वैशाखले दुई महिनाअघि नै छोडिसकेको थियो । वसन्त र ग्रीष्मलाई नेपथ्यमा राखेर मञ्चिँदै थियो असार । असारको उत्तरार्द्ध वर्षामा चम्किनु नौलो पनि त होइन । तीन दिनदेखि लगातार वर्षिरहेथ्यो आकाश । एकैछिन झिमिक्क भएको थिएन पानी । रोकिएला भन्ने छाँट पनि थिएन । असारे झरी झरिरहनमा आश्चर्य पनि के थियो र ! हो, असार अवसर हो हाम्रा लागि, मेरा लागि । सिर्जनशीलताको बीज रोप्न मैले सधैँ असारलाई उपयुक्त मानेँ त्यसैले त मेरो हत्केलामा उम्रिन मानेको थियो असार । त्यस दिन पनि यस्तै कोसिसमा थिएँ, म सिर्जनशील बनूँ ।

‘सय वर्षपछि पनि असार यस्तै होला

उठी आउने बादललाई हतार यस्तै होला !’

आहा, कति गजबको कल्पना छ कविको ! असारसँग हतारको जति लयगत मित्रता छ उति नै व्यावहारिक सामञ्जस्य पनि छ । असार हुनु र हतार नहुनु कहाँ ? कवि माधवप्रसाद घिमिरेले असारको कल्पनामा अनेक गीत लेखेका छन् । यसको प्राकृतिक सौन्दर्य र जनजीवनसँग जोडिएको संवेदना गजबको छ नेपाली जीवनमा अनि कविको कल्पनामा । जीवन रहर, चाहना र इच्छाको मेघमाला हो । यो यही मेघमालाको सिर्जनशीलताले जीवन बाँचेको अर्थ राख्छ र त कवि भन्छन् –

‘बरु मलाई असारको मेघ बनाइदेऊ

नरोकिने मनको इच्छा वेग बनाइदेऊ

दौडुँला म दशै दिशा बाहाँ पसारेर

ओसारेरै नसकिने माया ओसारेर !’

डा. रजनी ढकाल

जीवनसँग असारको साइनो कति छ कति यो बुझ्न कि घिमिरे पढ्नुपर्छ कि कृषिकर्मको व्यावहारिक कुशल शिल्पी बन्नुपर्छ । ऋतुविचारमा कविशिरोमणि लेखनाथ पौड्यालले असारलाई अनेक सौन्दर्य र सङ्घर्षका विम्बमा चिनाएका छन् । उनले असारलाई आफू बाँचेको राणाकालीन समयको सहानुभूतिशील सामाजिक प्रतिविम्बमा समेत कुँदिदिए – ‘वर्षा जाँगरिली दासी धोई पोती लिपी चली…।’ घिमिरेले चाहिँ जीवनको शाश्वत रङमा घोलेर वर्षालाई राष्ट्रिय चेतनामा समेत यसरी समेटेका छन् –

यही देश जाने भनी नजानेरै पनि

नेपालैमा आइपुगुँला नीलो बादल बनी

आनन्दले गर्जुँला जो एक चुली घेरी

हिउँ-गोरी मेरीलाई अङ्कमालमा बेरी !

माधव घिमिरे

प्रिय कवि, तिमी आइरहनू सधैँ असारमा, म र मेरो राष्ट्र सधैँ बादल र वर्षाको प्रतीक्षामा हुनेछौँ । तिम्रो सङ्गीतमय गर्जनमा चुलीहरू छमछम नाचिरहनेछन् र गोरीहरू अनेक मायालु सपनामा बाँचिरहनेछन् । देशको स्वतन्त्रता, सौन्दर्य र कला गाउन जान्ने स्वचिन्तनमा सहअस्तित्व खोज्ने तिम्रो चेतना सँधै चाहिन्छ – नेपाली हामी रहौँला कहाँ नेपालै नरहे ! यो प्रकृति रहँदासम्म नेपाली राष्ट्रियताको बीज नेपालीहरूमा रहिरहनेछ ।

२०७६ हरिशयनी एकादशी, असार २७ गते शुक्रबार । गाडीबाहिर पानीले स्कर्टिङ गरिरहेको थियो । लाथ्यो, सिर्जनशीलताको असारे सुरक्षाघेरामा वाष्पमय बन्दै थियो कल्पनाशील समय गाडीका सिसाभित्र । ओतसँगै गुडेर ओभानो थिएँ तर सिर्जनाले भिजाउने परिवेश मनभरि अनि वातावरणभरि थियो । राष्ट्रकविज्यूलाई भेट्नु थियो र कुरा गर्नु थियो । उहाँको शतक जीवनको व्यस्त सूचीमा मिलेको त्यो स्वप्निल अवसरलाई कुनै अनिच्छाको बाढीले बगाउला भन्ने डर पनि थियो मनभित्र कतैकतै । आलस्यको भङ्गालो पर्ला भनेर निकै सतर्क थिएँ । मन हो कतिबेला केके सोचिदिन्छ… आ यस्तो पानीमा कहाँ जानु…. ! तर रहरले बाँधेको कर्मशील पटुकीमा असारले दिएको चुनौतिपूर्ण साथलाई आत्मसात् गरेका बाउसे र रोपाहरूझैँ मैले पनि गमक्कै समातेकी थिएँ गाडीको स्टेरिङ ! सहर रुझेरै चुपचाप थियो म प्रश्नका वर्षाले मनमनै वाचाल थिएँ । कविज्यूले कति समय बोल्न सक्नुहोला ? यो समय उहाँका लागि उपयुक्त होला नहोला ? के मेरा सबै जिज्ञासा राख्न सकुँला ? शतक आयुको शरीरले लगातार बसेर कति समय बोलिरहने रहर गर्ला ? तर असारले जुराएको बाटो पानी टमाटम भरिएर स्वागतमा थियो । सायद शुभ थियो दिन ।

झरीको दर्कोलाई वर्षादीले थाम्दाथाम्दै पनि अटेरी गरी भिजाएको रहेछ राधिकालाई ! नेपाली केन्द्रीय विभागको कर्मथलोमा मिसिएर चिसिएका लुगासँगै आइन् उनी मसँग । तताइदिएँ हिटरले उनलाई पनि । मेरा चिसिएका घुँडाहरू पनि सजिला भए र पैताला क्लच, ब्रेक र एक्सिलेरेटरमा हानथाप गरिरहे । हानियौँ हामी कीर्तिपुरबाट लैनचौरतिर ! राष्ट्रकविलाई भेट्ने रहरसाथै करले पनि जुराएको थियो आजको दिन हामी दुवैलाई । सधैँ जीवनको प्रारम्भ मान्ने शतायु कविसँग गफिन दर्जन बढी प्रश्‍नहरू थिए कापीका पानामा अनि मनमा पनि । थाहा थिएन राधिकासँग केके थिए जिज्ञासाहरू । अल्पभाषी मौनभाषा बढी बोल्छन् सायद ! मैले राधिकालाई उघार्न चाहिनँ ।

गाडी गुडाउन र मन उडाउन रमाइलो लाग्छ एकैचोटि ! सानैमा ‘गौरी’ पढेर आमासँगै रोएका दिन, जति पटक पढे पनि फेरि पढ् त छोरी भनी आमाले उही गौरी पढ्न कजाएका दिन, जति पटक पढे पनि आँसु झरेका दिन, २०४५ सालमा काठमाडौँ आएर एकेडमीको हलमा मालती मङ्गले नाटक हेरेका दिन फनफनी मनमा घुमिरहे । साथीलाई केही अनुभूति सेयर गरिरहेँ । सम्झेँ, बुबाले घिमिरेलाई रुन्चे कवि भनेको पनि । मालती मङ्गलेको सुरुको दृश्यले गजबले हाँसेकी थिएँ म तर बिस्तारै मनमा बादल मडारिइरह्यो । अनुभूतिका चुलीचुली मडारिएको बादल निरन्तर वर्षिरहेको थियो नाटक अन्त्य हुने बेलासम्म पनि । दर्शकले खचाखच थियो हल । रोएको कसैले देख्ला भनेर हातमा रुमाल लिएर नाकतिर मात्र पुछेजस्तो गरिरहेथेँ । भलभली बगेको आँसुले नाटक हेर्नसमेत गाह्रो पारिरहेको थियो । कमाराकमारीको किनबेचसँग जोडिएको दर्दनाक कथाले कति सजिलै मानवीयताको गतिलो पाठ सिकाएको थियो मलाई । मानिसको अस्तित्व र स्वतन्त्रता कति महान् हो भन्ने कुरा त्यतिबेलै बुझेकी थिएँ नाटक हेरेर । नाटक सकिएर उठ्नेबेला बुबाले भन्नुभयो, ‘रुन्चे कविका रुवाउने नाटक’ ! बुबाका आँखा पनि मजाले भिजेका थिए । मैले सन्तोषको सास फेरेकी थिएँ त्यतिबेला ! र रुनु नराम्रो रहेनछ भनी बुझेकी थिएँ ।

मनमा रहेको अर्को भ्रम पनि चिरिएको थियो त्यही दिन । रुनु अपराध लाग्थ्यो ! अन्यायको प्रतिरोध गर्न नसक्दा खसालेका आँसुलाई सानोमा आमाले ‘यी कुकुरका मूत’ भनी मेरा आँसुलाई उपेक्षा गरिरहँदा रुनु पनि पो अपराध हो कि भन्ने जस्तो लागिरहने अबोध किशोरी उमेरले एकाएक यो पाठ सिकेको थियो, रुवाइ अनुभूतिको स्वाभाविक अभिव्यक्ति हो । हो, त्यसपछि मैले आफ्नो रुवाइलाई कहिल्यै कमजोर ठानिनँ । बरु आँसुलाई सिद्धिचरणले झैँ क्रान्तिमा बदल्ने मनमा अठोट पलाएको थियो । शोक नै शक्ति हो भन्ने शिक्षा मिलेको थियो । संवेदित हुनु कमजोर हुनु होइन, केही सिक्नु र बुझ्नु रहेछ ।

असारको पानी अवसर हो कर्मशीलका लागि । मनको रुवाइमा संवेदनाका अनेक तह हुन्छन् र बर्सिन्छन् कविता, गीत र अमर कला ! ‘मेरो शिल्पी यस शकलमा स्वस्थ आकार देऊ, यौटै सानो सरल कृतिमा पूर्ण संसार देऊ !’ भन्ने कवि कति रुँदा हुन् स्वानुभूति र परानुभूतिमा समानुभूति गर्दै  !

झमझम पानी पर्‍यो असारको रात, पारीबाट बज्न थाले मकइका पात !

बाटो सोध्दै कविज्यूको घर पुग्दा वरिपरि मकैका पात बजिरहेका थिए । पानी रोकिएको थिएन । प्रकृतिको यो सुन्दर सङ्गीतले स्वागत गर्दै पुर्‍याएको थियो कविज्यूको साधनाको कलात्मक थलोमा । काठको पुरानो भर्‍याङ उक्लेर पूर्वतिरको कोठामा छिर्दै गर्दा दम्पतीको मुस्कानले अभिभूत भयौँ हामी ।

शान्त शरीर खटियाको सफा ओछ्यानमा सजिलोगरी राखेर हामीलाई मुस्कानले स्वागत गर्दै हुनुहुन्थ्यो राष्ट्रकवि ! अभिवादनसँगै कुराकानीका लागि कापी र रेकर्डर ठिक पारेँ । राधिका फोटो र भिडियोका लागि मोबाइल लिएर अलि पर बस्नुभयो । कविज्यूका गहिरा आँखामा मैले आफ्नो परिचय दिएँ वा उहाँ आफैँले बुझ्नुभयो, प्रश्नहरूसँगै मैले आफूलाई चिनाएँ । कविलाई पढ्नु र कविलाई भेट्नुमा कति अन्तर छ ? मैले आफैँलाई पनि सोधिरहेँ । मैले सोधिरहनुभन्दा पनि उहाँका कुरालाई नै सुनिरहनुमा धेरै आनन्द महसुस गरेँ । सुन्दै गर्दा उत्तर मिलेझैँ भयो – कविताले कविलाई साधनाको थलो बनाउने रहेछ जसरी कविले आफ्नो जीवनलाई साधनाको थलो बनाएका छन् । कवितालाई बुझेर होइन भोगेर लेख्ने कवि वास्तवमै पाठकको मनमा बस्छ । जुनसुकै तहको पाठकका लागि लेख्न सक्ने कविले तिनका संवेदनालाई राम्ररी बुझेको हुन्छ । कविता लेख्न विचार र अनुभूति मात्र भएर हुन्न दीर्घ तपस्या पनि आवश्यक पर्दछ । कवि बोलिरहे, “मलाई सन्तुष्टि नमिल्दासम्म कविता छाप्न दिन्नँ । कविता भयो र मलाई राम्रो लाग्यो भने मात्र बाहिर निकाल्छु । कवितालाई सधैँ जीवन मानेँ । म कविता लेख्तिनँ, कविता बाँच्छु ।”

वैशाखको पैलो फूल – अचम्म हो खालि

मेरो कहीँ अन्त्य छैन – प्रारम्भ हो खालि !

कविज्यू, जीवनलाई सधैँ आरम्भमात्र देख्ने यो अनुभूति सबैले बुझ्न सकून् ! आफूलाई कहिल्यै बुढो भएको महसुस नगर्नु कर्मशील रहनु हो । यो तिम्रो अति राम्रो काव्यिक छाया अनि कवितामा पल्किएको माया ! यो माया सधैँ सुन्दर, शान्त र विशाल भएर बाँचिरहोस् । देवकोटाले देखेको नेपालको सुन्दर, शान्त र विशालको सुन्दर सपनालाई तिमीले कवितामा फेरि जोडिदियौ पुनर्जागृत गरिदियौ नेपाली राष्ट्रियता । आफ्ना अग्रज भानुभक्त, लेखनाथ र देवकोटाप्रतिको तिम्रो अगाध श्रद्धाले तिमीलाई अर्को विशेष कविको रूपमा जन्माएको कुरा निर्विवाद छ । तिम्रो यो जीवन सधैँ आरम्भ होस् ।

संयोग अनि सुखद वार्ता अचम्म हो खालि

यो भेटको अन्त्य छैन प्रारम्भ हो खालि !