पुस्तकैपुस्तकको दराज । पुस्तकैपुस्तकको टेबुल । पुस्तकैपुस्तकको कार्पेट/सोफा-भुईँ, कोठा-घर … पहिलोपल्ट मैले यति धेरै पुस्तकहरू देखेको थिएँ कि मानौँ ठूलो चौरमा जम्मा भएका हजारौँ मान्छेहरूको जुलुस निस्किनुभन्दा पहिलेको त्यो अस्तव्यस्त भीड हो जस्तै ।

यो कुरा पहिलोपटक प्रकाशनगृह पुग्दाबखतको । जहाँ शब्दसमुद्रको किनारमा उभिएर पानीको छाललाई स्पर्श गर्न खोजिरहेको एउटा अपरिचित मानिस एकान्त एक्लो थियो ।

अब सुरु हुन्छ परिचय आदानप्रदान । विडम्बना जो छ –  कुनै अपरिचित मानिसको परिचय परिचित मानिससँग परिचयबिना नै परिचय नभई परिचयको अन्त्य हुन्छ । बिल्कुल कृत्रिम मुस्कानजस्तो एकदम से महत्त्वहीन । त्यसकारण बाराम्बारको औपचारिकताबाट बाराम्बार त्यो मानिस कतै भाग्न खोजिरहेजस्तो लाग्थ्यो । त्यसरी भाग्न खोज्ने अरू कोही नभई म एउटा अपरिचित मान्छे नै थिएँ । त्यसकारण अब म कतै एकछिनलाई हराउन चाहन्थेँ । हराइदिएँ त्यतै किताबहरूको जुलुसभित्र । खासमा मेरो त्यो हीनताबोधको बहाना थियो र त्यसरी हराइदिँदा मलाई एककिसिमको आनन्दै लाग्यो । अब चोर आँखाहरू चोरले झैँ खोज्छन् घरभित्र कहाँ-कहाँ खजाना छन् त ? यत्तिकैमा, झट्ट एउटा अनौठो चित्रमाथि टक्क आँखा रोकिन्छ । त्यो चित्रको बुनोट अहिले पनि सम्झना छ मलाई – सादा मोनोटोनमा कोरिएको कस्तो अनौठो-अनौठो हाँगाबिनाको रूखजस्तो, रूखको जराजस्तो अथवा एकखालको जीवजस्तो । अमिबा जस्तो-जस्तो एउटा अजिब कला देखेर एकछिन म साँच्चै घोरिएँ, सम्मोहनले नभएर आश्चर्यले, कौतुहलताले, प्रश्नैप्रश्नहरूले । अहो ! चित्रले के भन्न खोजिरहेको होला ! – यस्तो पनि चित्र हुँदोरहेछ …?

खासमा त्यो कभर चित्र थिएछ, चङ्की श्रेष्ठको गजलसङ्ग्रह ‘फूलबिनाको शाखा’ कृतिको । एकदम पकेटबूक । त्यसपछि मस्तिष्कको आकाशमा केही दिन म कौतुहलता र कल्पनाको बादल भएर उडिरहन्छु ।

रमेश श्रेष्ठ

यसरी पहिलोपटक २०६० सालमा, विवेक सिर्जनशील प्रकाशनगृहमा, रमेश श्रेष्ठ दाइको नामलाई मैले अर्थपूर्ण रूपमा चिनेँ ।

दाइको कुरा गरिरहँदा यतिबेला म एउटा सर्वप्रचलित भनाइ ‘पहिलो प्रभाव नै अन्तिम प्रभाव’ भन्ने वाक्यांश सम्झिरहेको छु । यसरी त्यो अनौठो चित्रको आकर्षकले मभित्र रमेश दाइको प्रभाव उसबेलादेखि सुरु भएको रहेछ । जतिबेला म पचासको दशकदेखि साठीसालको आसपास काठमाडौँमा बस्थेँ, काम गर्थेँ, कलेज पढ्थेँ । हल्का साहित्य र पत्रपत्रिका पढ्ने बानी पनि थियो मेरो । आक्कलझुक्कल राष्ट्रिय दैनिक, साहित्यिक पत्रिकाहरूमा ‘रमेश श्रेष्ठ’कै नाउँका कविताहरू देख्थेँ ।

कतै किताबका बुक कभरहरूमा । कतै किताबहरूमा — रमेश श्रेष्ठ … रमेश श्रेष्ठ …रमेश श्रेष्ठ … !

हन ! कलासाहित्यमा कतिवटा रमेश श्रेष्ठ नामहरू छन् हँ ?

झन्डै दुई दशकपहिले रमेश दाइको नाम सुनेको मैले, सिर्फ सुनेको । नाम मात्रै सुनेको तर नदेखेको । त्यसो त अहिलेसम्म पनि दाइलाई नदेखेको र भेट्न नसकेको । दाइमात्रै नभएर धेरै स्रष्टासर्जकहरूसँग भेट भएको छैन, जो नभेटेरै ‘खास’ छन् । मेरा निम्ति रमेश दाइ खासमध्येका खास अझै यसकारण बहुआयामिक हुनुहुन्छ ।

यहाँ एउटा मानिस निखारिएको सिद्धहस्त कवि बन्न सक्छ । एउटा मानिस निखारिएको सिद्धहस्त चित्रकार बन्न सक्छ । एउटा मानिस निखारिएको सिद्धहस्त मूर्तिकार बन्न सक्छ, सङ्गीतकार बन्न सक्छ, कलाकार बन्न सक्छ र गायक बन्न सक्छ । सिद्धहस्त हुँदै एकदिन एउटा मानिस प्रख्यात बन्न सक्छ, सुविख्यात बन्न सक्छ तर एउटा मानिस यो भन्दा महत्त्वपूर्ण यदि बहुआयामिक छ भने त्यो उसको असाधारण क्षमता मलाई अद्भुत लाग्छ । रमेश दाइलाई त्यसैले नै हो मैले ‘आइडल’ भनेको । कविता सिर्जनामा श्रदेय कवि वैरागी काइँलाले ‘बिम्बकवि’को ताज दिनुभएको नामलाई स्थापित गर्दै आज त्यही बिम्बकवि उपनामले प्रसिद्धि पाउनुभएका दाइका कविताहरूका बारेमा चिरफार गर्ने, बोल्न सक्ने ल्याकत म’मा छैन, त्यो दुस्साहस गर्दिनँ पनि म ।

जीवित खड्का मगर

यद्यपि मलाई यति कुरा भन्नलाई पक्कै सकस हुने छैन कि जस्तो बिम्ब सिर्जनाको कुरामा ती स्रष्टाहरूले बिम्बको उत्खनन गर्न सक्छन्, ती स्रष्टाहरूले बिम्बको ताकत बुझ्न सक्छन् र ती स्रष्टाहरूले अर्गानिक बिम्ब खोज्न सक्छन् । जो छन् आफैँमा निपुण कलाकार, शब्दका कलाकार, सिर्जनाका समेत कलाकार रमेश श्रेष्ठ त्यसै पनि कलाकार, यसै पनि कलाकार । जसका शब्दशब्दमा चित्रहरू देखिन्छ र चित्रचित्रमा कविताहरू भेटिन्छन्; एकदम अर्गानिक ।

नेपालमा केही बहुआयामिक व्यक्तित्वहरू जसले आफ्नो जीवनकालमा एकदम उच्चकोटीको विशिष्टता हासिल गर्नुभएको छ र यो देशलाई अमूल्य देन दिनुभएको छ । जस्तो बालकृष्ण सम, लैनसिंह बाङ्देल र मनुजबाबु मित्र । वहाँहरू चित्रमा पनि र साहित्यमा पनि विख्यात हुनुभयो ।

बहुआयामकै कुरा गर्दा, दार्जीलिङका एक जना अजय थापा छन् — हरेक विधामा उत्तिकै पोख्त र उस्तै निपुण । उनका चेला छन् उतै दार्जीलिङका अमीर सुन्दास । उनले पनि आफ्नै गुरुको बाटो पछ्याइरहेझैँ बेला-बेला झल्को दिन्छन् तर कलासाहित्यको कसीमा चर्चामा नआएका र आउन नसकेका कोही अस्ताए होलान् । कोही कसैलाई हामीले थाहा पाउन सकेनौँ । समग्रमा कमबेसी धेरै होलान् तर क्रिकेटका कपिलदेव जस्ता, ग्यारी सोबर्सजस्ता महान् आलराउन्डरहरू कमै भेटिन्छन् । जस्तो दुर्लभ हुन्छ मणि । कुरा गर्दै जाँदा प्रसङ्गले क्रिकेटको कुरा ल्यायो, मलाई हालका पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सम्झना आयो । जो विश्वकप विजेता कप्तान, कालान्तरमा पाकिस्तानको प्रधानमन्त्रीसमेत बन्न सफल भएका छन् । अमेरिकाका भूतपूर्व राष्ट्रपति सर जोसु रेनोल्ड अवकाशपछि नामुद पेन्टर बनेका छन् ।

हाम्रै देशको एउटा उदाहरण विश्वेश्वरप्रसाद कोइराला । यसरी बहुआयाम कलासाहित्यमा मात्रै नभएर राजनीतिज्ञसँग पनि फैलिएको  देखिन्छ र हरक्षेत्रमा लागु हुन्छ नै ! फरक त्यो सिर्फ ! दुर्लभ मानिसहरूले मात्रै सिद्ध गर्न सक्छन् । त्यसो त आजको नेपालमा केही नामी कला समीक्षकहरू पनि छन् जसले चित्रमा पनि प्रसिद्धि पाएका छन् । समीक्षा गर्नु उनीहरूको पेसागत धर्म हो, जस्तो वकिलले गर्छ काम । म त्यसलाई सिर्जनाको पाटो नभएर सिद्धान्तको अध्ययन र कलाको नापतौलको जोडघटाउ भन्छु ।

भारतका नोबेल पुरस्कार विजेता कवि रवीन्द्रनाथ टैगोर जति साहित्यमा विख्यात थिए, चित्रकलामा समेत उत्तिकै विख्यात थिए । जसरी उनले कवितामा कल्पनाशीलताको प्रयोग गर्दै  जादुमयी शब्दलहरीले पाठकहरूलाई मन्त्रमुग्ध बनाउँथे । आफ्ना चित्र सिर्जनामा पनि अर्धमूर्त शैलीमा अत्यधिक कल्पनाशीलताको प्रयोग गर्थे । उनको यही प्रयुक्त शैलीले दर्शकहरूलाई एकखालको मन्त्रमुग्ध बनाउँथ्यो; सोचमग्न बनाइरहन्थ्यो । टैगोरझैँ साहित्यका अर्का नोबेल पुरस्कार विजेता स्विट्जरल्यान्डका हर्मन हेसे चित्रमा पनि उस्तै विख्यात थिए । भनिन्छ, उनले प्रथम विश्वयुद्धको आघात र आफ्नो विवाह असफल भएपछि चित्र बनाउन थाले । उनले विशेषगरी पानी रङ्गमार्फत दृश्यचित्रहरू बनाउँथे । कालान्तरमा उनी कलासाहित्य दुवै विधामा उत्तिकै निपुण भए । त्यस्तै अझै अर्का नोबेल पुरस्कार विजेता गन्टर घोष जो अत्यन्त बहुमुखीसम्पन्न व्यक्तित्व थिए जो साहित्यइतर चित्रकला, मूर्तिकला र ग्राफिक्समा निकै ठूलो प्रसिद्धि पाएका थिए ।

यसरी विश्वमा त्यस्ता नगण्य मानिसहरू पनि थिए/छन् । जो आफूलाई हरेक दृष्टिकोणबाट, हरेक एङ्गलबाट बहुआयामिक भनेर सिद्ध गरेका छन् र प्रमाणित गरेका छन् ।

त्यस्तै मलाई यो लाग्छ, रमेश दाइले जुन विधा समात्नुभएको छ, हरएङ्गलबाट, हरदृष्टिकोणबाट उच्चकोटीको बहुआयामिक स्रष्टा मान्न सकिने आधारहरू बनाउनुभएको छ । आफ्ना समकालीन कविहरूले बनाएको कविताको पहरैपहरा भत्काएर, त्यही पहराको बाटामा छुट्टै बिम्ब सिर्जनाको मौलिक बाटो निर्माण गरेर उक्लिरहनुभएको कुरा गरूँ या चित्रसिर्जनामा गाउँबेँसीका सुगन्ध, पाखापखेरा, हरियाफरिया डाँडाकाँडाहरूलाई रङ्ग र ब्रसको शक्तिशाली अस्त्रद्वारा एउटा युगलाई नै क्यानभासमा पोतिरहेको एक अथक चित्रकर्मीको कुरा गरूँ या कि म कुरा गरूँ अर्धमूर्त शैलीमार्फत देशको चित्र बोकिरहेको । हरविधा अन्तर्गत हरसिर्जना उत्तिकै अर्थपूर्ण र उत्तिकै गहनबोधी । यो नेपाली कलासाहित्यले पाएको ठूलो उपलब्धि हो भन्ने लाग्छ मलाई । त्यसो त यो पनि यथार्थ हो कि हाम्रो साहित्य बजारमा रहरे कविहरू वर्षमा हजार आउँछन् । रहरलाग्दा कविहरू वर्षमा एकदुई आउँछन् । रहरलाग्दा कविहरूलाई रहरे कविहरूको तडकभडक, सस्तो प्रचारबाजी र चर्चाको मिथ्या भ्रमले ‘ओभरटेक’ गरिरहेको विसङ्गति देखेर सायद केही वर्षपहिले एक जना समीक्षकले एउटा घतलाग्दो यस्तै कसो शब्दमा व्यङ्ग्य गरे – “असन बजारको छतमा बसेर छर्रा हान्ने हो भने, तल बाटाको भीडमा हिँडिरहेका कोही न कोही कवि/गजलकारहरूलाई अवश्य छर्रा लाग्नेछ ।” झट्ट सुन्दा यो  भनाइ ठट्यौली लाग्न सक्छ तर उनको यो शब्द अहिलेको नेपाली साहित्य कता जाँदैछ त ? कता मोडिइरहेको छ ? भन्ने एउटा गम्भीर चिन्तन र चिन्ताबाट उत्पन्न भएको बिस्फोटक भने पक्कै हो । त्यसो हुनाले सस्तो साहित्यलाई जतिसुकै प्रचारबाजीको लेपन लगाए पनि सिर्जनाको मूलतत्त्व कत्तिको जीवनमुखी छ, कत्तिको दर्शनमुखी छ, कत्तिको कलामुखी छ त्यही नै अन्त्यमा छानिँदैछानिँदै जाने न हो ।

रमेश श्रेष्ठका सिर्जनाहरू कत्तिको युगान्तकारी, जीवनबोधी, नवीन चिन्तनयुक्त प्रभावकारी, समाजपयोगी एवम् ग्रहणीय छन् त ? एकदिन समीक्षकहरूलाई पक्कै चर्चायोग्य विषय रहने नै छ भन्ने मेरो ठहर छ । यति कुरा गरिसकेपछि अन्त्यमा दाइको एउटा महत्त्वपूर्ण कुरा छुटाउनु हुन्न भन्ने लाग्छ । त्यो हो ‘टिकटमा कविता’को सुरुवातकर्ता । आजका अक्सर कविहरू रङ्गमञ्चका कलाकारहर झैँ स्टेज पर्फर्मर छन् । यो असाध्यै सुन्दर पक्ष पनि हो कि पाठकश्रोताहरूले शब्दबाट बुझ्न नसकेको शब्दको रहस्यमय अर्थ कविको हाउभाउ, वाचनशैली र अभिनययुक्त प्रस्तुतिबाट सहजै ग्रहण गर्न सक्छन् भने अर्को सुन्दर पक्ष कविहरू पनि लाभान्वित हुन्छन् । यसरी टिकटमा कविता सुनाएर कैयौँ कवि सेलिब्रेटीमात्रै नभएर आर्थिक रूपमा समेत मजबुत भइरहेको हामीले देख्छौँ, जसको सुरुवात रमेश श्रेष्ठले गर्नुभयो । यो आफैँमा साहित्यको इतिहासले नबिर्सने एउटा अत्यन्तै महत्त्वपूर्ण कामको सृष्टि हो भन्न सकिन्छ । कविताको इतिहासमा एउटा नौलो प्रयोग गर्नु पनि स्रष्टाको निजत्व हो र सम्पत्ति हो । यसरी शब्दको रङ्गसंयोजन र रङ्गमार्फत शब्द संयोजन गर्दै विचार गहिरो समुद्रमा हराइरहने रमेशहरू यो देशमा गोपालप्रसाद रिमालको कवितामा भनेझैँ बस् ! एकजुगमा एकपल्ट आउँछन् …!