हामीले परग्रही अनि अज्ञात उडान वस्तु (Alien and UFO) का बारेमा धेरै कुराहरू सुन्दै आइरहेका छौँ । यी दुईका बारेमा चर्चापरिचर्चाका विषय नयाँचाहिँ हुँदै होइन । परग्रही, अज्ञात उडान वस्तु, मानवजगत् अनि ब्रह्माण्डका गम्भीर विषयहरूका बारेमा हामी पढ्दै (अनि सुन्दै) आइरहेका छौँ ।

यस विषयसित सम्बन्धित वैज्ञानिक अनि अन्वेषकहरूले परग्रहीहरूका विषयलाई हाम्रा मौलिक प्रश्नहरूसित गाँसेर हेर्ने गरेका छन् । उनीहरूले सारा सम्भव विषयहरूलाई केलाएर समावेशी विधि अपनाइरहेका छन् । यसकारण पृथ्वीका बासिन्दाहरूका निम्ति परग्रही, अज्ञात उडान वस्तु (Unidentified Flying Object) अनि स्पेशका कुराहरू साधरण बन्न गइरहेका छन् । त्यो कसरी भन्दा पृथ्वीवासीहरूले मानव, मानवजगत् अनि ब्रह्माण्डका नियतिका बारेमा बुझ्न थालिसकेका छन् । संसार अनि अनन्त स्पेसमा कुनै पनि कुरा (विशेष वस्तु अनि घटना) चिरस्थायी (absolute constant), निर्धारित (absolute determined) अनि निश्चित (absolute certain) छैन ।

ईगम खालिङ (दार्जीलिङ)

वर्तमानमा हामीसित कोरोना भाइरस (Covid-19)  जस्तो भाइरसको वैश्विक महामारी छ भने भविष्यमा झन् अझै डरलाग्दा भाइरसहरूका चुनौतीहरू आइलाग्नेछन् । मानिसहरूले जति-जति विज्ञान, प्रविधि अनि कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence) को विकासमा उन्नति गर्दै जानेछन् उति-उति नयाँ-नयाँ प्रकारका चुनौतीहरू आउनेछन् । अन्तरिक्ष अन्वेषणहरूले अज्ञात भाइरसहरूसित सम्पर्क बढाएर लानेछन् । त्यसैकारण कोरोना भाइरस मानिसका निम्ति अन्तिम हानिकारक भाइरस हुँदै होइन । विश्वका सारा देशहरू मिलेर, सङ्घसंस्थानहरू अघि आएर अनि मानिसहरूले स्विकारेर कानूनहरू बनाए तापनि विज्ञान, प्रविधि, कृत्रिम बुद्धिमत्ता अनि अन्तरिक्ष अन्वेषणहरू (अनुसन्धानहरू) कहिल्यै रोकिने छैनन् । महादेश, देश, सङ्गठन, संस्थान, सामाजिक समूहहरू अनि सम्बन्धित मानिसहरूलाई कानूनी रूपमा रोक्न सके तापनि मानसिक रूपमा रोक्न सकिँदैन । विशेष मानिसका मस्तिष्क अनि कल्पनाशक्तिलाई रोक्न सकिँदैन । मस्तिष्क अनि प्रज्ञाका शक्ति सहायतामा मानिसहरूले नयाँ-नयाँ कामहरू गरिरहेका हुन्छन् । हुन पनि मानिसका इच्छा र कल्पनाको कुनै सीमित सिमाना हुँदैन । यी दुईका सहायताले मानिसहरूले असाधारण कामहरू गरिरहेका हुन्छन् । सबैभन्दा शक्तिशाली बन्ने कोसिस गरिरहेका हुन्छन् । यही शक्तिशाली बन्ने दौडमा कहिलेकाँही मानिसहरूले आफ्नै विनाशका बाटाहरू खनिपठाउँछन् ।

परग्रहीहरू धेरै प्रकारका हुन्छन् भनिएका छन् । भारतमा लगभग २१ मे २०२१ देखि २६ मे २०२१ सम्म आएको ‘यास’ तुफानले भारतका केही राज्यहरूमा अज्ञात अनि अद्भुत प्राणी र वस्तुहरू देख्न साथै फेला पर्न आएका कुराहरू सामाजिक मिडियाहरूमा भाइरल भएको जान्न पाइयो । हुन त अमेरिकाको नासा (NASA) जस्तो सङ्गठनले (अरू सङ्गठनहरू पनि छन्) धेरै अघिदेखि नै यस्ता वस्तु अनि घटनाहरूको अनुसन्धान गर्दै आइरहेका छन् । कतिपल्ट त अमेरिकाले केही परग्रहीहरूलाई समातेका छन् भन्ने अफवाहहरू (rumors) पनि सुनियो । अहिलेसम्म कुनै देशले पनि औपचारिक रूपमा स्पष्ट पुष्टि दिन चाहिरहेका छैनन् तर यसपालि भारतमा भइरहेका अफवाहहरू सही निक्लिएमा एउटा कुराचाहिँ भन्न सकिन्छ कि यो भारतवासीहरूका निम्ति शुभखबर हुने छैन ।

वैज्ञानिक अनि शोधकर्ताहरूले हामी मानवभन्दा धेरै शक्तिशाली अनि बुद्धिमानी भएका परग्रहीहरूलाई पारलौकिक व्यक्तिहरू (transcendental people) भनिरहेका छन् । ‘ट्रान्सेन्डेन्टल पिपल’ को नेपाली अनुवाद हुन्छ ‘पारलौकिक व्यक्तिहरू’ । यस पारलौकिक शब्दले हामीलाई सोच्न बाध्य बनाउँछ—कसरी व्यक्ति हाम्रा इन्द्रियहरूका प्रत्यक्ष शक्तिदेखि माथि हुन्छ? साथै कसरी कुनै अज्ञात वस्तु हाम्रा अनुभवजन्यता (sensibility) लाई दिन सकिँदैन? इम्मानुएल कान्टअनुसार पारलौकिक वस्तु (transcendental object) एउटा ज्ञानमीमांसीय अथवा विधिगत अवधारणा (सङ्कल्पना) हो । हामी पारलौकिक अवधारणाका उदाहरणहरू भौतिक अनुभवमा कहिल्यै पाउँदैनौँ । यसलाई अनुभवजन्य गुणरहितका रूपमा पाउँदछौँ । पारलौकिक वस्तु वास्तवमा भौतिक नभएर बौद्धिक वस्तु हो । यसको ज्ञान हामीलाई हाम्रो मस्तिष्कभित्रको बुझाइद्वारा प्राप्त हुन्छ । यसको कुनै भौतिक अस्तित्व नभए तापनि हाम्रा अनुभवका वस्तुहरूलाई प्रयोग गर्न सकिन्छ किनकि अनुभव (experience) ले सधैँ विचार (thought) लाई समावेश गरिरहेको हुन्छ । त्यसरी मानिसको संसारिक ज्ञानमा प्रज्ञाको (बुझ्ने शक्तिको) महत्त्वपूर्ण भूमिका हुन्छ ।

पारलौकिक व्यक्तिहरू (अथवा परग्रहीहरू) ती व्यक्तिहरू हुन् जसलाई हामी प्रत्यक्ष (percept) गर्न सक्दैनौँ । हाम्रा ज्ञानेन्द्रियहरूले तिनीहरूलाई अनुभव गर्न सक्दैनन् । तिनीहरू हाम्रा शारीरिक अनि भौतिक अनुभव क्षमताभन्दा माथिका हुन्छन् । तिनीहरूलाई हाम्रा प्राविधिक उपकरणहरूसमेतले पकड्न सक्दैनन् । तिनीहरू अरस्तु (Aristotle) ले भनेका द्रव्य र फारम (matter and form) जस्ता नै हुन् तर यहाँ द्रव्यमा स्वक्षमता वा सम्भावना (potentiality or possibility) नभएर फारमलाई मान्न सकिन्छ । परग्रहीहरूका प्रत्यक्ष र अनुभव हुन नसके तापनि तिनीहरू गैर अवस्थित (non existing) चाहिँ छैनन् (एलेक्सियस मिनोङले पनि त्यस्तै दार्शनिक विचार दिएका छन्) तर अहिलेसम्म विज्ञान र विज्ञानीहरूले सन्तोषजनक परिभाषा दिन सकिरहेका छैनन् । उनीहरूले जहिले पनि परग्रही अनि अज्ञात वस्तुहरूबाट जोगिने सुझाव मात्र दिने गर्दछन् । कहिलेकाहीँ विकसित देशहरूले कति सत्य कुराहरू लुकाएर राख्ने पनि गर्छन् ।

यहाँ एउटा कुरा जोड्न लागिरहेको छु कि १३ जनवरी २०२१ को दिन Publiknama.com ले सम्पादक राजा पुनियानीज्यूका संयोजनमा एउटा अनलाइन वार्ता ‘The Publiknama Talk–115’ (TED-X Speaker @ Publiknama) को प्रत्यक्ष प्रसारण आयोजना गरेको थियो । वार्ताका विषय थियो ‘टेरिस्ट्रियल डिप्लोमेसी’ (Terrestrial Diplomacy) अनि वक्ता हुनुहुन्थ्यो अमेरिकाका टम रस (Tom Ross) । वहाँले पनि परग्रहीहरूलाई ‘ट्रान्सेडेन्टल पिपल’ भन्ने संयुक्त शब्दको प्रयोग गर्नुभएको थियो । त्यस कार्यक्रममा मैले वहाँलाई कमेन्ट गरेर एउटा प्रश्न ‘यी पारलौकिक व्यक्तिहरू को हुन्?’ भनेर सोधेको थिएँ । वहाँले बताउनुभयो कि यिनीहरू ती व्यक्तिहरू हुन् जसको प्रत्यक्ष (percept) हामी गर्न सक्दैनौँ साथसाथै तिनीहरूको अस्तित्वलाई अस्वीकार पनि गर्न सकिँदैन । वहाँले कार्यक्रम सकेपछि उनीहरूद्वारा बनाइएका कतिवटा भिडियोहरू हेरेर अझै स्पष्ट हुनुहोस् भनेर अरू लिङ्कहरू (https://vimeo.com/showcase/6097757) पनि दिनुभयो । मैले ती सबै भिडियोहरू (US6eries) त्यो दिनै हेरिसकेँ । त्यस कार्यक्रम हेरेदेखि यता मेरो मनमा अर्को एउटा प्रश्न आइरहेछ—यदि परग्रही पारलौकिक वा लौकिक छन् भने कसरी उनीहरूसित संवाद गर्न सकिन्छ? मेरो व्यक्तिगत सोचाइमा हाम्रो संवाद माध्यम दुई प्रकारको हुन सक्छ:

(१) मस्तिष्क वा मानसिक (Mind or Mental)

(२) गणितीय भाषा (Mathematical Language)

किन ‘मानसिक’ भने जुन पारलौकिक (transcendental) हुन्छ त्यो अमूर्त (abstract) हुन्छ अनि जुन मानसिक हुन्छ त्यो पनि अमूर्त हुन्छ । मानिसको दिमागमा उत्पन्न हुने तरङ्गित आवृतिहरू (mind wave frequency) का प्रयोगहरूद्वारा सम्पर्क साथै संवाद गर्न सकिन्छ । यस्तो प्रयोगलाई हाम्रा प्राविधिक उपकरणहरू (technological instruments) अनि कृत्रिम बुद्धिमत्ता (artificial intelligence) ले सहायता गरेको हुनुपर्नेछ । हामीले हाम्रो चेतना अनि दिमागलाई पूर्णरूपले बुझ्न नसके तापनि यसको सहायताले केही हदसम्म भए तापनि सफल हुन सक्छौँ । उनीहरूका बारेमा बुझ्न हामीलाई साह्रो परे तापनि उनीहरूले चाहिँ हामीलाई सहजै बुझिरहेका पनि हुन सक्छ । हामीले मस्तिष्कको एकाग्रतालाई विकास गरेर उनीहरूसित सम्पर्क गर्न सक्छौँ । अझै योगशक्ति बढाएर लगेमा उत्तम हुनेछ । भारतीय दर्शनको (विशेष वैशेषिक दर्शनको) मान्यता के छ भने वास्तवमा ज्ञाता (knower) हाम्रा आत्मा हुन्छ । मस्तिष्कले वस्तु र चेतनामाझका सम्बन्धको व्यवस्था स्थापित गराउँछ । ज्ञान हुनुलाई मस्तिष्कको मुख्य भूमिका भए तापनि वास्तविकतामा ज्ञाताचाहिँ आत्मा नै हुन्छ । यसरी योगको सहायताद्वारा उनीहरूसित सम्पर्क अनि संवाद गर्न सहज हुनेछ । तिनीहरू सूक्ष्म ऊर्जाका रूपमा अवस्थित हुन्छन् । त्यसरी तिनीहरूको वास्तविकता बुझ्नलाई हामीलाई धेरै मदत हुनेछ किनकि विज्ञान अनि आध्यात्मिकता एउटै वास्तविकताका दुई प्रकटीकरणहरू हुन् । हामी पश्चिमी दर्शनको घटनाक्रमशास्त्रमा पनि यस्तै प्रकारको व्याख्या पाउँछौँ ।

कसरी परग्रहीहरूसित सम्पर्क गर्नमा शुद्ध गणितीय भाषाको प्रयोगले सहायता गर्नेछ भन्ने कुरा हामीले ब्रहमाण्डको आन्तरिक अनि मौलिक संरचना गणितीय छन् भन्ने कुराबाट बुझ्नुपर्ने हुन्छ । विश्वका सम्पूर्ण वस्तुहरू गणितीय अङ्क, आकार, फारम, स्वरूप अनि संरचनाका छन् । यस्ता शुद्ध गणतीय वस्तुहरूको प्रकृति पारलौकिक हुन्छ । ती पारलौकिक वस्तुहरूको निर्माण कल्पनाशक्तिद्वारा स्वरूपीय सहज बोध (formal intuit) गरिन्छ । ती शुद्ध वस्तुहरू प्रागानुभविक (पूर्वानुभविक) हुन्छन् । ‘प्रागानुभविक’ को अर्थ हुन्छ भौतिक अनुभवअघि अथवा रहित (either prior to or without experience) । अझै स्पष्ट रूपमा भन्नु हो भने ती प्रागानुभविक वस्तुहरू भौतिक वस्तुहरूको अनुभवबाट लिइएको होइन । उदाहरणका निम्ति, रेखागणितको कुनै एउटा त्रिकोणको परिभाषा कुनै वस्तुको अनुभवबाट परिभाषित गरिँदैन, त्यसैले तिनीहरू सार्वमान्य (universally valid) अनि अनिवार्य (necessity) हुन्छन् । त्रिकोणीय वस्तु (triangular object) विभिन्न प्रकारको हुन सक्छ तर त्रिकोणत्व (triangularity) सधैँ एउटै हुन्छ । त्यसरी नै अङ्कगणितका सूत्रहरू जस्तै: “१+१=२” अनि त्यहाँदेखि पनि माथि प्रयोगिक साथै उच्चस्तरीय गणितको प्रयोग गर्न सकिन्छ । तिनीहरूको गणित र हाम्रो गणितको शुद्ध स्वरूप अनि प्रकृति एकै प्रकारको हुनुपर्नेजस्तो लाग्छ । ती शुद्ध आकार अनि वस्तुहरूलाई हाम्रो मस्तिष्कको काल्पनिक शक्तिद्वारा शुद्ध कल्पनाभित्र शुद्ध स्वरूप दिएर शुद्ध सहज बोध (pure intuition) गर्न सकिन्छ । यही शुद्ध सहज बोध, कृत्रिम बुद्धिमत्ता अनि प्रविधिको सहायताद्वारा परग्रहीहरूसित सम्पर्क गर्न सकिन्छ जस्तो लाग्छ ।

परग्रहीहरू हामीभन्दा अति नै ज्यादा बुद्धिमानी छन् भने तिनीहरूलाई गणितको जरुरत तिनीहरूको प्रत्येक क्रियाकलापमा पर्नेछ । त्यही उच्च बुद्धिका कारणले गर्दा तिनीहरूले हाम्रा विज्ञान, प्रविधि अनि संस्कृति सहजै बुझ्न सकिरहेको पनि हुन सक्छन् । जे होस्, कुरालाई जति तन्काउँदै लगिन्छ उति तन्किँदै जान्छ । यी परग्रही अनि अज्ञात वस्तुहरूका कुराहरू अफवाहजस्तो लागे या नलागे तापनि हामीले मनमा एउटा कुराचाहिँ सधैँ याद राख्नुपर्छ कि यो ब्रह्माण्ड हाम्रो मात्रै होइन । हामी प्रत्येक साधारण मानिसले पनि हाम्रो मानवजातिको भविष्यका निम्ति अलिकति भए पनि गम्भीरतासाथ सोच्नुपर्ने दिन आइपुगेको छ ।