प्रकृति ज्ञानको पहिलो पाठशाला हो । प्रकृतिमा रहेका जीवजन्तु, चराचुरुङ्गी, सूर्य, चन्द्र, हिमाल, फूल आदिलाई हेरेर पाठकले तिनीहरूको आनीबानी, स्वभाव, कर्तव्य आदिको बोध गर्दछन् । बाबुआमाको काखमा रहेर बालकले उनीहरूको सिको गर्दै धेरै कुरा सिक्ने अवसर प्राप्त गर्दछन् । विद्यालय जान थालेपछि गुरु र गुरुआमाले दिने प्रेरणा र शिक्षकबाट थप नयाँ कुरा विद्यार्थीहरूले सिक्दै जान्छन् । सिकाइ बालबालिकासँग मात्र सम्बन्धित कुरा होइन । प्रौढका लागि पनि आवश्यक छ । यो आलेख प्रौढ साहित्यकारले बालसाहित्य रचना गर्नका लागि के–कस्तो कुराको सिको गर्ने, कसरी सिक्ने र आफूभन्दा सानासँग साक्षात्कार गरेर कसरी सिकाइमा अभ्यस्त हुन सकिन्छ भन्ने कुरामा केन्द्रित छ ।

सन्दर्भ बालकविता लेखनको हो । हामीमा एउटा कमजोरी के छ भने अरूको प्रतिव्रिmया सहने बानी हामीमा छैन । पाठक वा अन्य लेखकले दिएको सुझावलाई हामीले जबसम्म नकारात्मक रूपमा लिइरहन्छौँ तबसम्म हाम्रो लेखाइ कोठे लेखन मात्र हुन जान्छ । यसर्थ सकारात्मक प्रतिक्रिया प्राप्त गरेर सच्चिने मौका दिएकामा हामीले सुझावकर्तालाई धन्यवाद दिन पनि जान्नुपर्दछ । “मैले यसो भन्न खोजेको हुँ” भन्ने कुरा लेखकले मात्र बुझेर पुग्दैन, सामान्य पाठकले पनि बुझ्न सक्नुपर्दछ । यस्तो बेलामा बालबालिकाले दिने सुझाव वा प्रतिक्रियाले पनि मसलाको काम गर्दछ ।

बालबालिकासँग “मेरो कविता तिमीहरूलाई कस्तो लाग्यो ?” भनेर सोध्ने नै होइन । यसरी सोध्दा उनीहरूले ठूला मान्छेलाई खुसी बनाउनका लागि वा डरले पनि कविता “राम्रो छ” भनिदिन्छन् अनि हामी पनि त्यसैमा मक्ख पर्छौँ । उनीहरूका व्यवहार हेरेर नै हामीले प्रतिक्रिया पाउन सक्छौँ । बालकविताका सर्जक यदि शिक्षक हुन् भने उनीहरूले कविता पढ्ने बेलामा विद्यार्थीले हाई गरे भने, तिर्खा वा शौचको बहानामा बाहिर जान खोजे भने वा साथीसँग अरू नै कुरामा व्यस्त हुन खोजे भने मैले लेखेको कविता बालबालिकाको स्तर अनुरूपको भएन वा बालबालिकाका लागि रुचिकर भएन भनेर बुझ्नुपर्दछ । यदि शिक्षकले बालकविता सुनाउँदा ध्यान दिएर सुने भने वा रमाइलो माने भने सर्जकले आफूलाई सफल भएको ठान्नुपर्दछ । “हल्ला नगर त !”, “चुप लागेर सुन” जस्ता वाक्य भन्ने पर्दैन । कविता सशक्त र प्रभावकारी छ भने उनीहरू यसै चुप लाग्छन् भन्ने कुरा बिर्सनु हुँदैन । यसरी बालबालिकाको सङ्गत गरेर लेख्न सकियो भने लेखनलाई सरल र परिष्कृत बनाउनमा पनि थप मद्दत मिल्छ ।

रमेशचन्द्र घिमिरे

हामी सर्जकहरूमा अर्को कमजोरी पनि छ; त्यो के भने हामी अरूका कविता पढ्दै पढ्दैनौँ । अरूले लेखेको कविता पढियो भने आफूले पनि नयाँ कविता सिर्जना गर्न सकिन्छ । अग्रज वा समकालीनका कविता पढ्दा राम्रो लाग्यो भने यत्तिको राम्रो त म पनि लेख्न सक्छु भन्ने प्रेरणा प्राप्त हुन्छ । राम्रो लागेन भने योभन्दा राम्रो लेखेर देखाउँछु भन्ने हिम्मत पलाउँछ । अरूका कविता देखेपछि बढीमा शीर्षकसम्म पढेर छोड्नाले हामीले केही महत्त्वपूर्ण कुराहरू प्राप्त गर्न सक्दैनौँ । जस्तैः उसको कविता कत्तिको सरर्र बगेको छ ? पढ्दाखेरी लयात्मकताको साङ्गीतिक झङ्कार छ–छैन ? गति–यति–लयको अनुशासनको पूर्ण परिपालन हुन सक्यो वा सकेन ? सर्जकले दिन खोजेको सारवस्तु कलात्मक रूपमा आयो कि आएन ? बालबालिकाका लागि रुचिकर बन्न सक्यो कि सकेन ? वास्तविक आनन्द प्राप्त भयो वा भएन ? पढ्दै जाँदा दाँतमा ढुङ्गा लागेजस्तो त भएन ? कल्पनाशक्तिमा सर्जक के–कति डुब्न सके ? आदि कुराहरू प्राप्त गर्न हामीले अरूको कविता पढ्नै पर्ने हुन्छ । जसले गर्दा हामी सर्जकहरूले आफ्नो लेखाइमा निखार ल्याउन सक्छौँ । प्रत्यक्ष वा परोक्ष रूपमा प्राप्त हुने अरूको प्रेरणा, सल्लाह र सङ्गतबिनाको लेखन एकलकाँटे र कोठे हुन्छ । अरूको मन जित्ने र सबैले बुझ्ने बोध्य सम्प्रेष्य भाषाको प्रयोग एवम् पाठकलाई समेत यो त मेरै मनको भोगाइ हो भन्ने अनुभूत गराउने साधारणीकरणको भावले स्तरीय रचना जन्मिन्छ भन्ने कुरा सर्जकले बिर्सनु हुँदैन ।

बालसाहित्यका विभिन्न विधाहरूमध्ये बालकविता वा बालगीत अहिले आएर एउटा महत्त्वपूर्ण विधाका रूपमा रहेको छ । बालकविता कोठे सिर्जना मात्र नभएर प्रयोगशालीय पनि हुनु जरुरी छ । बालकविता लेखनलाई बन्द कोठामा बसेर गरिने एक्लो घोत्ल्याइँका रूपमा भन्दा पनि सम्बन्धित ठाउँमै गएर गरिने सङ्कलित अनुभवको खारिएको लेखनका रूपमा प्रयोग गर्न सकियो भने त्यो अझ बढी रोचक, प्रभावकारी, मनोवैज्ञानिक र सशक्त हुन सक्छ । कतिपय बालकविता लेखकले बालबालिकासँग घुलमिल भएर भन्दा पनि अर्ती–उपदेश दिने अभिभावकका रूपमा र नैतिक सन्देश दिने अध्यापकका रूपमा आफूलाई उभ्याएको पाइन्छ । वास्तविक बालकविता लेख्न त उनीहरूसँग सामीप्यता गाँस्न, उनीहरूको आँत छाम्न, उनीहरूसँगै रमाउन, उनीहरूका कुरा बुझ्न तथा समग्रमा भन्दा उनीहरूसँग सङ्गत गर्न सक्नुपर्दछ । बालबालिकाको सङ्गतले उनीहरूका कुराहरू खोजेर, उनीहरूसँग सोधेर, उनीहरूसँगै भिजेर र उनीहरूलाई नै भित्रैदेखि बुझेर बालकविता लेखनमा सफलता हासिल गर्न सकिन्छ ।

बालकविता लेख्दा आफू पनि बालकै जस्तो बनेर कविता लेख्ने प्रेरणा प्राप्त गर्न पनि बालबालिकाको सङ्गत हुनु जरुरी छ । बालसाहित्यका सर्जकहरूसँग सिर्जनात्मक खुबी भएर मात्र हुँदैन, विषयवस्तुको ज्ञान र गहिराइको पनि आवश्यकता पर्दछ । कुनै पनि मानिस आफू एक्लै पूर्ण हुन सक्दैन । तसर्थ प्रौढ साहित्यकारले बालकविता लेखन गर्दा आफ्नो विगतको अनुभवबाट प्राप्त हुने खुराकका साथै वर्तमानका बालबालिकाहरूसँग सोधेर, खोजेर, बुझेर र भिजेर पनि थप मसला प्राप्त गर्न सक्छन् भने अन्य साहित्यिक स्रष्टाका रचनाहरूको अध्ययन गरेर पनि बालकविता यसरी लेख्दा प्रभावकारी हुँदो रहेछ भनेर बुझ्ने अवसर प्राप्त गर्दछन् । आखिर जे सुकै भए पनि समग्रमा भन्नुपर्दा बालबालिकाको सङ्गत गर्न जानियो भने वा अग्रजको सिको गर्न सकियो भने मात्र एउटा बालसाहित्यकारले सफल बालसाहित्यकारका रूपमा आफूलाई उभ्याउन सक्छ । मेरो बालकविता लेखन प्रारम्भिक चरणमै रहेकाले म आफू सिकाइकै क्रममा छु । कमी–कमजोरीहरू धेरै छन् र पनि विज्ञ पाठकबाट सुझावको अपेक्षा राख्दै यसै सन्दर्भमा मेरा अनुभवहरू यस आलेखमा समेट्न प्रयास गरेको छ् । यो आलेख बालबालिकाको सङ्गतमा केन्द्रित छ ।

१) बालबालिकाका कुराहरू खोजेरः

बालबालिकाले के कस्ता कुरा मन पराउँछन् त्यो स्वयम् उनीहरूलाई नै थाहा हुन्छ । प्रौढ साहित्यकारले बाल्यकालीन अनुभव प्रायः बिर्र्सने हुनाले उनीहरूलाई मन पर्ने रङ, खेल, खानेकुरा, वातावरण आदिका बारेमा उनीहरूबाट नै खोजी गरिनुपर्छ । उदाहरणका लागि ‘यति यति पानी गङ्गे रानी’, उड्कुसी मुड्कुसी, ओक्कल दोक्कल, गट्टा, पटपटे लास जस्ता खेलका तरिकाका बारेमा उनीहरू नै बढी जानकार हुन्छन् र यिनै विषयका बारेका उनीहरूका गतिविधिको अनुगमनबाट बालकविता लेख्न सकिन्छ । बालबालिकाले खेल्ने खेल उही हुन्छ तर त्यसलाई स्मरण गर्नका लागि बालबालिकाहरूसँग निकट हुनै पर्छ नत्र वास्तविक अनुभवमा आधारित रहेर लेख्न गाह्रै हुन्छ । ‘रातो राम्रो, गुलियो मीठो’ भन्ने त भनाइ नै छ । यसबाट पनि के प्रस्ट हुन्छ भने उनीहरू रङमा रातो र स्वादमा गुलियो मन पराउँछन् भन्ने कुरा पनि थाहा पाउन सकिन्छ । उनीहरूका विचार वा भावनालाई सम्मान गरेर लेखेको कविता सुनाउँदा उनीहरू अझ बढी हौसिन्छन् । उनीहरूले सुन्दै नसुनेका कुरा वा उनीहरूलाई कर्कश लाग्ने कुराहरू लेखेर कविता लेख्नु भनेको पातो भर्नु मात्र हो । यसरी हेर्दा बालबालिकाका कुराहरू खोजेर लेख्नका लागि बालसङ्गत नभई हुँदैन ।

मेरो अनुभव

‘यति यति पानी गङ्गे रानी’ बाल समुदायमा प्रचलित अत्यन्त लोकप्रिय बाल खेलगीत हो । आफू केटाकेटी छँदा मैले पनि खासै नबुझी नबुझी यस खेलमा सहभागी भएको थिएँ । तर मलाई यसका बारेमा राम्ररी बुझ्नै थियो । कक्षा १० मा पढ्दै गरेका छात्राहरूलाई ‘यति यति पानी’ का बारेमा कसलाई थाहा छ ? भनेर सोधेँ । सबिना अधिकारी नामकी छात्राले यस खेलको खेल्ने तरिका र यसमा हुने शृङ्खलालाई राम्ररी अर्थ्याइन् अनि मैले ‘यति यति पानी’ कविताको. पुनर्सिजन यसरी गरेँः

यति यति पानी

निहुरी पर्दा साह्रै देखिँदैछ्यौ सानी
भिज्यो पैतालामा कठै बरा नानी !
यति यति पानी खेलौँ गङ्गे रानी !!

साथी साथी भई हात समाएको
हेरून् दुनियाले हामी रमाएको
मिलिजुली खेल्ने साह्रै राम्रो बानी
भिज्यो घुँडासम्म कठै बरा नानी !
यति यति पानी खेलौँ गङ्गे रानी !!

बिचमा तिमी हुन्छ्यौ छेउमा हामी हुन्छौँ
सुस्तै बोले हुन्छ हामी यसै सुन्छौँ
लाज मानी किन गछ्र्यौ आनाकानी
भिज्यो कम्मर लौ न कठै बरा नानी !
यति यति पानी खेलौँ गङ्गे रानी !!

भाग्न नखोज भो गोलो घेरा तोडी
जान पाउन्नौ तिमी हामीलाई छोडी
दाउ रै’छ तिम्रो फुत्किएर जानी
भिज्यो छाती पूरै कठै बरा नानी !
यति यति पानी खेलौँ गङ्गे रानी !!

मुखमै आउला पानी बोल्न नसकौली
आत्तिएर साङ्लो खोल्न नसकौली
हात पार्छौँ खुकुलो निस्क बाटो छानी
भिज्यो काँधै समेत कठै बरा नानी !
यति यति पानी खेलौँ गङ्गे रानी !!

खेल्यौँ हाँसी खुसी साथी–भाइ माझ
जुट्नु पर्छ भोलि बिदा होऔँ आज
अझै किन हेछ्र्यौ आँखा तानी तानी
भिज्यो घाँटी चिउँडो कठै बरा नानी !
यति यति पानी खेलौँ गङ्गे रानी !!

२) बालबालिकाहरूसँग सोधेर

कुनै पनि मानिस आफैमा पूर्ण हुँदैन । ‘कुण्ड कुण्ड पानी मुण्ड मुण्ड विचार’ भन्ने त भनाइ नै छ । यसको अर्थ हो– हरेक तलाउमा पानी हुन्छ र हरेक टाउकासँग विचार हुन्छ । बालबालिकाले पनि अनुभवका आधारमा कुनै न कुनै विषयवस्तुका बारेमा आफ्नै ढङ्गले बुझेका हुन्छन् । तर प्रौढले यी सबै कुरा आफ्नै दिमागले मात्र सोच्न भ्याएको हुँदैन । उदाहरणका लागि बालबालिकालाई छाता, झोला, आँगन, पिङ, घर, पसल, खानेकुरा, घरपालुवा कुकुर, आँखा छलेर दुध चोर्न .भ्याउने बिरालो, मौका पाएको बेलामा कुत्रुकुत्रु पार्दै लुगा–कपडा काट्न पल्केको मुसो, माऊको दुध चुस्ने बाच्छाबाच्छी वा पाडापाडी आदिका बारेमा धेरै थोरै कुरा थाहा पाएका हुन्छन् । कुनै निश्चित विषयमा आफूले जानेका कुराको बिस्तारै आफैले सङ्कलन गरिसकेपछि उनीहरूलाई एक्लाएक्लै वा समूहमा राखेर विचार सङ्कलन गर्न सकिन्छ र तिनीहरूबाट प्राप्त विचारले मसलाको काम गर्दछ र बालकविता लेख्न सकिन्छ ।

मेरो अनुभव

मलाई ‘आँगन’ शीर्षकमा कविता लेख्नु थियो । कक्षा ९ को नेपाली पाठ्यपुस्तकको सिर्जनात्मक कार्यअन्तर्गत कविता लेखनमा अभ्यास गराउनलाई निर्देशन पनि दिइएको थियो । मलाई त एउटा बहाना चाहिएको थियो । त्यही निहुँमा मैले उनीहरूलाई “तिमीहरूलाई आँगनका बारेमा केके थाहा छ ? ल भन त !” भनेर उत्तर खोजेँ । उनीहरूले दिएका उत्तरको निचोड यस्तो थियो –

आँगनमा नाचगान गरिन्छ । आँगनमा भारी बिसाइन्छ । आँगनमा कोही गुच्चा खेल्छन् कोही तास खेल्छन् । आँगनमा चुङ्गी खेलिन्छ, खोपी पनि खेलिन्छ । केटाकेटीले आँगनमा कपर्दी, डन्डीबियो र अरू खेल पनि खेल्छन् । जाडामा आँगनमा गुन्द्री ओच्छ्याएर घाम ताप्न पाइन्छ । बिस्कुन वा धान सुकाउनका लागि आँगनकै प्रयोग गरिन्छ । तिहारका बेलामा भैली खेल्न, रङ्गोली बनाउन र उस्तै परे भाइटीका लगाउन पनि आँगनलाई नै उपयोगमा ल्याउन सकिन्छ । आँगनमा दसैँमा खसी काटिन्छ । सानोसानो दाइँ हाल्न पनि आँगनमा नै मिल्छ । आँगनमा धान झाँट्न र भट्ट, मास ठटाउन पनि मिल्छ । गुन्द्री ओच्छ्याएर आँगनमा बसी निबुवा साँधेर खान पाउँदा कम्ती रमाइलो त हुँदैन । पुसको पहार ताप्दै आमा र हजुरआमाहरूले आँगनमा तान लगाएर गुन्द्री पनि बनाउँछन् । दसैँको बेला आँगनमै त हो नि घुर्रे पिङ र लट्ठ् पिङ हाल्ने ! आदि–आदि । मैले यसअघि पनि जाँतो, ठेकी, छपनी, लोहोरो जस्ता शीर्षकमा पनि यसरी नै उनीहरूका विचार बटुलेर कविता लेखेको थिएँ । यसै क्रममा लेखिएको चस्मा शीर्षकको बालकविता यस्तो छः

चस्मा

नाकलाई च्याप्छ दुख्ने गरी कानलाई साह्रो डस्छ
आफू भने गजधम्म मक्ख पर्छ बस्छ

रामायण पढ्नु पर्दा हजुर बाले खोज्ने
राम्री हुन स्यान्दिदीले यही चस्मा रोज्ने
धुलो उड्दा आँखाभित्र पस्छ भन्ने डर
त्यही निहुँमा ठूल्दाजैलाई चस्मा लाउने रहर !

मोटर साइकल चढ्दा खेरि हान्छ हावाले
त्यही भएर चस्मा लाउँछन् सानो बाबाले
लौरी टेकी हिँड्ने गाउँका बुढापाकाले
चस्मा लगाई हिँड्ने गर्छन् मामा, काकाले

कैले काहीँ आँखा पोल्छ, दुख्छ, बिझाउँछ
घामले आँखा टिप्दा कालो चस्मा काम लाउँछ
हैरान पार्छ बाटो हिँड्दा पिरो धुवाँले
आस्कोटबाट चस्मा झिक्छन् ठूलो बुवाले

चामल खन्याई नाङ्लामा बियाँ केलाउँदा
फुर्सद हुँदा खुसुखुसु मोबाइल खेलाउँदा
मैले यस्सो हेर्देको त मानिन् साह्रै लाज
फुपूले नि चस्मा ला’को देख्न पाइयो आज

झिल्का पार्दै फलाम जोड्ने झिल्के मिस्त्री दाइ
टिभी हेरी आँखा बिगार् गर्ने सानो भाइ
ठूलाले त यसै लाउँछन् स्यान्स्यानाले लाउने
कोहीले रहर कसैले चाहिँ बाध्यताले लाउने

खोजी गर्दा बाको थोत्रो चस्मा पाइएर त
मलाई पनि चस्मा लाउने निहुँ चाहिएर त
लाउने रहर भयो अनि चस्मा ला’को छु
भन्देऊ साथी चस्मा लाउँदा कस्तो भा’को छु ?

३) बालबालिकालाई बुझेरः

सोध्नु र बुझ्नु फरक कुरा हो । सोध्ने कुरा प्रत्यक्ष हुन्छ भने बुझ्ने कुरा अप्रत्यक्ष हुन्छ । बालबालिकाका गतिविधिलाई एउटा अवलोकनकर्ताले झैँ उनीहरूलाई थाहै नदिई परै रहेर वा उनीहरूसँग घुलमिल भएर धेरै कुरा थाहा पाउन सकिन्छ । बालबालिकाले गट्टा खेलेको बेलामा उनीहरूको खेल गतिविधि नियाल्नु, चित्रमय पुस्तक पढ्दा उनीहरूले कत्तिको रुचि लिएर पढेका छन् त्यो विचार गर्नु र साथी–साथी मिलेर उनीहरूले खाजा खाँदा कसरी आत्मीयता साटेर र मिलेर खाजा खान्छन्, सामूहिक पढाइ वा कक्षाकार्य गर्दा के कसो गर्छन्, साथीले लेख्दालेख्दै अर्को साथीले कलम दिएर लेख्न सुरु गरेको, खाजा खाने पैसा ल्याउन बिर्सेको बेलामा पैसा सापट दिएको, सबै मिलेर आ–आफ्ना खाजा एकै ठाउँमा मिसाएर फाँको हालेर खाएको, नाचगान र गीत सङ्गीतमा सँगै रहेर एक–एकवटा भूमिकामा सहभागी भएको, रुमाल लुकाइ खेल्दा आफै गोलाकार घेरा बनाई स्व–निर्देशित रूपमा आफू–आफू खेलेको, फुटबल वा रेडी जस्ता खेलमा व.पी. (वर र पीपल) का आधारमा आफू–आफूले रोजेर वर जतिको एउटा समूह र पीपलको अर्को समूह बनाएर समूह निर्धारण गरेको जस्ता कुराहरूलाई जब प्रौढ साहित्यकारहरूले नियाल्न पाउँछन् तब उनीहरूले गतिविधि बुझेर पनि बालकविता सिर्जना गर्न सक्दछन् ।

मेरो अनुभव

खेलछुट्टीको समय थियो । कोही भलिबल खेल्दै थिए, कोही चुङ्गीमा रमाउँदै थिए, कोहीचाहिँ फुटबलमा व्यस्त थिए तर सात कक्षा पढ्ने नानीहरू भने कक्षाकोठाभित्रै बसेर रमाइलोसँग गट्टा खेल्दै थिए । मैले उनीहरूले गट्टा खेलेको राम्ररी हेरेँ । उनीहरू पालैपालो खेल्दै थिए । तिनीहरूमध्येकी एउटी छात्रा सुकमाया वि.क.को गट्टा खेलाइबाट म प्रभावित भएँ र उनीहरूको अनुमति पाएर भिडियो खिचेँ । बेलुकी घरमा आएपछि त्यो भिडियो नियालेँ । गट्टा खेल्ने तरिका र चरणका बारेमा बुझ्दै गएँ र थप स्पष्ट हुनका लागि भोलिपल्ट सोधेँ । अनि उनीहरूको मनोभावना बुझेर फुर्सदमा यस्तो कविता तयार पारेँः

गट्टा खेल्ने साथी

किन घुर्की लगाउँछ्यौ मर्काएर घाँटी ?
खोजी आऊ अनिता गट्टा खेल्ने साथी

गट्टा फिँजाई भुईंमा टाउको कर्काई
खेलिन् साथी निताले ओर्काई फर्काई
एक् टिप्पे र दुई टिप्पे अनि अचारचाटी
खेल्दैछु म हेर्दै जाऊ गट्टा खेल्ने साथी

खेल्दाखेल्दै थाकेँ म तिम्लाई पालो दिम् कि ?
एक् छिनपछि खेल्ने हो मैले इम्की–छिम्की
आँखा छली सुनिता नबन है बाठी
झेल् नगरी खेल्न आऊ गट्टा खेल्ने साथी

घोडे गुफा खेलौँ है खेलौँ गट्टाच्यापी
ढ्यापु, च्यापु, घर् लिपी, दुल्के, पन्जाछापी
गीता अनि बिनिता मनिता छिन् जाती
भोलि फेरि जुटौँ है गट्टा खेल्ने साथी !

४) बालबालिकाहरूसँग भिजेरः

बालबालिकाले खेल्ने खेलमा आफू पनि साथी भइदिएर वा कसैको जन्मदिनको रमाइलामा आफू पनि सहभागी भइदिन आफूले पाँच–दस रूपैयाँ खर्च गरी चकलेट मिठाई किनेर बाँड्ने अनि आफू पनि उनीहरूसँगै बसेर सँगै खानाले बालबालिका र प्रौढको दूरी कम हुँदै जान्छ र उनीहरू पनि खुलेर धेरै कुरा बोल्न सक्छन्, हिच्किचाउँदैनन् । यस बाहेक भ्रमणमा सहयात्री हुँदा पनि उनीहरू अझ खुल्न सक्छन्, अग्रज र अनुजबिचको दूरी कम हुँदै जान्छ । यस्ता गतिविधिबाट उनीहरूको भित्री कुरा के छ, त्यो पनि थाहा हुन्छ र नयाँ अनुभव बटुल्न सकिन्छ अनि बालकविता लेखनमा सहज हुन्छ ।

मेरो अनुभव

आइतबारको दिन थियो । कक्षा ९ मा पढाउनका लागि घन्टी बज्नासाथ कक्षाकोठाभित्र पसेँ । आज पढ्नुपर्ने विषयको शीर्षक बोर्डमा लेखेर विद्यार्थीहरूलाई किताब पल्टाउन निर्देशन दिँदै थिए, एक जना छात्रा उठेर मलाई एउटा चोकोफन र दुइटा मिठाई दिइन् । उनले आज मेरो जन्मदिन हो भनेर भन्न नपाउँदै मैले कुरा बुझिहालेँ किनभने कसैको जन्मदिन छ भने यसरी नै मिठाई दिने चलन छ । मैले उनलाई जन्मदिनको शुभकामना दिएँ । जन्मदिन कसरी मनाउने भन्ने बारेमा जिज्ञासा राख्दा उनले जे बताइन् मैलै त्यसलाई कवितामा उतारेर भोलि सुनाउने वाचा गरेपछि उक्त दिनको पाठ पढाएँ । उनको जन्मदिन मनाउने तरिका मलाई साह्रै चित्त बुझ्यो । उक्त कविता मैले अर्को दिन कक्षामा सुनाएँ र सोही कविता कान्तिपुर कोपिलामा प्रकाशनका लागि पनि पठाएँ । अर्को आइतबार सो कविता कोपिलामा प्रकाशित पनि भयो । कविता यस्तो थियोः

जन्मदिनको रमाइलो

यति साह्रो रमाइलो भा’को किन हो
आज हाम्री साथीकोजन्म दिन हो

मिठाई बोकी ल्या’की छन् झोला भोरेर
यतै राख क्यै हुन्न खान्नौँ चोरेर
अबिर लाइदिइन् गालामा हाम्री वर्षाले
दङ्ग परिन्, रमाइन् उफ्रिन् हर्षले

गीत गाइन् रूपाले भाका हालेर
साथीभाइ नाच्दैछन् खुट्टा फालेर
हृदयको खोकिलामा माया अटाउँदै
ताली पिटिन् पुष्पाले हात ठटाउँदै

हामीसित पैसा छैन केक काट्नलाई
कल्ले छेक्न सक्छ र ? खुसी साट्नलाई
मनको पीर अँधेरो दुःख भगाउँछौँ
निभाउन्नौँ मैन बत्ती दियो जगाउँछौँ

किताब–कापी उपहार दिनु जाती हो
जन्मदिनको खुसीमा नाचौँ साथी हो !

निष्कर्ष

यसरी बालबालिकासँग सङ्गत गर्दा प्रौढ साहित्यकारले कहिले भाइबहिनीका दाजु वा दिदी, विद्यार्थीका गुरु वा गुरुआमा, छोराछोरीका बाबु वा आमा, छिमेकी बालबालिकाका अभिभावक आदि बनेर उनीहरूको विचार अभिव्यक्त गर्न सक्ने वातावरणको निर्माण गर्नुपर्दछ र उनीहरूका कुरा खोजेर, उनीहरूसँग सोधेर, उनीहरूलाई बुझेर अनि उनीहरूसँगै भिजेर बालकविता लेखनका लागि प्रशस्त अनुभव, विचार, र खुराक बटुल्न सक्छन् अनि सशक्त साहित्य सिर्जना गर्न सक्दछन् । बालबालिकालाई नबुझी कविता लेख्दा त्यस्तो कविता केवल कोरा नारा, खोक्रो भाषण र उपदेशले लादिएको भारी जस्तो हुन्छ भन्ने बुझेर म प्रायः बालबालिकाकै सङ्गत गरेर कविता लेख्न रमाउँछु । तर यसरी कविता लेखे पनि मैले उनीहरूको मनोभावना बुझ्ने खालको कविता रचना गर्न सकेको छैन । बालबालिकाले मेरा बालकविता पढेर अग्रज साहित्यकारका कविता पढ्दा जुन किसिमको आनन्द प्राप्त गर्न सक्छन् त्यस्तो आनन्द पाउन सकेका छैनन् भन्ने मेरो ठहर छ । अग्रज बालसाहित्यकारकै जस्तो कलात्मक, कल्पनाशील र रमाइला कविता लेख्ने प्रयासमा छु । मेरो बालकविता लेखन प्रारम्भिक चरणमै रहेकाले म आफू सिकाइकै क्रममा छु । कमी–कमजोरीहरू धेरै छन् । त्यसैले विज्ञ पाठकबाट सुझावको अपेक्षा राख्दै मेरा अनुभवहरू सँगालिएको यस संस्मरणात्मक आलेखलाई बिट मार्न चाहन्छु ।