परापूर्व कालदेखि नै हाम्रो समाजमा रक्सीको महत्त्व निकै छ । हाम्रा प्राचीन धर्म ग्रन्थहरूमा पनि सोमरसको रूपमा रक्सीको उल्लेख गरेको पाइन्छ । हाम्रो रक्सीको महत्त्व देव लोकदेखि पाताल लोकसम्म फैलिएको छ । देव हुन् कि दैत्य, राजा हुन् कि रङ्क सबैले रक्सी पिउँछन् । स्वर्गका राजा इन्द्रले समेत रक्सीको नशामा मस्त भुलेर अप्सराको नाचमा लठ्ठिएका कथाहरू पढेर हामी हुर्केका हौँ । हाम्रो समाजमा कतिपय धर्म र संस्कृतिका कामहरू रक्सीबिना अपुरो रहन्छन् तर यति महत्त्वपूर्ण पेय पदार्थलाई खै किन हो, हाम्रो समाजका केही समूहमा चाहिँ घृणाको दृष्टिले हेरिने गरिएको छ । नेपाली समाजमा मुख्य गरी हिन्दू धर्मको उच्च जाति भनिने जमातमा रक्सी पिउनुलाई राम्रो मानिदैन । म पनि रक्सीलाई त्यस्तै घृणाको दृष्टिले हेरिने समाजमा हुर्के बढेको हुँ ।

रक्सी भनेको हाम्रो घरमा घृणा, लाज र बेइज्जतको वस्तु हुन्थ्यो । यस्तो लाग्थ्यो आमाका अगाडि रक्सी भन्ने शब्द नै उच्चारण गर्न वर्जित थियो । त्यही वातावरणमा हुर्केको हुनाले सानैदेखि रक्सीप्रति नकारात्मक धारणा बन्यो तर जति नियन्त्रण गरिन्छ, त्यसमा उति नै दिलचस्पी हुँदो रहेछ । मेरो बाल मस्तिष्कले पनि रक्सी पिउँदा कस्तो हुँदो रहेछ त, एकपटक त चाख्न पाए हुँदो हो भन्ने सोच्थ्यो तर वातावरण थिएन । माघीमा थारू गाउँमा गएर अरू साथीहरूले मालुकाको बौतामा सेतो, गुलियो र सुगन्धित जाँड सुटुक्क पिउँदा म चाहिँ आमाको डरले पिउने आँट गर्दैनथेँ । हुन त जाँडप्रति आमा रक्सी जति नकारात्मक हुनु हुँदैनथ्यो । मैले एक दुई घुट्की पिइहाले पनि खासै समस्या हुँदैनथ्यो होला तर मकै कुहेर बनाएको फोहर चिजको झोल पनि के पिउनु भनेर घिन लागेर मैले त्यो बेला जाँड पिइनँ । अलि ठूलो भएपछि रक्सी पिउने इच्छा चाहिँ तीव्र हुन थालेको थियो तर घर छोडेर जान नपाएकोले त्यो मौका कहिले मिलेन । कहिले मिलिहाले पनि कतैबाट थाहा भैहाल्छ कि भन्ने डरले गर्दा मुख्मा हाल्ने आँट आएन ।

डा. राजु अधिकारी

जब उच्च शिक्षाका लागि घर छोडियो, पिँजरामै जन्मी हुर्केको सुगा जङ्गल प्रवेश गरेजस्तै स्वतन्त्र भइयो । त्यहाँ मलाई चिन्ने कोही थिएन त्यसैले मैले आफूले गर्न चाहेको काम गर्न र आफूलाई मन परेको खाना खान मलाई रोक्ने कोही भएन । त्यहाँ मैले आफ्नो स्वतन्त्रताको भरपुर प्रयोग गरेँ । सबभन्दा बढी प्रयोग गरेको क्षेत्रमध्ये रक्सी पिउनु पनि एक थियो ।

म छात्रावासमा बस्थेँ । त्यहाँ रक्सी नपिउनु भनेको साथीहरूको अगाडि गवार हुनुजस्तै मानिन्थ्यो । ‘सबैले पिएका छन् भने मैले किन पिउन नहुने’ भन्ने भावना मनमा आउँथ्यो र पिउनका लागि थप ऊर्जा मिल्थ्यो । शुक्रबार आउनु हुँदैनथ्यो, साँझ सात बजेदेखि थरिथरिका रक्सीका बोतलहरू रित्तिन सुरु गर्थे । छात्रावासमै फिटान भैसकेपछि हल्लिँदै राति एघार बजे कहिले बार त कहिले डान्स क्लबमा पुग्नुपर्थ्यो । अरू दिन कक्षा गएजस्तै शुक्रबार राति रक्सी पिउनु अनि बार र डान्स क्लबमा जानु हाम्रो छात्रावासमा अघोषित नियमजस्तै थियो । सुरु सुरुमा अलि अप्ठ्यारो लागे पनि बिस्तारै मैले पनि अरू साथीहरूसँग लागेर शुक्रबारको त्यो नियमित कक्षामा हाजिरी जनाउन सुरु गरेँ । जवानीको बेला त्यो भन्दा रमाइलो के नै चाहियो र? म त पिँजराबाट उम्केको सुगा हैन राजाको फुत्केको हात्तीभन्दा पनि स्वतन्त्र भएको थिएँ । त्यही स्वतन्त्रतालाई मैले भरपुर उपयोग गरेँ ।

रक्सी पिउन त सुरु गरियो तर मेरो दुष्ट जिब्रोले कहिले पनि रक्सीको स्वाद मिठो मानेन । मात्नकै लागि भए पनि मैले मीठो नलाग्दा नलाग्दै मुख बिगारेर भए पनि रक्सीका सिसीहरू रित्याउँथे । केही हप्ता मै मेरो रक्सीप्रतिको ‘प्रेम’ घृणामा परिणत भयो तर रक्सी नपिए साथीहरूको अगाडि वन मान्छेजस्तो भइने डर पनि थियो । अरू केही समय त्यसैगरी नमिठो माने पनि जबर्जस्ती पिएँ । त्यसरी कति दिन आफैँलाई छल्ने भनेर मैले साथीहरूलाई आफ्नो समस्या राखेँ । मेरो समस्या थाहा पाएपछि साथीहरूले वाइन पिउने सल्लाह दिए- निकै सहयोगी साथीहरू थिए, रक्सी पिउनका लागि मेरा हरेक समस्याको समाधान जुराउने तर विद्यार्थी परियो, राम्रो वाइन किन्ने पैसा कहाँ हुन्थ्यो र? एकदिन अलि सस्तो खालको वाइन ल्याएर पिएको त सर्बत खाएको भन्दा पनि गुलियो थियो । तैपनि अन्य रक्सीभन्दा मिठै थियो । त्यो दिन अरू रक्सी छोडेर वाइनतिरै लाग्ने मैले निर्णय गरेँ तर सस्तो बेसाहाले पखाला लाग्छ भनेझैँ पहिलो दिन वाइनले मातेर सुतेको म अर्को दिन उठ्दा घाँटी समातेर बोल्न पनि नमिल्ने भएको थियो । त्यसैबाट ज्वरो पनि सुरु भयो र एक हप्ता थला परेँ । त्यो बिरामीको कारण त्यही गुणस्तरहीन वाइन नै थियो । त्यो घटनाले गर्दा मलाई वाइनप्रति पनि वितृष्णा जगायो र ‘अब वाइन त छुँदा पनि छुँदिनँ’ भनेर प्रण गरेँ ।

वाइनले पनि काम नबनेपछि मेरा सहयोगी साथीहरूले अर्को उपय सुझाए- थारै पिउने तर कडा खालको राम्रो रक्सी पिउने । त्यति भएपछि थोरैले पनि काम गर्‍यो । त्यसैले रक्सीको मात्रा ४०% भन्दा पनि माथि भएका ह्विस्की, ब्रान्डी या भोड्कातिर लागियो । ती कडा खालका रक्सी पिउँदा मेरो अन्न नलीभित्र आगो लागेकोजस्तो हुन्थ्यो । पानी मिसाएर पिउँदा पनि निकै पीडा हुन्थ्यो । त्यसको अलाबा त्यो दुई वर्षमा मेरो अनियमित आहारविहारले गर्दा मेरो पेटमा अल्सर भैसकेको रहेछ । त्यही अल्सरले गर्दा पेटमा रक्सीको थोपा पर्नासाथ मलाई असह्य पीडा हुन थालेको थियो तर मलाई त्यसको कारण थाहा थिएन । जेनतेन केही हप्ता पीडा सहेरै भए पनि मैले पिएँ तर त्यसले पनि लामो समयका लागि काम गर्लाजस्तो लागेन । डाक्टरले अल्सर निको नहुँदासम्म रक्सी छुन पनि नहुने चेतावनी दिएपछि मेरो पिउने यात्रामा ठेस लाग्यो ।

नरम पिए पनि नहुने, कडा पिए पनि नहुने, सादा पिए पनि नहुने, गुलियो पिए पनि नहुने, मलाई आफ्नै शरीरदेखि रिस उठ्यो । मेरो शरीर रक्सी पिउनका लागि बनेकै रहेनछ भन्ने निचोडमा म पुगें र रक्सी सुरु गरेको २ वर्ष पनि नबित्दै म रक्सी छोड्न बाध्य भएँ । साथीहरूले मलाई सहयोग गर्न अन्य धेरै उपायहरू पनि सुझाएका थिए तर ती कुनै पनि उपायले काम गरेनन् । रक्सी छोडेपछि मसँग साथीहरू रिसाए, धेरै साथीहरू छुटे तर अरूले जे भने भनून्, जस्ले छोड्ने हुन् छोडून् शरीरले नै लिन नमानेपछि के गर्नू भनेर मैले रक्सी चटक्कै छोडेँ । आज भोलि साथी भाइसँगको भेटघाट होस् या अफिसको जमघट होस् या अन्य भोजहरूमा होस् मैले विभिन्न बहाना बनाउँदै रक्सीबाट आफूलाई बचाउँदै हिँडेको थिएँ ।

मलाई रक्सीमा ध्यान जान छोडिसकेको थियो । रक्सी छोड्नु भनेको राम्रै त हो भन्ने विचारले मैले आफ्नो निर्णयप्रति गर्व गरेको थिएँ तर मैले धेरै वर्षपछि मात्र थाहा पाएँ- मेरो त्यो निर्णय गलत रहेछ ।

रक्सी पिउन छोडेपछि मेरो अल्सर पनि निको भयो । म बार र डिस्को क्लब जाने कर्म पनि रोकियो । एक दुई पटक गएको थिएँ तर रक्सी नपिएर बार जाँदा शरीरको एक तिहाइ भागमा मात्र वस्त्रले छोपेका नशामा लठ्ठिएका केटीहरू देख्दा उनीहरूलाई हैन आफूलाई लाज लाग्थ्यो । रक्सीको नशामा उनीहरूसँग टाँसिएर गफ गर्न नडराउने म उनीहरूसँग बोल्ने आँट पनि गर्दैनथेँ । त्यो सबै गर्न मन पनि लाग्दैनथ्यो । बारमा पुगेपछि एउटा कुनामा गयो, एउटा कोकको गिलास पकड्यो अनि रङ्गीचङ्गी बत्तीहरूमा कानै फुट्ने गरी घन्किएका गीतमा संसार भुलेर नाचिरहेका युवा युवतीहरूलाई नियाल्यो र टोलायो । मलाई त्यो जमात पागलहरूको जमातजस्तो लाग्थ्यो र ‘के गरिरहेका होलान्?’ भनेर म एल्लै हाँस्थेँ । त्यसपछि म बार जान पनि छोडेँ । साथीहरूले पनि पहिलेजस्तो महत्त्व दिन छोडे ।

म कागको हुलमा बकुल्लोजस्तो एकलकाँठे हुन थालेँ तर रक्सीले मलाई हानि मात्र गरेको चाहिँ हैन । रक्सी पिउनुका धेरै फाइदाहरू पनि छन् । मलाई थाहा छ, अघि पछि मुसो भए पनि रक्सी पिएपछि म शेर बन्थेँ । त्यसबेला मलाई अदृष्य श्रोतबाट संसारभरिको ज्ञान प्राप्त हुन्थ्यो । अघिपछि निकै कम बोल्ने लजालु स्वभावको म रक्सी पिएपछि निर्धक्कसँग धारा प्रवाह गफ दिन सक्थेँ । त्यसबेला मैले आफूलाई संसारकै सबभन्दा विद्वानजस्तो ठान्थेँ । अघिपछि अङग्रेजी बोल्न अकमकिने म त्यो बेला अङग्रेजी मातृभाषा नै हो भन्नेजस्तो गरेर खरर बोल्न सक्थेँ । त्यतिमात्र हैन रक्सी पिएपछि मैले जसलाई जति गाली गरे पनि, जे भने पनि छुट थियो । रक्सीले मातेपछि मैले बाटैमा पिसाब फेरे पनि भयो, गाडीमै वान्ता गरे पनि भयो, कसैले केही भन्दैनथे, सबै रक्सीले छोपिहाल्थ्यो । न लाज, न डर, न धक । रक्सी पिउँदाको जिन्दगी निकै आनन्दको जिन्दगी थियो ।

त्यस्तो शक्तिशाली, त्यस्तो बहाना बाजी गर्न सक्ने, त्यत्रो दिव्य ज्ञान दिन सक्ने, खरर अङ्ग्रेजी बोल्न सिकाउने रक्सी बिचमै छोडेर मैले ठूलै गल्ती गरिरहेको छु भन्ने ज्ञान मलाई ढिलै भए पनि मलाई आज प्राप्त भएको छ । हुन त केही वर्षअगाडि वैज्ञानिकहरूले रक्सीले शरीरलाई कुनै पनि रूपले फाइदा गर्दैन, थोरै पिउनुस् या बढी पिउनुस्, रक्सी भनेको शरीरका लागि विष नै हो भन्ने निष्कर्ष निकालेका रहेछन् तर मलाई लाग्छ ती वैज्ञानिकहरू पक्कै पनि रक्सीको महात्म्य नबुझेका मजस्तै अल्पज्ञानी हुनुपर्छ । सबैको दुःख हरण गर्ने, कमजोरलाई बलियो बनाउने, अज्ञानीलाई ज्ञानी बनाउने, सानोलाई ठूलो बनाउने रक्सी वास्तवमा विष हैन अमृत हो भन्ने उनीहरूले आफैँ पिएर प्रयोग गरे भनेमात्र थाहा पाउनेछन् ।

आजभोलि जताततै रक्सीकै दबदबा छ । हाम्रो जस्तो रक्सीलाई घृणा गर्ने समाजमा समेत रक्सी पिउनु भनेको ठूलो मान्छे हुनु भैसकेको छ भने अन्य समाजमा झन् यसको महत्त्व कति होला सजिलै अनुमान लगाउन सकिन्छ । साथीभाइ जमघटमा रक्सी, नेता जम्मा हुँदा रक्सी, विदेशी पाहुनालाई स्वागत गर्न रक्सी, धार्मिक काममा त झन् ‘होली वाइन’ भनिने विशेष रक्सी । उपहारमा रक्सी, घुसमा रक्सी, आफ्नो काम बनाउन रक्सी, साथी बनाउन रक्सी । आजभोलि रक्सी पिउनु भनेको ठूलो मान्छे हुनु हो । रक्सी नपिउने मान्छेलाई आज भोलि बाह्य ग्रहबाट झरेको हो कि जस्तो गरेर अचम्मको नजरले हेरिन्छ ।

त्यसैले मलाई पनि अब मलाई एकलकाँठे हुनु छैन, मलाई पनि ठूलो मान्छे बन्नु छ, रक्सी पिएर मन नपरेको मान्छेलाई तथानाम गाली गरेर ऊसँग बदला लिएर आफ्नो मन हलुको बनाउनु छ, समाजमा ठूला ठालुसँग सङ्गत गर्नु छ, अङ्ग्रेजी फरर बोल्नु छ, आफूलाई छेउ टुप्पो थाहा नभएको विषयमा धारा प्रवाह प्रवचन दिनु छ । त्यसै बरु जिब्रोले दुःख पाओस्, बरु कलेजोले सास्ती झेलोस्, बरु फेरि एक पटक अल्सर होस्, बरु परिवारसँग झगडा नै किन नपरोस् तर मलाई फेरि रक्सी पिउन मन लागेको छ ।