“चमेरो पनि स्तनधारी प्राणी हो । यसले पनि बच्चा पाउँछ, अरूले झैँ अण्डा कोरल्ने गर्दैन । यो प्राणी रातमा बढी सक्रिय हुन्छ …..”, गुरुले कक्षाकोठामा उहिले पढाएको कुरा मलाई अझै राम्रोसँग याद छ । मलाई किन हो आजभोलिका केटाकेटीहरू पनि चमेराजस्तै लाग्न थालेको छ ।बेला न कुबेला बच्चा ब्याउँदै बस्ने, रात भर जाग्राम अनि दिनभर सुकला, चमेरो रूखमा झुन्डेसरह मोबाइलमा झुन्डिरहने अनि बिनाकारण हल्ला मच्चाएर अरूको शान्ति बिथोल्ने । ठ्याक्कै चमेरासँग मिल्ने बानी व्यवहार ।

आफू केटाकेटी हुँदा हरेक साँझ एक बथान चमेरो पश्चिमतिर उडेको देखिन्थ्यो । बालाई किन उडेका भनेर सोध्दा चारो खोज्न हिँडेका भन्ने उत्तर आउँथ्यो ।आजकलका केटाकेटीहरू साँझमा के खोज्न हिँड्छन् पत्तो पाउन बडो मुस्किल हुन्छ । कोही क्लब हिँड्छन्, कोही डिस्को भन्छन् अनि कोही के खोज्न हिँड्छन् उनीहरू आफैँलाई नै थाहा हुँदैन । चमेराको बथानसरह झुन्ड-झुन्ड बनाएर आफ्नै तालमा हिँड्ने यिनीहरूको विशेषता नै भइसक्यो ।

उमेश रेग्मी

गुरुले कक्षा कोठामा चमेराको अर्को अर्थ ‘दुवैतिर लाग्न सक्ने’ भन्नुहुन्थ्यो । आजभोलिका केटाकेटीहरू पनि त्यस्तै छन् । एक बथान पार्टीको नाममा सडकमा ढुङ्गा फ्याँक्दै बस्छन् त अर्को बथान शिक्षाको नियम गलत भएको गुनासोमा स्कुल कलेज तोडफोड गर्दै हिँड्छन् । केही समयपछि स्कुलको बथान सडकमा पुग्छन् त सडकको बथान स्कुलमा । कुन ठीक कुन बेठीक कसैलाई सिन्कोभर थाहा हुँदैन ।रातभरि डिस्को र क्लब धाउनलाई दिनभरि पार्टी अड्डामा झुन्डिने अर्को बथान पनि चमेराभन्दा केही कम छैनन् । सङ्क्रमण कीटाणु बोकेका यस्ता जत्था सबैभन्दा हानिकारक चमेराहरू हुन् । मेरो सल्लाह मान्ने हो भने कुनै पनि व्यक्ति यस्ता चमेराहरूबाट टाढै बस्नु उचित हुन्छ । हाम्रो समाज, गाउँ अनि सहर हुँदै देशलाई नै तहसनहस गर्न सक्ने यस्ता चमेराहरू आजकल रातमा मात्र नभई जतिखेर पनि देखिन थालेको कुरा बताउन चाहन्छु यहाँहरूलाई । सतर्क रहनुहोला ।  यो चमेराको फन्दामा परेपछि कि नासिइन्छ कि नभए त्यही प्रजातिको चमेरामा परिणत भइन्छ आफू स्वयम् पनि भनेर एक विज्ञले भन्दै थिए । त्यो सुनेदेखि मलाई अन्य चमेराहरू भन्दा पार्टी चमेरो झन् खतरनाक लाग्न थालेको छ ।

“स्तनधारी भए पनि चमेरो उड्न सक्छ”, गुरुले भन्नुभएको कुरा आजभोलि मानवरूपी चमेराहरूसँग मेल खाएको देख्दा अचम्मित हुन्छु म अक्सर । यो विशेषता प्रायः पार्टी चहार्दै हिँड्ने चमेराहरूमा बढी भेटिने कुरा तिनै विज्ञले भनेका थिए । त्यसैले होला जतिसुकै कालो कर्तुत गरे तापनि उनीहरू फुत्त उडेर उम्किहाल्छन् ।दिनको उज्यालामा पार्टी नेताको पुच्छरमा झुन्डिनु र रातको अँध्यारामा अनेक थरी कर्तुत तिनै नेताको आदेशमा गर्दै हिँड्ने यस्ता चमेराहरू दिन प्रतिदिन बढ्दै छन् । एक सर्वेक्षणअनुशार, बच्चा पाएर भन्दा पनि सङ्क्रमणको सिकार भएर यस्ता प्रजातिका चमेराहरूको सङ्ख्या बढेको तथ्य पत्ता लागेको कुरा बुझिन आएको छ ।

तिनै विज्ञको सिफारिसमा सरकारले चमेरो नियन्त्रण समिति पनि बनाएको थियो तर त्यस समितिका सबै सदस्य विभिन्न प्रकारका चमेराहरू नै रहेछन् भन्ने खुलासा एउटा राष्ट्रिय दैनिकले गरेपछि त्यो दैनिकको सम्पादक झन्डै चमेरो झुन्डको सिकार हुन पुगेको थियो । हुन त यस्ता दैनिकहरू पनि कुनै न कुनै नेता वा पार्टी समाएरै झुन्डिरहेका हुन्छन्, चमेरोकै प्रजातिसरह । त्यसैले सम्पादकमाथि चमेराको हमला हुँदा मलाई कुनै अचम्म लागेन । चमेराको हुलमा मान्छे बन्न खोजेर कहाँ हुन्छ र !

गुरुले अर्को कुरा पनि भन्नुहुन्थ्यो, “चमेरो दुई थरीका हुन्छन्, पहिलो मांसहारी अनि दोस्रो फलाहारी  हाम्रो नेपालमा पाइने अधिकांश मानवरूपी चमेराहरू भने मांसहारी नै भएको विज्ञहरूको दावी छ । यिनै कुराहरूलाई ध्यानमा राखी चमेराहरूको वर्गीकरण गरिएको हो ।”

गुरुको भनाइअनुशार चमेराहरूको वर्गीकरण यस प्रकार रहेको छ ।

  • प्रचण्ड चमेरो : विगतमा अँध्यारो ठाउँमा सक्रिय यो चमेरो अहिले जतिखेर पनि देखिन थालेको छ । मांसहारी प्रजातिको यो चमेराको सिकार हजारौँको सङ्ख्यामा भएको कुरा सर्वविदितै छ । जे मन लाग्यो त्यही गर्ने प्रवृत्ति अपनाएको यो अजङ्गको चमेराका कारण पूरै देश नै धरापमा पर्न गएको कुरा
    आजभोलि धेरै सुनिन थालेको छ ।
  • बादल चमेरो : प्रचण्ड चमेराझैँ यो पनि विगतमा अँध्यारो ठाउँमा बढी सक्रिय थियो । अरूको आँखामा भ्रम फैलाउँदै आकाशको बादलझैँ सत्यतथ्य ढाकछोप गरेर आफू र प्रचण्ड चमेरो दुवैको हिफाजत गर्नु यो चमेराको मुख्य विशेषता हो । मांसहारी प्रजाति भएका कारण यसले पनि थुप्रै मान्छेको हत्या गरी आफ्नो पेट भरेको सबैलाई थाहा भएकै कुरा हो ।
  • बाराभ चमेरो : गोरखातिर पाइने यो चमेरो डाक्टर प्रजातिको भनेर व्याख्या गरेका थिए हाम्रो गुरुबाले तर किन उनले त्यसो भने मैले अहिलेसम्म बुझ्न सकेको छैन । अरूको मुख ताकेर बस्ने अनि बेलाबेला उपद्रो गर्ने यो चमेरो अहिले कमजोर बनेको छ भन्ने कुरा पत्रपत्रिकामा पढेर थाहा पाएको थिएँ मैले ।
  • खड्ग चमेरो : शारीरिक रूपमा रोगीजस्तो देखिने यो चमेरो दिमागी रूपमा निकै बाठो भएको खुलासा गरेका थिए एक विज्ञले । बोलीमा निकै चिप्लो र कुटनीतिमा पारङ्गत यो चमेरालाई अङ्ग्रेजीमा Oily चमेरो भनेर पनि भन्दा रहेछन् । उल्टो सुल्टो जस्तो अवस्थामा पनि कुर्सीमा झुन्डिरहन सक्ने यो चमेरो सानो मसिनो बोलीमा ठुलो ठुलो कुरा गर्न खप्पिस छ ।
  • शेर चमेरो : नामजस्तै अलि ठुलो शरीर पाएको यो चमेरो लठेब्रो प्रजातिमा पर्ने कुरा गुरुबाले भन्नुहुन्थ्यो । यो चमेराको बोली हतपत बुझिँदैन । निकै जिद्दी स्वभावको यो चमेरो पनि कुर्सीमा झुन्डिरहन मन पराउँछ ।
  • माने चमेरो : कसै कसैले ‘माने चमेरो’ लाई ‘कुने चमेरो’ भनेर पनि व्याख्या गरेको पाइयो । जे भए पनि दुई मुख भएको अरूजस्तै मांसहारी यो चमेरो कहिले यता अनि कहिले उता गर्दै कुर्सीमा झुन्डिने भरपुर प्रयास गरिरहन्छ ।
  • वाम चमेरो : पुड्के प्रजातिको यो चमेरो स्वभावमा भने ठीक उल्टो छ । ठुलो कुरा गर्नुपर्ने अनि ठुलो भाग खान
    खोज्ने यसको दाउ हुने गर्छ । मौकाको फाइदा उठाउन सिपालु यो चमेरो बेला-बेलामा निकै सक्रिय देखिन्छ ।
  • कमलचमेरो : धर्मको आडम्बरमा कुर्सीमा झुन्डिने दाउमा बसेको यो चमेरो कुनै बेला निकै सशक्त थियो । अन्य
    चमेरोहरूमा फैलिएको रोगबाट सङ्क्रमित बनेका कारणले गर्दा यो चमेरो दिन प्रतिदिन कमजोर बन्दै गइरहेको देखिएको छ । आफ्नो खस्कँदै गएको शान पुनर्जीवित गर्ने दिवास्वप्न बेला-बेलामा देख्ने गरेको यो चमेरो आजभोलि धार्मिक नारा गाउँदै गाउँ घर चहार्न थालेको बुझिन आएको छ । यो चमेराको छेपाराझैँ रङ्ग बदल्ने चालाबाट बच्नू भन्ने सल्लाह दिने गर्छन् विज्ञहरू ।
  • विधवा चमेरो : माथि वर्णन गरिएको चमेराहरूको प्रकारमा विधवा चमेरो (वा भनौँ चमेरी) मात्र एउटा पोथी चमेरो हो । विशेष गरी आफ्नो पोथी हुनुको फाइदा उठाउँदै भाले चमेरोहरूका अगाडि पर्नु अनि शक्ति आफ्नो हात पारी कुर्सीमा झुन्डिरहन सक्नु यो पोथी चमेरामा भएको कला हो । कुनै बेला सहानुभूतिको पात्र भएको यो विधवा चमेरो त्यही सहानुभूतिको अस्त्र प्रयोग गरी अरू बलिया भाले चमेराहरूभन्दा अगाडि पर्न सक्षम भएको कुरा जानिफकारहरू
    बताउँछन् । अरूजस्तै यो चमेरालाई पनि झुन्डिन कुर्सी नै चाहिन्छ, रूख हैन ।
  • गुन्डा चमेरो : माथिका सबै चमेराहरूसँग विशेष सम्पर्कमा रही उनीहरूकै झोला बोक्दै आफ्नो चारो जुटाउने यो चमेरो निकै झगडालु प्रवृत्ति को हुन्छ । यस्ता झोले चमेराहरूको सङ्ख्यामा दिनानुदिन वृद्धि हुँदा गाउँसहर त्राहि-त्राहि भएको कुरा चमेराविद्हरू बताउने गर्छन् । जता पनि झुन्डिन सक्ने अनि झुन्डिनलाई रूख वा कुर्सी केही नचाहिने अनौठो सिप भएका यी चमेरोहरू आफ्ना साथमा झोला भने झुन्ड्याइरहेका हुन्छन् । त्यो झोला जसले भर्छ उनीहरू त्यही झुन्डिन पुग्छन् ।

माथि उल्लिखित १० प्रकारका चमेराहरू नेपालमा बाहेक अन्य देशमा नपाइने कुरालाई गुरुले निकै महत्त्वका साथ भनेका थिए । यी चमेराहरूमा आइरहने फुट अनि आपसी द्वन्द्वका कारणले गर्दा कहिले पनि हाम्रो गाउँघर विकसित नभएको उनको तर्क थियो ।

उनी अहिले पनि भन्ने गर्छन्, “जबसम्म यी सङ्क्रमित चमेराहरूको उन्मुलन गरिँदैन तबसम्म हामीबीच शान्ति आउँदैन ।” उनको यो भनाइ मान्दै तपाईँ र हामी सबै चमेरो उन्मुलनतिर लाग्ने हैन त !

अस्तु ।