म केही लेखूँ भनेर बस्छु । वरपरको कथा व्यथा लेखूँ कि आफ्नै? प्रश्नले मथिङ्गल हान्छ घरिघरि । मेरा व्यक्तिगत जीवनका उथलपुथल पोखेर मन हलुका बनाउँला रे म, तर ती सबै घटनाले के अर्थ राख्छ र मेरा पाठकहरूका जीवनमा ? हो, यही नै अर्को प्रश्न हो जसले मलाई केही लेख्नुभन्दा पहिले दुईपटक सोच्न बाध्य तुल्याउँछ ।
म लेखुँला रे मेरा बाका कहानीहरू- जसले जीवनमा न कुनै उद्देश्य राखे आफ्ना निम्ति न आफ्ना सन्तानहरूको भविष्यका निम्ति नै राखे दूरदृष्टि ।
म लेखुँला रे मेरी आमाका भोगाइहरू- जसले आफ्ना ५ सन्तानहरू हुर्काउन आफ्नो जीवनको महत्त्वपूर्ण ऊर्जाशील २ दशक सित्तैमा बिताउनुभयो ।
म लेखुँला रे मेरी जेठी दिदीको कहानी- जसले आफ्नो बुबाको मुर्ख्याइँका कारण कलिलै उमेरमा विवाह गर्न पर्यो र अहिले अठ्चालीसको उमेरमा अर्सठ्ठीको जस्तो रोगी शरीर लिएर जिन्दगी झेलिरहनुभएको छ ।
म लेखुँला रे मेरी कान्छी दिदीको कहानी- जसले अकालमै ज्यान गुमाउनु पर्यो, आफ्नो मात्र होइन, आफूभित्र हुर्किरहेको आफ्नो मुटको टुक्रासमेत । ती सबै घट्नुमा मेरा बा-आमा नै मुख्य दोषी हुनुहुन्छ भन्ने मेरो निर्क्यौल हो ।
म लेखुँला रे मेरो ठूलो भाइको कहानी- जसले परिवारको आर्थिक भार उठाउँछु भन्ने नाममा परिवारलाई कहिल्यै समय नदिएको स्थिति छ ।
अनि म लेखुँला रे मेरो कान्छो भाइको कहानी- जसले आफ्नै उद्दण्डताको सिकार भई बाह्र वर्ष कारागार सजाय भोगेर रिहा भईकन पुनः अर्को डेढ साल उही ठाउँमा सजाय भोगेपछि पनि सुध्रिने नाम नलिई घरबाट बेखबर भई हिँडेको अवस्था सिर्जना गरेको छ ।
मैले आफ्नै कहानी लेखे पनि भयो नि ! जसले विद्यार्थी जीवनमा अध्ययनमा उत्कृष्ट आधारभूत शिक्षामात्र होइन एस. एल. सी.मा देशभरकै विद्यार्थीहरूमध्ये उत्कृष्ट नतिजा प्राप्त गर्दागर्दै पनि शिक्षा संयन्त्रले लगाएको छेकबारको सामना गर्न नसकेकाले जिन्दगीमै पछि पर्नुपरेको नमीठो अनुभूति बेहोरेको छ ।
म लेखुँला रे मेरो जेठो भाइको छोरीको कहानी- जसले १० वर्षको कलिलो उमेरमै ब्रेन ट्युमरका कारण आफ्नो काया गुमाउन पुगेकी थिइन् ।
यति विधि कहानीहरू लेखिसकेर मैले पाठक सामु पुर्याएँ भने उनीहरूले मलाई पक्कै भन्नेछन् कि यो लेखक बनी टोपलेर भावनात्मक रूपमा सबैको नजरमा बस्न चाहन्छ, प्यारो हुन चाहन्छ । मलाई कदापि यो मान्य छैन।
यदि मैले यी सबै कहानी लेखेँ भने के यिनले हाम्रा समाजमा रहेका कुरीति, कुव्यवस्था अनि सङ्कुचित सोचका कारण आइपर्ने समस्याहरूलाई प्रतिनिधित्व गर्ने छैनन् र ? म यही कुरा मानसपटलमा राखेर लेख्नेछु । ती तमाम काहानीहरूका सूक्ष्मातिसूक्ष्म पक्षहरू उजागर गरेर व्यक्ति, परिवार, समाज र समग्रमा राष्ट्रसामु प्रश्न खडा गर्न सक्नेछु ।
तर उफ्फ्फ्फ्फ…………। कसले पढिदिने मेरा र मेरा परिवारका सदस्यहरूको कहानी ? कसले बुझिदिने कि ती सबै घटनाहरू घट्नुमा हाम्रो परिवेश जिम्मेवार छन् भन्ने कुरा । पाठकहरू त केवल शब्दसँग कारोबार गर्न अभिशप्त छन् । अनि भावनासँग खेलबाड गर्न माहिर । उनीहरूले साराका सारा घटनाहरू मेरा व्यक्तिगत डब्बामा कैद गर्दै साहित्यको कुनै पनि कोटीमा राख्नबाट समेत पन्छिनेछन् । उनीहरूले बुझ्न कोसिस गर्ने छैनन् किन घटे त्यतिका धेरै घटनाहरू एउटै परिवारमा ।
हो, त्यसैले म लेख्ने छैन मेरा व्यक्तिगत घटनाहरू कथामा उन्ने छैन रूपकमा कुनै पनि शब्दावली जसले मेरा व्यक्तिगत घटनाहरू उजागर गरोस् । उपन्यास त झन् लेख्ने छैन । त्यसमा समेटिने छन् समयले दिएका चोटहरू । देशमा विद्यमान व्यवस्थाले दिएका घाउहरू झन् आलो भई आउनेछन् ।
वर्तमान समयमा म देशकै लब्ध प्रतिष्ठित व्यापारीक घरानाले सञ्चालन गरेको संस्थासँग आबद्ध छु । मजदुरी गर्छु भनौँ न । जसले मलाई छाक टार्नमात्र सहयोग गरेको छ, म यसको कहानी पनि लेख्ने छैन ।
लेख्ने छैन म केही केही ।
मैले लेखेर कतै पनि परिवर्तन हुँदैन भन्ने कुरामा म विश्वस्त छु । मलाई थाहा छ, स्वान्तसुखायका निम्ति पनि लेख्न सकिन्छ तर लेखिसकेपछि ती सबै विचारहरू कतै डिब्बामा बन्द हुनेछन् र कसैका निम्ति पनि खुल्ने छैन भने म किन लेखूँ ?
यति लेखिसकेर अहिलेका निम्ति अब मैले एउटै काम गर्न बाँकी ठानेको छु । म पठाउनेछु मेरो एउटा नयाँ लेख प्रकाशकको इमेल ठेगानामा तर एकपटकमा एउटालाई मात्रै पठाउन सक्छु; नियम यस्तै छ । मलाई यो पनि थाहा छ सम्पादन डेस्कमा काम गर्ने सम्पादकको कमीका कारण मेरो लेख पढिने छैन । अनि छापिने हो वा होइन भन्ने प्रश्नको जवाफ पाउनु त धेरै परको कुरा ।
त्यसपछि म यो लेख अर्कै प्रकाशककोमा पठाउन कसलाई हारगुहार गर्न जाऊँ ?
त्यसैले लेख्नुभन्दा पहिले धेरै प्रश्नहरू उब्जिन्छन् मस्तिष्कमा । सायद यस्तो द्विविधा हुनु हुँदैन पो थियो कि !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।