स्नेही गीता, सागरभन्दा गहिरो प्रेम अनि मिठो सम्झना ।

उहिलेउहिले जस्तो “आराम रही आरामको कामना गर्दछु” भनेर लेख्नै परेन किनभने तिम्रो र मेरो कुराकानी दिनको दुईतीनपटक नै भइरहेको छ । कम्तीमा दिनको आधा घण्टा, एक घण्टा हामी टेलिफोनमा, मेसेन्जरमा वा भिडियोमा बात मारिरहेका छौँ, माया साटिरहेका छौँ । टाढा भएको न्यास्रो गफ गरेरै मेटिरहेका छौँ । सँगै हुँदा गर्न नपाएका वा गर्न नपरेका कुराकानी अहिले गरिरहेका छौँ । दिनको दुईचारघण्टा अनुहार हेरेरै कुराकानी गर्न पनि हामी स्वतन्त्र छौँ, सक्छौँ तर पनि म तिमीलाई यो चिठी लेखिरहेको छु । यसरी अचानक चिठी आउँदा तिमी चकित पनि हुन सक्छ्यौ, त्रस्त पनि हुन सक्छ्यौ तर छक्क नपर र नतर्स पनि । मैले यो चिठीमा तिमीलाई कुनै अन्यथा कुरा लेखिरहेको छैन । तिमीसँग मेरो प्यार जस्ताको तस्तै छ बरु अझ बढेको छ । टाढा भएपछि त झन् प्रेम झन् गाढा पो हुँदो रहेछ ।
कति कुरा हुँदा रहेछन् नि कहिल्यै कसैलाई भन्न नसकिने आफ्नै पत्नीलाई पनि । (पतिलाई भन्न नसकिने कुरा पनि कति हुँदा हुन् । ती तिमीले जान्ने कुरा भयो ।) साँच्चै भनेँ, लेख्न पनि नसकिने, मनमै गुम्स्याएर राख्नुपर्ने । म त्यस्ता कुरा आज बाहिर निकाल्न खोज्दैछु । सकेसम्म सङ्कोचलाई दबाएर म लेख्छु ।

म अहिले अनुभूति गर्दै छु हामी प्रेममा कति डुबेका रहेछौँ टाढा हुँदा थाहा पाउँदैछु । कस्तो मायाजाल हुँदोरहेछ पति–पत्नीको माझमा पनि अनुभूत गर्दै छु । तिमीले कसरी मलाई मायाको डोरीले कसेर बाँधेकी रहिछौ थाहा पाउँदैछु । सँगै हुँदा त यति गहिरो प्रेम होला हाम्रो बीचमा भन्ने लाग्दैनथ्यो त !

सम्झँदैछु तिमीलाई पहिलोपटक एक प्रेमिकाको रूपमा भेट गरेको समय । कलेज–सारीमा साइकल डोहोऱ्याउँदै मेरो छेउमा आएर उभिएकी तिमी । मैले त्यसबेला तिम्रो चौडा निधारमा धेरैबेर आँखा गाडेको थिएँ । तिम्रा निधारभरि र ओठमाथि पसिनाका दानाहरू बसेका थिए । साइकलको ह्यान्डिल समातिराखेका मसिना हत्केला, साना औँला र खिरिला परेका नाडी । छातीमा कालो बनारसी धागोको सानो लकेटसहितको माला । त्यसबेला त्यस्तो मालाको फेसन नै थियो नि । वरिपरि मानिसहरू थिए नत्र उत्तिखेरै समातेर तिमीलाई अँगालोमा बेर्ने थिएँ होला । भर्खर जस्तो लाग्छ त्यो दृष्य हेरेको तर बितेछन् तीन दशक वर्षहरू । बाफ रे !

मैले यो चिठी यसकारण पनि लेखिरहेको छु कि तिमीले मलाई हृदय पोखेर लेखेका प्रेमपत्रहरू सुरक्षित राख्न सकिनँ । ती किशोरसुलभ प्रेमका सुखद अभिव्यक्तिहरू, अनेक गुनासाहरू, भविष्यका सुन्दर योजनाहरू भएका प्रेमपत्रहरू । तिनलाई जतन गरेर राखेको भए आज म ती चिठीहरूलाई स्क्यान गरेर प्रकाशन हुँदै गरेको “प्रिय चिठीहरू” मा राख्ने थिएँ । त्यति धेरैजनाले लेखेका चिठीहरू सुरक्षित राख्ने मैले मेरो हृदयको ढुकढुकीमै बस्ने तिम्रा ती प्रेमिल पत्रहरूलाई सुरक्षित राख्न सकिनँ । त्यसको बदला तिर्न चाहन्छु म, त्यसको क्षतिपूर्ति थोरै भए पनि भर्न चाहन्छु म त्यसैले यो चिठी पठाएको छु । यसलाई पढेर पुस्तकमा समावेश गर्ने अनुमति दिनेछ्यौ भन्ने विश्वास गरेको छु ।

अँ त, छोटो प्रेम सम्बन्धपछि २०४७ सालमा हाम्रो बिहे भयो । अहिले सम्झिँदा हाम्रो बिहे अलिकति मायालाग्दो शैलीमा भएको थियो । म एउटा बेहुलो र आठदश जना आफन्त जन्ती । डेराबाट अन्मिएर सडकमा आएर निकैबेर लगाएर एउटा ट्याक्सी खोजेर हामी पाँच–छ जना खाँदिएर गौशाला धर्मशालाको आँगनमा पुगेका थियौँ । त्यहीँ हाम्रो बिहेको विधि विधान पूरा भयो । त्यसैगरी ट्याक्सीमा फर्कियौँ र हाम्रो संयुक्त यात्रा सुरु भएको थियो ।

हाम्रो बिहे हुँदा तिमी बीस वर्षकी मात्रै त थियौ, भर्खर प्रमाणपत्र तह सकेकी । पढाइलाई निरन्तरता दिने र कतै सानोतिनो रोजगारी बन्दोबस्त गर्ने हाम्रो उद्देश्य थियो । तिमीले व्यवस्थापनमा स्नातक पढ्न थाल्यौ । बहिनीहरू पनि साथमा थिए, पढ्दै थिए । हाम्रो बिहे गर्ने कुरा हुँदा ठुल्दिदीले भन्नुभएको थियो, “बहिनीहरू सँगै छन्, बुहारी ल्याउन लागिस्, मेलमिलाप नभएर वातावरण बिग्रिने हो कि ! मिलाएर राख्नू ।”

मलाई पनि डर थियो, मन नमिलेर, व्यवहार नमिलेर खटपट भयो भने त बर्बाद हुन्छ । म न भाइबहिनीलाई आफूबाट अलग गर्न सक्थेँ न तिमीलाई तर त्यो कल्पना कल्पनामै सीमित भयो । तिमीहरू त एकै घरमा दिदीबहिनी जस्तो वा बाल्यकालदेखिका साथीजस्तो टपक्क मिल्यौ । कहिल्यै एकले अर्काको टिप्पणी गरेको वा गुनासो गरेको सुनिएन । बरु मैले आफ्ना भाइबहिनीबारे कहिलेकाहीँ गुनासो गरेँ होला, तिमीले गरिनौ ।

हाम्रो बिहे भएको डेढ वर्षपछि हामीलाई एउटा अप्ठ्यारो आइलाग्यो । तिमी गर्भवती भयौ । हामी ज्यादै चिन्तित भयौँ । पढाइ सक्नु छ, जागिर खानु छ, दह्रोसँग आफ्ना खुट्टामा उभिन सक्ने हुनु छ । अहिले नै बच्चा जन्माएर हाम्रो के बिजोग होला त भन्ने चिन्ताले हामी छटपटियौँ र हामीले निर्णय गऱ्यौँ, एबोर्सन गर्ने । डाक्टर सरस्वतीको क्लिनिकमा गएर त्यो काम सम्पन्न गरायौँ । तिमीलाई ज्यादै गाह्रो भयो । निकै दिनसम्म तिमीले पीडा सह्यौ, रोयौ । हामी अपरिपक्व उमेरमै थियौँ सायद । सङ्कोचवश हामीले बहिनीहरूलाई त्यो कुरा बताएनौँ । उनीहरूसँग सल्लाह लिएनौँ । गोप्य रूपमै त्यो काम फत्ते गऱ्यौँ ।

त्यसपछि भने फेरि अर्को समस्या देखियो । इच्छा गरे पनि चार वर्षसम्म हाम्रो गर्भ रहेन । तिमी निकै निराश र उदास हुन थाल्यौ । हाम्रो बच्चा हुँदैन कि जस्तो लाग्न थाल्यो । आमा दिदीहरूले पनि प्रश्न गर्न थाल्नुभयो । हामी निःसन्तान केन्द्रकी डाक्टर उमा श्रीवास्तवको सम्पर्कमा गयौँ । २०५१ सालमा गर्भ रह्यो तर गर्भ रहेको थाहा पाएको पछिल्लो महिना एक साँझ तिमीलाई ठूलो कष्ट भयो । पेट दुखेर तिमी फत्र्याक फत्र्याक भयौ । केही छिनमै रक्तश्राव भयो । रक्तश्रावसँगै भ्रूण पनि गयो । त्यो साँझको तिम्रो कष्ट सम्झिँदा मलाई आज पनि भित्र कताकता दुख्छ । तिमी धेरै रोयौ । तीन दिनसम्म सामान्य रक्तश्राव भइरह्यो । मैले खुन लतपतिएका कपडा रात परेपछि धारामा लाँदै धुँदै गरेर केही नभएको जस्तो वातावरण बनाउन तिमीलाई सघाएँ । थाहा छैन, हामी डरपोक वा सङ्कोची भएर त्यस्तो गऱ्यौँ वा बहिनीहरूलाई दुख दिनु हुँदैन भनेर त्यसो गऱ्यौँ वा गर्भ रहनु वा गर्भपतन हुनु लाज हुने कुरा हो भनेर हामीले गोप्य राख्यौँ ! अहिले सम्झिँदा पो म छक्क पर्छु । हामी कस्तो पिछडिएको समाज र वातावरणका हुर्किएछौँ भन्ने प्रश्न मेरो दिमागमा आउँछ । प्रेम हुनु, बिहे हुनु, गर्भ रहनु, गर्भपतन हुनु । यी लुकाउनुपर्ने कुरा हुन् र ! धत्तेरिका !

जे होस्, २०५४ सालमा छोरी जन्मिएपछि हाम्रो एउटा चिन्ता दूर भयो । परिवारमा ठूलो खुसीयाली छायो । २०५८ मा छोरा पनि थपिएपछि सानो परिवार सुखी परिवारको कल्पनाले पूर्णता पायो, सकियो । सबै पुराना पीडाहरू बिलाए । पारिवारिक आनन्दमा हामीलाई कमी रहेन । कमी रह्यो त तिम्रो रोजगारीको ।

लक्ष्मण गाम्नागे

त्यस्ता अनेक कष्ट र अभावहरू छिचोल्दै तिमीले छोरी नजन्मिदै स्नातकोत्तर सकेकी थियौ । सँगसँगै जागिरका लागि अनेक प्रयत्नहरू जारी राख्यौ । लोकसेवा आयोगका प्रत्येक विज्ञापनहरू कुनै छाडिनौ । मैले मुखले नभने पनि साँच्चै भन्दा तिमीले लोकसेवा आयोग उत्तीर्ण गरेर जागिर खाउली भन्ने मलाई धेरै आशा थिएन । तिम्रो पढाइ मध्यमखालको हो । मैले जागिर खाँदाको समयभन्दा तिमीले जागिर खान प्रयास गरेका समयमा धेरै ठूलो प्रतिस्पर्धा भित्रिएको थियो बजारमा । कडा परिश्रम गर्ने तिम्रो आदतले पढाइमा त सफल भयौ तर बाहिरी ज्ञानमा तिमी अलि कमजोर थियौ ।

राजनीति, प्रशासन, विश्व घटना, सामान्य ज्ञानहरूमा तिमी अलि पछाडि नै थियौ तर तिमीले पढिरह्यौ, पढिरह्यौ, फारामहरू भरिरह्यौ, परीक्षा दिइरह्यौ, फेल भइरह्यौ, फेरि जाँच दिइरह्यौ । तिम्रो त्यो अथक सङ्घर्ष देख्दा म पटक-पटक थाक्थेँ र सानोतिनो केही व्यापार व्यवसाय गरौँ न है भनेर बेलाबेला भन्थेँ तर तिमी थाकिनौ ।

बेलुका ओछ्यानमा पल्टिएपछि तिमी बेलाबेला रुन्थ्यौ । म, “के भयो ? किन रोएकी ?” भन्थेँ । तिमीले कहिल्यै रुनुको कारण बताइनौ । तिमी सकेसम्म मैले थाहा नपाउने गरी रुन्थ्यौ । तिमी किन रुन्थ्यौ भन्ने म बुझ्थेँ तर गर्न के सक्थेँ ! अनि भन्थेँ, “हेर हामी भोकै मर्दैनौँ । जागिर नै सबैथोक होइन, भएन भने अरू केही गरौंला ।” तिमीलाई “अरू केही” मा रुचि थिएन, तिमी चुप लाग्थ्यौ ।

बिहानदेखि फेरि उही यात्रा सुरु हुन्थ्यो । भातभान्सा, नानीहरूको हेरचाह, किताब ओल्टाउने पल्टाउने, पदपूर्तिका विज्ञापन खोज्ने, फारामहरू भर्ने, सर्टिफिकेट र मार्कसिटहरू छाम्ने, थन्क्याउने । तिम्रो मन सधैँ भारी हुन्थ्यो । तिमी सधैँ छटपटाइरहन्थ्यौ । केही गर्नुपर्छ भन्ने तिमी सधैँ सोचिरहन्थ्यौ, केही गर्न सकिएन भन्ने ग्लानि तिमीलाई भइरहन्थ्यो र प्रयास गरिरहन्थ्यौ, भुटभुटिइरहन्थ्यौ ।

एउटा कुरा बीचैमा याद आयो । केही न केही गर्दै रहनुपर्छ भनेर हामीले एउटा सिलाइ मेसिन पनि पो किनेर ल्याएका थियौँ । तिमीले केही दिनको सिलाइबुनाइ तालिम पनि लियौ क्यारे तर ती सबैले तिमीलाई चुप लाग्न दिएनन् किनभने तिमीभित्र एउटा अर्कै महत्त्वाकाङ्क्षाको दियो बलिरहेको थियो । जसरी पनि जागिर खाने । सानो ठूलो जत्रो होस् । स्वाभिमानी बन्ने, आत्मनिर्भर बन्ने, निश्चिन्त बन्ने ।

त्यही क्रममा तिमीले केही समय एउटा मानवअधिकारवादी संस्थाको अफिसमा पत्रिकाहरूका समाचार कटिङ गर्ने काम गऱ्यौ । नाममात्रको केही पारिश्रमिक पाउँथ्यौ । त्यो काम सकिएपछि मित्रसेन दहालजीको कुन्नि के कार्यालयमा काम गऱ्यौ । त्यहाँ पनि के के मिलेन, तिमीले आफूलाई अपमानित भएको अनुभूति गऱ्यौ र काम छाड्यौ । केही स्कुलमा, एकदुईवटा कलेजमा कुराकानी भयो तर काम अघि बढेन । बरु हामी आफैँले खोलेको कम्युनिकेसन सेन्टरमा (हाम्रो सञ्चार, डिल्लीबजार, पिपलबोट) तिमीले अलि लामो समय काम गऱ्यौ । त्यसमा अलिक आनन्द प्राप्त भयो । त्यहीँ काम गर्दागर्दै त हो, हाम्रा नानीहरू जन्मेका । हाम्रो आर्थिक अवस्था दयनीयबाट अलिक माथि उठेको । नानीहरू जन्मेपछि तिमी उनीहरूको स्याहार सम्भारमा संलग्न भयौ । जागिरका लागि प्रयास त गरिरह्यौ तर त्यसले सार्थकता पाएन । अनेक थरीका झमेलामा गुजुल्टिएर पढ्दा पार लाग्ने कुरा पनि थिएन । बरु त्यतिन्जेलमा तिमीले स्नातकोत्तर उत्तीर्ण गऱ्यौ ।

त्यसै क्रममा हामीले डिल्लीबजारको डेरा जिन्दगीबाट मुक्ति पाएर सिनामङ्गलमा घर बनायौँ सानो एकतले र घरमा सऱ्यौँ । यहाँ आएपछि र नानीहरू स्कुल जान थालेपछि तिम्रो मनको हुटहुटी र पढाइको गति बढ्न थाल्यो । म बिहान अफिस जाँदा तिमी कपी किताव फिँजारेर बसिसकेकी हुन्थ्यौ, म फर्किँदा पनि पलेटी कसेर लेखपढमै व्यस्त हुन्थ्यौ । मैले पनि सकेसम्म भातभान्सामा सहयोग गरेँ । यस्तै सिलसिलामा एकदिन तिमीले एकजना अग्ली, मोटी साथीलाई घरमा लिएर आयौ र मलाई चिनायौ, उहाँ विनीता । नागरिकताको नामचाहिँ पुण्यमाया खनाल रहेछ । लोकसेवा आयोगका लागि भिडन्त गरिरहेकी योद्धा । अब हामी सहयोद्धा भयौँ, आजैदेखि कम्बाइन स्टडीमा धस्सिँदैछौँ ।
विनीता उमेरले तिमीभन्दा कम र पढाइले अलि अपडेट हुनुहुन्थ्यो तर तिम्रो परिश्रम गर्ने बानी र अठोट भने पटक्कै कम थिएन । पछि निर्मला कार्की थपिनुभयो । तीनजनाले पनि कम्बाइन पढाइ गर्नुभयो । हुँदाहुँदै अलि पछि त तिमीले घरै छाड्यौ र कहिले निर्मलाजीसँग उहाँको क्वाटरमा कहिले विनीताजीसँग प्रशासनिक प्रशिक्षण केन्द्रको होस्टेलमा बसेर पढ्न थाल्यौ । कहिलेकाहीँ तिमी घर आउँथ्यौ, कहिले म नानीहरू लिएर तिमीलाई भेट्न उतै आउँथेँ ।

त्यो घटना सम्झिँदा म तिमीलाई जहिले पनि मनमनै स्यालुट गर्छु गीता । चानचुने अठोट, लगन, त्याग र समर्पणले तिमी आजको ठाउँमा आइपुगेकी होइनौ । म बेलाबेलै ती दिनहरूमा गहिरोसँग डुब्छु, श्रद्धाले मेरो शिर निहुरिन्छ । अनायासै मेरो छाती भरिएर आउँछ र आँखाबाट पोखिन्छ । म एकछिनमा वर्तमानमा आउँछु र एक्लै मुस्कुराउँछु र तिमीप्रति गौरव गर्छु । सायद हाम्रो सिङ्गो परिवार पनि तिमीप्रति गौरव गर्छ होला ।

बिस्तारै तिम्रो तपस्याले मूर्त रूप लिन थाल्यो । परीक्षा दिँदादिँदै एकदिन राष्ट्रिय योजना आयोग अन्तर्गतको एउटा आयोजनामा अस्थायी महिला अधिकृतमा तिमीले फ्याट्ट नाम निकाल्यौ । अन्तर्वार्तामा पनि पास भयौ र घर छाडेर हिँड्यौ तिमी सुर्खेततिर । केटाकेटी सानै थिए, मेरो पनि जागिर थियो तर पनि हामीले कुनै बिस्मात मानेनौँ । खुसीसाथ तिमीले त्यति टाढाको जागिर रोज्यौ, मैले घर रोजेँ । धेरैले सोध्ने गर्थे, खाना कसले बनाउँछ ? केटाकेटीलाई स्कुल कसले पठाउँछ ? लुगा कपडा कसले धुन्छ ? भाँडा कसले माझ्छ ? म सुन्थेँ र तिनीहरूको अज्ञानता, अन्धविश्वास र सामन्तवादी विचारमाथि हाँस्थेँ ।

सुर्खेतको जागिर अस्थायी थियो । दुई वर्षका लागि थियो । उमेर हामफाल्दै हामफाल्दै गइरहेको थियो । दुई वर्ष त्यता बिताउने हो भने उमेरले तिमीलाई नै बिताउने थियो । मैले एकदिन भनेँ, “छाडिदेऊ अस्थायी जागिर । तलवले अलमल्याउँछ, सुविधाले अलमल्याउँछ, अधिकृतको पद, नमस्कार र सत्कारले अलमल्याउँछ ।” तिमीले तत्क्षण भन्यौ, “म अहिले नै राजिनामा दिन्छु, भोलि नै आउँछु ।”

अर्को हप्ता तिमी आयौ । त्यत्रो कठोर परिश्रमपछि पाएको जागिर छाडेर आउँदा आश्चर्यचकित हुने र गाली गर्ने साथीभाइ र आफन्तहरू पनि थिए तर तिमी कसैका कुरा नसुनी फेरि उसैगरी पढाइमा तल्लीन भयौ । तिमीले रातदिन लगाएर पढेको, लेखेको देखेर म बेलाबेला आत्तिन्थेँ । यसरी गर्दा पनि भएन भने के होला भनेर डराउँथेँ किनभने समय डाँडामाथि पुगिसकेको थियो, अस्ताउने तरखर गर्दै थियो ।

२०६७ सालको सायद असारतिर होला, एक साँझ तिमी निकै रोयौ । मैले के भयो भनेर सोध्दा तिमीले लोकसेवा आयोगले “उमेर नाघेको” भनेर रातो साइनपेनले लेखेर फिर्ता दिएको दरखास्त फाइल मलाई दियौ । (तिम्रो रोजगारीलाई झन्डै असुरक्षित गराएको त्यो फाइल अहिले पनि हाम्रो दराजमा सुरक्षित छ ।)

तिमीले परीक्षा दिएका कम्तीमा पनि सातवटा रिजल्ट हुन बाँकी छन्, एउटा न एउटामा हुन्छै हुन्छ भनेर मैले सम्झाएँ तर तिमी त्यो बेला आशा र निराशाको दोसाँधमा बेस्सरी रुमलिएकी थियौ । मानसिक द्वन्द्वले तिमी निरन्तर छटपटाइरहेकी थियौ । “भएन भने…!” भन्ने आशङ्काको कालो बादल तिम्रो अनुहारमा छाइरहन्थ्यो ।

अन्ततः मैले भनेजस्तै भयो, तिम्रा अगाडि लोकसेवाका प्रश्नहरूले हार खान थाले । तिमीले महालेखातर्फ महिला र खुला दुवैतिर शाखा अधिकृतमा नाम निकाल्यौ तर त्यहाँ दुवैतिर अन्तर्वार्तामा असफल हुँदा अर्को बज्रपात भयो । केही समयपछि नै नायव सुब्बामा महिला र खुला दुवैतिर नाम निकाल्यौ । अन्तर्वार्तासमेत उत्तीर्ण भएर तिमी धादिङ जिल्लाका लागि सिफारिस भयौ । एउटा ठूलो युद्ध जित्यौ तिमीले । धादिङको भुमेस्थान गाविस सचिवको रूपमा सिफारिस लिएर हाजिर हुन जाँदाको घटना हामीले कहिले पो बिर्सौँला र ! सँगै सिफारिस भएकी बहिनी सिर्जा दहाललाई त्रिभुवन राजपथ हुँदै उनी सिफारिस भएको गाविस पुऱ्याएर पहाडको ठाडो पाखामा खनिएको ढुङ्गे बाटोमा लड्दै उठ्तै गरेर मोटरसाइकलमा हामी तल पृथ्वी राजपथमा निस्किएका थियौँ ।

गाविस कार्यालयमा पुगेर हामी सचिवलाई कुरेर बसिरहेका बेला केही गुन्डा टाइपका मानिसहरू आएर गाविस भवनमा ताला लगाए र “को आइमाई रे यहाँ सचिव हुन आएको, ल हेरौँ त यहाँ कसरी सचिव चेन्ज हुँदो रहेछ” भनेर हामीतिर नहेरी थर्काउँदै हिँडे । हामी निकैबेर बस्दा पनि कोही नआएपछि तिमीले जिविसमा फोन गरेर एलडिओलाई घटनाबारे जानकारी गरायौ । उनले सदरमुकाम आउनुस् यतै कुरा गरौँला भनेपछि हामी काठमाडौँ फर्कियौँ । गुन्डा वा माफियाहरूको चकचकी र शक्ति हामीले त्यहाँ प्रत्यक्ष देखेर आयौँ । एकदुई दिनपछि तिमी सदरमुकाम गएर ढोला भन्ने गाविसतिर जागिर खान गयौ । प्रशासनले डनगुन्डाहरूलाई तह लगाउनुभन्दा तिमीलाई नै अन्त पठाइदियो । जे भए पनि कम्तीमा अब सरकारी जागिर पक्का भयो भनेर हामीले लामो सास फेऱ्यौँ ।

ढोलामा जागिर खाँदाखाँदै तिमीले अघिल्लो वर्ष दिएको विद्युत् प्राधिकरणमा नाम निस्कियो । त्यहाँ पनि महिला र खुला दुवैतर्फ हो नि, हैन त ? जे होस्, अन्तर्वार्ता पनि सफल भयो । तिमीले सातौँ तहको अधिकृत तहमा विद्युत् प्राधिकरणमा काम सुरु गरेपछि जागिरका लागि गरिएको म्याराथन दौडको अन्त भयो । यो म्याराथन दौडको प्रतिस्पर्धी अरू कोही थिएन, तिमी स्वयं थियौ । तिम्रो जीवनको एउटा यात्राले बल्ल विश्राम पायो । पछि आठौँ तहमा बढुवा पनि भयौ । उपत्यकाका केही ठाउँहरूमा सरुवा हुँदै अहिले तिमी लुम्बिनी प्रादेशिक कार्यालयमा पुगेकी छौ । जागिरको सिलसिलामा परिवार छाडेर उपत्यकाबाहिर जाने महिला कर्मचारी कति होलान् ! तिमीले त्यो साहस पनि गऱ्यौ । तिम्रो यो आँट र उत्साहले पक्कै अरूलाई पनि प्रेरणा देला ।

तिमी उता गयौ । म छोराछोरीसँग यता छु । तिमी धादिङ वा सुर्खेत जाँदा नानीहरू सानै थिए । उनीहरू मेरा वरिपरि झुम्मिरहन्थे । तिनीहरूका पछि धेरै लाग्नु पर्थ्यो । तिनीहरूलाई खाना खुवाउने, स्कुल पठाउने, झगडा छुट्याउने गर्दागर्दै तिमीलाई सम्झने समय कम हुन्थ्यो । तिमी बेलाबेला फोन गरेर थर्काउँथ्यौ, “मेरो सम्झना आउँदैन ?” भनेर । म झल्याँस्स हुन्थेँ । अहिले नानीहरू आफ्नै काममा व्यस्त हुन्छन् । अनि अलि बढी नै एक्लो अनुभव हुँदो रहेछ । त्यसैले पनि होला सम्झना अझ बढी आउँदो रहेछ ।

यी यस्ता धेरै उकुसमुकुसहरू मनमा भरिएपछि तिमीलाई यो चिठी लेखौँ लेखौँ लाग्यो र लेखेँ । मन धेरै शान्त भयो । तिमी पनि आफ्ना भावनाहरू लेख ; लेख्नुपर्छ । लेखिएन भने दुनियाँले थाहा पाउनुपर्ने कति कुराहरू हामीसँगै बिलाएर जान्छन् । चिठी निकै लामो भयो । आजलाई यहीँ ल्यापटप बन्द गर्छु । तिमीले यो चिठीको जवाफ पठायौ भने अर्को पत्र लेख्न पनि सक्छु नत्र अब यस्ता चिठीहरू कसले लेखिबस्छ र यो भर्च्युअल दुनियाँमा ! हैन त ? ल त बिदा ।
हाम्रो माया अमर रहोस् ।

तिम्रो “लच्छु”

(लक्ष्मण गाम्नागेको प्रकाशोन्मुख कृति “प्रिय चिठीहरू” को एक अंश)