अत्याधुनिक युगमा हरेक मान्छे भिन्न छ । रक्त समूह र डिएनए रिपोर्टले यही भन्छ, मान्छे भिन्न छ । एउटा नाम सिर्जना गर्‍यो । बोलीको र शब्दको विकास भयो । विकास भएको फेहरिस्त दिन खोजिएको होइन । उसो त विकास चरमचुलीमा चढेको भनेर भन्न थालिएको पनि धेरै भयो । आफ्ना रेकर्ड आफैँले तोड्ने एथलेटिक्स फुटबल या क्रिकेट जस्तो होला विकास पनि ।

विष्णु पादुका

इतिहास विजयको गाथा मात्र होइन, विगतको ऐना पनि हो । ऐनाभित्र धेरै कुरा तथ्यगत हुन्छन् ।अलिकति फुलबुट्टा भरिनु सामान्य हो । इतिहास प्रायः मान्छेकै बारेमा लेखिएको पाइन्छ । पुस्तागत रूपमा परिवर्तित व्यवस्था ,समाज र विकासका चरणबारे । उसो त ती कुरा खोतल्ने या संकलन गर्न मानिसलाई चासो लागेको हो । प्रकृतिका अन्य जीवको इतिहास पनि पढ्न त पाइन्छ तर खोज तलासमा अल्छी गरिएको भान हुन्छ ।

मान्छे र अन्य जीवहरूको तुलना गर्दा जीव संसार विशाल छ । नामाकरणमा आएका र मान्छेको संगतमा देखिने कैयौं जीव र वनस्पतिहरूको चरित्र मान्छेसँग मिल्न जान्छ । भाषा र लिपिको विकास भएपछि त्यसबेलाका विद्वान्हरूले प्रकृतिलाई गुरु मान्दथे । प्रकृतिका उपयोगी जीव र वनस्पतिलाई मानिसको जिन्दगीसँग जोडेका थिए । त्यो क्रम निरन्तर छ । आज पनि मान्छे भीडदेखि एक्लिनुलाई आनन्द सम्झिन्छ । यसको अर्थ यही हो कि मान्छे यावत् प्रकृतिकै एउटा अंश हो । त्यसैको उत्पति त्यसैमा अन्त्य ।
विकासका नाममा लोपभएका यावत् जीवको कुनै लेखाजोखा छैन । विकासको घोडा लम्किरहेको छ । विनास भएका कुरा झिनामसिना मानिएका छन् । जुनसुकै चरणमा बहुजन हितायको नारा लागेको छ ।
मान्छे र प्रकृतिका अन्य जीवहरुमा विकासको गति हेर्दा मानसिकताको अधिक प्रयोग गर्नमा मानिस अगाडि छ तर चरित्रगत रूपमा प्रकृतिका अन्य जीवसरह नै छ ।
केही जीवको उदाहरण जोड्दा यो कुरा स्पष्ट हुन्छ । मौरी चरित्रका मान्छे अधिक हुन्छन् । कमिलाको बानी लागेका पनि भेटिन्छन् । कति गिद्ध कागजस्ता छन् । कतिलाई स्याल भैरहन आनन्द आउँछ । कति मान्छे सिंह हुन लालायित छन् । हिंसात्मक सिंहहरूको नाम आएकै छ इतिहासमा । कति मान्छे त अझै साना ब्याक्टेरिया र भाइरस चरित्रको आत्मरतीमा देखिन्छन् । यावत् जीवहरुको चरित्र कुनै न कुनै मानिसमा भेटिन्छ । अझ मान्छेमा थप चरित्र भेटिन थालेको छ । एकै व्यक्तिमा भिन्न भिन्न जीव या जनावरको चरित्र सवार भैदिन्छ, भिन्न भिन्न देश काल र परिस्थितिमा ।
अधिकतर मानिस एकै चरित्रमा समाप्त हुन्छन् । आखिर समाप्त हुनु नै छ । यो हेक्काको अनुभूति हुन भए पनि मान्छे बेलाबेला भीडइतर हुन खोज्छ । प्राकृतिक स्वरूपमा लीन हुन खोज्छ । मान्छेले आफैँले सिर्जना गरेका यावत् कुराको जानकारी राख्न पनि सिङ्गो जीवनकाल अपर्याप्त हुने समय आइसक्यो ।मानिसले पत्ता लगाएका कुराको मानिसलाई नै थाहा नहुने स्थिति । थाहाको परिधि निकै व्यापक भैसक्यो ।  जसलाई ज्ञानको महासागर पनि भन्न थालियो । कसले कति कुरा थाहा पाउन सक्छ जीवनभरिमा ? यो एउटा जटिल प्रश्न हो । आजका मानिसमा यही कुराको प्रतिस्पर्धा छ ।
इन्टरनेटको गन्तव्य सायद यहीँ होला । मानिसको मानसिकता आएका हरेक कुराको वस्तुगत र विचारगत कुराहरूको भण्डारण गर्न सक्ने दाबीसमेत छ । विकासक्रमले तीव्रता पाएको छ आजको दिन । विचारहरूको बिगबिगी छ । कुनै विचार सर्वमान्य छैन ।आलोचनारहित छैन । प्रशंसा र आलोचना उत्तिकै छ । जनसंख्याको मत नै निर्णायक छ । प्रत्यक्ष या परोक्ष संसारका शासन पद्धतिको आधार यही हो । कतै मतको सदुपयोग हुन्छ कतै दुरुपयोग । कतै सहज परिवर्तन देखिन्छ कतै हिंसात्मक र जटिल, फरक यत्ति हो । कुनै विचारहरूप्रति असहमति हुँदाहुँदै पनि स्वीकार गर्नुपर्ने बाध्यता पनि छन् । बहुजन हितायलाई छोड्न सकेको छैन मानव समाजले । समाजबाट एक्लिनु खालि अपवाद मात्र हो । अपवाद पनि प्रकृतिको एउटा रहस्य हो । मानिसभित्र अन्य जीवको चरित्र हावी भएको रहस्यजस्तै ।
मानिसको चरित्रमा गहिरिएर हेर्दा कतिपय मानिसको चरित्र वनस्पतिसँग पनि मिलेको देखिन्छ । कोही फूलजस्तो भएर रहेका छन् । आफ्नो सुवास जतासुकै फैलियोस् चासो राख्दैनन् । अथवा फूलमै सीमित होस् । कोही सिस्नो भएर सकिन्छन् । कति मान्छे वर पिपल र समिको रूखजस्ता छन् । कति मान्छे दूबो र घाँस भएका छन् । मानिसलाई केवल मानिसका रूपमा मात्र हेर्दा मानिसको परिभाषा नै अपुर्ण जस्तो लाग्छ । मानिस भित्र अन्तरनिहित तत्व र चरित्र कुनै न कुनै अन्य जीव या वनस्पतिसँग मिल्दोजुल्दो छ । त्यसलाई जतिसुकै परिवर्तन भएको देखिए त्यो कुरा सामान्य हो । अथवा अस्वीकार गर्नु एउटा मतान्तर मात्रै हो । कुनै पनि जीव वा वनस्पतिले आफ्नो जीवनकालमा फैलिन बढ्न अन्त्यसम्म लागि परेकै हुन्छ ।
अस्तित्वका संघर्ष भन्ने डार्विन या चौरासीलाख योनीको अवधारणा दिने वेदव्यास दुबैतिर प्रकृतिकै शरण देखिन्छ अनन्त: ।
विकासले चरमचुली चुमे पनि मानिस प्रकृतिकै एकअर्को जीव या वनस्पतिकै रूप हो । उत्पत्तिको इतिहास हेरौं या विनासको उत्पात अन्त । मान्नु नमान्नु आफ्नो कुरा हो । दुनियाँमा एउटा स्वतन्त्रता सर्वग्राह्य छ । बुद्धिमानहरू शंकामा घोत्लिन या आत्मविश्वासको रतिमा रमाउन । विचारका औजारहरू बेलाबखत फेरिनु नौलो कुरा होइन । मानिसहरू जति प्रकृतिको नजिक छ उति नै शान्त र यथार्थ । अन्तिम सत्य यही हो ।