यो यौटा पुरानो सहरको अजम्बरी सडक हो । यो सडकको साक्षी गवाही भन्ने हो भने पूर्वतर्फको  मन्दिर र पश्चिमतर्फको खानेपानीको धारा छन् । हुन त यी सबै प्राकृतिक नभएर कृत्रिम प्रयासका उपज हुन् तर पनि यसका जीर्णरूप देख्दा कुनै प्रलयकालमा उत्पत्ति भएर असरल्ल मिल्किएको पत्थरझैँ भान हुन्छ । अमुक भए पनि साक्षात् समाजको प्रवक्ता छन् यी निर्जीव संरचनाहरू । हरघडी हरक्षण यिनीहरू आफ्नो गाथा, कथा, व्यथा, महिमा, मान, मर्यादा, पीडा र प्रशस्ति अकलिरहेछन् ।

सहरको बिचमा लम्पसार पर्नु र आफूमाथि जेसुकै हिँडे कुदे पनि एक फाँको धुलो उडाएर फुस्स हाँस्नु यसको नियति हो । वर्षा झरीमा हिलाम्मे भएर चिप्लेटी खेलाउनु यसको विशेषता हो । यसले प्रतिवाद गर्न जानेन, भेदभाव गर्न सिकेन, रुष्ट र भ्रष्ट भएर कसैसँग मोहभङ्ग गरेन । एकनास प्रवेश खुलै छाडी स्वागतमा तल्लीन भयो । कसैले गाली गरे, कसैले तारिफ गरे, यो न त कहिले दङ्ग पऱ्यो न त कहिले छक्क पऱ्यो न त कसैसँग रिसाएर ठुस्स पऱ्यो ।

छेउमा रहेको मन्दिर आजसम्म एकनासले घण्ट बजाइरहेछ । विभिन्न ध्वनि तरङ्ग शून्यमा बिलाएर यसले कुन युगको आवाज बोकेन र ? कति इतिहासका विद्रोहहरू घन्कायो । कति दमनका स्वरसँगै मच्चियो । कतिका मनका भाकलसँगै मिसिन पुग्यो, कतिका स्वागतमा त्यही एकोहोरो झनझने स्वर गुन्जियो । आज पनि त्यत्तिकै व्यस्त रङ्गीन संसारसँगै कोलाहलको स्वर थपेको छ । मनमा शान्ति, हृदयमा सरलता र आध्यात्मिकताले विभोर भक्तहरूको मुक्तिमार्गमा सहयोगी बन्दै ईश्वरको ढोकामा यसले नै प्रथम सूचना दिइरहेको छ । व्यक्तिका मनभित्रका इच्छाहरूलाई सफलीभूत गराउन यसले प्रणको साक्षी बसिरहेको छ । नैतिकता र मानवताको अपार कुहिरामा यसले प्रायश्चितकर्मीलाई सहयोग गरेको गरिरहेको छ । कसैले अदम्य दुस्साहस गरेका कुकर्मलाई पनि प्रथम स्पर्शबाटै चेतनासम्म परिवर्तन गराइदिन र सन्मार्गमा ल्याउन कहिल्यै चुकेन । व्यभिचारीका मनोदशामा हलचल गराई भोलिपल्टै उकुसमुकुस मनस्थितिलाई मन्दिरको दृष्य र घण्टको स्पर्शले आकर्षण गराइदिन्छ । धर्मको महिमा बुझाउने र व्याख्या गर्ने काममा अलौकिक तवरले लागिपरेकै हुन्छ ।

समयको यात्रा क्रममा आज यसको कर्म विपरीत हुन थालेको आभास गरिँदै छ । व्यभिचारी र अहङ्कारीमात्र हैन, चाकडी र चाप्लुसीको उल्टा पाठ पढाउन बाध्य भएको छ । दुश्चरित्र पखाल्न र फ्याँक्नको सट्टा झन् भित्रै छोपेर गुम्स्याउन थालेको छ । नास्तिकका स्वार्थमा आस्तिकलाई पक्षपातपूर्ण व्यवहार गर्न पुगेको छ । मनभित्रको शुद्धता केलाउने र जाँच्ने फुर्सद यसलाई छैन । बाहिरको झिलिमिली क्षणभरको मीठो प्रसाद र रोजरोजको चाकडीयुक्त दर्शन भेटमा व्यस्त छ । पुष्प, सुगन्ध, शान्त र निर्मलको पूजा सामग्रीको बदला कृत्रिम मिसावट र रुपैयाँको जालसाँजीयुक्त  द्रव्यभेटीमा लालायित हुन पुगेको छ । लक्ष्य हराएर बिचबाटैमा मनस्थिति गुमाउने उल्लु स्वाँठहरूमा विग्रह र अहङ्कारको मनोरोग हुर्काइदिन पुगेको छ । त्रिकालदर्शी भगवान्लाई आफ्नो वशमा लिएर कोठाभित्र बन्द गर्ने र चौकिदारी गर्नुपर्ने हास्यस्पद स्थितिको सिर्जना गराउन पुगेको छ । व्यक्ति व्यक्तिको घटनाक्रमहरूलाई चित्रगुप्तसमक्ष पठाउन असमर्थ छ किनभने यसको बगलमा रहेको सडकमा मान्छेको पदचाप यति बढेको छ कि स्त्री र पुरुषको भेद समेत गर्न नसक्ने भैसकेको छ ।

आदिकालदेखि अरूको भलाइ र सुविधाको लागि आफ्नो आङ्ग तनक्क तन्काएर लम्पसार परेको सडकको आफ्नै खालको पहिचान नभएको होइन । सुरमा आफ्नो दायाँ र बायाँका विभिन्न रुखपात, फूल बगैँचा, सुन्दर वाग-चउर र हराभरा खेतबारीले शोभायमान हुँदा यसको तुलना पहाडको उबडखाबड गोरेटोसँग हुने गर्थ्यो । सन्ध्याकालमा रमाएका केटाकेटी, छड्के नेत्र कटाक्षका सिकार-सिकारी युवायुवती, थाकेका कृषकहरू र राज्यका पहरेदार सिपाहीहरू घर फर्कने सटरपटरमा बुङ्ग धुलो उडाउँदै रमाएका दिनहरू निश्चय पनि रमाइला थिए होलान् । अझ त्यसमाथि व्रतका दिन मन्दिर धाउने श्रद्धालुहरू, बिहान बेलुका पानी भर्न जाने पँधेर्नीहरूको मिठो ठट्टा र हाँसोका ताँतीहरूले यसको शोभा पक्कै पनि बढाएको थियो होला । नियति क्रमसँगै यसका दिनहरूमा विभिन्न आरोह-अवरोहहरू भए । कहिले एक हुल परेड खेल्ने सिपाही कुदे, कहिले युद्धको घमासानमा भागाभाग मान्छेहरू कुँदे, कहिले राजा महाराजाका सवारी लस्करहरू कुदे । कहाँ, कहिले, कसरी र को हिँड्यो भन्ने कुरा यसको छातीमा परेको प्रत्येकको निसाना पदचिह्नले बताउने छ तर पहिलेका पदचिह्नलाई पछिका पदचिह्नले मेटिदिने भएकोले भूतकालभन्दा वर्तमान नै बढी व्यवहारिक र महत्त्वपूर्ण भएर उभिएको छ ।

यस सडकको आफ्नो इतिहासमा थुप्रैपटक मर्मत गरियो । थुप्रैपटक यो बुढो भयो, फेरि जवान हुँदै फेरि बुढो हुँदै गयो । आधुनिकता र विकाससँगै यसका जिम्मेवारी र दायित्वहरू पनि थपिँदै जान थाले । अब त प्रष्ट पदचिह्न नै नरहने गरी चक्रीय सवारी साधनहरू गुड्न थाले । यसको बनावटमा पनि आफ्नै खालका समायानुकूल परिवर्तनहरू भए । मान्छेका स्वार्थहरूका लागि पहिले इँटा छापिएका सडकमा अहिले कङ्क्रिटले कालोपत्र गरी बलियो पारिँदै छ । जे जसरी हुन्छ सजिलो र सुविधाको नाममा यसलाई प्रयोग गरिँदैछ । मर्मत गरिँदै जाने क्रममा यसले आफ्नो पुरानो स्वरूपलाई मेटिसक्यो र बिल्कुल नयाँ रूपमा देखिन थालेको छ ।

सिङ्गो समाजको प्रतीक भएर रहेको यस सडकलाई विभिन्न योजना, आयोजनाले धर्मगुरु र राजनेताले समाजलाई हस्तक्षेप गरेझैँ हस्तक्षेप गरिरहेका छन् । सडक विभाग, खानेपानी, ढलनिकास तथा विद्युत् र दूरसञ्चारहरू यसलाई पालैपालो हस्तक्षेप गरिरहेका हुन्छन् । कहिले खन्छन्, कहिले बनाउँछन् । समाजमा कहिले एकखालको चेतना र विश्वासले साम्राज्य खडा गर्छ भने कहिले अर्कै खालको चिन्तन र आस्थाले कब्जा गर्दछ । एउटाको प्रभुत्वलाई अर्काको प्रभुत्वले मिचिदिन्छ, छोपिदिन्छ । इतिहासले फेरि एकपटक उत्खनन गर्छ र आफ्नै निरन्तरताको मालामा राखिदिन्छ । जसले इतिहासको मालामा बस्न पाउँछ उसलाई अँध्यारो कुनाबाट पनि संसारको मस्तिष्कले अध्ययन गरिरहेको हुन्छ । जो सडक पेटीमा असरल्लै परी हेर्दछ उसलाई वर्तमानले समेत ध्यान दिँदैन । टिप्पणीकारका टिपाइमा पर्न नसक्ने सडकका उत्तेजक विचारहरूलाई कसैले गन्तीमा समेत पार्न सक्दैनन् । यही प्रतिस्पर्धात्मक संरचनाभित्रको विश्व जीवजगत् विभिन्न खालका प्रतिस्पर्धात्मक सङ्घर्षमा सामेल हुनुपर्ने बाध्यात्मक नियति रहेको छ । प्रत्येकको प्रतिस्पर्धात्मक कुदाइमा सडकले साथ दिनुपरेको छ ।

अचल भएर पनि चलायमान हुन सक्नु यसको व्यवहारिक पक्षसँग तुलना गरिएको ठहर्छ । शृङ्गारले युक्त गराइदिन सके यसकै महत्त्व बढ्छ  र स्वर्गीय अनुभूति दिन्छ । अव्यवस्थित छाडिदिए नरकको संज्ञा पनि पाउँछ । आजको बेरोजगार युवाजस्तै सिल्ली हुन पनि सक्छ र इलमी र स्वाभिमानी पनि हुन सक्छ । सिङ्गो समाजको तौर तरिकामा भर पर्ने भएकोले सडकको आफ्नो भन्ने केही हुँदैन । मानिसको भलाइका खातिर सडकले आफ्नो अस्तित्व बचाइरहेको हुन्छ ।