जुन बेला जुन व्यवस्था प्रकृति नियमले प्राप्त भो त्यही छ राम्रो,
जो मान्दैन राम्रो, सम्झ अबुझ हो त्यो त्यसैको नराम्रो ।
मानवसमाज आफ्नो व्यवस्था आफैँ बनाउन जानेको छ । समयले द्वन्द र हिंसा पनि देख्यो मानौँ क्रान्ति समयको यथार्थ हो । युगले शान्ति र अहिँसाको पनि अवसान गर्यो । जसै आदर्शवादको वीणा विश्वमा गुन्जियो, सत्यम्, शिवम्, सुन्दरम् सायद एक मन्त्र मात्र होइन कि यो त समूल जीवनको आदर्श बनिरह्यो । जब कष्ट र अप्ठ्याराका पहाडहरूको चङ्गुल लाग्दै गयो तब ईश्वर र देवताको पनि कल्पना भयो । प्रेम र सद्भाव, आस्था र विश्वास, पाप र पुण्य साथै नर, असुर र देवगणजस्ता शब्दहरू उत्पत्ति भए । नैतिक मूल्य मान्यताहरू बन्दै गर्दा कुनैले हृदय तृप्त पार्ने खालका त कुनैले डर र लगामको काम गरे ।
मानवीय विकास सँगसँगै सचेतना, अलौकिकता अनि दर्शन लगभग उही सयरमा हिँड्यो । तर विडम्बना ! स्थान, परिवेश, फरक सोच र फरक समाजले अलौकिकताको पनि अंशवण्डा गरिदियो । त्यसमा आापत्ति केही थिएन, दर्शन उही थियो, उही सद्भावको बाटो बग्थ्यो । उही जगत् प्रेम अनि ज्ञानको प्रार्दुभावको विचरण पनि एउटै पुलमा गएर जोडिन्थ्यो । सृष्टिको उत्पत्ति, कर्म, मोक्ष, सबै कुरा उही अलौकिकतामा जोडिन्थ्यो । तर, चातुर्याइँ र लोभको पर्याय मानव समाजले अलौकिकता, ईश्वरीय गुण र दोषको भिन्नता गरायो । ईश्वर प्राप्तिका आयामहरू बाँढिए । आस्था र विश्वासमा राजनीतिको लेप लाग्यो । शान्ति र संवृद्धि, ऐश्वर्य र आनन्द प्राप्तिका गोरेटाहरू पृथक् हुन पुगे । फलस्वरूप फरक संस्कार र सामाजिक अभ्यासलाई आफ्नो अनुरूप नदेख्दा असभ्य समाजको मुखुण्डो लगाइयो । सभ्यताको पाठ यतिसम्म सिकाइयो कि सिकारुको समूल संस्कृति र पहिचानमा कालो बादल लाग्न पुग्यो । समाजमा पुनः असहिष्णुताको प्रार्दुभाव हुन पुग्यो ।
हुन त मानव एउटै आस्थामा बसेर पनि असहिष्णुताको शिखरमा पुगेकै थियो । सभ्यताको खडेरी परेको विश्व मानव समुदायलाई ज्ञान, प्रविधि, उद्योग र विज्ञानले अझै तुच्छ बनाउँदै लग्यो । अन्ततः सभ्यताको पाठ कुनै शक्तिशाली पक्षले नै सिकाउनुपर्ने जस्तो देखियो । “सभ्यताको” मसिहा पश्चिमले आफूलाई ठान्यो । पुनर्जागरण र औद्योगिक क्रान्तिले अझै युरोपलाई सभ्यताको संवाहक बनायो । उपनिवेश र साम्राज्यको होडबाजीले कैयन् स्थानिय संस्कारमा एसिड खन्यायो । ईश्वरीय आयाम फेरियो । आस्था र विश्वासमा सौदावाजी हुन पुग्यो । सिङ्गो अफ्रिका आफ्नो परम्पराको मलामी बन्नुपर्यो । भूराजनीतिक औपनिवेश ईश्वरीय उपनिवेशमा बदलियो । पश्चिमको हावा पूर्वमा लाग्यो ।
दक्षिण एसियाको भूजटित क्षेत्र, पूर्वीय दशर्नको प्रार्दुभाव भएको भूमि, प्राचीन साहित्य र उपदेशकहरूको केन्द्र नेपाल, सभ्यताको आन्दोलन यहाँसम्म आइपुग्दा त्यसको अगुवाइ कतै वित्तीय कम्पनी, कतै शैक्षिक संस्था त कतै बहुराष्ट्रिय कम्पनिहरूले गर्दै गए । आन्दोलनको उद्देश्य निमुखाहरूको मुक्ति र उपुयुक्त ईश्वरको प्राप्ति थियो । वास्तवमा विग्रह र कलह, द्वन्द र भेदभाव, अन्याय र शोषण जुन समाजमा हुन्छ, त्यस्तो समाजबाट फाइदा सधैँ तेस्रो पक्षले लिन्छ । पश्चिमी धर्म कम्पनिहरूले नेपालमा जातीय,लैङ्गिक, सांस्कृतिक, र सामाजिक भिन्नताले नेपाल विक्षिप्त देख्यो । समाजले जातको उच-निचको अभ्यास गर्दै गर्दा, संस्कारले महिलाको मासिक श्रावलाई पापको संज्ञा दिदै गर्दा, विधवामा बोक्सीको रूप देख्दै गर्दा हामी सभ्य त अवश्य थिएनौँ नै । हामीले मानवताको खिल्ली गर्दै मानिसलाई डुम, चमार, पोडे, र कामी भन्ने जातको लक्ष्मणरेखा कोर्दै गर्दा सभ्यताको त धज्जी नै उडाइसकेका थियौँ । हाम्रो स्वास्थ्यमा प्रतिकुल असर पर्दै गर्दा हामी धामी, झाँक्रीको विश्वासमा हेराइचराइ र झारफुक गर्दै गर्दा हाम्रो असभ्यतालाई अझै सशक्त बनाएकै थियौँ । त्यसैले हाम्रो सभ्यताको पुर्नभाषा त जरुरी नै थियो ।
तर विडम्बना, जुन अभ्यासले हामीलाई असभ्य बनायो त्यही अभ्यासलाई फरक ईश्वरीय आयाममा अभ्यास गर्दा आफूलाई सभ्य ठान्नुपर्यो । हो, पश्चिमाहरूले हामीलाई त्यही अभ्यासको चङ्गुलमा देख्न चाहेनन् र हामीलाई सभ्य बनाउन खोजे । मन्दिर बनाउने चमारले देउता पुज्न पाएन, भाँडा बनाउने कामी भान्छामा जान वञ्चित भयो । यहाँ त कतै सभ्यता देखिएन ।
पूर्वीयहरूको सैतानी प्रवृत्ति पश्चिमी पुण्यआत्माहरूलाई पचेन र त पूर्वीय संस्कृतिमा ग्रहण लगाउनुपर्यो । झारफुक गरेर बिमारी निको हुन्छ भन्ने लुरेलाई चर्चमा गएर पवित्र वाईनले केहि राहत त पक्कै दिने नै भयो । पति नभएकी विधवा निरीह बोक्सी भैरहँदा संस्कार टिकेकै हो, तर अफसोच आत्मनिर्भर हुन “बाइबल” समात्दा समाजको संस्कृति बिटुलो भयो । समाजमा ज्ञानको अभाव थियो । ज्ञानका असङ्ख्य पुराणहरू भएता पनि पढ्न खोज्दा भाषा पराई बन्यो । अझ भनौ संस्कृति शिक्षा बुर्जुवा बन्यो । नबनोस् पनि किन, यो शासकहरूको मात्र विर्ता जो पर्यो । साधारण नागरिकलाई इच्छा हुदा पनि पूर्वीय दर्शनको पहुँच उनीहरूसम्म पुगेन । पढ्नै पाए पनि श्री श्रीहरूको चरणकमलमा पुष्पार्पण नगरी वेद र गीता छुनु बौलाउनु थियो । उता भने सम्पूर्ण विश्वको सभ्यताको ठेक्का लिएको पश्चिमले विभिन्न भाषाामा “बाइबल” अनुवाद गर्यो। ईश्वर अवज्ञाले गर्दा भएको मानवपतन, पाण्डोरा बक्स फ्याँक्नु परेको यथार्थता, सृष्टिको पुर्नसंरचना गर्नका लागि प्रलय ल्याउनु परेको विडम्बना साथै मानवमुक्तिका लागि यशु ख्रिष्टले बलिदान दिनुपरेको कुरा उनीहरूकै भाषामा पढाउन थालियो । यहाँनेर फेरि पनि पश्चिमाहरूले सभ्यताको नाममा परदेशको भाषामा आफनो ज्ञान पढाउनुपर्ने भयो । मानौँ ब्रह्माण्डले शैक्षिक सभ्यताको जिम्मेवारी पश्चिमाहरूलाई नै सुम्पेको थियो ।
नेपाली समाज, हिन्दु परम्परा, अनि इष्टमित्रको गाल जोगाउन छोरीसँगै दाईजो नदिए बिहेको भोलिपल्टै छोरीको लास बुझ्नुपर्ने थियो । गरिबमारा अतिरञ्जित चाडपर्व, जन्म मृत्यु संस्कार आदिले निमुखाहरूको उछित्तो काढ्दा पूर्वीय सभ्यताको मजाक बनेको हुँदो हो । पश्चिमी सभ्यतामा भने एक पादरी, एक चुम्बन र तिनवटा संयुक्त अठोटले बिहे निप्टिन्थ्यो । जस्तै गरिबले पनि एउटा बाकस किनेर खाडलमा मृतकको अन्त्येष्टि गर्नु अर्को आर्थिक सभ्यताको पाठ सिकाउनु थियो । यता मन्दिर, तेत्तिसकोटि देवता, अनगिन्ती मूर्ति र लिङ्गहरू मृत्युपर्यन्त पनि पुजेर सकिएको थिएन । तर पश्चिमाहरुको निराकार, एकल र एकमात्र गिर्जाघर सायद एक सांस्कृतिक क्रान्ति बन्यो । उताका देवताले मानिसलार्ई पाण्डोरा बक्स फालिदिए तर पूर्वीय देवताहरूले उनीहरूका अनेक रूप। उनीहरुको पूजा अर्चना गर्नुपर्ने, धूप, वेद, नैवेद्य, ध्वजापताका, मधु, सख्खर, जाई, जुही, दानदक्षिणा, ब्राह्मण भोजन आदि इत्यादि ।
नेपाली समाजले संस्कार बदल्नुपर्ने थियो । प्राचीन भाषाशैली जनश्रुति बनाउनुपर्ने देखियो । तर अफसोच यो कुनै सजिलो काम थिएन । प्राचीन काव्य, साहित्य र दर्शन बोलीचालीको भाषामा बनाउँदा यहाँको कुलीनतन्त्रको मियो भाँचिने देखियो । जातिगत समानतामा जाँदा आफ्नो टपर्टुय्याँ कर्मकाण्ड ओझेलमा पर्ने डर भयो । तर धर्म, संस्कृति र परम्पराको फेरबदलमा आफनो कल्याण नहुने हुँदा धर्मलाई एकपक्षीय रोजीरोटिको क्षेत्र बनाइयो । यस्तोमा धर्म सुधार आन्दोलन गरेर आफूलाई सभ्य भनाउने पश्चिमाहरूले नेपाल छिरेर धर्मपरायणता गरे भन्दै तिक्तता पोख्नुपर्यो । आफनो सभ्यताको अभ्यास मुठ्ठीभर कुलीनहरूको पैतृक सम्पत्ति भएको देख्दा तमाम नागरिकको न्याय, समानता र अधिकार कुण्ठित हुनपुग्यो । फलस्वरुप शताब्दीऔँदेखि धर्मसुधारको आन्दोलन गरेको पश्चिमी सभ्यताले मानिसहरूको ध्यानाकर्षित गर्नु कुनै नौलो कुरा भएन । जीवनमा शान्ति र संवृद्धि आत्मालोचना र समर्पणले हुन्छ भन्ने त्यही सिद्धान्त बोकेको पूर्वीय दर्शन पनि आखिरमा ज्ञानको वितरण गर्न चुक्यो । अन्त्यमा, पश्चिमाहरूले सांस्कृतिक हमला गरे भन्दै तथानाम गाली गलौजमा उत्रिनु पूर्वीय सामाजिक अभ्यासको लागि अपरिपक्वताको र लज्जाको विषय बन्न पुग्यो । जुन स्थानमा मानिसले आफ्नोपन भेट्दैन त्यहाँ बस्न ऊ कहिल्यै रुचाउँदैन । जहाँ प्रेम, सद्भाव र सम्मान देख्दैन, त्यहाँ बस्न उचित ठान्दैन । प्रकृतिले मानवलाई त्यो कला दिएको छ जो समय र अवस्था अनुकूल परिवर्तन भइरन्छ । तर पश्चिमाहरूको सभ्यताको अभियान केका लागि हो ? कुनै व्यापारिक ध्येय हो वा आध्यामिक अभियान ? वा कुनै उपनिवेशी चाल ? त्यो अर्थ्याउन हामी कम्युनिस्टका हुनमानहरूलाई रत्ती पनि बेर लाग्दैन ।
परन्तु सभ्यताको कुनै आदि पनि छैन, अन्त्य पनि छैन । मानिसले जुन कर्म अङ्गाल्छ, त्यो नै त्यसको धर्म हुन्छ । पूर्वाग्रहले भरिएको आस्था र विश्वासमा मानिसले सभ्यता देख्दैन । रङ्ग, जात, भाषा, वर्ण, लिङ्ग जस्ता पक्षले जबसम्म आपसी सम्बन्धमा भाँजो हाल्छ, तबसम्म सभ्यताको विकल्प अनिवार्य सर्त बन्छ । यद्यपि आफ्नो संस्कार, परम्परा र सामाजिक सांस्कृतिक अवस्था पक्षपाती हुँदैमा आस्थाको दोस्रो डोरी समात्नु पनि राम्रो देखिँदैन । पराभौतिक कुराले मन अल्हादित हुन्छ, शान्त हुन्छ । तर वास्तविक जीवन नितान्त भौतिक कुरा हो । यहाँ द्वन्द पनि छ, शान्ति पनि छ, हिंसा पनि छ, प्रेम पनि छ । यो प्रजातान्त्रिक विश्वमा सबैकुराको स्वतन्त्रता त छ तर कुरीति र कुचलनको विद्रोह नगरी अर्को मार्ग पहिल्याउनु केवल आत्मसमर्पण मात्र हो । पलायनवाद हो, हामी कम्युनिस्टको भाषामा । मानवता र समानताका कुनै मूर्ति र मन्दिर हुँदैनन् । न त कुनै पादरी, न मौलवी, न मठाधीश नै हुन्छन् । यहीँबाट नै सभ्यता जन्मिन्छ, हुर्किन्छ, फैलिन्छ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला