हुन्न, सोचेजस्तो हुन्न जीवन । नहुन पनि सक्छ हुनु पर्नेजस्तो । रङ्गीन छ पलपलको समय र यथार्थ पनि । मिल्ने पनि र नमिल्ने पनि । गर्ने कर्म आफ्नै हो । हुन्छ नियन्त्रण कसरी गर्ने भन्नेमा । सत्य मात्र नहुनसक्छ पूर्ण कहिले । गर्नुहुन्न त्यसैले उज्यालोको कामना अँध्यारोमै । जान्नु पर्छ मात्र धैर्य गर्न । प्राप्तिको क्रम नै हो प्रतीक्षा ।
अक्षरको अर्थ लाग्ने नै हुन्छ । नलाग्न सक्छ कहिलेकहीँ । सिर्जनाको असन्तुष्टिले पूरा गर्न सकिँदैन मागलाई । फरक हुन्छ राजनीतिमा । व्यङ्ग्य प्रुफ हुन्छन् पहिले अनि गर्छन् नेतृत्व । गर्न थाल्छन् अवरोध त्यसपछि अरूलाई । दुनो सोझ्याउने आफू र आफ्नाका । साध्य नै नहुने भएको छ गरेर कुरा ।
अक्षरबाट असन्तुष्टिको आक्रोश पोख्ने कवि हुनुहुन्छ उपेन्द्र श्रेष्ठ । कवितामा विद्रोह थाल्नुभएको पचासको दशकदेखि होला सायद । बारुद बिछ्याएजस्तै अक्षर मिलाएर लेख्नुहुन्थ्यो कविता । उस्तै उस्तै विद्रोहको आवाज भएका कविता लेखिरहनु भो धर्तीमा हुन्जेलसम्म ।
भन्नु पनि हुन्थ्यो त्यस्तै,
‘समानता र सत्यको पक्षधर हूँ म । सहन नसकेपछि आफूभित्रको स्रष्टाले, निस्कन्छन् कविताहरु ।’ भनेजस्तै हुन्थ्यो कविता ।
सन्दर्भ आउनासाथ लेखिहाल्नु हुन्थ्यो विकृति र विसङ्गतिका कुरा । जनतामा भइरहेका असमानताका कुरा । कारण नै यही हो आक्रोश र असन्तुष्टि आउने उहाँका कवितामा ।
पाँच दशक निरन्तर सक्रिय हुनु भयो कविता यात्रामा । थकाइ मारे समकालीन मित्रहरुले, कविहरुले । इतिहासकै पचियमा मात्र बाँचिरहे केही केही त । उपेन्द्र दाइ भने कविता नलेखी बाँच्नै सक्नुभएन । जीत नै हो यो पनि निरन्तरताको । असन्तोष, आक्रोशको अभिव्यक्तिलाई कलात्मक बनाउनेसम्म न हो ।
माघको बीस गते थियो बयानब्बे सालको । जन्मियो एक बालक चिसापानी गढीमा मकवानपुरको । प्रसिद्ध कवि बन्यो नेपाली साहित्यमा । उपेन्द्र श्रेष्ठको नाममा पछि कवि भएर । प्रसिद्धि पनि ।
बिग्रिएको वर्तमानलाई सुधार्नका लागि / उज्यालो भविष्यका लागि /नयाँ पाइलाका लागि
नयाँ आवाजका लागि / नयाँ आव्हानका लागि / समग्रमा नयाँ जीवनका लागि
वकालत गरिरहनु भो वकिल झैँ सधैँ सधैँ / इमान्दार मार्गमा उठाइरहनु भो हात सधैँ ।
कवि मात्र होइन उपेन्द्र श्रेष्ठ । लेख्नु भा छ कथाहरु पनि । आएका छन् हस्तलिखित पत्रिकामा । समसामयिक लेख पनि लेख्नु भो गोरखापत्रमा कुुनै बेला । स्तम्भ पनि लेख्नु भो ‘प्रतिनिधि ’ पाक्षिकमा ।
बीस एक्काइस सालका समय थियोे त्यो । लेख्नु भो कहिले नारायणी श्रेष्ठको नामबाट । लेख्नु भो अरु नामबाट पनि । ‘शिलान्यास’ मासिकको त प्रकाशक पनि र सम्पादक पनि । पत्रकारिता पनि गर्नु भो सत्ताइस सालसम्म । साहित्यकारिता त छुटिने कुरै भएन ।
उपेन्द्र श्रेष्ठ नामसँग जोडिहाल्छ कविता । नेपाली कविता भन्नासाथ प्रयोगवादी कविमा आउँछ नाम । प्रतिनिधि कविमा आउँछ नाम तीसको दशकमा । अरु पनि छन् नामसँगै जोडिने नामहरु । जताबाट पनि छुटाउनै नमिल्ने नाम बनेको छ उपेन्द्र श्रेष्ठ । न कविता छुटाउँदा हुन्छ पूर्ण त्यस समयको । छुट्दा उपेन्द्र श्रेष्ठको नाम पुलबिनाको नदीजस्तै हुन्छ तर्न नमिल्ने ।
भन्नुहुन्छ, युगको आवाज हुनुपर्ने आवाज हुन्छ कवितामा । विरोधी हुनुपर्छ पुरानो मूल्य र मान्यताको पनि । पलायन र निराशाका कविता लेखेर पाठकलाई दुखी नबनाऔँ भन्ने सदासयता पनि राख्नुहुन्छ । मान्छेका समस्या र पीडा पो देखाउनु पर्छ भन्ने कवितामा । जागरणकोे जोश हुनुपर्छ भन्ने पनि तपाईँ । पहिचान गुमाएर कठपुतली बनिरहेको पनि भन्नुहुन्छ तपाईँ । कहिलेसम्म बाँचिरहने अरुका लागि भन्ने पनि तपाईँ ।
नयाँ विश्वास, नयाँ आस्था,नयाँ मूल्य ,नयाँ मान्यताकै कवितामा जोड तपाईँको सधैँ । माने पनि नमाने पनि विचलित हुनु भएन भनेजस्तै । ‘दासले मसँग मुक्ति मागेको छ ’ उनान्नसाठी सालले निकालेको कविता कृति हो । बन्यो त्यही अन्तिम कवितासङ्ग्रह ।
निस्कन त सत्र सालमै निस्केको थियो ‘निम्तो’ सङ्ग्रह । ‘पञ्चायत’ पनि राख्नु भो पचीसमा, व्यवस्थाकै नामबाट । ‘उपेन्द्र श्रेष्ठका कविता’ उनन्चासले पाएको थियो राम्रै महत्त्व । छपन्नमा ‘अस्वीकृति’ आएपछि आउनथाले आक्रोशका कविता ।
अन्तिम कविताको शीर्षक पनि त्यस्तै । अन्तिम सङ्ग्रहको नाम पनि थियो त्यस्तै । छन् विद्रोह नै विद्रोह । लिँदैनन् फेरि नाम विद्रोही कविका रुपमा । किन होला ? कवि भनेर पढ्ने छन् नै तपाईँलाई । सम्झिने अब बाँकी छैनन् धेरै । लागिरहन्छ कताकति नमज्जा । न योगदानको बारेमा । न प्रवृतिको बारेमा । लेख्नेहरु, समालोचकहरु देखिँदैनन् उत्साही भएका । पत्रत्रिकाको के कुरा अहिले ? बिगबिगी छ विद्युतीय माध्यमको । महत्त्व दिन कन्जुस्याइँ गरेजस्तो लाग्छ । लागिरहन्छ, किन भएको होला यस्तो ?
मूल्याङ्कन भएन खासै योगदानअनुसारको । होला त्यसैले पोखिरहेको असन्तुष्टि नै कवितामा । रहेछ नै त्यस्तै । अन्तर्वार्ता गर्दा मलाई नै सोध्नु भाथ्यो उल्टै प्रश्न । ‘प्रसङ्गवश’मा ६२ सालको मधुपर्कमा ।
लेख्न त लेख्नु भो कडाभन्दा कडा कविता । हुनुपर्ने जति हुन नसक्नुको कारण के हुनसक्ला खोइ ? कवितासङ्ग्रहको शीर्षक नै व्यवस्थाको राखेर पो हो कि ? नभने पनि अलिअलि तपाईँसँग खुल्न चाहन्थेन रे भन्ने पनि सुनिन्थ्यो । नदेखिने काम गर्ने रे भनेको पनि कताकति सुनेजस्तो लाग्छ । सत्य कति हो थाहा छैन । आधारबिनाका आरोपको हुँदैन अर्थ । कहिले पो कमी भएका छन् र ? भन्नेहरुका सङ्ख्या । भीड जहिल्यै छ, अरुलाई गिराएर आफू उठ्न खोज्नेहरुका । भ्रममा हुन्छन, अरुलाई लडाए म उ्ठछु भन्ने । आफैँ उठ्न नसक्नेहरु । भनिरहुन्, थुन्न सकिँदैन थुतुनो भन्नेहरुको कहिल्यै र कसैले पनि ।
देखिने अनुहार उज्यालो । चिटिक्क देखिने सधैँ । आशा नगर्ने कसैको । लगाउने लुगा हुन्थे प्रायः ब्राण्डेड नै । महङ्गो घडी नाडीमा । टल्किरहने जुत्ता सधैँ पालिसले । आँखामा नछुट्ने पावरको चस्मा ।
आइरहनुहुन्थ्यो मधुपर्कमा नियमित । अग्रजहरुमा उहाँ नै हो एक नम्बरमा । गरिरहनु हुन्थ्यो हल्ला उहाँ आउनुभएपछि । बिताउनु हुन्थ्यो दुई तीन घण्टा नै । सल्लाह दिनुहुन्थ्यो नयाँ लेखक कवि आउँदा । पुराना आउँदा समकालीन कुरा गर्ने । बेलाबेलामा ‘ल भन आज के खाजा खाने ?’ भनेर सोध्नुहुन्थ्यो हामीलाई । सम्बोधनमा कहिले तपाईँ, कहिले तिमी र कहिले तँ पनि भन्नुहुन्थ्यो । खान्थ्यौँ खाजा सँगै बसेर । थिएन सम्बन्ध कवि र सम्पादकको जस्तो । व्यवहार थियो हार्दिक, दाजुभाइजस्तो । रमाइलो मान्थ्यौँ हामी, आउनुभएपछि उपेन्द्र दाइ । जान्न पाउँथ्यौँ साहित्यका पुराना कुरा र पात्रका कुरा पनि । रत्न दाइ अलि ठाडै बोल्नु हुन्थ्यो उहाँसँग । गर्नु हुन्थेन कुनै प्रतिवाद । अरुसँग त जोसिहाल्नु हुन्थ्यो ।
निस्केर पिपल बोटतिर जानुहुन्थ्यो पाँच बज्न थालेपछि । साहित्यकारहरुको धेरै पुरानो अखडा नै हो न्युरोडको पिपलबोट । हुन्थे समूहसमूहमा नयाँहरु पनि । समकालीन साथीहरु बस्ने भिडियो क्यासेट पसल थियो । त्यहीँ बस्नुहुन्थ्यो उपेन्द्र दाइ ।
सोखिन नै हो बोल्ने कुरामा । पुरानो कुरा निकाल्नु हुन्थ्यो सन्दर्भ मिलाएर । तर्क हुनथाल्यो भने अर्कोसँग । बन्नुहुन्थ्यो उत्तेजित । फोहरी शब्द पनि निस्कन्थ्यो बेलाबेला । आवाज बढ्दै गएपछि दम बढ्थ्यो र खोकी लाग्थ्यो । रोकिनु हुन्थ्यो त्यसपछि बोल्न ।
तथ्यमा नै बोल्नु हुन्थ्यो जे बोले पनि । सिधा हुन्थ्यो कुरा र स्पष्ट पनि । नलाग्ने हुन्थ्यो अर्को अर्थ । स्पष्ट कविताजस्तै । कवितामा हुनुपर्छ कविता नै भन्ने । मान्छे केन्द्रित हुनुपर्छ भन्ने । चियाउन सक्नुपर्छ मनलाई भन्ने । बुझ्नुपर्छ बाध्यतालाई भन्ने ।
अर्थ देख्नु हुन्थेन प्रयोगका नाममा गरिएका प्रयोगहरु ।
‘मान्छेको जीवनको प्रयोग नभएजस्तै हुँदैन । उकाली ओराली हिँड्दा पाइलाको प्रयोग हुँदैन । प्रयोग हुनुपर्ने लाग्दैन कवितामा पनि । आफ्नो रुप छ कविताको । रङ छ र सौन्दर्य पनि छ । आफैँ आन्दोलन हो । आन्दोलनको अर्थ छैन कवितामा । सजिलो बनेको छ प्रयोगको नाममा स्वप्रचार गर्ने ।’ प्रष्ट भन्नुहुन्थ्यो यसरी नै उपेन्द्र दाइ ।
गरिरहनु हुन्थ्यो फोन बेलाबेला । अफिसमा कम घरमा बढी । टुङ्गिन्थेन कुरा कहिल्यै छोटोमा । हुनुभयो बिरामी एक पटक । धेरै भएको थियो घरमै बस्नुभएको । गर्नु भयो उपचार सहयोगको लागि पनि । पहल गरिदिनु पर्यो भनेर मसँग । गुनासो थियो उहाँको अनेक । साहित्यको सेवा गरेँ जिन्दगीभरि । वास्ता गरेनन् कसैले भन्ने । भन्नु हुन्थ्यो प्रधानमन्त्री, मन्त्रीकहाँ कुरा पुर्याउनका लागि । पहल गर्न पनि भन्नुभो प्रज्ञाप्रतिष्ठानमा । गुनासोसँग सधैँ हुन्थ्यो, आक्रोश पनि । कुरा गर्नु भो पत्रकार सम्मेलन गर्ने पनि । भरिनुभएको थियो असन्तुष्टिले ।
महिनौँसम्म बिरामी त हुनु भाथ्यो पहिले पनि । पुगेका थियौँ हेर्न तुलसीजी र म । पल्टिरहनु भएको थियो । पाइप जोडिएको थियो नाकमा अक्सिजनको । खुसी हुनु भाथ्यो निकै । भेट्न आउँदा कोही पर्नु हुन्थ्यो दङ्ग । आउनासाथ सन्दर्भ गरिहाल्नु हुन्थ्यो असन्तुष्टिको ।
घरमा पुग्यौँ फेरि । अन्तिम बन्यो त्यही भेट । हुनुहुन्थ्यो बिरामी त्यस्तै । गोविन्द गिरी प्रेरणा र म । अमेरिकाबाट आउनु भएको थियो उहाँ । भेट्यौँ एकै साँझ उपेन्द्र दाइ र कृष्णचन्द्र दाइलाई । फोटाहरु खिच्नु भो गोविन्दजीले । खिचेँ मैले पनि केही । खिचेका केही नसोचेर । बन्यो अन्तिम फोटाहरु । कविता दिनु भाथ्यो मधुपर्कलाई । अन्तिम बन्यो कविता पनि त्यही ।
चर्को गर्मी थियो चौबीस जेठ, सठ्सठी सालको । थिएँ प्रज्ञाभवनमा । हल व्यवस्थापन गर्न मधुपर्क सम्मानका लागि । उज्यालो थिएन भवनभित्र । लोडसेडिङको जोड चलेको थियो समय । भेटेँ उपकुलपति, सदस्यसचिव र केही प्राज्ञहरु पनि । गर्नु थियो निम्तो । गङ्गा दाइ हुनुहुन्थ्यो उपकुलपति । कुरा गरेँ उपेन्द्र दाइको बारेमा । रहेन छ साहित्यकार स्वास्थ्य उपचार सहयोग समिति कोष गठन भएको । घरमै गएर आर्थिक सहयोग दिइसकेको रहेछ । अर्को व्यवस्था गरेर । कुलपतिसहितको टोलीले ।
लाग्नसम्म लाग्यो अचम्म । फेरि किन भनिरहेको होला मलाई । बिर्सेको पनि हुनसक्छ बिरामीले । कुरा गरिरहेको थिएँ उहाँकै । शान्त हुनुभएको रहेछ त्यहीबेला । त्यागिसक्नु भएको रहेछ शरीर उपेन्द्र दाइले ।
संयोग पनि त्यस्तै । कुरा गरिरहनु यता । नचाहिने भएको उता । जानु भएको अन्तिम दिन र मधुपर्कमा छापिएको अन्तिम कविता पनि पर्यो एकै दिन । छयत्तर असारको मधुपर्कले पनि गर्यो बिदा उहाँलाई । पाउनु भएन हेर्न आफैँले । कविता लेख्नु भो जीवनभरि । लेख्नु भो बिरामी हुँदा पनि । छापियो मृत्यु भएकै दिन पनि । थाक्नु भएन कहिले कविता लेखेर । बिसाउनु भएन कहिले कलम । हार्नु भएन कहिले कवितामा । हराउनु पनि हुने छैन कवितामा कहिले ।
उदाहरण बन्नु भो वरिष्ठ भएर विशिष्टको । सिर्जनाका साधक पनि अथक नै । लेख्न थाल्नु भएको थियो कविता बाह्र सालदेखि । लेखिरहनु भो जीवनको अन्तिम समयसम्म नैे ।
पहिलो पटक छापिएको थियो कविता ‘एक रात’ । बनारसको ‘उदय ’पत्रिकामा । नयाँ कविता नहेरी जानुभो अन्तिमको । ‘हाम्रो लागि यो हिँसा र हत्या किन ’शीर्षकमा । खुब चासो राख्नुहुन्थ्यो प्रतिक्रियामा । लिन पाउनु भएन त्यो पनि ।
चाैवन्न वर्ष निरन्तर कविता लेख्ने कवि । भए पनि धेरै कम मात्र होलान् । निरन्तरताको इतिहास बनाउने उहाँजस्तो कवि । हुन्न बिर्सेर पनि कहिले बिर्सन उपेन्द्र श्रेष्ठलाई ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।