प्रिय मित्र !

म अहिले मेरै कार्य कक्षमा बन्दी बनेर रहेको छु । मेरा दृष्टिमा समुज्ज्वल प्रकाशमा दिन व्यतीत भइरहेको थियो । मेरो कक्ष विश्वविद्यालयको एउटा विभागको कक्ष थियो, त्यो कक्ष निशाचरहरूका निम्ति पूरै अन्धकार हुँदो हो । त्यसैले त त्यस कक्षमा रहेको उपस्थितिलाई दिवान्धहरूको दृष्टिले पहिल्याउन सकेन । अज्ञानताको अन्धकारमा निशाटन गर्नै चरित्र निर्माण गर्ने बानी परेका कौशिक सन्ततिहरूका अगिल्तिर ज्ञानमन्दिरमा प्रदीप्त समुज्ज्वल प्रकाश कहाँ देखिन्छ र ? कौशिक सन्ततिहरूलाई कहिलेकाहीँ कथा सुनाउने गरेको छु ।

सहृदयी मित्र ! मैले सुनाएको कथा हो– याज्ञवल्क्यका शिष्यहरूले एक दिन गुरु याज्ञवल्क्यसँग मनोमालिन्यका कारण असहमत बनेका बालखिल्य शिष्यगणहरूले याज्ञवल्क्यबाट प्राप्त ज्ञान वमन गरेर ज्ञान फिर्ता गरेर आफू अऋणी बनेका थिए । तिनीहरूले वमन गरेर छाडेको वमित पदार्थ तित्राका रूप लिएर ऋषिगणले खाइदिएको सन्दर्भ पनि उल्लेख्य रहेको देखापरेको छ । शिष्यहरूबाट वमन भएको छाद खाएर आफू ज्ञानी भएको बोध गरेका थिए । त्यसबेलाको ज्ञान वमनमा बौद्धिक विश्लेषणशील ज्ञानको उपस्थापन थियो तर आज गुरु ज्ञानमा कहाँ शुद्ध ज्ञान मात्र रहन्छ र ? त्यतिखेर सकारात्मक खाद्य र षड्यन्त्रहीन चेतना मिश्रणद्वारा संश्लेषित रसायनबाट निर्मित ज्ञान वमन भएको हुँदो हो । त्यसैले त वमन भएको ज्ञान भोजन गर्नेहरूबाट एउटा बेजोड उपनिषद् हातलागी भएको बोध गरिएको थियो । ती ऋषिहरू ज्ञान सम्पन्न भएका थिए । याज्ञवल्क्यसँग आर्जन गरेको ज्ञान वमन गरेपछि शून्य बनेको ज्ञान भण्डारमा पुनः ज्ञान आपूर्ति गर्न सूर्यदेवको प्रार्थना गरेका थिए । सूर्यदेवका सामु अञ्जलिबद्ध भएर ज्ञान प्राप्तिको पुरश्चरण गरेपछि माध्यान्दिनीय श्रीशुक्ल यजुर्वेद मन्त्र प्राप्त गरेका मिथकीय सन्दर्भ आजसम्म हाम्रा ज्ञान भण्डारमा ताजा रूपमा जीवन्त रहेको अवस्था प्राप्त छ । आजका हाम्रा शिष्यहरू पनि त्यस्तै बालखिल्य बनेर ज्ञान वमन गर्न त सक्तैनन् तर मस्तिष्कमा घोलिन आएको जन्डिसे रसायन चाटेर आफ्नो कमलपित्ते दृष्टि निर्माण गर्नमा उद्यत भएका छन् ।

राजेन्द्र सुवेदी

नालन्दा विश्वविद्यालय भए पनि र नर्थबङ्ग विश्वविद्यालय भए पनि, त्रिभुवन विश्वविद्यालय भए पनि र तक्षशीला विश्वविद्यालय भए पनि आज ज्ञानमा कमलपित्ते रसायन मिसिएकै छ । आज भौतिक वस्तु र पर्यावरणको प्रभाव मान्छेका चेतनमा परेको छ । मान्छेका चेतनामा निहित मूल्यमा, मान्छेका सांस्कृतिक मूल्यमा, मान्छेको सांस्कृतिक पर्यावरणको स्थितिमा प्रभाव सम्प्रेषणमा सिङ्गै पर्यावरणको प्रभाव आज ममा परेजस्तै आजका विश्वविद्यालयहरूमा परेको जस्तो लाग्छ । यस भावको प्रेषणमा लेखन र पर्यारणको समान ढङ्गको प्रभाव परेको कुरा यस समयमा मेरो चेतनामा रिँगिरहेको देखिन्छ ।

ज्ञानप्राप्ति हामीले गाइड बुकमा र गेसपेपरमा केन्द्रित गरिरहेका छौँ । अनि अभि दाइका निम्ति विश्वविद्यालयको ज्ञानपूर्ण प्राङ्गणमा अग्नि प्रज्ज्वलनको नाटक सिर्जनाको वातावरण तयार भयो । आज हामी शिक्षाको वातावरणभित्र शैक्षिक मूल्यको ह्रास र सङ्क्रमणमा कि त मसल अथवा वाचालताको कलापूर्ण प्रस्तुति तयार भएको देखिरहेका छौँ । अनि गोविन्दजीले पनि एकपल्ट विश्वविद्यालयभित्रको अग्निपूजाको बखानलाई विषय बनाएर निबन्ध रचना गर्नुभयो । पूजनका विधिहरूमध्ये आज अग्निपूजा बढी प्रबल बनेको छ । आचार्य वशिष्ठको कुसासान दहन भयो कि भएन, त्यो राम्ररी व्याख्या भएको छैन तर आज विभागीय प्रमुखहरूको कुर्सी दहन भइरहेछ । त्यतिखेर गुरुहरूको मृगचर्मासन दहन भयो कि भएन तर आज आचार्यहरूको आसन दहन भइरहेछ । त्यस प्रसङ्गको व्यवस्थित वर्णन पनि पाइन्न । आजको स्थितिमा एउटा विश्वविद्यालयको त्यो पनि एउटा विभागको विभागीय वा साधारण प्राध्यापकको आत्मसम्मान दहन, अझ एउटा सामान्य शिक्षकको देह दहनमै बलिविधानको पूर्णता ठान्ने र आफ्नो रुग्ण कुण्ठाको आपूर्ति ठान्ने आजका शिष्यहरू के महाभारतका अर्जुनको खाण्डव दहनको सांस्कृतिक कुण्ठाबाट पनि पीडित छन् त ? अठोटका साथ भन्न गाह्रो छ ।

हामीले प्रदान गरेका शिक्षामा हाम्रै अमलपित्तले ढाडिएको पेट र इन्द्रिय संवेदनाबाट निस्रित ध्वनिबाट एसिडिटी प्रवेश गरेको हुन सक्छ—विद्यार्थीको खोपडीमा । हामीले प्रदान गरेको शिक्षामा विध्वंसताको जन्डिसयुक्त रसायन हाम्रो प्रवचनको ध्वनिमार्फत विद्यार्थीको मस्तिष्कमा सम्प्रेषित भएको हुन्छ । हाम्रो ग्यस्टिके पेटमा निर्मित रसायनको प्रेरणाबाट सञ्चित मस्तिष्कले प्रशोधन गरेको ज्ञान हाम्रो पठनपाठनबाट आजका बालखिल्यका ज्ञानगर्तमा ग्यास्टिके वायुझैँ फस्टाएको हुन सक्छ र आफ्ना ज्ञानदाता गुरुहरूका निम्ति दिइने गालीका क्षणमा अपानवायु विपरीत मार्गबाट दुर्गन्ध विस्तार गर्दै प्रदूषित वायु विस्तारित भइरहेको हुन्छ । यतिखेर शून्य आकाशमा अर्जुनको खाण्डव दहन र कौरवको लाक्षागृह दहनको धूमिल धूवाँ र ज्वलित ज्वाला मडारिइरहेको मैले देखेको छु ।

म एउटा सानो कोठामा कार्यालयीय पक्षको काममा व्यस्त रहेका बेला आकस्मिक रूपमा कार्यालयको ढोका बन्द हुन्छ र बाहिरबाट ताला ठोकिन्छ । यस्तो स्थिति जन्मिन्छ भने एउटा निरीह व्यक्तिको मानवीय संवेदना जन्डिसे चेतनाले कहाँ नियाल्न सक्छ र ? जन्डिसे दृष्टिहरूले आफ्नै मालिकले पढाएको अश्लील नाराको तालमा नाचेका बेला अर्काको पानी खान पाउने, दिशापिसाब गर्ने नैसर्गिक अधिकारको सम्मान गर्न कहाँ जान्दछ र ? एउटा अमलपित्ते र कमलपित्ते दृष्टियुक्त वृत्तभित्र समेटिएका पर्यटक विद्यार्थीरूले एकै छिन भेला भएर अशिष्ट सांस्कृतिक अभिव्यक्ति, अश्लील नर्तन र विध्वंसात्मक मूल्य प्रवर्तन गरेर सहस्राब्दीयौँदेखि मिहिनेतपूर्वक सञ्चित र संरक्षण गरिएका मूल्यहरू विष्फोटित भएर ध्वस्त बनाइदिनुमा केन्द्रित देखिन्छ । यस समयमा एउटा लाक्षागृहको विम्ब मेरो मनमा दगुरिरहेको छ ।

विगतका अग्निपूजा लाक्षागृहभित्र कुनै पाण्डव जीवित रहन्नथ्यो–गोविन्दजी ! विगतको खाण्डव दहनको अग्निपूजामा वनभित्र रहन्नथ्यो  अभिज्यू ! लाक्षागृहको ढोका बन्द गरेपछि आगाको राँको लिएर जन्डिसे दृष्टि बोकेका शकुनिको निर्देशनबाट पाण्डवहरूलाई जोगाएन विदुरले सञ्चालन गरेको कूटनीतिक बुद्धिमत्ता आज क्षीण बन्दै गएको छ र सुरक्षाको गोप्य निकासमार्ग आज बन्द भइसकेको छ । अनि खाण्डव दहनमा बलि समर्पण भएको ठान्ने आजको अमलपित्तको विपरीतमार्गी वायु सञ्चालन गर्ने अर्जुन हातमा पुल्ठो लिएर घुमीघुमी डढेलो झोस्तैछ–नयाँ, स्वच्छ र स्वस्थ जीवन र बोटबिरुवा जोगिनुपर्छ भन्ने विवेक गुमाइसकेर प्रमत्त बनेको छ । एउटा खाण्डव वन निर्माण गर्न कति जनाको निःस्वार्थ पसिना खर्चिएको छ ? जन्डिसे अर्जुन ? थाहा छ मित्र तिमीलाई ? अनि तिमीजस्ता विद्यार्थीले प्राप्त गरेका गुरु ज्ञानमा कति द्रोणाचार्य छन्  र कति शकुनिको दिशा निर्देश मिश्रण भएको छ ? अनि अझ थाहा छ ? दुश्शासनले दिएको कमलपित्ते डकारको दुर्गन्धमा कति शकुनि र कति विदुरको मन्त्रणा मिश्रण भएको छ ? संयोगको कुरा हो—लाक्षागृहमा थुनिएका पाण्डवहरू निकास पाएर बच्नु । संयोगको कुरा हो लाखौँ जीवहरूको बलि प्रदान गरेर आत्मशान्ति बोध गर्नु । दुवै योजनाका परिणाम थिएनन्–त्यति अनुकूल । दुवै योजना एकै किसिमको तुष्टिमा खर्चिएको स्थिति देखा पर्दछ । दुर्योधन लाक्षागृहमा पाण्डव दहन गरेर तुष्टिको सास फेर्न चाहन्थे आजका अग्निपूजकहरू पनि त्यतैतिर उन्मुख भएका छन् । अनि आजको अर्जुन पनि खाण्डव दहन गरेर तुष्टिको सास फेर्न चाहन्थ्यो – आजका अग्निपूजकहरू पनि त्यसै दिशातिर आकर्षित भएका छन् । एउटा कुत्सित र तुच्छ प्राप्तिका निम्ति महत्तम मूल्यको बलि चढाएर आत्मसन्तुष्टिको आनन्द लिन अभ्यस्त बनिसकेका छन् ।

व्यापक कल्याणको कामना गर्नेले नीलकण्ठ बन्न तयार हुनुपर्दछ । गरल प्रसारण र निस्सारणबाट आइलाग्ने परिस्थितिमा शैवत्व प्रदर्शन नगर्ने हो भने सिङ्गै सभ्यताको मूल्यहरू ध्वस्त हुन्छन् । त्यही अवस्थाको विम्ब त हो–शिवको गरलपान । गरलपान शिवले गरे यसको प्रभावबाट बाँच्न पाउनेहरूले गुन बिर्से । गरलपान गरेर मर्नै पर्ने पनि त बाँचे । बाँच्नै पर्ने मात्र त कहाँ बाँचे र ? आधुनिक कानूनको सिद्धान्तमा पनि त व्याख्या गरिन्छ न्यायको विश्लेषणमा अपराधी पत्ता लगाउन असफल होओस् यसमा बिस्मात छैन तर एउटै मात्र निर्दोष मान्छे दण्डित हुन नपरोस् । चाहने हो भने अपराधीलाई सुध्रने मौका पनि त यसै विशेषताले दिएन र ? त्यस्तै गरलपान गरेर शिवले निर्दोषी र दोषी दुवैलाई बचाइदिए, कोही पनि कृतघ्न छैन भने भोलिदेखि सुध्रने र प्रायश्चित्त गर्ने अवसर पनि अवलम्बन गर्न सक्छ । त्यसकारण एक जनाले त विषपान गरेर नीलकण्ठ बन्न तयार हुनैपर्ने भयो । सबैको कल्याणका निम्ति सबल अठोट त संवेदनशीलताले जन्माएको छ । आज यस्तै तर्कहरू रुमलिँदैनन् र मानसपटलमा ?

एउटा प्राणी आफू हितैषी बन्न खोज्दै आउन सक्छ अघिल्तिर र भन्छ, “हजुर हामी हजुरलाई दुःख दिन चाहन्नथ्यौँ तर हाम्रो पनि बाध्यता छ, केही त गर्नैपऱ्यो–आफ्ना गुरुहरूको कमलपित्ते निर्देशनमा । हामीले दिएको यातना हजुरलाई होइन, हामी त हाम्रा एसिडिटी ग्रस्त शकुनिको निर्देशनमा मात्र यो काम गरिरहेका छौँ ।’’ प्रियमित्र ! तपाईँका कार्यकर्ताको ज्ञानमा मिसिएको कमलपित्ते दृष्टिकोण माथिका कथनबाट स्पष्ट भएन र ? यस्तै ज्ञान त प्रक्षेपित आजका ज्ञान पिपासुहरूमा ।

मित्र ! सबैले एउटा न एउटा रोगले ग्रस्त बनाएको छ । कसैलाई मक्र्सवाको टेब्लेटमा मिसिएका अरू कुनै दबाइका कारण रियाक्सन भएको छ । जीवन र जगत्‌को व्याख्या गर्ने क्रममा अमलपित्त बिग्रिएको छ । कसैलाई प्रजातान्त्रिक समाजवादको सिरपमा अर्कै औषधि मिसिनाले चर्को रियाक्सन भएको छ । उनीहरूलाई पनि भौतिक सत्यको व्याख्या गर्न थालेकै दिनदेखि जन्डिसले आक्रमण गरेको छ । कसैलाई बोधिसत्वले प्राप्त गरेको विश्वशान्तिको ज्ञानमा पनि अब त प्रदूषण मिसिएका कारण रियाक्सन भएको छ अब त ब्रह्म ज्ञानमा पनि ग्यास्टिकले गुण लगाइसकेको छ । अँ मलाई बुद्धको नाम लिँदा एउटा प्रसङ्ग सम्झनामा आइहाल्यो–मित्र ! एक छिन धैर्य गर्नुहोस् है ! बुद्धलाई जस्तै मलाई पनि प्रश्न गर्छन् कसैकसैले । मलाई जस्तै बुद्धलाई पनि एउटा परिस्थिति आएछ । कुनै द्वेषी व्यक्तिले आफ्नै श्रीमतीलाई आफ्नो पौरुषत्व सिद्ध गर्दै बुद्धलाई गाली गरेको सुनेछ बुद्धको अनन्य भक्तले । बुद्धको त्यस भक्तले आफ्नो आस्थापुरुष बुद्धलाई त्यो गालीको प्रकरण सुनाउन थालेछ, “भगवान् हजुर जस्तो त्यागी, शुद्ध, बुद्ध र सत्पुरुषलाई त्यो बदमासले तथानाम गाली गरिरहेको सुन्नुपऱ्यो मैले । उसले हजुरलाई गरेको गाली त यहाँ भन्न पनि गाह्रो परिरहेछ । ऊ भनिरहेथ्यो,‘‘राज्य सञ्चालन गर्न नसकेर भागेको लाछी बुद्ध होइन म । त्यो लाछी कसरी भगवान् हुन सक्छ ? परिवार सन्तुलन गर्न नसकेर पलायनशील बनेको व्यक्ति कसरी भगवान् हुन सक्छ ? स्वास्नी र छोराछोरीको व्यवहार निर्वाह गर्न नसकेर भागेको मानिस कसरी सत्पुरुष हुन सक्छ ? मलाई पनि त्यस्तै लाछी पुरुष मात्र ठानेको छ कि क्या हो ? भगवान् मैले त त्यो गाली सुन्न पनि सकिनँ । दुवै कान थुनेँ र भागेर आएँ म त ।’’ गालीको यो प्रकरण सुनेपछि संयमित र सन्तुलित बन्दै बुद्धले त्यस भक्तसँग भनेछन् , ‘‘बाबु मलाई गाली गऱ्यो ! चिन्तित तिमी भयौ । यो साझा संवेदना हो । यो राम्रै पक्ष हो । तिमीले जे सुन्यौ त्यसमा चिन्ता लिनु पर्ने खासै आवश्यकता छैन । वैयक्तिक अस्तित्व र वैयक्तिक स्वतन्त्रताको सम्मान गर्नुपर्छ । व्यक्तिले शून्यतामा आफ्नो अस्तित्व आफैँ निर्माण गर्दछ । उसले आफूसँग जे जस्तो ऊर्जा सञ्चित गरेको हुन्छ, त्यही सिञ्चत वैभव उपयोग गरिरहेथ्यो तिमीले भेटेको त्यो व्यक्ति । तिमीसँग सञ्चित वैभव तिमीले मेरा सामु खर्च गऱ्यौ । त्यस व्यक्तिले सञ्चित गरेको ऊर्जा तिम्रा सामु खर्च भयो । यसमा कुनै चिन्ता लिनुपर्ने विषय नै मचाहिँ देख्तिनँ । ’’ बुद्धले त्यही त प्रस्तुत गरेका हुन्छन् । आफूसँग भएको वैभव खर्च गर्न पाउने स्वतन्त्रता सबैमा हुनुपर्छ तर आफ्नो वैभवको उपयोग गर्दा कहिलेकहीँ समाजमा प्रदूषण विस्तार भइदिन्छ त्यसबाट भने मचाहिँ  सतर्क छु मित्र !

प्रियमित्र ! मैले वर्तमानका कौरव र पाण्डवको कुरा गरेँ । प्रजातान्त्रिक समाजवादी डकार र मार्क्सवादी ढुसीको कुरा गरेँ । तपाईँलाई झर्को लाग्यो होला । मैले जन्डिसे दृष्टिबाट देखिने पीतिमाको संस्कृतिमा हुर्किएका शिष्यको चर्चा गरेँ त्यसमा अलिकति म छु र अलिकति तपाईँ पनि हुनुहुन्छ । मैले अमलपित्ते डकारको प्रसङ्ग उठाएँ र त्यसको अपानवायु मुखैबाट बहिर्गमन गर्छ अनि समाज नै दुर्गन्धित हुने गरी प्रदूषण क्षरण गर्छ भन्ने कुरा गरेँ त्यसमा पनि अलिकति तपाईँ हुनुहुन्छ र अलिकति म छु । मैले अग्निपूजाका सन्दर्भमा खाण्डव दहन र लाक्षागृह दहनको प्रसङ्ग उठाएँ । मैले यो प्रसङ्ग उठाइरहँदा समाजका विध्वंसक र चरित्रका घातक नृशंस हत्याको प्रकरण उद्धरण गरेँ । त्यसमा पनि मैले आफूलाई अलिकति जिम्मेदार ठान्नुपर्छ । अलिकति तपाईँले पनि आफूलाई जिम्मेदार ठान्नै पर्छ । हाम्रो समग्र चिन्तन यी सबै सन्दर्भमा केही हदसम्म घोलिएको छ ।

प्रिय मित्र ! आ-आफ्नो भागमा पर्ने कमजोरीप्रति जिम्मेदार बनेर उपस्थित हुन हिम्मत गरौँ । मित्र तपाईँको भागमा परेको र विद्यार्थीको आमाशयमा ढाडिएको कमलपित्त झिकिदिनुहोस् । म मेरा भागमा परेको अमलपित्त पनि झिकिदिन्छु । उनीहरूमा निर्मित ऊर्जा उनीहरू नै खर्च गरून् । यही नै सन्देश छ मित्र मेरातर्फबाट वर्तमान सन्दर्भमा ।