मैले जे लेखे पनि यदि म मेरा भावलाई मूर्त अभिव्यक्तिमा ढाल्न सक्छु भने त्यो मेरो कृति हो, कविता हो । मेरो सोच क्लान्त होला, आक्रोशित होला तर मेरो सोचहरूलाई संसारिक कुनाबाट उछिट्यायर कसैको मनको कुनामा उभ्याउन सक्छु भने त्यो मेरो साहित्य हो, कविता हो । लाखौँव श्रोता चाहिँदैन कवि बन्न । केवल एक श्रोताका उत्साही कान भए पुग्छ । लाखौँ ताली चाहिँदैन कवि बन्न एक जोडी आँत भए पुग्छ जसले कविताको मर्म बुझ्न प्रयास गर्छ । म उडुँला आकाशमा मेरो श्रोता धर्तीमा बसेर मलाई गुलेलीले हान्न सक्छन् । मेरो आँतलाई मट्याङ्ग्राले समातोस् या मेरो मुटुलाई हल्लाएर नजिकैबाट जाओस् मेरो कविता अमर बन्नेछ । म बस् एक श्रोता र एक मट्याङ्ग्राको पर्खाइमा छु ।
बाँच्नु भनेको संसारमा केही ठाउँ ओगट्नु हो । हर कोही केही न केही ओगटेरै बसेका छन् । आकाश, धर्ती, जल, वायू, तेजका केही अंशको पुञ्ज हो वस्तु । हामी पनि फगत वस्तु हौँ फरक यति मात्र छ हामीमा भाव भरिएको छ । लाग्छ भावको लड्डुमा आयुको गुलियो मिसाइएको छ । मिठो लागेर चबाउँदा चबाउँदै कहिले रित्तिन्छ थाहा नहुने तर खै किन किन कुनै लड्डुको स्वाद मनले लामो समयसम्म लिएर बस्छ ।

डा. विनोद ढकाल (विधा)

संसारिक प्रगति ठाउँमा (स्पेसमा) निर्भर छ । एक सफल र उत्कृष्ट फुटबल खेलाडीको मापन उसले आफ्ना लागि बनाउन सक्ने ठाउँको आधारमा गर्न सकिन्छ । वास्तवमा हरेक सफल खेलाडी आफ्ना लागि बढी भन्दा बढी ठाउँ बनाउने गर्छन् । मेसी, रोनाल्डोले आफ्नो स्थान कसरी बढी भन्दा बढी बनाउँछन् अनि आफ्नो स्थानको सही सदुपयोग गर्ने गर्छन् त्यो हामी सबैले देखेकै छौँ । लेबरन जेम्स कसरी अरूभन्दा एक इन्च बढी उफ्रन्छन् । विराट् कोहली बल्लेबाजी गर्दा कसरी अरूभन्दा एक मिलिसेकेन्ड बढी सोच्ने समय बनाउँछन् । तब न उनीहरू अरू भन्दा विशेष छन् । उत्कृष्टमध्येमा उत्कृष्ट छन् ।

आफ्नो ठाउँ विस्तार गर्न हरकोही लागेका छन् । दुःख लागेको छ, सुख लागेको छ, हार लागेको छ, जीत लागेको छ र समाजका हरेक अगुवाहरू लागेका छन् । कोही मरेर लागेका छन् भने कोही जिउँदै लागेका छन् । कुर्चीको खेल पनि लागेको छ । मान प्रतिष्ठा पनि लड्दै छ । हरकोही आफ्नो स्थान बढाइरहन लोभी छ । सायद लोभ नराम्रो वस्तु होइन ।
एकले पाएको आयुभन्दा अझ धेरै बाँच्नु भनेको अझ ठुलो ठाउँ बनाउन सक्नु हो । जति ठुलो ठाउँ बनाउन सकिन्छ उति अमर बन्न सकिन्छ । यसै पनि यस संसारमा उपस्थितिको आफ्नै अमरत्व छ । बस् फरक छ मापनमा । सानो छ कि ठुलो छ ? सानामा एक आत्माको अंश हुन सक्छ । ठुलो हुन कुनै मापन छैन जसरी ब्रह्माण्डको कुनै मापन छैन । कुनै एक मनको एक कुनाभित्र तपाईँको उपस्थितिको सम्झना केही निमेषका लागि मात्र छ, सानो छ । लाखौँ, अरबौँका अरबौँ कुनामा तपाईँको उपस्थिति हरसमय छ । स्थान ठुलो छ ।

मेरो मन पनि ठाउँ हो । यसभित्र उम्रिएका अनेकौँ भावहरूले मनका ठाउँहरू ओगटेका छन् । अनेकन् तृष्णाहरूले भरिएका छन् । म एक्लै सोचिरहेको छु तर म एक्लो छैन । म त मेरा सोचहरूको साथी हुँ । म एक्लो कदापि हुन सक्दिनँ किनकि मेरो बनोट एक्लो छैन । मेरो कुरा छोडौँ साधनाको अन्तस्करणमा पुगेर आत्मालाई शरीरसँग छुट्याउन सफल योगी पनि एक्लो छैन । एक्लै ऊ एकान्तसँग साथी हुन खोजिरहेको छ ।

म भन्छु कवि र योगी दुई परस्पर भिन्न दिशातर्फ लम्किरहेका मनहरू हुन् । कवि मनलाई उडाउन चाहन्छ । योगी मनलाई एक केन्द्रमा केन्द्रित गर्न चाहन्छ । कवि बन्न चाहने मन योगी बन्न सक्दैन । म कवि बन्न चाहन्छु । विचार खिन्न थियो किनकि म योगी बन्न सक्दिनँ तर विचारलाई सान्त्वना दिन टेगोर आए, रविन्द्रनाथ टेगोर । थोरै कविहरू आए जो साधनाका लतमा मस्त थिए । उनीहरू योगी भएर कविता लेख्थे । सायद दुई परस्पर भिन्न दिशामा लम्किरहेका वस्तुहरू कालान्तरमा एक समान बिन्दुमा पुग्छन् । लाग्छ दुई विरोधीको गन्तव्य एक । धर्म र अधर्म, क्रान्ति र शान्ति, धर्ती र आकाश डोरिरहेको बिन्दु एक । अनि मन योगी बन्न नसक्ने सम्भावनामा त्यति दुःखी बनेन ।

फेरि सोच्छु लेखनमा अध्यात्म हर कोहीमा हुन्छ । सायद साधना नै योग हो । साधना निरन्तर प्रयासमा छ । साधना हरकोही आआफ्नो क्षेत्रमा गरिरहेकै हुन्छन् । कुनै डाक्टरले घण्टौँ सानो दूरबिनबाट मानिसको मस्तिस्कमा एक टकले हेरेर गरेको अपरेसन योग हो । म भन्छु त्यसमा कविता छ । त्यसमा सायद अध्यात्म पनि छ र सायद समाजवाद पनि छ ।
दुई भिन्न आस्थाका अनुयायी, एक अर्काका कट्टर विरोधीका समानता एक । दुवैले रट्टान लगाउने भिन्न भिन्न प्रकारका समाजवाद एक तर विडम्बना त्यो समाजवाद कृतिमा छ, भावमा मात्र छ ।

‘काम गर फलको आशा नगर ।’ अध्यात्मले भन्छ, धर्मले पनि भन्छ, मार्क्सवादले पनि भन्छ, समाजवादले अनि प्रजातन्त्रले पनि यही सिकाउँछ ।

म भन्छु सब सिद्धान्तहरूको अन्तिम लक्ष्य एक तर पुग्ने माध्यम फरक । एकमुस्ट वस्तुमा फरक तर सानासाना कणमा (एटममा) एक । दुई व्यक्तिको उपस्थितिमा फरक तर बनाउने कण एक । त्यसो भए फरक पनमा के फरक छ ? जब कि आदि र अन्त्य एक छ, समानता एक छ । हामी समान वस्तुका पुञ्ज हौँ । उही केमेस्ट्रीका सिद्धान्तबाट हामी बनेका छौँ । हाम्रो गन्तव्य पनि एक छ । गन्तव्यको पहिचानबाट हामी ज्ञात छौँ । आदि एक छ अन्त एक छ तर कहिल्यै एक भएको अनुभव भएको छैन, किन ?