सारा भौतिक वस्तुहरू हामीदेखि बाहिर छन् । म बसिरहेको कुर्सी अनि मेरो अघिपट्टिको टेबलमाथि राखिएका फूलदानी, कलम, पानीको ग्लास र खाताकिताबहरू सबै मदेखि बाहिर छन् । फूलदानीमा सजाएर राखिएका फूलहरू डेहलिया र गुलाबहरू हुन् । म बसेको कुर्सी र मेरो अघिपट्टिको काठको टेबल दुवै खैरो रङ्गका छन् । मैले फूलका नरम पत्रदलहरूलाई छोएर तिनीहरूका कोमलतालाई स्पर्श गरेँ । गुलाबको रङ्ग रातो अनि डेहलियाको चाहिँ पहेँलो रङ्ग छ । गुलाबले मिठो सुगन्ध दिइरहेको छ । मैले ग्लासको पानी अलिकति पिएँ पनि ।

माथि उल्लिखित वस्तुहरूको ज्ञान प्राप्त गर्नलाई हामीलाई हाम्रा ज्ञानेन्द्रियहरू अनि मस्तिष्कको सक्रिय सहभागिता चाहिन्छ । हाम्रा ज्ञानेन्द्रियहरूले वस्तुको अनुभव गर्नमा सहायता गर्दछ भने दिमागले पुष्टि गर्न र निर्णय दिनमा साथै बौद्धिक तत्त्वहरू (अवधारणाहरू/प्रत्ययहरू) प्रदान गर्नमा । ज्ञानेन्द्रियहरूद्वारा प्राप्त बोध-तथ्याङ्कहरू (सेन्स-डेटा)-लाई संवेदनशीलताको माध्यमबाट बुझाइलाई (प्रज्ञालाई) दिइन्छ । हाम्रा विवेकद्वारा प्राप्त ‘बौद्धिक अवधारणाहरू’ अनि अनुभवद्वारा प्राप्त ‘अनुभवजन्य अवधारणाहरू’ को संश्लेषण कार्यहरूको प्रक्रियाद्वारा संश्लेषण गरिन्छ । यस संश्लेषणको प्रकिया स्वाभाविक अनि स्वतः हुन्छ । यही संश्लेषण कार्यहरूले (प्रक्रियाले) वस्तुज्ञान सम्भव बनाउँदछन् । इम्मानुएल कान्टअनुसार (क्रिटिक अफ प्युर रिजन, १७८१) ती दुवै बौद्धिक अनि अनुभवजन्य अवधारणाहरू वस्तुको अनुभवमा नै अवस्थित हुन्छ । वस्तुज्ञान आर्जनमा भाषाको ठूलो भूमिका हुन्छ किनकि वस्तुका पुष्टि अनि निर्णयहरू भाषाद्वारा नै गरिन्छ । यसरी हाम्रो ज्ञान भाषिक पुष्टि, प्रस्ताव र निर्णयहरूमाथि निर्भर रहन्छ अनि यी सबैचाहिँ हाम्रो बुद्धिमाथि ।

मेरो अघिपट्टिको टेबलमाथि एउटा कलम छ । त्यसको रङ्ग कालो छ । यसरी वस्तु ज्ञानमा पहिलेबाटै ‘कारणको सिद्धान्त’, ‘स्थायित्वको सिद्धान्त’ र ‘समुदायको सिद्धान्त’ मौलिक रूपमा प्रयोग भइरहेको हुन्छ । टेबलमाथिको वस्तुले मलाई अनुभव गराउँछ । त्यो मेरो वस्तुसितको बोधगम्यताबाट (संवेद्यनाबाट) सुरु हुन्छ । यही बोधगम्यताबाट उत्पन्न अन्तर्बोधित तथ्याङ्कहरूलाई संवेदनशीलताद्वारा बुझाइलाई दिइन्छ । जसको माध्यमद्वारा दुवै प्रकारका (प्युर एन्ड एम्पिरिकल) अवधारणाहरूको संश्लेषण गरिन्छ । यही संश्लेषण कार्यको प्रक्रियाद्वारा ज्ञानको उत्पन्न हुन्छ । उत्पादित ज्ञानको अभिव्यक्ति, व्याख्या, विश्लेषण अनि समीक्षा भाषाको माध्यमद्वारा मात्र सम्भव हुँदछ । म त्यो कार्यचाहिँ मेरो पुष्टि, निर्णय अनि प्रस्ताव वाक्य वा वचनहरूद्वारा गर्दछु । उदाहरणको निम्ति, यो मेरो टेबलमाथिको कलमको रङ्ग कालो छ, ग्लासमा पानी छ अनि फूलदानीमा पहेंला डेहलियाहरू र राता गुलाबहरू छन् । यहाँ कसरी ‘कारण सिद्धान्त र नियम’ प्रयोग भइरहेका छन् त्यसको उदाहरण टेबलमाथिको कलमबाट लिन सकिन्छ । कलमको बोधगम्यता वा सहजबोध ‘प्रभाव’ हो भने कलमचाहिँ ‘कारण’ हो । यहाँ संवेदनशीलताद्वारा बुझाइलाई कलम नदिएर यसका प्रतिनिधित्वहरू (रेप्रेजेन्टेसन्स) मात्र दिइन्छ, अनि प्रस्तावचाहिँ विवेकको सहायताले बुझाइद्वारा नै दिइन्छ । त्यसरी नै हामी आफैँलाई पनि सोध्न सक्छौँ—“संवेदनशीलताको सक्रियताको कारण के हो ?” हाम्रो उत्तर हुन्छ—‘कलम’ । जब हाम्रा आँखाहरूले कलम देख्दछन् तब सहज बोधबाट (अन्तर्ज्ञानबाट) संवेदनशीलता (संवेद्य) सक्रिय हुँदछ । संवेदनशीलता र बुझाइ हामीभित्रै हुन्छ । त्यसरी नै ‘कारण र प्रभाव’ माझको सम्बन्ध अनिवार्य हुन्छ ।

ईगम खालिङ (दार्जीलिङ)

वस्तु स्थायी हुन्छ । वस्तु सधैँ स्पेस र समयमा हुन्छ । स्पेस अनि समय हाम्रो आन्तर्ज्ञानको रूप हो । भौतिक विज्ञानले वस्तुको परिभाषा दिएको छ । यसरी “मेरो टेबलमाथि एउटा कलम छ” भन्ने पुष्टिले केही मौलिक नियमहरूको लागुलाई पूर्वसङ्केत गरिरहेको हुन्छ । यसर्थ वस्तुको ज्ञान हाम्रो अनुभव, बुद्धि, स्पेस र समयबिना सम्भव हुँदैन तर हामी स्पेस र समयलाई वस्तुमा सोच्तैनौँ । तिनीहरू स्वभाविक हुन्छन् । हामी तिनीहरूलाई प्रयोग गर्न सिक्तैनौँ बरु संवेद्य तथ्याङ्कहरूलाई स्वाभाविक रूपमा अनुभव गर्दछौँ । जहाँ मानिस हुन्छ त्यहाँ मानवबुद्धि हुन्छ अनि जहाँ वस्तु हुन्छ त्यहाँ भौतिक स्पेस अनि मौलिक प्रागनुभव सिद्धान्तहरू हुन्छन् । कलम छ तर त्यो स्पेस र समयमा छैन भन्न सकिँदैन । वास्तवमा वस्तुज्ञान  वस्तुका स्थायित्व, अन्तःशक्ति अनि सम्पर्कबिना सम्भव छैन ।

वस्तुज्ञानको सञ्चार (आदन-प्रदान) भाषाद्वारा मात्र सम्भव छ । वस्तुहरू स्वतन्त्र छन् । हामीले जानेका र बुझेका वस्तुहरू हामीदेखि बाहिरका वस्तुहरूका प्रतिनिधित्वहरू मात्र हुन् । वस्तु वास्तवमा के हो त्यो हामी मूलरूपमा जान्न सक्तैनौँ । कान्टले वस्तु ज्ञानार्जनमा संवेदनशीलता (सेन्सिबिलिटी) अनि बुझाइ (अन्डरस्ट्यानडिङ) लाई ज्ञानका दुई सङ्कायहरूको (फेकल्टिस् अफ नलेजको) रूपमा समावेश गरेका छन् ।

वस्तु ज्ञान अनुभवजन्य तथ्याङ्कहरूमा (सेन्स डेटामा) मात्र आश्रित नभएर कल्पनाको योजना (स्किमा अफ् इमाजिनेसन) साथै अवधारणाको वैचारिक एकाइद्वाराको संश्लिष्ट एकाइमा पनि हुन्छ । वस्तुको संवेद्य (बोध) भइरहेको समयमा हाम्रो मस्तिष्कमा वस्तुका छविहरू (इमेजेस) अनि योजनाकारहरू (स्किमाज्) उत्पन्न हुन्छन् अनि जब तिनीहरूलाई शुद्ध अवधारणाहरूको (केटेगोरिस्) प्रयोगद्वारा न्याय गरिन्छ तब हामीसँग वैचारिक संश्लिष्ट एकाइ (कन्सेप्चुवल सिन्थेटिक ह्यूनिटी) हुन्छ । हुन त संश्लिष्ट प्रगानुभव प्रस्ताव सम्भव छ या छैन भन्ने विषय अझैपनि दार्शनिक साथै विद्वान्हरूको माझमा विवाद चलिरहेका छन् ।

वस्तुज्ञान हाम्रा बुद्धि अनि संवेद्य इन्द्रियहरूमा निर्भर हुन्छ । वस्तु सीधा बुद्धिलाई नदिएर हाम्रा अनुभवजन्य सहज बोधलाई दिइन्छ । बुद्धिलाई  वस्तु दिनलाई हामीले संवेद्य वा ज्ञानेन्द्रियहरूको सहायता लिनुपर्छ ।

अनुभवजन्य सहज बोधको निर्माण मात्र सहज बोधका शुद्ध स्वरूपहरूबाट सम्भव हुँदछ । यी शुद्ध स्वरूपहरू (स्पेस अनि टाइम) हाम्रा मौलिक प्रतिनिधिहरू हुन् अनि यिनीहरूबिना कुनैपनि प्रतिनिधि सम्भव हुँदैन ।

हाम्रो वस्तुज्ञान प्रतिनिधित्वगत छ भन्नु नै यो वस्तु आफैँआफको ज्ञान होइन भन्नु समान हो । वास्तवमा हाम्रो वस्तुको ज्ञान तथाकथित वस्तु आफैँआफको होइन । हामी जति जान्दछौँ ती सबै प्रतिनिधित्वगत छन् अनि हाम्रा बुद्धि र ज्ञानेन्द्रियहरूमा निर्भर छन् ।

कान्टअनुसार ‘आयाम’ मस्तिष्कबाट अथवा विवेकद्वारा हेर्ने प्रविधि (टेक्निक) हो । आयाम (डाइमेन्सन) कुनै निर्दिष्ट इन्द्रियजन्य वस्तु होइन । यसलाई हामी ज्ञानको सङ्कायद्वारा (फेकल्टी अफ् नलेज) बुझ्ने गर्दछौँ । यसलाई हामी प्रकृतिबाट प्राप्त नगरेर हाम्रो विवेकद्वारा वस्तु अनि घटनाहरूसित प्रयोग गरेर जान्दछौँ । आयाम प्रकृतिमा होइन हाम्रो मस्तिष्कभित्र हुन्छ । कान्टको दर्शन मूलरूपमा ज्ञान हुनलाई ‘संवेद्य अनि अवधारणा हुन अति जरूरी छ’, ‘स्पेस र समय हाम्रो मस्तिष्कभित्रै हुन्छन्’ अनि ‘वस्तु आफैँआफमा के हो त्यो हामी जान्न सक्तैनौँ’ भन्ने कुराहरू वरिपरि परिक्रमा गरिरहन्छन् ।

जब हामी वस्तु अनि घटनाको कुरा गर्दछौँ तब हामीलाई स्पेस अनि समयको कुरा गर्न कर लाग्छ । वस्तु अनि घटना सधैँ स्पेस अनि समयमा अवस्थित हुन्छन् । त्यहाँबाट अझै माथि उठेर कुरा गर्नु हो भने ‘स्पेस अनि समय’ अनि ‘कन्टिनियम’ को कुरा गर्नुपर्ने हुन्छ । ब्रह्माण्डको अति विशालताले गर्दा यसभित्रका सम्पूर्ण वस्तुहरू अनि घटनाहरूको ज्ञान सम्भव हुँदैन । फेरि मानव ज्ञानको आफ्नै सीमितता छ । त्यसकारण :

(१) विज्ञानको इतिहास हेऱ्यौ भने वस्तु अनि घटनाहरूको स्पष्टीकरण (एक्सप्लानेसन) विभिन्न प्रकारका स्पेस अनि समयका सर्तहरूबाट गरेका पाइन्छ, जस्तै : आइजक न्यूटनको अनन्त स्पेस (अब्सलुट स्पेस) अनि गटफ्रिड लाइबनिजको सापेक्ष स्पेस (रिलेटिभ स्पेस) अनि आइन्सटाइनको सापेक्षता र वक्रता स्पेस (रिलेटेभिटी एण्ड कर्भेचर), टपोलोजिकल स्पेस अनि क्वन्टम स्पेस इत्यादि ।

२) वस्तु ज्ञानार्जन अथवा कुनैपनि प्रकारको ज्ञानार्जन हाम्रो विवेकको प्रयोगबिना सम्भव छैन । कुनैपनि वस्तुज्ञान अनि घटनालाई हामी हल्कासित लिन सक्तैनौँ । तिनीहरूलाई जान्ने प्रक्रिया अनि प्रविधि हाम्रो विवेकको देन हो । विवेक उच्च विज्ञान हो किनकि शुद्ध विज्ञान अनि सिद्धान्तका मूल जड शुद्ध विवेकमा नै हुन्छ ।

(३) हाम्रो विवेकको प्रयोगद्वारा सूत्र अनि सिद्धान्तहरू प्रतिपादन गरिन्छ । वस्तु अथवा घटनासित सम्बन्धित स्पेस अनि टाइम सापेक्षिक स्पेस अनि समय हुन् । यसकारण आइन्सटाइनले समय समिकरणका (सिन्क्रोनाइजेसन) कुरा गरेका छन् ।

पूर्वाग्रहित भएर कुनै पनि आयामलाई सुरुबाटै पूर्णरूपले नकारात्मक दृष्टिकोणबाट हेर्नुहुँदैन । त्यसको अर्थ यो होइन कि नकारात्मक अथवा विरोधी पक्ष हुँदैहुँदैन । आकाश-धर्ती, रात-दिन अनि लामो-छोटो जस्ता कुराहरू प्रकृतिका कुराहरू नै हुन् । भौतिक सिद्धान्त विज्ञानका थ्योरीहरूमा ‘विरोधी गुरुत्वाकर्षण’, ‘विरोधी पदार्थ’ अनि ‘विरोधी कण’ जस्ता विषयहरूको व्याख्यान पाइन्छ ।

‘ब्ल्याक होल’-को सैद्धान्तिक पुष्टि, ब्रह्माण्डको रहस्य, अनि अधुरा ज्ञानहरूका मान्यताहरूले गर्दा हामीलाई ब्रह्माण्डको यथार्थको सम्पूर्ण ज्ञान सम्भव हुँदैन । यसैले अन्त्यतिर हाम्रो असमर्थताको कारणले गर्दा हामी कति विषयहरूको विश्लेषण गर्दै जाँदा भ्रमात्मक अवस्थामा पुग्दछौँ । त्यो अवस्थालाई विभिन्न विषयहरूको नजरबाट हेर्न सकिन्छ ।

भ्रमलाई वास्तविकताको विपरीतार्थ शब्द मान्न सकिन्छ । ज्ञानेन्द्रियहरूको क्षमतादेखि माथि उठेका प्रत्येक्षले भ्रम सिर्जना गर्दछ । वस्तुको प्रयोगद्वारा पनि वस्तुको प्रत्यक्षलाई (परसेप्सन) भ्रममा ढाल्न सकिन्छ । सामान्य इन्द्रिय ज्ञानमा भ्रम सृष्टि हुनसक्छ कारण जुन देखिन्छ त्यो वास्तविकतामा नहुन पनि सक्छ । कहिलेकहीँ वस्तुको सहायताबिना मस्तिष्कले कल्पना शक्तिको सहायताले भ्रम सृष्टि गर्दछ ।

सामान्य इन्द्रिय ज्ञानलाई परिभाषित वैज्ञानिक ज्ञान मान्न सकिँदैन ।  वैज्ञानिक ज्ञान वैज्ञानिक विधि, पद्धति अनि प्रणालीमा आधारित हुन्छ । सामान्य ज्ञानलाई सिस्टेमेटिक बनाउने विषयचाहिँ विज्ञान हो । यसैले अलबर्ट आइन्सटाइनले भन्नु भएको छ कि विज्ञान दिन प्रतिदिनका गतिविधिहरूका शोधन वा परिष्कृति (रेफाइनमेन्ट) मात्र हो । वस्तुज्ञानबिना वस्तुज्ञान अनि अनुभवजन्य ज्ञान सम्भव नभएझैँ अनुभवजन्य ज्ञानबिना विज्ञान सम्भव हुँदैन । दुवै वैज्ञानिक अनि दार्शनिक ज्ञानले वस्तु अथवा अनुभवजन्य ज्ञानलाई पूर्वकथित गर्दछन् ।