मेरो पहिलो उपन्यास प्रकाशित भयो । म खुसी हुनपर्ने थियो; खुसी भएँ तर सायद कलाले खुसी मानेन । मेरो कला खुसी हुनपर्ने थियो । म के गरूँ खुसी भएन । म खुसीलाई बसमा राख्न चाहन्थे । मैले उत्सव मनाएँ । एक सानो पार्टी गरे । जम्मा ५५६ जना मानिस आएका थिए । खानेकुरा पनि थोरै थियो । खानाको प्लेटमात्र भरिभराउ थियो । त्यो मान्छेको प्लेटमा जो मेरो अगाडि थियो, त्यो प्लेटमा अड्याइएका थोरै तरकारी, थोरै पुलाउ, अचार अनि अटसमटस भएर रहेका धेरै मासुमा म कला देखिरहेको थिएँ । सकिने भए ऊ अझ त्यो माथि अरू केही राख्थ्यो होला । सायद अर्को परिकार भए उसले राख्ने पनि थियो । भनेँ त पार्टी सानो थियो । मेरो प्लेटमा खासै केही थिएन । खाएकै थिइनँ सफा गर्नेले उठाएर लगेछ । म त्यो मानिससँग कुरा गरिरहेको थिएँ । उसको मोटो शरीरको म सन्तुष्टि लिइरहेको थिएँ । कुनै अनर्थ नलागोस् । उसका शब्दमा देखिएको तृप्तिबाट म खुसी खोजिरहेको थिएँ । ऊ सायद मलाई मेरो उपन्यास राम्रो छ भनेर खुसी दिन चाहन्थ्यो । म पनि खुसीलाई जित्न प्रयास गर्दै थिएँ । सायद उसलाई बलात्कार गर्न उद्धृत थिएँ; ऊ आउन मानिरहेको थिएन तर म जबरजस्ती गरिरहेको थिए ।
वाह ! कलाले खुसीलाई बलात्कार गर्ने । समलिङ्गी बलात्कार । के यो बलात्कार पर्दामा देखाइए तपाईँ यसको सन्तुष्टि लिन सक्नुहुन्छ ? कि लिइसक्नुभयो ? पर्दामा देखाइएका दुई स्त्री एक अर्कामा समाहित भइरहेका छन् । कसले कसलाई यौन गर्दैछ ? को माथि छ ? को तल छ ? ती दुई स्त्रीमा पुरुषको रूपमा चलेको को छ ? कि दुवै पुरुष हुन् ? कि दुवै महिला हुन् ? के स्त्री र पुरुष दुई हुनैपर्ने हो ? कि तपाईँ दुवै पुरुषको कल्पना गर्दै हुनुहुन्छ । नआत्तिनुस् । आजको समाजमा त्यो पनि उदाङ्गो हुँदैछ ।
अन्तमा कलाको जित भयो । उसको प्रमाण तपाईँ पढिरहनुभएको छ । त्यो मान्छे पनि खुसी भयो । उसको प्लेट रित्तिएको थियो । ऊ बोल्यो — राम्रो छ । म खिस्स हाँसेँ तर आँखा हाँस्न सकेनन् । उसको पनि आँखा मेरै जस्तै थियो । ऊ खुसी थियो किनकि उसको प्लेट रित्तिएको थियो । दुःखी थियो, किनकि उसले मेरो किताब पढेको थिएन । पढेको भए उसको आँखा हाँस्न पर्ने थियो । म अझै आफ्नो कलामा अभिमान घुसाउन प्रयत्नमा लागेँ । उसले मेरो किताब पढेको पनि त हुन सक्छ । मन खिस्स भयो ।
म पनि कहाँ कम थिए र ? भावसँग व्यवहार मिलाउनुपर्दो रहेछ । मैले मिलाए । यहाँ सहजीवन (symbiosis) थियो । भाव र खुसीको द्वन्द्वमा व्यवहार छुट्याउन आएको थियो । “मेस्सी र रोनाल्डोमा को उत्कृष्ट नभन; सबसे उत्कृष्ट म हुँ ।” पेलेले भनेका थिए । व्यवहार यहाँ सर्वोत्कृष्ट भएर आयो । छोरीको जन्मदिन परेको थियो । ऊ खुसी थिई । उसको नाममा दियो बलेको उसलाई उपहार आएको खुसी अभिव्यक्त गर्न सक्ने भैसकेकी थिई । उसलाई जीवनले त्यो सोच दिइसकेको थियो नत्र एक वर्षको जन्मदिन मनाउँदा न उसले आफैँ केक काटेकी थिई, न उसले ताली बजाएकोमा रमाइलो मानेकी थिई तर म आज त्यो समय सम्झेर त्यति खुसी छैन । होइन, मेरो छोरीका लागि केही गरेकोमा म खुसी छु । केक काटेकाले हो त्यतिबेलाको समय सम्झेर दुःखी भएको । मैले पश्चिमा सभ्यता अनुशरण गरे । केक काट्ने मेरो सभ्यता होइन । मेरो सभ्यता जन्मदिनमा दियो बाल्ने रहेछ । यो वर्ष हामीले उसको लागि सुरुमा दियो बाल्यौँ । ऊ दियो बाल्दामा खुसी थिई । केक पनि काटियो । मैले रोक्न सकिनँ । सबको सोच मेरो जस्तो हुँदैन । आजकाल खुसी आगन्तुक भयो । अङ्ग्रेजीबाट लेराएको ।
बिहे पनि अङ्ग्रेजी भयो । धन्न आजकाल बिहेमा दौरा सुरुवाल लगाउँछन् । ठिक छ । नत्र त सर्ट र पाइन्टमा पुगिएको थियो । पछि त्यसमा कोट पनि थपियो । दुलाहा अङ्ग्रेजी देखिएकोमा गर्व गर्थ्यो । आजकाल हुनेले दौरा लगाउँछन् । ठिक छ । हो दौराको महिमा गाएको हुँ मैले तर त्यो भन्दा बढि आफ्नो सभ्यताको महिमा गाएको हुँ । म ब्राह्मण हुँ भन्दै हिँडेको छु । जनै नलगाएर, राँगाको मासु खाएर, रक्सी धोकेर मेरो कर्मले मलाई शुद्र बनाएको छ; तर कोहि आऊ, शुद्र भन्ने ताज पहिरिएर जन्मेका कोही आऊ, ब्राह्मण बन । तिमी बिहान शुद्र भएर जन्मेर, दिउँसो वैश्य अनि साँझ क्षेत्री बन, रातमा ब्राह्मण बन या तिमी दिनभर शुद्र बन । तिम्री आमा दिनभर वैश्य बन्नेछिन्, तिम्रा बाउ क्षेत्री बन्नेछन्, तिम्रा हजुरबा ब्राह्मण बन्नुहोला ।
स्वर्ग फटाहा छ । उसको फट्याइँ बुझिएर होला, ऊ बैकुण्ठ लोकबाट पर छ । मोक्षको दुनियाँबाट पर छ । स्वर्गमा पनि छलकपट छ । त्यहाँका पनि छलकपटी छन् । सबसे ठूलो छल त यो छ कि, उनीहरू मानिसलाई स्वर्ग दिलाउने आशा दिलाउँछन् । सायद राक्षसहरूलाई पनि त्यो आशा देखाएका थिए । कुरा बुझेर राक्षसहरू विद्रोह गर्छन् । ठूलो परिश्रम गर्छन्, तपस्या गर्छन्, पूजा गर्छन् र ईश्वर भेट्टाउँछन् । आफ्नो शक्तिले आफैँ देवता बन्न चाहन्छन् र कर्म गर्छन् । सबैले फल पाउँछन् भन्ने कहाँ छ र ? केही कर्म गर्दागर्दै यस्तो दोसाँधमा पुग्छन्, आफ्नो सफलताका लागि राम्रो र नराम्रो छुट्याउने समय राख्तैनन् । मानिस कहिलै व्यस्त हुँदैन ? आफ्नो आफ्नो प्राथमिकतामात्र हो ।
सायद राम्रो र नराम्रोबिचको डोरी निकै पातलो छ । सायद डोरी माटो थियो । त्यो डोरीको कोलब्रा (penumbra) धेरै थियो । कोलब्रालाई आफ्नो फाइदा अनुसार व्याख्या गर्दागर्दै कहिले अब्रामा पुगेर पूर्णग्रहण लागेको थाहै हुँदैन । सायद त्यो अब्राको ग्रहण त्यो पातलो डोरी हो । सत्यलाई आफ्नो पक्षमा मोडाउन सकिन्छ । झुट बोलेको छु तर मेरो झुटले कसैलाई हानि गरेको छैन । मलाई थाहा छैन साँच्चै त्यो झुटले कसैलाई हानि नगरेको तर म त्यो भावलाई यथार्थ मानिरहेको छु । देवताहरूले त्यस्तो गरेका छन् । आफूले जितेका धेरैलाई राक्षस बनाएका छन् । कोही स्वर्ग जित्नेलाई पछि फेरि सत्ता आफ्नो हातमा परेपछि राक्षसको ट्याग भिराइदिएका छन् । कहिले सोच्छु, के हामी राक्षसलाई त देवता भनेर पूजिरहेका छैनौँ ? अर्को समानान्तर दुनियाँमा के थाहा कोही राक्षसलाई पुजिरहेका छन् कि ? जे देखिन्छ त्यो नहुन सक्तो रहेछ । जित्नेले इतिहास आफ्नो पक्षमा पारेर लेख्छ । वेद उपनिषद् पनि काल्पनिक हो । होला सत्य घटनाको कल्पना । हो यसले समाजलाई सहि दिशामा डोऱ्याएर गएको छ । सत्यलाई उठाएको छ । जीवनलाई प्रोत्साहन दिएको छ तर यो पनि त होला कि जित्नेलाई पूजनिय बनाएर लेखिएको छ ।
म रामलाई पूजा गर्छु, कोही रावणलाई पूजा गर्लान् । रावण पनि विद्वान् थिए । उनको विद्वत्तादेखि शिव भगवान्समेत प्रसन्न भएका थिए भने वाल्मीकि को हुन् जसले रावणलाई नराम्रो भनेर प्रस्तुत गरुन् या उनले नराम्रो बनाएका थिएनन् । उनको लेखको व्याख्या गलत गरियो । रामको कुटिलतालाई हामीले नजरअन्दाज गऱ्यौँ कि ? विभीषणको प्रयोग अनि सुग्रीवको देशमा भाँडभैलो हामीले व्याख्या गर्न चाहेनौँ । सायद रावणको राममा समाहित गराउन चाहने इच्छा हामीले बुझेनौँ कि ? कि रावणलाई मारेर राम, राम भए नत्र अरू कुनै ऐरेगैरेलाई मारेका भए उनी राम हुँदैनथे । केवल राम्रामात्र हुने थिए । मर्यादा पुरुषोत्तम त उनी पहिलेदेखि नै थिए । लङ्कालाई जित्ने त उनी पछि भए । सायद रावणलाई मारेर उनी भगवान् भए ।
धुलिखेल अस्पताल
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।