विषय प्रवेश
अग्रज वा साहित्यिक वातावरणबाट कुनै पनि सर्जकले लेखनमा प्रेरणा प्राप्त गरेको हुन्छ अनि मात्र प्रतिभा, व्युत्पत्ति र अभ्यासजस्ता साहित्यिक हेतुहरू सक्रिय रहन्छन् । प्रतिभा भनेको देखेपछि लेखिहाल्न सक्ने जन्मजात खुबी हो । व्युत्पत्तिले पढेर र परेर जानिने ज्ञानलाई सङ्केत गर्दछ भने चम्काउने, माझ्ने, टल्काउने र सिँगार्ने काम अभ्यासले गरेको हुन्छ । एउटा सुन्दर र सशक्त रचना सिर्जनाका लागि यी सबै अनिवार्य सर्त हुन् । यिनीहरूमध्ये व्युत्पत्तिगत ज्ञान वा विषयवस्तु र विषयवस्तु चयनको आधारका बारेमा यहाँ उल्लेख गरिएको छ र बालकविता सिर्जनाका लागि यिनको प्रयोग के–कसरी गर्न सकिन्छ भन्ने बारेमा सोदाहरण चर्चा गर्ने प्रयास यहाँ गरिएको छ ।
सिर्जना–शक्तिको अभाव रहेको व्यक्तिले संसारलाई ओल्टाईपल्टाई गर्दा पनि त्यसमा केही भेट्दैन भने सिर्जनप्रतिभा भएको व्यक्तिले धूलोमा समेत संसार भेट्टाउँछ अनि सर्जकको उपाधि पाउँछ । तर शून्यमा कसैले पनि केही प्राप्त गर्न सक्दैन । तसर्थ साहित्य रचनाका लागि विषयवस्तुको चयन पहिलो आधारभूमि हो भने चयन गरिएको विषयवस्तुबाट जानकारीको सङ्कलन दोस्रो खुड्किलो हो । तेस्रो खुड्किलो विषयवस्तुको विस्तार वा पुष्टि हो भने त्यसलाई गरिने प्रशोधन अन्तिम खुड्किलो हो जसलाई चरणबद्ध रूपमा यसरी हेर्न सकिन्छः
विषयवस्तुको चयन, विषयवस्तुको जानकारी सङ्कलन, सङ्कलित जानकारीको क्रमबद्ध वर्णन, विषयवस्तुको विस्तार वा पुष्टि, प्रशोधन वा संशोधन ।
लेख्नका लागि केही देख्नुपर्छ । शून्य दिमागमा केही पनि सिर्जना हुँदेन । हातमा कापी र कलम लिएर बसेको सिकारुले यदि विषयवस्तु नै पाएन भने उसले कलम टोकेर बस्नुबाहेक अर्को विकल्प हुँदैन । तसर्थ आफूले लेख्न खोजेको विषय वा शीर्षक जे हो त्यसमा सर्जक पहिल्यै स्पष्ट हुनुपर्दछ र विषयवस्तु चयन गर्न नसकेको खण्डमा विषयवस्तु चयनको आधार लिएर प्रकृति, माौसम, बालखेल, चाडपर्व, बालचाहना, जिज्ञासा, चेतना, जागरण, बाल्यअनुभव, संस्कृति, विज्ञान तथा प्रविधि, स्थानीय महत्त्वका वस्तु, लोपोन्मुख वस्तु, वैयक्तिक जीवन भोगाइ, व्यक्तिगत सरसफाइ, कर्मशीलता आदिका आधारमा विषयवस्तुको छनोट गर्नुपर्दछ । बालकविता र छन्द कविता वाचनमा अनुभव सँगालेकी स्रष्टा कल्पना भट्टराईका अनुसार बालकविता बालबालबालिकाले सहजै गाउन सक्ने सरल र सरस भाषामा लेखिनुपर्छ । कविताको विषयवस्तु चयन गर्दा उनीहरूको रुचिलाई ध्यान दिएर चयन गरिनुपर्दछ जसबाट उनीहरूले कवितामार्फत मनोरञ्जनात्मक तरिकाबाट कुनै कुराको ज्ञान प्राप्त गर्न सकून् ।
१) प्राकृतिक दृश्य वा भूगोलः
साहित्य सिर्जना गर्ने सर्जकका लागि प्रकृति पनि एउटा सिङ्गो संसार नै हो । यसभित्र प्राकृतिक दृश्य, भूगोल वा अन्य कुराहरूसमेत पर्दछन् । प्रकृतिमा रहेका हिमाल, खोलानाला, नदी, वनजङ्गल, पहाड, झरनाजस्ता दृश्यावलीलाई शब्दमा उतार्न सकिन्छ । टल्किएको हिमालमा स्वच्छता देख्नु र यसको आकृति वर्णन गर्नु वस्तुपरक वर्णन हो भने टल्किएको हिमाल मुस्कुराएको, खुसी भएको र रमाएको पाउनु आत्मपरक वर्णन वा कल्पना हो । हिमालको रमणीय दृश्य देखेर रमाउनु अनुभव हो भने रमाइलो हिमाल देखेर आफू पनि रमाउन सिक्नु त्यसबाट प्राप्त हुने सन्देश वा प्रेरणा हो । त्यस्तै नदीनाला र खोला बगेको पहाड र वनजङ्गलको हरियालीले सौन्दर्य बढाएको, बगिरहेको कल्कल झरनाले मन तानेको जस्ता विषयवस्तुमा कल्पना, अनुभव र सन्देशको समन्वय गर्न सकियो भने त्यसले सुन्दर कविता लेख्न सर्जकलाई प्रेरित गराउँछ । बालसाहित्यकार छायादत्त न्यौपानेले परिचित विषययुक्त चलनचल्तीका सरल शब्दको लयात्मक छोटो गायनमा बालकहरू रमाउँछन् तसर्थ बालबालिकाको पहुँचका दृश्य वर्णन बालकवितामा आवश्यक छ भन्ने धारणा राख्नुहुन्छ । यसबाट के प्रस्ट हुन्छ भने बालकविताको विषयवस्तु छनोट गर्दा बालबालिकासँग चिरपरिचित प्राकृतिक दृश्य वा भूगोल वर्णनलाई महत्त्व दिनुपर्ने हुन्छ ।
प्राकृतिक दृश्य–वर्णनयुक्त बालकवितांशको उदाहरणः
सानी नदी पर्वतबाट झर्छिन्
हाहा र हूहू वनभित्र गर्छिन्
खोला र नाला सँगिनी हजार
आएर भेट्छन् वनका पुछार ।
(नदीः माधव घिमिरे)
कति राम्रो हिमाल सेतो टोपी लाएको
तलबाट कोइलीले उसकै गीत गाएको ।
(कति राम्रो हिमालः डा. देवी नेपाल)
आलोपालो गरी आउने दुवै जानाजानी
दिनमा आउने घाम राजा राति जून रानी ।
(घाम राजा र जून रानीः प्रमोद प्रधान)
रातभरि झरी पर्यो खुल्यो बिहानै
उँभो लेकमा आहा हिउँ फुल्यो बिहानै
घुम्टो खोली हिउँचुली हाँस्यो मुसुक्क
पहाडले कर्के नजर हेर्यो लुसुक्क ।
(झरीः सुरेन्द्र देवकोटा)
२) प्राकृतिक जीवजन्तु, चराचुरुङ्गी, कीटपतङ्ग र वनस्पतिः
बालबालिकाहरूले आफ्नो घरगाउँमा कुकुर–बिरालो, बाख्राको पाठो, गोठमा रहेका गाईभैँसी, गाईका बाच्छाबाच्छी, भैँसीका पाडापाडी आदि देखेका हुन्छन् मुसाले लुगाकपडा काटेर हैरान पारेको र बिरालासँग लुकामारी खेलेको प्रसङ्ग थाहा पाएका हुन्छन् अनि बाख्राको पाठो उफ्रेर बुर्कुसी मारेको, बाच्छाबाच्छीले माउको दूध चुसेको देखेर रमाइलो मानेका हुन्छन् र चिडियाखाना वा निकुञ्जमा घुम्न जाँदा बडेमानको हात्ती देखेर अचम्ममा परेका हुन्छन् । यसका साथै गाईभैँसीले दूध दिएको, तिहारमा गाईको पूजा गरेको, चरनमा भैँसी चरेको जस्ता विषयहरूलाई पनि उनीहरूले नजिकैबाट नियालिरहेका हुन्छन् । यी कुराहरू थाहा पाएर उनीहरूले कविता लेख्ने सामग्री जुटाउन सक्छन् अनि तिनमा कल्पना, अनुभव र सन्देश मिसाएर लयको साँचोमा ढाली सुन्दर कविता सिर्जना गर्न सक्छन् । प्रकृतिमा रहेका सुगा, मैना, हाँस, कोइली, काग, सारौँ, परेवा, भँगेरा आदि चराचुरुङ्गी हुन् या मौरी, पुतली, भमरा, कमिला, फट्याङ्ग्रा जस्ता कीटपतङ्गलाई पनि कविताको विषयवस्तुका रूपमा चयन गरेर उनीहरू कविता सिर्जना गर्न सक्षम हुन्छन् । प्रकृति र आफ्नै वरपरको परिवेशमा रहेका प्राकृतिक वनस्पति, रुखबिरुवा, फलफूल (जस्तैः स्याउ, सुन्तला, केरा, आँप, अङ्गुर) आदिसँग पनि साक्षात्कार गरेका हुन्छन् अनि फलफूलको स्वाद जस्तै रसिलो र प्राकृतिक स्रोतसाधनजस्तै जीवन्त कविता लेख्न प्रेरित भएका हुन्छन् ।
प्राकृतिक जीवजन्तुको वर्णनयुक्त बालकवितांशको उदाहरणः
यो मालेले पनि हाँस्ने दिन पाओस्
घाँस–कुँडो, पराल जति खान्छ खाओस्
(माले गोरुः रामबाबु सुवेदी)
तबेलामा घोडा भए घोडा चढी आउँथेँ
हात्तीसारमा हात्ती भए हात्ती चढी आउँथेँ
(को छ मेरो जोडाः बुँद राना)
आँगनमा उफ्री–उफ्री नाच्यो खरायो
खरायोको नाच हेरी हाँस्यो जरायो ।
(नाच्यो खरायोः डा. मुकुन्द पथिक)
प्राकृतिक चराचुरुङ्गीको वर्णनयुक्त बालकवितांशको उदाहरणः
काफल पाक्यो
चरीले डाक्यो
जाऊँ कि नजाऊँ?
झरेका काफल
नमीठा हुन्छन्
खाऊँ कि नखाऊँ?
(काफल पाक्योः रामबाबु सुवेदी)
प्राकृतिक कीटपतङ्गको वर्णनयुक्त बालकवितांशको उदाहरणः
हेर हेर साथी हो कमिलाको ताँती यो
दुलाबाट निस्केर हिँड्छ धुलामाथि यो ।
(कमिला रानीः माधव घिमिरे)
पखेँटामा छिर्बिर–छिर्बिर बुट्टा कसले भर्यो
यति राम्रा रङ्ग कसले मिलाएर छर्यो
पुतलीझैँ बन्न पाए म नि राम्री हुन्थे
आकाशभन्दा माथि पुग्थेँ चन्द्रमालाई छुन्थेँ ।
(सानी पुतलीः रमेशचन्द्र घिमिरे)
प्राकृतिक वनस्पतिको वर्णनयुक्त बालकवितांशको उदाहरणः
काचो छँदा गर्मी फाल्छु, पाकेपछि ठन्डी
मेरै छातीभित्र मीठो अमृत छ बन्दी
मेरो मान, मेरो सान चिन्नेहरू चिन्छन्
कतिले त बिहे गर्न छोरी पनि दिन्छन् ।
(बेलः प्रभा भट्टराई)
मैले मकै छरेको बोट भएछन्
बोटसँग झार पनि हुँदा रहेछन् ।
(मकैबारीमाः शान्ति सापकोटा)
पकाएको फर्सीसँग दूध मिसाई खाऔँला
चिचिन्डो र लौका टिप्न करेसामा जाऔँला
गाजर, मुला धोई खाऔँ कीरा लुक्न सक्छ
काँचो बोडी खानु हुन्न पेट दुख्न सक्छ ।
(के के खान जातीः शान्ता बास्तोला)
३) मौसमः
प्रकृति सधैँ एकैनासको हुँदैन । दिन फेरिन्छ, महिना फेरिन्छ, सँगसँगै ऋतुहरू पनि फेरिन्छन् । सधैँ एकैनासको मौसम र ऋतुहरू हुँदो हो त मानिसले सोच्ने विषय अरू पाउँदैनथे होलान् पनि । ऋतु वा मौसम परिवर्तन हुँदै जाँदा त्यसले व्यक्तिको सिर्जनशीलतामा पनि प्रभाव पार्दछ । मौसम परिवर्तनका क्रममा कहिले हात ठिहिर्याउने र आँत कमाउने जाडो आउँछ भने टन्टलापुर घाम र उखुम गर्मीको मौसम पनि आउँछ । हिमालमा हिउँ पर्ने, पहाडमा कुहिरो लाग्ने, आकाश कहिले तुवाँलाले ढाकिने त कहिले स्वच्छ र नीलो देखिने यी सबै दृश्यहरू मौसम परिवर्तनसँग सम्बन्धित छन् । मौसम अनुसार विभिन्न फूलहरू फुल्छन् र मौसम परिवर्तनसँगै विभिन्न ठाउँमा विभिन्न किसिमका फलहरू फलेका हुन्छन् । समयक्रमसँगै कहिले हावाहुरीको मौसम आउँछ त कहिले बर्खे झरीको मौसम पनि आउँछ । प्रकृतिमा हुने मौसम परिवर्तनसँगै प्रकृतिको कोमल वा शान्त र कठोर वा भीषण रूपको चित्रण बालकविताका लागि उपयुक्त विषयवस्तु बन्न सक्छ । मौसम परिवर्तनका क्रममा यिनै र यस्तै घटनाहरू घट्छन् र सर्जकले पनि कविता लेखनका लागि गतिलो खुराक भेट्टाउँछ ।
मौसमको वर्णनयुक्त बालकवितांशको उदाहरणः
अविरल वर्षा हुँदा सक्छ बाढी–पहिरो आउन
झरी पर्ने महिना हुन् असार र साउन ।
(वर्षाः अश्विन पोखरेल)
बेँसीभरि पोखिएको हिउँ हो कि रुवा
लौ न कति गहिरो यो कुहिरोको कुवा
टमक्क छ कचौरामा दूध राखेजस्तो
माथि–माथि हिँड्न मिले हुँदो होला कस्तो ?
(कुहिराको कुवाः सुरेन्द्र देवकोटा)
जाडो भयो असाध्यै मुटु कमायो
स्विटर लाउन पाएर भाइ रमायो ।
(भाइ रमायोः रमेशचन्द्र घिमिरे)
४) बालखेलः
प्रविधिको प्रयोगले अचेलका बालबालिकाहरू मोबाइल तथा भिडियो गेममा व्यस्त रहेको भए तापनि घरगाउँ वा स्कुलमा रहेर खेलिने बालखेलको आफ्नै महत्त्व छ । सामूहिक भावनाको विकास गराउने र समूहमा रमाउने प्रेरणा दिने बालखेलमध्ये यति यति पानी, चुङ्गी, डन्डीबियो, आसपास पट्पटे लास, मेच घुमाइ, इन्चुपिन्चु, रुमाल चोर, ओक्कल दोक्कल जस्ता लोपोन्मुख बालखेलहरू बालसंसारमा अत्यन्तै लोकप्रिय छन् र तिनलाई कविताको विषयवस्तु बनाउन सक्दा पनि कविता रोचक र स्वादिलो बन्न पुग्दछ ।
बालखेलको वर्णनयुक्त कवितांशको उदाहरणः
ढुङ्गा र माटा मुरली र माला
छेपारचाटे टुकडा र टाला
मुजूरको प्वाँख र एक चित्र
अहो खिलौनाहरू छन् विचित्र ।
(खेलौनाः माधव घिमिरे)
कस्तो मज्जा आएको हो चुङ्गी खेल्दाखेरि
खेल्न सम्म खेल्यौँ आज मनको धोको फेरी
हिजो उसले जितेको थ्यो आज मैले जितेँ
गुच्चा लुकाई राखेको छु रुमालले बेरी ।
(बालगजलः आनन्द घिमिरे)
चाकाचुली चाकाचुली माथि चुली चुली
रमाई–रमाई साथीसँग खेल मिलिजुली ।
(चाकाचुलीः सुरज राजथला)
५) चाडपर्व र संस्कृतिः
चाडपर्व र परम्परागत संस्कृतिमा सबैभन्दा बढी रमाउने कुनै पात्र छन् भने ती पात्र भनेका केवल बालबालिकाहरू नै हुन् । मीठो–मसिनो खानु, राम्रा लुगा लगाउनु, आफन्तजन भेट्न पाउनु, आफन्त आउँदा आफन्तका कोसेलीको आशा गर्नु, दसैँमा पिङ खेल्नु, टीका लगाइसकेपछि दक्षिणा पाउनु, तिहारमा देउसी–भैलो खेल्नु, नाचगान गर्नु, नयाँवर्षमा पिकनिक वा वनभोज जानु, एकादशीमा फूल तारेको रमाइलो दृश्य हेर्नु, फागु पूर्णिमामा होली खेल्नु जस्ता विषयवस्तुहरूमध्ये जुनसुकै पनि सन्दर्भलाई टप्प टिपेर कविता लेख्दा विषयवस्तुको अभाव हुँदैन । सम्बन्धित विषयवस्तु प्राप्त गरिसकेपछि कुनै न कुनै रूपमा त्यसको जानकारी पनि सङ्कलन गर्न सकिन्छ र सकभर बालसुलभ सरल भाषा र बालमनोविज्ञानको प्रयोग गरी अनुभव, कल्पना र सन्देशको प्रस्तुतिसहित कविता सिर्जनाको प्रयास गर्न सकियो भने थप प्रभावकारी हुन्छ ।
चाडपर्व र संस्कृतिको वर्णनयुक्त कवितांशको उदाहरणः
आऊ हामी जम्मा होऔँ टोलैभरिका
मिलाएर खेलौँ रङ्ग थरिथरिका
रमाइलो फागु आयो रमाइलो होली
साथीभाइ मिलिजुली खेलौँ दिल खोली
(रमाइलो होलीः हरिदेवी कोइराला)
काग, कुकुर गाईलाई हामी पूजा गछौँ
एकआपसमा सद्भावको बीउ हामी छर्छौं
(रमाइलो तिहारः सूर्यप्रसाद लाकोजू)
असारको पन्ध्र आज गैरी खेतको रोपाइँ
सबैजना जानु पर्छ हल गोरु धपाई ।
(असारको पन्ध्रः गुहनाथ पौडेल)
६) प्राचीन तथा आधुनिक महत्त्वका विषयः
बालकविता लेखनका लागि प्रौढले बालबालिकालाई आफूले आफ्ना पालामा भोगेका पुरातन महत्त्व एवं लोपोन्मुख वस्तुको परिचय दिन, तिनको उपयोगिता दर्साउन र सांस्कृतिक सम्पदाको संरक्षण गर्न सुझाव दिएका हुन्छन् भने बालबालिकाहरू त्यस्ता विषयसँग परिचित हुन नसक्दा आधुनिक समयका विज्ञान तथा प्रविधिसँग सम्बद्ध विषयवस्तुको प्रयोग गर्न रुचाउँछन् । प्राचीन महत्त्वका विषयवस्तु अन्तर्गत स्थानीय र आञ्चलिक महत्त्वका वस्तु जस्तैः गुन्द्री, राडीपाखी, छत्री, घुम (स्याखु), डोको, डालो, नाम्लो, चुलोचौको, ओदान, अगेना, ठेकी, मदानी, नेती, पिँढी, आँगन, आँसी (हँसिया) जस्ता विषय पर्दछन् भने घुमाउने घर, लालटिन, टुकी, ढिकी, जाँतो जस्ता लोपोन्मुख वस्तुहरू पनि पर्दछन् । बालबालिकासँग परिचित आधुनिक विषयका लागि घडी, रेडियो, हवाई जहाज, मोबाइल, टेलिभिजन जस्ता विज्ञान तथा प्रविधिसँग सम्बन्धित वस्तुहरूको चयन गरिनु राम्रो हुन्छ । जुनसुकै विषय चयन गरे पनि कल्पना, अनुभव, सरल भाषाशैली, लयात्मकता, बालमनोविज्ञान आदिको प्रयोग गर्न भने बिर्सनु हुँदैन ।
प्राचीन महत्त्वको वर्णनयुक्त कवितांशको उदाहरणः
पराल राख्ने टौवामा
गाई दुहुने गौवामा
दूध तताउने कुँडेमा
दही मथ्ने ठेकीमा
थाहै थिएन यिनको नाम
गाउँ जाँदा सुनेको
हजुरबाले भनेर
बल्ल मैले जानेको ।
(हजुरबाले भनेरः हरिदेवी कोइराला)
कल्ले होला हाँसी–हाँसी आँसी चम्कायो
धान काटी फाँट–फाँटमा गीत घन्कायो ।
(धानको बालाः कृष्णप्रसाद पराजुली)
आँ–आँ गरी खान्छ चारैतिर फाल्छ
अनि मेरो भाइ रमाउन थाल्छ
एकछिन यता नआऊ जाला भाइ सातो
समातेर हातो घुमाउँछु जाँतो ।
(घुमाउँछु जाँतोः रमेशचन्द्र घिमिरे)
आधुनिक महत्त्वको वर्णनयुक्त कवितांशको उदाहरणः
बिजुली बत्ती बाल्यो रात हरायो
रेडियो र टिभीभित्र कोको करायो?
दुईपाङ्ग्रे साइकलदेखि मोटर गुडायो
पानीजहाज, हवाई जहाज कसले उडायो?
(मानिसको कामः कृष्णप्रसाद दुवाल)
७) मातृभूमिप्रतिको प्रेम वा राष्ट्रियताः
विषयवस्तुको सीमा यति मात्र छ भनेर निर्धारण गर्न मिल्दैन । बालबालिकाहरू आफू जुन गाउँमा जन्मेका हुन्छन्, जुन कुनाकन्दरामा खेलेका हुन्छन्, जुन समाजमा हुर्केका हुन्छन् र जुन देशका नागरिक भएकामा गर्वबोध गर्छन् त्यो गाउँ, कुनाकन्दरा, समाज र देशप्रतिको सम्मान एवं ममताको भाव कवितामा छचल्किएको हुनुपर्दछ । आफ्नै पाखा–पखेरा, आफ्नै गाउँठाउँ र आफ्नै देश नेपालको माया र स्वभूभिप्रतिको आफ्नो कर्तव्यपरायणताको भाव यस्ता कवितामा छिपेको पाइन्छ भने स्वदेश भक्तिको महिमागानमा रमाउनका लागि समेत यस्ता विषयवस्तु बोकेका कविताले उत्प्रेरित गरेका हुन्छन् ।
स्व–राष्ट्रप्रेमको वर्णनयुक्त कवितांशको उदाहरणः
यसको माया गर त्यसको माया गर
सबैभन्दा बढी देशको माया गर ।
(अर्तीः क्षेत्रप्रताप अधिकारी)
नाच्छु अब मयुरझैँ
हुँ नेपाली छोरी मै
आमा यता आइदिनू
देशको गीत गाइदिनू ।
(देशको गीत गाइदिनूः प्रकाश आचार्य)
८) नातासम्बन्धः
“साउँको भन्दा ब्याजको बढी माया” भन्ने त उखानै छ । जुन घरमा ज्येष्ठ अभिभावकका रूपमा हजुरबुबा, हजुरआमा हुन्छन् तिनीहरूको माया नातिनातिना उमेरका बालबालिकाप्रति ढल्केको हुन्छ । हजुरबुबा, हजुरआमापछि मात्र बाबु, आमासँग केटाकेटी झ्याम्मिएका हुन्छन् । बालबालिकाले घरमा रहँदा आफ्ना हजुरबुबा, हजुरआमा, बुबा, आमा, काका, काकीको ममताको भावलाई हृदयको कुनामा आफूले सम्झने उमेरसम्म अविस्मरणीय बनाई अड्काएर राखिराखेका हुन्छन् । प्यारो नाताका रूपमा मामा–माइजूसँगको सम्बन्ध झन् रमाइलो हुन्छ । स्कुलमा जाँदा आफूले जसबाट रमाउँदै शिक्षाग्रहण गरियो तिनै गुरु, गुरुआमा र हेड सरका व्यवहार पनि बालकविताका विषयवस्तु बन्न सक्छन् र यीबाहेकका अन्य मौलिक सन्दर्भ, कल्पना र थप विषयलाई आधार बनाएर पनि बालकविता सिर्जना गर्न सकिन्छ ।
नाता–सम्बन्धको वर्णनयुक्त कवितांशको उदाहरणः
आमा तिमी जन्म दिने मलाई
आमा तिमी प्राण दिने मलाई
आमा तिमी बोट म फूल त्यस्को
हो दान तिम्रै जति जे छ मेरो ।
(आमाः सिद्धिचरण श्रेष्ठ)
हाँस्दै–हाँस्दै आउँदा आमाजस्ती गुरुमा
लजाएर बसेँ म सुरु–सुरुमा
ए सर्मिला भनेर गुरुमाले बोलाउँदा
पैलोचोटि कक्षामा थुरु थुरु म ।
(आमाजस्ती गुरुमाः रामबाबु सुवेदी)
आरीको दही सारेर घ्यार्रघुर्र पारेर
नौनी बनाई काकीले खान दिनुभो
तिर्खा लाग्यो भनेर ठेकीबाट सारेर
चिसो मही फुपूले खान दिनुभो ।
(खान दिनुभोः राम पन्थी)
९) बाल्यकालीन अनुभवः
बालबालिकाले आफ्नो घर–परिवारमा रहेर सुखको मीठा र रमाइला अनुभूतिमात्र प्राप्त गरेका हुँदैनन् । हृदय छियाछिया पार्ने खालको नमिठो र कारुणिक अनुभूतिसमेत भोगेका हुन्छन् अनि बालसुलभा र स्वाभाविक अनुभव पनि प्राप्त गरेका हुन्छन् भने प्रौढ सर्जकले पनि आफ्नै जीवन छामेर यस्तै यस्तै अनुभव प्राप्त गरेका हुन्छन् । संसार नियाल्न नपर्ने, बाह्य परिवेश खोतल्न नपर्ने, अरूका कुरामा चासो दिन नपर्ने र बाहिरी कुरामा धेरै दिमाग खियाउन नपर्ने हुँदा आफैँले भोगेको बाल्यकालीन अनुभव पनि बालकविता लेखनका लागि एउटा गतिलो मसला, रमाइलो खुराक र आत्मीय विषयवस्तु बन्न सक्छ ।
बाल्यकालीन अनुभव वर्णनयुक्त कवितांशको उदाहरणः
आमा सधैँ पिरैपिरमा पाइन बाबा देख्न
नसिकाउनू गुरु मलाई बालाई चिठी लेख्न ।
(बालाई चिठीः सुरज उपाध्याय)
बाबासँग नाना किन्न असन बजार गएँ
झिलिमिली बजार हेर्दा दङ्ग पनि भएँ
जताततै गाडी–गाडी मान्छे सडकभरि
छलिन्छु कि भन्ने डर लाग्थ्यो घरिघरी ।
(असन बजारः तारा केसी)
लुकामारी खेल खेल्थ्यौँ स्कुलबाट आई
मलाई खोज्न त्यहीँ आउँथ्यो मेरो सानो भाइ
चिलहरू बास बस्थे गुँड बनाएर
कहाँ गए होलान् रुँदै चल्ला समाएर ।
(सिमलः शान्ति सापकोटा)
कुद्दाकुद्दै भिजेपछि किताब र खाता
टप्प टिपी ओढेँ मैले कर्कलाको छाता
छाताबाट एकै छिन् त पानी पनि तर्क्यो
ठूलो पानी परेपछि छाता आफैँ फर्क्यो ।
(कर्कलाको छाताः विवश पोखरेल)
१०) बालचाहनाः
बालबालिकाले वर्तमान जीवन भोगेर र प्रौढ सर्जकले बाल्यकाल सम्झिएर आफ्ना कवितामा बालचाहनालाई अभिव्यक्त गरेका हुन्छन् । बालबालिकाको पनि आफ्नै चाहना, अभिलाषा र रहरहरू हुन्छन् । त्यस्ता विषयवस्तुको चयन गरेर पनि सर्जकले उत्कृष्ट कविता रचना गर्न सक्छन् ।
बालचाहनाको वर्णनयुक्त कवितांशको उदाहरणः
पैसा दिनुस् बाबा म जान्छु बजारमा
यौटा पाइन्ट र कमिज किन्छु हजारमा ।
(पैसा दिनुस् बाबाः शिव त्रिपाठी)
मलाई मेरो गुरुजस्तो हुन मन लाग्छ
उफ्रिएरै आकाशको जून छुन मन लाग्छ ।
(भर्खर–भर्खरः मदन घिमिरे)
भाइ पनि रुझ्दै भन्छ, टिपौँ मोतीदाना
यही बेचेर किनौँला नि क–ख लेख्ने पाना ।
(असिनाका दानाः श्रीबाबु कार्की उदास)
कति राम्रो बुनेको माकुराको जालो
जाली रुमाल बुन्ने अब हाम्रो पालो ।
(हेर्छौँ र गर्छौँः उद्धव प्याकुरेल)
तिमीजस्तै हाँस्न सके मानिसको चोला
कति शान्त, रसिलो र सफा हुन्थ्यो होला !
(सयपत्री रानीः गोविन्दराज विनोदी)
११) बालजिज्ञासाः
बालबालिकाहरू स्वभावैले जिज्ञासु हुन्छन् । संसारमा रहेका कतिपय कुराहरू के, कसरी र किन भए ? भन्ने जिज्ञासाले उनीहरूलाई सताउँछ । यस्तो किन भयो, कसरी भयो जस्ता कतिपय निरुत्तरित प्रश्नको खोजी उनीहरू व्यवहारमा गर्छन, गुरुसँग सोध्छन् र बुबाआमासँग खोज्छन् । केही नयाँ कुरा र नौला घटनाले उनीहरूमा उत्सुकता जगाउँछ अनि जिज्ञासु र कौतूहल बनाउँछ । यस्ता जिज्ञासामूलक विषयवस्तुको प्रयोगले कविता झन् स्वादिलो बन्न सक्छ र त्यसलाई उतारेर कवितामा लेख्न सकिन्छ ।
बाल जिज्ञासाको वर्णनयुक्त कवितांशको उदाहरणः
ताराजस्तै आकाशभरि जून किन हुन्न आमा ?
चिनीजस्तै खाऊँ–खाऊँ नुन किन हुन्न आमा ?
(बालगजलः ईश्वरमणि अधिकारी)
आाकाशमा निलो रङ्ग कसले भरेछ ?
झिलिमिली जूनतारा कसले भरेछ ?
(पाइला चालूँ किः दिव्यलक्ष्मी पोखरेल)
सोधूँ–सोधूँ लाग्यो मलाई जूनु मामासँग
कसले भर्यो फूलमा यति धेरै रङ्ग ?
(फूल हेर्दा सधैँ मः सरस्वती श्रेष्ठ ‘सरू’)
१२) बालचेतना र स्वतन्त्रताको अभिव्यक्तिः
समाजलाई सभ्य, सुसंस्कृत बनाउने तथा राम्रा र असल काम गरेर अगाडि बढ्ने खालका चेतनामूलक सामग्रीलाई पनि विषयवस्तु बनाएर कविता सिर्जना गर्न सकिन्छ । बालबालिकाले लेख्ने वा बालबालिकाका लागि लेखिने बालकवितामा अन्धविश्वासप्रतिको विद्रोहको भाव ओकलिनु पर्छ, लैङ्गिक भेदभावको विरोध गरेर समानताको वकालत गरिएको हुनुपर्छ, श्रमप्रतिको श्रद्धा र कर्मप्रतिको विश्वासको भाव अभिव्यक्त भएको हुनुपर्छ अनि वैज्ञानिक चेतनाको प्रयोग भएको समेत देखिनुपर्छ । बालबालिकाप्रति दुर्व्यवहार हुनुहुँदैन, शिक्षामा सबैको समान पहुँच हुनुपर्छ । सबैले सम्मानजनक हिसाबले बाँच्न पाउनुपर्छ । मानव अधिकार, बाल अधिकार एवं स्वतन्त्रताको भावयुक्त विषयवस्तुको प्रयोग पनि कवितामा हुनु जरुरी छ । बालबालिकाहरू हेपिनुहुँदैन मात्रै होइन मूक प्राणी समेत हेपिनुहुँदैन र त्यस्ता प्राणीको अस्तित्व सुरक्षित हुनुपर्दछ र स्वतन्त्र भई रमाउन सक्नुपर्दछ भन्ने भावलाई समेत विषयवस्तुका रूपमा चयन गर्न सकिन्छ ।
लैङ्गिक समानताको अभिव्यक्तियुक्त कवितांशको उदाहरणः
छोराछोरी जे भए नि आफ्नै भाग्य खाने हो
भर्ना गर्देऊ बाबा म नि स्कुल जाने हो
तैँले पढ्न पर्दैन भन्छिन् सधैँ आमाले
मलाई कैल्यै छोडेन घरको कामले
देश चलाउने खुबी हुन्छ हामी छोरी नारीमा
पढ्न जान्छु घाँस काट्न जान्नँ बारीमा ।
(बाल तीजे गीतः सुजाता÷प्रतिमा)
स्वतन्त्रताको अभिव्यक्तियुक्त कवितांशको उदाहरणः
चरी किन ठुङ्छौ तिमी पिँजराको डन्डी
मन पर्दैन कत्ति मलाई यस्तो घेराबन्दी
(सवाल–जबाफः दुर्गालाल श्रेष्ठ)
निष्कर्षः
माथि उल्लिखित विषयवस्तुको चयन, जानकारी सङ्कलन, सङ्कलित जानकारीको क्रमबद्धता र परिमार्जन अनि उत्कृष्ट सर्जकका उदाहरणसँगै कल्पनाशीलता, अनुभव वर्णन र बालसुलभ भाषाशैलीको प्रयोग गरेर र निरन्तर अभ्यासरत रहेर बालबालिकाले पनि सुन्दर कविता सिर्जना गर्न सक्छन् । बालकविता थप मीठो र प्रभावकारी बनाउन बालमनोवैज्ञानिकता, लयात्मकता र सकारात्मक सन्देशको प्रस्तुतितर्फ पनि सर्जक सचेत हुनु आवश्यक हुन्छ ।
क्याम्पस प्रमुख
ईशानेश्वर क्याम्पस, मध्यनेपाल नगरपालिका–६
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।