कालस्य वशगाः सर्वे न कालः कस्यचिद्वशः । अर्थात् सबै प्राणीहरू कालका वशमा छन्, काल कसैको वशमा छैन। मार्कण्डेय ऋषिले मात्र जानेको यस गुप्त मन्त्र मृत्युञ्जयस्तोत्रको एउटा अंश हो। पुराणहरूमा मृत्युलाई जितेका भनिएका एक महान् तपस्वी मार्कण्डेयका विषयमा वेदव्यासले मार्कण्डेय पुराण नै लेखेका छन्, जुन अठार पुराणहरूमध्ये एक हो।
संसारमा जन्म-मृत्युका विषयमा सबै मानिस जानकार छन् । कलियुगमा ईश्वरीय आयु एक सय वर्ष भनिएको छ। केहीले शतायु पार गरे पनि धेरैले अगाडि नै मृत्युवरण गर्नुपरेको छ। खासमा लेखनाथीय कविता-लयमा ‘राजा रङ्क सबै समान उसका वैशम्य गर्दैन त्यो’ अर्थात् राजा र प्रजाबीच पक्षपात नगरी आफ्नो धर्म निभाउने एकमात्र तत्व मृत्यु नै छ।
आफ्नो मृत्युको कल्पना कसले पो नगर्दो हो ? जन्मिएको दशौँ वर्ष त मानिसलाई जन्म-मरणबारे उत्ति ज्ञान नभएको हुँदो हो । नब्बे वर्ष बाँकी आयु बोकेर एउटा मानिस प्रत्येक पल मृत्युलाई सम्झिएर पलपल मरेपछिको सर्वस्व गुमाइलाई सम्झिएर झसङ्ग हुन्छ।
प्राचीनकालका सत्य, त्रेता र द्वापरसम्म मृत्युको पूर्वाभास वा ज्ञान मानिसमा भई सोहीअनुसारका अन्त्यकर्म गरी पुनः यस लोकमा फर्कनु नपरोस् भनी पूर्व तयारी गरी मर्न सक्ने प्रचलन थियो। केही महामनीषीहरूले आजभोलि पनि आफ्नो आसन्न मृत्युबारे भेउ पाएर आफन्तहरूलाई जानकारी गराएर सजिलै प्राण त्याग गरेको सुन्नमा आउँछ। आआफ्ना भाग्य र इहलोकमा गरेका पापपुण्यका आधारमा मानिसको अन्तिम गति तय हुने पूर्वीय मान्यताले ठाउँ पाएको हो।
काल, मृत्यु, निर्वाण, मुक्ति, मोक्ष, मुक्त र स्वतन्त्र अनेक नामले परिचित मृत्यु कहिले र कसरी आएर हामी आकाशको बाटो भएर स्वर्ग प्रस्थान गरौँला? हामी झस्किरहेका हुन्छौँ। आज गर्न नसकेका कुरा भोलि, भोलिका कुरा पर्सी र पर्सिका कुरा परपर्सि गर्न तम्तयार भई बसेका हामीलाई मृत्युले खबरै नगरी एकैछिनमा लिएर जान्छ।
आफ्नी प्रेयसी, माता-पिता, इष्टमित्र, बन्धु-बान्धवसँग गरेका अनेकन सम्झौताहरूको पूर्ति मानिसले कति प्रतिशत गर्न भ्याउँदो हो? गर्न नसकेका हजार कामहरू र देखिएका लाख सपनाहरू कहाँ विलीन भएर जाँदा हुन्? जन्मिएपछि मर्नैपर्ने मनुष्यलगायत प्राणीहरूको जीवन सधैँ रहिरहने हो भने पृथ्वीका कति भूभाग भरिएको हुनेथियो?
महिना दिनको अवकाशमा घर फर्किई दुलही भित्र्याएर अनेकौँ प्रतिबद्धतामा डुबेर विदेशिएको लाहुरेको बाकशी पुनरागमन कत्ति निष्ठुर सत्य हो? ईश्वरसँग शतायुको सम्झौता गरी गर्भगृहमा प्रवेश गरेको अजात शिशुदेखि जीवनभर पूरा आयु नबाँचेका मानिसहरूको जीवनको निर्धारक को? खटन कर्ता को? नागढुङ्गामा चालक निदाएर त्रिशुलीमा डुबेको अबोध मानिसको आयु घटाइदिने को? कोशीको पुलमा भट्भटे बिसाएर आफैँलाई जलप्रवाह गर्नसक्ने आँट दिने को? प्रश्न बटारिएको वेदान्तभन्दा अफ्ठेरो छ।
सिन्धुलीगढीनिर ट्रिपरसँग झण्डै ठोकिएर ‘धन्न बाँचिएको जीवन’ देखि साहुको ऋण तिर्ने कुनै उपाय नदेखेपछि मनमा उचालिएको ‘बेकार जिन्दगी’ सम्मको भाष्य निर्धारक को ? ठूलो पहराबाट खस्न लागेको सपनाबाट ब्युँझिएर ननिदाएको मानवको काँपिरहेको मुटुको गति कति भयानक छ !
एकदिन बाहिर सुतिरहेको अवस्थामा मूलबाटो हुँदै कालो वर्णको मानिस आउँछ। विशालकाय सो जीव बाटैबाटो नगएर म सुतिरहेकै ठाउँतिर आएपछि सातोपुत्लो उड्छ, होस हराउँछ। म कराएको सुनेर मध्यरातमा छिमेकीहरू पनि तर्सिन्छन् । उतिबेला मेरो रक्तचाप कति डिग्रीमा पुगेर थकान मेटाउँदो हो? प्रतिपल मृत्युका अभ्यासहरू गर्दै जीवन जानेको मानिस आखिरमा कहिल्यै नमरुँला झैँ घमण्ड गरिरहेको हुन्छ।
स्वर्ग-नर्क, जीवन-मरण, धर्म-अधर्म सबैका परिभाषाहरू रट्दै जिन्दगीले यो देह छोडिसकेकै हुन्छ। स्वर्ग जानेबेला युधिष्ठिरले कुकुरको साथ नछोडेजस्तै कसैलाई लिएर जान पाइन्छ भने कसलाई पो अँगालो हाल्दै स्वर्गद्वारीतिर लाग्नु हो? कति कठिन छ मर्नलाई पनि!
जन्म-मृत्युबारे कति कलम चलेका छन्। सत्य त्यही हो, आफ्नो दिन आएपछि सबैथोक निस्सार लाग्नसक्छ। कल्पना गरिएका, सपना देखिएका लाखौँ आकाङ्क्षाहरू कसरी पूरा गर्नेहोला? प्रत्येक मिनेट हाम्रो आयु घटिरहेको छ।
परिवार, समाज र राष्ट्रका अनेक आवश्यकताहरू र यहाँका असमझदारीहरू पूरा नगरी मरियो भने त साह्रो खिन्न मृत्यु चाखिँदो हो। भरखरै एक चौथाई आयु सकिए पनि हजार वर्ष बाँचेको अनुभूति भएको छ। जन्म-मरणको चर्खा कतै नबिगारी संसारका सात अर्ब मानिसलाई एउटै जाँतोमा पिसेर मृत्युमय पीठो तयार पार्ने अलौकिक क्षमता भएको शक्ति आखिर के हो? एक निमेष पनि हिसाबकिताब नबिगार्ने मृत्युलाई कुन वादले चलाइरहेको होला? जसो गरे पनि राष्ट्रवादिता ठान्ने हाम्रो समाजवाद वा मार्क्सवादलाई मृत्युको ठेक्का दिने हो भने कति हेरफेर हुन्छ?
मर्नै नपर्नेजस्तो समुद्र पुर्न तम्सिनेहरू, हिमाल तास्न पछि नपर्नेहरू, पहाड बोक्न हौसिनेहरूले पनि एक दिन मर्नैपर्छ। मङ्गल ग्रहमा बसाइ सरे नमरिएलाजस्तो, हिरोसिमाहरूमा अणु बम खसाल्दा अमर बनिएलाजस्तो, शहर पसेपछि काल टरेजस्तो, धरहराभन्दा अग्लो महलमा सरे भुइँचालो न आउलाजस्तो मृत्युसँग भाग्नेहरूले बाँसको डोलीमा चढेर एकदिन नगर परिक्रमा गर्नैपर्छ। उडिजाने खरानीमा आफूलाई रूपान्तरण गर्नैपर्छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।