दिनको कुनचाहिँ समय लेख्नका लागि बढी उपयुक्त र फलदायी महसुस हुन्छ ? यो पत्ता लगाउनुस्– बिहान, दिउँसो, साँझ अथवा राति ? अथवा लेख्नका लागि कुनै ठाउँ–विशेष पो प्रिय छ कि ?’ चर्चित लेखकहरूको लेख्ने बानी र समय फरक रहेको बताइन्छ । ज्ञात भएअनुसार, विश्वसाहित्यमा नाम चलेका सिल्भिया प्लाथ, एडिथ व्हार्टन, टोनी मरिसन र कुर्ट भोनेगटसमेतका अनेक चर्चित लेखक र कविहरू बिहान सबेरै लेख्ने गर्थे भने रोबर्ट फ्रस्ट, पाब्लो नेरुदा र राचेल कार्सन जस्ता कवि र लेखकहरू सधैँ राति बसेर लेख्ने गर्थे ।

यस्तै केही समयपहिले अमेरिकी लेखक/पत्रकार लियो ब्यबुटाको एउटा आलेख पढ्ने अवसर मिलेको थियो । ‘जेन ह्याबिट्स’ नामक बहुचर्चित इन्टरनेट ब्लग सञ्चालन गरेरसमेत निकै नाम र दाम कमाउन सफल ब्यबुटाले त्यो आलेखमा आफूलाई मन पर्ने केही साहित्यकारका लेखनशैलीबारे उल्लेख गरेका थिए । कतिपय लेखकलाई दैनिक केही निश्चित सङ्ख्यामा शब्दहरू वा पृष्ठ लेख्न मन पर्छ भने केहीलाई एकाध पेज वा केही वाक्य मात्र । कसैलाई लामालामा कागजमा लेख्न मन पर्छ भने कसैलाई पोस्टकार्ड जस्ता इन्डेक्स कार्डमा । कसैलाई उभिएर लेख्न मन पर्छ भने कोही घोप्टो सुतेर लेख्न रमाउँछन् ।

अमेरिकी लेखक स्टिफन किङ दैनिक दस पेज लेख्छन्, त्यो दिन विदाको होस् वा सामान्य तर लेखनकलाका विज्ञहरूको भनाइमा, यो लेखन निकै धेरै हो । सायद यसैकारण उनी वर्तमान समयका सबैभन्दा धेरै लेख्ने लेखक पनि हुन् । अर्नेस्ट हेमिङ्वे एक दिनमा पाँच सय शब्द मात्र लेख्ने गर्थे । उनी बिहान सबेरै उठ्थे र शान्त वातावरणमा लेख्न रुचाउँथे । उनी मदिरा अत्यधिक पिउँथे तर पिएर मातेका बेला भने उनी कहिल्यै लेख्दैनथे । ‘लोलिता’ र ‘पेल फायर’ आदि विख्यात उपन्यासका रुसी लेखक भ्लादिमिर नोबाकोभ उभिएर लेख्थे र इन्डेक्स कार्डमा लेख्ने गर्थे, यसरी कार्डमा लेख्दा उनलाई सिलसिला मिलाएर लेखिरहनु पर्दैन थियो र पछि उनी आफूलाई मन लागेअनुसारको क्रममा मिलाउन सक्थे । भनिन्छ, उनको उपन्यास ‘आडा’ तयार हुँदा दुई हजारभन्दा बढी इन्डेक्स कार्ड प्रयोग भएका थिए ।

यसैगरी ‘ब्रेकफास्ट इन टिफानी’ज’ र ‘इन कोल्ड ब्लड’ जस्ता कृतिका सर्जक ट्रुम्यान क्यापोटलाई सुतेर लेख्ने बानी थियो– त्यो चाहे ओछ्यानमा होस् वा सोफा र काउचमा । साथै उनलाई सिगरेट र कफी पनि उत्तिकै चाहिन्थ्यो । दिन ढल्दै जाँदा कफीको ठाउँ चियाले, पछि चियाको ठाउँ सेरीले र सेरीको ठाउँ मार्टिनीका रूपमा अन्य ककटेल पेयले लिँदै जान थाल्दथे । उनी लामा कागजमा पहिले पेन्सिलले लेख्थे । आफ्नो तेस्रो खाका पनि उनी ओछ्यानमै बसेर घुँडामाथि टाइपराइटर राखेर लेख्थे ।

आधुनिक अमेरिकी साहित्यका एक महान् हस्ती फिलिप रोथ उभिएर काम गर्ने लेखक हुन् । अझ सोच्ने क्रममा उनी यताउता हिँड्ने गर्थे । भनिन्छ, सोच्दै लेख्ने गर्दा उनी हरेक पेजका लागि झन्डै आधा माइल बाटो हिँडेका हुन्थे । लेखन र निजी जीवनलाई पृथक् पारेका रोथ आफू बसेको ठाउँमा कहिल्यै लेख्दैनथे, उनले घरभन्दा टाढा बनाएको आफ्नै स्टुडियोमा बसेर लेख्थे । त्यसरी बस्दा ध्यान यताउता नजाओस् भनेर उनले झ्यालतिर ढाड फर्काएका हुन्थे । यस्तै पछिल्लो शताब्दीका एक अब्बल अङ्ग्रेज उपन्यासकार जेम्स ज्वायस हरेक वाक्य निकै सोचेर मात्र लेख्थे । ज्वायसलाई एकपटक उनका कुनै मित्रले एक दिनमा धेरै लेखेको भनेको कतिसम्म लेखिसक्छौ भनेर सोधेछन् । जवाफमा निकै प्रसन्न हुँदै ज्वायसले भनेछन्– तीनवटा वाक्य ।

वर्तमान समयकी चर्चित उपन्यासकार तथा नोबेल पुरस्कार विजेता असी वर्षीय अमेरिकी लेखिका टोनी मोरिसन गर्मी र वर्षाको मौसममा लेख्दा सजिलो हुने धारणा राख्छिन्, उनी बिहान निकै सखारै उठ्छिन्, सिसाकलम समाउँछिन् र पहेँलो कागजमा लेख्न मन पराउँछिन् । त्यस्तै, अर्का नोबेल विजेता बहत्तर वर्षीय टर्किश लेखक ओह्रान पामुक लेख्नका लागि घरदेखि बाहिरको ठाउँ रोज्ने गर्छन् । पामुकको भनाइमा– सधैँ बस्ने, सुत्ने वा पढ्ने ठाउँमा बसेर लेखनयात्रा गर्न खोज्दा उनको कल्पना शक्ति नै हराएजस्तो हुन्छ ।

नेपालकै सन्दर्भमा, जानिफकारहरू भन्छन्, महाकवि देवकोटालाई अक्सर दोलाइँ ओढेर ओछ्यानमा बसेर लेख्दै गरेको देख्न सकिन्थ्यो । मोदनाथ प्रश्रितले त घरमा सूचनै टाँसेका छन्– मेरो सबैभन्दा असल मित्र र शुभचिन्तक त्यो हो जसले मलाई बिहान लेखपढमा बाधा पुर्‍याउँदैन । कथाकार तथा बालसाहित्य सर्जक विनयकुमार कसजू राति छिटो सुत्ने र बिहान दुई–तीन बजे नै उठेर लेख्ने गर्थे । अचेल बुढ्यौलिँदै गइरहेको पुस्ताका चर्चित कवि एवम् कथाकार हरि अधिकारी खाटमा बस्छन्, सिरक पट्याएर टेबलजस्तो बनाउँछन् र त्यसमाथि एउटा मोटो किताब राखेर खास कागज ‘ए–फोर व्हाइट पेपर’मा लेख्न थाल्छन् । उनी सङ्गीन इमरजेन्सी नपरी कहिल्यै साँझ वा रातिमा लेख्दैनन् । यस्तै अर्का कथाकार ध्रुव सापकोटा सादा सेतो कागजमा नभएर लाइनवाला अर्थात् डिका भएको कागजमा मात्र लेख्न रुचाउँछन् । वर्तमान नेपाली साहित्यका सर्वाधिक प्रयोगधर्मी कथाकार/उपन्यासकार कुमार नगरकोटी कुनै बेला श्मशानघाटमा भौँतारिँदै र सिगरेट एवम् मदिरामा लठ्ठिएर लेख्न बस्थे भने, उनकै अनुसार पछिल्लो समयमा उनी सिगरेट र कडा कफीको स्वादमा रङ्गिएर लेख्ने अभ्यासमा अगाडि बढेका छन् । यसैगरी ध्रुवचन्द्र गौतम, भागीरथी श्रेष्ठ, माया ठकुरी, पद्मावती सिंह र अरू अनेक लेखकका लेखनसम्बन्धी आआफ्नै स्वभाव र बानी छन् ।

अनेक लेखक साहित्यकारहरू छन् जसको कथा लेख्ने सन्दर्भ आफैँमा कुनै चाखलाग्दो कथाभन्दा कम मान्न सकिँदैन । दान्ते, गेटे, सेली, बायरन, टल्स्टाय, बाल्जाक, डिकेन्स, मोपाँसा, ओ’हेनरी, गोर्की, लु सुन, शरच्चन्द्र, प्रेमचन्द, समरसेट, विपी कोइराला, हृदयचन्द्र, रमेश विकल, भवानी भिक्षु, कृष्णचन्द्र, धनुश्चन्द्र, शङ्कर र अन्यान्य तमाम लेखकहरूको कथा लेख्ने आफ्नै कहानी छ ।

अपवाद हरेक कुरामा रहन सक्छ तर विलियम सेक्सपियरलाई दुनियाँकै महान् लेखक (नाटककार) मानिन्छ ।  उनको लेखनबानीबारे यक्किन जानकारी प्राप्त छैन तर रोचक के छ भने २३ अप्रिलमा जन्मेर बाउन्न वर्ष बाँचेपछि आफू जन्मेको एभन नदी किनारको स्ट्रयाटफोर्ड नगरमा जन्मेकै दिन मर्ने सेक्सपियरको नाममा रचना गरिएका अद्वितीय नाटक र मर्मस्पर्शी कविताहरू उनी आफैँले लेखेका होइनन् बरु अरू नै कुनै व्यक्तिले लेखेका हुन् भन्ने ठूलो विवाद अझैसम्म साम्य हुनसकेको छैन किनभने भनिन्छ, जन्मकुन्डलीको आधारमा हामीले चिनेका सेक्सपियरलाई आफ्नो नामसमेत शुद्ध लेख्न आउँदैन्थ्यो, उनले कुनै विश्वविद्यालयमा पढेका थिएनन्, उनी इङ्ल्यान्डबाहिर कहिल्यै निस्केका थिएनन्, राजदरबारसम्बन्धमा उनको ज्ञान शून्य थियो तर सेक्सपियरका प्रायः नाटकहरू इटाली (तत्कालीन रोमन साम्राज्य) का विभिन्न नगर–राज्यहरूको पृष्ठभूमिमा रचिएका छन् र मृत्युअगाडिको उनको इच्छापत्रमा समेत सामान्य बिस्तारा, खाट र गहनाहरूको मात्र उल्लेख भेटिन्छ तर त्यसमा पुस्तक, पुस्तकालय, नाटक र कविताहरूका बारेमा एकै शब्द उल्लेख गरिएको पाइँदैन । बरु के भनिन्छ भने सेक्सपियरको नामबाट लेखिएका तमाम कृतिहरू ‘डाक्टर फाउस्टस’ जस्तो उत्कृष्ट नाटक लेख्ने उनकै समकालीन विद्वान् नाटककार क्रिस्टोफर मार्लोले लेखेका हुन् । यस्तो मत व्यक्त गर्ने विद्वान्‌हरूको जमात सर्वाधिक ठूलो छ । (अन्यथा सेक्सपियरको नामबाट लेख्ने व्यक्ति भनेर एक थरीले फ्रान्सिस बेकन भन्छन् त अर्का थरीले डा. बेन जोन्सन, अझ अर्का थरीले एडवार्ड द भेर र कतिले काउन्टेस अफ पेम्ब्रुक पनि भन्छन्)।

इटालियन महाकवि दान्ते सानै उमेरदेखि एक जना उच्च कुलकी केटीप्रति हुरुक्क हुन्थे । त्यो उनको एकोहोरो प्रेम थियो तर त्यो केटी दान्तेप्रति जति निस्पृह र कठोर हुँदै जान्थी, दान्ते त्यत्ति नै कवि बन्दै जान्थे र प्रेमका उत्कृष्ट कविताहरू रच्दै जान्थे । जर्मन महाकवि गेटेले पनि उच्चस्तरीय प्रेम कविताहरू लेखेका छन् । भनिन्छ, गेटेका लागि प्रेम भन्ने विषय अत्यन्तै प्यारो र अनुभवसिद्ध थियो । अङग्रेज कवि बायरन निकै कामुक प्रकृतिका थिए, जीवनभोगाइका क्रममा उनी अनेकौँ सुन्दर युवतीहरूको संसर्गमा आए– यी कुराहरूको प्रत्यक्ष प्रभाव उनका रोमान्टिक कविताहरूमा परेको मानिन्छ ।

बेलायतका क्लासिक उपन्यासकार चार्ल्स डिकेन्स मध्यराति लन्डनका सडकहरूमा घुम्न निस्कन्थे । बाटाका फुटपाथहरूमा बग्रेल्ती मगन्तेहरू सुतिरहेका हुन्थे । डिकेन्स अक्सर ती मगन्तेहरूको छेउ–छेउबाट हिँड्थे, उनीहरूलाई नियालेर हेर्थे, उनीहरूको सुखदुःख महसुस गर्ने गहिरो प्रयास गर्थे र पछि आफ्ना रचनाहरूमा त्यसलाई उतार्थे ।

आफ्ना कहानीमा नाटकीय अन्त्य प्रस्तुत गर्ने विशिष्ट कलाका लागि विख्यात अमेरिकी कथाकार ओ’हेनरी अझ मापाका थिए । उनी अक्सर रोदीघर, पब र भट्टीहरूमा पुग्ने गर्थे, त्यहाँ मस्त पियक्कडहरूको कुनै कमी हुँदैन्थ्यो । ओ’हेनरी आफूले पैसा तिरेर उनीहरूलाई मदिरा ख्वाउँथे र उनीहरूसित मित्रता गाँस्थे । अनि उनीहरूसित नजिक भएर उनीहरूको जीवनका तमाम घटनाहरू पटक–पटक सुन्ने गर्थे । यसरी आफ्ना कथाहरूका लागि उनलाई चाहेजस्तो सामग्री प्राप्त हुन्थ्यो ।

रुसका संसारप्रसिद्ध लेखक लेव टल्स्टाय ‘युद्ध र शान्ति’ वा ‘आन्ना कारेन्निना’ जस्ता उपन्यासहरूका लागि जति नामुद छन्, किशोर वयदेखि नै उनको लेखकीय परिपक्वताको भर्‍याङ उक्लने प्रसङ्ग कम्ती चाखलाग्दो छैन । नौ वर्षको उमेर नपुग्दै टुहुरा बन्न पुगेका कुलीन सामन्त वर्गका टल्स्टाय सङ्गतले गर्दा सानै उमेरदेखि उग्र यौन भोगविलासमा फसेका थिए । भनिन्छ, उनी रातभरि सुरा र सुन्दरीको विलासी सङ्गतमा डुबेका हुन्थे तर बिहान उठेपछि आयन्दा त्यस्तो कहिल्यै नगर्ने भन्दै कसम खान्थे र त्यो कसमलाई फरक–फरक शैली, शब्द र भावमा दैनिक टिपोट गर्थे अनि झमक्क साँझ पर्दै जान थालेपछि उनको जिब्राले सुरा र शरीरले सुन्दरी खोज्न थालिसक्थ्यो । फेरि दैनिक टिपोटको क्रम अगाडि बढ्थ्यो । यसै क्रममा एकपटक उनलाई भिरिङ्गी रोगले पनि गाँजेको थियो । धेरै समयपश्चात् चौँतीस वर्षको उमेरमा अठार वर्षीय युवती सोन्यासित विवाह गरेर तेह्रवटा छोराछोरीको बाबु बनेपछि भने उनी क्रमशः लेखनतिर प्रवृत्त भए । (केही समय उनले घोडचढी सेना क्याभेलरीमा भर्ती भएर पनि बिताएका थिए ।)

त्यसो त लेख्ने रुचि छ भने जे लेखे पनि हुन्छ । त्यसमा पनि दैनिक लेख्ने बानी बसाले अति उत्तम किनभने दिनहुँ कम्तीमा आधा पृष्ठसम्म लेखे पनि त्यसले भावी लेखनलाई ठूलो आधार मिल्दछ । दैनिक लेखनले शब्दभण्डारका साथै लेखनशैली क्रमशः माझिँदै जान्छ । अचेलहुँदो धेरै जना कम्प्युटर, ल्यापटप, ट्याबलेट, मोबाइल आदिमै लेख्न रुचाउँछन् तापनि अझै थुप्रै जना छन् जसले पहिलेको समयमा जस्तै– कलम वा पेन्सिल समातेर कागजमै आफूलाई अभिव्यक्त गर्न सहज अनुभव गर्दछन् ।

राम्रो लेख्नका लागि पढ्न पनि उत्ति नै पर्दछ । लेखन र अध्ययनसँगै अगाडि बढाउन सक्नु सफलताको आधारभूत सूत्र हो । भन्छन् नि, पढ्नु भनेको भरिनु हो र लेख्नु भनेको छचल्किनु हो । छचल्किएर लेख्नका लागि पहिले राम्ररी पढेर टम्म भरिनु जरुरी हुन्छ । जसरी वकालत गर्नका लागि ऐन कानुन संविधान पढ्नुपर्दछ, डक्टर बन्नका लागि चिकित्सा विज्ञान पढ्नुपर्दछ, इन्जिनियर बन्न इन्जिनियरिङ नै पढ्नुपर्दछ, त्यसरी नै लेखक बन्नका लागि जति धेरै पढ्यो, त्यति नै श्रेयस्कर । उपन्यास, कथा, कविता, निबन्ध, नाटक, संस्मरण, यात्रासंस्मरण, जीवनी, पत्रकारिता आदि जुन विधामा आफूलाई बढी रुचि छ, त्यही विषयका अधिकतम पुस्तक पढ्नु सर्वथा फलदायी हुन्छ । यसबाट विचार र दृष्टिकोण फराकिलो हुन ठुलो मद्दत पुग्दछ, प्रेरणाको स्रोत निःसृत भइरहन्छ ।

यस्तो मानिन्छ– लेखनमा व्यक्तिको जिन्दगी र उसको विचारको पूर्ण वा आंशिक प्रभाव परेको हुन्छ तर सम्भवतः हरेक रचनामा त्यो प्रभाव नदेखिन पनि सक्छ । प्रसङ्गवश भारतीय उपन्यासकार विमल मित्रले भनेको सन्दर्भ स्मरण हुन्छ । उनले भनेका (लेखेका) थिए– जसले सोच्न पनि धेरै सोच्दछ र देख्न पनि धेरै देख्दछ, अर्थात् जीवनका प्रत्येक पक्षहरूमाथि जसको तीक्ष्ण दृष्टि रहने गर्छ र संसारको हरेक कुराले जसको चिन्तनलाई सधैँ आकृष्ट गर्दछ, त्यही व्यक्ति लेखक हो । यसकारण एकमात्र लेखकलाई ‘टोटल पर्सन’ अर्थात् ‘पूर्ण मनुष्य’ भन्न सकिन्छ । संसारका सबै प्रसिद्ध लेखक –यस अर्थमा– पूर्ण मानव हुन् ।

विमल मित्रको यो विचारसित सबै जना सहमत हुनैपर्छ भन्ने केही छैन तर आम रूपले लेखक वा कवि भनिनेहरूको विचार र व्यवहारबारे, उसको ‘टोटालिटी’ वा ‘मार्जिनालिटी’, अथवा ‘नर्मल–एब्नर्मल’ आनीबानीबारे भने धेरैले धेरै कुरा गर्न र भन्न सक्छन् ।

यसैकारण त मलाई लाग्छ लेखक त्यो अजिब जीव हो जसले जीवनलाई विभिन्न बान्कीमा –सायद अन्य जोसुकैले भन्दा पनि फरक रङ्गमा बाँचेको हुन्छ र त्यत्तिकै भोगेको पनि हुन्छ– परेर, पढेर, सुनेर वा कल्पेर र यस मानेमा हरेक लेखक पूर्ण मनुष्य हो । उसले आफ्ना बारेमा कम लेख्छ तर अरूका बारेमा –अझ, समस्त मानवकै बारेमा– मात्र नभै प्राणी र अप्राणीसमेत कुनै पनि विषयमा लेख्छ र अथाह अथाह लेख्छ । लेख्दै जान्छ ।