सहरको रमझमबाट म टाढा जान सक्दिनँ । म सहरिया भइसकेको छु तर अझै मलाई घर कहाँ हो भनेर प्रश्न गर्छन् । म तनहुँमा हो भनेर उत्तर दिइरहेको हुन्छु । सायद प्रश्न गलत छ । कहाँ जन्मेको थिइस् भनेर प्रश्न गर्न पर्ने अनि बल्ल मेरो उत्तर सही हुने छ । नत्र त ३३ औँ यौवनको फूल खिलाइरहेको, २५ वर्षको जवानी सहरलाई सुम्पिसकेको बुढो ठिटाले किन पहिचान उल्टो भन्छ । ऊ झुटो बोल्दैन आजकाल; प्रश्न नै उल्टो सोधिन्छन् । कि प्रश्न गर्न नपर्ने । कि मौनताले सोध्नुपर्ने । कि मौनतालाई बुझ्न पर्ने । फेरि के सहरिया ठिटालाई यो प्रश्न सोध्नैपर्ने हो र ?

आजकाल मकै र भटमासमा कला देख्न थालेको छु । गुन्द्रुक र भटमासमा कला देख्न थालेको छु । उनीहरू सुन्दरी लाग्छन् । टपक्क टिपेर खान्छु । दाँत दुख्छ । दाँतमा राखेको टोपी फुत्कन्छ । म भुईँमा बसेर खाइरहेको छु । मेरो भाइ महलमा बसेर खाइरहेको छ । मै हो उसलाई मकै खान सिकाउने । ऊ आज मलाई पिज्जा खान सिकाउने हैसियतको भएको छ । ऊ मलाई पजेरो किन्नुपर्छ भन्छ । सायद खिस्सी गरेछ । मलाई भ्याक्सिन लिएर जाऊ भन्छ । त्यसकारण म उसलाई सोध्नै जान्न । मेरो अभिमानले दिँदैन तर म तुच्छ यसै छु । ऊसँग सोध्न सहयोग माग्न नजाने तुच्छता ममा छ । म ठूलो हुन सकिनँ । म ठूलो बन्न नसक्दा मेरो अभिमान कहाँ गयो ? ऊ खुसी छ । म एक तर्फको आँखा हुँ । हामीबीचमा नाक छ, गाला छ । ठूलो हिन्दुस्तानको अनुहार छ ।

डा. विनोद ढकाल (विधा)

के फूल सामन्तवादी हो ? उसलाई बारम्बार प्रयोग गरिएको छ । सामन्तवादीले प्रयोग गरेका छन् । हरकोहीले प्रयोग गरेका छन् । कविले प्रयोग गरेका छन् । प्रेमीले प्रयोग गरेका छन् । के उसले आफैँलाई प्रयोग गरेको छ ? के गरीबले प्रयोग गरेका छन् उसलाई ? तथाकथित मासिन्याले प्रयोग गरेको छन् त ? कि टाढाबाट नै हेरेर चित्त बुझाएका छन् तर सभ्रान्त वर्गले अवश्य नै प्रयोग गरेका छन् । सायद फूल पनि सामन्तवादी हो । कि अवसरवादी हो ? कि वेश्या हो ?

ऊ जोसँग पनि पुगेकी छ । राजा, रैती, देवता, मानव अनि दानव । के दानव पनि ? उनीहरू पनि त काला छन् । कालोमा रातो गुलाब नसुहाउला । गहुँगोरो ठूला आँखा अनि चुच्चो नाकको फुलीसँगै केशमा सजिन उसलाई आनन्द आउँछ । वेश्यालाई आनन्द आउँछ । अरूलाई सुख दिन हिँडेकी उसलाई पनि सन्तुष्टि मिल्छ । मिल्नुपर्ने हो । सन्तुष्टि नमिलेको भए पनि उसले सन्तुष्टि मिलेको जसरी नाटक गर्नुपर्छ । तब न मर्दले नारी, त्योमाथि वेश्या नारीलाई सन्तुष्टि दिन सकेको अभिमान पाएर खुसी हुन्छ । बिचरीको ग्राहक बढ्छ । ऊ पशुपतिको आर्यघाटबाट बग्दै गएर फेरि कुनै सज्जनको पूजाकोठाको देवतालाई चढाइन्छे । ऊ पवित्र बन्छे । पूजाकोठालाई पवित्र बनाइदिन्छे । बाग्मतीमा फूल टिप्ने दलालहरूलाई धन्यवाद छ । छि, मैले ती गरिब मसानघाटे बिचराहरूलाई दलाल बनाइदिएछु । मरन्च्यासे दलाल । मोटा दलाल त किन त्यसरी त्यहाँ पुग्थे र ? सिंहदरबार, लालदरबार छोडेर को कमिसनवादी, पुँजीवादी भगवान्‌को खोलामा आइपुग्थ्यो ? एकदिन आउनुपर्छ नै । त्यो समय ढिलो हुन्छ । ऊ कल्पना गर्छ । पैसाले त्यो समयलाई पर सारिरहेको छु । सधैँ बाँच्छु भन्ने सोच पनि छैन । त्यो सोच्नलाई फुर्सद पनि छैन । ऊ पिनब्रामा हिँडिरहेको छ ।

दुबोको माला लगाएर भित्तामा टाँसिएको । म र तिमी । ओठमा हाँसो, आँखामा हाँसो । हाँसोमा विक्षिप्त त्यो समय । समय आएको थियो । त्यो बेलामा तिमी पनि थियौ, म पनि थिए । अर्कै-अर्कै अस्तित्व थियो । एउटै अस्तित्व बनाउँदै थियौ । आज पूर्ण बनिसकेको छ । छोरी छ, ऊ त्यसको परिणाम । म तिम्रा बारे कविता लेख्दै छु । तिमी आफैँ पनि मेरो कविता हौ । छोरी कविताको गीत हो । हामीले सङ्गीत भरेको सुर र तालमा नाचेकी छ । उसलाई नाच्न खुब मन पर्छ । पहिला म तिमी नाचेको हेर्दा खुसी हुन्थे । आजकाल समयले मलाई बिगारेको छ । तिमी पहिलाको जस्तो भएनौ भनेर मलाई भनेकी थियौ । म कहाँ हुन सक्छु र पहिलाको जस्तो । पहिला मैले तिमीलाई चिनेको थिइन । अहिले तिमीलाई नचिनेको ठाउँ छैन । म फेरि त्यही प्रश्न के गरूँ ! तिमीलाई झर्को लाग्ला । एकदिन सोधेको पनि थिए । बिहे भएको चार वर्ष भएको थियो । तिम्रो हवी (सोख केमा छ ? हो यो प्रश्न थियो । हाम्रो प्रेम हुने सुरुवाती दिनहरूको सुरुवाती प्रश्नहरूमध्येको एक प्रश्न । त्यो बेला यसको उत्तरमा म आफ्नो ज्ञान सागर बढाइरहेका थिएँ । अहिले तिमीमा आश्चर्यको खाली अनुहार पाउँछु । तिमी पनि त पहिलाकी जस्ती भइनौ । पहिलाको जस्तो को हुन सक्छ र ? हुनैपर्छ भन्ने पनि त छैन । तिमी स्वतन्त्र छौ । कुनै दिन म यी भावहरूभन्दा भिन्न भाव पनि लिन सकुँला । यो लेख फेरि पढेर के लेखेछु थुइक्क पनि भनुँला ।

 

आजकाल नमस्कार चल्छ । हात मिलाउन म पहिला पनि अघि बढ्ने होइन । प्रत्यक दिन भेटिनेसँग को हरेक दिन हात मिलाइरहन्छ । उहाँ हस्पिटलको गेटबाट गाडीमा निक्लदै हुनुहुन्थ्यो । म हस्पिटल छिर्दै थिएँ । बिहानी थियो ।

‘तीन दिन भयो अस्पताल बसेको ।’

उहाँ चौथो दिनमा घर फर्कँदै हुनुहुन्थ्यो । उहाँको थकित आँखाले बताइरहेका थिए । ती आँखामा डर पनि थियो । आशा पनि थियो, जिम्मेवारी पनि थियो । कसप्रति ? समाजप्रति, परिवारप्रति र आफैँप्रति तर एकप्रति अवश्य थिएन । त्यो कोरोना भाइरसप्रति तर उहाँ हतियारबिना लडेको सिपाही । गुलेली लिएर लड भनेर पठाइएको उहाँ फर्कनुभयो । घर जानुभयो । थाहा छैन भोलिको बिहानीले के देखाउँछ । पर्सिको बिहानी पनि छ । निकोपर्सिको बिहानी पनि छ । ती बिहानी छिट्टै आउँछन् । आउन नपाई जान्छन् । ब्रह्माण्ड यति छिटो घुमिरहेको छ कि म त्यसको ड्राइभर भएको भए रिँगटा लागेर बेहोस हुने थिए । मेरा अङ्ग-अङ्ग एघार दिशातर्फ छरपस्ट हुने थिए । म पृथ्वीमा भएर मात्र हो बाँचेको । तपाईँ पनि भाग्यमानी हुनुहुन्छ । तपाईँ पृथ्वीमा हुनहुन्छ । तपाईँ हिरा वर्षा हुने धर्तीमा हुनु हुन्न । यहाँ त पानी वर्षा हुन्छ । यहाँ फलामका बादल छैनन् । यहाँ सुकेका पानीका बादल छन् । यहाँ सूर्यका किरणले न्यानो हुन्छ । कुनै ठाउँ हुन्छ जहाँ यी किरणहरूको एक स्पर्शले तपाईँलाई जलेर सुकाइदिन्छ । ऐया भन्न मात्र त के तपाईँ खरानी बन्न पनि पाउनु हुन्न । अझ तपाईँ बाफ बन्न पनि पाउनु हुन्न ।  सायद त्यहाँ आत्मा पनि मर्छ । म त्यहाँ जान चाहन्छु । हो म ईश्वरको नजिक जान चाहन्छु । ईश्वरलाई प्रत्यक्ष देख्न नसक्ने म उहाँसँग साक्षात्कार गर्न चाहन्छु । म मुक्ति पाउन चाहन्छु । मेरो आत्मालाई शून्यमा पुऱ्याउन चाहन्छु । शिवत्व भन्दा पनि पर । त्यहाँभन्दा निकै पर । खै कहाँ हो त्यो ? यो मेरो सानो दिमागले सोच्न सक्दैन । म कवि होइन । जहाँ रवि पुग्न सक्थेनन् म पनि पुग्न सकिन । सायद त्यहाँ शिव छन् । खै शिवभन्दा पर के छ ? हो, म त्यहाँ पुग्न चाहन्छु ।

धुलिखेल अस्पताल

फोन न- ९८४६७९७२८५