आज किन यस्तो लागिरहेको छ मन एकदम तरङ्गित भैहरेको छ ।

तरङ्गित मन कस्तो हुन्छ यसअघि थाहा थिएन । आज राम्ररी थाहा पाएँ । एक आँखाले मुराकामीको कथा पढ्दै एक आँखाले सुन्दर वस्तु हेर्दै ।

सुन्दर ! लेख्दै हाँसो उठ्यो । कस्तो चिज सुन्दर होला मेरा लागि । किताब आकाशका ताराहरू, बाँकी के के सुन्दर लाग्छन् ? थाहा भएन । तर कुरो के लुकाउनु, लेख्नै परेपछि । भने निमनै तरङ्गित भएपछि । सिधा भन्छु, `कुरो तरुनीको´ 

अचम्म लाग्यो मजा लाग्यो ?

मलाई पनि अचम्म लाग्यो मजा आयो र त मनमा तरङ्ग पैदा भो । मुराकामीको कथाले कसको मनमा मजा न ल्याउला । ए ए ! सुन्दर तरुनीले । एउटा कुरा के भन्छु भने म तरुनीमा त्यति मन लगाउने मान्छे भने हैन । ठुलो कुरा गरे झैँ लाग्यो भने पनि लागोस् । तर मेरो हिम्मत भने सानो । यदि कसैलाई सधैँ यसरी तरुनीलाई हेर्दा तरुनीले हेर्दा मनमा आनन्द उत्पन्न हुन्छ भने राम्रै हो । आनन्द महसुस हुनु नराम्रो कसरी हुन्छ र चाहे तरुनीलाई हेरेर किन नहोस् । झन् मेरो त कुरै विशेष । सधैँ यस्तो महसुस नहुने । अनि अर्को हातमा मुराकामी र आँखामा सुन्दर तरुनी । ओ हो हो हो ! यो वाक्य त आनन्दको एउटा सानो झिल्को मात्र हो ।

निमेष बास्ताेला

आनन्दलाई लेखेर व्यक्त गर्न सकिँदैन । यसलाई केवल महसुस गर्ने हो । लेख्नु मेरो सोख हो । यदि मेरो केही सोख छ भने । तरुनी हेर्नु सुन्दर चिज हेर्नु भने हो । तरुनी हेर्नु मात्रै हैन । थियो होला कुनै बेला । उबेला जतिखेर मनमा आनन्दको तरङ्ग उत्पन्न हुदैन थियो । केवल विपरीत लिङ्गप्रति हुने आकर्षण हुन्थ्यो । तर आजको कुरा बेग्लै हो ।

तरुनीको कुरा गर्ने बित्तिकै यौनको कुरा सम्झन्छौँ प्रायः । त्यो यो हैन । यो त ईश्वरीय आनन्द पूर्ण निद्रापछि जाग्दाको आनन्द हो । ल यो यौनकै आनन्द भो । तर यौन तृप्तिको आनन्द हो । हेर्दैमा यौन तृप्तिको आनन्द । सेक्स गरिरहनु परेन । मनमा सेक्स जागेन । बरु मेटियो । शिवले गरे झैँ कामदेव जल्यो । कामवासना खरानी भो । सकियो । समाप्त भो । तर आनन्दचाहिँ बाचुन्जेल रहने भो । कसैको सुन्दरतामा परेर धेरै अर्थ लगाइरहनु भने पर्दैन । जहाँ जैले पनि सम्झिदा ओठमा मिठो मुस्कान आए भो जीवनभर । त्यो नै प्रेम हो ।

राम्रो चिजप्रति मलाई प्रेम जाग्छ । तर मेरो प्रेम बेग्लै होला । कुनै सुन्दर चिज देखेपछि आफ्नै बनाउछु मलाई चाहियो भन्नू प्रेम हैन । त्यो लभ हैन लोभ हो । तपाईँले बाटामा हिँड्दै गर्दा कुनै सुन्दर फूल देख्नु भो । यदि त्यसलाई नटिपी मनमा आनन्द ल्याउन सक्नुभो भने फूलप्रति तपाईँको प्रेम हो । उक्त फूल सम्झिँदै ओठमा मिठो मुस्कान लिएर आफ्नो बाटो लाग्न सक्नुभो भने त्यो प्रेम हो । यदि उक्त फूल टिप्नु भो या टिपौँ टिपौँ लाग्यो भो भने त्यो फूलप्रति तपाईँको लोभ हो । लभ हैन । जेकुरा फूलमा लागु हुन्छ मान्छेमा पनि त्यही हो । किनभने मान्छे पनि सृष्टिको सुन्दर फूल हो । मान्छे फुलेको देख्नु भा छ कपाल फुलेको त्यो हैन । शरीर फुलेको त्यो फूल झैँ फुलेको हैन । त्यो त रोटी बढी मन पराउनेहरू हुन् । ती रोटी झैँ फुल्छ्न् । मान्छे जेसँग प्रेम गर्‍यो त्यस्तै बन्छ । तर मान्छे भने जन्मिँदै फुल्छ । फूल झैँ सुन्दर फुल्छ । तर पूर्ण फक्रिन समय लग्छ । साधना लाग्छ ।

फक्रिन मन लाग्यो कि फक्रिएको हेर्न मन लाग्यो भो भन्दिनँ । फक्रिनु र फक्रिएको देख्नु एउटै हो । पूर्ण फक्रिएको चेतनले मात्रै पूर्ण फक्रिएको देख्छ । अघि भने नि साधना लाग्छ । साधना भनेर बुझिँदैन त्यसैले नै भन्दिनँ भनेको । यति भन्छु चेतना जाग्रित गराउनु पर्छ । चेतना धेरै तरिकाले जगाउन सकिन्छ । फेरि धेरै कुरालाई पनि चेतना भन्न सकिन्छ । चेतना भनेको समझ हो । यत्ती बुझे पनि हुन्छ । बुझ्नु पर्ने पनि यत्ति हो । सब समझ हो । चाहे त्यो किताब पढेर होस् चाहे संसार घुमेर होस् । भगवती पुजेर पनि हुनसक्छ तरुनी देखेर पनि हुन सक्छ । किनभने जसरी मलाई सधै ईश्वरले आनन्द दिए त्यसरी नै आज तरुनीले दिइन् । ईश्वरले नै सधैँ आनन्द दिन्छन् भने आजको आनन्दरूपी तरुनी पनि ईश्वर नै भइन् । भगवती भइन् ।

ईश्वरको कुनै लिङ्ग हुँदैन । त्यसैले आज तरुनी मेरा लागि ईश्वर भए । ईश्वरीय आनन्द पाउन मन्दिर नै जानु पर्छ भन्ने छैन । सडकमा हिँड्दै हुनसक्छ झ्यालबाट हेर्दै हुनसक्छमदिरालयमा हुनसक्छ । तर म आज अस्पतालमा छु । दास कवीरले `घट घट मै राम´ भने जस्तै हो । मेरो राम हस्पिटलमा पनि भेटिए । नजाने, तपाईँको कहाँ ?

तपाईँहजुरकसैले यो पढेर मेरो आनन्द महसुस नगर्न पनि सक्नुहुन्छ । हावा लाग्ला । प्रेम हावा नै हो । उडी जाने हावा । तर महत्त्व पनि यसकै छ । नत्र त्यही हावाबिना बाँचेर देखाउनुस् । ठिक छ, ठिक छ ! गलत भन्ने केही हुँदैन । आफ्नो जीवन जेसँग जोडिएको छ त्यही ठिक लाग्ने हो । बरु आफ्नै आनन्दतर्फ ध्यान दिन्छु । तर खोइ मेरो राम अलप !

ईश्वर भन्नु आनन्द हो र आनन्द नै प्रेम हो । एकै झलक नै सही । तर पनि तरङ्ग जीवनभर नै रहिरहन्छ । ईश्वर सदैव प्रकट हुनुपर्छ भन्ने छैन । एकैचोटि नै सही । भक्तिपूर्ण प्रेम जीवनभर रहिरहन्छ । म भन्छु प्रेम कतै नखोज । आनन्द कतै नखोज । ईश्वर कतै नखोज । बस त्यसको काबिल बन । प्रेमको ब्ल्याकहोलमा झरेर सिङ्गुलारिटी बन्न सिक । अन्तरीक्ष र समयको नियम तोड्न सिक । तथाकथित समाजको नियम तोड्न सिक । हिम्मत गर र प्रेमको योग्य बन । आनन्दको योग्य बन । ईश्वरको योग्य बन । अथवा यी तिनवटा मध्य एउटाको योग्य बन । कुरो एउटै हो । यो भन्दामाथिको कुनै स्तर छैन् । फक्रिने सिमा छैन ।

तरुनीको जय ! रामको जय ! ईश्वर जय ! तपाईँको जय !