यो देखाउने प्रतियोगितामा सम्मिलित भएदेखि एकछिन फुर्सत छैन मलाई । यता पनि देखाउनुपऱ्यो अनि उता पनि । तल पनि देखाउनुपऱ्यो अनि माथि पनि । संसारमा नै सबैभन्दा लोकप्रिय भएको यो प्रतियोगिता साँच्चै नै गज्जबका लागि रहेछ मलाई । विभिन्न तरिकाहरू अपनाएर देखाउन पर्ने कारणले गर्दा कहिलेकहीँ उपायहरूको कमि महसुस नभएको पनि होइन । श्रीमतीले साथ दिन्छिन् प्रायः तर ऊ पनि स्वयम् एक प्रतियोगी भएकीले गर्दा आफैँलाई उपायको कमी भएको गुनासो गर्छिन् सधैँ । जे होस्, हामी दुवै प्रतियोगी अरूभन्दा कमचाहिँ छैनौँ है देखाउन ।

मलाई सबैभन्दा मन पर्नेचाहिँ के भने, यो प्रतियोगितामा के देखाउन हुन्छ, कहिले देखाउन पर्छ, किन देखाउने ? कसरी देखाउने ? कसलाई देखाउने ? कुनै सीमा छैन । जहिले, जसरी, जे देखाए पनि हुन्छ तर देखाउन चाहिँ पर्छ । देखाउन सकिएन भने हार हुने कुरामा त ढुक्क हुनुस् तपाईँ ।

आफ्नै वरिपरिकाहरू बीचमा पनि पछाडि पर्नुहुनेछ । त्यति मात्र कहाँ हो र ? तपाईँलाई पिछडिएको, सङ्कुचित विचारको, अविकसितको संज्ञा आइलाग्न सक्छ । त्यसै भएर म भन्छु, तपाईँ पनि देखाउनुस् । यदि सुरु गर्नुभएको छैन भने विलम्ब नगर्नुस्, एक मिनेट पनि खेर नफाली सुरु गरिहाल्नुस् देखाउन । द्विविधामा रहनु पर्दैन के ! देखाउने भनेर मैले भनिसकेँ, जे देखाए पनि हुन्छ।

एउटा कुरा, अलि गोप्य हो । तपाईँलाई मात्र भन्छु – देखाउँदा खेरी अलि बढाई चढाई देखाउनुस् । त्यसो गरेमा प्रतियोगितामा धेरै प्वाइन्ट पाइने रहेछ । अस्ति भर्खरको कुरा हो, दुई वर्षअगाडि खिचेको एउटा फोटोलाई भर्खर खिचेको भनेर सामाजिक सञ्जालमा देखाएको, कति धेरै प्वाइन्ट पाइयो । सोही दिन साँझ एउटा रेस्टुराँबाट किनेर लेराएका परिकारलाई श्रीमतीले आफैँले बनाएको भनेर फोटो देखाइछिन् । उनले पनि थुप्रै प्वाइन्ट पाएकी थिइन् ।

सामाजिक सञ्जाल त गज्जबको ठाउँ बनेको छ देखाउनलाई । मान्छेले विश्वास गरून् कि नगरून्, तपाईँ देखाउन चाहिँ नछाडनुस् । प्रतियोगिता नै देखाउने हो, विश्वास र अविश्वासको कसलाई पर्बाह ।

तपाईँ आफूलाई देखाउनुस् फोटोहरूमा, विभिन्न कोणमा अनि विभिन्न मुद्रामा । परिवार देखाउनुस् त्यसरी नै । नआए पनि नाचेर देखाउनुस्, गाएर देखाउनुस्, पकाएर देखाउनुस्, खाएर देखाउनुस्, घुमेर देखाउनुस्, झुलेर देखाउनुस्, फुर्केर देखाउनुस्, घुर्केर देखाउनुस्, जे जे मन लाग्छ त्यो त्यो गरेर देखाउनुस् । जति देखाउनुहुन्छ, त्यति धेरै प्वाइन्ट पाइन्छ ।

दुई महिना अगाडिको कुरा, साथीको छोरोको बिहे मनाउन पुगेको थिएँ म पनि । देखाउने प्रतियोगिता चलिरहेको रहेछ त्यहाँ । आगन्तुकहरू आ-आफ्नै तालमा देखाउँदै थिए एकअर्कालाई । कोही आफ्ना पहिरन त कोही आफ्नो गाडीको मोडेल । एक हुल फोटो खिच्दै देखाउने तयारीमा थिए । दुलाहाका बाबु यानि मेरो साथी पाहुनाहरूलाई आफ्नो घर अनि त्यसको सजावट देखाइरहेका थिए । उनकी श्रीमती आफ्नो साथीहरूलाई गहना र सारीका प्रकारहरू देखाउँदै थिइन् । दुलाहा केटो आफ्नो साथीहरूलाई पार्टीका लागि किनेको भन्दै विभिन्न प्रकारका रक्सीका बोतलहरू देखाउँदै थियो । उसका साथीहरू एकअर्कालाई आफ्नो गर्लफ्रेन्डसँग खिचेको अलग अलग पोजका तस्बिरहरू देखाउन व्यस्त थिए । केही केटाकेटीहरू भर्खरै बाउआमाले किनिदिएको मोबाइल फोन देखाउँदै थिए । विवाह व्यवस्थापनको जिम्मा लिएको दुलाहाको भिनाजु मन्त्री पाहुना भएको भन्दै आफ्नो माथिल्लो पहुँच देखाउँदै थियो । सबै देखाउन तल्लीन थिए ।

बिहे कहाँ भइरहेको थियो ? सोच्न थालेँ।

खोज्दै जाँदा जग्गे बनाएको जस्तो ठाउँमा पुगेछु । जग्गे नै रहेछ पछि बुझ्दा । कस्तो गज्जबको । देखाउनलाई नै बनाएको अरे । थुप्रै प्वाइन्ट पाउने भएँ भन्दै मनमनै मैले पनि निधो गरेको थिएँ, आफ्नो छोराको बेलामा त्योभन्दा पनि राम्रो बनाउने अनि धेरै प्वाइन्ट पाउने ।

बिहे पनि देखाउने प्रतियोगितामा सम्मिलित भएकोमा धेरै आश्चर्य भने नहुनु होला तपाईँहरू । यहाँ बिहे मात्रै होइन, थुप्रै कुरा आवश्यकताभन्दा बढी देखाउनलाई गरिन्छ । जस्तै व्रतबन्ध, न्वारन, पास्नीदेखि लिएर मान्छे मरेका बेलासमेत देखाउनका लागि उपयुक्त हुने गरेको छ आजभोलि । कारण नसोध्नुहोस्, प्रतियोगितामा कारण सोध्न पाइँदैन । जसले जति सक्छ देखाउन पर्छ ।

बच्चा पाउने सुरसारदेखि बच्चा नपाउन्जेलसम्मको गतिविधि, देखाउने प्रतियोगितामै लोकप्रिय हुन सकेको थाहा पाइरहनुहोस् तपाईँहरू पनि । लोकप्रियताको कारणचाहिँ पुट्ट भुँडीदेखि स्वात्त भुँडीसम्मको यात्रा जम्मै देख्न र देखाउन पाइनुरहेछ । मलाई पनि श्रीमतीले भनेर थाहा भएको ।

पूजापाठ पनि देखाउनलाई नै रहेछ । मन्दिर जाने ठाटिएर अनि भगवान्को दर्शन गर्ने भन्दै ठिटाठिटीले एकअर्काको दर्शन गर्ने अर्को लोकप्रिय देखाउने कला बन्दै गएको कुरा विदित नै होला हजुरलाई पनि । सङ्क्रान्तिदेखि सप्ताह लगाउने सबै देखाउने प्रतियोगिता नै रहेछ आखिर । प्वाइन्ट बटुल्ने क्रममा देखाउने कलामा भएको यो विकासलाई हामीले सराहना गर्नैपर्छ ।

एक हप्ता अघिको कुरा हो, घर फर्कदै थिएँ अफिसको काम सकाएर, बाटामा थुप्रै भीड देखेँ । राजनीतिक दलको शक्ति प्रदर्शन पो रहेछ । देखाउने प्रतियोगिता चरम बिन्दुमा लोकप्रिय भएको यसबेला उनीहरू पनि कसरी अछुत रहन सक्थे र ? उनीहरूले लेराउन सक्ने प्वाइन्ट अनुमान गर्दा आफ्नो प्वाइन्ट तुच्छ लाग्न थाल्यो त्यतिखेर । त्यही भीडबाट एक थरी आवाज आइरहेको थियो, “ल मलाई छो त मात्रै, तेरो बाउको बिहे देखाइदिन्छु ।”

सिङ्गै भीड देखाउनमा व्यस्त हुँदा भीडभित्र साना साना देखाउने कुराहरू चलिरहेकोमा धेरै अचम्म लागेन मलाई ।

जताततै देखाउने प्रतियोगिता लोकप्रिय बन्दै जानुमा प्रतियोगीहरूको सहभागिताको कदर गर्नैपर्छ, तपाईँ हामीले । उनीहरूबिना प्रतियोगिता कसरी सम्भव हुन्थ्यो र ?

यो लेख पनि देखाउने प्रतियोगिताकै एउटा अंश भएको त अन्दाज गरिसक्नु भयो होला, हैन त !

अस्तु !