साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

सेक्सपियर बाजे ! नाममा के छ ?

घरमा पालिने कुकुरको नाम प्रायः अङ्ग्रेजी शब्दबाटै राखिएको पाइऩ्छ । जस्तै - लुसी, डेनी, टाइगर, जिमी आदि आदि तर भुस्याहाको कुकुरको नाम प्रायः नसुने पनि आफ्नो सजिलोका लागि बाटा हिँड्नेहरूले कुकुरको रङ वा शरीरको आकार हेरेर नाम राख्ने गरिएको पाइन्छ ।

Chovar Blues Mobile Size

“What’s in a name?
That which we call a rose
By any other name’
Would smell as sweer.” –

William Shakespeare (Romio & Juliet)

उपर्युक्त नाट्यसंवाद उगेल्ने नाट्यसम्राट् सेक्सपियर हुन् । “वाट्स इन अ नेम ?” अर्थात् नाममा के छ ? नाममा के छ के छैन भन्ने कुरो सेक्सपियरलाई केही थाहा नभए पनि उनले उपर्युक्त नाट्यसंवाद लेखिसकेपछि  त्यसको तल्तिर वा फेदतिर अवश्यै उनको नाम लेखेकै छन् । ‘वाट्स इन् अ नेम ?’ लेखेर उनले त्यसको पछिल्तिर वा तल्तिर आफ्नो नाम नलेखेका हुन् ता विशेष कारणवश या परिस्थितिवश उपर्युक्त नाट्यसंवाद उद्धृत गर्नुपर्दा वा भन्नुपर्दा ‘अज्ञात’ लेखेरै वा भनेरै भए पनि काम टार्नुपर्थ्यो ।

नपुंसकवाची यो  ‘नाम’ शब्दको शब्दकोशीय अर्थ हुन्छ, कुनै खास विषय वा वस्तु वा जाती वा व्यक्तिलाई चिनाउने शब्द ; खास व्यक्ति वा पाल्तु प्राणीलाई बोलाउऩे शब्द, सुनाम, कीर्ति, ठीकसँग चिनाउन सक्ने शब्द । नामबिनाका व्यक्ति वा वस्तु वा पाल्तु प्राणी बिरलाकोटी पाइएलान् । घरमा पालिने कुकुर मात्र हो नि तर भुस्याहा कुकरको समेत नाम राखिएको पाइऩ्छ । घरमा पालिने कुकुरको नाम प्रायः अङ्ग्रेजी शब्दबाटै राखिएको पाइऩ्छ । जस्तै – लुसी, डेनी, टाइगर, जिमी आदि आदि तर भुस्याहाको कुकुरको नाम प्रायः नसुने पनि आफ्नो सजिलोका लागि बाटा हिँड्नेहरूले कुकुरको रङ वा शरीरको आकार हेरेर नाम राख्ने गरिएको पाइन्छ । जस्तै- राते वा राती, टाटे वा टाटी, काले वा काली, पाङरे वा पाङरी, लुते वा लुती, लुइरे वा लुइरी, खैरे वा खैरी आदि आदि ।

कृष्ण प्रधान (सिलीगुडी)
sagarmani mobile size

नाट्यसम्राट् सेक्सपियर आज छैनन् । उनी आजसम्म पनि बाँचेका हुँदा हुन् ता अहिल्यै नै उनलाई इमेलमार्फत भन्ने थिएँ – “सम्माननीय नाट्यसम्राट् सेक्सपियर बाजे ! तपाईँले के भनेर ‘वाटस् इन अ नेम ?’ भन्नुभो ? नाममा के छ भनेर संसारभरि उधुम मच्चाउने तपाईँले चाहिँ किन आफूले सिर्जना गरेका रचनाको सिरानमा कि चाहिँ त्यसको फेदमा आफ्नो नाम लेख्नुभो ? नलेख्नुपर्ने थियो नि ! त्यसो गर्दा तपाईँको नामोनिशान नरहे पनि तपाईँले लेखेका रचनाका रचनाको सिरानमै कि ता त्यसको फेदतिर चोर साहित्यकारले निर्धक्क आफ्नो नाम टाँसेर नाट्यसम्राट्को पगरी गुँथी होला आफ्नो गाउँ-ठाउँमा त को नि तर सात समुद्रपारि हकडक चलाइरहेका हुन्थे तर तपाईँको प्रत्येक कृतिमा तपाईँको नाम लेखिएकाले चोर साहित्यकारलाई अठ्याङ परेको कुरा पत्याउनुहुन्छ होला अवश्यै पनि । नाममा के छैन (?) नाट्यसम्राट् सेक्सपियर बाजे ! नाममा सबथोक छ । तपाईँको नाम प्रयोग गरेरै विद्वान्‌को पगरी गुँथ्नेहरू कति छन् कति यो संसारमा । तपाईँलाई थाहा छ कि छैन को नि ? ठुल्ठुला सहरको बाटा-घाटाहरू तपाईँकै नाममा राखिएका छन् । तपाईँकै नाम र कामको कदर र सम्मान गर्दै ठेलीका ठेली ग्रन्थहरू लेखिएका छन्, लेखिनेछन् । यो हजूरकै नामको करामति होइन ? फेरि तपाईँ भन्नुहुन्छ ए बाजे नाट्यसम्राट् ! ‘नाममा के छ ?’ तपाईँ कसरी कुन मुखले भन्नुभो ?  साँच्चै ! हे नाट्यसम्राट् ! म औधी गौरवान्वित छु, भक्कुचुर नतमस्तक छु तपाईँका सम्पूर्ण जाति, तपाईँको समाजप्रति । जुन समाज र जातिले तपाईँको नाम सुवास संसारभरि फैलाए । तपाईँका क्रियाकलाप, गतिविधि, विश्व नाट्य संसारमा तपाईँको अमूल्य योगदानको कदर गर्दै तपाईँका समाजको कसैले पनि तपाईँको विश्वप्रसिद्ध नामलाई निमिट्यान्नै पार्ने चेष्टा नै गरेको देखियो न धुलो पार्ने दुस्साहस नै । तपाईँको नामसित इखिने, डाह गर्ने, ईर्ष्या गर्ने कोही पनि देखिएनन् । अद्यावधि देखिएका छैनन् । कति उदार तपाईँको समाज ! कति महान् तपाईँका जाति तर पनि केही नसोची फलाकिहाल्नुभो, वा यसौ भनूँ तपाईँले तपाईँका पात्रलाई फलाक्न लाउनुभयो –

“What’s in a name ?
That which we call a rose
By any other name’
Would smell as sweer.”

हुन ता हे नाट्यसम्राट् सेक्सपियर बाजे ! त्यसताका तपाईँसित इखिने, डाह गर्ने, ईर्ष्या गर्ने तपाईँका छिद्रान्वेषीहरूले तपाईँको नाम गुम (वेपत्ता) गरिदिएका भए पनि तपाईँको प्रतिभालाई छेकेर वा रोकेर राख्न सक्ने थिएनन् नै । तपाईँ भनेका नाट्यसूर्य । सूर्यलाई हत्केलाले छेक्न सकिन्छ र सेक्सपियर बाजे ? तपाईँले लेखेका नाटकहरू, तपाईँले नलेखेर क्रिस्टोफर मार्लोले लेखेका हुन् भन्ने पनि तपाईँमाथि लाञ्छना नलगाएको होइन । तपाईँको नामलाई बदनाम गर्ने वा तपाईँको नामलाई नाट्य संसारको सङ्घारबाट जरैसित उखेल्ने प्रयास गरेकाले तपाईँले सायद भन्नुभएको हो कि ! ‘वाटस् इन अ नेम ?’ के ठेगान ! नाम होइन काम गरेर जित्नुपर्छ भन्ने तपाईँको अप्रत्यक्ष व्यङ्ग्यवाण हो कि, कि तपाईँका छिद्रान्वेषीहरूलाई यो कटाक्ष ? तपाईँको नाम सुन्नेबित्तिकै तपाईँलाई टक्टकाउनेहरूलाई नली खुट्टाको रौँ जत्ति पनि नमानी, कुनै टेँडपुच्छर नलाई नै तपाईँले लेखिरहनुभो कि लेखिरहनुभो । गहिरो समुद्रमा पानी बिस्तारै बगेजस्तै तपाईँ पनि नाट्य संसारको महासमुद्रमा बिस्तारै बग्दै संसारभरि फैलिनुभयो । सोही नाट्य संसारको महासमुद्रबाट एक अञ्जुली पानी पिएर नाट्य संसारमा हर्हर्ती भएर काकाकुली तिर्सनाले छटपटिनेहरू आज धितमरिन्जेल तिर्खा मेट्न सफल र सबल भएका छन् ।

हे नाट्यसम्राट् सेक्सपियर बाजे ! हाम्रो जातिमा, हाम्रो समाजमा पनि काम गर्नेलाई कगर गर्दै उनको नाम सुवास फैलाउन, उनका कृतिलाई जनमानससम्म पुऱ्याउन  आफ्नो रगत पसिना फुर्मास गर्ने महान्-महान् व्यक्तिहरू छन् नि छन त । तीमध्येमा तपाईँलाई एकैजना उदार व्यक्तिको नाउँ यहाँ बताउन मन लागेको छ । ती व्यक्ति हुन् – मोतीराम भट्ट । जसले भानुभक्तलाई नेपाली संसारमा चिनाए । भानुभक्तको नाम र र कामसित कुनै डाह, ईर्ष्या, आह्रिस नगरी मोतीराम भट्टले उनको कृतिलाई प्रकाशमा ल्याइदिए । उनले भानुभक्तसित कपट गरेका हुँदा हुन् वा भानुभक्तलाई ईर्ष्या गरेका हुँदा हुन् ता भानुभक्तका सबै रचनाहरू आफ्नै नाममा लेखी आफू जातीय कविका रूपमा आज परिचित एवम् चर्चित हुने थिए हाम्रा आदरणीय अनुसन्धानकर्त्ता मोतीराम भट्ट तर उनले त्यसो गरेनन् । तपाईँको समाज र जातिप्रति म गौरवान्वित भएजस्तै एकजना उदार साहित्यकार एवम् पत्रकार मोतीराम भट्टको कुरा सुनेर तपाईँ पनि हाम्रो समाज र हाम्रो जातिप्रति गौरवान्वित हुने काम छैन नि सेक्सपियर बाजे !लाखेस् ! हाम्रो जाति र हाम्रो समाजमा कसैको नामसित डाह गर्ने, आह्रिस गर्ने, ईर्ष्या गर्नेहरू पनि छन् नि ! कसैको नामको डरले तर्सिने र आत्तिनेहरू पनि छन् नि बग्रेल्तै । जसरी लादेनको नाम सुन्नेहरू थर्थरी नकामेको होइन । जर्ज बुसमात्र होइन नि जर्ज बुसको कुकुरसमेत लादनेको नाम सुन्नेबित्तिक्कै भुक्न छोडी पुच्छर लुकाएर एक कुनामा डल्लो परी चुपो लागि श्वास न वास भएर बस्थ्यो भन्ने पनि सुन्नमा आएको छ ।  झन् श्रीमती जर्ज बुस त उनको घरको टिभीमा लादेनजस्ता लामा-लामा दारी सरिका र फेटा बाँध्ने कुनै पनि मान्छे देखिन् कि मुटु दुःखेर फत्रक्क-फत्रक्क पर्थिन् रे । लादेन नामको डरले श्रीमती लादेनले अमेरिकाभरिका धामी-झाँक्रीले फुकफाक गरेका पाँच तोला सुनको बुटी घाँटीमा झुन्ड्याएकी थिइन् भन्ने पनि गाइँगुइँ नभएको होइन । यसैले त लादेनको नामोनिशान मेट्टाउन बुसले लादेनलाई धुइँपत्ताल लाएर शेष पारे तर लादेन संसारभरि प्रशिद्ध भए ।

हो, नाट्यसम्राट् सेक्सपियर बाजे ! तीन किताब छिचोलिरहेको मेरो कान्छो छोरो, तपाईँको पनातिलाई एकपल्ट ‘बाबु ! ठूला भएर वा पढिसकेर तिमी के हुन्छौ भन त !’ भनी सोध्दा आफ्ना दाहिने कलिलो हात आफ्नो छातीमा बजार्दै भनेको शब्दहरू अद्यावधि मेरो कर्णकुँवरमा गुन्जिरहेछ । हेर्नोस् ता नाट्यसम्राट् सेक्सपियर बाजे !  लादेनको सिमे-सिन्डेले भेटेका उत्तरआधुनिक पुत्र अर्थात् पोस्ट-मोडर्न ग्रेट ग्रान्डसन !

हाम्रा यतातिर रावण बदनाम छन् ।  रामलाई यतातिर ईश्वरकै रूपमा हेर्ने गर्दछौँ । रावणको समाजमा पनि हाम्रा राम बदनाम होलान् । यता हामी प्रतिवर्ष रावणको पुत्ला जलाएर रावणप्रति आक्रोश, विद्रोहवमन गर्छौं ।  हेर्नोस्,  म रावण होइन न कि राम नै । न त श्रीकृष्ण भगवान् नै । मेरो नाम पनि कृष्ण । श्रीकृष्ण भगवान् र यो साधारण हुतिहारा, लोतिखोरे कृष्णमाझ धेरै अन्तर भए पनि श्रीकृष्ण भगवान् कारावासमा जन्मेका हुन् भने यो कृष्णचाहिँ खरसाङ थानाको फेमिली क्वाटरमा जन्मेको हो । श्रीकृष्ण भगवान्‌को पछि-पछि सय गोपिनीहरू लठ्ठ भई प्रेमातुर हुन्थे भने यो कृष्णका हजारौँ विद्यार्थीहरू नतमस्तक भई ‘नमस्ते सर ! नमस्ते सर !’ भन्दै मलाई श्रद्धाले निवेदन गर्छन् । यसकारण हे नाट्यसम्राट् सेक्सपियर बाजे ! नाममा के छ होइन धेरै छन् । सबथोक छ ।

तपाईँलाई एउटा नितान्त व्यक्तिगत कुरा पनि बताइहालूँ क्यारे ! हाम्रो यतातिर आयोजन हुने एकाध साहित्यिक कार्यक्रम, पुस्तक, पत्र-पत्रिका लोकार्पण समारोहमा मलाई पनि मुख्य अतिथि, विशिष्ट अतिथि, प्रमुख अतिथि वा प्रमुख वक्ताको रूपमा निम्त्याइऩ्छ कहिलेकाहीँ ।  मसँगै एउटै आसनमा बस्ने सभाशिरोमणि तथा अन्य अतिथिको नाम यहाँ छापिने अखबरारमा छापिन्छ अरे भन्ने सुनेको छु तर उक्त अखबारमा भुस्याहा पत्रकारले मेरो नाम पटक्कै छाप्तैन भन्ने कुरो सुनेको मात्र छु तर मैले आफ्नै आँखाले भने देखेको छैन । किनभने त्यस्तो पक्षपातित्वको अहङ्कार बोकेर आफैँ धामी आफैँ बोक्सी हुने अखबारमा पढ्दै-पढ्दिनँ । मेरो नाम छाप्दा यो संसारबाट निमिट्यान्ने हुने होइन अनि मेरो मान ठुल्ठुला अक्षरमा हेड लाइनमै छापिँदा पनि एकैरातमा म तपाईँलाई पनि उछिनेर महान्‌भन्दा पनि सुपर महान् नाटककार पटक्कै हुने होइन कि कसो बाजे सेक्सपियर ? मेरो ता एउटै विचार छ सो के भने, काम गर्दै जानुपर्छ, त्यस्ता नाम त कति आउँछ-आउँछ । जस्तो कि तपाईँले गर्नुभएको छ ।

अतिथिवर्गको लामबाट मेरो नाम दूधबाट झिँङा फुत्त निकालेर मिल्काएजस्तै टपर्टुइँय्ये पत्रकार वा भातको लागि मात्र प्रुफ रिडिङ् गर्ने तथाकथित् विद्वान् प्रुफ रिडरले रातो जेल पेनले मेरो नाम डिलिट गरिदिँदैमा यो ‘कृष’ कहाँ डिलिट हुने हो र ! मृगको कस्तुरीको वासनालाई जति नै छोप्ने मूर्ख प्रयास गरे पनि त्यो कहाँ छिप्छ र ? खै क्रिस्टोफर मार्लोले पनि तपाईँको नाम निशान कहाँ मेटाउन सके र बाजे महोदय ?

म अतिथिको आसनमा विराजमान भएको, मैले बोलेका कुराहरू वा मेरो नाम भोलिपल्टको अखबारमा नआउँदा हिजो उपस्थित हुने विद्वद्‌जनले ती अखबारका भुस्याहा पत्रकारलाई कुन दृष्टिले हेर्लान् अऩि ती विद्वद्जनले निष्पक्ष अखबारको निष्पक्ष पत्रकारितामाथि के कस्ता अड्कल-अनुमान लाउलान् त्यो पनि सोच्ने कुरा छ । आफूलाई निर्भीक र निष्पक्ष ठान्ने अखबारको निष्पक्षतामाथि व्यङ्ग्य हाँसो हाँस्लान्, नाक-मुख खुम्च्याउलान् । मेरो नाम नछापिँदैमा म सँगसँगै मेरो नाम धुलिसात हुने होइन अनि मेरो नाम नछाप्ने अखबारले सरकारको अखबार विभागबाट न सर्वश्रेष्ठ पुरस्कार पाउने हो न त मेरो नाम डिलिट गर्नेलाई मासिक भत्ता बढाएर दिन दुईगुणा रात चौगुणा गर्ने हो ।

मेरा शुभचिन्तकहरूले मुठ्ठीभाषामार्फत अखबारमा मेरो नाम नछापिएको कुरा खिसी हाँसो हास्तै मलाई सुनाउँछन् । यसमा मेरो प्रतिक्रिया जान्न नखोजी उनीहरू भन्छन्, “कृष्ण भाइ ! आजको अखबारमा तपाईँको नाम त आएन रहेछ । टुप्पाबाट पलाएको र फेदबाट पलाएको पत्रकार यहीँबाट चिनिन्छ ।”

यसबारेमा मेरो भन्नु केही छैन । मलाई बाह्र हातको टाँगाले छुने होइन । एक मनले ‘वाटस् इन अ नेम’ भन्ने तपाईँको भन्ने तपाईँको नाट्यसंवाद ठिकै ठिकै पनि लाग्छ ।  हत्केलाले घामलाई कहाँ छेक्न सकिन्छ र, होइन ? घाम घाम नै हो; हत्केला फगत हत्केलामात्र । हे नाट्यसम्राट् सेक्सपियर बाजे ! चिनेको बाहुनले आफ्नो जनै देखाइरहनु आवश्यकता छैन होइन र ! एक सयभन्दा धेर नाटक लेखी तपाईँजस्ता महान् नाट्यसम्राट् सेक्सपियरलाई उछिन्ने र विश्व नाट्य फाँटमा आफ्नो दमाहा बजाउन चुरीफुरी गर्नेले पनि तपाईँको नामलाई धरासायी पार्नु त कहाँ सके, होइन र ? किनभने नाट्यसम्राट् सेक्सपियर भनेका सेक्सपियर नै हुन्, यसमा हजारौँ क्रिस्टोफर मार्लोहरू जन्मे तापनि कुनै लछारपाटो लाउन सक्ने थिएन । लाखौँ ताराहरूमाझ एउटै जूनको उज्यालो काफी हुन्छ । त्यसै सन्दर्भमा भन्नुपर्दा, तपाईँका अदेख नाति यो ‘कृष’-को नाम अखबारमा नछापिदिनेले वा छाप्न नचाहनेले वा प्रुफ हेर्दाको समयमा मेरो नामको डरले, मेरो नामको डाहले पोली रातो मसीले मेरो नाम डिलिट गर्नेले गतिलै वीरता र बहादुरीको काम गरे ठान्दा हुनन् । ती टपर्टुइँय्याहरूले आफूलाई ठान्ने गरेका वीरता र बहादुरीलाई तिनका पुच्छरेहरूले भयङ्कर ठाने तापनि मचाहिँ त्यस्ता वीरता र बहादुरीमा खुसामदी रगत सल्बलाएको पाउँछु अनि ती खुसामदी रगतमा सामान्य एक सिता भातका निम्ति बफादारी हेमोग्लोबिन पाउँछु । मेरो नाम नछापिनुमा कसैको दोष नभएर यो खुसामदी रगतको दोष हो भन्ने लाग्छ मलाई ।

हे महान् नाट्यसम्राट् सेक्सपियर बाजे ! मैले हेर्दै नहेर्ने, पढ़्दै-नपढ़्ने, किन्दै-नकिन्ने अखबारमा मेरो नाम छापिँदैन भन्ने कुरो सुनेपछि म भित्र-भित्र भक्कुचुर खुसी र गौरववान्वित हुन्छु । भक्कुचुर खुसी र गौरवान्वित किन हुन्छु भने, मेरो घरकै आँगनमा मेरो नामसित डराउनेहरू पनि रहेछन् । मेरो नामको डरले पोल्नेहरू,  थुरथुर हुनेहरूबाहेक पनि मेरो नामको डरले जर्ज बुसको कुकुरजस्तो लादेनको डरले पुच्छर लुकाउने पनि रहेछन् भन्ने छतछती प्रमाण भएको छ । मेरो नामको डरले थुरथुर भएर लुगलुग काम्नेहरूले मलाई लादेन नै पो ठान्दा रहेछन् भन्ने कुरो पनि मलाई छ्याङ्ङै भएको छ । सत्यको पक्षधर भई असत्यक डढेलो सल्काउने विभीषण पो ठानेका रहेछन् भन्ने कुरामा म सोह्रै आना आश्वस्त र विश्वस्त भएको छु । त्यतिमात्र होइन, मेरो नामको डरले आछुआछु हुनेहरूले मेरो नाम अखबारमा नछापेको देख्ता, रावणजस्तो व्यभिचारी, अहङ्कारी पुरुषलाई तिरिखिरी पार्ने अनि आफ्नो पुच्छरले रावणको लङ्का खरानी बनाउने वीर हनुमान् नै ठान्दारहेछन् भन्ने पनि मलाई कता-कता अनुमान लाग्न थालेको छ ।

तुच्छ मरन्च्याँसे बाँदर ठानी हुनुमान्‌सित सेखी गर्ने महाबली भीमलाई आछुआछु पार्ने विकराल हनुमान् पनि ठान्दा हुन् मलाई मेरो नामको डरले तर्सिनेहरू । गुरु द्रोणाचार्यको मूर्ति आफूसामुन्ने राखी धनुर्विद्या सिकेपछि निपुण हुने एकलव्य पनि ठानेका होलान् मेरो नाम अखबारको छातीबाट मिल्काउने वा उडाउने अनि मेरो नामको डरले सातो-पुत्लो उडेका महान्-महान् ऐरे-गैरे-नत्थुखैरे तथाकथित टपर्टुइँय्ये पत्रकारहरू । मेरो नामको डरले बिहान-बेलुकी आँत्तिइनेहरू, तर्सिनेहरू अनि छुलछुल हुने भुस्याहा पत्रकार महोदयले मलाई हिरोसिमा तहसनहस पार्ने हाइड्रोजन बम पनि ठान्दा होलान् । मेरो नामको डरले थुरथुर हुने कातरहरूले मलाई जापान छताछुल्ल पारी ज्यान-माल सर्वनाश पार्ने सुनामी पनि ठान्दा होलान् । मेरो नामको डाह र ईर्ष्या अनि डरले हजारौँपल्ट मर्दा हुन् तथा भित्रभित्रै सल्केर । वन सखाप पार्ने डढेलो पनि ठान्दा हुन् क्यारे बिचारा लुइँतामे पत्रकारहरूले । मेरो नाम आफ्नो कपीमा लेख्न नपरोस्, प्रुफ कपीमा मेरो नाम हेर्न नपरोस् भनी रातदिन उनीहरूका इष्ट-देवता भन्दा हुन् – ” हे इष्टदेव ! घरिघरि फलानुको नाम लेख्न नपरोस् किनभने उनको नामको डरले मेरो मुटुले ठावै छोड्नु मात्र होइन मेरो होस-हवाससमेत उड्नमात्र होइन हाम्रो भात खाने पेटमा ऱ्याइँ-ऱ्याइँ गाइनेको सारङ्गीको पार्श्व घुन बज्न थाल्छ ।”

यसैकारण, मेरो नाम कातर अखबारमा नछापिएको हो भन्ने कुरो म मेरा आदरणीय एवम् सम्माननीय शुभचिन्तकहरूलाई जानकारी गराउन चाहन्छु । झुसेमुसे अखबारमा मेरो नाम नछाप्दा तपाईँको नातिको नली खुट्टाको रौँ पनि हल्लिने होइन क्यारे ! विशाल समुद्रबाट एक बाल्टी पानी उबाउँदैमा समुद्रको पानी कहीँ घट्छ र (?) होइन बाजे महोदय ! खासै कुरोचाहिँ के हो भने, मेरो नाम छापेर मेरो नामको डरले थुरथुर हुनेहरू कसैको पनि पेटमा लात हान्ने पक्षमा ठ्याम्मै छैन म । मेरो नामले कसैको भात खोसियोस् त्यो पनि चाहन्नँ म । यति हो मेरो नामको डरले उनीहरूलाई वनको बाघले नखाए पनि मनको बाघले चाहिँ चौबिसै घण्टा, चौबिसै प्रहर कोपरिरहोस्, चिथोरिरहोस् भन्ने रातदिन म मेरा इष्टदेवतालाई बल-बिन्ती मागिहन्छु । मेरो नाम नछाप्नेलाई लछेप्रै धन्यवाद र कृतज्ञता प्रकट गर्दै आशीर्वाद दिन चाहन्छु – “त्रसित भवः । अहर्निशं त्रसित भवः ।”

देख्नुभो (?) महान् नाट्यसम्राट् सेक्सपियर बाजे ! तपाईँ भन्नुहुन्छ ‘what’s in a name ?’ अर्थात् ‘नाममा के छ ?’ मैले भनेँ नि के छैन रहेछ नाममा ? देख्नुभो बाजे हजुर ! तपाईँका अदेख नातिको नामको चमत्कार ? एउटा सामान्य नाम डरले कतिलाई पिरोल्दो रहेछ वा सिस्नुपानी हुँदो रहेछ त ! हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई राणाहरूले पनि खेदो गरी उनको नाम धमिल्याउने मूर्ख प्रयास गरेकै हुन् । खै के लछारपाटो लाउन सके र राणाहरूले ? महाकवि देवकोटाको नामको डरले राणाशासन तहसनहस भएको इतिहास साक्षी छ ।  राणाहरू लगायत देवकोटाका छिद्रान्वेषीहरूले देवकोटाको नाम धमिल्याउन प्रयास गरे पनि , उनको नाम उच्चारण गर्न नाकनिक गरे पनि सात समुद्र पारीकाहरूले अद्यावधि देवकोटाको नामआदर र सम्मानपूर्वक फलाकिरहेकै छ त । देवकोटाको नाम सुन्नेबित्तिक्कै उनलाई पानीखेदो गरी उनलाई राँची पागलखानामा पठाउने उनका तमाम छिद्रान्वेषीहरूले कतिचोटि आफ्ना सुरुवाल भिजाइसक्थे…सक्थे…त्यसको कुनै हिसाब-किताबै छैन । लु हेर्नोस् नाट्यसम्राट् सेक्सपियर बाजे ! कतिको ताकत र शक्ति रहेछ ता एउटा सामान्य नाममा ? तर तपाईँ भने प्याच्चै भन्नुहुन्छ – ‘what’s in a name ?’

हे नाट्यसम्राट् सेक्सपियर बाजे ! एकजना नोबेल पुरस्कार प्रापक स्रष्टाले नोबेल पुरस्कार पाएको खबर त्यहीँकै एउटा लोकप्रिय अखबारले नछाप्ता उनका लाखौँ प्रशंसकले उक्त अखबार पढ्नु छोड्नु मात्र होइन ती अखबारका सम्पादकलाई विशाल जनसमुद्रमाझ ती नोबेल विजयी स्रष्टाको खुट्टा समाती माफी माग्न लगाएको कुरा तपाईँ थाह छ कि छैन को नि ? तर यसमा बिचारा सम्पादक महोदयको दोष ठ्याम्मै थिएन । दोष थियो भने उनकै टपर्टुइँय्ये उप-सम्पादकको । काम गर्ने कालु मकै खाने भालु भनेजस्तो, दोष गऱ्यो एकजनाले त्यसको शास्ती भोग्नुपऱ्यो अर्काले । एक बिराउने शाखा पिराउने यसलाई भनिन्छ । जीवनभरि कहिल्यै कसैसित नझुक्ने ती सम्पादक महोदयले बिना विच्चामा अर्काको खुट्टा ढोग्नु परेन अनि ? लसुन पऱ्यो कल्लाई कल्लाई प्याज पऱ्यो मलाई भनेजस्तै भयो होला बिचारा ती सम्पादक महोदयलाई । बाजे सेक्सपियर ! मचाहिँ त्यस्तो काम पटक्कै गर्दिनँ, कुकुरले मलाई टोक्यो भन्दैमा खेदी-खेदी त्यसलाई उल्टो टोक्ने आदत र आदर्शचाहिँ मेरो छैन, पटक्कै छैन । तपाईँको नामलाई मनपराउनेहरू लाखौँ-करोडौँ भएजस्तै तपाईँको यो अदेख नाति केटो ‘कृष’-को नाम मन नपराउनेहरू तपाईँ जत्तिकै त्यत्ति धेर नभए पनि यस्तै हजार – दुई एक त होलान् । ऐरे-गैरे-नत्थुखैरे एकाधले मेरो नाम मन नपराउँदैमा वा मेरो नाम नछापिदिँदैमा म मेरो काम र कर्तव्यदेखि म एक डेग डगमगाउने होइन न त म मेरो गुणलाई त्याग्ने नै हो । यसबारेमा हेनतेन नबखानेर अन्त्यमा मेरो नाम नछाप्दाको हर्षमा चाणक्यको एउटा ठुङमार्दो भनाइ यहाँ राख्न चाहन्छु –

“छिन्नोऽपि चन्दनतरुर्न जहाति गन्धं,
वृद्धोऽपि वारणपतिर्न जहाति लीलाम् ।
यन्त्रार्पितो मधुरतां न जहाति चेक्षुः,
दीनोऽपि न त्यजति शीलगुणान् कुलीनः ॥ “

अर्थात्, [चन्दनको रुख काटिए पनि त्यसबाट वास्ना आउन छाड्दैन । हात्तीले आफू बुढो भए पनि भोक विलास गर्न छाड्दैन । उखुले कोलमा पेले पनि मधुरता गुलियोपन छाड्दैन । कुलीन पुरुष दरिद्र नै भए पनि आफ्नो शील र गुणलाई त्याग्दैन, गुणशील व्यक्तिले जस्तै आपद्-विपद् परे पनि आफ्नो गुणलाई त्याग्ने इच्छा गर्दैन]।

मेरो नाम उनको अखबारमा नछाप्ने अनि मेरो नामको डरले हजारौँपल्ट मर्दै, बौरी उठ्दै अनि फेरि मर्दै खुसामदी रगतको प्रमाण गर्न तम्सिने भुस्याहा तथा ऐरे-गैरे-नत्थुखैरे तथाकथित पत्रकार साथीको नाममा मेरो दुवै काखी बजाउँदै हार्दिक अभिवादनस्वरूप आजैनिम्ति कवितांश उनलाई उनको व्यक्तिगत इमेलमा आजै पठाउँदैछु –

“न छिप्छ वास् कस्तुरिको कसै गरोस्
न लुक्छ आगो कहिँ नै लगी धरोस् ।।”

प्रतिक्रिया
Loading...