हामीसँग सबैभन्दा बढी के हुन्छ ?

आफैलाई प्रश्न गरेँ र सोचेँ । त्यसो त सधैँ हतारमा भएको ठान्ने मैले यसरी आफैलाई प्रश्न गर्ने समय पनि पाइरहेको थिइनँ । पाइरहेको थिइनँ भन्ने कि त्यो समयलाई प्राप्त गर्न मैले जानिनँ भन्ने । जे भए पनि प्रकृतिको असीम कृपाले घरभित्र थुनिएर बस्नुपरेको समयमा आज मैले आफैलाई प्रश्न गरेँ – प्रेम, घृणा, हतार, आशा, निराशा, भरोसा, अविश्वास, साथीसङ्गाती, सपना, उत्सुकता, प्रश्न – हामीसँग सबैभन्दा बढी के हुन्छ ?

पछि लाग्यो, हामीसँग सबैभन्दा धेरै एकलास हुन्छ, खालीपन हुन्छ ।

हामी त्यसैले प्रेमका प्यासी छौँ ।

हामी त्यसैले घृणा गर्दछौँ र घृणा बोकिहिँड्छौँ । साथीसँगातीको पछि लाग्छौँ । विश्वास गर्छौँ र आशातीत नतिजा नभएपछि अविश्वास पनि रोपिहिँड्छौँ । हामी निराशाको पट्टेर जङ्गलभित्र पसेर हराउँछौँ पनि ।

हामी आफ्ना सबै यत्न र प्रयत्नहरू हाम्रो जीवनको यही खाली ठाउँ भर्नलाई खर्चदा रहेछौँ । ज्ञानको पछि लागेको भनेको पनि यही एकलासलाई टाढा भगाउन रहेछ, अर्थोपार्जनका अनेकौँ प्रयासहरू पनि त्यही खालीपन भर्नलाई रहेछ । दुश्मनी, खोसाखोस र हामीभित्रको दुष्ट्याइँको मलजल पनि यसैको लागि रहेछ ।

हामी नदीजस्तै बगिरहेको, चराजस्तै उडिरहेको, जङ्गलजस्तै सुसाइरहेको, पातहरूजस्तै हल्लँदै खसिरहेको सबै एक्लोपनबाट मुक्तिको खोजी हो ।

म अनेकौँपल्ट काठमाडौँका भीडभाडमा मिसिएर पनि एक्लोएक्लो भएको छु । बोर्नमाउथको समुद्रीकिनारमा होस् कि डोभरको कार्निभलमा होस्, मच्छिन्द्रनाथको जात्राबिचमा होस् कि साउथह्याम्टन र केन्टबरीका सिटी सेन्टरहरूमा, पेरिसको मेट्रोरेल चढ्ने पर्खाइमा होस् कि ताइपेइको एक सय एक तल्लाको भवनमाथि चढिरहेको बेलामा होस्, निकै ठूलो भीडभाडको बीचमा पनि खालिखालि र रित्तोरित्तो उभिएको र हिँडेको अनुभव गरेको छु ।

यो एक्लोपन, यो खालिपन र अपूर्णताले कतिपल्ट पोल्छ, चिमोट्छ र अत्यासलाग्दो वातावरण दिन्छ । तर यही एक्लोपन, यही एकान्तलाई टपक्क टिपेर सिर्जनात्मक उपयोग गर्न सकियो भने त्यो फेरि संसारकै उत्कृष्ट सिर्जना पनि बन्न सकेको देखेको पनि छु, भोगेको पनि छु ।

संसारमा पूर्णता छैन । सभ्यता, विकास, गति, आकांक्षा, लालच, खुशी एवम् दुःख — सबै अपूर्ण छन् । यिनै अपूर्णताहरूको बीचमा हामी छौँ । हामी पनि अपूर्ण छौँ । अपूर्ण छौँ त्यसैले भोका छौँ, प्यासी छौँ । अपूर्ण छौँ, त्यसैले उठ्छौँ, घस्रन्छौँ र हिँड्छौँ । अपूर्ण छौँ, त्यसैले सिर्जनशील छौँ, कल्पनाशील छौँ ।

हाम्रो सिर्जनशीलता र कल्पनाशीलता हामी पूर्ण नभएको प्रमाण हो, त्यसैले पूर्णताको खोजी पनि हो । हामीले गरिरहेको मायाको खोजी हामी पूर्ण नभएको प्रमाण हो । हामीले बोकेको रिसराग र इर्ष्या हाम्रो अपूर्णताको प्रमाण हो । हामीसँग भएको एकलास र खालीपन हामी पूर्ण नभएको प्रमाण हो । तर प्रायशः हामी आफू अपूर्ण भएको ठान्दैनौँ । हामीसँग जे छ, जति छ त्यति नै पूर्ण र पूर्ण सत्य हो भन्ने हिउँदको हिमाली कुइरोजस्तो भ्रमले हामी ढाकिन्छौँ । त्यसभन्दा उता के होला ? यो उत्सुकता हामीभित्र हुनुपर्छ । यो उत्सुकताले प्रेरणालाई आमन्त्रण गर्दछ । प्रेरणाले हामीलाई स्थितिबोध गराउँछ । स्थितिबोधपछि अपूर्णताको खाडललाई पुरेर अझ सम्पन्नता एवं विवेकशीलताको उज्यालोले उज्यालिन हामीलाई सिर्जनशील बन्न उत्प्रेरणा प्राप्त हुन्छ । हामीलाई गतिले माया गर्दछ । हामी प्रगतिलाई अँगालो हाल्न सक्ने हुन्छौँ ।

त्यसो भएपछि हाम्रो खालिपनमा, हाम्रो अपूर्णतामा सधैँ हामीसँग प्रश्न हुने रहेछ । उत्सुकतालाई बोकेर हिँड्छौँ भन्नुको तात्पर्य प्रश्नहरू बोकेर हिँड्छौँ भनेको हो रहेछ ।

त्यसो भए हामीसँग सबैभन्दा धेरै के हुन्छ – एकलास, खालीपन कि प्रश्न र उत्सुकता ?

ध्यानस्थ भएको बेलामा उज्यालाका कलेवरहरूले हामी छोइन्छौँ । हामी आफुलाई नै स्पर्श गर्न थाल्दछौँ । हामी आफुलाई नै नियालेर हेर्न थाल्दछौँ । हामी आफुलाई सम्बोधन गर्न समेत थाल्दछौँ । तर सामान्यतया हामी ध्यानस्थ हुने कुरामा विश्वास गर्दैनौँ । भौतिकवादी सुखको भोकले भोकाएर, भौतिकवादी प्राप्तिको आकांक्षा र लालसाले रन्थनिएर हामी त्यत्तिकै कुदिहिँड्छौँ वल्लो भीरबाट पल्लो भीर, वल्लो कुनाबाट पल्लो कुना । एक्काइसौँ शताब्दिको अत्याधुनिक मान्छे । अब कहाँ पछाडि फर्कने ? कहाँ प्रकृतितिर फर्कने ? संसारका रसिला आनन्दलाई छोडेर कहाँ हाम्रा विद्वान अग्रज ऋषीमुनिहरूले झैँ स्थिर भई बस्ने ध्यानको नाममा । हामी अधिकांश यसरी सोच्छौँ । यसरी बाहिरी स्थिरताभित्रको गति हामी भुल्दछौँ । हामी आफैतिर फर्कन र आफुभित्रको क्षमतालाई हेर्न बिर्सन्छौँ । हामी मुखुन्डाहरूले आफुलाई छोपर राख्दछौँ । निर्जीव ऐनाले जस्तो देखाउँछ मुखुन्डो सहितको बाहिरी आवरणमा हामीलाई, हामी आफुलाई सोही भन्ठान्छौँ । यसरी ज्ञानको, ज्ञान र विवेकको खोजीको एउटा पाटो छुट्छ । हामी पुनः प्रश्नहरूको बीचमा छोडिन्छौँ ।

भौतिकवादी सुखको भोकले भोकाएर, भौतिकवादी प्राप्तिको आकांक्षा र लालसाले रन्थनिएर हामी त्यत्तिकै कुदिहिँड्छौँ वल्लो भीरबाट पल्लो भीर, वल्लो कुनाबाट पल्लो कुना । एक्काइसौँ शताब्दिको अत्याधुनिक मान्छे । अब कहाँ पछाडि फर्कने ?

हामीले आफ्ना इगोहरूलाई फुकालेर मिल्काउनुपर्छ र बाँकी रहेको आफुलाई स्पर्श गरेर त्यसबाट प्राप्त हुने न्यानोपन र अनुभूतिलाई आत्मसात गर्नुपर्छ । यसबाट सत्यको एउटा अर्को ढोका खुल्दछ । नाङ्गोपनले पनि हामीलाई आफुलाई चिनाउन, आफ्नो परिवेश र आफ्नो सत्य एवम् सार्मथ्यलाई देख्न र बुझ्न सहयोग गर्दछ । त्यसो हुनाले कहिलेकाहीँ त मलाई शिक्षाको, हामीले भन्ने गरेको चेतनाको, राजनीतिक वा अन्य कुनै पनि थोपरिएको विचारको लुगा एक एक गरेर फुकाल्न मन लाग्छ । अनेकथरिका लुगाहरू, अनेकथरिका रङहरू, अनेकथरिका डिजाइनहरूभित्र मलाई उकुसमुकुस लाग्न थालेको छ । मलाई खुलेर हाँस्न र फोक्सो फुलाएर सास फेर्न मन लागेको छ । सबै खाले हिलोहरूभन्दा माथि उठेर डाँडाको टुप्पामा एकदम चिसो हावाले छोइएर सारा दुनियाँतिर फर्केर हेर्न मन लागेको छ । आफुले बोकिहिँडेको सबै औपचारिकतालाई आफुबाट झिकेर फालेपछि बाँकी रहेको आफुलाई ठूलो कञ्चन पोखरीमा मज्जाले हेरिरहन मन लागेको छ । मलाई खल्तीबाट नागरिकता समेत झिकेर एकातिर राखिदिन मन लागेको छ । भन्नुहुन्छ भने एक पटक मलाई मेरो नाम, जात, थर सबै झिकेर केही पनि बाँकी नभएको केवल मान्छे मात्र हुन मन लागेको छ ।

हामी एउटा रङ ओढेर दक्षिणतिर फर्कन्छौँ । अर्को रङ ओढेर उत्तरतिर फर्कन्छौँ । देख्न त धेरै थोक देख्छौँ दक्षिण फर्कदा पनि र उत्तर फर्कदा पनि । तर हाम्रो अघि प्रश्न बनेर ठिङ्ग उभिएको यथार्थ चाहिँ के हो भने हामी आफुलाई चाहिँ देख्छौँ कि देख्दैनौँ ? कुनै रङ, कुनै गन्ध वा प्रभावको आकर्षणले हाम्रो स्वत्वलाई कस्तो बनाउँछ वा हाम्रो स्वत्वलाई स्वतन्त्र आकार ग्रहण गर्नबाट रोक्छ । यो प्रश्न पनि कमजोर छैन ।

हामीले कदाचित् आकांक्षा गरे अनुसारको भौतिक सुखसुविधा पायौँ भने भौतिक सुख त हासिल होला । तर त्यसले बाइप्रोडक्टको रूपमा ल्याउने अनेक असजिला पक्षहरूलाई अस्वीकार गर्न नसकिएला । त्यसैले भौतिक सुखको शिखरमा पुगेका मानिसमध्ये कति चाहिँ खुशी होलान् ? खुशी हुन हामीलाई के चाहिन्छ – आत्मसम्मान, धेरै धनदौलत, आफ्नै अन्तरशक्तितिरको यात्रा वा अरू के ? यस ठाउँमा गम्भीर नभइकन हामीले आफुभित्र बढिरहेको प्यासलाई कसरी मेटाउन सक्छौँ ?

प्रश्न र उत्सुकताले मान्छेलाई जिउँदो राख्छन् । जब उत्सुकता उठ्छ र प्रश्न बनेर उभिन्छ सामुन्ने, मान्छे उत्तर खोज्न बाध्य हुन्छ । चाहले होस् वा बाध्यताले मान्छे भौँतारिन थाल्छ । हिँड्न र नयाँ कोणबाट सोच्न एवम् हेर्न थाल्छ प्रकृति, मान्छेकै निर्मिति र दुनियाँलाई । यसरी भौँतारिनु भनेको अपूर्ण भएकोले पूर्णताको खोजी हो । त्यसैले प्रश्नहरूको सोझो सम्बन्ध वास्तवमा मानिसको अपूर्णता र खालिपनसँग पनि छ, रहेछ ।

मानिस जन्मँदा प्रश्न पनि साथै लिएर आउने रहेछ । जन्मेको बच्चा कुन लिङ्गको हो ? बाट शुरु भएको प्रश्न जीवनभरि मानिससँगै रुप फेरिफेरि हिँडिरहने रहेछ । त्यसैले हामी अत्याधुनिक, आधुनिक, शहरिया वा गाउँले जेसुकै ठानौँ आफुलाई हाम्रो सच्चा साथी भनेको प्रश्न र अपूर्णता मात्र रहेछ, हामी जीउँदो भएको प्रमाण पनि यही प्रश्न र अपूर्णता मात्रै रहेछ ।

उपनिषदमा एउटा श्लोक छ :

ॐ पूर्णमदः पूर्णमिदं पूर्णात्, पूर्णमुदच्यते ।
पूर्णस्य पूर्णमादाय, पूर्णमेव वशिष्यते ।।

अर्थात् त्यो पूर्ण, यो पूर्ण, पूर्णताबाट पूर्णता नै उदाउँछ । पूर्णताबाट पूर्ण नै निकालिएमा केवल पूर्ण नै शेष रहन्छ । त्यसैले पूर्ण हुने होडमा प्रश्नहरूको थुप्रोबाट प्रश्न सकिएपछि पनि पूर्ण हुन्छ ।

अर्को अर्थमा सबैतिर यदि पूर्णता नै पूर्णता छ भने हामी कसरी त्यस पूर्णताबाट घटाउन वा झिक्न सक्छौँ ? घटाएर अलग्गै राख्न रित्तोपना हुन जरुरी छ । यदि खाली ठाउँ छैन भने भएको वस्तुलाई भाग लगाउन वा घटाउन पनि सकिँदैन । प्रश्नहरूको थुप्रो पनि आखिर पूर्णतामा गएर सकिने नै हो । अर्थात्, जब पूर्णता प्राप्त हुन्छ तब प्रश्न सकिन्छ । जब प्रश्न सकिन्छ, हामीभित्रको उत्सुकता, उत्साह वा आकांक्षा पनि सकिन्छ । तब हामीभित्रको गतिशीलता पनि त सकिन्छ । अर्थात् हाम्रो भौतिक जीवन पनि सकिन्छ । हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि भौतिक देहको अन्त्यको निकटमा पुगेपछि भनेका छन् – ‘म शून्यमा शून्यसरि बिलाएँ ।’

तसर्थ, पूर्णता कि त सम्पूर्ण रित्तो भएको अवस्थामा प्राप्त हुने विषय हो, कि त भने सम्पूर्ण भरिएको अवस्थामा । हामी मान्छेहरू त यी दुई पूर्णताहरूको बीचमा कतै उभिएका वा हिँडिरहेका छौँ । हामी त्यसैले अपूर्ण छौँ, हामीमा त्यसैले खालीपन छ । अपूर्णताको सम्बन्ध पूर्णतासँग यसरी हुने रहेछ ।

मान्छेको यावत् प्रयत्न अपूर्णताबाट पूर्णतातिरको यात्रा हो । त्यसो भए पाइला पाइलामा बाटो छेक्दै उभिन आइपुग्ने प्रश्नहरूसँग, हाम्रा अभाव, खालिपन र अपूर्णतासँग किन तर्सनु ? हाम्रा आफ्ना त यिनै मात्र हुन् ।

जब प्रश्न सकिन्छ, हामीभित्रको उत्सुकता, उत्साह वा आकांक्षा पनि सकिन्छ । तब हामीभित्रको गतिशीलता पनि त सकिन्छ । अर्थात् हाम्रो भौतिक जीवन पनि सकिन्छ ।