मान्छे मलाई आस्तिक भन्छन् । नास्तिक पनि भन्छन् । म फुर्किएको छुइनँ । फुर्किएर पनि केही हुने कुरा होइन । चित्त पनि दुखाएको छुइनँ । चित्त दुखाउँदा पनि केही हुने होइन । मलाई नास्तिक भन्न मन पराउने मेरा आफन्त तथा नजिकबाट चिन्ने मेरा आन्द्राभुँडी थाहा पाएका साथीभाइ छन् । त्यसैगरी मलाई घोर आस्तिक ठान्ने महानुभावहरूमा मलाई गहिरिएर नचिन्ने, सधैँ भेट नहुने आफन्त, हाइहलोका साथी र मेरा सक्कली शुभेच्छुक हुनुहुन्छ । र पनि जब म मेरै जीवनका पोयाहरूलाई स्मृति बनाउँछु, मेरा मानसपटलभरि आफैँसँग प्रश्न उब्जन्छन् – म कति आस्तिक कति नास्तिक ?

म यहाँ आस्तिक र नास्तिकको दार्शनिक झमेलामा पर्दिनँ । भगवानको अस्तित्वका बारेमा पनि केही बहस गर्दिनँ । किनकि यो बहसले युग खान सक्छ । र फेरि ज्यूँका त्यूँ रहन्छ । संसारमा यो भगवानको अस्तित्व छ कि छैन ? भगवान भनेको के हो ? भगवानको स्वरूप कस्तो हुन्छ ? भन्ने बारेमा बहस गर्दा मान्छे मारिएका छन् । मान्छे सुधारिएका पनि छन् । मान्छे मुढ भएको छ । मुढ मान्छे भएको छ ।

त्यसकारण म आफ्नै गन्थनभित्र यहाँहरूको समय खर्चिने क्रममा छु । मलाई आस्तिक वा नास्तिक भनिनुको पनि कारण छ । किनकि कारणको परिणति नै घटना र विचार हो । बिनाकारण न घटना घट्छ, न विचार उत्पन्न हुन्छ । एउटै घटनालाई वा एउटै मान्छेलाई दुई वा दुईभन्दा तरिकाले हेरिनु हेर्ने मान्छेको निजी दृष्टिकोण हो । नाट्य सम्राट बालकृष्ण समले मुकुन्द इन्दिरा नाटकमा लेखे झैँ खरानी दल्ने मान्छे र पाउडर दल्ने मान्छेलाई संसारमा हेर्ने दृष्टिकोण विविध हुन्छ । यो हेराइको विविधता नै संसार हो । यो विविधतामा सत्य र असत्य भन्ने कुरा हुँदैन । हेराइमा सापेक्षित सत्यता वा अन्धविश्वास मात्र हुन्छ । हुल, भिड र पेलाइ मात्र हुन्छ ।

अब मेरो पहिलो प्रसङ्ग । मैले आफ्नै गाउँमा एउटा पर्यटकीय क्षेत्र बनाउन पहल गरेको छु । त्यो बनेको छ । त्यहाँ पञ्चकन्याको एउटा मन्दिर बनेको छ । त्यो बेला मन्दिर बनाउन, मूर्ति ल्याउन, चन्दा दिन, चन्दा उठाउन तथा समग्र व्यवस्थापन गर्न मैले सकेको भूमिका खेलेँ । खेलिरहेको छु । त्यो कार्य वैदिक अनुष्ठान विधिअनुसार सम्पन्न भयो । यत्रो ठूलो धार्मिक कार्यको अगुवाइ गरेकाले म आस्तिक ठानिएँ । परम देवीभक्त ठानिएको छु ।

तर म मूलतः भौतिकवादी मान्छे हुँ । भौतिकवादी भन्न रुचाउँछु आफूलाई । भौतिक क्रियाका कारणले जन्मन्छु, याने कि भौतिक जन्मन्छु र भौतिक नै मर्छु । बाँचुञ्जेल भौतिक बाँच्छु । विज्ञानसम्मत कुरामा मात्र विश्वास गर्छु । राजनीतिक विचारका हिसाबमा म कम्युनिष्टवेष्ठित मान्छे हुँ । कम्युनिष्ट भन्नु विशुद्ध भौतिकवादी हो । कम्युनिष्टले भगवान मान्दैन – सही कुरा हो । कम्युनिष्टले जात पनि मान्दैन – त्यो पनि सही कुरा हो । विचार अन्तर्राष्ट्रवादी हुन्छ – त्यो पनि सही हो । म त्यही अनुशरण गर्छु । तर मलाई अहिले नेपालमा देखिएका उत्तर, मध्य र दक्षिणपन्थी कम्युनिष्टको व्यवहारसँग कृपया नदाँज्नु होला ।

म भगवानको भौतिक अस्तित्व छ भन्ने कुरा मान्दिनँ । कर्मकाण्डी स्वभाव छैन मेरो । मेरालागि कुनै खास धर्म खासमा ग्रहणीय छैनन् । हुन सक्दैनन् । जातीय विभेद मान्दिनँ । धार्मिक विभेद मान्दिनँ । अन्धविश्वास मान्दिनँ । लिङ्ग विभेद मान्दिनँ । मान्छेमान्छेका बिचमा ल्याइने कुनै विभेद मान्दिनँ । मन्दिर मेरो धार्मिक कारणको गन्तव्य होइन । नमान्नु मेरो स्वतन्त्रता हो । कसैले मान्दछ भने त्यो उसको स्वतन्त्रता हो, त्यसमा म दखल गर्दिनँ । यसो भएपछि मान्छेले मलाई नास्तिक भन्नु पनि अति स्वाभाविक हो ।

सबै विज्ञलाई थाहा भएकै कुरा हो ऋगवेद । हिन्दुको सर्वप्राचीन ग्रन्थ । ऋगवेदमा ५००० वर्षका तत्कालीन जीवन उल्लेख छ । ऋगवेदका सुरु खण्ड हेर्यो भने त्यहाँ मूलत २४ प्रकारका अस्तित्ववादी भगवानको कल्पना र पूजा स्तुति गरिएको छ । सूर्य, चन्द्र, पृथ्वी, वायु, जल, पहाड, ढुङ्गा आदि देवताका रूपमा पुजिएका छन् । याने कि प्रकृतिको पूजा छ । किनभने त्यो बेलाको चेतमा प्रकृति नै अभेद्य तत्त्व थियो, जसलाई ज्ञानका माध्यमले भेदन गर्न गाह्रो थियो । तर ऋग वेदकै पछिल्ला खण्डमा आइपुग्दा ब्रह्मा, विष्णु, महेश्वरको उल्लेख पाइएको छ । यसबाट मैले बुझेको कुरा भनेको मान्छेले भगवान खोजेको हो । संसारको गुढ रहस्य पत्ता लगाउने ईप्सामा संसारका भगवानको सृष्टि भयो । त्यसकारण भगवानको अस्तित्व भन्नु मान्छेले बनाएको भौतिक चिन्तनको विषय हो । गौतम बुद्ध, साइबाबा, रामानुजलगायतका लौकिक मानवहरू अहिले पनि भगवान मानिएकै छन् । त्यसो भएर संसारभरिका सबै धर्महरू ‘भगवान एउटा छ’ भन्छन् अनि आफ्नो अनुकुलको भगवानको सृष्टि गर्छन् । भन्छन् भगवान सर्वव्यापी छ । अनि भगवानलाई आफ्नो पोल्टामा बाँध्छन् । आफ्ना पोल्टा भन्दा बाहिरका भगवानभक्तलाई कोर्रा हान्छन् । यो मेरो कुरा हो, तपाईँलाई मैले बुझे झैँ नबुझ्ने छुट छ ।

यो बुदामा आइपुगेपछि म आफैँ एकछिन टक्क अडिन्छु । मैले आफैँलाई बुझेको छुइनँ कि म के हुँ । किनभने कसैले तेरो धर्म के हो भनेर सोध्यो भने ‘हिन्दु’ भन्छु । मेरा च्वाइसका कारणले नेपालको हिन्दु कुलमा जन्मेको होइन म । जन्मनु मेरो माग होइन । तर पनि नियमित आकष्मिकता, म जन्मे । हिन्दु कुलमा जन्मेकाले मेरो पैत्रिक धर्म हिन्दु हो । स्वाभाविक हो म जन्मनु पूर्व नै हिन्दु बनाइएँ । जन्मपूर्व नै अनेकौँ हिन्दु संस्कारहरूले वेष्ठित भएँ । अहिले म संसारभरि जहाँ जहाँ पुग्छु, एकदम गर्जेर भन्छु, हिनताबोध नभइ उच्च गौरवका साथ भन्छु – म हिन्दु हुँ ।

तिनले मलाई कट्टर हिन्दू भनिठान्छन् । म अमेरिकामा काम गरिरहेका बखत एउटा गोरा मलाई क्रिस्चियन बनाउने अभिलाषाका साथ आयो । हाम्रो शास्त्रार्थ भयो । मैले एक देव प्रणालीको चर्चा गरेँ । ऊ हार्यो र भोलिपल्टदेखि मलाई दुःख दिन आएन । हरायो । तर मेरो कुरा यसरी बुझिँदा पनि हुन्छ । मलाई कर्मकाण्डी धर्मप्रति आस्था नभएका कारण धर्म परिवर्तनको कुनै गुञ्जाइस छैन । म किन धर्म परिवर्तन गरूँ ? जबकि संसारका सबै धर्म कर्मकाण्डी बाटोमा छन् । म सनातनीय छु । दशैँ मान्छु । आशिष थाप्छु – तर पत्याउँदिनँ । तिहारमा बहिनीको हातको टीको लगाउँछु – तर रक्खे मेरो प्रयोजन होइन । चलेर आएका परम्परा मानेको छु । विश्वास भने गरेको छुइनँ । मन्दिर जान्छु । रमाइलो लाग्छ ।

बौद्ध तीर्थस्थल घुमेको छु । बौद्धलाई आदरभाव गरेको छु । नमन गरेको छु । पाएका बौद्ध ग्रन्थ पढेको छु । बौद्धभित्रका अव्यावहारिक पक्ष पनि बुझेको छु । तर म बौद्ध होइन ।

भौतिकवादमा मानवतावाद मनपराउने मान्छे हुँ म । त्यसैले म कुनै धर्म अनुशरण गर्दिनँ । कुनै धर्मलाई आफ्नो व्यवहार वा जीवन शैली बनाउँदिनँ । म अमेरिकामा छु । क्रिस्चियन साथी छन् । उनीहरूसँग गिर्जाघर पुगेको छु । गिर्जाघरको सौन्दर्य देखेर रोमाञ्चित भएको छु । बाइबल पढेको छु । क्रिसमसका बत्तीमा रमाएको छु । शान्टाक्लज लुगा लगाएको छु । होली वाइन खाएको छु । क्रिस्चियनभित्रका विभेद पनि बुझेको छु । त्यहाँका अन्धविशवास पनि अनुभूत गरेको छु । तर म क्रिस्चियन होइन । इस्लाम साथी छन् । उनीहरूसँग मस्जिद गएको छु । कुरान पढेको छु । हलाल खाएको छु । तर म इस्लाम कबुल गर्दिनँ । इस्लामका भेदका बिचमा भएको सङ्घर्षलाई आँखै अगाडि देखेको छु । अन्धविश्वास झेलेको छु । तर म इस्लाम होइन ।

बौद्ध तीर्थस्थल घुमेको छु । बौद्धलाई आदरभाव गरेको छु । नमन गरेको छु । पाएका बौद्ध ग्रन्थ पढेको छु । बौद्धभित्रका अव्यावहारिक पक्ष पनि बुझेको छु । तर म बौद्ध होइन । संसारका सबै धर्मग्रन्थ पढ्न मन छ, पाएको छैन । म संसारका सबै धर्मग्रन्थलाई समान सम्मान गर्छु । अनुशरण गर्दिनँ । घृणा गर्दिनँ । सम्मान गर्नु र अनुशरण गर्नु अलग अलग कुरा हो । फेरि पनि कसैले मलाई तेरो धर्म के हो भनेर सोधेमा म सगर्व ‘हिन्दु’ भन्छु । लेख्नु पर्ने ठाउँमा हिन्दु नै लेख्छु । हिन्दु नै हुँ । पक्का हिन्दु हुँ । हिन्दुभित्रका प्रमुख शाखा वैष्णव, शैव, शाक्त आदि आदिमा म केही होइन । सबै मन्दिर जान्छु । मन्दिरका बारेमा ममा कुनै भेद छैन । सबै धार्मिक समुह समान हुन् मेरा लागि । त्यसकारण सनातनीय हुँ म । मेरो सनातनीय परिभाषामा शंकाराचार्यको परिभाषा नअट्न सक्छ ।

म मेरा जीवनमा घटेका मलाई नास्तिक भनाइने केही घटना सुनाउँछु ।

–बहिनीलाई कलिलै उमेरमा बिहे गरिदिनु भयो बुवाले । मैले शालीन विरोध गरेँ । म नास्तिक कहलाइएँ ।

–मेरै अगुवाइमा बनेको मन्दिरको प्राणप्रतिष्ठा थियो । मूल मान्छे म थिएँ । मलाई प्रमुख पण्डितले खुसुक्क सोध्नु भयो – यी पानी नचल्नेलाई पूजा क्षेत्रमा पस्न नदिऔँ ।

मैले भने सबै सरोवर । अनि म नास्तिक कहलाइएँ ।

–पुराण लाउने नाममा अन्धविश्वास फैलाइयो । सामाजिक बेथिति गर्न थालियो । मैले विरोध गरेँ । म नास्तिक कहलाइएँ ।

–श्रीमती अविर र चन्दनले सुन्दर कलात्मक मूर्तिलाई विरूप बनाउन थाल्छिन् – म प्रतिकृया जनाउँछु । मेरो प्रतिक्रिया उनलाई मन पर्दैन, उनी मलाई नास्तिक भन्छिन् ।

–एकपल्ट नास्तिक म र आस्तिक मेरो एउटा साथी मधेसको एउटा गाउँमा छाता ओढेर घुम्दै थियौँ । एउटी मधेसी महिला मैलो धोतीमा तीनवटा पोका बोकेर हिँड्दै थिइन् । जातमा ती अछुत थिइन् । उनले ती पोका फेर्नु पथ्र्यो । घाम असाध्य थियो । उनी पसिनाका धारा बगाएर हिँड्दै थिइन् । मैले उनको एउटा पोको समाएर सहयोग गरेँ । मेरो आस्तिक साथीले भन्यो – तपाईँ कस्तो नास्तिक, ती त डोम हुन् ।

–काठमाडौँको छिमेकमा घर बन्दै थियो । छिमेकी अति धार्मिक र आस्तिक थिए । सेतो धोती लगाएका हुन्थे । दुनियाँलाई आध्यात्मिक ज्ञान दिन्थे । निधारमा चन्दन टुटदैनथ्यो । एकदिन उनको ट्याङ्कीको पानी कामदारले छोइ दिएछ । उनले ती विचरा कामदारका नाममा यति धेरै दुर्वाच्य बोले कि म त्यो शब्द यहाँ बताउन पनि सक्दिनँ । मैले यो कुराको विरोध गरेँ ।

उनले मलाई जवाफ दिए – तपाईँ पो नास्तिक त, केही फरक पर्र्दैन । हाम्रा त देउता छन् । रिसाउँछन् ।

–पति गुमाएकी वयस्क महिलाले के लगाउने, के खाने भन्ने कुरा उनकै हालमा छोडिदिऊँ । सक्छौँ भने अग्रगमन दिऊ भन्छु । तर समाज सेतो सारी गुताएर रङ्गहीन बनाउँदै सान्त्वना दिन थाल्छ । म विरोध गर्छु र नास्तिक कहलाइन्छु ।

यस्ता सयौँ घटना छन् मलाई नास्तिक बनाउने ।

मचाहिँ आस्तिक र नास्तिकको विवादभन्दा पर बसेर मान्छेको रमिता हेर्दछु । मान्छेहरूका बुझाइहरू उनीहरूको नितान्त निजात्मकता हो । त्यो निजात्मकतामा कसैले प्रभाव पार्न सक्दैन । व्यक्तिको निजात्मकताको निर्माण हुने परिधि नै अलग अलग हुन्छ । परिवेश, चेत, ज्ञानको धरातल तथा निजका दिमागमा आउने क्रिया तथा प्रतिक्रियाले एउटा घेरो बनाइदिन्छ । एउटा निजी विचार बनाइदिन्छ । र त्यो घेरोले नै मान्छेको निजी सोच वा निजात्मकताको निर्माण हुन्छ । विकास हुन्छ । यसो भएकाले समाजका आम मान्छेको निजात्मकताबाट निःसृत विन्दुको प्यालबाट समाजले मलाई हेरिरहेको हुन्छ । मेरो आफ्नै कृत्यबाट समाजका विभिन्न मान्छेहरूमा एकखाले सकारात्मक वा नकारात्मक प्रभाव पर्छ, त्यही प्रभावका घेराबाट म हेरिन्छु । त्यसैले कसैले आस्तिक भन्छन्, कसैले नास्तिक । यो स्वाभाविक छ । यसमा प्रश्न गरेर असन्तोष गर्नु पर्ने कुनै ठाउँ नै छैन । कारण पनि छैन । समाधानीय पनि छैन ।

तपाईँहरू आफ्नो मनमौजी मलाई जे भन्न मन लाग्छ भन्नुस् । र पनि कहिले आफैँ सोच्छु कि म आस्तिक कि नास्तिक ?

खासमा म कस्तो छु भने, श्रीमतीले पूजा गर्छिन् । नैवेध्य चढाउँछिन् – म प्रसाद खान्छु । उनले जुन मन्दिरमा गएर जे नैवेध्य चढाउँछिन्, त्यही खान्छु । पशुपति जान्छिन् । म पनि सँगै जान्छु । तर जब म कुनै मन्दिर जान्छु – आनन्द अनुभूति गर्छु । जीवनका दौडमा डामेका बेला दिक्क लाग्यो भने पशुपति पुगेर घण्टौँ बस्छु । पशुपतिबाट देखिने दृश्यमा मनभित्रै सकारात्मक नकारात्मक टिप्पणी गर्छु । माग्ने मान्छेका अशक्त हार हेर्छु । तिनका जीवनलाई चियाउने प्रयत्न गर्छु । यो पशुपति पनि अचम्मको छ यार । हिजो भर्खर मान्छे मारेको अपराध सजाय भोगेर आएको मान्छे मेरै आँखा अगाडि फूलप्रसाद बोकेर पशुपति पुग्छ र लहरमा उभिन्छ । लाइनमा लाग्छ । पशुपतिलाई भेटी चढाएर बार्टर ट्रेड गर्छ । भन्छ – प्रभु मेरो यो काम फत्ते होस्, म यति चढाउँछु ।

ती व्यापारी हुन् । तर ती व्यापारीहरू ईश्वर, धर्म र आध्यात्ममा बहुत धेरै आस्था भएका आस्तिक कहलाएर घर फिर्छन् । मिडियामा उनीहरूको आस्तिकता झाँगिइरहन्छ । अनि म आफैँ द्रवीभूत हुन्छु । र आर्यघाटमा चियाउँछु । खाली हात लासहरू जलिरहेका हुन्छन् – मृत्युबोध अनुभूत गर्छु । आफन्तका रुवाइका आवाजहरूले पनि मृत्यु टर्दैन । पशुपतिबाट ‘जीवन अनित्य छ, नाशवान छ’ भन्ने मसाने वैराग्य बोकेर मान्छे बाटो लाग्छ, अनि फूलवालीसँग पैसाको बार्गेनिङ गर्न थाल्छ । र समयको अन्तरालमा ऊ आफैँ लास बनेर पशुपति आउँछ र मान्छेमा मसाने वैराग्य फिजाउँछ । यस्तै त हो जीवन । यस्तै त हो मेरो आस्तिकता, मेरो नास्तिकता । यो मेरो अहिलेको मान्यता हो । भोलिको कुरा म केही भन्दिनँ । किनकि मलाई नै केही थाहा छैन कि भोलि के हुने हो । चेतले के भन्ने हो । मुख्य कुरा त यो चेत छ । यसले कता डोर्याउँछ त्यतै जाने न हो । जुन दिन मेरो चेत मर्छ म सकिन्छु । आस्तिक भए पनि सकिन्छु । नास्तिक भए पनि सकिन्छु ।

त्यसकारण तपाईँहरू आफ्नो मनमौजी मलाई जे भन्न मन लाग्छ भन्नुस् । र पनि कहिले आफैँ सोच्छु कि म आस्तिक कि नास्तिक ?