साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

किनारामा बसेरै पनि केन्द्रकाे साताे खाने कवि कृष्णभूषण बल

बल निमुखाको पक्षमा बोल्ने एक प्रतिरोधी आवाज हुन् । उनी कब्जावादी केन्द्रहरूको सात्तो खाने ठाडो चुनौती हुन् । आमाको सम्झनामा पलपल पग्लिरहने एक पिलपिले कोमल मन हुन् उनी ।

एउटा सम्झना जो कमला अतीतहरू छिचोल्दै कमलै घामतिर दौडन्छ ।

एउटा विद्रोही झिल्को जो चैतको हुरी भई उठ्दछ ।

एउटा आशा जो भोलि बास्ने बिहानको प्रतीक्षा गर्दछ ।

अनि,

प्रत्येक असार उनको सम्झनामा केहीबेर भुइँ कुहिरोभरि नियास्रिन्छ ।

असारे झरीमाझ एक कवि सम्झना गाढा छाइदिन्छ । धेरैले नसम्झन पनि सक्छन् उनलाई तर कविताका पारखीले भने अवश्य बिर्सन सक्ने छैनन् । अथवा बिर्सन सकिने नाम नै कहाँ हुन् र कवि कृष्णभूषण बल !

बल निमुखाको पक्षमा बोल्ने एक प्रतिरोधी आवाज हुन् । उनी कब्जावादी केन्द्रहरूको सात्तो खाने ठाडो चुनौती हुन् । आमाको सम्झनामा पलपल पग्लिरहने एक पिलपिले कोमल मन हुन् उनी । उनी अघि बढ्ने छोरालाई आशिषको वर्षा खन्याउने एक जिम्मेवार मन हुन् । उनका कविताहरू यसै भन्छन् उनीबारे ।

कृष्णभूषण बल

कुनै लेखकसँग व्यक्तिगत सानिध्यता या चिनापरिचय नहुनुका केही सुविधाहरू हुँदा रैछन् । केवल सृजनाले नै उनको प्रतिमान कोरिदिन्छ । उनका नित्तान्त निजी कुरातिर लाग्नु पर्ने दर्कार नै पर्दैन । मेरा लागि कवि कृष्णभूषण बल उनकै कविताको सामर्थ्यमा कोरिएको एक आकृति हो । पक्कै केही थकथकी छ भेट्न नपाउनुको । तर प्रत्येक जसो न्यास्रो मेट्न उनकै कविताहरू सक्षम छन् मेरा लागि ।

विद्रोही बतास

न्यायपूर्ण र विभेदरहीत हुन्थ्यो भने समाज, संसारमा विद्रोहको गुन्जायस हुन्थेन; पक्का । तर समाज त विभेदका अनेकन चिरामा विभक्त छ । नाक र आँखाको आकारप्रकार; छालाको रङ्ग; लिङ्ग, भाषा, क्षेत्रलगायत साराका सारा साँधबाँधमा छिन्नभिन्न छ मानव समाज । के यी सारा कृत्रिम विभाजन माझ रगतको रङ्ग पनि भिन्न हुन्छ ? अनि पसिनाको रङ्ग नि ? बतासको छुवाइ ? छ र केही फरक कसैका लागि ? मानवनिर्मित विभाजनले आक्रान्त समाजका लागि कवि बलका कविताहरू धारिला प्रहार हुन् । सारा शक्ति र स्रोत आफूमा सञ्चय गरी मोफसललाई गिल्ला गरीबस्ने काठमाडौँको विशेष हेपाहापनप्रति उनी सिङ्गौरी खेल्छन् र चुनौतीपूर्ण घोषणा गर्छन्,

काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन
काठमाण्डू एक्लैले अब सिङ्गो नेपालको अर्थ लाउन सक्दैन

जो शताब्दिऔँदेखि दम्भको गजधम्म स्वरूप भई ठडिएको छ, उसैलाई असली औकातमा उतार्नु चानचुने कुरा होइन । कवि बल साहस, फूर्ति, र निडरतासाथ हाक दिन्छन् काठमाडौँलाई । नगरोस् साहस पनि किन जब कि उनी परिधिबाटै केन्द्रलाई थर्काउने सामर्थ्य राख्दछन् । र उतार्छन् नकाब काठमाडौँको, विचार गरेरै ।

काठमाण्डू वास्तवमा भित्रभित्रै गुम्सिएको छ
मञ्जुश्रीको अर्को तरवारको विकास खोजिरहेछ ऊ
युगका गह्रौं पाइलाहरू अब धेरै बोक्न सक्दैन
यसैले बग्ने निकास खोजिरहेछ ऊ

कुमारी लामा

जम्नु काइ लाग्नु हो; जम्नु कठोरता साध्नु हो; र हो जम्नु निकास र विकासको विरोधी एक निरङ्कुश सत्ता बन्नु पनि । बल त्यसैको खाटी विरोधी हुन् । बग्नु जीवन हो; बग्नु प्रगतिगामी हुनु हो; हो बग्नु बहुल अस्तित्वलाई समेट्दै अघि बढ्नु पनि । बल त्यसकै पक्षधर हुन् ।

फ्रेन्च दार्शनिक माइकल डि सत्र्यु बहाबलाई सामान्य मानिसले जब्बर संरचनाहरूविरुद्ध चाल्ने स्वभाविकै सृजनात्मक प्रतिरोधसँग तुलना गर्छन् । यस प्रकिया अति स्वाभाविक रूपमा बिना कुनै हलचल नै चलिरहन्छ । वास्तवमा बहनु केही बाँधहरू भत्काउदै अघि बढ्नु नै त हो । बाधाहरू त जे पनि हुन सक्छन् जो बहाबसँगै भत्किन्छन् । बहुल विचारको अथाह सम्भावना पनि बहाबसँगै अघि बढ्दछ । आजको आवश्यकता खासमा यही समेटाइकै हो जो केन्द्रको मुट्ठीमा कैद छ । त्यो कसिएको मुट्ठी खुकुलो बनाउनेतिरको यात्रा हो बहाब ।

कवि बल मजदुर र श्रमिकका असल मित्र हुन् । उनी पसिनाका पूजक हुन् । पसिनालाई गन्ध होइन श्रमको बास्ना भनी बुझ्दछ जसले, उसैले हो मजदुरको पसिनालाई स्वीकार र सम्मान गर्ने । आज अत्तर बसाउनेहरू जुत्ता टल्काइदिने मजदुरतिर हेलाको नजर फ्याँक्दछन् । व्यवहार यस्तो गर्दछन् मानौँ उनीहरू झास्झुस् भन्दा पर केही होइनन् । शक्तिको हालीमुहालीमा रहेको केन्द्र सधैँ निम्छरो देख्दछ किनारालाई । इटालीको कुनै कालकोठरीमा सासको अन्तिम त्यान्द्रो तान्दै प्रभुत्वबारे चिन्तन गर्ने एन्टोनियो ग्राम्सी सांस्कृतिक प्रभुत्वको चिन्तन गर्दा गर्दै बिलाए । तर उनको विश्लेषण सही सावित छ यतिखेर । प्रभुत्वकै आडमा शक्तिशालीहरूले लात मार्दै सीमानामा धकेलिरहन्छ ती असीम क्षमता भएका शिल्पीहरूलाई । उनीहरूकै रगत पसिनामा मस्ती मार्ने केन्द्रले कहिले कल्पना गरेको छ, एक दिन ती सारा श्रमिकहरू आफ्ना औजारसहित उठे भने उनीहरूको हालत के होला ? जुत्ता पलिस लाउने मजदुरको पक्षमा वकालत गर्दै खबरदारी बोल्दछन् कवि बल,

कौडीमा खुट्टा तन्काउनेहरू हो खबरदार !
जब यी मजदुरहरूको संसार घुमेर यी शिल्पीहरूको पाखुरामा आइपुग्ला
त्यस दिन जुत्तामा दलिने कालो पलिस तिम्रै मुखमा पोतिएला ।
(जुत्तामा पलिस लगाउने मजदुर)

सम्बन्धित पोस्टहरु

त्यस दिन सिमाना मासिने छ र हिजोसम्म दम्भ डकार्नेहरू अलप हुनेछन् रसातलमा कतै । यदि सारा मजदुरहरू एकसाथ उठे भने; कवि बल चाहन्थे त्यही । न जात ठूलो न धर्म संसारमाः ठूलो त श्रम हो जो सबैले सराबर गर्नुपर्छ । तर जत्तिन्जेल समाजमा श्रमिक वर्गको दलन र श्रमचोरहरूको शासन चलिबस्छ त्यत्तिन्जेल समाज कहाँ समानताको लयमा बग्छ र ! अशान्त समयमा चैतको हुरी जतिखेर पनि उठ्न सक्छ । श्रमजीविको भोको पेटको फिलिङ्गो जब ज्वाला भई निस्किन्छ तब डढेलो त लाग्ने नै छ विद्रोहको । विभेदको धुलोमैलो बडार्न आवश्यक छ चैतेहुरी । कवि बल त्यसकै वकालत गर्दै शक्तिकेन्द्रलाई खबरदारी गर्छन् । चैतेहुरीले बडा बडा रुख जराबाटै उखेलिदिन सक्छ जसरी विद्रोही बतासले नाङ्गेझार पारी लडाउन सक्छ अन्यायी संरचनालाई ।

आकाशबाट बर्सेको पानी हटाइदिन सक्छ यस्तै हावाले
कसरी अब यसो नभनूँ कि यो देशको अमिल्दो इतिहासको पन्ना पनि च्यातिदिन
सक्छ यस्तै हावाले ।
(चैतको हावा)

शताब्दिऔँदेखिको अमिल्दो व्यवस्थाका भोक्ता हौँ हामी । नमिल्दो लय पक्रेर समयको, कत्तिन्जेल अघि बढ्न सक्छ मानिस ! के केही अर्थ राख्छ मानव सभ्यताले जहाँ असमानता नै असमानताका ढुङ्गे पर्खालहरू हरएक पाइलामा ठडिएका छन् ? बेहद विसङ्गतीपूर्ण छ वर्तमान्; आक्रान्त छ प्रत्येक सीमान्तीय जीवन; असन्तुष्टिले पट्ट फुट्न मात्र बाँकी छ तल्लो वर्गको छाती । यस्तोबेला असमयमै पनि चल्न सक्छ चैतको हुरी । प्रतिरोध रन्किन सक्छ । विद्रोही बतासले सत्ताको निरंकुश जरा उखेलिदिन सक्छ । मात्र एउटा भए पुग्छ विद्रोही सलाईको काँटी ।

कमलो घाम

मानिसभित्र मडारिन सक्छ बेला बेला भावनाको सुनामी । के कोही दावी गर्न सक्छ क्रूर शासकदेखि नामुद क्रान्तिकारीभित्र भावना उराल्ने मन हुन्न भनेर ?

विद्रोहीको मन ढुङ्गा हुने भए विपि किन लेखिबस्थे होलान् मनकै दुखाई जेल जर्नलभरि । मनको बेचैनी, परिवारको न्यास्रो, उद्विग्नता बरोबर आउँछ उनको जर्नलमा । गुरिल्ला युद्धमा होमिएका चे ग्वेभारा आफ्ना कमरेडको जन्म दिन सम्झन्छन् । दमले सास फुलेको सकसिलो समयमा आमालाई याद गर्छन् (बोलिभियन डायरी, जुन २१) । ज्यानकै ठेगान नहुने बेला के मतलब हुन्थ्यो होला र कसैको जन्म दिनको यदि मन नभए ।

मानिसभित्र केही नित्तान्त मानिसजन्य तत्त्व जो कोहीमा हुन्छ । विद्रोहको ज्वाला ओकल्ने कवि हृदयभित्र पनि त तह तह बसेकै हुन्छ नि आमाको माया, प्रेयसीको याद अथवा नानीहरूप्रतिको स्नेह त । उसले पनि आङभरि कमलो घामको आशा गर्छ; या गर्न सक्छ कन्यामे जेठीको याद । कवि कृष्णभण बल मनभरि माया बोकी हिँड्ने कवि हुन् । लाग्छ, उनी एक कमलो मनका कवि हुन्; लाग्छ उनी अथाह प्रेमील मन हुन्; यो पनि लाग्छ कि उनी आमाको काखको गन्धमा लुट्पुटिन नपाएको रन्कोले सेकिएका एक दुःखी मुटुका धनी हुन् । आमाको सम्झनामा विभोर हुँदै मन पोख्छन्, “त्यसै दिनदेखि म टुहुरो भए । एउटा न्यानो काखमा तुसारो झरिसकेको रहेछ”

जताततै आमा खोज्ने उसको आँखाले घर, आँगन सबथोक सम्झन्छ र चिसा रातमा चिसै आँखा निदाउँछ ऊ । घर सम्झेपछि उसको मन भरिन्छ, “हर रात सम्झनाहरू आँखाका डिलबाट हामफाल्छन्, निदाउन कहाँ सक्छु ?” ।

आँसुका पोखरी हुन् उनी जस्तो कि अरु सामान्य मानिस । पीडाको छाल उर्लिन्छ ऊभित्र पनि जसरी अरुभित्र सल्बलिन्छ त्यो लहर । दोधार, दोमन र दोसाँधपनाले चुटिन्छन् उनी । भेउ पाउँदैनन् आफ्नै मनस्थितिबारे । तर लुकाउँदैनन् केही । न रक्सिलो समयलाई ढाक्छन् न आँसुको भेललाई छोपछाप पार्नपट्टि लाग्छन् । खुलस्त पोख्छन् मन । बरु आफैँप्रति व्यङ्ग्य प्रहार गर्छन् । आफ्ना कमजोरीप्रति पुनर्विचार गर्न आफैँलाई अह्राउँछन् । अनेक कमजोरी माझ पनि इमानदारी उनको सामथ्र्य भई उभिदिन्छ । इमान नभए के जरुरी थियो आफैँलाई उदाङ्गो पार्न,

औँला हालेर जिब्रोमा कयौँपल्ट धारामा कविता छादेर बगायौँ
कतिपल्ट घाम तुहायौँ, कतिपल्ट जून तुहायौँ
… …
हर रात रक्सीसँग बात मारिरहेछौँ
जे भयो भैगयो,
अब चाइँ सोच्नुपर्ला भूषणजी ।
(आज त बिसाऊँ होला थापाजी)

मनवजन्य विशेषताले सरीबरी, अझ आँसु र पीडाबारे खुलेर लेख्ने कविका कवितालाई किन कृष्णचन्द्रसिंह प्रधानले अस्वाभाविकतातिर धकेलिदिए होलान् ? म अचम्मित छु । खासमा प्रधानको व्याख्याले बलको कवितालाई त न्याय गर्दैन नै साथमा उनको आफ्नै सङ्कीर्ण विचारको पनि पर्दाफास गरिदिएको छ । मलाई यतिभन्दा दुःख पनि लाग्दैछ, किनकि म उनको निबन्धको बेहद प्रसंसक हुँ । कृष्णभूषण बलको भोलि बास्ने बिहान सङ्ग्रहको गातामा प्रधानको धारणा यस्तो छापिएको छ;

कोमलता उनको कविताको प्रकृति होइन, त्यसकारण पोथी कवि उनी भएनन् । पुंसत्व उनको कविताको स्वभाव हो, त्यसैले उनीलाई मर्द कवि भन्नुपर्छ ।

आजको परिप्रेक्षमा यही दुई हरफले उनको जीवनभरको साहित्य साधनालाई ओझेल पार्न पनि बेर लाउदैन । कति डरलाग्दो वैचारिक अन्योल । बलका कवितामा कठोरता लादिएका छँदै छैनन् । उनको कविता त बिम्बको कोमलताले पुष्ट छन् । प्रतिरोधको उपल्लो तह चुमेका कवितामा पनि कोमलता र कठोरता दुवैको सन्तुलित मिश्रण पाइन्छ । अर्को कुरा, माथिको हरफले लिङ्ग विभेदी मानसिकताको कुन तह छोएको छ, त्यसको व्याख्याको त जरुरतै परेन । प्रत्येक पाठकले आफैँ विश्लेषण गर्न सक्छन् ।

बल कोमलतालाई दोलाइसरह ओडी हिँड्ने कवि हुन् । उनी कमला माया पोख्छन् नानीहरूलाई; उनी त भीरबाट लडेका रहरहरू पनि कमलो नै देख्छन्; अझ अतीतलाई पनि उनी कमलो नै भनी सम्बोधन गर्छन् । त्यसकारण कठोरताभन्दा परका हुन् उनका कविता । निश्चय नै प्रतिरोध र विद्रोहका चिराक हुन् उनका कविता । आशा र भरोसाको भोलि बास्ने बिहान हुन् उनका कविता । उनी खासमा आशा नै आशाले आलोकित एक विशिष्ट चेतना हुन् जो दुःख माझै पनि आशा गर्न छाड्दैनन् । भारीभरि थाकका थाक उजेलो बोकी बाँड्न हिँड्छन् उनी,

केही औषधिहरू छन् भारीमा, बिरामीहरूलाई बाँडौँला
केही कितापहरू छन् भारीमा, विद्यार्थीहरूलाई बाँडौँला
केही फालीहरू छन् भारीमा, किसानहरूलाई बाँडौँला
फेरि यसरी पर्ने रातहरूको विरुद्ध लालटिन बोकेको छु भारीमा,
सबैलाई उज्यालो बाँडौँला ।
(भारी बिसाउनुपर्दा)

उज्यालोका पक्षपाती कवि बलका कविताहरू सङ्घर्ष, भोगाइ, दुखाइ र दलनको नमीठो पेलानबाट निस्किएका रैथाने आवाज हुन् । समाज परिवर्तनका पक्षपाती, समानता, न्याय र विभेदरहीत समाजको वकालत गर्ने उनका कविता प्रतिरोधको चैतेहुरी हुन् । जीवनका प्रतिकुलतालाई छिचोली मनभरि कन्यामे जेठीको माया उराल्ने उनका कविता जीवन गीतको मीठो लय हुन् । एक बथान व्यक्तिगत इच्छाहरू आँखाभरि सजाएर पनि सबैका लागि उजेलो बोकी हिँड्ने उनका कविता आशाका संवाहक हुन् ।

थिएछ उनका केही कमजोरी भने पनि एउटा पाठकलाई सरोकार के ?

उनकै कविताको आधारमा म निर्धक्क भन्न सक्छु, उनी एक शक्तिशाली कवि हुन् ।

कवि कृषणभूषण बलप्रति सीमातीत सम्मान ।

प्रतिक्रिया
Loading...