मनभित्र जे छ त्यो अव्यक्त गर्नसक्नु कला हो; भाषा हो जो आफैँ साहित्य हो । रङ्ग नभएको सेतो कालोमात्र जीवनभित्र अटाउन सक्तैन । तर सेतो र कालो देखिन सक्छ । सात रङ्ग मिलेर सेतो बन्छ । कालो रङ्ग स्वार्थी छ । ऊ सबै रङ्ग आफैँमात्र लिऊँ भन्छ । आफ्ना रङ्गहरूलाई छर्दैन । त्यसैले सायद कालोलाई विरोधी भनिन्छ । सेतो रङ्ग नायक भयो । उसको विरोधमा कालो रङ्ग आयो । कालोसँग कालो वर्ण भयो । वर्णसँग जात आयो । मानिसको सोचमा कालो आयो । मानिसको सोच पनि मानिसजस्तै छ त्यसैले त ऊ मानिस भयो । ऊ देवता हुन सक्तैन राक्षस पनि हुन सक्तैन । ऊ ती दुईबिच मच्चिएको पिङ हो । ऊ कहिले देवताको ढोका ढकढकाउन पुग्छ कहिले राक्षसको ढोका । ऊ पूर्ण रूपमा एकतर्फ जान सक्तैन तर समाजले उसलाई देवत्वको पाठ पढाइरहेको छ । स्वर्गतर्फ लाने प्रयत्नमा समाज बनाइएको छ तर पिङ सधैँ एकैतर्फ किन अडिन्थ्यो । ऊसँग जोडिएको डोरीले तानेर उसलाई पछाडि हुत्याइदिन्छ । मानिस फेरि अन्धकारतर्फ आउँछ । मनभित्र त्यो ठाउँ पनि छ । ऊ राक्षसको ढोकामा पुग्छ । ढोका ढकढकाउँछ ।

डा. बिनोद ढकाल (विधा)

म त्यसलाई कालो भन्न चाहन्छु । राक्षस आफूले पाएको आफैँ राख्न खोज्छ । ऊ बाँड्ने सिद्धान्तको छैन । समाजवादी छैन; ऊ व्यक्तिवादी छ, स्वार्थवादी छ तर म खुलेर भन्न पनि सक्तिन ऊ कालो हो भनेर । फेरि त्यो कालो अर्को मानिसको अनुहारमा लगेर पोतिदिन्छन् मानिसहरू । ऊ हेर ऊ कालो भयो । उसको वर्ण कालो भयो । समाजले त्यो रङ्ग पातिदियो । ऊ हारेको पनि थियो । ऊ अब सुद्र भयो । सेतो ब्राह्मण भयो । कालो हेपियो । हजारौँ वर्ष हेपियो । सेताले उनीहरू सुहाउँदो नियम बनाए । कालालाई भगवान्बाट टाढा बनाइयो; आफूबाट पनि टाढा बनाइयो; उसको अङ्ग अङ्गमा अरूको हक लाग्ने बनाइयो । समग्रमा ऊ आफू रहेन । ऊ भासिँदै गयो र हार्दै गयो । उसमाथि लुट भयो तर समय बगिरहन्छ । काठमाडौँको बाग्मती फोहोर छ । चोबार कटिसकेपछि ऊ उफारिन्छ । फोहोर छल्यात छुलुत हुँदै बजारिन्छ । उनीहरू अब पातलो हुन्छन् । रबर उसको क्षमताभन्दा बढी तन्काए चुडिन्छ । उसको आफ्नो समय गएपछि ऊ रबर रहँदैन । हो त्यही भयो । बाग्मतीको पानी तराईमा नुहाउन सकिन्छ । आज कालाले पनि बोल्दै छ । मसँग भएको रङ्ग मेरो तर्फ आएको रङ्गहरू मेरो अधिनमा राखिरहने मेरो अधिकार हो । हो म कालो हो । के तँ कालो छैनस् ? के तँ सेतोको च्यादर ओडेर कालो लुकाइरहेको छैनस् ? तँसँग कालो धन छैन ? के तँ देवताको ढोकामा पुगेको पिङ त्यहाँमात्र अडाएर राख्नसकेको छस् ?  तँलाई त्यो पिङले तानेर राक्षसको ढोकामा पुर्‍याएको छैन ? तँ त त्यही ढोकामा बर्सौँसम्म बसिरहिस् । तैले नियमलाई बङ्ग्याइस् । के यो असमानता आदिकालमा थियो ? अनि किन यो हजार दुईहजार वर्ष हामी काला भयौँ ? कालामात्र रहिरह्यौँ । हाम्रो पिङ राक्षसको ढोकामा मात्र अडाइएर राखियो । हाम्रो कालोभित्रको गोरोलाई तिमीहरूले प्रयोगमात्र गरिरह्यौ । हामी कालामात्र भइरह्यौँ । खैर बाग्मती सफा भयो । ऊ समथर जमिनमा बगिरहेछ ।

स्वर्गमुनि पिङ खेलिरहेछ सायद । ऊ मनुष्यको ढोकातर्फ बारम्बार आउँछ । अझ कति देवता मनुष्य हुन चाहन्छन् । अभावबिनाको जीवन त पिँजडामा राखिएर उसका सम्पूर्ण आवश्यकताहरू पूरा गरिएको सुगाजस्तै हो । सुनको पिँजडाबाट फुत्किएर रमाउन खोज्ने आत्माहरू धेरै छन् । जीवनमरणको चक्र यसै कारणले भनिएको होला । उनीहरू मनुष्य बन्न चाहन्छन् । मनुष्य पनि देवता बन्न चाहन्छ । उसलाई स्वर्ग जाने बाटो सिकाइएको छ तर ऊ मोक्ष पाउने बाटाबाट अनभिज्ञ छ । ऊ जीवनमरणको चक्रमा हुलाइएको छ । स्वर्ग बस्ने मिति सकाएर मनुष्यको भेषमा पठाइन्छ । कहिले फेरि राक्षसको शरणमा पुग्छ । ऊ जस्तो अन्धकारमा हुन्छ यस्तै त चलिरहने रहेछ । कुनै र्फ उचालिनुभन्दा भुईँमाथि मात्र बस्नु उचित होला कि ? मनुष्य जीवन पनि त सुन्दर छ ।

ऊ जन्मन्छ, मर्छ । फेरि ऊ जलाइन्छ, गाडिन्छ । उसको शक्ति जहाँबाट आएको थियो उही विलीन हुन्छ । शक्ति ब्रह्माण्डभन्दा पर जाने अरू ठाउँ छैन । ऊ यतै कतै हुन्छ । आकाश, जल, वायु, पृथ्वी, आगाबाट ऊ बनेको हो । मृत्युपछि पनि ऊ त्यसैमा समाहित हुन्छ । उसका लागि प्रयोग भएका शक्तिहरू फेरि अर्को कुनै जीवको सिर्जनामा प्रयोग गरिन्छ । यसरी छिन्न-भिन्न भएका एक शरीरका ऊर्जा एक, दुई, सय, हजार हुँदै चौरासीलाख जीवमा समाहित भइसकेपछि मात्र ऊ फेरि बन्ला । त्यही मानिस बन्ला । चौरासीलाख एक अङ्क न हो । कुनै मानिस चौरासी लाख दुईमा पनि आफ्नो स्वरूपमा आउन सक्लान् । त्यसैले यो जीवन मरणको चक्रमा ऊ रुमल्लिरहन्छ । १२ वर्षपछि खोला त फर्कन्छ भन्छन् । चौरासीलाख जुनीपछि यो जीवन पनि त फर्केला । खैर शक्ति यतै कतै रुमल्लिरहेको छ । तर मभित्रको ऊर्जा यी पानाहरूमा छचल्किएका छन् । मेरो मरणपछि यी भावका ऊर्जाको के होला है ?

भौतिक ऊर्जा त चौरासी लाख जुनीतर्फ लम्केलान् तर के मेरा भाव पनि यसरी नै चौरासी लाख खोज्दै जालान् । वा मसँगै जल्लान् । मेरो साहित्य के होला ? मानिसलाई जुरुकजुरुक उचाल्ने साहित्य लेखेका लेखकहरूको साहित्यिक भाव कता उडेर गए ? उनीहरूको जीवनसँग जलेर त गएनन् ? कि उनीहरूको साहित्यको ऊर्जा समाप्त गरेर उनीहरू गएका थिए । हजारौँ लेखकहरू छन् जसले जीवनमा एकपाना साहित्य पनि लेखेका छैनन् । तिनीहरूका साहित्य भौतिक मरणपछि कता गयो ? तिनका भाव कहाँ गयो ? कि यसै हावामा उडिरहेका छन् । आत्मा जसरी उडिरहेछन् । अर्को व्यक्ति खोज्छन् अनि आशा गरिरहन्छन् कि म पानामा भरिन पाऊँ । कतै ती आशा तपाईँभित्र पनि छन् कि ? ती लेखिन बाँकी साहित्यहरू फेरि तपाईँसँगै मर्ने भए । तपाईँबाट निरास हुने भयो । फेरि उसले अर्को शरीर खोज्दै हिँड्नपर्‍यो । फेरि ब्रह्माण्डको कुनै तरङ्गमा विलीन हुने भयो ।

के भाव कागजमा उतारे मात्र साहित्य हुन्छन् ? आफ्नो संसारमा साहित्य भरेर आफैँ साहित्यकार अनि आफैँ पाठक हुन नपाइने हो ? के कोही यस्ता भएका छैनन् ? आफ्नो छरपस्ट साहित्य आफ्नै रूपी मलाई सुनाएर आफ्नो ठूलो संसारमा रम्ने मानिस छैनन् । अनि मजस्ता छैनन् जो आफूमा भएका साना भावहरूलाई ठूलो, जतिसक्दो ठूलो बनाएर देखाउन खोजिरहेका छन् कि म पनि साहित्यकार हुँ ? तपाईँ मान्नुस् या नमान्नुस् म पनि साहित्यकार हुँ । तपाईँ पनि साहित्यकार हो । तपाईँ मान्नुस् या नमान्नुस् तपाईँ पनि साहित्यकार हो । होला तपाईँका साहित्यहरूले एकपाना पनि नभरेका । तपाईँका साहित्यहरू अझै गुप्त, लुप्त छन् तपाईँले गर्ने कर्ममा । तपाईँले थालमा राखेको भात हातमा गोलो बनाएर मुखभित्र जिब्रोमा राखेर चबाउँदै गर्दा त्यो साहित्य तपाईँको पेटमा पस्छ । यो वर्णन तपाईँले गर्नुभएको छैन तर तपाईँको पेटको सन्तुष्टिले आनन्द मानिसकेको छ । तपाईँ यसै अल्छी मानेर खाटमा छत हेरेर सुतिरहँदा तपाईँका मनमा आएका राम्रा या नराम्रा विचार पनि साहित्य हुन् ।

तपाईँ स्वयं आफैँलाई आनन्द दिँदै हुनुहुन्छ । बिरामी भएर केही गर्न नसकेर सुत्दा आउने असन्तुष्टि अर्को कुरा हो । नियमका अपवादहरू हर नियममा हुन्छन् । त्यो पनि आफैँ साहित्य हो । तपाईँले बुझ्नुभयो भएन । ए मेरा भगवान्हरू मैले तपाईँलाई बुझाउन सकेँ कि सकिनँ ? म निमसरो मनुष्य न हुँ । म साहित्य खोजिरहेछु । म भावलाई उठाउन खोजिरहेछु । उठाएर उसको कपडा खोल्न चाहन्छु । उसलाई खाटमा सुताउन चाहन्छु । अनि उसको सुन्दरता तपाईँलाई छोडिदिन्छु । तपाईँ त्यसलाई आफूअनुसार ढाल्न सक्नुहुन्छ । उसलाई आफ्नो बनाउन सक्नुहुन्छ । ऊ शरीर हो । तपाईँ स्त्री चाहनुहुन्छ कि पुरुष? कालो चाहनुहुन्छ कि गोरो? मोटो चाहनुहुन्छ कि पातलो? उसको स्तन कस्तो चाहनुहुन्छ? उसको योनी कस्तो चाहनुहुन्छ? ऊ कसरी सुतेको चाहनुहुन्छ ? ऊ तपाईँ अगाडि सुम्पिएको छ । तपाईँ उसलाई जे पनि गर्न सक्नुहुन्छ । तपाईँअगाडि आउन ऊ खुसी छ । आफ्ना खोलहरू खोलेर नाङ्गिन ऊ तयार छ । अझ भनौँ भने ऊ नाङ्गिसकेको छ । साँच्चै के छ तपाईँको मनमा ? के गर्न चाहनुहुन्छ उसलाई ?

तर विचार गर्नुस् ऊ केवल भाव हो । सुन्दर कल्पना हो । रोचक सोचाइ हो । तपाईँभित्रको सोचाइ । त्यही भाव तपाईँको र मेरो फरक हुन्छ । मेरो दिमागमा आएको दृष्य तपाईँको भन्दा फरक छ । पक्कै फरक छ । कमसेकम उसको लिङ्गको आकारमा त पक्कै फरक हुनेछ । त्यो पनि नभए उसको रङ्गमा त पक्कै हुनेछ । तर तपाईँ त्यति खुसी हुनुहुनेछ जति म खुसी हुनेछु । म अहिले खुसी भइरहेछु । खैर कल्पनामा रम्न कसलाई मजा आउँदैन । कल्पनामा राजा बन्न सकिन्छ । कल्पनामा संसारकी सबैभन्दा सुन्दर स्त्री तपाईँको ओछ्यानमा ल्याउन सकिन्छ । संसारको सबैभन्दा सुन्दर पुरुषले तपाईँलाई माया गर्न सक्छ । कल्पनामा आफ्नो खुसीको स्वरूप भेटाउन सकिन्छ अथवा त्यो कल्पना सुन्दर हुन्छ जब तपाईँ त्यसमा आफ्नो खुसी भेट्टाउनुहुन्छ । त्यो खुसी यदि यी कागजहरूबाट नपाए तपाईँ अन्य कुरामा खोज्न हिड्नुहुनेछ । कमसेकम यी कागजबाट आँखा हटाएर आफूअगाडिका केही वस्तुलाई सोच्नुहुनेछ । मेरो कामना के हो ? लक्ष्य के हो ? मेरो क्षितिज के हो ? मेरो खुसी केमा छ ?

तपाईँको सोचाइअनुसार तपाईँको सफलता लक्षित हुन्छ । सबै समाज, धर्म, सिद्धान्तहरू थुप्रै कुरामा बाझे पनि यो कुरामा सबैको सहमति छ । सबैले यो कुरा आफ्नै किसिमले भनेका छन् । लाग्छ सिद्धान्तहरू पनि सीमित छन् । त्यो सीमाको राम्रो उदाहरण यो भनाइ पनि हो तर सबैका अक्षर फरक छन् । सबैको आफ्नै वर्णविन्यास छ । आफ्नै भाषा छ तर गुदि भाव यही नै हो । तपाईँ अल्छीमा मास्टर्स गर्न चाहे तपाईँ सक्नुहुनेछ । त्यसमा निपुण हुनुहुनेछ । तपाईँ चित्रमा लाग्नुस् हरेक समय हरेक भाव चित्रमा दिनुस् तपाईँ चित्रको कलामा निपुण हुनुहुनेछ ।

यस्तै साहित्यमा पनि हुन्छ भनेर म आशा गरिरहेको छु । बर्सौँ कतै लुप्त, सुक्षुप्त भएर लुकेकाहरू आजकाल ढोका ढकढकाइरहेका छन् । उनान्सय डिग्रीबाट उकालो लाग्दैछन् । जब सयमा पुग्छन् तब उनीहरू उम्लन्छन् । उम्लेको भावमा म पनि निपुण हुनेछु भन्ने मेरो चाहना हो ।

निपुणताको अर्थ के हो ? पृथ्वीमाथि सौर्यमण्डल छ । सौर्यमण्ड माथि ग्यालेक्सी छ । ग्यालेक्सीमाथि ब्रह्माण्ड छ । अझै भूमाथिको भूव । त्यसमाथिको स्वः । कहाँ कहाँ पुग्न सकिन्छ ? मेरो निपुणता निमसरो छ । ब्याक्टेरियाको नाभिक जत्रो । त्यति त हुँला नि है ?

म खुसीको बोध मेरा दुःख कष्टको विनाशमा पाउँछु । मेरो आध्यात्मिक ज्ञान साहित्य होस् । साहित्यले म आफ्ना दुःखहरू हटाउन सकूँ । तपाईँको दुःख पार लगाउन सकूँ । कमसेकम कोही एकको दुःख १० बाट ९ मा घटे पनि म आफूलाई सफल मान्नेछु ।

धुलिखेल अस्पताल