
प्रकृतिका विराट् रूप नियाल्ने सूक्ष्मदर्शी आँखा छैनन् हामीसित । हामी खाली स्थूल आकारमा जीवन खोज्छौँ । वस्तुको आवरणको चमक हेर्छौँ तर त्यसभित्रको सूक्ष्मपत्र नियाल्न अशक्त छौँ हामी । आकार र आवरणभित्र अविष्टित सूक्ष्म चैतन्यको सत्ता जहाँ पनि अरूप छ, अदृश्य छ । चर्मचक्षुको पारवार क्षमताभन्दा त्यो सय हात पर छ । अगोचर दुनियाँ नियाल्न भित्री आँखा चाहिन्छ । त्यसलाई परख गर्न अर्कै पवित्र मनको खाँचो छ । अनुभूतिको स्तरमा त्यसलाई रसास्वादन गर्न अर्कै हृदय सत्ताको खाँचो छ । हाम्रो फोहोरी मनले अरूप चैतन्यको शिखर स्वाद कसरी छुन सक्छ र ?
हाम्रा आँखाले शरद् ऋतुको मन्दमन्द हावामा वयली खेलिरहेको सुरम्य हरियालीयुक्त धानको फाँट त देख्न सक्तछ तर धानका फूलहरूमा चलिहरेको परागक्रिया देख्न सक्तैनन् । फूलको कालीन बहार ठम्याउने आँखा छन् हामीसित तर रङ्गको रहस्य खोतल्ने चैतन्यका आँखा छैनन् । हाम्रा आँखाले मकैका बोटमात्र देख्छ । हदै देखे घोगो, खोस्टा, ढोड र धानचमरको झुत्तोसम्म देख्छौँ तर धानचमर र घोगामा पलाएको कलिलो जुँगाबीचको अपूर्व प्रणयलीला, तिनको रतिक्रियाबाट सृजित कलिला दानाहरूको हार्दिक उपस्थितिले हामीलाई विमोहित गर्दैन, हामीलाई रौँ-रौँमा रोमाञ्चित गर्दैन ।
राति दूर आकाशका तारागणबाट आएको तार सुन्न हामी असमर्थ छौँ । अँध्यारामा ताराले के भनिरहेको होला ? हाम्रा कर्णविवरमा त्यो सन्देश ठोक्किन सकेको छैन । आस्तित्वका हरलयहरूलाई, हरध्वनिहरूलाई सुन्न समात्न हामी असमर्थ छौँ । मानौँ हाम्रा समस्त इन्द्रिय बेकम्मा बनेका छन्, पङ्गु भएका छन् । हृदयसत्ता जड बनेको छ, निःस्पन्द संवेदनाहीन बनेको छ । हृदयको कोमलतम पाटो सुकेर कठोर बनेको छ । हाम्रो घ्राणशक्ति पनि मरेको छ । माटाको सुगन्ध र हिमाली वायुको मीठो ताजा सुगन्ध हाम्रो नासापुटमा त ठोक्किएला तर त्यसको अनमोल सुगन्ध अर्थ्याउन असमर्थ छ नाक ।

पुण्य कार्की
छिनछिनमा उठ्ने र बिलाउने लेकाली भुईँकुहिराको सन्देश, निर्झर वर्षाको रागात्मक ध्वनि, वसन्तको कोकिलकण्ठी आवाजले हामीलाई ब्युझाउँन त्यस्तो कुन तत्त्व लिएर आएको छ ? त्यसउपर कान दिन सकेका छैनौँ । बूढी आमाका अनुहारमा समयको कलमले कोरेका चाउरी अक्षरले के बोलिरहेछन् ? चाउरी अक्षरको वर्णमाला हामी सन्तानले पढेकै छैनौँ । बाउको थोते गिजा, झोल्लिएको पाखुराको छाला र केश झरेको तालुले के बोल बोलिरहेछ ? हामी बुझ्न असमर्थ छौँ । हातपाउ गिरेका आफ्ना पितृमातृकुलका आहत अनाहत ध्वनि बुझ्न नसक्ने हामी अपाहिज सन्तति धन्न दुई खुट्टा टेकेर उभिएका छौँ । दृश्यलाई हेरेर सुन्ने चेतनाको विकास भएन हामीमा । विषयलाई छामेर विषयीमा डुब्ने क्षमता आएन हामीमा ।
हाम्रा आँखा कुनै राजामहाराजले खडा गरेको मिनार हेर्न त सक्षम छन् तर त्यस मिनारको गर्भगह्वरमा नजाने कति अदना अनुहारका रगत, मासु, पसिना र हड्डीखुड्डी हराएका छन्, छोपिएका छन्, पुरिएका छन्, तिनलाई देख्न सक्तैनौँ । फलानाले बनाएको दरवार भन्छौँ, चिलानाले बनाएको देवल भन्छौ । यसले बनाएको मन्दिर, उसले बनाएको सत्तलपाटी भन्दै व्यक्तिको यश र कीर्तिगाथा त गाउँछौ ? तर एकदिन उसले एउटा इँटा उठायो कि उठाएन होला ? एकदिन एउटा ढुङ्गो चिट्यो कि चिटेन होला ? एकदिन सावेलको बिँड समायो, समाएन होला ? त्यसलाई ठम्याउन असमर्थ छौँ । यसका असली स्रष्टाहरूको सत्ता अनाम गर्तमा छोपिएका छन् भन्ने दृश्य देख्न हामी असमर्थ छौँ ।
कसैले रचना गरेको विपुल ऐश्वर्यको सत्तामा आम मानिसका कष्टका कति विद्रुप पलहरू छिपेका हुन्छन्, छोपिएका हुन्छन् । तिनलाई देख्ने तागत छैन हाम्रा चैतन्य चक्षुमा । कसैको उन्मुक्त हाँसो कसैको रोदन सत्तामाथि उभिएको हुन्छ भन्ने सत्य भुलेका छौँ । यी यावत् सन्दर्भ हेर्न देख्न एक सूक्ष्मदर्शी आँखो चाहिन्छ । चैतन्यको विहङ्गम ज्योति खुलेको आँखो चाहिन्छ तर हाम्रा आँखामा विषयवस्तु मात्र छ, विषयीभाव छैन ।
सूक्ष्मदर्शी आँखा नभएपछि मान्छे शरीरलाई केवल शरीरमात्र देख्छ । खरानीको थुप्रो देख्न सक्त्तैन । घरलाई घरमात्र देख्छ, यो एक चिहान पनि हो भन्ने कुरा देख्न सक्तैन । छोरालाई छोरामात्र देख्छ ऊभित्रको बैरी तत्त्व देख्तैन । कागजका पोथा पढेर सूक्ष्मदर्शी आँखो खुल्दो रहेनछ । एक पागल हातमा फित्ता लिएर रोड नापेको नाप्यै छ दिनरात । घामपानी, भोकतिर्खा उसलार्ई कुनै कुराको बोध छैन । एक कुम्लेलाटो बिगत चालीस वर्षदेखि तरकारी बजारमा कुहिएर फालेका आलुभान्टा कोबीका टुक्रा,थोत्रा कागज, प्लास्टिक बटुलेर कुम्लो बनाएको बनाइ छ । यिनको जीवन अद्योपान्त पढ्ने, पर्गेल्ने र निचोड निकाल्ने सूक्ष्मदर्शी आँखो भए यी जीवनहरू हाम्रा लागि जीवन सिक्ने ग्रन्थ बन्थे, शास्त्र बन्थे साथसाथै रहस्यको आख्यान उपाख्यान हुन्थ्यो ।
थियो त सूक्ष्मदर्शी आँखो बुद्धपुरुषहरूसित थियो । थियो त सूक्ष्मदर्शी आँखो कविहरूसित थियो, ऋषिहरूसित थियो । वैज्ञानिक आविष्कारकहरूसित थियो । पौराणिक मिथकहरूमा पढेको छु, इन्द्रका शरीरभरि खोपिएका आँखा कुन आँखा थिए ? ती आँखा केका प्रतीक थिए ? त्यो जान्न आज उत्सुक छु । शिवको तेस्रो नेत्रले केको सङ्केत गरेको होला ? त्यो बुझ्न आज आतुर छु । मलाई शिवको भृकुटीमा खोपिएको आगो फाल्ने आँखो मन पर्छ ।
आज्ञाचक्रमा आवेष्टित यो आँखो सायद ज्ञानको, विवेकको र शक्तिको आँखो होला । त्यो तेस्रो आँखो हरव्यक्तिको भृकुटीमा छ भनिन्छ तर त्यो खोल्न नसकेका कारण हामी अन्धा भएका छौँ, विवेकहीन भएका छौँ, सूक्ष्मदर्शी हुन नसकेर स्थूलदर्शी बनेका छौँ । चित्र देख्ने तर चरित्र नदेख्ने भएका छौँ । आउनुस् सूक्ष्मदर्शी त्यो तेस्रो नयन खोल्ने बाटो खोजौँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

